लेख्न लगभग विर्षीसकेको अवस्था छ । हरेक दिन नयाँ नयाँ धून बजाउने गरेको सारंगीको तार छिनेपछि गाँस्न या फेर्न अल्छि मानेर कोठाको एकापट्टी भित्तामा झुण्ड्याएझैं पाउँछु आफुलाई आजभोली । यो आजभोली एकदिन भए नि हो भन्नु दुईदिन भए नि लौ भन्नु । आजभोली नै लम्बिएर सग्लो निष्कृय यूग बन्ने भएपछि छट्पटी बढेको छ तर भोली फर्किएर हेर्दा देखिने ईतिहास सुधार्नलाई उर्जा कहाँबाट आयात गर्ने हो आत्तोपत्तो छैन । यहि अवस्था, यहि अकर्मण्यतालाई देखेर हाल्सालै यौटा कविता लेखेको थिएँ 'प्रश्न' शिर्षकमा । उर्जाको कमीले हो या अभ्यासको कमीले लेखिसकेका हरेक कुराहरु आजभोली आफैंलाई चित्त बुझ्दैन । हरेक कुराहरुको अलि बड्ता बोध भएर पो यसो भएको हो कि भनेजस्तो पनि लाग्छ । जे होस् ब्लगमा खाली ठाउँ भर्न यो पल्ट यहि कविताको सहारा भो ।
मात चढेको जुनेली रात
जब डिसेम्बरको हिउँमा कक्रिन्छ
म चर्चको ठुलो क्रस मास्तिर हाँस्ने
चन्द्रमालाई हेर्दै
सोच्ने गर्छु कि
मैले सल्काईरहेको सिग्रेटभित्रको तमाखु
कहाँ उत्पादन गरियो होला ???
यो प्रश्न हो
आज जिन्दगीको
यहि त प्रश्न हो
आज अवस्थाको
अझ यहि नै त प्रश्न हो
आज अकर्मण्यताको
कि म खडा गरिरहेछु
तील तुल्य प्रश्नहरु
र चढिरहेछु पहाड प्रश्नहरुको
जहाँ न आरोहणमा छ जवाफ
न अवरोहणमा
जब भोली विहान
यहि चर्चको छानामाथी
एकहुल काला रोविन चराहरु
चिसो हिउँदले जमेको कण्ठबाट
बदलिएको आवाज निकाली कराउन थाल्छन्
जानीजानी म भन्नेछु
कि कागहरुले आजभोली
आफ्नो बोली विर्षीसकेछन्
र सल्काउनेछु अर्को खिल्ली सिग्रेट
बिना जवाफ अर्को प्रश्नसंगै ।