Thursday, March 26, 2009

महाभारत कथामा पो मस्त आफु त

केहि दिन भयो मैले आफैंलाई ब्यस्त बनाएर राखेँ ; ब्यस्त भन्दा पनि मस्त बनाएर राखेँ भन्दा ठिक होला । दैनिक जीवनमा गर्ने कामकुराहरु त छँदैछन् ति सब नगरे न यहाँ मेरो काका न मामा धरै छैन तर दैनिक जीवनमा गर्ने काम सकेर उब्रेको समय ब्लग मार्फत के के कोरेर सबैलाई सुनाउँदा लाग्थ्यो मसंग प्रयाप्त समय छ । म चाहे अनुशार गर्न सकिरहेको छु - त्यै घमण्डले हो क्यार मलाई महाभारतको कथा दोहोर्याउन मन लाग्यो । स्कूलका किताबहरु देखि नै टुक्राटाक्री पढ्दै र गाउँघरमा बुढापाकाहरुबाट पनि धेरथोर सुन्दै आएको महाभारत कथाको ठेली नै अघिल्तिर खोलेर पढ्न त सम्भव के होला र ? तर त्यही टेलिभिजनका पर्दामा अधकल्च्याउँदै हेरेको कथा (नाटक) यसपाली भने पढ्ने ( हुनत त हेरेको हो र पनि महाभारतलाई कुनै ब्यावसायिक चलचित्र हेरेझैं हेरें भन्नु भन्दा पढेँ नै भन्न मन लागेर ।) छुद्धे जाग्यो र यसबिचमा करिब करिब ६० भाग पुर्याएर सास फेर्न बिसाएको छु । फेरी यो कथा नै कस्तो भने पढेर अघाए जस्तो लाग्दै नलाग्ने । चाहेको कुरा पुर्याईदिने चमत्कारी यु ट्युबलाई भने धन्यवाद दिनैपर्छ मैले मन खोलेर ।

केहिदिन पछि फर्केर ब्लगमा आउँदा त "बाबै ! कहाँ हो कहाँ छोडिएछु म त अलपत्रै!" भनेझैं लागीरहेछ । हिँजो हो क्यार केहि मित्र ब्लगहरुतिर घुस्रीपनि हेरेँ । निक्कै मित्र ब्लगहरुसम्म त पुग्नै सकेको छैन यो बिश्राम पछि तर धेरैदिन पछि आएर हो कि क्या हो , कतिपय ब्लगमा पसेर टाँसो पढेर प्रतिक्रिया लेख्न खोज्दा मरेकाटे सकिँन । निक्कै पछि आउँदा ब्लगले पनि नचिने जस्तो क्या त । अनि अझ कुनै मित्र ब्लग त खोल्दा सरक्कै खुल्ने फेरी निमेषमै थपक्कै लुक्ने र पुरै ब्ल्याङ्क(सेतो) भईदिने भन्या । कस्तो आपत ! (सम्बन्धित ब्लगर मित्रहरुलाई खबर गरेको हुनाले कहाँ कहाँ यस्तो भयो भनेर चैं लेखिँन है ।)

ब्लगबाट हराएर हराउञ्जेलको दिन हिसाब लगाउँदा धेरै टाढा भएको छैन जस्तो लाग्ने तर ब्लगहरुमा पस्दा भने लौ आफु यौटा युगै पछि परेजस्तो हुने रहेछ र पनि अझै केहिदिन भने जोडतोडका साथ महाभारत कथा अघि बढाउने बिचारमै छु । यसैबिचमा अर्थोक केहि गरिँन भन्दा पनि यौटा गजल लेख्ने मेसो पाएँ र लेखेँ महाभारतका महाखलनायक 'शकुनि' शब्दलाई काफिया बनाएर सुरु गर्दै । अहिलेलाई यता ब्लगमा तपाईंहरु घुम्दै फिर्दै आईपुग्नुभयो भने टक्र्याउँनलाई पनि त्यही गजल यहाँ छोड्नु पर्ला जस्तो लाग्यो ।

आज पनि यो समाजमा शकुनिहरु छन् ।
महर्षि व्यास र द्रोण जस्तै मुनिहरु छन् ।

विचार्नु हरेकले परेको छ समिपमा ,
आफ्नै कति हितकारी र बैगुनीहरु छन् ।

विवश समय लेख्छ दैनिक युद्ध कथा ,
यहीँ थिच्ने , थिचिने र उठ्ने जुनीहरु छन् ।

बद्लेर स्वरुप निस्कियो धर्म सडकमा ,
न्यायको नाममा टायरको धुनीहरु छन् ।

कैद गरी जोरजोरै परेवा मन्दिरमा ,
शान्ती 'दीपक' जलाउने नै खुनीहरु छन् ।


भेट्दै गरुँला है त - गजल सम्बन्धमा प्रतिक्रिया लेखिदिनुहुन्छ भन्ने आश चैं छोडिनँ है ।

10 comments:

>Jotare Dhaiba< said...

महाभारतको पढाइतिर कम्मर कसेरै लाग्नुभएछ, टेलिभिजनको हेराइभन्दा पक्कै उपलब्धिमूलक हुनेछ अक्षरयात्रा । इन्टरनेटको संसारबाट केही समय बिछोडिएपछिको समयमा आफू निकै पछाडि छोडिएको अनुभव बाँड्नुभएको कुराले भने सारै छोयो, यो मैले साथै अन्य सबै प्रविधि-प्रयोक्ता र ब्लगरहरूले पनि अनुभव गरेकै कुरा पर्‍यो । एउटा परिवारबाट टाढिए जस्तै हुन्छ, मन न्यास्रिन्छ । बिस्तारै नातै तोडिए जस्तै हुने रहेछ । यस बारेमा आउँदो अप्रिल १ मा मेरो ब्लगयात्राको वार्षिकी पारेर केही गन्थन पोख्ने मन छ ।

तपाईँको महाभारत-अध्ययनको प्रतिफल त गतिलै गजल हातलागी भएछ । मलाई चाहिँ पहिलो पल्ट पढ्दा चौथो सेरबाहेक सबै एकसेएक जमेको लागेको थियो, तर दोहोर्‍याएर-तेहेर्‍याएर बग्दा भने चौथो सेरमा पनि मस्त कुराउनी पाकेको पाएँ । यहाँ कपटी शकुनी पनि छन्, महामना ऋषिमुनि पनि छन् ।
भोग्दै र सोच्दै आएको कुरा यो सेर भने तपाईँकै बोलीमा करोसको सेर लाग्यो है:

"विचार्नु हरेकले परेको छ समीपमा
आफ्नै कति हितकारी र बैगुनीहरू छन् ।"

Prabesh Poudel "उजेली" said...

दाइले गजलमा आफ्नो नाम लेख्‍न चैँ नछाड्ने हुनुभयो ॥ हा हा !!! तपाईँको सिर्जनाशक्ति चैँ अदभूतै लाग्छ मलाई । घटनाक्रम जे जस्तो रूपमा अगाडि बढेपनि लेख्‍नसक्नु खूबी भएको मान्छे !!

कैलाश said...

j vaye ni gajal chahi furihalne kiya bindas hagi deepakji? prabesh ko kuram ekdam sahi lachha malai ni.

Dilip Acharya said...

साँच्चै मज्जाले बसेर महाभारत 'पढन' थाल्नु भएछ । मेरो आफ्नो व्यक्तिगत अनुभवको कुरा गर्ने हो भने चाहि किताबहरु 'हेर्दा' भन्दा पढ्दा नै बढि छाप छाडन सफल भएको पाएको छु ।

तपाईको एसपटकको गजलमा महाभारतको 'दर्शन' को पनि प्रष्ट छाप भेटिन्छ।

माथि धाइबाजीले चौथो शेरको कुरा निकाल्नु भएको छ, तर किन हो कुनि मलाई त त्यहि शेर सबैभन्दा जोडदार लाग्यो यसमा।

बेदनाथ पुलामी ( उमेश ) said...

ए दीपक जी तपाई त माहाभारतमा पो ब्यस्त हुनु हुदो रहेछ - मैले पनी ९ ओटा DVD dis बाट २ महीना अघि मात्र धित मरून जेल हेरेर सिध्याई भ्याएको थिए । उ बेला मा क्रेट गरिएको यो कति उत्क्रिस्ट रहेको छ है ... सबै पक्ष लाइ समेट्न सफल रहेको छ । हुन त अहिले को समय मा हेर्ने हो भने केही कुरा अपबाद को रूप रहेता पनि - यसलाई ओल्ड इस गोल्ड भन्न मिल्छ ।

दीपक जडित said...

मलाई मन परेको कथा मध्ये महाभारत पनि एक हो | तर पढ्ने सौभाग्य अहिले सम्म मैले पाएको छैन | जती जानेको हो उही एन.टि.भि.मा हेरेर मात्र हो |

गजलले वास्तविकतालाई छोएको र पढ्दा लय मज्जाले मिलेको लाग्यो | बिशेष गरी "बद्लेर स्वरुप निस्कियो धर्म सडकमा" भन्ने लाइनको शब्द संयोजन मन पर्‍यो... मिलन

(मिलनजी , भूलवश तपाईंको प्रतिक्रिया मेट्न पुगेछु त्यसैले जस्ताको तस्तै कपि गरेर ल्याउनुको बिकल्प भेटिनँ र ल्याएँ ।)

Milan said...

मलाई मन परेको कथा मध्ये महाभारत पनि एक हो | तर पढ्ने सौभाग्य अहिले सम्म मैले पाएको छैन | जती जानेको हो उही एन.टि.भि.मा हेरेर मात्र हो |

गजलले वास्तविकतालाई छोएको र पढ्दा लय मज्जाले मिलेको लाग्यो | बिशेष गरी "बद्लेर स्वरुप निस्कियो धर्म सडकमा" भन्ने लाइनको शब्द संयोजन मन पर्‍यो...

B.J. Dummali said...

गजल झक्कास छ दीपक जी, धेरै खुशी लाग्यो, दह्रो झापड मिल्ने भयो आजकलका यी सबै खोलहरुलाई, मलाई खुशी लाग्यो।

Luna said...

great Gajal !
tooooooooooooooooonice!
keep it up MAN !

दीपक जडित said...

प्रतिक्रिया गरिदिनुहुने सबैलाई हार्दिक धन्यवाद !