Wednesday, January 23, 2013

सकस : ठुलो किताबको सानो चर्चा

सकस बजारमा निस्किएर चर्चा हुनासाथ पढ्ने धोको पलाएको थियो । त्यो धोको तर किताबको चर्चा देखे सुनेर मात्र भने पलाएको थिएन । 'अन्तर्मनको यात्रा'मा हरेक पाठकहरुले जस्तै मैले पनि जगदिश घिमिरेलाई अन्तरसम्मै पढेको भएर पलाएको धोको थियो । हुनपनि अन्तर्मनको यात्रा जत्तिको जीवन ज्ञान भएको आख्यान मैले पढेको थिएन त्यस अघि र त्यसपछि पनि पढेको छैन ।

बजारमा सकस निस्किने बित्तिकै जस्तो एकदिन फेसबुकमा साथी सीमु श्रेष्ठसँग सकसकै कुरा भएथ्यो । र मैले सकस पढ्न मन लागेको कुरा गरेको थिएँ । त्यहि दिन सीमुले किनेर पठाइदिने कुरा तय भयो । पठाउनलाई मेरा अन्य सामानहरु कार्गोमा आउँदैथियो र सजिलो भयो । किताब किनेर पठाइदिने मान्छे फेला परेपछि मलाई पनि के थियो? मैले अरु पनि केहि नयाँ पुराना किताबहरुको नाम दिएँ, किन्ने नै भएपछि यि पनि किनिदिनुस् न भनेर । यसरी सकस आउँदा सकसले साथमा अरु ११ थान लिएर पुरा दर्जनको हुल बाँधेर आयो मसम्म ।

सबैभन्दा पहिले सकस नै पढ्नेथिएँ त्यसैले एकदर्जन किताबहरु पाउनासाथ सकसलाई निकालेर हातमै एकपल्ट फरर्र पल्टाएँ । नयाँ किताब हररर ज्ञानमय वासनाका साथमा फरर्र पल्टाउँदा किताबबाट २ पातो फुत्रुक्क भुईंमा खस्यो । उठाएर हेरें । किताबको अघिल्तिरको समर्पण लेखिएको लेखकका पिताजीको तस्वीर भएको पेज रहेछ । र किताबको नाम लेखिएको अर्को यौटा पेज रहेछ । दुबै पेजहरु सायद बाइण्डिङ्गमा नपरेका रहेछन् ।

हाम्रोमा निस्किने किताबहरुमा यो खालको समस्या चर्को छ । कतिपय किताबहरुमा यसैगरि किताबको बिच बिचका पेजहरु छुट्टिएर बसेका हुन्छन् । कतिपयमा कुनै कुनै पेजहरु नै हुन्नन् । कटिङ्ग नमिलेर पढ्दै जाँदा पेजहरु छुट्याउनलाई चक्कु खोज्नुपर्ने त लगभग सबै किताबमा हुन्छ । मैले यौटा पातलो चक्कु नै राखेको छु कलमहरु राख्ने टोकरीमा । र कतिपय किताबहरु चैं पढ्न थाल्दा सारसौंदै हुन्छन् तर पढिसक्दा बिच बिचका पत्ताहरु छुट्टिएर पुराणका किताब जस्तो हुन्छन् ।

मलाई झट्ट सम्झना भयो, गोविन्द गिरी प्रेरणाले फेसबुकको ग्रुप उपन्यास कुनोमा "क्या बोर भो । सकस पढ्दै थिएँ पेज नं २३५ देखि २४२ सम्म पानै गायब । त्यसको ठाममा त २२७ देखि २३४ पेज दोहोरिएको रहेछ ।............" भनेर लेख्नुभएको थियो । मलाई अगाडिको दुई पाता फुत्रुक्क खस्दा मसँग भएको सकसमा पनि यस्तो समस्याहरु थप होलान् कि भन्ने पिरलो थियो तर घाटा पर्ने गरेर केहि रहेनछ । बरु मसँग भएको सकसमा पेज १३० पछि १३१ न आएर १२३ आयो । पेज १२३ देखि १३० सम्म चार पातो दोहोरिएर फेरि १३१ सकुशल आयो र अरु कुनै कैफियत रहेनछ ।

जब पढ्न थालें । सकसले एकाग्रताको डोरीमा बाँधेर राख्यो । पढ्न सुरु गरेको अवस्था र उपलब्ध फुर्सदले गर्दा मैले तीनवटा विश्राम लिएर चार पटकमा पढिसकें । पढ्दापढ्दै हाई आउने, अल्छि लाग्ने र पढ्नै छोडेर किताब बन्द गर्ने स्थिती आएन । सकसको सबलता एउटा त्यो पनि हो भन्ने लाग्छ मलाई । नत्र कतिपय धेरै महत्वपूर्ण, उपयोगि र राम्रा कुरा(किताब)हरु पनि लेखन शैलीले दिग्दार लगाउँछन् ।

फुटकर (कथाहरु) बाहेक 'अन्तर्मनको यात्रा'मा मात्र पुस्तकमा पढेको भएपनि जगदिश घिमिरे Trusted Author नै थिए । मनोयोगले सकस पढ्नुमा त्यसको मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ मलाई । सकसभित्र शाह वंशको इतिहासको कुरा आएजतिमा म ज्यादातर रत्तिएँ । इतिहासका किताबहरुमा समेत नलेखिएका थुप्रै कुराहरु आएका छन् शाह वंशका । र किताबले शिर्षकको धर्म थाम्दै शाह वंशको राजमा जनताले के कसरी सकस पाए भन्ने पनि राम्ररी देखाइएको छ । 'अनि जीबाले भने' यो अलि एकोहोरो भएको भएपनि र कतिपय कुराहरु इतिहासको रिपोर्टिङ्ग जस्तै भएपनि साह्रै रुचिकर छन् कथानकमा आएका तथ्यगत इतिहासहरु । पछिल्ला माओवादी युद्धकालका पनि कतिपय घट्नाहरु रिपोर्टिङ्ग जस्तै शैलीमा छन् । घरी यसले र घरी उसले घट्ना वयान गरेको भएर कथानक लामो दुरी चल्ने गाडी जस्तो द्रुत गतिमा बगेको छ । परन्तु हरेक कालखण्डमा सर्वसाधारणले भोग्नुपरेको 'सकस' भने सकसले आँखा सामुन्ने देखिएको घट्ना जस्तै स्पस्ट उतारेको छ ।

पात्रहरुमा भने लेखक हावी भएको पाएँ । जीबा पात्र जस्ले पृथ्वीनारायण शाहको पालादेखिका इतिहासका कुराहरु निकालेका छन् । तिनै जीबामा समेत लेखक आफैं देखिँदा म पाठकलाई त्यस्तो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । अर्को मुख्य पात्र शरदमा पनि लेखक हावि भएका छन् मन्थली, रामेछापतिरको कुरा आउँदा । सबभन्दा ठुलो विस्मात त यत्रो कालखण्डको सिंगै देशको कथा व्याथा समेटिएको किताबले मन्थली, रामेछाप र जनकपुरकै घुमी घुमी फन्को लगाउनुमा पनि लाग्यो मलाई । सिन्धुली गढीको लडाईंको वृतान्त र रामेछाप, मन्थलीका कतिपय कुराहरु, जो अन्तर्मनको यात्रामा पढिसकिएको थियो, सकसमा नलेखिएको भए नि हुने भने जत्तिकै लाग्यो ।

अन्तर्मनको यात्रामा लेखकको रामेछाप, मन्थली प्रतिको प्रेम र जनकपुरसँगको लगाव पढिसकेको भएर होला । पटक पटक मन्थली र जनकपुर नदोहोरिएर कथाका मुख्य पात्रहरु अन्त पुगेका भए वा अन्तैका भएका भएपनि हुन्थ्यो जस्तो लागिरह्यो । जीबा रामेछापका थिए । स्वामी राजाले खेदाएका प्रजाहरु मध्ये मुख्य कर्मलाल रामेछाप नै गयो । शरद र कुमारी काठ्माण्डौबाट टक्टकिएर रामेछाप गए । रामेछापबाट खेदिएपछि जनकपुर गए । यसरी कथानकले फन्को मार्ने स्थानहरु उहि उहि हुन पुगेको छ । हुनत एकै लेखकलाई निरन्तर पढिरहँदा तिनै तिनै कुराहरु एकाध कृतिमा दोहोरिएको पाउनुलाई सामान्य कुरा नै लिइन्छ होला । तर नेपालकै केहि चलेका लेखकहरुले तिनै तिनै कुराहरुलाई हरेक किताबमा ल्याएर अघाउंजी पारिसकेका भएर हो कि अन्तर्मनको यात्रामा भएका महत्वपूर्ण कुराहरु सकसमा नदोहोर्याएको भए हुन्थ्यो जस्तो मलाई लागेको ।

राजनैतिक दृष्टिकोणबाट हेर्ने हो भने अझै पनि, सकसले कथानकमा उठाएदेखि विसाएसम्मको कालखण्ड भरि, सकसको स्थितीबाट मुक्त रहेर आनन्द महसुस गर्ने परिस्थिती बनिसकेको छैन तथापि जनजीवनमा आइपर्ने हरेक सकसहरुलाई सामना गर्न र यौटा सुनिश्चित उज्यालो भविश्यमा दृष्टिपात गर्नको लागी परेला उघार्न वाध्य छौं मुलुकभरीका हामी एक एक व्याक्तिहरु । यस्तोमा सकसको कथानकले मुख्य पात्र शरदलाई कथानकको अन्त्यमा  तन्त्र फन्त्रको अधिनमा नगराएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । किताबको अन्त्यमा शरदलाई जीबाले भनेको कुरा छ, 'धैर्य गर्, जतिसुकै कालो र घना भएपनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारिन्छ । उज्यालो आउँछ आउँछ । ऐले म शान्तिलाई रक्तमुछेल देखिरहेको छु । तर सकस जति भए पनि भविश्य शान्तिकै हो ।' किताब पढुन्जेल पाठकको मगजमा पर्ने सकसलाई राहत दिने यो कुरा आउँदा शरद तन्त्र फन्त्र जस्तो आम मान्छेको जीवनमा अनुपयोगि र अनुशरण गर्न दुश्कर लाग्ने कुराको अधिन भैसकेको हुन्छ । त्यसैले शान्ति अनिश्चित भएको अवस्था जान्दाजान्दै पनि यो उज्यालो कुरा यसरी आउनुले पाठकलाई एकप्रकार अनिश्चिततामै छाडेको भान् हुन्छ । जस्ले गर्दा किताब पढिसक्ने पाठकलाई जीबाको उपरोक्त कुराले जति उर्जा दिनुपर्ने हो त्यति दिन सकेको छैन ।


यो ऐतिहासिक आख्यान 'सकस'को बथख्वाँइ गर्नै चाहनु हो भने पनि म त्यसको निमित्त योग्य पात्र कदापि होइन त्यसैले सकस पढ्दा महसुस गरेका कुराहरु थपक्क लेखें । यत्ति अधिकार म तुच्छ पाठकमा होला भन्ने सम्झेको छु । र सकसलाई नराम्रो छ भन्ने देखाउन लेखिएको भन्ने भ्रम नरहला भन्नेमा ढुक्क छु ।

सकसको राम्रा पक्षको वर्णन गर्नलाइ पनि म सायद योग्य नहुँला । र गर्नुपर्दा पनि मैले के वर्णन गर्न सकुँला? फेसबुकको उपन्यास कुनोमा 'सकस'माथि आएका हरएक समीक्षाहरु पढिरहेको छु र राम्रा कुरा लेख्नुपर्दा मैले तिनै कुराहरु नदोहोर्याई सुख छैन । अत: सकसकै पछाडीको खोलमा लेखिएको आख्यानकार नयनराज पाण्डेको टिप्पणी दोहोर्याउन चाहन्छु - ".......यसमा कहाली लाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ ।..........."

साहित्य लेखनमा हुनुपर्ने निर्भयता र निश्पक्षता भने सकसको माध्ययमले जगदिश घिमिरेबाट नेपाली साहित्यले अवश्य सिक्नेछ र सिक्नु पर्छ भन्ने ठान्छु म । अन्त्यमा, सबैभन्दा मुख्य कुरा त यो नेपाली साहित्यमा ऐतिहासिक मूल्य राख्ने आख्यान पढेर र संग्रह गरेर राख्न समेत पाएकोमा गौरव गर्छु म । र मेरो ब्लगमा यो पोष्ट पढ्नुहुने सबैलाई सकस पढ्ने मात्र हैन संग्रह गरेर राख्न समेत लायक उच्वकोटिको आख्यान हो भन्ने जानकारी पनि गराउन चाहन्छु ।

3 comments:

साहित्य संसार said...

पठनीय कृति सकसका बारेमा लेखिएको समीक्षात्मक पोस्ट उत्कृष्ट लाग्यो । अन्तर्मनको यात्रा पढ्दा देखि नै मलाइ थाहा थियो, नेपाली साहित्यका यी हस्तीलाइ कुनै माइलोमाले चुडेर लान सक्दैन किनकी 'सकस' जस्ता संग्रहनीय सिर्जनाहरु नेपाली साहित्यको भण्डारमा उनले अझै थप्नु थियो ।

Anonymous said...

hmmmmmm ........ Heard a lot about it but have not read yet. But an honest comment on the book and from it I understood what to expect and what not to.......

~ Rhi

Unknown said...

कृष्णजी,
ठीक भन्नुभयो । नेपाली साहित्यले सिर्जनामा सत्यवाद र हक्कीवाद(यस्लाई पनि वाद नै भन्दिने हो भने) समेत वहाँबाट अझै सिक्न बाँकि छ । अरु त छँदैछ ।

ऋ,
यसको ऐतिहासिक ज्ञान र रोचकताको लागी पनि पढ्नै पर्छ ।