Tuesday, December 30, 2008

मतला बिहिन गजल : जिउँदै रहेछ

'के छ र दिउँ तिमीलाई म आँसु बाहेक मेरो जीवनमा ' भनेर अरुण थापाले गाए जस्तै मसँग चैं ब्लगमा दिनलाई फरक कुरा नै कहिल्यै नहुने रहेछन । कति दिक्क लाग्दो है ? फेरी आज पनि यौटा गजल खाँदेको छु पुरा लेखिसकेका केहि छाडेर यो टाउको नभएको मुर्कुट्टा गजल नै राख्न मनलाग्यो । खै कुन मुडमा कुन्नि कस्को हिन्दी गजलको झण्डै नक्कल जस्तो पनि लाग्ने यो गजल लेखें लेख्न त तर मतला ( टाउको ) लेख्नै सकिनँ । लौ है गुहार छ कसैले यसको टाउको लेख्न सक्नुहुन्छ भने हामीपनि यसमा संयुक्त नाम राखौंला ।

त्यो अनिँदो थ्यो धेरैदिन देखि ,
र पनि अझै जिउँदै रहेछ ।

छट्पटीएर तिर्खाले आकुल ,
भट्टीमा पसी पिउँदै रहेछ ।

वर्षातले निथ्रुक्कै भिज्दा पनि ,
छातीमा उस्को हिउँदै रहेछ ।

फुटेको सपना सिला खोजेथ्यो ,
एक्लै बसेर सिउँदै रहेछ ।

Saturday, December 27, 2008

गीत : तिमीलाई हँसाएको पल

तिमीलाई हँसाएको पल
तिमी सँगै हाँसेको पल
कसरी बिर्षिदियौ
सँगै हामी बाँचेको पल ।


प्रेमको धूनी बालेर रातै तताई
मायाका मिठा मिठा कुरा बताई
कयौं रात अँगालोमा कसेर बिताई
झुल्के घाम लजाउथ्यो हाम्रो सामु आई
तिमीलाई हँसाएको पल ।


कसरी बाढि पसेर माया बगायो
समयले हामी माझ पर्खाल लगायो
बाढि हुल्न पर्खाल हाल्न कसले सघायो
कस्तो भूलले भन आज यो दिन आयो
तिमीलाई हँसाएको पल ।

Friday, December 26, 2008

गजल : शँख एकोहोरो फेरी

फुक्न थाल्यो समयले शँख एकोहोरो फेरी ।
कति बार्नु भत्काउनु ढिकुरो र कोरो फेरी ।

जेठो मर्यो माइलो अझै बेपत्तै छ , आमा रुन्छिन् ,
लड्न अझै बाँकी नै छ भन्छ कान्छो छोरो फेरी ।

नङमासु भई सँधै साथै हिँड्ने बाचा नाघी ,
छिनाएछन् बल्ल जोड्या सम्बन्धको डोरो फेरी ।

राखीहेर निधार् मा हात् आमा अझै थलिँदैछिन् ,
तङ्ग्रेलिन् कि भन्दा उल्टै फर्क्यो निश्लोट् ज्वोरो फेरी ।

रात ढलिसके पछि रातै पर्ने चलन् हो कि ,
खै त कहाँ आयो कालो गए पनि गोरो फेरी ।

Tuesday, December 23, 2008

कथा : थप्पडी

घर उस्तै छ । आमा उस्तै छिन् । गाउँ समाज उस्तै छ । अझ सिँगो देशनै उस्तै छ । परिवर्तन हुँदै नभएको पनि हैन तर हुनुपर्ने परिवर्तन हुन सकेन भन्ने गुनासो जताततै छ । खै त समाज बदल्छु , देश बदल्छु भनेर हिँडेको यौटा म पनि त हुँ । के म आफुमात्र बदलिएको हुँ त ? के मैले समाज , देश बदल्नको लागी केहि गर्नै नसकेको हुँ त ? पुरानो नेपालमा परिवर्तनको अठोटले मुठ्ठी कसेर हिँडेको म नयाँ नेपाल बनाएको यतिका पछि आज आफ्नै घरमा आएर सोचमग्न भएँ । सम्झनामा अघि सरेर अर्चला आई । उ पनि त उस्तै छे । त्यसदिन उसलाई मैले सबैकुरा खोलेर भन्दा कस्सेर एक मुक्का हानेकी थिई उसले मलाई पछिल्तिरबाट ढाडमा । झण्डै हुरुक्कै भएको थिएँ तर सम्हालिएँ । कृष्णहरी बरालको त्यो बेला भर्खर भर्खरै पढेको गजल याद आएथ्यो - '..........पिरतीमा त अहो ! चिप्लेर लड्दा पनि.........' त्यै भएर होला सहनु मात्र हैन उ तिर फर्केर मुस्कुराएँ बरु । कानमा ' ऐले मारीदिन्छु अनि ' गुञ्जँदैथियो । ढाडमा मुक्काको प्रहार र कानमा उसको आवाजको प्रवेश सँगसँगै भएर हो क्यार कानको जालीनै रनन हुँदै छिरेको थियो उसको त्यो आवाज ।

' बरु मारीदे यार , ढुक्कै पनि हुन्छ त्यसैपनि तँ बिना मर्छु जस्तो लाग्छ मलाई । ' मुक्काको प्रहार उ तिर दृष्टि फ्याँकुञ्जेलमा गायब भै सकेको थियो ' छु मन्तर ' भएझैं ।

' आफैं काल खोजेर हिँड्नेलाई मैले के मार्नुपर्छ ? जे सुकै गर्नु , जाँ सुकै जानु.............. म चैं गएं ।' केहिकुरा भन्न खोजेर नसकेजस्तै म सँग भएको उसैको सानो डायरी उठाएर मेरो कोठाबाट निस्कीई उ । उ सँगको मेरो सम्बन्ध मैले तँ सम्बोधन गर्ने उसले तपाईँ सम्बोधन गर्ने भएपनि हामी साथी थियौं एकै छिमेकका । एक अर्कालाई मनपराउंथ्यौं । म उसलाई बिहे गर्न चाहन्थेँ । उसले खुलेर स्पस्ट केहि भनेकी थिईन तर समर्थन थियो । म जस्तो बसेको थिएँ त्यस्तै अवस्थामा बसेर मेरो कोठाबाट बरण्डा , भर्याङ्ग , आँगन हुँदै क्रमश पर पर जाँदै गरेको उसको चाल पछ्याउने प्रयत्न गर्दैथिएँ । आँगनको एक कुनाबाट आमाको आवाज सुनेँ , ' खै ? हाम्रो कान्छा जाँदैन रे आज ? '

मेरो छाति ढक्क फुल्यो । मेरी एक्ली बुढि आमालाई कतै उसले सबै कुरा भनिदिने त हैन । म झ्यालतिर लम्किएर कापबाट चिहाउन थालेँ । आमा करेसोमा चिचिला लाग्दै गरेको काँक्राको 'झ्याल'मा पटासीले बाँधेर गँगटो झुण्ड्याउनु हुँदैथियो । गाउँका कुनै केटाकेटीले ल्याईदिएको हुनुपर्छ त्यो गँगटो - अह्राईएको त मलाई नै थियो पहिले तर मैले टेरिनं । गँगटो झुण्ड्याएर काँक्राको चिचिलो अडिएला भन्ने पत्यार लाग्दैन मलाई । उ आमा भएतिरै नजिकै पुगी र भनि , ' खै के लेख्नुहुँदैछ अहिले त्यो सकाएर एकछिन पछि जानुहुन्छ रे । म गएँ है आमा ? ' उ फटाफट आँगन कटेर ओझेल परी ।

'ल नानी ल । ' आमाले पानीकल चलाउनुभयो , पानीकलको फेदका नट बल्टु खुकुलिएर हावा रोक्नलाई कपडा राखेर हुनेसम्म कसेको थिएँ मैले त्यसदिन पनि बिहानै तर हालत उस्तै थियो , आमाले चलाउँदा स्वाँ स्वाँ गरेर वासरले माथी खिच्नुपर्ने पानी तलैबाट आधा चुहिंदैथियो । आमाले पानीकल पनि अझै ठिक पारिदिएन भनेर गुनासो युक्त गन्थन शुरु गर्नुहुन्छ भन्ने अनुमान लाउँदैथिएँ म तर त्यसो गर्नुभएन बरु हात धोईसकेर पिँढितिर बढ्दै भन्नुभयो , ' हैन के लेख्दो हो यो सँधै ? केटाकेटी पढाउने मान्छे भ'र पढाउन नगई नगई एल्ले लेखेको कल्ले पढिदेला ? तेत्रो रामाएन उ बेलै लेखे हामीले ईस्कुलको मुख देख्न पा'भए हामी नि पढ्न सक्थिउँ होला त्यो रामाएन । '

यो पल्ट पिँढी , भर्याङ्ग , बरण्डा हुँदै म तर्फ आईरहेको आमाको चालमा थियो मेरो ध्यान त्यसैले केहि नगरी बसिरहेको म आमा कोठामा आइपुगुञ्जेलसम्म लेख्दै गरेझैं भएँ । ढोकाको चौकोषको आढ लिएर टाउको भित्र पर्ने गरी उभिएर आमाले भन्नुभयो , ' हैन किन ढिलो गर्छस् हँ कान्छा ? आज केटाकेटीलाई पढाईस् भने त भोली तैंले लेखेको पढ्लान् तिन्ले नत्र तैंले जे लेखेनि कस्ले पढ्ला बाबै ? '

' म गईहालेँ आमा अब । ' आमा आफ्नै धन्दामा जुट्नुभयो । म निक्कैबेर त्यतीकै घोरीएर बसेँ । मनमा अनेकौं सोचाईका लहरहरु उर्लिरहेका थिए ।

' जा कान्छा जा , जानेको बुझेको सिका केटाकेटीहरुलाई । किन अल्छि गर्छस् ? ' ढोका सामुबाट फेरी आमाको आवाज सुनेपछि म जस्तो अवस्थामा थिएँ त्यस्तै निस्किएँ । यौटा जिन्स पाईण्ट , हाफ बाहुलाको ठाडो धर्का भएको शर्ट । खुट्टामा हरियो हवाई चप्पल । सँधै बाहिर कतै हिंड्दा साथलिने गरेको रँग खुईलिएको हिरो साईकललाई पनि त्यसदिन घरै छाडीदिएँ ।

उद्विग्नताले घेरीएको भएपनि मेरो हिँडाईको रफ्तार सँधै जस्तै थियो त्यसदिन। फटाफट म मूलबाटोमा निस्किसकेको रहेछु । मूलबाटोमा पुगेपछि भने मलाई दोधार मात्र हैन चौधार नै भएको थियो कता जाने भनेर । पहिलो मनले स्कूलमै गएर बिद्यार्थीहरुसँग समय बिता भन्दैथियो । दोश्रोमनले बजारतिर गएर एकदुई कप चिया घुट्क्याएर आईज भन्दैथियो । तेस्रोमन खोलाको डिलमा सँधै एकान्त प्राप्त गर्ने ईच्छा हुँदा जानेगरेको स्थानमा जा भन्दैथियो भने चौथो मन घरै फर्केर घर छोड्ने तयारीमा जुट भन्दैथियो । हैन कतिवटा हुन्छन् हँ मान्छेको मनहरु ? मन अलपत्र थियो । पाईलाहरु भने खुरुखुरु स्कूलतिरै बढिरहेका थिए । स्कूल परिसरमा म पुग्दा एकप्रकारको चकमन्नता थियो त्याँहा । क्लास सुरु भै सकेकोले चउर खाली थियो । मैले पहिलो घण्टी पढाउने कक्षाकोठाबाट खल्याङ्गमल्याङ्ग आवाज आईरहेको सुनें । मैले स्कूल छाडीसकेको र मेरो ठाउँमा पढाउनलाई अरु कोही नभेटीएको अवस्थामा हल्ला त हुने नै भयो । म सोझै मेरै कक्षातर्फ गएँ । ढोकाको सम्मुख पुगेर देखेँ अर्चला आफ्नो कक्षा छोडेर मेरो कक्षा सम्हाल्न उपस्थित थिई त्याँहा । ढोका सामु मलाई देख्ने एकदुई जना बिद्यार्थीहरु कराउन लागे , ' उ दीपक सर आउनु भयो । '

' दीपक सर हामीलाई पढाउन आउनु न । '

अनपेक्षित अवस्थामा मलाई देख्दाको खुशी मैले अर्चलाको मुहारमा देखेँ । मलाई देखेर उसले ल तपाईंको कक्षा सम्हाल्नुस् पनि भन्नु परेन मैले लु म आएँ पनि भन्नु परेन । उ आफ्नो कक्षा तर्फ लागि । अर्चलाको र मेरो पछि निश्चित रुपमा हुन गै रहेको दम्पतीको सम्बन्धबारेमा मैले सम्पुर्ण खोलेको भएरै होला उ हम्मेसी र जहाँतहीँ मसँग खुलेर बोल्दिनथिई पनि बरु शट्टामा आदरभाव प्रकट गर्दथि तर हामीले एकान्त पाएको बेला भने म उसलाई बोलेर जित्न कहाँ सक्थेँ र ? म मेरो कक्षाकोठामा पसेँ ।

' सर तपाईं तालिममा नजानुस् न बरु हेडसरलाई पठाउनुस् र तपाईं फेरी हेडसर हुनु । ' कक्षाकोठाको मध्यभागमा बसेको कसैले भन्यो । मैले हिँजैमात्र म छिट्टै यो स्कूललाई हाईस्कूल बनाउनको लागी तालिम लिन जाँदैछु केहि महिनाको लागी भनेर झूट बोलेको थिएँ बिद्यार्थीहरुसँग । त्यसो त मैले अर्चलालाई बाहेक अरुलाई सत्य कुरा बताउन पनि कहाँ सकेको थिएँ र ? भन्न पनि सक्दिंनथिएँ । समाजमा देखिएका बिसंगतीहरुको विरोधमा हिंड्दाहिंड्दै म क्रान्तीकारी भएको थिएँ । खुल्लमखुल्ला क्रान्तिकारी हुँ भनेर परिचय दिन नसक्ने त्यो अवस्थामा भित्रभित्रै संगठन बनाएर सक्रियताका साथ परिवर्तनको निँती डटेर लागेको थिएँ म । आफु र आफ्नो काम नै विर्षेर हरेक सामाजिक काममा तदारुकताका साथ लागिपर्ने भएकोले गाउँ समाजमा पनि उमेरले नखारिएको भएपनि विचारले खारिएको भनिन्थें म । यहि स्कूललाई पनि मैले साँझ बिहान घरमा केटाकेटीहरुलाई निशुल्क ट्युशन पढाउन सुरुगरेबाटै यहाँसम्म ल्याउन सफल भएको थिएँ । त्यसो त यसमा म एक्लैको नभएर सबै गाउँलेहरुको पनि योगदान थियो ।

' सायद म तिमीहरुलाई पढाउँछु । म तालिममा नजान पनि सक्छु । टुँगो लागीसकेको छैन । ' मैले घर छोडेर क्रान्तीमा होमिन जाने निर्णय गरिसकेको भएपनि यसरी नै जवाफ दिएँ ।

खासमा मलाई संगठनको माथिल्लो ईकाईबाट क्रान्तिकारी संगठनकै साँगठनिक जिम्मेवारी दिएर पहाडी जिल्लामा पठाउने तयारी भएको थियो र मैले स्विकार गरिसकेको थिएँ । देशभर लुकेर छिपेर सबैले काम गरिरहेको त्यो अवस्थामा कतिपय स्थानमा त क्रान्ती उत्कर्षमा पनि पुगेको थियो । त्यसैले पनि हरेक ठाउँमा नयाँ नयाँ ब्याक्तित्वहरुलाई नयाँ नयाँ क्षेत्रबाट लगेर सँगठनको जिम्मेवारी दिँदा त्यसको फलदायि प्रभाव कार्यकर्ताहरुमा पर्ने साथै परेको खण्डमा लड्नभिड्न पनि सजिलो हुने निचोडका साथ म दुर्गम पहाडी स्थानमा शिक्षककै रुपमा जाँदैथिएँ । घर छोड्ने दिन जति नजिकिँदैथियो म उति उति बिचलित हुँदैथिएँ । मैले एक्ली आमालाई घरमा छोड्नुपर्ने कुराले मलाई सबैभन्दा पहिले पिरोल्थ्यो भने आफ्नै जिन्दगीलाई जस्तै स्याहारेको यो स्कूलले पनि मलाई बाँधेर राख्न खोज्थ्यो र सँधैको भेटघाट र आत्मियताबाट प्रेममा फड्को मारेर बिहे गर्ने निश्चय गरिसकेको अर्चलालाई छोड्न पनि मलाई त्यती सजिलो होला जस्तो लागेको थिएन ।

त्यसदिन बिद्यार्थीहरुसँग अतिरिक्त कुराकानी गरेरै बिताएँ मैले । स्कूल सकिएपछि सँधै झैं म अर्चलासँगै घर फिर्दैथिएँ । उसले सोधि , ' तपाईँलाई लडेर , मरेर , मारेर परिवर्तन सम्भव छ जस्तो लाग्छ ? '

' परिवर्तन चारजनाले चाहेर मात्र हुन सक्दैन । परिवर्तनको आवश्यकता कति टड्कारो छ भनेर जति धेरैलाई बुझाउन सकियो र परिवर्तन तर्फ उन्मुख बनाउन सकियो त्यती चाँडो परिवर्तन हुन सक्छ भन्नेमा म विश्वास गर्छु । ' मैले सोझै उसको जवाफ दिईँन । उ केही नबोली शुरुशुरु हिँडीरहि । म पनि केही भन्नै सकिरहेको थिईँन । उसको भन्दा पहिले मेरो घर आउँथ्यो बाटोमा । मेरो घरनेर पुगेपछि उनले आँखाबाट झण्डै झण्डै आँसु चुहाउँलाझै गरेर भनि , ' जे मनलाग्छ गर्नुस् । म पर्खिन्छु तपाईँलाई । ' प्रकटमा मैले केहि भन्न सकिंन केवल आँखाले उनलाई आभार प्रकट गरेँ ।

त्यही रात हामीले त्यही स्कूलकै कार्यलयमा सानो छलफल राखेका थियौं । म कसरी जाने , गएर कस्लाई भेट्ने , कहाँ बस्ने र मैले स्कूलको शिक्षकको अलाबा अरु के के गर्नुपर्ने भन्ने कुराहरुको छलफल गर्दैगर्दा हामी सबै पक्राउ पर्यौं । हामी पक्राउ परेका नौ दशजना सबैलाई रातारात कुनै अज्ञात स्थानको कैदखानामा एकैठाउँ कोचेर थुनिएको थियो । भोलीपल्ट हामीमध्येमा सिताराम सर , म र चण्डिका मिस बाहेकका अरु सबैलाई कुनै कागजमा सहि गराएर छोडिएको थियो । राती हामीले सल्लाह पनि त्यस्तै गरेका थियौं । जेलभित्र सडेर क्रान्तीकारी हुँ भन्नुभन्दा त जुनसुकै हिसाबले पनि बाहिर निस्केर नै क्रान्तीलाई सहयोग पुर्याउन सकिन्छ भनेर सकेसम्म सकुशल रिहाईकै बाटो रोज्ने सल्लाह भएको थियो । अरु सबैलाई रिहाई गरिसकेपछि उनिहरुले मुख्य ठहर्याएका हामी तीनजनालाई दिउँसै आँखामा पट्टी बाँधेर त्याँहाबाट अन्यत्रै लगे । हामीलाई कुनै जँगलमा लगेर गोली ठोकेर मार्नेछन भन्ने कुरामा हामी लगभग निश्चित थियौं तर त्यसो गरेनन उनिहरुले बरु हामी तिनैजनालाई अलग अलग स्थानमा सरुवा गराएका रहेछन् ।

झण्डै सातमहिना सम्म मैले त्यो अज्ञात स्थानको कोठरीमा कष्टपूर्ण समय बिताएपछि मलाई पनि अब आईन्दा यस्तो देशघाती कार्यमा सामेल भएर पक्राउ परेको खण्डमा सिधै गोली ठोकेर मारिनेछ भन्ने धम्की पूर्ण बकितम सुनाईएर र त्यस्तै लिखितममा सहिछाप गर्न लगाईएर छोडियो । त्यसबेला घर छोड्ने निर्णय गरेको मैले साँच्चै सातमहिना घर छोडेर नै फर्किएँ । मलाई कतैबाट आफन्त पर्ने नेपाल प्रहरीका कुनै हाकिमको सहारा लिईएर छुटाईएको थियो । सात महिना बन्दि जीवन बिताएर फर्कीएपछि म मा झन हौसला थपिएको थियो , परिवर्तन ल्याउनको लागी केहि योगदान गर्छु भनेर तर पुन मैले सँगठनमा सक्रिय भएर लागी पर्न पाईनँ । सँगठनका सदस्यहरु सँग सम्पर्क गर्न खोज्दा पनि मलाई केहि समयलाई त्यतिकै बस्ने सल्लाह दिएका थिए तर खासमा मलाई प्रहरीको मान्छेले रिहा गराएको भएर जिम्मेवारीबाट पन्साईएको हो भन्ने थाहा पाएको थिएँ मैले ।

समय परिवर्तन चाहनेहरुको पक्षमा ढल्कँदैथियो र धेरै भन्दा धेरै मान्छेहरुको समर्थन सँगठनलाई थियो त्यसैले पनि होला सँगठनमा मेरो आवश्यकता नखट्कीएको । सँगठनबाट बाहिर भएपनि पक्राउ परेपछि मेरो परिचय खुल्लारुममा नै क्रान्तिकारीमा परिणत भएको थियो । त्यो समयमा दलबाहिर परेका मान्छेहरुसँग मेरो सम्बन्ध राम्रो भएको थियो तर प्रतक्ष्य अप्रतक्ष्य म सँगठनकै हितमा हिँडेको थिएँ । कतै निन्दा कतै समर्थनको मझधारबाट क्रान्तिकारीहरु गुज्रिरहेको बेलामा अचानक देशको राजनीतिले अभुतपूर्व मोड लिएर औपचारिक रुपमा लामो द्वन्द बिश्राम भएर क्रान्तिकारी धार र सरकार चलाईरहेका तर समयले सत्ताबाट पन्साएका दलहरुमाझ सम्झौता भयो । सदियौं देखिको राजतन्त्र उन्मुलन भयो । सदियौं देखि देशले मागेको तर पटक पटक अनेक धोका र चालबाजीले हुननसकेको संविधान सभाको चुनाव हुने पक्कापक्की भयो । दलहरु संविधान सभामा पठाउनुपर्ने ठुलो संख्याको सभासदहरु जुटाउन युद्दस्तरमै लागीपरे । यतिठुलो संख्यामा उपयुक्त ब्याक्तित्व पाउनु दलहरुलाई सजिलो थिएन अत मनखुशी ब्याक्तिहरुलाई उम्मेद्वारी दिएर जनताको संविधान लेख्ने प्रतिनीधि बनाउन लागीपरे । त्यही अप्ठ्यारो अवस्थामा परेर मलाई पुरानै संगठनले सभासदको उम्मेद्वार छान्यो । म परिवर्तनको निंती यौटा लडाकु बन्न तयार भएको मान्छे बद्लिएको समयमा जनताको प्रतिनीधि नै बन्ने सौभाग्य पाउँदा म स्वभाविक रुपमा खुशी थिएँ । केही गर्न सक्छु म मेरो देशको निँती भन्ने आत्मविश्वासले भरिएको सोच जागेको थियो म भित्र ।

उम्मेद्वार भएर भाषण कलामा खास निपुण नभएको मैले कतै केहि कुराको बारेमा बोल्नुपर्दा यथार्थवादी भएर सत्य कुरा सोझै बोल्ने हुँदा म झनै लोकप्रिय भएँ । जहाँ गएर जे बोल्दा पनि थप्पडीको स्वागत पाउँथे म । लाग्थ्यो थप्पडीमा ठुलो तागत लुकेको हुन्छ । थप्पडीले नै मलाई अझ बुलन्द भएर अगाडी बढ्ने तागत दिने गर्थ्यो । चुनावको परिणाम आयो । थप्पडीको आशिर्वादले म विजयि भएँ जनताको प्रतिनीधिको रुपमा जनताको संविधान लेख्नको निँती ।

सभासदमा विजयि भै सकेपछिको मेरो दैनिकी बदलियो । मनमा देशको निँती केहि गर्न सक्ने उच्व अठोट सगरमाथा भएर ठडिएको थियो । समय बित्दै गयो । हरेक पटक संविधान सभाको सभाहलमा पस्दा यौटा उत्साह लिएर पस्ने र निस्कँदा निराशा लिएर निस्कन थालेँ म । सभाहलमा सरकार कसरी बनाउने , क कस्ले शक्तिशाली कुर्शी पाउने ? कुन भाग कस्लाई दिने ? शक्तिभाग नपाए कस्ले के गर्ने ? ईत्यादी ईत्यादी नित्यकर्म चल्न थालेपछि म दिग्दार हुँदै गै रहेथेँ ।

शान्ती प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने वचन हरेक मानेगुनेका बडा नेताहरुबाट सुनिन्थ्यो तर भित्रभित्र तानातानको खिचोलोले भने छोडेको थिएन । सबैले शान्तीपूर्वक संविधान बनाउने अनेक सम्झौता गरे तर पालन कसैले नगरेर आज झन अन्यौलता र अराजकता बढेको छ देशभरी । आफुपनि जिम्मेवार सभासद भएको हैसियतले अनेक पटक आफुले नियम कानुन उलँघन नगर्ने तव अरुले पनि गर्दैनन भनेर सल्लाह दिँदा म हाईड्रोजन भरिएको बलुन जस्तै हावामा उडेँ । हिँजो उम्मेद्वार चाहिएको बेलामा हामीसँग जोश र जाँगरले भरिएका यस्ता यस्ता युवा ब्याक्तित्वहरु पनि छन भनेर अगाडी सारिन्थ्यो मलाई । हामीसँग दलितका समस्याहरुसँग परिचित उम्मेद्वारहरुको लामो फेहरिस्त छ भनेर म र मै जस्तालाई अघि सारिन्थ्यो । आज सभामा मैले बोलेको कसैले सुन्दैन । हरेक पक्षमा लब्धप्रतिष्ठित मानिएकाहरुकै हो मा हो मिलाउने र थप्पडी बजाउने भएका छौं म र म जस्तै नयाँ विचार , नयाँ जोश बोकेर आएका हामी युवाहरु । समय यहि क्रममा हिंड्यो भने यो समयले पनि देशलाई झन अँध्यारोतर्फ धकेल्ने खतरा म आँखै अगाडी देख्ने गर्छु तर आज सुवर्ण अवशरलाई आफ्नो मुठ्ठीमा कस्न सक्नेले किन त्यही खतरा देख्न सक्दैनन् ?

म घरमा आएको थाहा पाएर म माथी भरोसा गरेर , परिवर्तनको आशा लिएर मलाई मत दिने गाउँलेहरु साथै एकाध स्थानिय पत्रकारले घेरिएँ म । सोधियो , ' के अब संविधान समयमा बन्ला त ? '

' के परिवर्तन यहि नाउँ मात्र कै हो त ? '

' तपाईंको सरकार छ , तपाईंले आफ्नो क्षेत्रमा विकाशका कस्ता योजनाहरु अगाडी सार्नुभएको छ त ?

' तपाईंहरु सरकारमा भएर पनि जँगली ब्यावहार छोड्न सक्नुहुन्न ? '

' तपाईंले नै हुर्काउनुभएको क्रान्तिकारी संगठनको गुण्डागर्दी कैले सम्म चल्ने हो त ? '
'..................'

'...........................'

प्रश्नको ओईरो लाग्यो । म यौटा सरकार पक्षकै सभासद भएर पनि मसँग कुनै प्रश्नको सटिक जवाफ थिएन ।
मैले भनेँ - ' यो ठुलो विडम्बना हो । यि सबकुरामा म यस्को त्यस्को गल्ती भन्दिंन । हामी सबैको गल्ती कमजोरी छ । आज मान्छेको आँखा नहेर्ने कुरा हेर्छ , मुख नबोल्ने कुरा बोल्छ , कान नसुन्ने कुरा सुन्छ , मश्तिष्क नअह्राउने कुरा अह्राउंछ , मन नसोच्ने कुरा सोच्छ , खुट्टा नहिंड्ने बाटो हिँड्छ , हात नगर्ने कर्म गर्छ तर मान्छे जानीजानी आफुलाई रोक्दैन । बिडम्बना यत्ति हो यो समयको । '

जम्मा भएका गाउँलेहरुले फेरी थप्पडी बजाए । यसपटक मलाई त्यो थप्पडीले उर्जा दिएन बरु गिज्याएको जस्तै महसुस भयो । ' उफ ! यो थप्पडी !! यता गाउँलेहरु बजाउँछन् । उता म बजाउँछु । कैलेसम्म हामी केवल थप्पडी मात्रै बजाईरहने हो ? '

देखेँ उता पत्रकारहरु यो जुम्से सभासदमा केहि दम छैनको भावमा ओठ लेब्र्याएर लुरुलुरु फर्कँदै थिए ।

Friday, December 19, 2008

गीत , तिमी र म

'आजभोली तपाईं चेन्ज हुनुभएको छ । '

केहि अगाडीनै तिमीले यसो भन्दा मैले आफुलाई त्यसबेला जस्तो छु त्यो भन्दा फरक बनाउन पहिले जस्तो थिएँ त्यस्तै हुन नखोजेको हैन । कोसिस भरमग्दुर गरेको थिएँ तर म असफल भएछु र अहिले जस्तो भैसकेको छु त्यस्तै रहन गएछु । यो मैले महसुस गर्न नसकेको तर तिमीले महसुस गराएको कुरा हो । अझै तिमीलाई सम्झना भए म फेरी दोहोर्याउँ यहाँ कुनैदिन मैले तिमीलाई सुनाएको थिएँ यो गीत -

मलाई कसैले यति धेरै माया दियो
म आज खुशीले नाचिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

पुरै गीत लेख्न नपर्ला । तिमीलाई थाहै छ यो गीतलाई आफैंले लेख्दा नै एक किसिमले कम्पोज पनि गरेको हुँदा मैले गाएर पुरै गीत सुनाउन सकेको थिएँ । अहिले सम्झन्छु मैले त्यो गीतमा लेखेको कसै र उसैलाई तिमीसँग परिचय नै गराएनछु क्यार या हुनसक्छ मैले चिनाएर पनि तिमीले चिनेनौ अथवा हुनसक्छ मैले चिनाउँदा तिमीलाई विश्वासै लागेन ।

मनमा तिम्रो कुरा आउँदा मलाई सबैभन्दा पहिले यौटा गीत नै याद आउने गर्छ । तिमीले गाएर सुनाएकि थियौ । कस्को गीत , कस्ले गाएको , कस्ले सँगीत गरेको त्यता मैले कहिल्यै ध्यान दिईन मलाई त्यो गीत तिम्रो स्वरमा सुन्दा जति आनन्द त्यो गीतलाई खोजेर सुनेँ भने नआउला भन्ने डर लाग्छ ।

बहारसँगै उड्यो मन किन थम्दैन
पलपल तिम्रो याद आयो यो मन मान्दैन

चाँदनी रातमा जूनको किरणसरी तिमी आई न्यानो स्पर्श देउ
संगीतको मधुरो सरगम सँगै राग नयाँ सजाउ
पल पल तिम्रो याद आयो यो मन मान्दैन .............।

शब्दहरु पनि ठ्याक्कै यहि हो भन्न सक्दिंन तर यस्तै पक्कै हो । अझैपनि तिमीलाई सम्झेको बेला आँखा चिम्लेर यो गीत तिम्रो स्वरमा सुनेको महसुस गर्न मन लाग्छ । यस्तो लाग्छ म कुनै पत्थर हुँ कुनै पहरो मुन्तिर त्यसै पढिरहेको तिमी झरना हौ पहरामाथीबाट फालहालेर मलाई ब्युँझाउने प्रयत्न गरिरहेकी र तिम्रो स्वरको यो गीत त्यही झरना त्यही चट्टानमाथी खस्दा निस्केको छङ्गछङ्ग आवाज हो । तब लाग्छ म क्रमश ब्युझँदैछु त्यही झरना खस्दा उठेको कञ्चन फिँजहरुसँगै भुल्भुल्लिएर । यो अनुभुति यि हरफहरु कोरुञ्जेलसम्मका स्थाई अनुभुति हो । म यस्मा परिवर्तन आउन दिन चाहन्न । प्रतिज्ञा हो यो मेरो ।

कुरा जहाँबाट उठाए पनि मैले पुग्नुपर्ने यो लेख्दै गरेको गन्थनको शिर्षक सम्म मात्रै हो । म ब्यस्त छु आजभोली । के के , यस्तै त्यस्तै , जे पायो त्यहीमा । यहि गीतले मलाई ब्यस्त राखेको छ र यो ब्यस्तता नै तिमी र म बिचमा तेर्सिँदैछ । यस्लाई यसरी भनौं गीतले हामीलाई एकैठाउँ ल्यायो , गीतले मलाई अस्तब्यस्त बनायो र गीतले हामीलाई टाढा लाँदैछ । भन्नलाई मैले भनेपनि यो अनुभुति तिम्रो हो । मैले त जिन्दगीनै यौटा भ्रम हो भनेर पहिल्यै ठम्याईसकेको हुँ र त्यही भ्रम नै सत्य हो भनेर पनि बुझेको हुँ । त्यो भ्रम म हुँ , त्यो भ्रम तिमी हौ र त्यो भ्रम यो संसार हो । त्यही भ्रम सत्य हुँदा त्यो सत्य म हुँ , त्यो सत्य तिमी हौ र त्यो सत्य यो संसार हो तसर्थ मेरो अनुभुतिले त गीतले मलाई सत्यसँग छ्यातछ्याती पारेझैं बनाउँछ । भनौं न तिम्रो न्यानो स्पर्शमै राखेझैं गराउँछ ।

गीतले ( गीतसँगै कविता , गजल ईत्यादि आ उलान् ) मलाई छोड्दैन , म गीतलाई पछ्याईरहन्छु । यो क्रम धेरै अघिदेखि चलिरहेको छ । गीत र मेरो बिचमा यो यौटा भ्रम खडा भएको छ र यहि कुरा यौटा सत्य बनेर पनि खडा छ गीत र मेरो बिचमा । यस्तो अवस्थामा तिमीलाई गीत र मेरो बिचमा छिर्न नसकेको महसुस हुनसक्छ । अरुअरुको हकमा यो लागु हुन्छ कि हुँदैन होला भनेर जिज्ञासा पनि पैदा भएको छ म मा तर यस्को स्पस्ट जवाफ त तिमी नै गीत भएर म सँग छौ भन्ने नै हो नि । आँखिर गीतले नै त हामीलाई एकै ठाउँ पारेको हो त्यसैले तिमीले गीत बनेर म भित्र टाँसिईरहेको बेला म र गीतको बिचमा आफुलाई खोज्नु नै ब्यर्थ छ ।

आउ आज तिमीलाई गीतसँगको अझै थप भ्रम खोल्न चाहन्छु । गीत आदीकाल देखि थियो र अन्त्यकाल सम्म हुनेछ । म त बिचमा कहाँबाट गीतसँग जोडिन आईपुगेको मात्रै हुँ । गीतसँगको मेरो साईनोको पनि दुईवटा पाटोहरु छन् । यौटामा गीत बनेर तिमी छौ भने अर्कोमा गीत बनेर तिनी थिईन फरक केवल तिमी र तिनीको र छौ र थिईनको मात्र हो । तर म छु , गीत छ अनि तिमी गीतभित्रै छौ । गाँठी कुरा यत्ति हो । मैले गीतलाई भर्खर भर्खर भेट्दा जस्तो भेटेँ त्यस्तै मात्र चिन्थेँ । गीत मेरो कानबाट जसरी पस्थ्यो मुखबाट त्यसरी नै निस्कन्थ्यो - गुन्गुनाहट बनेर । यो क्रम चल्दै जाँदा मैले गीतलाई अलिअलि भित्रै लुकाउन पनि थालें । भित्रभित्रै हुर्काउन थालेँ र बिस्तारै त्यसलाई नयाँ स्वरुपमा कागजका पन्नाहरुमा निकाल्न थालेँ ।

लेख्दै थिएँ म गीतहरु कुनैदिन मलाई मेरो गीतले नै सजाय दियो अझ धेरै गीत लेख तैँले भनेर । सजायको त्यो कालकोठरी सजाय पाउनुभन्दा अगाडीसम्म मेरो निंती स्वर्गको एक टुक्रा थियो तर सजाय पाएको बखत मनबाट ह्वातह्वाती गीत निस्किरहँदा कोर्नलाई कपि कलम समाउन पनि अनुमति थिएन । बिद्रोह गरेर मैले कापी कलम समाएको भए नसक्ने कुरै हुँदैनथ्यो तर गीतले दिएको सजाय हुनाले केहि हदसम्म मञ्जुर भयो मलाई । मैले कपी समाईन तर कलम गीतले थाहा पाउँदैन भनेर समाएँ । गीतले थाहा पाएर पनि नपाएझैं गर्यो अथवा मैले कलम समाएको उसलाई मञ्जुरी थियो । ११ दिनको त्यो कालकोठरीमा मैले आफुलाई आधामरेको भनेर फालेको शरिर लडाउनलाई बिछ्याएको यौटा सेतो च्यादर ( तन्ना ) मा २१ वटा गीतहरु लेखेको थिएँ । गन्ति अझै याद छ मलाई ति मध्येका ६ वटा गीतहरुलाई सबैलाई एकमुष्ठ सुनाउनको लागी पूर्ण गीतको स्वरुप पनि दिएको थिएँ तिमीले पनि सुनेकि छौ ति गीतहरु । ति ६ वटामा नपरेको तर २१ वटा भित्रको यौटा गीत यस्तो थियो -

मैले लाएको माया झुठो ठानेउ कि तिमीले
भुलेउ कि सँगै बाँच्ने कसम खाएको हामीले
र एक्लो भएँ म आज आउन्नौ तिमी म सँग
सपनाको हाम्रो संसार बनायौ भताभुङ्ग ।

दुनियाँ हाँस्छ म देखि हाँसोस् म रोईदिउँला
तिम्रो नाम लिएरै बरु सनकी म होईदिउँला
श्रीष्टीमा जब सम्म रहला यो आकाश र धरती
राख्ने छु साँचेर चोखै तिम्रो मेरो पिरती ।

बर्षन्छ तिम्रो माया जलका प्रतेक कणमा
बसेउकी गएर तिमी नभका सितारा गणमा
प्रलय भएर बरु भत्केला मेरो धरातल
भत्कन्न कहिले पनि तिम्रो मायाको सत्तल ।

यसरी गीतसँग चल्दै आएको मेरो घनिष्टता कम से कम म गीतसँग रहुञ्जेलसम्म रहनेछ । स्वरुप अलग भएर आउला त्यो अर्कै कुरा हो । आँखिर स्वरुप अलग भएर पनि छाड्यो गीतको । स्वरुप अलग भएपछिकै कुरा हो मलाई एकदिन गीतले अब गीतमा दुख बेदना मात्र नलेख्न अह्राएको थियो । याद छ होला नि तिमीलाई ? तिम्रै आवाजमा गीतले मलाई लेखीनै रहनु गीतहरु तर दुख र पिँडा कम लेख्नु खुशीको सिँगै आकाश छ त्याँहा जून ताराको झिलिमिली छ अबको गीतमा त्यस्तै लेख्नु भनेको थियो । मैले कोसिस गरेँ - कति सफल भएँ कति असफल भएँ त्यो गीतले नै भन्ला तर अनेक कोसिसको बावजुद पनि भर्खरै मैले यो गीत लेखेँ -

ओभाएनन् यि नयनहरु
छातीभित्र पहिरो रोकिएन
केहि कदम अझै हिँड्न चाहन्थे
के भयो ? पाईला टेकिएन ।

त्यही लामो तिम्रै चुल्ठोमा राखेको थें यो मन बाटेर
फुकाएर खसाईदियौ कि फ्याँकिदियौ चुल्ठो छाँटेर
फेरी अर्को हार भए झैं मैले बाजी राख्नै नपाई
आँशु खस्यो मनको खुशी ओठसम्म आउँदै नआई ।

देख्यौ तिमिले मुटु मेरो पत्थर जस्तै कडा कसरी
पग्लिरहेथ्यो चुहिरहेथ्यो अगेँनुको त्यो नौनी जसरी
रात अझै लामो भएझैं छट्पटीएर काट्नै नपाई
रातै पर्यो बिहान नहुँदै उज्यालो कति आउँदै नआई ।

क्षमा चाहन्छु म मेरो गीतसँग , गीतलाई तिमी मानेर तिमीसँग । यो उद्विग्नताको स्थिती किन आउँछ नचाहँदा नचाहँदै जिन्दगीमा ? लौ न पुरौं यो खाडल अझै गहिरो हुन नपाई ।

प्रिय काली ,
गीत , तिमी र म बिचको सत्यको साथै भ्रमको निवारण गर्नलाई यहिँ सजिलो महसुस गरेँ । म भित्र तिम्रो स्थान खोज्न गीतलाई पर सार्नु पर्दैन । गीतसँगै मिसिएर तिमी म भित्र छौ । तिमीलाई महसुस भएको म चेञ्ज भएको कुरा पनि सायद सहि अनुमान नै होला । परेँहोला म परिवर्तनशिल समयको चपेटामा तर चिन्तित हुनुपर्ने गरेर म परिवर्तन भएँ भन्ने विश्वास त कसरी लाग्ला र तिमीलाई ?

भुलचुक् माफी पाउने अधिकार खोज्दै बिदा है त
तिम्रो देव

Friday, December 12, 2008

दुई गजलहरु : बत्ति बाल्ने नै भए र बाटो उनलाई

गजलमा ओर्लेकै त हुँ , म त कोर्दैछु मनपरी गजलहरु । यसपटक पहिलो नेपालमै छँदा लेखेको गजललाई सम्झी सम्झी पुनर्लेखन गरेको हुँ भने दोश्रो नयाँ नै हो । दिक्क नमान्नुस् है एकोहोरो गजल कोच्यायो भनेर अझै तिनचार वटा (केहि बन्दै गरेका केहि बनेका ) लाईनमा छन् तर तिन्लाई भने अलि अन्तर पारेर मात्रै राख्छु ।



बाबा ! यिन्ले त बत्ति बाल्ने नै भए ।
जात गुन्द्रुक् कै झोल् मा फाल्ने नै भए ।

भन्नै आफुलाई पंकीरेगी भन्छन् ,
नयाँ लुगा काटेर टाल्ने नै भए ।

ऐना के हेर्लान् मन्मा हमाल जो छ ,
अनि त जुल्फि लामो पाल्ने नै भए ।

भन्दै जिन्दगीको मजा बेग्लै हुन्छ ,
दिउँसै नशा तान्न थाल्ने नै भए ।

सिन्को नभाँचे नि यिनै हुन्छन् लाडे ,
आमा बालाई तब दाल्ने नै भए ।

सम्झाउनेलाई जातै मुन्द्रे परे ,
ठाम् को ठाम् मुक्का हानी ढाल्ने नै भए ।

( उ बेला नेपालमा बत्ति बालेर भन्ने थेगो चलेको थियो भने नेपाली फिल्ममा चैं बनको बनमारा झैं राजेश हमालको कपाल चलेको थियो )



गन्हायो रे म हिँडेकै बाटो उनलाई ।
भएँ रे म आजभोली लाटो उनलाई ।

नटेक्नु रे भुईँ पनि बस्नु रे आकाश् मा ,
मैलो लाग्ने छुँदैखेरी माटो उनलाई ।

अन्न उहि पेट भर्ने खाने रोटो उहि ,
नाक लाग्ने मैले खाने आटो उनलाई ।

बाँचेकै छु म नि सञ्चै नै छन् उनि पनि ,
फापेकै छ हामी बिच् को फाटो उनलाई ।

संसार् आफ्नै आफ्नै छुट्टै भेट्दा अझै पनि ,
आँखा तर्दै फेर्नुपर्ने साटो उनलाई ।

माया हो कि के हो अझै दुख्नै मजा लाग्ने ,
बल्झाउँछु सम्झी घाव् को खाटो उनलाई ।

Thursday, December 11, 2008

गजल : अक्मकायो बरा !

बोल्दाबोल्दै बिचैमा त्यो अक्मकायो बरा !
सम्झी सम्झी बोल्दा पनि भक्भकायो बरा !

खान्तलासी लिन थाले केर्नेहरु मिली ,
निर्दोष छु भन्दै खल्ती टक्टकायो बरा !

नाङ्गेझार पारी छाडे दोषि तैं होस् भने ,
लुग्लुग् काम्दै जाडोले उ ठक्ठकायो बरा !

लाठी मुङ्ग्री मात्रै कहाँ बन्दुकै सोझ्याए ,
आँखै सामु मृत्यु देखि सक्पकायो बरा !

जबर्जस्ती दोषि भनि समातेर लगे ,
कस्तो कानुन् यो ? भनेर थक्थकायो बरा !

Wednesday, December 10, 2008

शिर्षक चैं के राख्नेहोला ? : ब्लगसँगको मितेरीमा ३०० औं टाँसोपछिको कम्पन !

अपडेट : साँच्चै राखिसकेको शिर्षक नहटाई यो पोष्टको शिर्षक पनि थपेर हेर्न मन लाग्यो ।

कैलाश : तपाईंले त ब्लग सुरु गर्नुभएको निक्कै भएन र ?

म : निक्कै भन्दा पनि २००६ को जुलाई देखि हो ।

कैलाश : अनि तपाईंले ब्लगिङ्ग गर्दाको अनुभव समेटेर अहिले सम्म लेख्नुभएको छ कि छैन ?

म : छैन ।

कैलाश : लेख्नुस् न त , यौटा राम्रो विषय हुन्छ यो ।

म : अँ अब लेख्नु पर्ला । मेरो ब्लगमा ३०० वटा पोष्टहरु हुन लागेको छ । ठ्याक्कै ३०० औं पारेर लेख्नुपर्ला ।

कैलाश : ए ! अहिले कतिवटा छ ?

म : चारपाँच वटा बाँकि होला ३०० पुग्न ।

कैलाश : ए भनेपछि छिट्टै पढ्न पाईने रहेछ ।

खुत्रुक्कै यस्तै त हैन तर यस्तै वार्तालाप भएथ्यो केहिदिन अघि कैलाशजीसँग । त्यसदिन देखि म ३०० औं पोष्टको लागी ब्लगिङ्ग गर्दाको अनुभव भनेर के लेखौं कसरी लेखौं भनेर घरीघरी सोचिटोपल्न पनि थालेको थिएँ तर म आफुलाई त्यतिकै हुस्सु भन्दिँन क्या साँच्चैको हुस्सु छु म । कैलाशजीकै शब्द सापट लिएर भन्दा मैले त होस नै नराखी ३०० औं पोष्ट ठेलीसकेछु ब्लगमा ।


'ला ! बर्बादै भएछ नि ! ' भन्दै ड्यास बोर्डामा यताउति हेर्दैथिएँ - मैले त ब्लगिङ्गको अनुभव जस्तै दुईवटा पोष्टहरु पहिले नै लेखेको पनि रहेछु । यौटा मैले ब्लग किन सुरु गरेँ ? भनेर २००७ को जनवरी १० मा लेखेको रहेछु भने अर्को चैं ब्लगिङ्गको एक वर्ष भनेर २००७ को जुलाई ३ मा । तब पो याद आयो मैले ब्लगमा दुई वर्ष पुरा गर्दा भनेर २००८ को जुलाई ३ मा पनि लेख्ने योजना बनाएको थिएँ तर त्यो बेला म हवाईबाट अलास्का आउने ध्याउन्नमा हुँदा बिर्षेको थिएँ । यो सब त विर्षें रे ल तर कैलाशजीले ब्लग गर्दाको अनुभवहरुको बारेमा लेख्नुभएको छ कि छैन भन्दा पनि पो थपक्कन छैन भन्दिएछु - बिर्षेरै त होला नि ।


जे होस् कैलाशजीलाई धन्यवाद भन्दै आज तिन सय औं न सहि तिन सय औं एक पोष्टमा ब्लगिङ्गका अनुभवहरु बारे लेख्न बसेको छु । बसेको त छु तर लेख्ने के त ? भन्ने चैं एकखाले प्रश्न ठडिएकै छ मेरो अगाडी । अलिकति नाटकिय ढँगले ( प्रस्तुतिलाई मात्रै ) आफैंले आफ्नो अन्तर्वार्ता लिए झैं पारेर स्वन्तरवार्ता शिर्षक राखेर लेख्नुपर्यो भनेर ठिक परिसकेको पनि थिएँ तर आफ्नै चित्त बुझाउन सकिनँ र 'आ ! जे त पर्ला ' भनेर यसरी नै अघि बढेको हुँ ।

माथी उल्लेख गरेका दुई पोष्टहरु मैले ब्लग किन सुरु गरेँ ?ब्लगिङ्गको एक वर्षमा नै पनि मैले अहिले भन्नुपर्ने खालका केहिकुराहरु त भनिसकेकै रहेछु र पनि थप्नुपर्दा ब्लगिङ्गले मलाई सबैभन्दा धेरै आत्मियता दिएको छ साथीभाईहरुको । कोही कहाँ कोहि कहाँ हुँदा पनि यहि ब्लगले हामीलाई कोही लसुन , कोही प्याज , कोहि चम्सुर , कोहि पालुङ्ग भएपनि यौटै करेसोबारीमा रहेझैं बनाईदिएको छ । त्यसो त आत्मियताको घेरो भित्र रहनुभएका कुनै पनि ब्लगर मित्रहरुसँग मेरो भेटघाट भएको छैन प्राय हामीहरुकै ( सबैजसोकै ) नभएको हुनसक्छ र पनि कोहि अपरिचित झैं महसुस हुँदैन । ब्लगरहरुसँगको भेटघाटकै कुरा गर्दा मैले अहिले सम्म भेटेको यौटै ब्लगर क्यालिफोर्निया जेफ ढुँगाना हुन । उनले चलाउने ब्लग यहाँ छ । झण्डै दुई वर्ष अगाडी जेफसँग मेरो कोलोराडोको डुराङ्गोमा बस्दा भेट भएको थियो । आजभोली त म उनको ब्लगमा छिर्न पनि छाडिसकेछु । उनिचाँही California to Patagonia: A Cycling Expedition मै ब्यस्त रहेछन् । Let the world change you... and you can change the world भन्ने उनको नारा मलाई पनि मनपर्छ ।


साथीभाईको न्यानो आत्मियता झैं ब्लगिङ्गले मलाई दिएको अर्को महत्वपुर्ण कुरा भनेको संतुष्टी हो । आफ्ना रचनाहरु ब्लगमा राखेर त्यसमाथी प्राप्त प्रतिक्रिया र सुझावले साँच्चै मिठो आनन्द प्रदान गर्छ मलाई । पहिले नै उल्लेख गरेझैं ब्लग सुरु गरेदेखि मैले ब्लगको कारणले गुमाएको केहि छैन भने पाएको आत्मियता र सँतुष्टी भने आफुले हिसाब गर्न सक्ने भन्दा धेरै छ ।

यो तीन सय औं एक पोष्टमा आजसम्म ब्लग गर्दाका अनुभवहरु लेख्ने जमर्को गरेपनि अनुभव गरेका कुराहरु खासै केहि लेख्न सकिनँ सायद त्यती धेरै उल्लेखनिय अनुभव बटुल्न नसकेको पनि होला त्यसैले यो पोष्ट ३०१ पोष्ट भएको धक्कु जस्तो मात्रै पनि भयो होला - त्यस्तो भएको भए क्षमा चाहन्छु र यो गन्थनको पुछारमा आईपुगेर टुँग्याउन लाग्दा पनि यसको शिर्षक चैं के राख्नेहोला ? भै'राखेको छ । अस्तु ।

Monday, December 08, 2008

गजल : निभाएछन् आज

पत्तै नपाई म गजलमा ओर्लीसकेछु र पछिल्ला दिनहरुमा पहिले अधुरा रहेका केहि गजललाई पुरा गर्ने , पुनर्लेखन गर्ने साथै नयाँ लेख्ने काम गर्दैछु यतिबेला । यस अघिको गजल घेर्नु अरे पहिले लेखेर ड्राफ्टमा राखेको थिएँ र पुनर्लेखन गरेर ल्याएको थिएँ भने यो चाँही नयाँ लेखेको हुँ ।


मनमा 'दीपक' निभाएछन् आज ।
हरेस सबैले नै खाएछन् आज ।

शुक्लपक्षको रात पनि भो कालो ,
चन्द्रमा किन हो अस्ताएछन् आज ।

हराएर आशा घोर निराशाका ,
मुना , पालुवा पो टुसाएछन् आज ।

त्यो ईतिहासले पनि धिक्कारेर ,
स्वाभिमानी नुर झुकाएछन् आज ।

राखेर आफ्नो चैं खेतबारी बाँझै ,
पसिना अन्यत्रै बगाएछन् आज ।

खेताला न पर्म सबले आ आफ्नै ,
मात्रै घरको छानो छाएछन् आज ।

कस्तो अचम्म ! गाईजात्रै नआई ,
केलाई हो मखुण्डो लाएछन् आज ।

हिँजो त सब्को मुख बन्द नै थ्यो रे ,
सास फेर्न क कस्ले पाएछन् आज ?

आजित भएर हेर हामीदेखि ,
बुद्ध फेरी जन्मेर आएछन् आज ।

भन्न चाहन्छु म बालेछन् दीपक ,
चन्द्रमा पनि त उदाएछन् आज ।

Sunday, December 07, 2008

म हाँसेको कुरा - भाग ३

खासमा स्मरण योग्य र तपाईंहरुलाई सुनाउन मन लागेका आफ्ना संस्मरणहरुका खातबाट रमाईला रमाईला कुराहरु छानेर म हाँसेको कुरा भन्दै पहिले भाग एक दुई टक्र्याईसकेको हुँ र त्यसैको भाग तिन जोड्ने प्रयासमा छु यसपाली । हँसाउने सवालमै चैं उस्तो सफल नहुन सक्छन् यि कुरा त्यसैले अहिले नै हँसाई अलि कम पनि हुन सक्छ है भनेर जनाउ पनि लेख्दैछु यहाँ । आउनुस् कुरा शुरु गरौं नाच हिँडाउंदाको यौटा रमाईलो प्रसंगबाट -

थपिनी आमैले नाच हेरेको

लोड सेडिङका कुरा अर्कै हुन् , गाउँमा बत्ति जाने भनिन्छ , तर गाउँ यतिबेला बिजुलीका खम्बा ठडिएर र बाँस झ्याङ होस या धानबारी जतासुकैबाट घरसम्म बिजुलीका तार जोडिएर मात्रै पनि उल्कै झिलिमिली भएको छ । बल्नु नबल्नु त भाग्यको कुरा हो बिजुली चैं घरघरै आ'को छ यतिबेला भनेर महिना मर्ने बित्तिकै कति रात अँध्यारोमा अलपत्र पार्दै बलेन हैन कति पैसा आउने भयो यो घरबाट भनेर मिटर रिडर दाई टुप्लुक्क आईपुग्दा सबैलाई हेक्का हुन्छ ।

गाउँका मान्छेले यतिबेला धन्यधन्य नै सम्झनुपर्छ आफुलाई पुरै महिनामा राती त सबैलाई सुत्नै पर्यो दिउँसो दिउँसो गरेर टाकनटुकुन दश पन्ध्रदिन बिजुलीबत्ति बालेको पैसा टक्र्याउँनलाई पनि एकदिनको दिनभरीको काम माया मारेर बिजुलीबत्तिको अफिस भए ठाउँतिर पुग्नुपर्छ । एकदिन दिनभरी घुम्न पाईने क्या मज्जा !! उ बेला त्यस्तो भाग्य कहाँ थियो र ? बिजुलीका खम्बा नभएर गाउँ नै अँध्यारो थियो । बिहेकार्जे , उत्सव ईत्यादीमा पनि लालटिन र ल्यामपोस् नत्र भने टुकी आदीकै भर हुन्थ्यो । यो लालटिन भन्दा अहिले सम्झना भयो कोहीकोही भन्थे लालटिनलाई त बालटिन भन्नु पर्ने भनेर अनि बाल्टिनलाई हालटिन भन्नुपर्ने भनेर । हुनपनि हो बाल्नेलाई लालटिन हाल्नेलाई बाल्टिन भन्ने कुरा र चिल्ने ( टोक्ने ) लाई उडुस र उड्नेलाई चिल भन्ने कुरा अनौठै छ ।

कुरा अध्याँरोको उठाउंदै थिएँ म । त्यो बेला अँध्यारोले केहिपनि छेकेको चैं थिएन बिहेकार्य पनि राती नै हुन्थ्यो धेरजस्तो । हामी कात्तिके अँध्यारोमा पनि नाना भाँति उज्यालो बालेर तिहारमा देउशी नाच हिँडाउथ्यौं । त्यस्तै एकपल्ट अलि सानो सानो खालको नाच हिँडाएका थियौं । ईज्जत गरेर त्यसबेला गाउँलेले हाम्रो त्यो नाचलाई टुहुरे नाच भन्दिन्थे । अभिवावक भन्न लायक कुनै ब्याक्तिपनि नाचमा समावेश नभएकोले होला नि त्यसो भनेको । भन्नेले त के भन्दैनन् र तर हामी छोड्दैन पनि थियौं । त्यसरी नै दुईचार लालटिनको सहारामा नाच हिँडाउँदै हामी थापाको घरमा पुगेका थियौं । कति गीतमा हामीले गाएर थोत्रे मादल , गिटार बजाएर नचाउँथ्यौ त कति नाच क्यासेट प्लेयरमा गीत बजाएर ठिकठिकैको साउण्डबक्सबाट वरपर थर्किने गरेर पनि देखाउंथ्यौ ।

त्यतिबेला थापाको घरमा ' आमैले भन्थिन धाराको पानी........ ' भन्ने गीत क्यासेट प्लेयरमा बजाई कुनै साथी तरर तरर तरर भन्दै नाच्दैथियो । उता थपिनी आमै हातमा टुकी लिएर नाच हेर्न बरण्डामा निस्किईन् । उनले टाउकोमा सरदार ( पञ्जाबी ) ले झैं निक्कै ठुलो फेटा गुँथेकि थिईन् सायद आमै सेलरोटी पोल्दै थिईन् अँगेनोमा । त्यो अँध्यारोमा माथी बरण्डाबाट तल आँगनमा हेर्दा केहि देखिनन् क्यार आमैले त्यसैले हातले समातेको टुकीलाई यसो पछाडी तिर पारेर हेर्न लागिछन् तर हातको टुकीभने रोटी पोल्दा अँगेनोको रापले खरिएको आमैको टाउकोको फेटातिर पुगेछ र आमैको टाउकोको फेटा हुरुरु बल्न शुरु भएछ । आमै भने आफ्नै टाउकोमा आगोलागेको पत्तो नपाएर नाचहेर्न मस्त । नाचटोलीकै हामी मध्ये कसैले देखेर टाउको बल्यो !! टाउको बल्यो !! भनेर कराएपछि पो आमैले टाउकोको फेटा र हातको टुकी एकै झट्कामा तल नाच देखाउँदै हामी बसेतिर मिल्काईदिईन् । टुकीको मट्टीतेलसँगै फेटा अझ ठुलो दन्किएर बल्दै हामीतिर झर्यो तर हामी लाई केहि भएन उता माथी आमैको टाउकोबाट बरण्डाको बिममा झुण्ड्याएर राखेको मकैको झुत्तामा समेत आगोले समातेछ । हामी दौडेर गएर बल्दै गरेका मकैका झुत्ता निकालेर आँगन तिरै फ्याँक्यौं । प्रायजसो फुस ( खर / पराल ) का घर हुने गाउँमा ति आमैको घरमा जस्ताको छानो थियो र मात्रै नत्र त्यो दिन अनर्थै हुनेथियो । यता आमैको भने अलिकति कपाल डढ्न पनि भ्याएछ ।

त्यत्रो काण्ड मच्चिएर पनि त्यो घरबाट सिदा ( दक्षिणा ) थापेर विदा भै फर्कंदा ' ति आमैलाई आज हामीले जोगाएर अलि धेरै पैसा दिईछन् नत्र कम्ति लोभी थिईनन् ' भन्दैथियौं हामी । अहिले सम्झन्छु बुद्धि त त्यो गतिको थियो अनि के नभनुन् त टुहुरे नाच हाम्रो नाचलाई ?

सर्प गन्हाएको

भदौको बेला हुनुपर्छ । पानी नपरेको भएपनि धर्ती ओसिलो थियो । खोलामा बाढी घटिसकेको थियो । गाउँभरी प्रायजसो सबैले मैजारो ( रोपाईं को विधिवत समाप्ती ) गरिसकेका थिए । त्यसबेला गाउँलेलाई साह्रै आनन्द हुन्छ । कामको चटारो हुँदैन त्यसमाथी आउँदै गरेको चाड ( दशैं ) को घनघोर प्रतिक्षा ।
हामी ठिटौलेलाई पनि फुर्सद टन्नै हुने । बरालिएको छ , यता र उति लखरलखर डुलेको छ अनि घर गएर भात हसुर्न पाएकै छ । अरु के चाहियो ? त्यो फुर्सद हामी सँधै दिउँसोको तिनबजे देखि खोलाको बगरमा गएर भकुण्डो खेलेर उपयोग गर्थ्यौं र तिनबजे शुरुहुने भकुण्डो खेलको लागी हामी आ आफ्नो फुर्सद अनुशार दिउँसो एक दुई बजे देखि नै खोलाको डिलमा भएका रुखका सिँयालतिर भेला हुँदै गर्थ्यौं । एकदिन म , सेखरदाई ( मेरो फुपुको छोरा ) र अर्को एकजना साथी कुले - नाम त कुल हो क्यारे हामी धक नमानी एकलखे थपेर कुले भन्थ्यौं , त्यस्तै दुईबजे तिर खोलाको डिलतिर जाँदैथियौं । खेतको आली आली हिंड्दै जाँदा खेतकै आलीमा भएको यौटा सानो सानो रुखको फेदमा हामीले यौटा सर्प लम्पसार परेको देख्यौं । बर्षामास हाम्रोतिर बिषालु गोमन सर्प पनि बग्रेल्तै निस्कन्छन् तर त्यो भने ढोडिया थियो । पानीमा पनि बस्ने त्यो ढोडिया जातको सर्पसँग हामी त के ढोडिया हो भनेर चिनेभने आईमाई केटाकेटी पनि डराउँदैनन् । ( यहाँ आईमाईहरु चैं डरपोक नै हुन्छन् भन्न खोजेको हैन है । गाउँघरतिर तुलनात्मक रुपमा आईमाई हरुनै अलि डराउने थाहा पाएको आधारमा भनेको ) ।

त्यो सर्प देख्दा ढोडिया नै भएपनि पहिले त हामी सजग भएका थियौं तर पछि त्यो सर्प माथी घिउ कमिला चढिरहेको देखेपछि सेखर दाईले भन्नुभयो , ' ए यो सर्प त मरेको रहेछ । '

' हो त । कस्ले मारेर यहाँ छोडेछ ? अझै पनि खाल्डो खनेर गाड्न सक्दैनन् यौटा सर्प , पछि यस्को काँढा बिझ्छ अनि थाहा पाउँछन् ? ' मैले थपेँ ।

' छि ! यो त गन्हाएछ पनि । यस्लाई त गाडिदिनै पर्छ । ' नाक छोप्दै कुलेले भन्यो । नभन्दै कुलेले नाक छोपेपछि हामीलाई पनि गन्हायो । कुलेले सर्प कतै लगेर गाड्नलाई रुखको सुकेको हाँगाको लठ्ठी लिएर उठाउन गयो । जसै उसले सर्पको शरिरको बिचभागमा लठ्ठी घुसारेर उठाउन खोजेको थियो सर्प त निन्द्राबाट अत्तालिएर बिउँझेझैं बटारिएर सलल कुदयो । बिष रहित ढोडिया सर्प भएकोले हामीले खेदीखेदी मार्नुपर्ने आवश्यकता देखेनौं तर मरुञ्जेल हाँस उठ्यो हामीलाई त्यो मरेको ठानेको सर्प गन्हाएकोमा ।

Saturday, December 06, 2008

गजल : घेर्नु अरे

तिन्ले नै सबैलाई घेर्नु अरे ।
र सबैले त्यतिकै टेर्नु अरे ।

छिस्रिक्क गर्न नि नहुने प'त ,
र्‍याख् र्‍याख्ती बनाउंदै केर्नु अरे ।

अलग्गै विचार राख्न नहुने
तिनेर'कै झैं गरी फेर्नु अरे ।

आँखामा पट्टी नै बाँध्नु कि के हो ?
अरुले संसारै नहेर्नु अरे ।

लैनो हो रे तिन्को चैं विचार
अरुको विचार बकेर्नु अरे ।

हुलमा तिन्कै मिसिएन भने ,
आफैंलाई आफैंले सेर्नु अरे ।

सुन्यौ त ? तिन्का अगाडी सबले ,
तिनेर'कै डरले छेर्नु अरे ।

Thursday, December 04, 2008

कविता : समयसँग तिमी हामी

समय चक्र हैन साथी
जो घुमिरहोस् फन्फनी
दोहोर्याईरहोस् जिन्दगी
ॠतु जस्तै क्रमश क्रमश
फुक्लिउन र पलाउन दाँतहरु
दोहोरिएर फेरी फेरी
र हाँस्न पाईयोस् किच्च
आठ वर्षे बालहाँसो ।


छिप्पिएर कोदाले दाँत
कन्सिरी मिलाएर
चट्ट कपाल कोर्न थालेपछि
चोकमा एक दिन
ठड्याएथेँ समय किल्ला
टाँगेथें चाहनाको डोरी चौतर्फी
सजाएथेँ रहरका ध्वजा पताकाहरु
रँगिन कुखुरे वैँश जस्तै
उम्लिएर , छचल्किएर
पोखिएर उमंगले त्यो क्षण
लाग्थ्यो
च्याप्प समातेको छु मैले
भुर्र उडेर कहिल्यै नफर्किने यो समय ।


कसो कसो उछिट्टिएर
आफ्नै जिन्दगीसँग
बञ्चरोको निर्मम चोट मुढामाथी पर्दा
चोईटा भएर पर कतै एउटा छेस्को
लहलह घाँसमा अदृश्य भएझैं
टाढा झन टाढाबाट
सम्झिरहँदा त्यो चोकलाई आज
बुझेको छु
समय फर्कने छैन साथी
चक्र भएर त्यहीँ त्यसैगरी कहिल्यै ।


एकपटक आफैंलाई
अलग्ग झिकेर आफुबाट
फेरी खोजी गर्दा
आफु अर्कै हात परेजस्तो
हजार हजार देखभेट भएका
परिचित अपरिचित अनुहार छाडेर
देख्दै नदेखेको
चिनेर पनि नचिने जस्तो
नचिनेर पनि चिनेजस्तो
ठ्याक्कै तिम्रै अनुहार झैं
खै के के सम्झाउने रहेछ
खै के के बिर्षाउने रहेछ
कताकता निष्ठुरी यो समय ।


अझैपनि
शिर कुल्चेर तिम्रो हाम्रो
फड्कीरहेको यो समयले
छाडिरहनेछ त्यो र यो
ल्याईरहनेछ अर्कै र अर्कै
कहिल्यै भुईँमा नखस्ने गरी
कमानबाट छुटेको तिरझैं
यो समय
अघि बढिरहनेछ
घोचिरहनेछ रहरहरु
दुखाईरहनेछ चाहनाहरु
छेडिरहनेछ मुटुहरु
केवल बल्झिरहनेछौं हामी
सम्झनाका घाउहरुमा
सम्झनाकै चोटहरुमा
बटुल्दै समयले दिएको उपहारहरु
बल्झि नै रहनेछौं हामी
भुल्न भुल्न लागेका ति चोकहरुमा ।