नोभेम्बर ७ , २००७ मा म एरिजोनाको फिनिक्सबाट आलोहा एयरलाईन्सको विमान चढेर हवाईको माउई टापुमा ओर्लिएं । अंग्रेजीमा Maui लेखिने यो टापुलाई नेपालीमा मावी भन्ने हो कि माउई भन्ने ? म अन्यौलमा छु जे होस म माउई नै भन्न उपयुक्त ठान्छु । अमेरिका आएको पाँचौं वर्षमा म मेनल्याण्ड छाडेर पहिलोपल्ट यो टापुमा काम गर्नको लागी आएको । संधै विशिष्ट ब्याक्तित्वहरुले कुनै गोष्टी वा विषेश कार्यक्रममा भागलिन जाने क्रममा लेखिएका लेखहरु पढ्ने बानी परेकालाई विषेश शैक्षिक तथा वौद्धिक परिचय बनाउन नसकेको म जस्तो सामान्य ब्याक्तीले लेखेको बयान पढ्दा बेकार लाग्न सक्ला त्यसको जिम्मेवार म हुन सक्दिनं त्यसैले तपाईंको समयको ख्याल आफैं गर्नुहोला । घुम्नको लागी अन्यत्र ( अरु स्टेटमा ) गए बाहेक मैले लगभग पुरै समय कोलोराडोमा बिताएं । कोलोराडोलाई नेपालसंग मिल्दोजुल्दो भनिए पनि म झापामा हुर्के बढेको हुनाले मलाई कोलोराडोको बनस्पति , हावापानी ईत्यादी नेपालमा मैले भोगेको भन्दा बिल्कुल भिन्नै लागेको थियो तर यहाँ माउईमा साँझपख पहिलो पल्ट पाईला टेक्दा नै मलाई आफ्नै भुमीमा टेके झैं हर्ष लाग्यो । दिनभरीको उष्णताले तताएको माटोको मिठो हरक नाकमा आउंदा मलाई मेरो घ्राण शक्ती अझै सजिव रहेछ भनेर उत्पात खुशी लाग्यो ।
विमानस्थलबाट बाहिरिंदा एकहुल मानिसहरु हातमा चुवा फूलको माला लिएर आगन्तुकलाई लगाईदिंदै आलोहा भन्दै गरेको सुनियो । हवाईयन भाषामा आलोहा शब्द स्वागत गर्न तथा विदाई गर्न पनि प्रयोग गरिने रहेछ हामिले नमस्ते भने जस्तै । हवाईयन भाषामा मैले सुनेजानेको पहिलो शब्द आलोहा हो । म आएको एयरलाईन्स पनि आलोहा तर अहिले अमेरिकाको आर्थिक मन्दीको मारमा परेर ७० वर्षको ईतिहास बोकेको आलोहा एयरलाईन्स टाट पल्टीसकेको छ । संगै हुनुहुने दाइले चुवा फूलको माला सहित सत्कार पाउनेहरुलाई धन भएका बुद्धि नभएका भनेर टिप्पणी गर्नुभयो । पहिले नै बस्ने ठाउं , घुम्ने ठाउँ ईत्यादीको प्रबन्ध मिलाएर टुर प्याकेजमा आउने उनिहरुले त्यो मालाको पनि कम्तीमा बिस डलर तिर्नु परेको हुन्छ वहाँको तर्क थियो । मलाई भने उनिहरुले गलामा पहिरिएको चुवा फूलको मनमोहक सुगन्धले लठ्याएर आफ्नो गाउँ पुर्याईसकेको थियो । अंग्रेजीमा प्लुमेरिया भनिने यो फूललाई म चुवाफूल भन्छु अरुले अर्थोकै भन्दाहोलान । यौटै भाषामा पनि यौटै कुराको अलग अलग नामहरु हुन्छन ।
मेरो गाउँभित्र यौटैमात्र चुवा फूलको बोट थियो । अन्तरेकाका र भण्डारी दाईको घरको करेसो जोडिएको सिमानामा भएको त्यो फूलको बोट अब त छैन पनि होला । हामीकहाँ लोप हुंदै गएका बनस्पतीहरु जोगाउनु पर्छ भन्ने सोचको अझै विकाश भै सकेको छैन । त्यसैले धेरै बनस्पतीहरु आज हाम्रो बाल्यकालका धमिलो सम्झनामा मात्र बाँकी रहेका छन । त्यस्तै मध्येको त्यो चुवाफूलको बोटसंग पनि मेरो साईनो अझै मेटीईसकेको रहेनछ त्यसैले त हवाईमा चुवा फूलको सुगन्धमा लठ्ठीदा पनि म गाउँमै पुगें । चुवाफूल घर वरपर रोप्नु हुन्न भन्ने मान्यता पनि थियो मेरो गाउँमा । मलाई आँगनमा फूलहरु रोप्ने साह्रै सोख थियो । धेरै फूलहरु मैले आँगन वरीपरि रोपेको पनि थिएं । एकपल्ट चुवा फूल ल्याएर रोप्दा आमाले यो आँगनमा रोप्नु हुन्न यसको जरा घर भित्र पस्यो भने घरमा राम्रो हुंदैन भन्नु भएको थियो त्यसैले मैले आँगनमा चुवा फूल हुर्काउंन सकिंन । आज हवाईका हरेक घरहरु चुवा फूलले शोभायमान देख्दा मैले किन विरोध गरेर त्यसबेला चुवा फूल रोपिनछु भनेर पश्चताप लागेको छ । त्यसो त त्यसैबेला रातो शिरिषको , रुख कटहरको र करविरे फूलको र बैंशको रुखको जराहरु पनि घरभित्र पस्यो भने राम्रो हुन्न भन्ने मान्यता थियो तर ति सबै बनस्पतीहरु भने मेरो घर वरीपरी थिए ।
अन्तरे काका र भण्डारी दाईको घर नजिक भएको त्यो चुवा फूल आज मासिएर जानुमा यस्तै अन्धविश्वासले पनि केहि हद सम्म काम गर्योहोला । त्यसबेला त्याँहा ठुलो फराकिलो चौर पनि थियो । हामी केटाकेटीहरु त्याँहा दिनभरी खेल्ने गर्थ्यौं । त्यसबेला मैले हाम्रो गाउँ नजिकै बस्ती रहेको आदीबासी जाती सतारहरुले चुवा फूल टिपेर कानमा तथा चुल्ठोमा सिउरिएर किष्णे खोलामा माछा मार्न गएको पनि देखेको थिएं । हामी कैलेकाहीँ बद्मासी गरेर खोलामा माछा मार्न सतारहरुले बाँधेको बाँध भत्काईदिने पनि गर्थ्यौं । नेपालमा मैले सतार जातीले मात्र कानमा सिउरिएको देख्ने गरेको चुवा फूल यहाँ पनि हवाईयनहरुले कानमा सिउरिएको देखें । नेपालमा सतारहरुले चुवाफूल कानमा सिउरिनुको अर्थ बुझ्ने मैले प्रयास गरिनं तर यहाँ भने त्यसको पनि अर्थ हुंदोरहेछ । प्याट्रिक नाम गरेको एकजना हवाईयनसंग सोध्दा उसले भन्थ्यो - केटीहरुले दाईने कानमा चुवा फूल सिउरिएका छन भने उनिहरुको बिहे भै सकेको छ अथवा केटा छ भन्ने अर्थ हुंदो रहेछ । देब्रेकानमा सिउरिनेको भने बिहे पनि भएको छैन र केटा पनि छैन भन्ने अर्थ हुने रहेछ त्यस्तौ शिरमा माथीपट्टी अर्थात टुप्पीतिर सिउरिएको छ भने यौन सम्पर्कको लागी तयार छु भन्ने अर्थ हुंदोरहेछ । अचम्म लाग्यो यो प्रचलनको यस्तो अर्थ हुन्छ भन्ने थाहा पाउंदा । नेपालमा पनि सतार जातीमा यस्तो अर्थ हुन्थ्यो कि जान्ने खुल्दुली जागेको छ ।
यो टापुमा मलाई अनौठो लागेको कुरा यहाँ सर्प हुंदैन रहेछ । जलवायुपनि झापातिरको जस्तो हुने र घना जंगल पनि भएको यो ठाउँमा मलाई विषालु सर्पहरु हुन्छ होला भन्ने लगेको थियो तर न यहाँ सर्प छ न बाँदरहरु नै छ जंगलमा । यहाँ सर्प किन नभएको त ? मैले एकजना स्थानिय मानिसलाई सोधेको थिएं । सायद यहाँ सर्प उत्पती नै भएन र बाहिरबाट पनि आई पुगेन भनेका थिए उनले । सर्प नहुने अरुपनि धेरै यस्तै गर्मी टापुहरु छन भन्थे उनि । यहाँ जंगलभरी अंबाका रुखहरु , बनकेराका घारी , जंगली बाँसको घारी ईत्यादी देख्दा अनि सबैतिर नरिवलका रुखहरु , आँपमा रुखहरु देख्दा मलाई आफ्नो ठाउँको तिर्सना मेटिएझै लाग्यो । यहाँका मान्छेहरुसंग आफ्नो ठाउँको कुरा गर्नु पर्यो भने म खाली हाम्रोमा समुन्द्र छैन बाँकी सबैकुरा छ हामीसंग भन्ने गर्छु । मलाई यहाँको आँपहरु देखेर पनि अचम्म लाग्यो । यौटै बगैंचाभित्र कुनै आँप फुल्दै हुन्छ , कुनै कोया पस्ने बेला भएको हुन्छ त कुनै फुल्ने सुरसारनै नभएको पनि हुंदो रहेछ । यहाँ प्रमुख उत्पादन हुने कुरा चाहीँ उखु खेती र भुईँ कटहर खेती रहेछ । यो टापुको लाहैना भन्ने ठाउँमा यौटा वरको रुख हर्न लायकको रहेको छ । सन १८७३ मा भारतबाट ल्याएर रोपिएको उक्त वरको रुख सम्भवत अमेरिकाकै सबैभन्दा ठुलो वरको रुख हो । फ्लोरिडामा यो भन्दा ठुलो छ भन्ने पनि सुनेको छु तर मैले त यति अजंगको ठुलो रुख कहिँ कहिल्यै देखेको थिईनं । मैले मेरो फोटो ब्लगमा उक्त रुखको फोटोहरु राख्ने विचार गरेको छु ।
हामीकहाँ पनि सयौं वर्ष पुराना वरका रुख होलान तर हामी बनस्पतीलाई उचित संरक्षण गरेर त्यसलाई फैलन दिदैनौं हामीलाई त्यसले फैलेर ओगट्ने जमिनको लोभ हुन्छ तर यहाँ भारत देखि ल्याएको यौटा वरको रुखलाई उचित संरक्षण गरेरै सम्भवत संसारकै सबैभन्दा ठुलो (संसारको सबैभन्दा ठुलो वरको रुख भारतकै कलकत्तामा रहेको भएको भएपनि त्यसको मुलकाण्ड मरिसकेको छ ।) वरको रुख बनाएर दैनिक हजारौं पर्यटकहरु लोभ्याउन सफल भएका छन । हामी अझैपनि अन्धविश्वासले गर्दा आँगनमा चुवाफूल रोप्न नसकेर चुवाफूलकै अस्तित्व मेटीरहेका छौं । हामीले कैले सिक्ने होला बनस्पतीको उचित संरक्षण गरेर पनि हामी फाईदा लिन सक्छौ भनेर ? मलाई यहाँ प्रत्येक दिन मनमोहक सुगन्ध छरेर फुलीरहेको , मेरो गाउँमा लोप भै सकेको , चुवा फूल देख्दा गाउँको सम्झना मात्रै आउंदैन बल्की इर्ष्या पनि लाग्छ यिनिहरु देखि संगसंगै पश्चताप पनि लाग्छ मैले चुवा फूल किन रोपिंन भनेर ।
No comments:
Post a Comment