Sunday, March 29, 2009

सहर खरानी आतङ्कमा र म अझै मस्तमा

अर्थोक त के नै पो हुन्थ्यो र मसँग ब्लगमा लेखेर बाँड्नलाई ; कविता , गीत , गजल ईत्यादि बाहेक तर ति नै पनि क्रम मिलाई , समय मिलाई प्रस्तुत गर्न असमर्थ भै रहेछु । कारण उहि महाभारत कथा नै बनेको छ । भिजेको छु लछेप्रै त्यसैमा । डुबेको छु चुर्लुम्मै त्यसैमा ।

गत मार्च २२ मा एँकरेज ( म बसेको सहर ) भन्दा १०६ माईल टाढा दक्षिण पश्चिम तिर अवस्थित Redoubt Mountain मा ज्वालामुखि विष्फोटन भएको थियो जस्ले पछिल्लो हफ्ताभरी एँकरेज सहरमा समेत खरानी आतङ्क ल्यायो । विष्फोटनले ६०,००० फीट माथीसम्म खरानी उडेको थियो र वरपर फैलेर उक्त स्थानबाट अझ नजिकका ठाउँमा त ठुलै आतङ्क फैलाएको थियो भन्छन यहाँका गाउँलेहरु । यो सहरमा आउने जाने हवाई उडानहरु समेत पटक पटक रद्द भए त्यसैले यो खरानी आतङ्कलाई यस्ता मुला भन्न पनि नमिल्ला । मैले भने त्यसैबेला सहर भन्दा अलि बाहिर गएको हुनाले खरानीले ढाकेर वरपरका स्निग्ध हिउँ पनि धैलैमैलै भएको सम्म देखेँ । मैले त अझ , गाडीहरुको सिसामा बाइरोडकै बाटोमा धुलो उडाउँदै कुदाउँदा जस्तै हुन्छ होला भन्ने आशा गरेको थिएँ तर त्यति साह्रो त भएन । खरानी आतङ्कबाट तर्सिएका मान्छेहरु मुखमा महला लगाएर हिँडेको पनि देखिन्थ्यो । नलगाउन पनि किन त्यो चट्टान जलेर उडेको खरानी चट्टानकै कणहरु त होला । त्यो सिधै फोक्सोमा पस्यो भने त खत्तमै पनि पार्ला नि ? गाडीको फिल्टर त बिगार्दो रहेछ । कतिले फेर्नु पनि पर्यो गाडीको फिल्टर । त्यस्तै उड्दै गरेको जहाजको पनि ईन्जन झ्वाम बनाउने त्यो खरानी आतङ्कबाट बच्न आफुले चैं भने महला किन्नु पर्ला कि मात्रै भनियो । "आयूको छोरालाई वायूले खाँदैन" भन्ने उखान सुन्दै भन्दै आएको गोर्खाली न परियो । भलो कुरामा कहाँ अघि बढिन्छ र ? धन्न खरानी आतङ्क उधुमै थिएन र बचियो । अहिले आएर केहि मत्थर भएको छ यो ज्वालामुखि तर अझै बहुलाउन सक्ने सम्भावना रहेको जोखाना हेरेका छन् यहाँका भू-गर्भशास्त्री भनिने धामीझाँक्रीहरुले । भोली के हुने हो भन्न सकिँदैन त्यसो त तर त्यही ज्वालामुखिकै सिकार त नभईएला नि गाँठे ।

यसो यताउताबाट त्यो ज्वालामुखिको केहि तस्विरहरु पनि भेला गरेको थिएँ देखाउँ भनेर । कताकताबाट ल्याएँ भन्ने चैं याद नै भएन गूगल गरेर निकालेको हुँ ।

यो चैं अहिले भन्दा अघिल्लो पटक सन १९८९ मा विस्फोट हुँदाको चित्र । एटम बमले उठाएको मसरुम क्लाउड ( च्याउ बादल ) जस्तो पो भएको रहेछ नि ?


अनि बाँकी तलका सबै चैं त्यही ठाउँ यस्पाली २००९ मा पड्कँदाका तस्विरहरु ।













र यो चैं हवाईको बिग आईल्याण्डमा भएको सदाबहार , लाभा लाभा बगेर कहिल्यै नथाक्ने ज्वालामुखिको गुगल भिडियोहरुको लिँक -

http://video.google.com/videosearch?q=big+island+volcano+2009&emb=0#

http://video.google.com/videoplay?docid=5138291898525259472

आँखिर यो संसार यस्तै त हो - कैले के कैले के , कहाँ के कहाँ के , म चैं भने मस्तले महाभारत कथा सकाउने सुरमा छु । अर्थोक जे सुकै हुँदै गर्छ । हैन त ?

8 comments:

Aakar said...

संसार पनि अचम्म को हुन्छ । हामीले जति नै फुर्ति लाएपनि प्रकृतिलाई जित्न सक्दैनौँ, त्यस्तै लाग्छ, यस्तो कुराहरु बिचार गर्दा ।

Dilip Acharya said...

हेर्नुहोस, दीपकजी आरामले हेर्नुस महाभारत, उता देशाँ पनि 'राज्य'को लागि नयाँ महाबारत नै चलेको छ।

साथमा राख्नु भएको तस्विर र ज्वालामुखीको वर्णन पनि चाख लिएर पढें मैले चाहि।

Luna said...

साच्चै प्रक्रिती बिचित्र कै छ है !
हुन त के बिचित्र मान्नु प्रकृतिलाई हेरेर !
हाम्राइ नेपाल मा बिचित्र बिचित्र का नेता देखी पत्रकार छन ! ( उसो त सबै देश मा होला तथापी हाम्रो मा चै अल्ली धेरै नै छ ! अल्ली होइन कि अल्ली धेरै धेरै नै छन ! मुलुक बिगारने बिचित्र का प्राणी हरु ! तिनको नाम फ लामे अछ्यर मा लेखिन्छ नि भोली पर्सी ! )

Jotare Dhaiba said...

त्यति खुट्याउन नपाएको ज्वालामुखीको महाभारत सामुन्ने ल्याउनुभएर हामीले पनि महाभारत 'हेर्न' पायौँ है । तस्बिर त निकै लोभलाग्दा जुटाउनुभएछ।

महाभारत पढाइको गुदी कुरो साहित्य संसार र विविधअन्तर्गत समेटिएला भन्ने आशासहित-

(दीपकजी, मेरो ब्लगठेगाना परिवर्तन भई www.clickdhaiba.blogspot.com भएको छ, अबदेखि त्यता नजर मोड्नुहोला है, ब्लगरोलमा पनि संशोधन गरिपाऊँ । धन्यवाद !)

chudamani said...

दीपक जडितजी मलाई तपाईंको लेखनशैली अत्यान्तै मन पर्यो | लेखनमा अत्यान्तै मिठास छ | कुरा सामान्य रुपमा अघि बढे पनि प्रस्तुति बिश्लेषनात्मक छ | जस्तो यी दुई हरफ कै कुरा गरौ न -
"आयूको छोरालाई वायूले खाँदैन" भन्ने उखान सुन्दै भन्दै आएको गोर्खाली न परियो । भलो कुरामा कहाँ अघि बढिन्छ र ? धन्न खरानी आतङ्क उधुमै थिएन र बचियो ।
घटना अप्रिय भए पनि सुन्दर तस्बीरका लागि धन्यबाद |
तपाईंको ब्लगको प्रथम यात्रा रमाईलो भयो | यो संपूर्णको लागि आभारी छु |

डीआर न्यौपाने'सूर्य' said...

लौ जडित जी ढिलै भएपनि तपाइको जानकारिमुलक टाँसोम आइपुगे । त्यो त दैबको चाहनालाई कहाँ रोक्न सकिन्छ र? तस्बिर सहितको जानकारिको लागि धन्यबाद।

Unknown said...

प्रतिक्रिया लेख्नुहुने सबैलाई हार्दिक धन्यवाद ! यो ज्वालामुखिले अप्ठ्यारैमा पार्ला क्यार भन्ने लागेको थियो तर साम्य छ अहिले त ।

Basanta said...

ज्वालामुखीको प्रत्यक्ष अनुभव पहिलोचोटि भयो यो मेरा लागि। निकै जानकारीमूलक लाग्यो।