Thursday, January 10, 2008

कविता : यो सपना हाम्रो होस

आँखा चिम्लिएर म
निदाएको बहाना गरिरहेथें
चाल मारेर तिमी आयौ
र बन्द मेरा आँखामा पसेर
मिठा सपना देखिरहयौ
त्यो सपना
जहाँ धेरै तिमी थियौ
धेरै तिम्रो खुशी थियो
मेरा आफ्नै आँखाहरुबाट
देखिएका मिठा सपनाहरुमा
मेरो आफ्नै न्युन उपस्थिती
जस्तो कि म धर्ती बाँचेको छु
आफ्नो छातीमा अरुको खुशी फूलाएर
एक पछि अर्को
आफ्नो रहरहरु ओझेल पर्दा
म पनि फाट्न सक्छु
ज्वालामुखी ओकलेर एकदिन
विस्फोटनको त्यो क्षण
त्याँहा न तिम्रो सपना बाँकी रहनेछ
न मेरो कुनै रहर
जित्न नपरोस तिमीलाई तर
हार पनि मलाई स्विकार छैन
मैले आफ्नै सपनाहरुमा
समान सहभागिता खोज्दै
वर्चस्वको लडाँई लड्न नपरोस
यो सपना मेरो होस
यो सपना तिम्रो होस
यो सपना हाम्रो होस ।

No comments: