Sunday, October 28, 2007

चर्चा राष्ट्रिय झण्डाको ।

नेपालमा केहि खराब तत्वहरु द्वारा हाम्रो राष्ट्रिय झण्डा जलाईयो । विरोध स्वरुप जस्को चर्चा उमेशजी को माई संसारमा बाहेक अन्यत्र कतै देखिएन न अहिले सम्म उक्त निन्दनिय कार्य गर्नेलाई हाम्रो सरकारले कार्यवाही गरेको नै समाचार आएको छ । यस सम्बन्धमा मैले यौटा कविता लेखेको थिएं र नेपाली पोष्टमा प्रकाशित भएको थियो । मेरो उक्त कविता हेरेर नेपाली पोष्टमै विचार स्तम्भ अन्तर्गत आफ्नो विचार लेख्नुहुने स्तम्भकार लेखनाथ भण्डारीले मलाई यौटा ईमेल लेख्नुभएको थियो । वहाँले लेख्नुभएको ईमेल र मैले लेखेको जवाफ यहाँ राख्दैछु ।


वहाँले लेख्नु भएको ईमेल
दीपक जी
नमस्कार
तेसो त म तपैलाई अहिले नामले बाहेक सम्झी रहेको छुईन तर पनि झंडाको कुरामा कुरा थप्न लागेको छू . थप कुरा पनि र चिनाजाना पनि गर्दै जौंला नि है. यो सवाललाई तपैले रास्ट्रीयताको कुरामा तुलना गर्नु हुने छैन .रास्ट्रीयताको सबैको उतिकई प्यारो हुन्छ र त्यों प्राण भन्दा पनि प्यारो हुन्छ . म यो सम्बंधमा पनि अर्को कुनै संदर्भमा चर्चा गर्ने प्रयाश गर्ने छू. शुभकामना सहित,
लेखनाथ

के हो राष्ट्रिय झण्डाको कुरा ?

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो
जीउँदो रगत सरी बल्दो सान हाम्रो
जन्मन्दै यो जगतमा कैयौं प्रहार आए
हारे दुई साम्राज्य हारेन सान हाम्रो ...... तर यो रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो, भन्दा सम्झनु पर्ने अर्को कुरा पनि छ। त्यो हो, यो कुरा नेपालको अहिलेसम्मको राष्ट्रीय झन्डालाई नै भनिएको हो पक्कै पनि। तर हाम्रो राष्ट्रिय झन्डामा जुन प्रतीक छन , चन्द्र र सुर्य , यी ज्यादै राम्रो हो तर । तर के भने यो कति पनि व्यबहारिक र बैज्ञानिक छैनन । यो बिषयमा मकरे मानव अधिकार आयोगगमा पछिल्लो पटक राजा ज्ञानेन्द्रलाई साथ दिन राजपथको ओरालो मार्ग प्रस्थान गर्नु हुने डा . राम दयाल राकेशले खोई के लेख्नु भएको छ , उहाँको नेपालको राष्ट्रीय झन्डामा एउटा पुस्तक नै छ। तर मलाई लागेको कुरा हो , यो झन्डामा चन्द्र तल हुनु पर्छ र सुर्य माथि । किनकि हाम्रो यो धर्ती वा हाम्रो यो लोकबाट सुर्य भन्दा चन्द्रमा नजिक छ र सुर्य टाढा । टाढाको कुरा माथि वा नजिकको तल हुन्छ कि ? तर हाम्रो राष्ट्रीय झन्डामा सुर्य तल छ भने चन्द्र माथि छ। यस्तो नहुनु पर्ने हो भनेर सबैलाई लाग्नु स्वाभाबिक छ तर यहाँ पनि खास कारण छ । कारण रहेछ , नेपालका राजा श्री ५ र महाराज श्री ३ को । राजा महाराजले भने पछि कस्ले रोक्छ ? केल्ले छेक्छ ? कुरो परेछ गहिरो, सुनेको हो- नेपालका राजा परेछन, चन्द्र बंशका । अनी राणा परेछन , सुर्य बंशका । तेही राजा र राणाको प्रतिक राख्दा सुर्य तल र चन्द्र परेछ माथि। तर पनि यहाँ बाँकी प्रश्न ज्युउँदो छ नेपालको झन्डा बन्यो कहिले ? राणा र राजाको प्रतिक हो नै भनेर भन्नु पहिले यो त पता लाउनैपर्छ । तेस्तै यो जंगी पनि यिनै राजा महाराजको प्रतिक त होईन ? सबै कुरामा यो केटो कति जान्ने भा' भन्ने खस-खसा लाग्ला अग्रज बुढा-पाकालाई , तेसैले यो उहाँहरुकै जिम्मामा छोड्नु जाती होला कि ! तर देसैको नक्सा फेर्ने कुरा चलेको बेला यो जाबो (!?) एउटा झन्डासम्म फेर्ने कुराको भने चर्चा-चियो खोई किन हो सुनिएको छैन जस्तो लाग्छ ।

लेखनाथ भण्डारी


मैले लेखेको जवाफ


लेखनाथ सर
नमस्कार ।

चन्द्र सुर्यको कुरामा कुरा थपेर मलाई ईमेल लेख्नुभएकोमा धेरै धेरै धन्यवाद । मलाई जहाँसम्म लाग्छ तपाईंले मेरो नेपाली पोष्टमा गत अक्टोबर २६ मा प्रकाशित हाम्रो चन्द्र सुर्य कविता हेरेर नै ईमेल लेख्नु भएको हो किनभने तपाईंले मलाई नामले बाहेक चिन्नुहुन्न । मैले पनि तपाईंलाई नेपाली पोष्टमै बयान स्तम्भ मार्फत चिने बाहेक धेरै चिन्न सक्दिन ।

तपाईंले हाम्रो झण्डामा भएको चन्द्र र सुर्य तल र माथी हुनुलाई अब्यावहारिक र अवैज्ञानिक छ भन्नु भएको छ । यसरी चन्द्र सुर्यलाई तल र माथी भएको कुरालाई चन्द्र वंशी राजा र सुर्य बंशी राणाहरुको मान मर्यादा अनुरुप तौलिएर राखिएको भन्ने कुराको जानकारी मैले पनि पहिले नै पाईसकेको थिएं । त्यो हुन सक्छ अथवा नहुन सक्छ यो कुरामा म विवाद निकाल्नुको औचित्य देख्दिंन । जहाँसम्म सुर्य टाढा छ र चन्द्र नजिक छ त्यस अनुशार सुर्य माथी र चन्द्र तल हुनु पर्ने भन्ने तपाईंको पनि विचार छ त्यसमा पनि म बिमती राख्छु । हाम्रो धार्मिक प्रचलनहरुलाई जसरी गलत ब्याख्या गरिएको छ र हिन्दु धर्मलाई संकिर्ण बनाईएको छ त्यसरी नै हाम्रो झण्डाको पनि गलत ब्याख्या भएको ठान्छु म । हाम्रो झण्डामा चन्द्र माथी र सुर्य तल भएको कुरालाई धर्तीबाट कुन टाढा र कुन नजिक छ भन्ने कुरालाई हरेर अब्यावहारिक र अवैज्ञानिक भयो भन्नु भन्दा हाम्रो दैनिक जीवनमा चन्द्र र सुर्यले कसरी अनि कुन ग्रहले ज्यादा प्रवाभ पारेको छ भनेर हेर्दा कसो होला ? निश्चय नै सौर्यमंडलमा सुर्यको प्रवाभ सबै ग्रहको भन्दा ज्यादा छ । त्यसमाथी पनि नेपालजस्तो अविकशित मुलुक जहाँ अद्दावधी अधिकाँश मानिसहरु खेतीपातीमा निर्भर छन उनिहरुको दैनिक जीवनमा सुर्यले नै चन्द्रले भन्दा ज्यादा महत्व राख्छ त्यसैले पनि हाम्रो झण्डामा सुर्यलाई महत्वको आधारमा तल अर्थात हामीसंग नजिक राखिएको हो भनेर ब्याख्या गरिए कसो होला ? लेखनाथ सर , यो मेरो विचार है ।

तपाईंले अझै देशैको नक्सा फेर्ने कुरा भै रहेको बेलामा यो जाबो यौटा झण्डा सम्म फेर्ने कुराको चर्चा चियो सुनिएको छैन भन्नु भएको छ । मुटुमा हात राखेर भन्नु पर्दा तपाईंको यो कुराले मेरो मुटु विचलित भयो । हामीले आजको परिप्रेक्ष्यमा देशको मुहार फेर्ने कुराको कल्पना गर्न सक्छौं र लागि पर्न सक्छौं तर नक्सा फेर्ने कुरा दुरुह हो । अर्कोतिर तथाकथित श्री ५ को स्तुतीगान फेरियो र अन्य त्यस्तै औचित्य समाप्त भै सकेका केहि कुराहरु फेरियो भन्दैमा हामीले हाम्रो झण्डा फेर्नु पर्छ जस्तो मलाई त पटक्कै लाग्दैन । शाहहरु र राणाहरुको बंशको आधारमा हाम्रो झण्डामा चन्द्र र सुर्य राखिएको छ भनेरै झण्डा फेर्ने कुरा हुनुपर्ने भन्ने तपाईंको मान्यता हो कि के हो मैले बुझ्न सकिनं । यदी त्यस्तो हो भने शाह राजाहरुले नेपाल एकिकरण गरेको भनेर हामीले ईतिहासमा पढेका छौं के अब हामी हाम्रो देशको नामनै फेरेर अर्को नाम राख्ने ? लेखनाथ सर हामीले हाम्रो समाजमा भएका समयसंग अमिल्दा कुराहरु फेर्दै जाने हो । समयसापेक्ष रहुञ्जेल अनावश्यक रुपमा परिवर्तन खोज्नुको परिणाम घातक हुन जान्छ । लेखनाथ सरलाई थाहै होला ईतिहास लेख्नेले सधैं सहिकुरा मात्र लेखेका हुंदैनन । कुनैपनि मुलुकमा शाशकबर्गको प्रवाभ जमाउनको लागी ईतिहासको सत्यलाई झुटको रंगले छोपेर पनि प्रकाशमा ल्याउने गरिन्छ । जस्तोकि नेपाल एकिकरण गर्ने शाह राजाहरुले एकता र अखण्डताको प्रतिक भएर सदियौं नेपाल र नेपालीहरुलाई जोगाएका हुन भन्ने भ्रामक कुराको प्रचार एकातिर छ यस्तो कुराहरुलाई पनि हामी सचेत नागरिकले आफ्नो हिसाबले बुझ्नु पर्ने हुन आउंछ । यससम्बन्धमा मैले लेखेको यौटा कविता पनि हेर्नु होला । यहाँ छ http://jaditdeepak.blogspot.com/2006/07/blog-post_04.html/ लेखनाथ सर मैले आफुले बुझेसम्म तपाईंको सवालको जवाफ लेखे जस्तो लाग्छ । अझै यस्ता विषयहरु माथी छलफल गर्न पाईयोस । तपाईंलाई तिहारको शुभकामना सहित विदा माग्दछु ।

दीपक जडित

No comments: