एक त के अनेक भूमिकाले पनि बाँध्न सक्दैन रहेछ बिथोलिएको अवस्थितीलाई चाहे त्यो मनको होस् या अर्थोकै केहिको ।प्रसङ्ग - अन्तरालका कुराहरुको
समय - मैले हिसाब गर्न जाने देखि आजसम्म र यो तन्कँदै जानेछ म रहुञ्जेल
स्थान - मैले देखेजति आकाश र टेकेजति धर्तीयो अन्तरालका कुराहरुको प्रसङ्गलाई अब थियो भन्ने कि छ भन्ने ? दोधारमा छु । यो दोधार छँदै थिएन जब मनमा लेख्ने तानाबाना बुन्दैथिएं तर लेख्दै जाँदा नितान्त ब्याक्तिगत कुराहरुलाई म यति महत्व दिएर किन लेखिरहेछु ? यो सब कुराहरुको अर्थ म स्वयंलाई बाहेक कति महत्वको छ र ? भन्ने जस्ता तर्कनाहरु उब्जँदै गए, कुनै बाली लगाईएको खेतमा झार पलाएझैं पलाएका तर्कनाहरु यस्तरी बलिया बनिदिए कि एक पटक हैन अनेक पटक मैले यौटा सानो अन्तरालका कुराहरु लेख्दै मेट्दै गरें र त्यसैले अर्को अन्तराल बनाउँदै गयो । हो रहेछ, अन्तराल यसरी नै बन्दो रहेछ । हामी निरन्तर प्रयासरत हुन्छौं जीवनका कुनै पक्षमा अन्तराल नबनोस् र त्यसको अप्ठ्याराहरु सामना गर्नु नपरोस् भनेर तर त्यहि प्रयासले अर्को अन्तराल निर्माण गरिरहँदो रहेछ र हामी जीवनमा आफैंले बनाउन पुगेका अन्तरालका गहिरा गहिरा खाडलहरुमा पुरिइरहँदा रहेछौं । ति खाडलहरु घातक नै हुन्छन् भन्ने पनि छैन । निस्कन्छौं, उम्कन्छौं ति खाडलहरुबाट तर उम्कनलाई गरेको प्रयासले या भनौं प्रयासरत रहेको समयावधीले फेरी अर्को खाडल निर्माण गरिसक्दोरहेछ र धकेल्दोरहेछ हामीलाई फेरी अन्तरालकै खाडलमा ।
प्रक्रिया उहि उस्तै चलिरहने निरन्तर जिन्दगीको र त्यसमा प्रत्येक पल भए/गरेको नयाँ देख्न नसक्ने हामी मुर्ख मनुवाहरु ।यौटा निश्चित समयावधीको अन्तरालका कुराहरु उप्काउन खोज्दै जाँदा क्रमश आजसम्मकै जीवनका अन्तरालहरु उपस्थित हुँदै गए र म अन्यौलमा फँस्दै गएं कि कुन कुरालाई लेखुँ ? लेखिसकेका धेरै कुराहरु त मेटिसकेको छु । के अब सबै सुरुवातबाट लेखुँ ? अहँ यो यति सजिलै लेखिने कुरा होईन । यस्तै मात्र लागिरहयो, त्यसो त यहाँनेर पनि अन्यौलमा छु म, यो यस्तै लागेको नै हो कि अथवा मैले यस्तो लाग्नुलाई जोड दिएको हो ? लेख्दै जाँदा थपिँदै गएका कुराहरुले कि त मेरो लेखलाई भद्दा बनाउने छ या त जति लेखेर पनि यो अधुरो नै रहने छ । निचोड यस्तै बन्यो ।
लेख्न खोजिएको अन्तरालको कुरा लेख्ने नै हो भने दुई वाक्यांसमा लेखिएला तर अन्तरालका कुराको सीमा वृहद बन्दै गयो । थपिंदै गए अन्तरालहरु र म केवल गोडा पाँचेक हरफमा आफ्ना कुरा लेख्ने ब्लगर(लेखक नै भनुँ न) रहिनं । म स्वयं यौटा यस्तो पात्र बनें जस्ले भोगाईको हकमा जीवनका सबै यामहरु भोगेको छ र अन्तरालका कुराहरुमा ति सबै यामहरुको उपस्थिती आवश्यक छ । जो नफुल्नु खुशी फुलेको छ, नदुख्नु पीडा दुखेको छ र ति खुसी र पीडाका क्षणहरुले पनि अन्तरालका कुराहरुमा आफ्नो वर्चस्वको हकदाबी गर्दछन् । जब थोरै कुराहरु भन्न खोज्दा अर्थात लेख्न खोज्दा आफुलाई यस्तो अवस्थामा पाईंदोरहेछ तब लाग्दोरहेछ कि त यो लेख्नुको औचित्य छैन या फेरी लेख्ने समय नै भएको छैन ।
त्यसो त एक ब्लगर भएर मैले आफुलाई एक खुल्ला किताब भनेको छु । यो मलाई लाग्छ - म मात्र हैन हामी सम्पुर्ण ब्लगरहरु नै यौटा खुल्ला किताब सरह हौं जो आफ्ना मनका अक्षरहरु, ति जतिसुकै नितान्त ब्याक्तिगत किन नहुन ब्लगका पानामा कुनै न कुनै माध्ययमले छाप्ने गर्छौं र अलिकति राहतको स्वास फेर्छौं । यस्तो सोच्दासोच्दै, अनायस कति कुराहरुमा हामी मनका अक्षरहरुलाई ब्लगका पेजहरुमा हुबहु फोटोकपिझैं उतार्न सक्दैनौ पनि । भनौं न ब्लग मनको ऐना हो भने मनको अक्षर त्यसमा देखाउनलाई प्रतिविम्बित मात्रै गरेर पुग्दैन, त्यसो गर्दा त्यो उल्टो देखिन जान्छ यसर्थ हामी मनका अक्षरहरुलाई अरुले बुझ्ने गरेर र धेरैजसो चैं आफुले अरुलाई बुझाउन चाहे अनुशार आकार/प्रकारमा फेरबदल गर्ने गर्छौं । ब्याक्तिगत कुराहरुको लेखाईमा यो प्रयास प्रायस सबै ब्लगरहरुमा लागू हुन्छ । जस्तै मलाई नै भै रहेछ ।
अन्तरालका कुराहरु लेख्ने जमर्कोमा म ति नै अन्तरालका गहिरा खाडलहरुमा यसरी खसुँला भन्ने कहाँ थियो र ? लेख्दैथिएँ सरर सरर मानौं कि ममा उस जूगका महान लेखन्दास गणेशकै जस्तो बिद्युतिय लेखन शक्ति छ तर लेख्दै जाँदा महसुस हुँदै गयो लेखन्दास बन्ने शक्ति हुनु र लेखक बन्ने शक्ति हुनु दुई पृथक कुराहरु हुन् । प्रसंग उप्किंदा अलिकति गणेशको बारेमा बोलीहालुँ - त्यत्रो विद्युतिय गतिमा लेखन शक्ति भएका गणेशले किन यौटा पनि आफ्नो कृति लेखेनन् होला ? आफ्नो यौटा पनि कृति नलेख्ने गणेशको कस्तो बिद्युतिय गति थियो होला त लेख्ने ? के गणेशसँग कम्प्युटर थियो छिट्टो लेख्नलाई जस्तो अहिले मैले प्रयोग गरिरहेछु ? त्यसो हो भने गणेशसँग द्रुत गतिमा लेख्ने बिद्युतिय शक्ति हैन साधन थियो भन्न पर्छ होला सायद र साधन प्रयाप्त भएर मात्र निर्माण हुन्छ भन्ने जरुरी छैन । कृति तयार गर्नु एक प्रकारले निर्माण न हो जहाँ यथेष्ट परिकल्पनाको खाँचो पर्छ । त्यसैले गणेशले आफ्नो कृति लेखेनन् होला । आँखिर उनि परिकल्पना प्रेमी भन्दा पनि परिक्रमा प्रेमी त दरिएकै हुन् । लगभग त्यस्तै नै अवस्था होला मेरो यो अन्तरालका कुराहरु लेख्नु जो म साधन भएर मात्र लेख्न सकिरहेको छैन । सायद ब्यापक परिकल्पनाको खोजीमा छु ।
अन्तरालका कुराहरु लेख्ला यो ज्यानले । म आशावादी छु आफैंसँग । त्यसले समय लेला । त्यसको स्वरुप अहिले मैले कल्पना गरेको भन्दा अलग होला तर अन्तरालका कुराहरुले मनमा एक प्रकारको जुन घर बनाउँदैछन् तिनले पूर्णता पाएपछि त्यो अवश्य लेखिएला कुनै न कुनै उपायले । अहिलेलाई अन्तरालका कुराहरु मध्येको यौटा कथा एक हरफमा लेख्दैछु साथमा यौटा तस्विर राखेर । यो लेख्दिंन, लेख्नेबेला भएको छैन ईत्यादी ईत्यादी प्रतिको अन्तरविरोध हो अर्थात बनाउँदैछु । कथा भनिसकेपछि यौटा शिर्षक पनि चाहियो भनेर यो कथालाई 'जीवन साथी' शिर्षक दिएको छु ।
'जन्मेदेखि आज पर्यन्त कहिल्यै नछोडी सँगै लिएर हिँडीरहेको जीवनले थाहै नपाई बनाएका अन्तरालका गहिरा गहिरा खाडलहरु माझको कतै पुगेर साथी भेटाएको छ - जीवन साथी ।' यो फोटो कथा यति नै ।

फोटोको सम्बन्धमा: यो मेरो दोश्रो विवाहको तस्विर हो र उपज जीवन-अन्तरालकै ।
क्रमश...........(भलै यसको अत्तोपत्तो छैन ।).................