Saturday, October 13, 2007

दशैंको कुरा एक आलेख सहित

वडादशैं को मंगलमय शुभकामना ।



दशैं आयो
खाउंला पिउंला
कहाँ पाउंला ?
चोरी ल्याउंला
धत ! पापी म त छुट्टै बसौंला ।


बच्चै देखि हातका औंला भंचाई भंचाई माथीको कविता हो कि कुन्नि के बिता हो रटाएर हामीलाई दशैं गलत अर्थले बुझाईयो । अझै पनि दशैंको महिमा के हो बुझाउन छाडेर बच्चाहरुलाई यस्तै अनर्गल सिकाउने गरिन्छ । माथीको कवितामा दशैं आउनु भनेको खाने पिउने समय हो भनेर बुझाईएको छ अझ त्यसमाथी पाईएन भने चोरेर नै भए पनि दशैंमा त खानै पर्छ भन्ने मान्यता दर्शाईएको छ । त्यसो त चोर्ने कुरा आउंदा धत! पापी भनेर चोर्नु गलत हो सम्म त भनिएको छ तर दशैंमा खानु पर्छ भन्ने कुरालाई जोड दिईएको हुंदा हाम्रो समाजमा आफुसंग नभए दशैंमा ऋण गरेरै भए पनि खाने परम्परा बसेको छ तर दशैं को महत्व के हो ? दशैं किन मनाईन्छ ? दशैंमा पूजा किन गरिन्छ ? भन्ने जस्ता कुराहरु हामीलाई सिकाईएन । मलाई अझै सम्म पनि दशैं भनेको खसी मार हानेर टन्न मासु खाने मौका हो जस्तो लाग्छ । दुर्गाको पूजा गर्ने ब्याक्तीले सफा बस्त्र लगाउनु पर्ने मान्यता दशैंमा गच्छेले भ्याओस नभ्याओस सबैले नयाँ लुगा लगाउनु पर्ने मान्यतामा बदलिएको छ । अझै दशैंको बेलामा जुवा तास खेल्ने र जाँड रक्सी खाने आधुनिक प्रचलनको त कुरै के गर्नु र ?

दशैंको महत्व के हो रहेछ त भनेर बुझ्ने क्रममा यसपाली मैले फेला पारेका केहि तथ्यहरु को आधारमा यौटा सानो
आलेख तयार पारेर यहाँ राख्दैछु ।

नवरात्रि , नवदुर्गा र नवग्रहको सम्बन्ध ।

नवरात्रि अर्थात नवदुर्गा भवानीको पूजा शरद याममा असौज महिनाको शुक्लपक्षको प्रतिपदा देखि शुरु हुने गर्छ । हामीहरु यस्लाई नौरथा पनि भन्ने गर्छौं । यस समयमा ब्रम्हण्डका सबै ग्रहहरु सक्रिय हुने गर्छन र ग्रहहरुको दुश्प्रभाव प्राणीहरुमा नपरोस भनेर दुर्गाको शक्तीलाई जगाउन नवदुर्गाको उपासना गर्ने गरिएको हो । भनिन्छ शक्ती विना शिव पनि शब बराबर हुन्छ त्यसैले नवरात्रीमा दुर्गाको शक्तीको उपासना गरेर ग्रहहरुको शक्तीलाई नियन्त्रणमा राखिन्छ र ग्रहहरुको दुश्प्रभावबाट प्राणीहरुको रक्षा गरिन्छ । दुर्गाको शक्तीको नौ रुपहरु क्रमश: शैलपुत्री , ब्रम्हचारिणी , चन्द्रघंटा , कुष्माण्डा , स्कंदमाता , कात्यायानी , कालरात्री , महागौरी र सिद्धिदात्री हुन । नवरात्रिमा दुर्गाको नौ शक्तीलाई जगाउनको लागी नवार्ण मंत्रको जाप गर्ने गरिन्छ ।

नवार्ण भनेको नव वर्ण हो , नव वर्ण अर्थात नौ अक्षर को उक्त मंत्र ऐं ह्रीं क्लीं चामुंडायै विच्चै हो । नौ अक्षरको यस मंत्रको एक एक अक्षरको सम्बन्ध दुर्गाको एक एक शक्ती संग साथै नौ वटै ग्रहहरु संग हुने गर्छ । नौ अक्षरी मंत्रको पहिलो वर्ण (अक्षर) ऐँ को सम्बन्ध दुर्गाको पहिलो शक्ती शैलपुत्रीसंग रहेको हुन्छ भने उक्त अक्षरको जापले सुर्य ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्री (नौरथा)को पहिलो रातमा शैलपुत्रीको उपासना गरिन्छ । नवरात्रिको दोश्रो रातमा दुर्गाको दोश्रो शक्ती ब्रम्हाचारिणीको उपासना गरिन्छ भने नवार्ण मंत्रको दोश्रो वर्ण(अक्षर)ह्रीँ को सम्बन्ध ब्रम्हचारिणीसंग रहेको हुन्छ । यसले चन्द्र ग्रहलाई नियन्त्रण गर्दछ । त्यस्तै नवार्ण मंत्रको तेश्रो वर्ण क्लीँ को सम्बन्ध दुर्गाको तेश्रो शक्ती चन्द्रघंटासंग रहेको हुन्छ भने यसले मंगल ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्रिको तेश्रो रातमा चन्द्रघंटाको उपासना गरिन्छ । त्यस्तैगरी नवार्ण मंत्रको चौथो अक्षर चा को सम्बन्ध दुर्गाको चौथो शक्ती कुष्माण्डासंग हुन्छ भने यसले बुध ग्रहलाई नियन्त्रण गर्ने गर्छ । नवरात्रिको चौथोरातमा कुष्माण्डाको उपासना गरिन्छ । पाँचौं अक्षर मुं ले ब्रिहस्पती ग्रहलाई नियन्त्रण गर्छ भने यसको सम्बन्ध दुर्गाको पाँचौं शक्ती स्कंदमातासंग रहेको हुन्छ जस्को उपासना नवरात्रिको पाँचौंरातमा गरिन्छ । नवरात्रिको छैठौंरातमा उपासना गरिने दुर्गाको शक्ती कात्यायानीको सम्बन्ध नवार्ण मंत्रको छैठौं अक्षर डा संग रहेको हुन्छ जस्ले शुक्र ग्रहलाई नियन्त्रण गर्ने गर्छ । त्यस्तै नवार्ण मंत्रको सातौं वर्ण यै को सम्बन्ध दुर्गाको सातौं शक्ती कालरात्रीसंग रहेको हुन्छ भने नवरात्रिको सातौं रातमा कालरात्रीको उपासना गरेर शनि ग्रहलाई नियन्त्रणमा राखिन्छ ।
नवार्ण मंत्रको आठौं अक्षर वि को सम्बन्ध दुर्गाको आठौं शक्ती महागौरीसंग रहेको हुन्छ भने नवरात्रिको आठौंरातमा महागौरीको उपासना गरेर राहु ग्रहलाई नियन्त्रण गरिन्छ । नवार्ण मंत्रको अन्तिम तथा नवौं वर्ण च्चै को सम्बन्ध दुर्गाको नवौं शक्ती शिद्धिदात्रीसंग रहेको हुन्छ भने नवरात्रिको नवौंरातमा शिद्धिदात्रीको उपासना गरेर केतु ग्रहलाई नियन्त्रण गरिन्छ ।

ब्रम्हा , विष्णु र महेश्वरलाई नवार्ण मंत्रका तिन देवताहरु मानिन्छ भने यसका तिन देविहरु क्रमश महाकाली , महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ ।

( यो छोटो आलेख मैले वेवदुनिया डट कममा भएका भारतका केहि विद्वानहरुको लेख पढेर त्यसैको आधारमा तयार पारेको हुँ - दीपक जडित )

No comments: