झण्डै वर्ष दुईवर्ष अगाडी देखि मेरो ब्लग नियमित पढ्नेलाई त अबोध परेलीहरुको बारेमा थाहा छ होला तर शुरुवात देखि मेरो ब्लग पढ्ने शुभेच्छुक ज्यादै थोरै छन र लिखित कमेण्ट गर्दैनन । जे होस अबोध परेलीहरु नामको यो अल्बम पनि बजारमा निकाल्ने सोच थियो मेरो तर एक अञ्जुली मायाको हविगत देखेर त्यो मन मारें । मैले एक अञ्जुली मायाका दश गीतहरु शुरुमा रेकर्ड गराउँदा त्याँहा रुवि जोशीको स्वरको र प्रदिपराज पाण्डेको स्वरको गीतहरु थिएनन , शट्टामा त्याँहा सुधा शर्मा र टिका भण्डारी / दीन्जु कार्कीको स्वरको गीतहरु थिए जो अहिले अबोध परेलीहरु नामको एल्बममा क्रमश नम्बर ७ र ८ ट्र्याकमा छन ।
एक अञ्जुली मायाका दश गीतहरु नेपालमा रेकर्ड भएर मलाई पठाईएको बेला थियो , मेरो एक जना घनिष्ट मित्र (महिला) ले मलाई सुधा शर्मा र दीन्जु कार्की तथा टिका भण्डारीको स्वरमा भएको गीतले एल्बमको वजन घटाउंछ अत अरु दुई वजनदार गीतहरु तिन्को शट्टामा बनाउनुहोस भन्ने सल्लाह दिनुभयो । वहाँको तर्क ' तपाईंलाई कसैले चिन्दैनन , पहिलो पल्ट एल्बम निकाल्दैहुनुहुन्छ र त्यसैमा तपाईँकि छोरी र भान्जी ( क्रमश दीन्जु कार्की मेरी छोरी र सुधा शर्मा मेरी भान्जी ) को गीतहरु राख्नुभयो भने मान्छेले राम्रो मान्दैनन ' भन्ने थियो ।
अलिक त म रनभुल्लमा परेको थिएँ । किन मान्छेहरुले त्यस्तो सोच्छन र ? कसैलाई नयाँ प्रस्तुत गर्नुपर्दा त्यसरी नै गर्न उपयुक्त हुन्छ भन्ने मेरो ठम्याईले पनि ठाउँ छाड्यो । होला पनि भन्ने लाग्यो र टाउको दुखाउन तिर नलागेर थप दुई गीतहरु रेकर्ड गर्न पठाएँ जुन रुवि जोशी र प्रदिपराज पाण्डेले गाउनुभएको छ । एक अञ्जुली मायाको लागी गीतहरु पुग्यो तर दुई गीतहरु अलपत्र हुनेभए ।
अब समस्या ति दुई गीतहरुलाई के गर्ने भन्ने भयो । टिका दाईसंग सल्लाह गरेर अलि कम लगानीमा अर्को यौटा एल्बम बनाउने , सुधा र दीन्जुलाई मात्र निकाल्ने , ति उब्रिएका ( पहिले नै रेकर्ड भै सकेका ) दुई गीतहरुमा अरु ६ वटा गीतहरु थपेर आठवटाको अर्को एल्बम तयार गर्नेजस्ता सल्लाह भए । मैले बाँकी ६ वटै गीतहरु अरु अरु गीतकारहरुको गरौं र अलग अलग संगितकारहरु राखौं भन्ने कुरा राखें । टिका दाईले हैन सबैमा संगीत मै गर्छु बरु थप दुई गीतहरु तपाईंको राखौं बाँकी चारवटा म खोज्छु भन्नुभयो र त्यसै गरियो । त्यसो गर्दा मैले लेखेका थप दुई गीतहरु अहिले ट्र्याक दुईमा रहेको दिन्जुले गाएको 'मेरा साना हातहरुमा' भन्ने र ट्र्याक ३ मा रहेको सुधाले गाएको 'मलाई सपना नदेउ' भन्ने , एल्बमको शिर्ष गीत मानिएको परेका छन । अर्थात मेरो ब्लगमा राखिएको अबोध परेलीहरुको प्लेयरमा ट्र्याक २ , ३ , ७ र ८ मा भएका गीतहरु मेरा शब्दहरु हुन भने ट्र्याक १ को शब्द गीतकार ज्ञानेन्द्र गदाल दाईको र ट्र्याक ४ , ५ र ७ का शब्द सरुभक्तको रहेका छन र आठैवटा गीतको संगीत संयोजन टिका दाईले ( संगितकार टिका भण्डारी ) गर्नुभएको छ । यसरी यो एल्बम तयार भै सक्दा उता एक अञ्जुली माया को विमोचन गरिसकिएको थियो तर बजार लिन सकिरहेको थिएन ।
यसरी आठ वटा गीतहरुको यो एल्बम तयार पारेर पनि विभिन्न कारणहरुले अहिले सम्म बजारमा लान सकेको छैन । केहिदिन अगाडी देखि ब्लगमा राखेको त थिएँ तर यस्को परिचय सम्म दिएको थिईंन । त्यसैले आज यति लेखेँ । आउनुहोस् आज तपाईँलाई म मेरी छोरी दीन्जु कार्की संगपनि परिचय गराउँछु । २०५६ साल जन्मिएकि मेरी छोरी हाल भारतको पश्चिम बंगालमा पर्ने सिलिगुरी / सिलिगुडी ( हामी गाउँले जिब्रोले सिलगढि पनि भन्छौं ) मा मेरी दिदीको घरमा बसेर पढ्दैछिन् र पछिल्ला ३ वर्ष देखि संगीत पनि सिक्दैछिन् ।
