Wednesday, September 09, 2009

गजल : रोकिएन समय

तिमी नहुँदा पनि त खै रोकिएन समय ।
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय ।

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न ,
सजिलै भा'छ आज काट्न जेनतेन समय ।

अप्ठ्यारो थियो यद्दपि खुल्ला थिए बाटोहरु ,
हिंड्न निर्धक्क भएर उस्तै रहेन समय ।

अविच्छिन्न कुँदेपनि अनेक रुप आकारमा ,
सोचेजति कलात्मक बन्दै बनेन समय ।

अघि सारेँ भण्डार गर्न हिम्मतिलो हात मेरै ,
न गोजीमा , न मुठ्ठीमा कहिँ अँटेन समय ।

सुलुसुलु चिप्लिएर त्यति टाढा पुगेपछि ,
उल्टो तिमीले नै भन्यौ बग्दै बगेन समय ।

केहि अघि (जुन महिनाको २८ तारिख रहेछ।) यसका दुई वटा शेर (पहिलो र दोश्रो) पछारिसकेको थिएँ यसै ब्लगमा र अर्को शेर (तेस्रो) पनि त्यसैको आसपास मितीमा तयार गरेको थिएँ । त्यसपछि अड्किएको आज बल्ल थप तीन शेर ताछतुछ पारेर उभ्याउन भ्याएँ र लिएर आएको हुँ ।

8 comments:

बिमल गिरी said...

दीपक जी,
गजलका बिबिध रुप र छटाहरु, अङ्कुरन वा प्रस्फुटनका
केही नमुनाहरु समेटिएकछन गजलमा।
ब्यथा, पिडा र जलन उनिएकाछन गजलमा।
अती उत्तम गजल। स्याबास छ है।।।।

Basanta said...

राम्रो छ जडितजी! सबै एक-से-एक छन्।

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न ,
सजिलै भा'छ आज काट्न जेनतेन समय।


यो शेर साह्रै मन प-यो। धेरै पहिला 'कादम्बिनी' मा पढेको एउटा शेर सम्झाईदियो यसले;

टुकडोंको मेरे खतको नफेंको, यिने ले जाओ
जोडोगे तो कट् जायगा कुछ बक्त सफरमे


हिसाब-किताब नराखिएको सम्बन्धका यादहरु पनि च्यातिएका चिठ्ठीका टुक्राहरु जस्तै भएर हो त मलाई त्यो शेरको याद आएको?

Dilip Acharya said...

हुन त गजल लेख्‍नै नजानेर पनि होला,मेरा भने २-३ शेरमा थन्केका सबै गजलहरुले प्राय: शहादत नै प्राप्त गर्छन । २-३ शेर लेखेर थन्काएको केही समय पछि न पुरा गर्न सकिन्छ न त कविता नै बनाउन :)

यो त भो आफ्नो कमजोरीका कुरा । अब तपाइको यो गजलको बारेमा भने वाह! वाह! बाहेक अरु केहि भन्ने कुरा छैन जस्तो लाग्यो ।

सबै शेरहरु मन परे पनि यो भने बेजोड लाग्यो :

अघि सारेँ भण्डार गर्न हिम्मतिलो हात मेरै ,
न गोजीमा , न मुठ्ठीमा कहिँ अँटेन समय ।

Unknown said...

वाह!! साह्रै सुन्दर गजल राख्नुभयो ।

Publish this comment.

Reject this comment.

Moderate comments for this blog.

Posted by Sujan Sharma to मेरो साहित्य संसार र विविध at 7:45 AM

Jotare Dhaiba said...

सूक्तीमय छन् सेरहरू । यी सेरहरू, मनलाई खाने 'सेर' नै लाग्यो ।
शाश्वत कुरा अटाएका छन् साह्रै रसिलो छाँटमा ।

"अविच्छिन्न कुँदेपनि अनेक रुप आकारमा ,
सोचेजति कलात्मक बन्दै बनेन समय ।"

केही समयअघि यो एक सेर चाख्न पाएको थिएँ, सोचेजति आकारमा नढ्ल्नु त अर्को सोचको घुम्टिखोली हो नि !

कृष्णपक्ष said...

कति मिठो कति सुन्दर, गजलका यी सेरहरू
कुनबेला पढी सकें, थाहै भएन समय ...

डीआर न्यौपाने'सूर्य' said...

वाह! दीपक जी साह्रै मिलाएर बगाउनुभयो नरोकेने समयको गतिलाई जीवनसँग दाँजेर । मेरा पनि दिलीप जी का जस्तै एक दुइ शेर जोडेपछी अल्छिले समात्छ या गजल नै फुर्दैन । अब जोडन पट्टी लाग्नु पर्ला जस्तो छ ।

दिनेश राज said...

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न ,
सजिलै भा'छ आज काट्न जेनतेन समय।

सबै सेर राम्रा छन् तर यो चाहि बिशेष मन पर्यो ।समय लाई परिभाषित गर्न पनि सामर्थवान भएका छन तपाईंका सेर हरु ।