एउटा छोरो
सिन्दुर पहिरिएर शिरमाथी
आमाको आँशु पुछ्न
हाँसी हाँसी छाती खोलेर
युद्ध भुमीमा अगाडी सर्छ
उ बिश्वास गर्छ
आमाको आशिर्वादमाथी
र धमाश छोड्छ दिग्विजयको
अर्को छोरो
विवषताको कात्रो बेह्रेर शिरमाथी
आमाकै आँशु पुछ्न
हाँसी हाँसी बन्दुक बोकेर
रणमैदानमा अगाडी सर्छ
उ पनि बिश्वस्त छ
आमाको आशिर्वादमाथी
र हाँक दिन्छ दिग्विजयको
युद्ध भडकिन्छ
दुबै वीर छोराहरु
आमाको ओठमा मुस्कान रोप्न
आमाको अधरमा खुशी फुलाउन
आफ्नो छातीमा गोली थापेर
युद्धभुमीमै ढलिदिन्छन
एक्ली ति रुग्ण बुढी आमा
नसकेर रुन आँखाहरुले
नि:शब्द रोईरहेकि छन मुटुले
छोराहरु आज पनि
मुख हेर्न आएनन भनेर
ए ! बाँकी बचेका वीर छोराहरु हो
तिम्री आमा अब शब्दमा रुन
कहिल्यै सक्ने छैनन
तर तिमीहरु वीर भएर पनि किन
आमाको नि:शब्द रोदन सुन्न सक्दैनौ ?
(यो कविता मैले २०५८ सालको मातातिर्थ औंशीको दिन लेखेको रहेछु । आज डायरीको पुराना पाता पल्टाउने क्रममा भेटेर यहाँ राखेको हुँ ।)
No comments:
Post a Comment