फागुन आयो प्रकृतिमा रंग नौलो छरी
रुख विरुवा सजाउंदै मुना थरी थरी
घामको झुल्को न्यानो पर्दा चिर्बिराए चरी
भँवरा चुस्छ वसन्तको रस भुँन् भुँन् गरी
ओठ खोल्यो वसन्तले कोपिला फुटे कति
पोल्टाभरी वसन्तको खुशी कति कति
आईन कोईली बगैंचामा फर्किएर फेरी
गाईन कूहू - कूहू मिठो हरियाली हेरी
बहर दाए ठुल्दाजैले धुलो पार्दै बारी
भाउजैले डोकोभरी ल्याईन मलको भारी
दाजै भाउजै पौरखी ति हात चलाउंछन
फागुनमा मकै रोपी जीवन फलाउंछन
साँवा अक्षर चिन्छ भुण्टे फुटाई तोते बोली
असल मान्छे हुन्छु भन्दै ठुलो भई भोली
फुरुङ्ग छे भुण्टी उता छेडी नाक कान
छिचोलेर कखहरा थाली स्कुल जान
बनि भक्त ह्रदयले मागे बरदान
देलिन देवि उसलाई अथाह बुद्धि ज्ञान
पूजी माता सरस्वती दिन दिन ध्यान
विद्यादात्रि खुशी हुन्छिन लगनले जान
फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला
प्रेमाङ्कुर टुसाउने फागुनले मन
फागुनले हर्ष उल्लास ल्यायो रनबन ।
मलाई वर्षभरीमा सबभन्दा रमाईलो लाग्ने दिन सरस्वती पूजाको दिन हो । गतवर्ष यसै दिनमा मैले यौटा लामो ब्लग लेखेको थिएं पुराना कुराहरुको सम्झनामा । यो वर्ष भने मैले फागुन शिर्षकमा यौटा कविता लेखेको छु । यतिबेला नेपालको गाउँघर सहर बजार सबैतिर अशान्ती र त्रास छ । देशभरीका स्कुल कलेजहरु बन्दप्राय: छन । त्याँहा सरस्वती पूजा मनाउने वातावरण पनि सायदै छैन । मैले भने आजको दिनलाई त्यो त्रासदी भुलेर यो कविता लेखेको हुँ र आसा गर्दछु सरस्वती माताले सबैलाई ज्ञान दिउन , बुद्धी दिउन र मेरो देशको अवस्था कुनै यौटा सुन्दर कविता झैं बनोस ।
No comments:
Post a Comment