Monday, February 01, 2010

कविता : अर्को यौटा पागल

सँधै जस्तै नभएर
यौटा मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
उ तर्सिएको छ
अघिल्लो पटक
जब भेट्न पुगेको थियो उ
शान्त, स्निग्ध र सुन्दर
बुद्धका अर्धमुदित नयनहरु
साँझ पश्चिम क्षितिजमा
सूर्य विश्राम लिईरहँदा
देखेथ्यो उसले
छट्पटी बुद्धको आँखामा
धेरैपछि खुल्न लाग्दा
प्रेममय मुस्कान
बुद्धको बन्द ओठमा
ठुलो बेचैनी बिसाएथ्यो उसले
स्वयंभूनाथ डाँडामा
र फर्किएथ्यो
ठुलो हौसला उठाएर
स्वयंभूनाथ डाँडाबाट
फेरि तर्सिएको त्यहि मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
बरु तर्सिएरै उ पस्यो
सहरको गञ्जागोलभित्र
बर्बराउँदै -
हेर सपनाहरु हेर
फेरि बिग्रन थालेका छन् आजभोली
एकएकले देख्दैछन्
फेरि पनि नाङ्गीएको सपना
हरेकले देख्दैछन्
फेरि पनि लुटिएको सपना
प्रत्येकले देख्दैछन्
फेरि पनि काटिएको सपना
फेरि पनि ढाँटिएको सपना
र देख्दै जानेछन्
च्यातिएको सपना
चिमोटिएको सपना
उखेलिएको सपना
बिथोलिएको सपना
बिग्रिन थालेपछि सपनाहरु
देखि नै रहनेछन्
निचोरिएको सपना
चिथोरीएको सपना
मिचिएको सपना
किचिएको सपना
उ उफ्रिरहयो
उ कराईरहयो
भीडले एकतमास
उसलाई हेरिरहयो
सपनाहरुसँग आजित भीडले
भन्ठान्यो-
आज सहरमा अर्को यौटा पागल देखियो ।

2 comments:

कृष्णपक्ष said...

रचना अत्यन्त मन पर्यो... अलिअलि प्रेरित पनि छु - नपत्याए "पागल शिर्षकको कथा" टासेको छु ब्लगमा हेर्नु होला । :D

Chaitanya said...

निकै मार्मिक लाग्यो | सपना सप्रने कैले होला ?