Sunday, December 30, 2007

Poem : It is not a short love

The First day
When I saw you
You entered from my eyes
And stayed in my heart
My heart was happy
To feel you in each beat
It was like that
A dream of ages
Came true in my life
I was searching a true love
That starts from heart
And never ends
That was you ; My love
The First love in my life
Who gave me all the happiness
That I never had in my life before .
Who knows what happens tomorrow
So I didn't
When a tsunami came in my life
And swept away
All my happiness .
Time is crual
It's just a month
I had a good time in my life
And now you know it
Everything gone .
The last night
I was walking to you
Wearing those clothes
You picked to me a couple days ago
Eagerly I wanted to hear
"Nice" you saying to me
But it was not in my destiny
Just like this
I loose my love
I loose my life
I loose everything
Poor me : what could I do
I cried and still crying
Nobody cares me
It's okay
I just want to ask my mom
Why she gave me a flowery heart
Into my iron body ,
I can't but wish to commit sucide
So no grief can touch me .
I naver take my life as a joke
And today
My life made a big joke of me .
Now I knew ; it was never a love to you
But still it's a love to me
Thatswhy it's not my last poem of life
I'm not committing sucide the next morning
Still there is a hope
A new sun will arise on our love
It is not a short love .

Monday, December 10, 2007

कविता : र त म पागल

प्रत्येक पल्ट म
अँध्यारो कालो रात चिर्दै
जव पाईला बढाउंछु तिमीतिर
हतारिंदै भेट्न आतुर तिमीलाई
तानिएझैं कुनै चुम्बकिय पदार्थ
विशाल कुनै चुम्बक तर्फ
रात निदाउन लागेका फूलहरु
नजिकै झाडीबाट चिहाउछन
र भन्छन , " ए! पागल तिम्रो होस कहाँ छ ? "
झस्किएर एकपल्ट
म आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा पैदल धाउने तिमीसम्म
तिमी सागर
तिमी महासागर
अथाह प्रेम छातीभित्र लुकाएर
अँगालो खोली मुस्कुराउंदै
जव निम्तो दिन्छौ मलाई प्रणयको
रोक्नै नसकेर म आफुलाई
हिंडाईदिन्छु तिमीतिर
भन्छन कोहि बिचबाटोमा
म मर्दैछु डुबेर तिम्रो प्रेममा
अहो ! कस्तो अलौकिक वचन तिन्को
म मर्नै चाहन्छु डुबेर
तिम्रो गहिरो प्रेममा
तिमी भन्छौ
प्रेममा कोहि मर्दैनन कहिल्यै
त्यसैले तिमी सक्दिनौ
डुबाउन मलाई त्यो गहिराईमा
म तिम्रो सामु
तिमी मेरो सामु
हाम्रो प्यास बालुवाले ब्यक्त गर्छ
मेरो खाली पाईतालामा
जव छुन्छौ तिमी मलाई
एक लहरले र पर भाग्छौ
उता बालुवा आफ्नो प्यास मेट्छ
यता तिम्रो स्पर्सको भोको म
फालहाल्छु तिम्रो अँगालोमा
र डुबुल्किन्छु तिम्रै असिम प्यारमा
जव किनारामा उभिएर
नियाँल्छु तिम्रो सौंदर्य
क्षितिज अँध्यारोमा अझै विलिन हुन्छ
मलाई देख्नेहरु भन्छन
उ त्याहाँ ए उटा पागल उभिएको छ
कोहि सोध्छन , " तिमी होसमा त छौ ?"
फेरी झस्किएर
म आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा तिम्रो अँगालोमा डुब्ने ।

Friday, November 09, 2007

देवकोटा जयन्तीको कविता : तिहार


देवकोटा जयन्ती एक्लै मनाउंदा कस्तो हुन्छ ? मैले तिहार शिर्षकमा यहि यौटा कविता लेखेर स-सम्मान देवकोटाको सम्झनामा ९८ औं देवकोटा जयन्ती मनाएको छु _______

झिलीमिली अहो ! हेर तिहार आयो फेरी
घर घर चारैतिर उज्यालोले घेरी ।
ढोका झ्याल सजिएको सयपत्री माला
पटाका र झिर्झिरेमा रम्छन लालाबाला ।
लहर लगाई घरैभरी दियोबत्ती बाल्छन
आँगनमा भैलेनीले भाखा मिठो हाल्छन ।
देउसे आई भटट्याउछन कथा मिठो हाल्दै
रात कालो अँध्यारोमा पुल्ठो राँको बाल्दै ।
सेल पाक्यो गाँउघरै वास हरहरी
तयार छ घरघरै पाक थरी थरी ।
सप्तरंगी टिका लामो लाई निधारमा
चेली भेट्दा दाजुभाईको खुशी अधरमा ।
पूजी काग कुकुर पूजी पुजी गोरु गाई
बैनी दिदी कति खुशी पूजा गर्दा भाई ।
डिलैभरी आँगनमा मखमली सरी
फुलाईरहोस तिहारले खुशी सँधैभरी ।

तिहारको शुभकामना



शुभ दीपावली २०६४ को हार्दिक मंगलमय शुभकामना ।

त्यसो त नेपाल छाडेदेखि नै देउसी भैलो , देउसीनाच ईत्यादी तिहारको रमझम छाडेर आ ईसकियो तर पनि कोलोराडोमा रहंदा नेपाली समाज ठुलै भएकोले तिहारमा भाईटिका मनाउन समेत पाईन्थ्यो तर यसपाली भने म हवाईको Maui मा भएकोले तिहारको रमझम भन्दा धेरै टाढा भएको छु । Maui को हावापानी र बनस्पती भने झापाको संग मिल्दोजुल्दो रहेछ । हवाईको सौंदर्य तस्विरमा उतारेर मैले मेरो फोटो ब्लगमा राख्ने विचार गरेको छु । यहि ब्लगमा पनि मेरो फोटो ब्लगमा पस्ने लिंक छ अथवा http://deepakkophoto.blogspot.com/ मा पसेर हेर्न सक्नुहुन्छ ।

Tuesday, October 30, 2007

कविता : मैले दिएको मुक्ती

एकदिन ,
थाहा छैन खै कसरी
यौटा सानो भँगेरा
थुनिएछ मेरो कोठाभित्र
जव म थकित मन अनि शरिर लिएर
कोठाभित्र छिरें
मानौं कि उसको अगाडी
मृत्यु हाजिर भयो
भयले मृत्युको उ
यो कुना र त्यो कुना
ज्यान बचाउन उडिरहयो
विवस उसको
उम्कने कुनै बाटो थिएन
बन्द थिए कोठाका झ्याल अनि ढोका
उसको विवसताको फाईदा उठाउंदै
ओच्छ्यानमा पल्टिएर मैले
उसको भयमाथी आनन्द मानिरहें
छट्पटाएर उ
उडिरहयो यो छेउ र उ कुना
अनायास म मा विचार उठ्यो
उसलाई पिंजडामा कैद गर्ने
र मेरो एक्लोपनाको साथी बनाउने
उसको लाचारीको फाईदा लिंदै
नियन्त्रणमा लिएं मैले उसलाई
र आफ्नो हातको कला झिक्दै
निर्माण गरी यौटा सानो पिंजडा
प्रकृति प्रद्दत उसको
स्वाधिनता खोसेर
कैद गरें उसलाई पिंजडा भित्र
स्वाधिनता गुमाएको एक कैदी
पिंजडाभित्र संधै रोईरहन्थ्यो उ
मुक्ती याचित उसको बेदना
भाषामा बुझ्न नसके पनि
मैले महसुस गरें
लाग्थ्यो हरपल
उसले मलाई अनुनय गर्छ
केवल मुक्तीको लागी रोई रोई
अन्तत उसलाई मुक्ती दिने
निर्णय बोकेर म उ छेउ गएं
जव मैले पिंजडालाई स्पर्श गरें
तव लाग्यो
अरु केहि क्षण यसलाई
अझै आफ्नो साथी किन नबनाउं
पिंजडाबाट मुक्ती दिनुको शट्टा
पिंजडा सहित उसलाई मैले
बगैंचामा लगें र झुण्ड्याएर सानो बुट्टामा
तमाशा हेरिरहें उसको
केहि पर बसेर
विचरा ! त्यो सानो चरा
पिंजडा बाहिर टाउको झिकेर
गुहार माग्दै चिच्याउंदै थियो
हठात यौटा कागले
आक्रमण गरि मेरै उपस्थितीमा
उसको शिर छिनालेर लग्यो
पिंजडाभित्र लडेको
उसको शिरोच्छेदित शरिर हेर्न
अब म उ नजिक जानु नजानुको
त्याँहा कुनै अर्थ थिएन
मलाई घोर ग्लानिले
तत्काल गलाईदियो र थचक्क बसें
मैले गर्नु पनि के थियो र ?
आफैं हत्यारा भएर पनि
उसको हत्याको मलाई सजाय थिएन
दोषी मन बोकेर
सजाय स्वरुप मैले उसको
शिर विहिन शरिरको समाधि बनाई
साँसारिक बन्धनबाट मुक्ती दिंदै
एक अञ्जुली फूल अर्पण गरें ।

२४ पौष १०५१
झापा

Sunday, October 28, 2007

चर्चा राष्ट्रिय झण्डाको ।

नेपालमा केहि खराब तत्वहरु द्वारा हाम्रो राष्ट्रिय झण्डा जलाईयो । विरोध स्वरुप जस्को चर्चा उमेशजी को माई संसारमा बाहेक अन्यत्र कतै देखिएन न अहिले सम्म उक्त निन्दनिय कार्य गर्नेलाई हाम्रो सरकारले कार्यवाही गरेको नै समाचार आएको छ । यस सम्बन्धमा मैले यौटा कविता लेखेको थिएं र नेपाली पोष्टमा प्रकाशित भएको थियो । मेरो उक्त कविता हेरेर नेपाली पोष्टमै विचार स्तम्भ अन्तर्गत आफ्नो विचार लेख्नुहुने स्तम्भकार लेखनाथ भण्डारीले मलाई यौटा ईमेल लेख्नुभएको थियो । वहाँले लेख्नुभएको ईमेल र मैले लेखेको जवाफ यहाँ राख्दैछु ।


वहाँले लेख्नु भएको ईमेल
दीपक जी
नमस्कार
तेसो त म तपैलाई अहिले नामले बाहेक सम्झी रहेको छुईन तर पनि झंडाको कुरामा कुरा थप्न लागेको छू . थप कुरा पनि र चिनाजाना पनि गर्दै जौंला नि है. यो सवाललाई तपैले रास्ट्रीयताको कुरामा तुलना गर्नु हुने छैन .रास्ट्रीयताको सबैको उतिकई प्यारो हुन्छ र त्यों प्राण भन्दा पनि प्यारो हुन्छ . म यो सम्बंधमा पनि अर्को कुनै संदर्भमा चर्चा गर्ने प्रयाश गर्ने छू. शुभकामना सहित,
लेखनाथ

के हो राष्ट्रिय झण्डाको कुरा ?

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो
जीउँदो रगत सरी बल्दो सान हाम्रो
जन्मन्दै यो जगतमा कैयौं प्रहार आए
हारे दुई साम्राज्य हारेन सान हाम्रो ...... तर यो रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो, भन्दा सम्झनु पर्ने अर्को कुरा पनि छ। त्यो हो, यो कुरा नेपालको अहिलेसम्मको राष्ट्रीय झन्डालाई नै भनिएको हो पक्कै पनि। तर हाम्रो राष्ट्रिय झन्डामा जुन प्रतीक छन , चन्द्र र सुर्य , यी ज्यादै राम्रो हो तर । तर के भने यो कति पनि व्यबहारिक र बैज्ञानिक छैनन । यो बिषयमा मकरे मानव अधिकार आयोगगमा पछिल्लो पटक राजा ज्ञानेन्द्रलाई साथ दिन राजपथको ओरालो मार्ग प्रस्थान गर्नु हुने डा . राम दयाल राकेशले खोई के लेख्नु भएको छ , उहाँको नेपालको राष्ट्रीय झन्डामा एउटा पुस्तक नै छ। तर मलाई लागेको कुरा हो , यो झन्डामा चन्द्र तल हुनु पर्छ र सुर्य माथि । किनकि हाम्रो यो धर्ती वा हाम्रो यो लोकबाट सुर्य भन्दा चन्द्रमा नजिक छ र सुर्य टाढा । टाढाको कुरा माथि वा नजिकको तल हुन्छ कि ? तर हाम्रो राष्ट्रीय झन्डामा सुर्य तल छ भने चन्द्र माथि छ। यस्तो नहुनु पर्ने हो भनेर सबैलाई लाग्नु स्वाभाबिक छ तर यहाँ पनि खास कारण छ । कारण रहेछ , नेपालका राजा श्री ५ र महाराज श्री ३ को । राजा महाराजले भने पछि कस्ले रोक्छ ? केल्ले छेक्छ ? कुरो परेछ गहिरो, सुनेको हो- नेपालका राजा परेछन, चन्द्र बंशका । अनी राणा परेछन , सुर्य बंशका । तेही राजा र राणाको प्रतिक राख्दा सुर्य तल र चन्द्र परेछ माथि। तर पनि यहाँ बाँकी प्रश्न ज्युउँदो छ नेपालको झन्डा बन्यो कहिले ? राणा र राजाको प्रतिक हो नै भनेर भन्नु पहिले यो त पता लाउनैपर्छ । तेस्तै यो जंगी पनि यिनै राजा महाराजको प्रतिक त होईन ? सबै कुरामा यो केटो कति जान्ने भा' भन्ने खस-खसा लाग्ला अग्रज बुढा-पाकालाई , तेसैले यो उहाँहरुकै जिम्मामा छोड्नु जाती होला कि ! तर देसैको नक्सा फेर्ने कुरा चलेको बेला यो जाबो (!?) एउटा झन्डासम्म फेर्ने कुराको भने चर्चा-चियो खोई किन हो सुनिएको छैन जस्तो लाग्छ ।

लेखनाथ भण्डारी


मैले लेखेको जवाफ


लेखनाथ सर
नमस्कार ।

चन्द्र सुर्यको कुरामा कुरा थपेर मलाई ईमेल लेख्नुभएकोमा धेरै धेरै धन्यवाद । मलाई जहाँसम्म लाग्छ तपाईंले मेरो नेपाली पोष्टमा गत अक्टोबर २६ मा प्रकाशित हाम्रो चन्द्र सुर्य कविता हेरेर नै ईमेल लेख्नु भएको हो किनभने तपाईंले मलाई नामले बाहेक चिन्नुहुन्न । मैले पनि तपाईंलाई नेपाली पोष्टमै बयान स्तम्भ मार्फत चिने बाहेक धेरै चिन्न सक्दिन ।

तपाईंले हाम्रो झण्डामा भएको चन्द्र र सुर्य तल र माथी हुनुलाई अब्यावहारिक र अवैज्ञानिक छ भन्नु भएको छ । यसरी चन्द्र सुर्यलाई तल र माथी भएको कुरालाई चन्द्र वंशी राजा र सुर्य बंशी राणाहरुको मान मर्यादा अनुरुप तौलिएर राखिएको भन्ने कुराको जानकारी मैले पनि पहिले नै पाईसकेको थिएं । त्यो हुन सक्छ अथवा नहुन सक्छ यो कुरामा म विवाद निकाल्नुको औचित्य देख्दिंन । जहाँसम्म सुर्य टाढा छ र चन्द्र नजिक छ त्यस अनुशार सुर्य माथी र चन्द्र तल हुनु पर्ने भन्ने तपाईंको पनि विचार छ त्यसमा पनि म बिमती राख्छु । हाम्रो धार्मिक प्रचलनहरुलाई जसरी गलत ब्याख्या गरिएको छ र हिन्दु धर्मलाई संकिर्ण बनाईएको छ त्यसरी नै हाम्रो झण्डाको पनि गलत ब्याख्या भएको ठान्छु म । हाम्रो झण्डामा चन्द्र माथी र सुर्य तल भएको कुरालाई धर्तीबाट कुन टाढा र कुन नजिक छ भन्ने कुरालाई हरेर अब्यावहारिक र अवैज्ञानिक भयो भन्नु भन्दा हाम्रो दैनिक जीवनमा चन्द्र र सुर्यले कसरी अनि कुन ग्रहले ज्यादा प्रवाभ पारेको छ भनेर हेर्दा कसो होला ? निश्चय नै सौर्यमंडलमा सुर्यको प्रवाभ सबै ग्रहको भन्दा ज्यादा छ । त्यसमाथी पनि नेपालजस्तो अविकशित मुलुक जहाँ अद्दावधी अधिकाँश मानिसहरु खेतीपातीमा निर्भर छन उनिहरुको दैनिक जीवनमा सुर्यले नै चन्द्रले भन्दा ज्यादा महत्व राख्छ त्यसैले पनि हाम्रो झण्डामा सुर्यलाई महत्वको आधारमा तल अर्थात हामीसंग नजिक राखिएको हो भनेर ब्याख्या गरिए कसो होला ? लेखनाथ सर , यो मेरो विचार है ।

तपाईंले अझै देशैको नक्सा फेर्ने कुरा भै रहेको बेलामा यो जाबो यौटा झण्डा सम्म फेर्ने कुराको चर्चा चियो सुनिएको छैन भन्नु भएको छ । मुटुमा हात राखेर भन्नु पर्दा तपाईंको यो कुराले मेरो मुटु विचलित भयो । हामीले आजको परिप्रेक्ष्यमा देशको मुहार फेर्ने कुराको कल्पना गर्न सक्छौं र लागि पर्न सक्छौं तर नक्सा फेर्ने कुरा दुरुह हो । अर्कोतिर तथाकथित श्री ५ को स्तुतीगान फेरियो र अन्य त्यस्तै औचित्य समाप्त भै सकेका केहि कुराहरु फेरियो भन्दैमा हामीले हाम्रो झण्डा फेर्नु पर्छ जस्तो मलाई त पटक्कै लाग्दैन । शाहहरु र राणाहरुको बंशको आधारमा हाम्रो झण्डामा चन्द्र र सुर्य राखिएको छ भनेरै झण्डा फेर्ने कुरा हुनुपर्ने भन्ने तपाईंको मान्यता हो कि के हो मैले बुझ्न सकिनं । यदी त्यस्तो हो भने शाह राजाहरुले नेपाल एकिकरण गरेको भनेर हामीले ईतिहासमा पढेका छौं के अब हामी हाम्रो देशको नामनै फेरेर अर्को नाम राख्ने ? लेखनाथ सर हामीले हाम्रो समाजमा भएका समयसंग अमिल्दा कुराहरु फेर्दै जाने हो । समयसापेक्ष रहुञ्जेल अनावश्यक रुपमा परिवर्तन खोज्नुको परिणाम घातक हुन जान्छ । लेखनाथ सरलाई थाहै होला ईतिहास लेख्नेले सधैं सहिकुरा मात्र लेखेका हुंदैनन । कुनैपनि मुलुकमा शाशकबर्गको प्रवाभ जमाउनको लागी ईतिहासको सत्यलाई झुटको रंगले छोपेर पनि प्रकाशमा ल्याउने गरिन्छ । जस्तोकि नेपाल एकिकरण गर्ने शाह राजाहरुले एकता र अखण्डताको प्रतिक भएर सदियौं नेपाल र नेपालीहरुलाई जोगाएका हुन भन्ने भ्रामक कुराको प्रचार एकातिर छ यस्तो कुराहरुलाई पनि हामी सचेत नागरिकले आफ्नो हिसाबले बुझ्नु पर्ने हुन आउंछ । यससम्बन्धमा मैले लेखेको यौटा कविता पनि हेर्नु होला । यहाँ छ http://jaditdeepak.blogspot.com/2006/07/blog-post_04.html/ लेखनाथ सर मैले आफुले बुझेसम्म तपाईंको सवालको जवाफ लेखे जस्तो लाग्छ । अझै यस्ता विषयहरु माथी छलफल गर्न पाईयोस । तपाईंलाई तिहारको शुभकामना सहित विदा माग्दछु ।

दीपक जडित

Friday, October 26, 2007

जंगी निशान हाम्रो

रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।



आज नेपाल भित्र नेपालीहरुले चन्द्र सुर्य झण्डा जलाएको पनि देख्नु पर्यो । नेपाली भएर मैले हाम्रो राष्ट्रको शान जलाउनेलाई नेपाली भन्दा पनि अपराध गर्दैछु कि जस्तो महसुस भै रहेछ तिनीहरुले नेपाल आमाकै छातीभित्र हुर्केर कसरी नेपालको राष्ट्रिय झण्डा जलाउन सके होलान ? तस्विर सहित माई संसारमा देखिएका ति देशद्रोहीहरुलाई नेपाल सरकारले के कसरी कार्यवाही गर्ने होला ? जति निन्दा गरे नि कम हुने कार्य गर्ने तिनीहरुलाई राष्ट्रिय झण्डा जलाएको अपराधमा गोली ठोके पनि कम हुन्छ फाँसीमा लट्काए नि कम हुन्छ तर तिनीहरुले कस्तो प्रतिक्रिया जनाउलान भन्ने हेर्नलाई तिनीहरुको आगाडी भारतको झण्डा जलाउनु पर्ने भन्ने उमेश जी को धारणा चाँही गलत हो कि ? भलै भारतको यसकार्यमा हात रहेको होस तर नेपाल भित्रै नेपाली नागरिकले नै त्यो अक्षम्य अपराध गरेका छन र भारतसंग यो कुरालाई नमुछि तिनीहरुलाई सजाय दिनुपर्छ ।

माई संसारमा झंडा जलाएको तस्विर हेर्नासाथ कमेण्टमा लेखेको यो कविता -

चन्द्र सुर्य झन्डा हाम्रो

चन्द्र सुर्य झन्डा हाम्रो
शिर भन्दा माथी
हेर त्यही चन्द्र सुर्य
जल्यो आज साथी ।

मुटु भित्र हेर आज
चन्द्र सुर्य दुख्यो
न्याय मर्यो? कानुन गल्यो ?
सगरमाथा झुक्यो ?

कोही स्वार्थ बोकी आज
सगरमाथा ढाल्छन
शिरै छिनालेझैं कोही
चन्द्र सुर्य बाल्छन ।

चन्द्र सुर्य नेपाल हो
आमा समान ठुली
यस्तो कार्य गर्छौ किन
नेपाल आमा भुली ।

कस्को कस्तो ईशारामा
नाचेका छौ तिमी
यै झण्डाको शानले त
बाँचेका छौ तिमी ।

बञ्चरोले हानी आफ्नो
घुँडा नै छिनाली
पाउने केहि हैनौ चन्द्र
सुर्यलाई बाली ।

जस्ले आज प्रहार गर्यो
चन्द्र सुर्य लाई
चिहान खनौं त्यस्को पनि
आउ दाजुभाई ।

चन्द्र सुर्य जल्छ भने
आगो नि झेलिन्छ
कस्ले रोप्यो विषको रुख
जरै उखेलिन्छ ।

Thursday, October 25, 2007

कविता : नि:शब्द रोदन आमाको

एउटा छोरो
सिन्दुर पहिरिएर शिरमाथी
आमाको आँशु पुछ्न
हाँसी हाँसी छाती खोलेर
युद्ध भुमीमा अगाडी सर्छ
उ बिश्वास गर्छ
आमाको आशिर्वादमाथी
र धमाश छोड्छ दिग्विजयको
अर्को छोरो
विवषताको कात्रो बेह्रेर शिरमाथी
आमाकै आँशु पुछ्न
हाँसी हाँसी बन्दुक बोकेर
रणमैदानमा अगाडी सर्छ
उ पनि बिश्वस्त छ
आमाको आशिर्वादमाथी
र हाँक दिन्छ दिग्विजयको
युद्ध भडकिन्छ
दुबै वीर छोराहरु
आमाको ओठमा मुस्कान रोप्न
आमाको अधरमा खुशी फुलाउन
आफ्नो छातीमा गोली थापेर
युद्धभुमीमै ढलिदिन्छन
एक्ली ति रुग्ण बुढी आमा
नसकेर रुन आँखाहरुले
नि:शब्द रोईरहेकि छन मुटुले
छोराहरु आज पनि
मुख हेर्न आएनन भनेर
ए ! बाँकी बचेका वीर छोराहरु हो
तिम्री आमा अब शब्दमा रुन
कहिल्यै सक्ने छैनन
तर तिमीहरु वीर भएर पनि किन
आमाको नि:शब्द रोदन सुन्न सक्दैनौ ?

(यो कविता मैले २०५८ सालको मातातिर्थ औंशीको दिन लेखेको रहेछु । आज डायरीको पुराना पाता पल्टाउने क्रममा भेटेर यहाँ राखेको हुँ ।)

Wednesday, October 24, 2007

मेरो कविता यात्राको सम्बन्धमा

मेरो कविता यात्रा भनेर नाम दिंदै मैले आफुले लेखेका कविताहरु संकलन गरेर एकै ठाउंमा भेला गर्ने उद्देश्यले आज मसंग अहिले भएजति कविताहरु प्रिंट गरेर भेला गर्ने काम गरें । यसभन्दा पहिले मैले मेरी उ अझै मरेकी छैन भन्ने नाम दिएर यौटा कविता संगालो र खडेरीको खेती भन्ने नाम दिएर अर्को कविता , गीत तथा गजलहरुको संगालो बनाउदै जाने विचार गरेको थिएं । मेरी उ अझै मरेकी छैन भित्र मैले मेरी स्व . पत्नि मञ्जुको सम्झनामा लेखिएका कविताहरु मात्र संग्रहित गर्ने र खडेरीको खेती भित्र मैले जन आन्दोलन २ को बेला लेखेका कविता , गीत तथा गजलहरु एवं पहिले देखि नै लेखेका त्यस्तै क्रान्तिकारी तथा प्रगतिशिल धारका कविता , गीत तथा गजलहरु राख्ने विचार गरेको थिएं । आज आएर मैले विचार परिवर्तन गर्दै मैले लेखेका सबै कविताहरुलाई एकै ठाउँ संकलन गर्ने अठोट गरें। मैले आफ्ना कविताहरुलाई जे नाम दिएर संकलित गरेपनि हाललाई यो संकलन मेरो आफ्नै लागी मात्रै हुने भएकोले पनि मलाई धेरै संकलन बनाउनु उपयुक्त होला जस्तो लागेन । अहिले मेरो यो संकलन भित्र मेरा बिभिन्न खाले ७३ वटा कविता रहेका छन । मैले पहिले लेखेका तर अहिले म संग नभएका कतिपय कविताहरु यो संग्रहभित्र राख्न बांकी नै छ त्यस्तै मैले पछि सम्म लेख्दै जाने कविताहरु पनि मैले यसै संगालो मेरो कविता यात्रा भित्र थप्दै जाने विचार गरेको छु । यस संग्रहभित्र अहिले सम्म संग्रहित भएका मध्ये धेरैजसो कविताहरु नेपाली पोष्ट डटकम , नेपाली कविता डटकम , समुद्रपारी डट कम लगायत अन्य धेरै वेभ पत्रिकामा प्रकाशित भएका छन । फेरीपनि मैले आफ्नो कविताहरुको सम्बन्धमा भन्नुपर्दा मैले आत्मसंतुष्टीको लागी लेखिएका हुनाले मेरा कविताहरु कविता जस्तै पनि नलाग्लान ।

मलाई मेरा कविताहरुमा भएका कमिकमजोरी देखाएर भविश्यमा अझै सुन्दर कविता लेख्ने प्रेरणा दिनुहुनेछ भन्ने आशा राख्दछु ।


- दीपक जडित
(संगालोमा अगाडी राख्नको लागी लेखिएको)