Tuesday, February 26, 2013

मुक्तक : पाँच मनोहर मुक्तकहरु

 मुक्तक म खासै लेख्दिनँ । निक्कै पहिले लेख्थें मुक्तकको संरचना र मर्म नबुझी नबुझी, पछी मुक्तक लेख्नै छोडियो । झुक्किएर बिच-बिचमा लेख्नै पर्यो भनेर करले एकाध लेख्ने कुरा अर्कै हो । अचेल् फेरि मुक्तकले मन तान्न थालेको छ । फेसबुकको यौटा ग्रुप मुक्तक मनोहरमा केही परिचित र मुक्तक प्रेमी साथीहरुको संगतले मैले नयाँ पुराना केहि मुक्तकहरु फोटो सहित राखेको छु । तिनैबाट मनोहर मुक्तक भनेर पाँच वटा यता ब्लगमा ल्याएको छु । आसा गर्छु ब्लगमा पढ्नुहुनेलाई मुक्तकहरु र फोटोहरु मनपर्ने छ ।
 
अनायास याद आउँछ र मन लुटेर जान्छ
मुटु चसक्क हुन्छ सुस्केरा छुटेर जान्छ
बस्छ गढेर झन् झन् तिम्रो याद कलेजोमा
निठूर समयसँगै एक-एक चिनो फुटेर जान्छ ।


यो बेला गुलाफको राम्रो व्यापार हुनसक्छ
देखाउँनलाई एकैदिनको प्यार हुनसक्छ
हो, राम्रै हो प्यार भएको तर होस राख्नु
देखासिकी प्यारले जिवन अन्धकार हुनसक्छ ।


जाही फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
वैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो ।


सुन्थें चारैसुर तुनाले कसिएकी चोली हुन् तिनी
पहाड मैदान सब नाघ्दै बगिजाने खोली हुन् तिनी
एकदिन सुटुक्क आएर पसिन् मेरो आँखाबाट र
छाति भ्वाङ पारेर निस्किंदा बुझें गोली हुन् तिनी ।


सुक्छ घाममा, बग्छ पानीमा, उड्छ हावामा
भान्सेहरु अब पाक्छ मीठो भन्छन् दावामा
तर चर्को बल्छ यो देशको चुल्होमा आगो सधैँ
र शान्ति, सम्बृद्धी नामको रोटी डढ्छ तावामा ।


*****

3 comments:

Jotare Dhaiba said...

पहिलो मुक्तकले छोयो, अन्तिमकोले प्रहार गर्यो ।

तस्बिरहरु भने प्रतिस्थापन कलाको समेत झल्को दिने निकै प्रिय लागे ।

kishor kc said...

अनौठो डोरि ले बाध्नु भो यो ब्यापार र प्यार लाई ।
अझ बढि थाहा होला यसको बारेमा प्यार का ब्यापारि लाई ।।
http://kishorkc.blogspot.com

Unknown said...

हार्दिक धन्यवाद भनें धाइबाजी र किशोर केसीजीलाई ।