Monday, January 25, 2010

कविता : प्रेमीहरुलाई

यतिखेर कुनै निश्चित समय लिएर कुनै निश्चित कुरा लेख्न सक्ने एकाग्रता नभएको अवस्थामा छु म । एक त यात्रावधीमा त्यसमाथी सजिला अप्ठ्यारा अनेक कुराहरुसँग जुधिरहँदा मनमा आएका अनेक तर्कनाहरुले कुनै आकार लिन सकिरहेका छैनन् । अक्सर हुन्छ यस्तो हुनत जस्तो कि लाग्छ म भित्र निक्कै गतिलै विषयमा मन्मथ भैरहेछ र निक्कै ठुलै नौनी मथेर निकाल्ने छ यो मनले तर पानी मथ्छ क्यार घरीघरी यो मनले नौनी निस्क्ने बेलामा त फुस्सा पो हुन्छ । यस्तै मथाई पछिको यो फुस्सा नौनी, अत्यन्तै ब्यस्तताका वावजुध टिनियान टापूबाट ब्लगमा पोष्टिङको एक अंक थप्नै सहि यो कविता -


नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर
छट्पटाउनु नपरोस
ति मनहरु
मनकै बन्धनभित्र कैद भएर
फुस्काउनु नपरोस
ति मनहरु
मनकै घेराभित्र टाढा भएर
अन्यथा
मन बाँध्ने र फुकाउने
यो खेलमा
भोलीसम्म
रहनेछैन तिम्रै पनि मन
ए प्रेमीहरु हो
धेरै धेरै किन देखिरहेछु
हारजीत आज
फगत मन बाँध्ने र फुकाउने
यो खेलमा
नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर ।

6 comments:

Basanta said...

यो नौनी पनि कमचाहिँ छैन जडितजी!

तपाईँको यात्रा रमाईलो रहोस् भन्ने कामना! र अझ गहकिलो, पोसिलो नौनीको आशामा छौं हामी।

Dilip Acharya said...

पानी हैन दहि नै मथेर निस्केको छ यो "नौनी" पनि । यात्राको शुभकामना सहित ।

Dhruba Panthi said...

धेरै धेरै किन देखिरहेछु
हारजीत आज
फगत मन बाँध्ने र फुकाउने
यो खेलमा
नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर ।

निकै सुन्दर कविता!!

Ashesh said...

सर यति राम्रो सिर्जनालाई 'फुस्सा-नौनी' नै भनिहाल्न चाहिँ अलि मिलेन है !!

व्यस्तताका वावजुत पनि यति राम्रो लेखाईले जन्म लिन्छ भने फुर्सदमा त झन् के हुने हो ? लौ कुर्न थालेँ है म ता...

https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dA said...

मन र प्रेम बीचको दीर्घनाताको निरन्तरता आह्वान गरिएको सुन्दर भावले भरिएको यो कविता निक्कै राम्रो छ !

Unknown said...

कविता मनपराई टिप्पणी दिनुहुंदै यात्राको शुभकामना दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद !