Tuesday, December 08, 2009

गजल : ब्यर्थै तिम्रो ईश्वरलाई

अनियमित दैनिकी भोगीरहेछु । .........'यो वाक्य लेखिसक्ने बित्तिकै म रोकिएँ । एकैछिनलाई हैन धेरैबेरलाई । के गरेँ त रोकिएर ? यसको कथा पछि फेरी अर्को ब्लगमा भनुँला ।...........' त्यसैले ब्लगमा सोचे जसरी प्रस्तुत हुन सकिरहेको छैन । लामो अन्तराल पछि ब्लगमा भोलीको भूमिका भनेर लेखेको थिएँ । जस्को प्रतिक्रियाले मुख्य भन्न खोजेको कुरा अझै सशक्त ढँगले भन्नुपर्ने दवाव दिएको छ । त्यसलाई निरन्तर लेखिरहेको छु तर पुरा गर्न सकेको छैन । त्यहि लेख्दालेख्दै 'सुर्काउने गाँठो जिन्दगीको' भन्ने कविता लेखेँ र ब्लगको एक पेज थपें । यसपल्ट पनि म अन्तरालका कुरा लेख्न बसेको थिएँ तर लाग्यो त्यो म एकैछिनमा एक टुक्रा कविता लेखे जसरी वा यौटा गजल जबर्जस्ती पुरा गरे जसरी पुरा गर्न सक्दिंन । त्यसैले ब्लगमा अर्को पेज थप्नको लागी निक्कै पहिले लेखेको तर फुर्सद नपाएर ब्लगमा चढाउन नभ्याएको यौटा गजल लिएर आएको छु । यसको पहिलो शेर(मतला)लाई निक्कै पहिले फेसबुकमा लेखेको पनि थिएँ ।

गलत् भनिंन तिमीले पूजिरँ'दा पत्थरलाई ।
नलगाउ मेरो कुरा ब्यर्थै तिम्रो ईश्वरलाई ।

नटेक्दैमा मठ्-मन्दिर हुन्न म अनिश्वरवादी,
सकेको छु मैले मान्न मन्दिर आफ्नै घरलाई ।

के हिसाबले भन्छौ तिमी द्यौता आफ्नै मात्र पेवा,
उसले आफ्नै ठान्छ भने जगत् चराचरलाई ।

मन्दिर धाई फिर्दा अरु मान्छे होचो देखेसम्म,
खेद ! रहनेछ द्यौता ढोग्ने ति दुई करलाई ।

तिम्रो पूज्य ईश्वरमात्र हैन मान्छे पनि हुन्छ,
सक्यौ हटाउन भने यदि मनको 'तर'लाई ।

ईश्वरत्व त्यसमा पो छ जस्ले सक्छ अहँ त्यागी,
स्विकार्न 'यो धर्तीका सब जीव बराबर'लाई ।

8 comments:

Chaitanya said...

ईश्वरको बारेमा निकै गहकिलो धारणा प्रस्तुत गर्नुभएको छ | रमाइलो लाग्यो | बिस्तारै लेख्दै जाने गर्दा पनि होला नि, कसो ! शुभकामना !

Yumesh Pulami said...

मन्दिर धाई फिर्दा अरु मान्छे होचो देखेसम्म,
खेद ! रहनेछ द्यौता ढोग्ने ति दुई करलाई ।

साचै निश्छल धारणा - दीपक जी !

Dilip Acharya said...

नौलो तर रोचक तथा आध्यात्मिक धारको गजल लेख्‍नु भएछ ।

लाग्छ तपाईको र मेरो ईश्वरबारेको धारणा एउटै छ। उच्चकोटीको लाग्यो मलाई यो पुरै रचना !!!

वाह!

Basanta said...

एउटा नयाँ भावभूमिमा उभिएको गजल! मिठो लाग्यो। मनलाई झड्कारेर एउटा तरंग छोड्छ यो गजलले।

आश्मा said...

गलत् भनिंन तिमीले पूजिरँ'दा पत्थरलाई ।
नलगाउ मेरो कुरा ब्यर्थै तिम्रो ईश्वरलाई

वा !! गजब!

https://www.youtube.com/channel/UCCZWja8o4uNVu5txxGve6dA said...

यो गजलको भावभूमी निक्कै राम्रो लाग्यो |

कृष्णपक्ष said...

गज़लमा काफियाको मेल गराउन जुन शव्द र शैली छनोट गर्नु भएको छ त्यो एकदम उच्चस्तरको लाग्यो । विषयवस्तु र भाव पनि उत्तम लागे ।

Aakar said...

यो गजल ले खै कता कता छोइदिएको छ, बेग्लै महशुस गराएको छ । तर म प्रतिक्रिया मा लेख्छु, वाह क्या गज्जब छ । कहिले काँहि मलाई निकै गाह्रो नै पर्छ, गजल माथि आफ्नो प्रतिक्रिया दिन । यो गजल ले साँच्चै मुटुलाई छोइदिएको छ ।
:)