Monday, November 21, 2011

कविता : एकजोर गुलाबी चप्पल

तस्वीर गूगलको सापट


एकदिन फेदैको खुड्किलामा
एकजोर गुलाबी चप्पल फुकालेर
भर्याङ्ग उक्लिएर माथी चढेथ्यौ तिमी
फर्किएर फेरि कहिल्यै
आफ्नो चप्पल लिन आएनौ
आजसम्म
अनगिन्ति पाईलाहरु
भर्याङ्ग चढेर माथी गए
भर्याङ्ग ओर्लेर तल झरे
अनगिन्ति चप्पलहरु
फुकालिए भर्याङ्गको फेदमा
लगाईए भर्याङ्गको फेदबाट
सबैको हर हिसाब
सायदै कसैले राख्यो
नराखेरै तर मसँग
रहेको छ हिसाब
तिमीले फुकालेर छोडेको
एकजोर गुलाबी चप्पलको
आउँदा जाँदा देख्नेहरु
सबैले बेवारिस ठान्छन्
सबैले अनाथ भन्छन्
तिम्रो एकजोर गुलाबी चप्पललाई
तर होइन
तिमीले फुकालेर छाडेपनि
आजसम्म मैले ख्याल राखेको
तिम्रो एकजोर गुलाबी चप्पल
कसरी बेवारिस हुन सक्छ?
कसरी अनाथ हुन सक्छ?

7 comments:

Chaitanya said...

सुन्दर र सटीक कविता ! मन छुने हरफहरु !

Lok Bahadur Thapa said...

nice poem...

Luna said...

१०० प्रतिशत नै बुझिन्छ भन्ने त छैन नै तर पनि भनौ न ९९ देखि लिएर ९०-८०-७०- हुदैन ५ या १ या .५ प्रतिशत नै किन नहोस क्यै न क्यै नबुझी ऐले सम्म मैले कतै पनि कमेन्ट
गर्ने गरेकी छैन .
ऐले सम्म पढेका कविताहरुमा यस्तरी बुझ्नै नसकेको यो पहिलो
कबिता हो !
कति दोहोर्याएर पढे ! पढे ! तर अहं बुझ्नै सकिन !
के रैछ यो कविताको मर्म -- ?
धाईबा जी को कमेन्ट पर्खेर बसिरा'छु , दिलिप जी को कमेन्ट
पनि . बहाहरुले लेख्नु भएको कमेन्ट पछी क्यै बुझ्छु कि !

Basanta said...

वाह! कति सुन्दर प्रतीकहरु र तिनको प्रयोग! साँच्चै अद्भूत छ यो कविता! बधाई छ जडितजी!

दीपक जडित said...

धन्यवाद चैतन्यजी, लोक बहादुर थापाज्यू(भेनाज्यू), लुनाजी र वसन्तजीलाई । कविता नबुझेर लुनाजीलाई परेको अप्ठ्यारोको निमित्त क्षमा तर मैले यो कविता आफुले बुझे अनुशार ईमेलमा बुझाईसकेको छु ।

Jotare Dhaiba said...

प्रेमको विज्ञप्ति यहाँभन्दा पनि गहिरो हुँदो हो कि सायद ! खै ...

Luna said...

राजनीतिको रछ्यानमा रमिते बनेको आँखा
कैले काँही यसरि पनि धमिलिदो रैछ ---