Thursday, March 12, 2009

गीत : तिमीलाई छुने रहर

केहि अगाडी ब्रजेश दाइको खेस्रामा जे एस श्रीवास्तव , दीपक बज्राचार्य र फारसी शेर शिर्षकको पोष्ट पढ्दा प्रतिक्रियामा यौटा गीत लेखेको थिएँ जस्लाई आज यहाँ ल्याउँदैछु । निश्चय नै यो गीतमा संयोजन गरिएका शब्दहरु मेरा हुन तर यो भावना भने मेरो पक्कै होईन ; मैले त कुनै फारसी सायरको सायरीलाई ब्रजेशदाइले उल्लेख गर्नुभएको र त्यसै आधारमा कविताको आकार दिनुभएको भावनाबाट लिएको सापटी भावना हो यो त्यसैले म चैं अन्यौलमा छु यस्लाई मैले आफ्ना गीतहरुको लहरमा उभ्याउन मिल्छ कि मिल्दैन भनेर । तपाईंहरुलाई केहि आईडिया भए बताईदिनुस् है ?

कथा बन्यो यो जुनी तिमीलाई छुने रहर
नमरी पुरा हुँदैन होला तिम्रो हुने रहर ।


मर्दैन भन्छन यो माया उस्तै रहन्छ रे प्यास
यहि प्यास मेट्न आजै छाडिदिन्छु धर्तीको बास
तर पर्ख सडेर मलाई यै माटोमा बिलाउन देउ
बरु फूल भै अर्को जुनी चिहानमा पलाउन देउ ।


मेरो लासमाथी तिमीले चढाउन्नौ फूल थाहा छ
खसाएर आँसु म माथी गर्दैनौ भूल थाहा छ
तर फूल भएर म फूल्दा सँसार लोभिनेछ
कसैले त टिपेर एक थुँगा तिमिलाई नै दिनेछ ।


शिउरिँदा केशमा त्यही फूल मायाले छातीमा टाँस्दा
तिम्रै भएर म हाँस्छु त्यही फूलमा तिमीले हाँस्दा
जब चुम्ने छौ प्रेम पोखेर त्यही फूल तिमी ओठैमा
मेटिनेछ यो मेरो प्यास रित्तो भए नि बोटैमा ।

8 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

thikai 6.... Dipak ji.

Luna said...

it is very nice Deepak ji ! but sametime painful too !
heart touch one !

Arjun Dungmen said...

दिपक जि, पक्कै पनि मिल्छ ! अन्योलमा किन पर्ने नि ? किनकी भावना सापटी लिएको हुँ भन्नु भा'छ तापनी तपाईका हुन शब्दहरु । गीतको स्थाई शब्दहरु अनी तेश्रो र चौथो लाईनका भावनाहरु चाँही अति नै राम्रो अर्थात हर्ट टचिङ लाग्यो । "किप इट अप" ।

Dilip Acharya said...

हरफका हरफ ज्यूका त्युँ लेख्नेहरु त ठालु भएका ठाँउमा तपाईले आफ्नै शब्दमा लेख्‍नु भएको यो मार्मिक र मीठो कवितालाई मेरो बिचारमा तपाईले ढुक्कै आफ्ना गीतहरुको लहरमा उभ्याउन मिल्छ ।

मेरो बिचारमा यो कविता १००% तपाईकै सम्पती हो !

>Jotare Dhaiba< said...

दीपकजी के भनूँ, तपाईँले केहीअघि लेखेको गीत त मेरो पछिल्लो भावदशामा ट्वाक्कै मेल खायो । मेरो भक्कानोलाई अस्ति तपाईँका हरफ पढेर अलिक हलुका बनाउन खोजेँ । आज फेरि दोहोर्‍याएर यति लेख्दैछु ।
अनि अर्काको भावना सापटी लिएर लेखेकोले यो रचना मेरो भयो कि भएन भन्ने शङ्का पोख्‍नुभएको रहेछ । म त साँच्चै जिल्ल परेँ है । हुन त, त्यो तपाईँको इमानदारी होला । तर भावना त निजी कहाँ पो हुन्छ र ? लेख्‍दा वा व्यक्त गर्दा कति कुरा मेल खान्छन् । न त कसैको ठेकेदारी नै हो । मानवमा कति-कति समभाव हुन्छन् । संवेदना भन्नु त्यसैको एउटा नमूना त हो । प्रस्तुतिको नौँल्याइँ र फरक धार नै त अलग चिनारी हो । अत: यो सोह्रै आना तपाईँको भावधारा हो ।

Prabesh Poudel "उजेली" said...

कस्तो राम्रो गीत दाइ !! मलाई पनि तपाईँको रचनामा उभ्याउन मिल्छ होला यसलाई जस्तो लाग्यो !!

दीपक जडित said...

धन्यवाद बेदनाथजी र लुनाजीलाई ।
लुनाजी यो दुख भन्ने कुरा आँखिर मान्छेलाई कहिल्यै नछोड्ने कुरा हो , कुनै न कुनै हिसाबले मान्छेसँग बेह्रिएर रहेकै हुन्छ यो त्यसैले कैलेकाँहि त्यही दुखलाई भाखा हाल्दा आनन्द पक्कै हुन्छ जस्तो लाग्छ मलाई ।

अर्जुनजी , तपाईंलाई प्रथम त स्वागत छ मेरो संसार भन्ने गरेको मेरो ब्लगमा । प्रतिक्रियाको निमित्त धन्यवाद !

अर्जुनजी , दिलीपजी , धाईबाजी र उजेली(प्रवेश)जीलाई मेरो अन्यौल ( साँच्चै मलाई अवगाल पो पर्ला कि भन्ने लाग्या हो ) हटाईदिनुभएकोमा धन्यवाद छ ।

र धाईबाजी ? अस्ति भर्खर अनि बल्ल कुरा मिलेको थियो धेरै कोणबाट त्यो भावदशामा चम्किलो लाली पोतियोस् भन्ने कामना छ है ।

>Jotare Dhaiba< said...

कति कुरा अब त मिले भन्ने लागे पनि खरानीभित्रको भुङ्ग्रो जस्तै हुँदो रहेछ नि त दीपकजी । जलाउने । र पनि यति साथीहरू कमाइएको छ, आफ्नै मानेको एउटा मान्छेसँग कुरा नमिले के बयो त होइन र ? जिन्दगी मनाउन सिक्नुपर्दो रहेछ, उत्सवको रूपमा । छाती मिचेर अब सामान्य बन्दैछु । रमाइलो लाग्दैछ । चासो जनाउनुभएकोमा धेरै धन्यवाद छ है !