यसपटक ( हिँजो आईतबार ) साप्ताहिक बिदामा बरालिएर हिँड्ने सुर चल्यो तर एकदिनको बिदामा कति पो बरालिने र ? बरालिँदै हिंड्नलाई धेरै टाढा आँट्दा पनि फेरी फर्केर आउनुपर्यो भोलीपल्टको कामलाई आराम गर्न भ्याउने गरेर त्यसैले लगभग ३०० माईल जतिको दुरीमा रहेको डेनाली नेशनल पार्कतिर बरालिँदै पुग्ने निधो भएर बिहानै उठेर लागियो । त्यसो त डेनाली नेशनल पार्क अर्को महिना ( मे ) देखि मात्र पर्यटकहरुको निम्ती खुल्छ , यतिबेला मान्छेहरु त्यती जाँदैनन् भन्ने थाहा नभएको पनि होइन तर यतिबेलै जाँदाको आनन्द पछि कहाँ पाईएला र ? फेरी भएन बरालाहरुलाई पर्यटक जाने सिजन र बेसिजनसँग के मतलब ? भन्ने ठानियो ।
थुप्रै कुरा होलान् त्याँहा हेर्न जानलाई तर हामीले चैं भने Mt. McKinley को फोटो सोटो खिचौंला भन्ने सम्म सोचेका थियौं । क्या झुर ! त्यो हिमाल भएतिर त डम्मै बादलले ढाकेर फोटो खिच्न नै पाईएन र पनि त्यतातिरका केहि फोटो खिचेर मैले मेरो फोटो ब्लगमा हालेको छु ।
अर्को कुरा , त्यतातिर बरालिँदा पनि मेरो मनमा भने अघिल्लो पटक ब्लगमा राखेको गीतले पिरोलिरहेको थियो । त्यो गीतको स्थाईको अन्तिम हरफमा 'मैले त बाँच्नु भन्दा मर्नु निको भो ' लेखेको केहि हदसम्म आफैंलाई चित्त बुझिरहेको थिएन । मनमा पिरोलो त्यसलाई हटाउने र अर्थोकै लेख्ने भन्ने थियो र त्यसमा मेरो ब्लगमा सुझाब सहित तपाईंहरुले लेख्नुभएको प्रतिक्रियाले पनि पिरोलिन सघाईरहेको थियो । मैले त्यो गीत उता गजल ग्रुप ( आजभोली गजल ग्रुपमा कस्तो अवस्थामा गजल भन्दा गीत लेख्न उपयुक्त हुन्छ भन्ने पनि छलफल गर्दछौं ।) मा पनि राखेको थिएँ र दीपक खड्काजी ( गजल ग्रुपको लागी पथ प्रदर्शक मान्छु म ।) ले यसरी प्रतिक्रिया लेख्नुभएको थियो । -
दीपकजी,
‘मर्नु निको भो’ मलाई पनि तपाईका अन्य पाठकहरुलाई जस्तै जँचेन । अलि दोहर्याई तेहर्याई पढ्दा मलाई कस्तो अनुभूति हुन्छ भने ‘मर्नु’ शब्दले तपाईले चाहे जस्तै पीडाको उत्कर्ष बोक्न खोजेको त हो, तर ‘निको भो’ ले त्यसलाई अन्य अर्थमा modify वा dilute गरेको छ । ‘मर्नु निको भो’ भनेर त घोर पश्चातापमा वा घोर frustration मा पनि भनिन सक्छ नि त ।
‘मर्नु’ शब्दमा कुनै कुराको उत्कर्ष व्यक्त गरिएको पंक्ति मलाई सम्झना आईरहेको छ पारिजातको । ‘मर्न मन लाग्छ मायालु’ भन्ने एउटा गीत/कविता हो त्यो । एउटा भावुक प्रसंग पनि छ त्यससंग सम्बन्धित । रामेश र मञ्जुलले पारिजात दिदीको डेरामा त्यो गीत impromptu लय हालेर गाईदिदा पारिजात दिदी कति मिनेट हो घोप्टो परेर रोएकी थिईन् रे । त्यो दृश्यको कल्पना र त्यसको poignancy मेरो मनमा यसरी गढेको छ कि त्यो म कहिले बिर्सन्न । त्यो दृश्यले मलाई खै के के अव्यक्त उर्जा र high दिन्छ । पारिजात र प्रेम (unrequited love) कहिले पनि नछुट्टिने तर कहिले संयोग पनि नहुने त्रिशंकु तैराई (floating) को बिम्ब हो मेरा निम्ति । पारिजात दिदीको जीवनको पुरानो चरण (रोमान्टिक) र नयाँ चरण (प्रगतिवादी) को साँधमा पनि पारिजात दिदीलाई रुवाउन सक्ने त्यो गीतले मेरा निम्ति एउटा आध्यात्मिक अर्थ बोकेको छ भन्दा हुन्छ । प्रेमको सार्वभौमिक सत्ताको manifestation र भजन हुन् ती पंक्ति मेरा निम्ति ।
Back to हाम्रो प्रसंग । मलाई लाग्छ त्यो ‘निको भो’ भन्ने शब्द काफियाको निम्ति अपरिहार्य भएपनि त्यसले ईच्छित अर्थलाई deflect गरेको छ । अन्यथा बडो सुन्दर गीत ।
दीपक खडका
हामी प्रतिक्रिया किन सुन्न चाहन्छौं ? सुध्रिन या सुधार्नलाई नै त हो । यि नै कारणहरुले त्यो यौटा हरफ फेर्न बढेको पिरोलो बरालिँदै डेनाली पुगेको बेला अन्त्य भयो । गुन्गुनाउँदै थिएँ त्यही गीत यसरी फेर्दा होला भन्ने लाग्यो र कागजको यौटा टुक्रामा थपक्क टिपिहालेँ -
तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।
यसो गर्दा मैले पीडाको जुन उत्कर्ष लेख्न खोजेको थिएँ त्यो पुगेन भन्ने लागेको त छ तर मर्नु निको भो भन्ने शब्दले दिन सक्ने गलत संदेश र गलत उक्साहटबाट भने मुक्त भएँ भन्ठानेको छु र अघिल्लो पटकको पोष्टमा पनि फेरीसकेँ । जे होस् बरालिँदै डेनाली पुग्दाको यो यौटा फाईदा भो ।
8 comments:
नढाटी भन्नु पर्दा यी दुबै पटकको प्रयाशले तपाईं कै
बाँझै पल्टेर मनपरी उम्रिएछ घाँस जिन्दगीमा
फूल रोपेँ मन बगर भै फूलेछ काँस जिन्दगीमा
भन्ने गजलको उचाईलाई कतैबाट नि भेट्न सक्दैन| परिमार्जित गीत ठीकै मात्र छ | तपाईंको पुराना सिर्जनाबाट सिर्जना कला चिनेकोले म तपाईंबाट सधै राम्रै मात्र अपेक्षा गर्छु |
अर्को कुरो, आफ्नो बिपक्षमा भए पनि सही कुरा अर्काबाट सिक्ने यो प्रयाशले तपाईं असल मानिस पनि भएको पुष्टि गरेको छ |
राम्रो लाग्यो गीत दीपकजी! पढ्न ढिला भएछु म, मेरो विचार पनि अरु साथीहरुसंगै मिल्छ। 'मर्नु निको भो' चाहिँ मलाई पनि चित्त बुझ्ने थिएन।
जडित जी को डेनालि को यात्राको रस त मैले उताबाट (तस्बिरमा जिवन् र जगत) लिइसकेको थिए । अघिल्लो पोस्ट ले त मनमा ठुलै हलचल् मच्चाएछ नि । यात्रामा पनि टेन्सन? मलाई लाग्छ साथिहरुको प्रतिकृया नै सुमार्गको पाइला हो । तर परिमार्जित गीत ठिकै लाग्यो ।
यस्को बारेमा मेरो पनि मत परिसकेको छ अघिको पोस्टमा ।
फोटोहरुको लागि धन्यबाद ।
प्रतिकृया नै लेख्न सकिन दिपक जि मैले त !
मलाई अनुभब भ ईरहेको छ तपाईं दु ख्नु भएको छ ---
के लेखु ! के नलेखु !
( यती नै बुझ्नुस् , बरालिएको मन भित्र मेरो मन पनि बरालियो ---)
मन त हो कस्ले रोक्न सक्छ र !
आशु त हो नबगी थ पक्क कहाँ बस्छ र !
दिपक !
तिम्रो जलन को ताप
आगो स रि पोलिरहेको छ मलाई
ढुङ्गा भित्र को मन
साउती बोलिरहेको छ मलाई ---
( के लेखे दिपक जि ! मलाई नै था छैन ! कामको ब्यस्तताले मस्तिस्क थाकेको थियो तर मन ब रालियो -- जे जे मन ले सोच्यो त्यै त्यै टाइप भयो । )
दीपक जडितजी,
गजल-समुहको वार्तांश र तपाईको न्यानो उद्गार समेतको लागि धन्यवाद । एउटा कुरा नि, पारिजातसंगको सन्दर्भ मैले रामेश वा मन्जुलले कुन प्रसंगमा हो भनेको कुरा (कुनै लेख वा अन्तर्वार्ता ) को सम्झनाको भरमा लेखेको हुँ । त्यसमा accuracy तलमाथी परेको रहेछ भने यसैबाट disclaimer गरिहालुँ भनेर ।
ठेट नेपाली भाषामाथि तपाईको प्राधिकार र गीत-गजललाई मूर्तिको भाँती मिहिन छिनोले कुँद्ने तपाईको कलाको ठूलो प्रशंसक हुँ म भन्ने कुरा त तपाईसंग अन्य अवसरमा पनि बाँडेकै हुँ ।
तपाईको कलमको निरन्तर सक्रियताको शुभेच्छुक, सहनामी साहित्यानुरागी,
दीपक खडका
पुनश्च: मित्र गोतामेजीलाई पनि मेरो नमस्कार छ है ।
डेनालीको घुमघाममा लेखिसकेको गीतको फुराइ कति आनन्ददायक र कति पीडादायक थियो कुन्नि । हामीलाई भने डम्मै बादल लागेको हिमालको फोटो पनि गुगलबाट निकालेको भन्दा कम लागेन ।
गीतको बारेमा भने मैले अघिल्लो पोष्टमा पनि केही लेखेको थिएँ । पीडा र निराशाको चरम 'सौन्दर्य'लाई खुलाउन कतिपय स्थितिमा घोर शब्दचित्रणको सहारा लिनुपरे पनि र त्यसले रचनागत हिसाबमा व्यक्तिगत सर्जकीय लाभमा शान्ति मिले पनि त्यसको सामाजिक सार्वजनिक पाटोमा कस्तो सन्देश जान्छ भन्नेले पनि खास अर्थ राख्छ । यो कुरा जान्दाजान्दै पनि अभिव्यक्तिको तीक्ष्णतामा यदाकदा चरम हतासा प्रकट भइहाल्छ ् पछि सच्याउँदा पनि त्यसले सुरुवाती रचनागत शान्तिलाई भरथेग गर्दैन । दीपकजीमा पनि यो गीतको सन्दर्भमा यस्तै भावदशा भइरहेको होला, अनुमान गर्छु ।
कम्ती राम्रो फोटो खिच्नु हुदो रहेनछ तपाईंले !
( मेरो फोटो ब्लग मा क्लिक गरेर हे रे ! कबिता गजल मात्रै होइन तस्बिर भित्र पनि खुब डुब्नु हुदो रहेछ तपाईं ! )
धन्यवाद मिलनजी तपाईंको यो मिठो प्रतिक्रियाको निम्ती । वास्तवमै कुनैकुनै बेला फुरेका रचनाहरु गहकिला र धेरै बेला फुरेका रचनाहरु सतही नै हुन्छन् भन्ठान्छु म पनि । अरुलाई नि त्यस्तै हुँदो हो प्रयास मात्रै हो मिठो , राम्रो र गहकिलो पनि बनाउने चैं ।
वसन्तजी , सिकारुजी र लुनाजीलाई पनि हार्दिक धन्यवाद ! लुनाजी तपाईंको न्यानो आत्मियता संधै पाईरहुँ भन्छु है म त ।
दीपक खड्काजीले मेरो ब्लगसम्म आएर पनि दुई शब्द लेखिदिनुहुँदा मेरो हर्षको सीमा छैन् । तपाईंको हप्काई दप्काई (श्रष्टा प्रेमले भरिएको) सहितको मार्ग निर्देशन सँधै पाउन सकुँ । गजल लेखनमा तपाईँको सँगत पाएर सुध्रिएको महसुस गरेको छु मैले ।
धाईबाजीलाई पनि हार्दिक धन्यवाद !
लुनाजीलाई फोटो प्रतिक्रियाको निम्ती पुन धन्यवाद !
Post a Comment