एकदिन फेदैको खुड्किलामा
एकजोर गुलाबी चप्पल फुकालेर
भर्याङ्ग उक्लिएर माथी चढेथ्यौ तिमी
फर्किएर फेरि कहिल्यै
आफ्नो चप्पल लिन आएनौ
आजसम्म
अनगिन्ति पाईलाहरु
भर्याङ्ग चढेर माथी गए
भर्याङ्ग ओर्लेर तल झरे
अनगिन्ति चप्पलहरु
फुकालिए भर्याङ्गको फेदमा
लगाईए भर्याङ्गको फेदबाट
सबैको हर हिसाब
सायदै कसैले राख्यो
नराखेरै तर मसँग
रहेको छ हिसाब
तिमीले फुकालेर छोडेको
एकजोर गुलाबी चप्पलको
आउँदा जाँदा देख्नेहरु
सबैले बेवारिस ठान्छन्
सबैले अनाथ भन्छन्
तिम्रो एकजोर गुलाबी चप्पललाई
तर होइन
तिमीले फुकालेर छाडेपनि
आजसम्म मैले ख्याल राखेको
तिम्रो एकजोर गुलाबी चप्पल
कसरी बेवारिस हुन सक्छ?
कसरी अनाथ हुन सक्छ?