Monday, May 07, 2007

गजल : जिउन जिन्दगी

जिउन जिन्दगी जब गाह्रो हुन्छ ।
सानो सानो खुशी पनि साह्रो हुन्छ ।
नबिकेर बोली , साथी छुटेपछि ,
एकान्त र अँध्यारो नै प्यारो हुन्छ ।
आँशु पिउंदा पिउंदै मातेपछि ,
आफ्नै खुट्टा बाटोको तघारो हुन्छ ।
कुविचारको जालो फैलिएसम्म ,
सुविचार त तातो न छारो हुन्छ ।
बुज्रुगहरुको माझ आजभोली ,
आदर्श मनोरञ्जन् को चारो हुन्छ ।
नबिराउनु नडराउनु तर ,
साँचो बोल्ने नै आँखाको तारो हुन्छ ।

Sunday, May 06, 2007

कविता : लेखुंला भनेको कविता

लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको
फक्रने अभिलाषा बोकी
यौटा अंध्यारो रात कटाएर
बिहानीको किरणसंगै लुछिन्छ
बलात्कृत हुन्छ
यसैगरी
उज्यालोले लखेट्न थालेपछि
रातसंग आजभोली
फूलहरु डराउंदैनन
फूल यौटा कविमन
दिउंसै लुटीएपछि
यौटा कविमन
टुहुरो आँशुमाथी कविता लेख्छ
सम्झेर आफ्नै शिरमाथी आकाश छैन
यौटा कविमन
उजाड सिउंदोमाथी कविता लेख्छ
अनुभुत गरेर आफ्नै संसार उजाडीएको छ
यौटा कविमन
झरेको फूलमाथी कविता लेख्छ
मानेर आफु स्वयं बलात्कृत भएको छ
लुछिएर पत्रपत्र फूलको
भुइँभरी छरिएपछि
आहत छ कविमन आज
नचलेर कलम
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको ।

नेपालीपोष्ट डट कममा प्रकाशित ।

Wednesday, May 02, 2007

क्रान्ती गीत : देशको लागी ।

उकालो त अझै साथी चढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नेपालीकविता डट कममा प्रकाशित ।