Saturday, January 26, 2013

गीत : तिमी आउँदाको भए हुन्छ


आज चन्द्रमा चाहिन्न मलाई
यो उज्यालो
तिमी आउँदाको भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।


म आफैं बादल जस्तै रहेछु
मेरो आफ्नो आकार केहि नै छैन
कुनै भ्रम वा झझल्को मनको
के यो जिन्दगी त्यहि नै हैन?
मलाई बुझ्न कुनै चित्र झैं
तिमीले मनमा
आफैं बना'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।


मैले प्रेमलाई कुनैदिन पनि
सबैथोक हो भनिंन जिवनमा
तर प्रेमले जस्तै उज्यालो
अरु केहिले सायद ल्यायो मनमा
स्विकार्छु आज यो उज्यालो
तिमीले प्रेममा
जसरी ल्या'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।

2 comments:

Jotare Dhaiba said...

पूर्ववत् कोमल !

राग-वैरागदेखि मुक्त भएर आएको सिर्जना लाग्यो । वितरागी भाका भनें यसलाई । प्रेमलाई जीवनमा सबैथोक नमाने पनि यसको भाव स्वीकार गर्नु, कतै अन्तै खाइसकेको कसमलाई आफ्नो हकमा काम गर्न छुट दिनु । वाह !

Unknown said...

धन्यवाद धाइबाजी । यो वितराग भन्नेकुरा बुझ्दै जाँदा लागूहुँदै पनि गएको हो कि भन्ने भ्रम समेत हुँदो रहेछ क्यार । जे होस् वितरागको कुरा पहिले पनि एकपल्ट तपाईंसँग भएको सम्झन्छु म ।