Wednesday, August 09, 2006

कविता : अलबमको पानाभित्र एकदिन ।

अलबमको पानाभित्र एकदिन ।

दीपक जडित
एकदिन
हातभरी गुलाफको फूल बोकेर
पानी छोएर कसम खाँदै
तस्वीरबाट उस्ले मलाई हेरी
र भनि - " म मरेकी छैन
तिम्रो छाती भित्र मैले रोपेका
प्रत्येक गुलाफहरु
जब जब फुल्नेछ
र त्यसको सुबासले तिम्रो परिवेश
सुवासित हुनेछ
छामी हेर्नु त्यसबेला म
तिम्रो स्पन्दन बनेर
स्पन्दित भएकि हुनेछु । "

बिश्वास नभएर मैले
निर्मिमेश उस्लाई हेरें
हेरिरहें घण्टौं
निर्भिक उस्ले झिम्म नगरि
म सँग आँखा जुधाईरही
ठिक त्यसबेला
अलिकति पिंडाले मेरो अन्तरमा
घोचिदियो चस्सै !!
म उस्को पछ्यौरीमा
घोप्टिएर खोज्न थालें
आफु भित्र
उस्ले रोपेका गुलाफहरु ।

नियाँल्दै जाँदा
सौंदर्यहिन
प्रसस्तै गुलाफहरु
सुवासरहित भएर
मुर्झाउन लागेको पाएँ
अन्तत दुखित मलाई लाग्यो
सौंदर्य गुलाफमा नभएर
दृष्टीमा हुँदो रहेछ
र सुवास घ्राणशक्तिमा
जस्लाई गुमाएर मैले
यौटा रहस्य फेला पारें कि
गुलाफको सौंदर्य त भ्रम रहेछ
अनि तत्कालै पल्टाई दिएँ
अलबमको पानालाई ।

यो कविता उ अझै मरेकी छैन भन्ने आफ्नै अप्रकाशित कविता सँगालो बाट लिएको हुँ ।

1 comment:

sapanakosansar said...

timro yo poem sachai jiwanta cha
jadit