Monday, March 09, 2009

लघुकथा : प्रोत्साहन

देशभरी नाम चलेका केहि कवि तथा साहित्यकारहरु राजधानीबाट आएर उनकै सहरमा साहित्यिक गोष्ठी गर्दैछन् भन्ने खबरले पुलकित थिईन् देवकी अझ त्यसमाथी प्रमुख अतिथिको रुपमा हुन गैरहेको , उनले नियमित पढ्ने गरेको राजधानीबाट प्रकाशन हुने ख्याति प्राप्त साहित्यिक पत्रिकाकि सह सम्पादक एवँ उनलाई मन पर्ने नामुद लेखिकाको उपस्थितीले झनै उत्साहित थिईन् उनि । निक्कै समय देखि नै कलम चलाउँदै आएपनि उपयुक्त अवसर नपाउनाले गुमनाम रहेकि देवकीलाई कार्यक्रममा निमन्त्रणा त थिएन तर पनि श्रोता बनेर तोकिएकै समयमा कार्यक्रम स्थलमा पुगिन् र श्रोता दीर्घामा आसन जमाईन् ।

कार्यक्रम सुरुभयो । प्रमुख अतिथि बनेकि उनको मनपर्ने लेखिकाले यस क्षेत्रमा नारी हस्ताक्षरहरु देखा नपरेकाले नारीहरुलाई साहित्य लेखनमा अभिप्रेरित गर्नलाई नै यो गोष्ठी आयोजना गरिएको भन्दा उनले ति महान लेखिकाको मनमनै प्रशँसा गर्दै जोड जोडले ताली बजाईन् । गोष्ठीमा भेला भएका सबै साहित्यकारहरुले आ आफ्नो साहित्य रचना पाठ गरिसकेपछि मञ्चमै आसन प्राप्त गर्ने गरी आमन्त्रित स्थानिय नारीहरुलाई उदघोषकले साहित्य रचना भए पाठ गर्न अथवा यस साहित्यिक गोष्ठीको सम्बन्धमा प्रकाश पार्न आग्रह गर्दा मञ्चमा आसिन स्थानिय नारीहरुले मुखामुख गर्दै हामीलाई त केहि आउँदैन भनेको सुन्दा उनलाई आफ्नो सहरकै बेईज्जत भएको महसुस भयो र श्रोता दीर्घाबाट उठेर आफ्नो कविता पाठ गर्ने अनुमति मागिन् ।

कविता पाठ गरिसक्दा तालीको गड्गडाहट सहित प्राप्त वाहवाहीले प्रसन्न उनमा तुरुन्तै ति नै नामुद लेखिकाले उनको कविताको तारिफ गर्दै ओझेलमा परेको प्रतिभालाई यसरी अगाडी ल्याउन सकेकोमा यो साहित्यिक गोष्ठी उध्येश्यमा सफल रहेको भन्ने टिप्पणी गर्दा प्रसन्नताको सीमा नै रहेन । यस्ता प्रतिभाहरुलाई हामी सँधै प्रोत्साहन गर्न चाहन्छौं भन्दै टिप्पणीमा थपेकि पनि थिइन् ति प्रख्यात लेखिकाले । कार्यक्रम समाप्ती पछि देवकी आफ्नो कविताको एकप्रति लिएर ति नै नामुद लेखिका समक्ष पुगिन् र तिनको चर्चित साहित्यिक पत्रिकामा आफ्नो कविता प्रकाशन गरिदिन अनुरोध बिसाईन् । ति लेखिकाले पुन एकपटक देवकीको कविता हातमा लिएर गौरसाथ नियाँलेपछि बडो साहित्यिक ढाँचामा जवाफ दिईन् , ' तपाईंका साहित्यिक बालीहरु अहिल्यै राजधानी भित्र्याउने बेला अलि भएको छैन ; बरु यतै मोफसलकै कुनै पत्रिकामा प्रकाशन गरे हुन्छ ।

7 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

सान्दर्भिक रहेछ ... आफ्नो प्रतिभा प्रस्फुटन गर्न नपाएका सष्टारुलाई प्रोत्साहन र अवासरको खाचो छ ।
तर असल उद्देश लिएर ठाउमा पुगेका हरुले आफ्नो धरातल बिर्सिदिदा ... यस्तै यस्तै नियतिहरु दोहोरिदै जान्छन - दीपक जी ।

Dilip Acharya said...

एकदमै समसामयिक र यथार्थबादी कथा रहेछ । साहित्य क्षेत्रमा प्राय: यस्तो ओठे प्रोत्साहनमात्रै पाउँछन नवोदित साधकहरुले ।

Luna said...

i like very much ur story !

Basanta Gautam said...

समसामयिक र सान्दर्भिक कथा! एक-दुई पटक मैले पनि भोगेको छु यस्तै नियति।

Prabesh Poudel "उजेली" said...

मलाई भने अलि फरक विचार आयो दीपक दाइ !! हाम्रो देशमा कविता लेख्‍न पाको छैन प्रकाशनको लागि होडबाजी गरिहाल्ने प्रथा छ । अलि धेरै लेखेर आफ्नो रचनामा निखारता ल्याउने प्रयास धेरै कमले मात्रै गर्छन् । मोफसलका स्रष्टा त झन् एउटा कवितामा ताली पाउने वित्तिकै त्यहाँका स्थानीय प्रकाशनलाई गलत्याएर राष्ट्रिय स्तरको हुन खोजिहाल्छन् । मैले मेरो बुवा 'समष्टि' पत्रिकाको सम्पादक हुँदा अनुभव गरेको कुरा हो यो । आफ्नो ठाउँमा परिचित नभईकनै एकैचोटि राष्ट्रिय स्तर खोज्ने स्रष्टाको पनि कमी छैन हाम्रो देशमा ॥ टुटेफुटेका सिर्जना गर्दै ठूलै ठाउँ ताकिहाल्ने स्रष्टाको कथा लाग्यो मलाई दीपक दाइ यो !!
यो कथाको व्यङ्ग्यभन्दा पनि सोझो अर्थसँग म सहमत छु !!

>Jotare Dhaiba< said...

नेपाली रङलाई ज्यादै सारगर्भित कथारूप दिनुभएको छ । मोफसल र फसलको भेद अनि बौद्धिकहरूको अनैतिक आचार त हाम्रो कथा मात्र होइन व्यथा नै हो । चित्त बुझ्यो ।

दीपक जडित said...

धन्यवाद सबैलाई । उजेलीले देखेको फरक विचार पनि सोचनीय हो । लघुकथाले पक्कै धेरै बोल्न सक्दैन । प्रायजयो ट्वाक्क यौटा कुरा बोलेको हुन्छ तर त्यसभित्र देखिने अनेक कुराहरु पक्कै हुन्छन् । उजेलीको प्रतिक्रिया नै पनि यौटा लघुकथा बन्यो मेरो नजरमा चैं - कुनैदिन लेखिन बेर नलाग्ने गरेर ।