Wednesday, April 13, 2011

विदाई अलास्का !!


सन् २००८ को जुलाईमा हवाईको उष्ण हावापानी छोडेर यो हिममय, चिसो अलास्कातिर हान्निंदा मेरो मनमा अनौठो गरी रमाईलो अनुभुति थियो ।  हवाईको त्यति बिघ्न सुन्दरतालाई छोडेर जानुको पीडा अहँ थिएन म मा । हवाईका ति मनोरम समुद्री किनारहरुलाई पक्कै मिस गर्छु भनेर त्यसबखत ब्लगमा लेखेको त थिएछु तर अलास्का आएर मैले हवाईलाई मिस गरेको क्षण कहिल्यै भएन । बरु अलास्का आउने बखत म भित्र बिछट्टै आनन्ददायि कल्पनाका अग्ला अग्ला यथेष्ट चुलीहरु थिए ।

 .........................

अहो! त्यो हिममय अलास्कामा पुगेर म छातीभरि नेपाल बोकेर कुनै त टाकुरा टेक्छु होला ।

अहो! त्यो हिममय अलास्काको चिसोमा लुगलुग काँप्दै भएपनि अत्याधिक हिमपात हुँदा रमाउँछु होला । भरिसक्के त म रमाउँदै हिउँचिप्ली(ski) नै खेल्छु होला ।

अघाउँजी प्राकृतिक सम्पदाले भरिएको अलास्काको पाखा पखेराहरु घुमेर रमाउँदै म थुप्रै गीत, कविता ईत्यादि लेख्छु होला ।

त्याँहाका बन्यजन्तु, हिमाल, पर्वत, पाखा, पखेरा, रुख, फूल, खोलानाला, पंछी, समुद्र, समुद्री जीव इत्यादिको मनग्गे तस्वीर खिच्छु होला ।

 ........................................................

इत्यादि इत्यादि अनेक अनेक कल्पनाहरु मनभरी गुडुँल्कि पारेर रमाउँदै अलास्का आउँदा मैले केवल यौटा कुरामात्र सोचेको रहेनछु कि पृथ्वीकै सुदुर उत्तरतिर अवस्थित, संयुक्त राज्य अमेरिकाको त के कुरा यो धर्तिकै दुर्गम भेग भन्न मिल्ने यो अलास्कामा आएर म यति धेरै नेपालीहरु पनि भेट्नेछु ।

हवाईबाट हिंड्नेबेलामा मलाई अलास्काको एँकरेज सहरमा एक घर परिवार नेपालीहरु छन् भन्ने जानकारी प्राप्त भएको भएपनि वहाँहरु कहाँ बस्नुहुन्छ भन्ने टुङ्गो थिएन । न त वहाँहरुको ठाउँ ठेगाना पत्ता लगाउन नै मैले सकेको थिएँ । त्यसो त टिभी च्यानलहरुमा देख्ने गरेको, म्यागाजिनहरुमा पढ्ने गरेको त्यो अलौकिक अलास्काको सौंदर्यलाई आफ्नै आँखाले पान गर्ने हतार मनस्थितीमा मैले एँकरेज, अलास्कामा बस्नुहुने नेपालीहरुको निधिखोजी पनि सायदै गरेँहुँला ।



तर संयोग भनुँ या मेरो अहोभाग्य अलास्का आएर मैले जहाँ काम गर्नु थियो त्यहिँ काम गर्नुहुने नेपाली बैनी भेटें । जस्को बारे मैले हवाईमा छँदै सुनेको थिएँ । नेपालमा म्याग्दी जिल्लाबाट आउनु भएकि बैनि ईकु छन्त्याल जो मैले अलास्कामा आएर भेटेको पहिलो नेपाली हुनुहुन्थ्यो । वहाँहरु निक्कै पहिले देखि अलास्कामा बसोबास गर्नुभएको रहेछ । बैनि ईकु छन्त्यालकै माध्ययमबट म एँकरेजमा रहनुहुने अन्य नेपालीहरु सँग पनि परिचित हुन पुगेँ । अरु अरु नेपालीहरु त झन दशकौं पहिले देखि आएर अलास्कामा बस्नुभएको रहेछ । त्यो सब थाहा पाउँदा म चकित त अवश्य नै भएँ कि अलास्कामा मुश्किलले नेपालीहरु भेट्छु भन्ने आफ्नो अनुमानमा पनि म गलत भएँ ।

रहँदैबस्दै जाँदा अलास्कामा रहनुहुने सबै नेपाली परिवारहरुसँग म यति घनिष्ठ भएँ कि यतिखेर मलाई एँकरेज सहरभित्र रहनुहुने जुनसुकै नेपाली परिवारको घरमा पस्दा पनि आफ्नो घरमा पसेजत्तिकै सजिलो र आत्मियताको अनुभुति हुन्छ । म यहाँ कसैको दाजु, कसैको भाइ, कसैको छोरा, कसैको भतिज, कसैको के, कसैको के, सबैको केहि न केहि नातासम्बन्ध बनेर बसेको छु । यो क्षण जत्तिको गर्विलो क्षण देशबाट टाढा रहेको यौटा नेपालीलाई अरु के हुन सक्छ ?


अलास्कामा भेटेको पहिलो ब्याक्ति, बैनि ईकु छन्त्याल, नेपाली साहित्यको एकजना गतिलो पाठक हुनुहुँदोरहेछ । नेपालदेखि नेपाली साहित्यका किताबहरु मगाएर पढ्नुहुने बैनि मेरो लेखाईको पनि यौटा असल पाठक बन्नुभएको थियो वहाँ मेरो ब्लग पढेर मलाई मौखिक प्रतिकृया दिने तथा नेपाली साहित्यका विविध पक्षमा म सँग छलफल गर्ने गर्नुहुन्थ्यो । तर म अलास्कामै छँदाछँदै पनि ब्लग लेखनमा सुस्तता आएयता यस्ता छलफलहरु हुन छाडिसकेकाछन् ।

अलास्कामा नेपालीहरु पनि छन् कि छैनन्, नेपालीहरु भेटिन्छ कि भेटिंदैन भन्ने अन्यौल बोकेर आएको मैले अलास्का आएपछि नेपाली समाज अलास्का भनेर यहाँ रहनुहुने नेपालीहरुको पहिचानको लागि आफैं पनि एउटा संस्थापक सदस्य रहेर नेपाली भाषा तथा संस्कृतिको संरक्षण हेतु साथै एँकरेजमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझ आपसी सहयोग तथा सद्भाव कायम गर्ने हेतु एउटा संस्था समेत खोल्न पाउंनुलाई पनि मैले आफ्नो अहोभाग्य ठानेको छु । जुन संस्था अहिले अलास्का राज्यमा नेपालीहरुको सामाजिक संस्थाको रुपमा दर्ता पनि भैसकेको छ ।

आशा छ नेपाली समाज अलास्काले नेपालीहरुको हीतमा भविश्यमा प्रसस्तै कामहरु गर्दै जानेछ र मुख्य कुरा एँकरेजमा भएजति सबै नेपालीहरु माझ आज जत्तिकै भाईचारा भविश्यमा पनि कायम राख्नेछ ।


आज यो ब्लग लेखुञ्जेलमा समयले फेरी अर्को छेकारो मारिसकेको छ । मलाई यौटा भूमिकाबाट बर्खास्त गरेर अर्को भुमिकाको निमित्त तम्तयार रहन अह्राईसकेको छ । यतिबेलासम्म मैले फेरी एँकरेज अलास्का छोड्नलाई आफ्नो झिटिगुण्टा कसिसकेको छु र भोली यतिबेलासम्म म अलास्काको धर्ति छोडेर हवाईमा ओर्लनको निमित्त आकाशमा उडिरहेको हुनेछु ।

यो अचानक यसकारणले भएको हैन कि म अलास्का आउँदा मैले जीवन पर्यन्त अलास्कामै बस्ने अठोट लिएको थिइनं र भोली हवाई गएर फेरी म त्यहिँ टाँसिनेछु भन्ने पनि हैन तर यसरी यति छिट्टै म हवाई फर्कन्छु भनेर आफैंले पनि सोचेको भने थिइनँ ।

साँच्ची नै आँखिर जिन्दगी यात्रा न हो । हामी आफुले सोचेको एक ठाउँमा भलै पुग्न नसकौंला तर नसोचेको अनेक ठाउँमा पुगिरहेका हुन्छौं त्यसैले पनि म पत्याउँछु कि जिन्दगी सबैभन्दा पहिले मृत्यु पर्यन्तको यात्रा हो अनि त्यसपछि मात्र जिन्दगी अर्थोक केहि हो भने हो ।

उ बेला मैले हवाई छोड्दा हवाईमा मिस गर्न योग्य समुद्री किनार मात्र थियो तर त्यो पनि मैले अलास्का आएपछि फिट्टिक्कै मिस गरिनं । तर अब अलास्का छोडेर फेरी हवाई फर्कंदा मसँग अलास्कालाई मिस गर्ने थुप्रै थुप्रै कुराहरु हुनेछन् त्यो पक्का हो तर हवाई पुगिसकेपछि मैले अलास्काका कुनै कुराहरु मिस गरिनँ भनें भने त्यो आश्चर्य नहुन सक्छ । कम्तिमा मलाई हुनेछैन । अहिलेसम्म त यहाँ चिनजान भएका, संगै खाने बस्ने गरी निकटतामा रहेका सबैसँग कुनै न कुनै माध्ययमले सम्पर्कमा रहन्छु भन्ने छ मनमा तर म आफ्नै ग्यारेण्टि राख्न सक्दिंन कि भोली हवाई पुगेर म अलास्कासँग बिल्कुल सम्पर्कहीन भएर पनि रहन सक्छु । यसको निमित्त अरु धेरै कुरा गर्नै पर्दैन आफ्नै एउटा उसुल काफी छ कि म जहिले पनि जहाँ जोसँग रहन्छु मेरो आफन्तहरु तिनीहरु नै हुन्छन् । जोसँग टाढा हुन्छु तिनीहरुसँग टाढा नै हुन्छु ।

यो मैले चाहेर गर्ने वा हुने कुरा हैन तर सम्भवत मेरो प्रकृति नै त्यसैगरी बनेको छ कि आजसम्म विभिन्न ठाउँमा संगै रहनुहुने अत्यन्तै घनिष्ठहरुसंग पनि म वर्षौं वर्षौं सम्पर्क विहिन भएर रहेको छु । झट्ट हेर्दा म यहाँ निष्ठुरी देखिन सकुँला तर मेरो आफ्नै बुझाईमा यो निष्ठुरी बाँच्नुको नभएर खुसी बाँच्नुको मन्त्र बनेको छ मेरो लागी ।



 यो पढिरहँदा एँकरेजमा रहनुहुने मेरा आफन्तजनहरुलाई नरमाईलो लाग्न सक्छ । यसले हामीसँग सम्पर्कमा नरहन बहाना बनायो भन्ने पनि लाग्नसक्छ तर मैले यो सब कुराहरुलाई जीवनको सामान्य प्रकृयाको रुपमा मात्र लिएको छु । यो हुनसक्छ तर हुन्छ नै भन्ने जरुरी छैन । हिँजो छाडि अस्तिको दिन मात्र बैनि ईकु छन्त्यालको घरमा नेपाली समाजका हामी एँकरेजमा रहने सबै नेपालीहरु भेला भयौं । रमाईलो गर्यौँ र त्यहि रमाईलोको बिचमा मैले थाहा पाएँ कि त्यो रमाईलो मेरो विदाईको निमित्त आयोजित रहेछ । मलाई खदा लगाईदिइयो र मेरो बिदाईको औपचारिक घोषणा पनि गरियो । त्यो क्षण म अनुमान गर्न सक्छु कि म एक्लिएर जाने भन्दा दुखि यहिँ समाजमै रहनुहुने अन्य थुप्रै हुनुहुन्थ्यो । त्यसैले पनि मैले मलाई आफ्नो कुरा(विचार) बोल्न दिईंदा धेरै कुरा नगरेर यो सामान्य कुरा हो । जहाँ भेट हुन्छ भने त्याँहा छुट्नु पनि अवश्य नै हुन्छ । आई टेक ईट इजि र सबैलाई ईजि लिनुहुन आग्रह गर्छु मात्र भनें । र साथमा कुनैदिन भेटघाटकै सिलसिला बोकेर अलास्का फर्किने वचन पनि दिएको छु ।

आँखिर दुख त जिन्दगीमा त्यसै पनि कति कति आइपर्न सक्छ भनेदेखिन् हामी किन बित्थामा सानोतिनो कुराहरु पनि खोजी खोजी दुखी बन्ने? यत्ति हो मेरो सरोकार कि हामी जानी जानी दुखि नबनौं ।



अलास्का आउँदा खेरि जसरी अनेक अनेक कल्पना थिए अलास्कामा यो गर्छु र त्यो गर्छु भन्ने त्यस्तै हवाई फर्किएर जाने यो क्षणमा पनि मसँग थुप्रै रोमान्चक कल्पनाहरु छन् हवाई पुगेर यो गरेर र त्यो गरेर म आफुलाई खुसी राख्छु भन्ने त्यसैले जसरी अलास्का आएर हवाईलाई मिस गरिनं त्यसरी नै हवाई फर्किएर गएपछि अलास्का मिस नगर्न पनि सक्छु । त्यसो हुनसक्ने अवस्थाको लागि म अलास्कामा रहनुहुने सबै आफन्तहरुसँग क्षमा चाहन्छु ।

विदाई एँकरेज !
विदाई अलास्का !!
विदाई सबै आफन्तजनहरु !!!
विदाई सम्पुर्ण आत्मिय मनहरु !!!!

4 comments:

Nepalean said...

yestai ho deepak ji, aye pachi jaanu parcha. tapai hawai ra alaska jasta ramra thau ma rahanu bhayeko ma malai ta daha po lagyo.

Dilip Acharya said...

गतिमान जीवनले अर्को पाटा फेर्दा तपाईँ फेरि अलास्काबाट पुरानै ठाउँमा फर्कनु भएछ ।

तपाईँ जहाँ रहे पनि जीवनमा सफलता र सहयोग उपलब्ध भइ नै रहोस !

नयाँ वर्ष र नयाँ स्थानको आगमनमा शुभकामना !!

Jotare Dhaiba said...

नयाँ वर्ष २०५८ को शुभ कामना छ पहिला त ।

जीवनको रीत यस्तै हो । घुमिफिरी उही टुङ्गोमा पुगे झैं मानवीय प्रकृति पनि त्यतैको रहनसहनमा अभ्यस्त हुँदै जाने र पूर्वकथाहरू भुल्दै जाने भइँदो रहेछ । यथासमय प्रत्यक्ष भोगाइमा रहने भएकाले होला, पहिलाको जतिसुकै रमाइला वा मुटुछेड नरमाइला कुरा पनि समरणको पातोमा पछाडितिर छुट्दै जान्छ । तपाईँको हकमा पनि त्यस्तै भए जस्तो लाग्यो । जहाँ पुग्यो, त्यही रमाउन सक्नु राम्रो कुरा हो, कम्तीमा आफ्नो मनको लागि ।

सहज होस् जीवनयापन, आत्मिक शान्ति पाउन सक्नुहोस् । ठाउँ पनि त आखिरमा आँखाको झप्को खुल्दा देखिने 'अवस्था' न हो ! नत्र त सबै उही रङ र आकारप्रकार नै हुन् ।

कृष्णपक्ष said...

हिड्दा हिड्दै अनायास कहाँ कतै घुम्ति बाट छुटे जस्तै पो लाग्दैछ यहाँ संगको सम्पर्कको ब्लग संगको साइनो । मेरो अनियमितता जिम्मेवार छ । तपाईका ब्लग पोष्टहरु मिठो उपन्यासको सबभन्दा मनपर्ने भाग जस्तो लाग्छन । कामना गर्छु आइरहन पाउँ ।