Wednesday, January 31, 2007

गीत : जिन्दगीको यात्राभरी । (काले र कालीको गीत ।)

काली : जिन्दगीको यात्राभरी तिम्रै साथ दिन्छु म त
मलाई तिम्रो हात समाउन देउ
भुलीदिन्छु आफ्नो ब्याथा तिम्रो साथ पाए म त
मलाई तिम्रै खुशीमा रमाउन देउ ।


काले : फूलहरु देखाएर काँढा मैले टेकेको छु
यात्राभरी जिन्दगीको आँधीहुरी छेकेको छु
सक्छौ भने काँढा टेक्न
आँधीहुरी हरु छेक्न
आउ हात समाउ , यो खुशीमा रमाउ ।



काली : बर्षौं बर्षौं देखि पर्खिएको
त्यो खुशी मैले भेटएं कि
काले : छातीभित्र पिँडाले कोरेको
रेखाहरु मैले मेटाएं कि
दुबै : आउ दुई मुटु जोडी अब
जुनीभरीलाई एकै पारौं
आँधीहुरी अझै छेल्नु नै छ
मनको भिताहरु संगै बारौं ।



काले : कुनै चोट म भित्र बल्झिदिंदा
अनुराग तिमी सहिदिनु
काली : कतै खुशी म भित्र छचल्किंदा
तिमीपनि खुशी भईदिनु
दुबै: आउ आज यो बाचा बाँधी
दुई मुटुमा यौटै धून भरौं
त्यही धूनमा जिन्दगीको
जंघार हामी संगै तरौं ।

Monday, January 29, 2007

POEM : INVITE ME NOT

Send me not an invitation , Gentalman
Of attendence as your speciall guest
I am just the dust of this earth
I deserve to crush beneth millians of feet
And I have no break
With being crushed .
This world has been running
In her own speed
She must have to save
Her position in the univers
But I am just the dust
The one of useless object
And move around here and there
In each blow of the wind
Neither there is any importance
Nor any address of mine
Invite me not , Gentalman
Even if I get up from my place
I am sure I cound never find
Another place in the sky
Even if I took support of strom
Finally I have to fall down
In this same earth
That is why
Do not invite me , Gentalman
I'm not suitable to your invitation
No not at all .

It's my pleasure that Reecha Tiwari has placed this poem to her blog http://sapanakosansar.blogspot.com .

Friday, January 26, 2007

दुई गीतहरु -

१ -

मलाई कसैले यति धेरै माया दियो
म आज खुशीले नाचिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

यति धेरै धेरै खुशी
छचल्किन्छ मनै भरी
फूलै फूल फक्रीएको
देख्छु आफ्नो वरीपरी
म फूल जस्तै फक्रीएर हाँसिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।


किन लगाईदियो उसले
आज यति मिठो प्रीत
ओठहरु गाईरन्छन
सँधै सँधै उसकै गीत
त्यै गीतभरी उसैलाई गाँसिरहेछु
मेरो यो मनमा उसकै लागी
मैले पनि चोखो माया साँचिरहेछु ।

२ -

मलाई माया गर्छु भन्ने कोहिपनि पाउन सकिन
एकै मुठ्ठी माया मैले कहिंपनि लाउन सकिन ।

कतै मायाको मुल्य नै तिर्न सकिन
कैले मायालुको मनभित्र छिर्न सकिन
न टेक्ने हाँगा छ न छ समाउने
झर्दैछ जिन्दगी भिर्न सकिन ।


मेरो माया कसैलाई सस्तो लाग्ने
कसैलाई झेलगरे जस्तो लाग्ने
भेटे हुन्थ्यो बाटो बरु यो रित्तो
उजाड जिन्दगी देखि भाग्ने ।

लेख्नलाई मैले एकैदिनमा ४ वटा सम्म गीतहरु पनि लेखेको छु ( यदि मैले लेखेका गीतहरु गीत भन्न सुहाउने छन भने । ) तर आज संयोग यस्तो पर्यो कि एकैदिनमा एकैसाथ दुई अलग तरिकाका गीतहरु लेख्न पुगें । सामान्यतया म गीतहरु लेख्दै गरेको दिनमा उस्तै प्रकृतीका गीतहरु लेख्थें र त्यो पनि एउटा सकेर मात्र अर्को लेखेको थिएं तर आज माथिको दुबै गीतहरु एकैसाथ लेख्न शुरु गरेर एकैसाथ सकेको नयाँ अनुभव गरेको छु ।

Thursday, January 25, 2007

गजल : मोती बटुलेको कुरा गर ।

आजैको भेटमा संधै भन्न भुलेको कुरा गर ।
तोरीबारी झैं पँहेलिएर फूलेको कुरा गर । १

पर पर फैलिएका ति गहुँका खेतहरुमा ,
बसन्ती हावा संगै रमाई डुलेको कुरा गर । २

कुहु कुहु कोईलीले मिठो गीत गाईरहँदा ,
हात समाई फाँटहरुमा डुलेको कुरा गर । ३

गर्मीको मौसम खोलाको त्यो पानी चिसो पिउंदै ,
बगरमा मायाको मोती बटुलेको कुरा गर । ४

यै छातीलाई सिरान हाली पैयुँको बुट्टामुनि ,
तिम्रै परी हुँ म भनेर पुल्पुलेको कुरा गर । ५

मिठो लाग्छ भने अतित टहटह जुनेलीमा ,
चन्द्रमा संग लाज नमानी खुलेको कुरा गर । ६

बिर्षिएर मिठो सबै तितो मात्र बाँकी छ भने ,
निर्धक्क भै यो छातीमा आँधी हुलेको कुरा गर । ७

यो भेटलाई फेरी अर्को शुरुवात बनाउन ,
हामी बिच तितो मिठो सबै सुलेको कुरा गर । ८

Wednesday, January 24, 2007

गीत : मेरो मनको संघारभरी ।

मेरो मनको संघारभरी खुशियाली पोतिदियौ
घाम संगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।


यति धेरै हाँसो मेरो अधरमा खन्याईदियौ
उदाश मेरा ओठहरु मुस्कुराउने बनाईदियौ
बगर झैं प्यासी मनलाई छाल बनि मोति दियौ
घाम संगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।


बादल बनाई खुल्ला निलो आकाशमा उडाइदियौ
उचालेर भुँईबाट जूनतारामा चढाईदियौ
सम्हाल्नै नसक्ने गरि खुशी कति कति दियौ
घाम संगै झुल्किएर जिन्दगीमा ज्योति दियौ ।

Tuesday, January 23, 2007

बसन्त पञ्चमी , बयर र सरस्वती पूजा ।



" या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवै सदा वन्दिता
सा मां पा तु सरस्वती भगवती नि:शेषजाड्यापहा ।। "


आज बसन्त पञ्चमी या नि कि श्रीपञ्चमी अर्थात सरस्वती पूजा । सरस्वती पूजा नमनाएको पनि ५ बर्ष लागिसक्यो । नेपालमा छँदा स्कूलमा अनि गाउँमा सरस्वती पूजा मनाएको झलझली आँखैमा छ । गाउँमा हामी भब्यताका साथ सरस्वती पूजा मनाउने गर्थ्यौं । केटाहरु र केटीहरुको २०/२५ जनाको हुल भएर हामी पनि सरस्वती पूजाको लागी चन्दा उठाउन घर घर अनि पसल पसल जान्थ्यौं तर हाम्रो चन्दा माग्ने प्रकृयामा दादागिरी हुंदैनथ्यो त्यसैले हामी आशा अनुशार नै चन्दा रकम संकलन गर्थ्यौं अनि त्यसलाई पूजाको निंती र बिभिन्न कार्यक्रमको निंती खर्च गर्थ्यौं ।

पूजा गर्नको लागी सरस्वतीको मुर्ती म आफैं बनाउने गर्थें । झण्डै दुई साता अगाडी देखि परालको लुँडो बाटेर त्यसमाथी खोलाबाट ल्याईएको लिसाईलो माटोले लिपेर सुकाउदै पोल्दै म सरस्वतीको सुन्दर मुर्ती तयार पार्थें । सरस्वतीलाई लगाईदिने कपडा साडी चोलो बनाउने जिम्मा गाउंका बैनीहरुको हुन्थ्यो ।

गाउँको बिचभागमा पर्ने खुल्ला खेतमा ( मैदान त कहाँ बाँकी थियो र? ) अस्थाई मन्दिर बनाएर पूजा स्थल बनाइन्थ्यो । दिनभर केटाकेटीहरुलाई दौड , हिसाब दौड , चम्चा दौड , हाजिरी जवाफ अनि गाउँमा आमा दिदीहरुको लागी कुर्शी दौड र सबैको लागी घ्याम्पो ( घैला ) फोर्ने जस्ता प्रतियोगिताहरु गराईन्थ्यो । साँझमा पनि अलि ठुला समुहका बिध्यार्थीहरुको हाजिरिजवाफ प्रतियोगिता , गायन प्रतियोगिता , नृत्य प्रतियोगिता गराउंथ्यौ । यस्ता सबै कार्यक्रमहरुमा हामीलाइ गाउँका ठुलाबडाले पनि साथ दिनुहुन्थ्यो । पूजाको प्रसाद अनि अन्य खानेकुराहरु बनाउन समेत हामीलाई गाउँका ठुलाबडाले सहयोग गर्नुहुन्थ्यो । ठुलाबडाहरु मध्ये नै एकजनालाई हामी सभापती बनाउंथ्यौ र सबै प्रतियोगितामा हुने विजयीहरुलाई सभापतीकै हातबाट पुरस्कार प्रदान गर्थ्यौं । कुनै कुनै पुरस्कारहरु पैसाको कमीले गर्दा राम्ररी पोको पारेको थैलोमा बुनिया (खानेकुरा) पनि हुन्थ्यो । त्यो पुरस्कार प्रदान गर्दा राम्रो हँस्यौली पनि हुन्थ्यो अनि अर्को साल हामी अलि धेरै चन्दा दिन्छौं भनेर ठुलाबडाले वचन पनि दिनु हुन्थ्यो ।

सबै प्रतियोगिता सकिएपछि पनि हामी रातभर नाचगान गरेर अथवा अन्ताक्षरी खेलेर रमाईलो गर्दै रात काट्थ्यौं र बिहान खोलामा पुर्याएर सरस्वतीको मुर्ती सेलाएपछि भने सरस्वती पूजा बिधीवत समाप्त हुन्थ्यो ।

आजभोली गाउँमा सरस्वती पूजा मनाउन छाडिएछ । गाउँमा यस्ता कार्यहरुमा उत्साहित भएर लाग्ने हामी युवाहरु सबै बाहिर बाहिर छौं । गाउँमा त मनाईदैन मनाईदैन स्कूलहरुमा पनि सरस्वती पूजा मनाउने वातावरण नभएको सुन्दा दुख लाग्छ । मैले भने यो ब्लगमा ई नै कुराहरु लेखेर एक्लै सरस्वती पूजा मनाएको ठानेको छु ।

नेपालमा हिंजै थियो सरस्वती पूजा । म समयले नेपाल भन्दा एकदिन(१२ घण्टा) पछाडी छु । हिंजो कान्तिपुर लगायत निक्कै अनलाईन नेपाली पत्रीकाहरु हेरें तर कतै पनि सरस्वती पूजाको बारेमा 'स' पनि लेखेको नभेट्दा अझ दुख लाग्यो । सबैमा त पसिंन तर पसेजति ब्लगहरुमा पनि कुनै ब्लगरले सरस्वती पूजाको बारेमा लेख्नु भएको छैन । सायद सरस्वती पूजाको कसैलाई महत्व छैन अब । कि देशको बर्तमान परिस्थितीले सबैलाई बिर्सायो कि? कि धर्मनिरपेक्षताको कुराले भुलायो? जे होस , धेरै अर्थमा मान्छेहरुले बिर्षिदै गए होलान । अनि राजनैतिक गज्याङमजाङले पनि यस्तो कुराहरुलाई ओझेल पार्यो होला ।

मैले यो दिनलाई सबै भन्दा पहिले सरस्वती पूजा भनेरै चिनेको थिएं । सानो हुँदा स्कूलमा सरस्वती पूजा हुने दिन साह्रै रमाईलो लाग्थ्यो । त्यसपछि श्री पञ्चमी भनेर जानें । गाउँघर तिर केटाकेटीको नाक कान छेडिदिने अनि बहर गोरुलाई पहिलो पल्ट दाउने ( जोत्न सिकाउने ) चलन हुन्थ्यो । यो दिनलाइ मैले बसन्त पञ्चमी भनेर सबै भन्दा पछि बुझें तर आजभोली यो दिनलाई बसन्त पञ्चमी भन्ननै अलि राम्रो लाग्छ ।

मैले माथी शिर्षकमा बयरको पनि जिकिर गरेको छु । यो समयमा गाउँभरी , घरघरै लटरम्म बयर फलेका हुन्छन । कतै पाक्न लागेका त कतै कट्मेरो अवस्थाका बयरहरु चोरी चोरी खाँदै हिंडेको दिन पनि अझै ताजा छ । कैलेकाहिँ त बयर धेरै खाएर ज्वरो पनि आउंथ्यो । सिजनमा सर्बत्र पाइने बयर मेरो विचारमा केटाकेटीहरुको निंती भगवानले श्रीजना गरेको फल हो । खानको लागी त ठुलामान्छेहरुले पनि रुचिका साथ खान्छन बयर तर महत्व भने कम दिन्छन । बयरको अचार बनाएर खाने चलन पनि छ । कतै गुँणमा डुबाएर गुलियो पारेर त कतै अमिलो बनाएर बयरको अचार बनाईन्छ ।


मैले स्कूलमा हुंदा पनि सानैमा बयरको बिषयमा दुईवटा पाठहरु पढेको सम्झना छ । एउटा भुण्टे र बयर भन्ने कथा जस्तो पाठ थियो जस्मा भुण्टेले भाँडाभित्रको बयर मुठ्याएर हात अड्काएको कुरा स चित्र थियो । उक्त चित्रको भुण्टे तँ होस भनेर दाजुले मलाई जिस्क्याउनु भएको पनि मलाई याद छ । अर्को पाठको भने शिर्षक याद छैन त्यसमा माईत हिंडेकि दुई दिदी बहिनी मध्ये बहिनीले बाटोमा भेटेको बयरको बोटलाइ वरपरीका झारपातहरु उखेलेर गोडेर हिंडेको र माइतबाट फर्कंदा बयरले फल दिएको अनि दिदीले केहि नगरी माइत गएर फर्कंदा बयरको बोटले घोचेको कुरा लेखिएको थियो । त्यो पाठ पढेर मैले डाढे भन्ने शब्द चिनेको सम्झना छ । उक्त कथामा दिदी पात्रलाई डाढे चरित्रमा देखाईएको थियो । ति दुई ठाउँबाहेक अन्य कतै पनि किताबहरुमा मैले बयरको बारेमा चर्चा गरेको देखेको छैन बरु शँभुजित बाँस्कोटाको कुनै यौटा फिल्मी गीतमा भने ए माया खाउं भने खाउं त नि काँचो बयर भनेको सुनेको छु । बयरको गुदी(बिंया)ले निमोनिया जाती पार्छ भन्ने पनि सुनेको छु मैले तर सत्य हो कि हैन त्यो त थाहा छैन ।

मैले भने गाउँमा सरस्वती पूजा गर्ने चलन थालेदेखि सरस्वती पूजाको दिन सरस्वतीलाई नचढाई बयर खाँदिनथें ।

Monday, January 22, 2007

कविता : विदाई ।

मैले जानु छ चुपचाप
छाडेर तिम्रो परिवेशलाई
हजारौं ईच्छाको वावजुध
जहाँ डोर्याउंछ मलाई
मेरो भाग्यको रेखाले
मैले जानु छ चुपचाप ।

यो मेरो आफ्नै
विदाईको घडी हो
म आफैंलाई विदा गर्ने छु
चुपचाप सहेर आँशुहरु
तिमी अन्जान छौ
म चाहन्न
मेरो विदाईमा
तिमी पनि आँशुहरु झेल
भित्र भित्र दुख्ने गरी
पिंडाहरु समेट ।

मलाई लाग्दैन
एक अर्कालाई सम्झन हामीलाई
कुनै चिनोको जरुरत पर्ने छ
हामी त एक अर्कालाई
बिर्षिएर पनि सम्झने छौं
त्यसैले म जाँदैछु
त्यो दुरगामी यात्रामा
जहाँ पुगेर म
आफैंलाई हराएपनि
तिमीलाई साथै पाईरहनेछु ।

तिमी अनभिज्ञ छौ
तर मैले त जानु नै छ
किनकी
यो मेरो विदाईको घडी हो
भोली मलाई नपाएर
तिमी नरोइदेउ बिन्ती
म त गएर पनि
संधै तिमी संगै हुनेछु
अनि सधैं हुनेछौ
तिमी म संगै
त्यसैले आशा गर्छु
मेरो यो विदाईले
हाम्रो आत्मियतामा
कुनै पर्खाल उठाउने छैन ।

Sunday, January 21, 2007

गीत : म त लिन्न तिम्रो नाउँ ।

मुटु भरी लेखे जती तिम्रो नाउँ मेटिदिएं
तिम्रो यादमा बल्झिरने घाउ पनि रेटिदिएं
अब दुख्दैन यो घाउ म त लिन्न तिम्रो नाउँ
एकोहोरो मैले मात्र प्रेमको गीत कति गाउँ ।

तिमी हाँस्दा यो मायामा दिलै खोलेर
म त रोएं यै मायाले भित्र पोलेर
भै गो अब म त रुन्न झुठो प्रेममा अन्धो हुन्न
रहरको हात बढाई कहिले पनि तिम्लाई छुन्न ।

तिम्ले माया धेरै पायौ अरु अरुको
मैले माया हार्ने दाउ लगाएझैं भो
अब बाजी लाउंदिन भो मायाको गीत गाउंदिन भो
प्यास बोकि छाती भरी तिमी छेउ आउंदिन भो ।

Saturday, January 20, 2007

गीत र म ।

" मेरो सबै भन्दा नजिक के छ ? " यो प्रश्न यदि म आफैंले आफैंलाई गरेर आफैले जवाफ दिनु पर्यो भने म मेरो सबै भन्दा नजिक गीत छ भन्छु । गीत बिना म अधुरो त हुन्छु कि हुन्न त्यो त थाहा छैन तर गीत बिना म बस्न सक्दिनं यो साँचो हो । पाँच बर्षको हुंदा देखि म स्कूल जान थालेको मलाई राम्रो थाहा छ म स्कूल जानु भन्दा अगाडि देखि नै गीत गाउंथें । स्कूल जानुभन्दा अगाडी गाएको गीत मलाई अझै पनि याद छ ।

कस्की छोरि हौ तिमी चौतारीमा बसेकि
झण्डै मैले सिंदुर धसें कि.........?
संभवत मैले गीत भनेर गाउन जानेको र गाएको पहिलो गीत यहि नै हो ।

आजभोली पनि म गीत बिना बस्न सक्दिनं । सुनेर , गुन्गुनाएर (गाएर) अथवा लेखेर (नयाँ) म संधै गीत संगै हुन्छु अनि गीत म संगै ।

मैले सबैभन्दा धेरै पटक सुनेको गीती अल्बम रामकृष्ण ढकालको आशा हो त्यसपछि दीप श्रेष्ठको दृष्टी अनि त्यसपछि 1974 AD । सुन्नलाई म सबै प्रकारका गीतहरु सुन्छु राम्रो छ भने मनपराउंछु पनि तर गजलहरु सुन्न मलाई विशेष मन पर्छ । गजल गायकमा जगजित सिँह मलाई औधि मन पर्ने गायक हुन । नेपाली गायकहरुमा मलाई भक्तराज आचार्य सबैभन्दा मनपर्ने गायक हुन । भक्तराज केहि बर्ष यतादेखि गीत गाउन नसक्ने अवस्थामा छन । भक्तराज गीत गाउन नसक्ने भए भन्ने थाहा पाउंदा म रोएको थिएं । त्यो बेला म नेपालमै थिएं । भक्तराजको मैले धेरैपटक सुनेको गीत ' मलाई मेटन देउ मैले कोरेका रेखाहरु ' भन्ने हो । पुराना जमानाका गायकहरु फत्तेमान , बच्चु कैलाश , रुबि जोशी , योगेश बैद्य आदि मलाई मन पर्ने गायकहरु हुन भने स्व नारायण गोपाल , स्व अरुण थापा लगायतका अन्य गायकहरु पनि मलाई मन पर्छन सबैको नाम अहिले याद आउंदैन ।

पाँच छ कक्षातिर पढ्दा मलाई गीत लेख्न रहर लाग्थ्यो । त्यसबेला नयाँ गीत लेख्नको लागी रच्ने (कथ्ने) कोसिस गर्दा मेरो मनमा खाली त्यसबेला भएकै गीतहरु मात्र आउंथ्यो र मैले लेख्नको लागी त गीत बाँकी रहेनछ सबै अरुले लेखेर सकेछन जस्तो लाग्थ्यो । त्यसबेला म बाँसुरी बजाउन पनि रहर गर्थें , घरमा हलो जोत्न बसेको टने नामको सतारकेटाले मलाई हाम्रै खेतको मलबाँसको टुप्पोको बाँसुरी बनाईदिएको थियो । घरमा मलाई सतारको बाँसुरी बजाउनु हुदैन भन्थे तर म उसको बाँसुरी पनि बजाउने गर्थें किनकि उसको बाँसुरी मेरो भन्दा निक्कै राम्ररी बज्थ्यो । पछि म आफैंले पनि बिभिन्न साईजका निक्कै बाँसुरीहरु बनाएको थिएं । मैले जतिबेला पनि बाँसुरी बजाउने गरेकोले मलाई सबैले जादुवाल (चटके) भन्थे । बाँसुरीले मलाई कति सम्म प्रभाव पारेछ भने मैले पहिलो गीत पनि बाँसुरीलाई नै समेटेर लेखेको छु ।

बाँसुरीको धून संगै माया तिमी आईदेउन
बसन्तको सुर संगै पिरतीको गीत गाईदेउन ।
नौ दश बर्षको हुंदा लेखेको यो गीतमा मैले कुन मायालाई डाकेको थिएं त्यो भने मलाई थाहा भएन । यो गीतको अरु अंश म संग छैन पनि र मैले पछि लेखेको पनि छैन । त्यसपछि मैले लेखेका गीतहरु कति त हराए पनि होलान तर ४७ साल देखि लेखेका गीतहरु म संग प्राय छन । लेख्दै जाँदा मैले एक अञ्जुली माया भन्ने र मन हराए पछि भन्ने दुई गीति संग्रहहरु ( अप्रकाशित ) बनाएको छु । एक अञ्जुली मायामा मैले एकसय एघार वटा गीतहरु संग्रहित गरेको छु र त्यसभित्रकै दश वटा गीतहरुको एक अञ्जुली माया भन्ने गीति अल्बम पनि बनाएको छु । मन हराएपछि भन्ने संग्रहमा भने ८६ वटा गीतहरु संग्रहित छन । एक अञ्जुली मायालाई मैले नेपालमा हुंदै संग्रह बनाई सकेको थिएं भने मन हराए पछि भने अमेरिका आएपछि दुई बर्ष अगाडी तिर संग्रह बनाएको हुं । त्यसपछि लेखेका गीतहरु कति छ म संख्या गनेर भन्न त सक्दिनं तर अर्को यौटा संग्रह बनाउन पुग्ने भएका छन होला जस्तो लाग्छ ।

एक अञ्जुली माया गीतिअल्बम नेपालमा केहि समय अगाडीनै बिमोचन गरिसकेको भएपनि बजारमा ल्याउने जिम्मा लिएको धउलागिरि क्यासेट सेण्टरले अझै सम्म बजारमा लगिदिएको छैन । भर्खरै सुनेको छु अब छिट्टै बजारमा जांदैछ अरे । म आफु यता अमेरिकामा भएकोले पनि होला सायद नेपालमा मेडियाहरुमा राम्रो प्रचार प्रसार हुन पाएको छैन । उक्त गीतिअल्बमका संगीतकार टिका भण्डारी पनि अहिले अमेरिकामै हुनुभएकोले बिज्ञापनमा अझै कमी भएको छ । त्यसो त बजारमा तुरुन्तै लगेर २ महिना सम्म सबै मेडियाहरुमा बिज्ञापन पनि बजाउने समेत जिम्मा लिएको धउलागिरीले अलि हेलचेक्र्याँई नै गरेको हो भन्ने मलाई लागेको छ । नेपालमा काम गर्ने जिम्मेवारी लिएर पैसा लिईसकेपछि किन यस्तो गरिन्छ ? कतै यस्तो बिषयहरुमा गतिलो कानुनको अभावले हो कि ?

कैलेकाहिं त लाग्छ नेपालमा गएर म्युजिक कम्पनि पो खोल्नु पर्छ कि ? आँखिर काम लिएर नगरेपनि पैसा त कमाई हुने रहेछ ।

Friday, January 19, 2007

गजल : कुन मायाले मन भाँच्यो ।

कुन मायाले मन भाँच्यो कुन मायाले जोड्यो ।
कुन मायाले वचन् राख्यो कुन मायाले तोड्यो । १

माया यौटै हुन्छ भन्थें सँधै साथ दिन्छ भन्थें ,
कुन मायाले साथ दियो कुन मायाले छोड्यो । २

फैलिएको फाँट भै म उम्रने मनको खेत ,
कुन मायाले बाँझो राख्यो कुन मायाले गोड्यो । ३

मुटु कैले पग्लिदिन्छ कैले हिउँ भई जम्छ ,
कुन मायाले जतन् गर्यो कुन मायाले फोड्यो । ४

हिंड्दैछु म अर्कै बाटो पुग्नु पर्ने अन्तै थियो ,
कुन मायाले बाटो लायो कुन मायाले मोड्यो । ५

Thursday, January 18, 2007

गीत : मनै लगी निष्ठुरीले ।

मन राखेर माया दिएं आफ्नै मुटु खाली पारी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।


टाढा हुंदा आफ्नै मन मुटु थाम्दै बसिरहें
त्यै मनको पहिरोमा तल तल खसिरहें
मुटु चुंडी बैगुनीले रगतको आहाल पारी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।



जाउँ कहाँ कता तिर हराएको मन खोज्न
मन बिना नसकिने रैछ हजुर माया रोज्न
झुठो रैछ त्यसको माया देखाईरन्थी घरी घरी
मनै लगी निष्ठुरीले यसपाली त जालै गरी ।

Wednesday, January 17, 2007

कविता : अस्तित्व ।

टुक्रा टुक्रा जोडिएर
यौटा अस्तित्व
तिम्रो सामु खडा छु आज
घरी चुहिएर थोपा थोपा
तरल बनेर बग्दै
घरी प्रचण्ड रापले
सुक्दै हावा संग
अर्को अस्तित्व
सर्वत्र ब्याप्त छु आज
अस्तित्व गन्नेहरु
मान्छेको
मेटिएर मैलो चित्र झैं
सही अस्तित्वलाई
कहिल्यै
ठम्याएका छौ कि ?

Tuesday, January 16, 2007

गीत : माफी मलाई चाहिएन ।

बिना गल्ती माग्दा पनि माफी किन पाईएन
भै गो अब माग्दिन भो माफी मलाई चाहिएन ।

आफैं दोष देखाएर फेरी आफैं रिसाउनुभो
भनिदिनोस मैले चाहिँ यो मन कहाँ बिसाउनु हो
जानी जनी कैले नि हौ झूठो कसम खाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।

आफु किनारामा बसी खोलामा मलाई बगाउनुभो
निर्दोश थिएं तर यो कस्तो अभियोग लगाउनुभो
असत्यलाई रचि कहिल्यै झूठो गीत गाईएन
बिना गल्ती माग्दा पनि माफी किन पाईएन ।

Monday, January 15, 2007

कविता : शुभकामना !!!

बनोस नेपाल नयाँ भएर समुन्नत सदा अगाडी बढोस
हरेक नेपाली पाईलाहरु एकैसाथ शिखर तिर चढोस ।
खनेर धमिरे खाडल देश डुबाउने कुबुद्धि सारा सडोस
जो जो छन देशलाई छिर्के हान्ने दाउमा अल्झेर आफैं लडोस ।।
एक एक नेपालीको मुटुले एकैसाथ शान्तीको मंत्र पढोस
हुंदैन है आपसी कलहले उन्नती नेपालीमनमा गढोस ।।। १

भेट हुंदा नेपाली भाई भाई चोकमा एउटै खुशीमा हाँसुन
हातेमालो गरिगरि हिंड्दै आफ्नो आफ्नो मनको धमिलो नासुन ।
नारीपुरुष ठुलो र सानो भुलेर माला समानताको गाँसुन
बराबरी आपसमा मानेर उँचनिचको असत् खेती मासुन ।। २

सबै बन्द ढोकाहरु विकाशका गजबार निकासका खुलोस
शुख शान्ती संमृद्दीका आँकुरा नेपाली घर आँगनमा झुलोस ।
बुद्धको संदेश बोकेर आत्मा सहिदको वस्ती वस्तीमा डुलोस
रक्तपात हिंसा काटमार झै झगडा नेपाली दिलले भुलोस ।।
हिंसा प्रतिहिंसाको खेल रगत प्युँने यहि घडीबाट सुलोस
शुभकामना हामी नेपालीलाई नेपाल गुराँस जस्तै फूलोस ।।। ३

तेरो अनि मेरोको भावना मेटिएर नेपाल अब हाम्रो होस
मेचिकाली सम्मै नेपाली मच्चिने सारा नेपाल अब काम्रो होस ।
फुटाई फाईदा लुट्ने बाहिरी जगत्मा नेपाल अब चाम्रो होस
जे जे भयो त्यो भयो सकियो आजसम्म नेपाल अब राम्रो होस ।। ४

नेपालीपोष्ट डट कममा प्रकाशित ।

Saturday, January 13, 2007

गीत : हिंड्यौ तिमी तर्की तर्की ।

मुल सडकमा भेट हुंदा हिंड्यौ तिमी तर्की तर्की
मैले मात्रै हेरिरहें तिमीलाई फर्की फर्की
असारे त्यो झरी जस्तै रुन्छ मन दर्की दर्की
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।

दुई वचन बोल्दा पनि बोल्छ्यौ तिमी झर्की झर्की
तिम्रो रुखो वचनले पोल्छ मुटु चर्की चर्की
एकै नजर हेर्दा पनि हेर्छ्यौ तिमी सर्की सर्की
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।


तिमी हिंड्यौ अर्कै संग लस्सिएर मर्की मर्की
मैले मुर्छा खाँदा ब्युँझाई दिए पानी छर्की छर्की
बसेकै छु म त अझै तिमीलाई नै पर्खी पर्खी
किन हिंड्यौ मुल सडकमा भेट हुंदा तर्की तर्की ।

Thursday, January 11, 2007

गीत : बसन्तको हरियाली ।

बसन्तको हरियाली
फूलै फूलको डाली डाली
मनै भरी खुशियाली
पाएं हजुर यसैपाली ।

रातै भरी जुनेलीमा
जून संगै नुहाएकी
चन्द्रमुखी मुहारैमा
टिका रातो सुहाएकी
बसिदियौ मेरो मनमा
उमंगको दियो बाली ।

थुँगा थुँगा टिपी फूलको
सुन्दर माला गाँसे जस्तै
फूलकै जोवन पैंचो लिई
फूल संगै हाँसे जस्तै
तिमी फूल भयौ म त
भई दिन्छु फूलको माली ।

Wednesday, January 10, 2007

मैले ब्लग किन शुरु गरें?

'मैले ब्लग किन शुरु गरें?'

'रहरले सायद । स्पस्ट रुपमा म संग जवाफ छैन ।'
वास्तबमै मैले अरुको ब्लग देखेरै ब्लग लेख्न शुरु गरेको हुं तर अब आएर आफ्नो ब्लग लेखाईलाई अरुको नक्कल हो भन्दा आफैंप्रती अन्याय गरेको हुनेछ त्यो किनभने ब्लग लेखाईले मेरो दैनिकीमै ठुलो प्रभाब पारिसकेको छ । ब्लगर हुनु अब मेरो लागी रहर मात्रै नरहेर एक प्रकारले आवश्यकता बनिसकेको छ ।

आजभोली म अरुहरुको ब्लग भित्र निक्कै छिर्ने गर्छु तर पनि ब्लग के हो ? किन लेखिन्छ ? जस्ता प्रश्नहरुको सहि जवाफ म संग छैन । ब्लग के हो भन्ने बारेमा ब्लगलाई परिभाषित गर्नेहरुले एकातिर परिभाषित गरिरहेको र ब्लगलाई प्रयोग गर्नेहरुले अर्कोतिर प्रयोग गरिरहेको जस्तो पनि लाग्छ मलाई , म आफैंले पनि ब्लगलाई त्यसरी नै प्रयोग गरिरहेको छु हुनत कतिपय कुराहरुको प्रयोग विज्ञानको प्रयोग जस्तो यौटै सुत्रबाट गर्नु पर्छ भन्ने हुन्न । ब्लग पनि परिभाषित गरिए अनुशार नै प्रयोग हुनुपर्छ भन्ने के छ र ? प्रयोग भए अनुशार भोली यसको परिभाषा निस्कन पनि सक्छ - प्रयोजनमा आए अनुशारका अनेकौं परिभाषाहरु माझ ।

एकल पत्रकारिता लाई अंगालेर हिंडेको उमेश श्रेष्ठले चलाउनु भएको नेपाली भाषाकै पहिलो मेरो संसार ब्लग मैले धेरै छिर्ने ब्लग हो । मेरो संसार भित्र म केहि त्यस्तै परि न आए २४ घण्टामा म ३ पटक छिर्ने गर्छु - पहिलो पटक बिहान ८ बजे देखि ९.३० सम्म , दोश्रो पटक दिउंसो ३ बजे देखि ४.३० सम्म र तेस्रो पटक राती १० बजे देखि प्रायगरी २.३० सम्म । यो समय मेरो इन्टरनेटमा पस्ने समय हो र यो पुरै समय म मेरो संसार भित्र मात्रै बस्छु भन्ने पनि हैन तर यि समयावधिमा म प्रत्येक पटक मेरो संसार भित्र पसेको हुन्छु र एक पटक पस्दा कति लामो समय सम्म म त्यहाँ बस्छु भन्ने चांही त्याहाँ भएका खुराकमा भर पर्छ । जे होस प्रसिद्दिको शिखरमा भएको मेरो संसार मेरो पनि प्रथमप्यारो ब्लग हो ।

त्यसपछि मैले नियमित घुम्ने गरेका ब्लगहरु संकल्प पोख्रेलको हाम्रो देश , चहल सयपत्रीको सयपत्री , अनामिकाको से ना समथिङ्ग आदि हुन - त्यसो त फुर्सद पाए सम्म अन्य अनेकौं ब्लगहरुमा पनि म पस्ने गर्छु ।

आज सम्म मैले प्रवेश गरेका ब्लगहरु मध्येमा समाचार मुलक ब्लगहरुलाई छाडेर भन्नु पर्दा मलाई से ना समथिङ्ग राम्रो लाग्यो । त्यहाँ भित्रका खुराकहरुमा कति दम छ भन्ने भन्दा पनि ब्लग लेखाईको दृष्टीमा राम्रो छ से ना समथिङ्ग । पहिलो चोटी (केही हफ्ता अगाडी) से ना समथिङ्ग ब्लग हेर्दा मलाई आफ्नो ब्लग त ब्लग नै हैन कि जस्तो पनि लाग्यो तर ब्लग भनेको यदी आफ्नो भावनाहरु पोख्ने(साटासाट गर्ने) र त्यसको प्रतिकृया पनि पाउन सकिने ईन्टरनेट डायरी हो भने म मेरो डायरीमा आफुले चाहेको कुरा चाहे अनुशार लेख्न सक्छु । मैले आफ्नो ब्लगमा धेरै जसो आफ्ना रचनाहरु राख्ने गरेकोले मलाई त्यस्तो भएको हो । त्यसो त ब्लगमा चहल सयपत्री जी ले नेपाली भाषाकै पहिलो साहित्यिक ब्लग भनेर साहित्यिक रचनाहरुनै मात्रै राख्ने गर्नु भएको छ र कतिपय ब्लगलाई नेपाली भाषा र साहित्य प्रति समर्पित भनेर पनि भनिने गरिएको छ । मैले भने धेरै जस्तो आफ्नै मात्रै रचनाहरु राख्ने गरेकोले न साहित्यिक ब्लग भन्न सक्छु न साहित्य प्रति समर्पित नै ।

नामाकरण गर्दा मैले पनि मेरो ब्लगलाई मेरो साहित्य संसार र विविध भनेर गरेको छु र त्यसै अनुरुप रचनाका अलावा अन्य कुराहरु पनि कहिलेकाहिं राख्ने गर्छु । भन्नुनै पर्दा मेरो ब्लग आफ्नै फुटकर रचनाहरु संग्रह गर्ने गतिलो र सजिलो संग्रहथलो भएको छ । शुरु गर्दा यस्को उद्देश्य जे जस्तो भएपनि अब भने आफ्ना फुटकर रचनाहरुलाई छरिन वा हराउन नदिने नै यसको उद्देश्य भएको छ ।

Monday, January 08, 2007

गीत : आज चोखो माया मर्यो ।

बिषालु यो दुनियांमा बिषै किन पिउनु पर्यो
नपिएकै बिष लागेर आज चोखो माया मर्यो ।


दोष देखाई बिना कसुर मलाई औंला उठायौ
हुंदै नभएका अनेक दषि प्रमाण जुटायौ
तामा तुल्सी छोए पनि खै त कहाँ काम गर्यो
नपिएकै बिष लागेर आज चोखो माया मर्यो ।


बेवारिसै छोडे हुन्थ्यो मन बाहिरै पाखामा
सहन नै नसक्नेले ब्यर्थै राख्यौ आँखामा
स्वाँग रचेर राख्ने हुंदा आँशु संगै आजै झर्यो
नपिएकै बिष लागेर आज चोखो माया मर्यो ।

Saturday, January 06, 2007

गजल : ज्ञानी बुद्ध हुन्छ ।

जलाई आफ्नै वस्ती उता जनयुद्ध हुन्छ ।
बिनाश गरी वंश यता ज्ञानी बुद्ध हुन्छ । १

कहाँ कस्को विश्वास अब हामी कता जाने ,
पिल्सिएर बिचमा मन सार्है क्रुद्ध हुन्छ । २

जस्को कुरा सुन्यो उ नै ठिक छ जस्तो लाग्ने ,
कृत्य सब गलत् मात्र विचार शुद्ध हुन्छ । ३

जिउने चाह मात्र त छ खुला हावा छैन ,
निमोठिएर घाँटी सासै अवरुद्ध हुन्छ । ४

फरक् सोच बोकि परिवर्तन खोजे पनि ,
हिंड्नै पर्ने सडक उहि नामै जुद्ध हुन्छ । ५

नेपालमा राजदरबार हत्याकाण्ड रचाएर ज्ञानेन्द्र राजा भएको केहि महिना पछि मैले लेखेको यो गजल प्रकाशित हुन्छ कि भनेर मैले दुई चार पत्रीकामा दिईहेरेको थिएं तर कतै पनि प्रकाशित भएन । यस्ता किसिममा रचनाहरु लेख्दा कुनै समय विषेशलाई ईङ्गीत गरेर लेखिएको हुन्छ र त्यस्तो समयले कोल्टो फेर्न बित्तिकै यस्ता प्रकारका रचनाहरु लगभग अर्थहीन हुन पुग्छन । जे जस्तो भएपनि आफुले लेखेको कुरा आफुलाई माया लग्दो रहेछ त्यसैले आज खोजेर यो गजललाई यहाँ राखेको छु ।

Friday, January 05, 2007

गीत : नदुखाउ दिल चित्त सानो कुरैले ।

संसार राम्रो देखिन्छ है आफु राम्रो बन
भेटिंदैन कालो मैलो सफा राखे मन
नरेट्नु है मुटु बरै वचनको छुराले
नदुखाउ दिल चित्त सानो कुरैले ।


बांचुञ्जेल सम्म बरै तेरो मेरो भनेपनि
आफु बाहेक अरुलाई मान्छे नै नगनेपनि
जानेबेला सबले बरै एउटै बाटो जानुपर्छ
मुठ्ठी जति कसे पनि हात खाली लानुपर्छ ।


घमण्डको लिस्नु लगाई धर्ती आकाश जोडेपनि
आफु आकाशमा बसी सबलाई भुईँमा छोडेपनि
त्यो भन्दा त धेरै हुन्छ दुईचार मिठो बोली बोले
रित्तिदैन मन बरै त्यसलाई सबै सामु खोले ।

Thursday, January 04, 2007

कविता : जिवन यात्राको सम्झनामा सम्झनाको यात्रा संग ।

कागजका प्रत्येक पृष्ठहरुमा
तिमीले उनेर छाडेका
तिम्रो हृदयका एक एक भावनाहरुमा
कहिं पनि मैले
नि: सार जिवन पाउन सकिंन
अक्षर अक्षर भएर
क्रमश: शब्द , हरफ , वाक्य र
अध्याय अध्याय बनेर
छरिएको तिम्रो मुटु हेर्दा
जताततै मैले
जिवन र जगत प्रति
शुक्ष्म अवलोकित
आशावादी दृष्टीकोण पाएको छु ।
तिम्रो विचारको हाराहारीमा
कहिल्यै कतै
नैराश्यता , उदाशिनता र
निराशावादको उपस्थिती थिएन ।
केवल तिमी थियौ
मेरो जिवनको
जति जे हुनु
तिम्रो माया
सफलताको शिखर आरोहित
मेरो एक एक पाईलामा
खुड्कीलो बनेर उपस्थित थियो
मेरो प्रेरणा
मेरो गौरव
तिमी थियौ
तिम्रो माया थियो
तर आज
म पुन: फर्किएको छु
त्यही जिवनको भोगाईमा
जहाँ सदैब म
अर्थहिन एक्लो जिवनमा
हरेक असफलतासंग
हात मिलाउदै
सुर्य अस्ताई सकेको
अँध्यारो परिवेशमा
बाँचेको हुन्थें ।
मैले छुट्याउन नसकेर
अन्योलित छु कि ;
कहाँनेर तिम्रो जिवनको
हरेक आशाहरुमा
कुठाराघात भयो ?
भ्रमित छु कि ;
" एक एक भूललाई
सदैब स्विकारेर
अर्को सत्यले सच्याउंदै
उज्यालोमा पाईला टेक्नु पर्छ । "
यति महान
आफ्नै सद्धविचारलाई
कुन भूलले छोपेर
बाटो बिरायौ तिमीले ?
मलाई थाहा छैन
एक्लै पार गर्नुपर्ने
जिवनको अनन्त मोडहरुमा
तिम्रो सम्झनाको सहारा लिएर
म कहाँ सम्म यात्रा गर्न सक्छु
त्यसैले म आज
आफ्नै जीवन यात्राको सम्झनामा
सम्झनाको यात्रा संग
विवश छु सम्झौता गर्न ।

१५ पौष २०५७

Wednesday, January 03, 2007

कथा : नयाँ घर ।

जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई कोठा भाडामा लिएर सारा संसारै त्यसैलाई सम्झनु परेको छ । पहिले छोरो सानै हुंदा यौटा कोठा सुत्न बस्नको लागी प्रयोगमा आउंथ्यो र अर्को भान्सा तथा राखनधरन को लागी । अब छोरो हुर्कंदै गएपछि त्यो पनि रहेन । छोरोलाई यौटा सिंगै कोठा चाहियो भने यता दिल बहादुर र उसकी श्रीमतीलाई भने भान्सामै सुत्ने बस्ने गर्नुपर्ने भयो ।

दिल बहादुरको पसलको आम्दानी पनि भन्नु मात्रै छ । राम्रो होस पनि कसरी त्यती चहलपहल नै नहुने गल्ली भित्र सानो कोच्याक्रो परेको पसल छ । धन्न यौटा छोराको स्कूल खर्च धानेर तिनजनालाई रुखो सुखो ख्वाएको छ ।

त्यसो त गर्नेले यस्तै सानो पसल गरेर पनि कमाएका छन । घर जग्गा जोडेका छन । कतीले गाडीनै चढेका छन तर दिल बहादुरको त खै पुर्पुरोमै छैन क्यार । हुनत तराईतिर दिल बहादुरको तिन चार बिगाहा जमिन पनि छ तर जग्गा जमिन भएर मात्र पनि भएन त्यसको भोग चलन गर्न पनि पाउनु पर्यो । आफैंले खनजोत नगरे पनि त्यती थोरै जग्गा हुनेले कसैलाई अधिया ठेक्कामा दिएर त्यसको आम्दानी सम्म खान पाउने भए पनि दिल बहादुरलाई निक्कै हुनेथियो तर पञ्चायतीकालमा गाउँ पञ्चायतको उप प्रधान भएको दिल बहादुरलाई आज आएर त्यतीबेला उप प्रधान हुनुकै अभिषापले घरबार छोडेर काठमाण्डौ भाग्नु पर्यो । तराईको उस्को भएजती जग्गा अहिले सबै माओवादी जनसरकारको कब्जामा छ । दुई पटक सम्म आफ्नो धेरै सम्पती नभएको र आफुले उप प्रधान भएको बेला पनि शोषण गरेर वा भ्रष्टाचार गरेर कुनै सम्पती नजोडेको सफाई दिन पनि पुगेकै हो दिल बहादुर तर जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस त्यसैले तेस्रो पटक पनि यो जग्गामा हकदाबी गर्न आईस भने तेरो घाँटी छिनाईदिन्छौं । तैंले शोषण गरेको थिईनस र नै आजसम्म तेरो ज्यानमा तलवितल भएको छैन भन्ने धम्की पुर्ण जवाफ दिए । त्यसपछि दिल बहादुर फर्केर गाँउ गएको छैन । तिन चार बिगाहा जग्गाको पछि लागेर ज्यानै फाल्न पनि कहाँ सक्थ्यो र दिल बहादुर बरु गाउँको जग्गा माया मारेर काठमाण्डौमा नयाँ जोडजाम गर्न लागीपरेको छ ।

काठमाण्डौ आउंदा पाँच वर्षको छोरा र श्रीमतीको साथमा आएको दिल बहादुरले गाउँको घर बेचेको पैसाले सानो पसल शुरु गरेको थियो । अहिले आएर छोरा हुर्केर प्लस टु पढ्ने भै सक्यो तर पसल भने हुर्काउन बढाउन सकेको छैन ।

पढाईमा होनहार छ दिल बहादुरको छोरा - नविन । सरकारी स्कूलमा पढाउंदा चिनेजानेका जती सबैले छोराको भविश्य किन बर्बाद गर्छस ए दिल बहादुर ? भोली तेरो छोरो ठुलो मान्छे हुन्छ राम्रो स्कूलमा हालिदे भने । हुनपनि हो उस्को सम्पती भन्नु नै त्यै यौटा छोरा त हो । आफुले त केहि नै गर्न सकेन जीवनमा भोली त्यही छोराले केहि गर्यो भने बुढेशकालमा सुखको दिन देख्न पाउंछ उस्ले त्यसैले आफ्नो र श्रीमतीको खाने लाउने ईत्यादी खर्च कटाएर भएपनि छोरालाई राम्रो स्कूलमा हालेको छ ।

ठुलो हुँदै गएपछि छोराले घरको समस्या बुझ्ला भन्ने लागेको थियो दिल बहादुरलाई तर परिणाम उल्टो देखा पर्दै गयो । राम्रो स्कूलमा हाल्नुकै परिणाम - हुनेखानेका छोराछोरीसंगको संगतले होला दिलबहादुरलाई छोराले दिनहुं कचकच गर्न थाल्यो , " साथीभाई छन । उनेरकोमा नि गईन्छ , कैलेकाहिं उनेरलाई पनि ल्याउनु पर्छ । खै आफ्नो त घर पनि सुँगुरको खोर जस्तो छ । यत्रो भै सक्यो काठमाण्डौमा बसेको यौटा घर पनि बनाउन नसक्नेले किन छोरा जन्माउनु ? " छोराको दिनदिनैको यस्तै गन्थनले दिल बहादुर रुन सम्म सक्दैनथ्यो ।

धन्य मलाई बा आमाले दुखजिलो गरेर राम्रो स्कूलमा पढाईरहेकाछन । मैले भोली बा आमालाई सुख दिनु पर्छ भन्नुपर्ने छोराले संधै कचकच गर्न थालेपछि दिल बहादुर कि श्रीमतीले माईती तिर गएर रोईकराई , हारगुहार गरेर उस्को पसल भएकै गल्लीको भित्रपट्टी बाटो न घाटोको चार आना घडेरी किनेकी थिईन ।

माईतीको ठुलो मन हुने हो भने अथवा छोराछोरी दुबैले बाबुआमाको सम्पती बराबर अँशभाग पाउने हो भने दिल बहादुर कि श्रीमतीले पनि काठमाण्डौमा भने जस्तो ठाउँमा भनेजस्तो घर बनाउन सक्ने थिईन तर छोरी परिन उनि छोरी पनि अर्काको घर गै सकेकि त्यसैले माईतीले त्यती चार आना घडेरी किन्न सघाउंदा पनि पछि शान्ती भएर गाउँको जग्गा फिर्ता भएपछि ब्याज सहित तिर्ने शर्तमा मात्र सघाए ।

जसरीतसरी होस छोराकै निंती घर बनाउनको लागी दिल बहादुर कि श्रीमतीले घडेरी जोडेरै छाडिन अनि दिल बहादुरले पनि रिनपान , सरसापट गरेर दुई ट्रक जती ईंटा उसकै घडेरीबाट नजिक पर्ने गरी अर्काको खाली जग्गामा राखेको सम्म पैसा तिरेर राखेको छ । जसरी होस तिन महिना भित्रमा नक्सा कोराएर जग खन्ने योजनामा छ दिल बहादुर तर समयले नै साथ दिदैन उसलाई । महिनामा एकदुई पटक हुने बन्द हड्तालले त उस्को योजनालाई ठुलो असर पुर्याउथ्यो अब त झन दिनहुँ जसो बन्द हुन थालेको छ


आजभोली लाखौं लाख मानिसहरु सडकमा निस्किएर जिन्दावाद मुर्दावादको नारा लागाउछन । राजतन्त्रको जरै उखेलेर फाल्न अनि गणतन्त्र स्थापना गर्न मान्छेहरु हत्केलामा ज्यान राखेर नारा जुलुसमा सहभागी हुन्छन ।

त्यसै त चैत्रको तातो घाम काठमाण्डौको साँघुरा सडकहरु घामले तातेर आगो बल्ला झैं भै रहेको त्यसमाथी सडकभरी ,चोकचोकमा जताततै टायरको थुप्रो भेला गरेर दनदनी आगो बाल्दा र त्यसको कालो मुस्लो धुँवाले उपत्यका ढाक्दा सारा काठमाण्डौ उपत्यका नै आर्यघाट झैं प्रतित हुन्थ्यो । छिनमै सलह झैं लाखौं नरनारीहरु उपत्यका नै थर्काउंदै नारा जुलुसका साथ सडक भरी निस्कन्थे मानौं कि काठमाण्डौमा अर्को यौटा सुनामी आईरहेछ । छिनमै आर्मी र प्रहरीले निहत्था जनताको जुलुसमाथी अन्धाधुन्ध लाठीचार्ज गरेर अनि गोली बर्षा गरेर घाईतेहरु र मृतहरु मात्र सडकमा रहँदा फेरी लाग्थ्यो कि तहसनहस गरेर सुनामी भर्खरै गएको छ ।

प्रशासनको दमन देखेर दिल बहादुरको पनि रगत उम्लिन्छ । उस्लाई पनि जुलुसमा सहभागी हुने इच्छा जागेर आउछ तर फेरी गाउँमा जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस भनेको सम्झना आउंछ र चाहेर पनि उ जुलुसहरुमा सहभागी हुन सक्दैन ।

दिल बहादुर मनमनै आफैंलाई धिक्कारेर थुक्छ । उहिले पञ्चायतकालमा उप प्रधान भएकोमा उस्लाई आफैं देखि घृणा लागेर आउंछ । आज उ आफुलाई घर न घाटको ठान्छ । गणतन्त्रवादीहरुको कित्तामा छु भन्नलाई पनि उसलाई तिनिहरुले नै पञ्चे भन्ने गर्छन । पञ्चेहरुकै कित्तामा हुनलाई पनि आज कतै कसैसंग न उसको सम्बन्ध छ न त सरकारको कुनै रवैया नै उसलाई मन पर्छ ।

घरीघरी उस्लाई आफु यो देशको नागरिक त हुँ भन्ने कुरामै शँका लाग्छ ।

आन्दोलन चरम उत्कर्षमा पुगेको बेला एकदिन दिल बहादुरले घर बनाउन थुपारेको ईँटा केहि नौ जवानहरुले ओसार्दै गरेको देख्यो । उस्लाई ति नौ जवानहरुले ईंटाहरु कुन प्रयोजनको लागी ओसारीरहेछन भन्ने बुझ्न बेरै लाग्दैन । एकमनले दिल बहादुर खुशी हुन्छ । कम से कम मैले खरिद गरेको ईंटाले आर्मी र प्रहरीको प्रतिकार गर्न जनताको काम त गर्यो भन्ने लाग्यो उसलाई फेरी तुरुन्तै यौटा घर पनि बनाउन नसक्ने ले किन छोरा जन्माउनु भन्दै गरेको छोराको अनुहार आँखामा आयो र नौ जवानहरुलाई सम्झाएर म गरिबको ईंटा नष्ट नगरिदिनुहोस बाबु हो भन्नलाई त्यतै तिर लम्कियो ।

जसै दिल बहादुर ईंटा ओसार्दै गरेका नौ जवानहरुको नजिक पुग्छ । भिंडबाट यौटा परिचित आवाजले उस्लाई हकारेझैं लाग्छ । एकछिन सम्म उस्ले कता कस्ले कस्लाई के भन्यो पत्तो पाउंदैन । अरुलाई भनेको हो कि आफुलाईनै भनेको हो ठम्याउन नपाउंदै त्यहि भिंडबाट दुबै हातमा ईंटाको टुक्रा बोकेर उस्को छोरो उ भएतिर निस्कियो र झपारेको स्वरमा भन्यो , " हैन तपाईं बुढो मान्छे यहाँ किन आउनु भ'को ? खुरुक्कन घर गएर बस्नु । यहाँ तपाईंको काम छैन । "

दिल बहादुरको गोडा जहाँको तहिँ अडिन्छन । एकै निमेशमा उस्को मनभरी यति कुराहरु खेल्न थाल्छन कि उ अवाक हुन्छ । जुन छोराको लागी घर बनाउन भनेर अनेक तरहले उस्ले केहि ईंटा जुगाड गरेको थियो आज त्यहि छोराले नै त्यो ईंटाहरुको सर्बनास गरिरहेको छ ।

" हैन घर जानु भने पछि जानु नि खुरुक्क । किन यहाँ उभिईराखेको ? " छोराको गर्जनाले झस्किन्छ उ । सम्हालिने कोसिस गर्दै दिल बहादुर छोरालाई भन्छ , " अनि बाबु यो ईंटा ......? घर.....? त्यत्रो पैसा........? " दिल बहादुरलाई छोरालाई के भनें थाहा हुदैन । जती सम्हालिएर बोल्न खोजेता पनि स्पस्ट संग केहि भन्न सक्दैन उ तर छोराले बुझ्छ दिल बहादुरले भन्न खोजेको कुरा , " यत्रो देशमा घर नहुने हामी यौटा परिवार मात्रै हौं र ? जब यो देश नै लाखौंलाख गरिबको लागी घरजस्तो छैन भने तपाईंले तिन कोठाको घर बनाए पनि नबनाए पनि के फरक पर्छ र ? अब चाहिंदैन मलाई घर सर । यो देश नै मेरो घर हो यसैलाई नयाँ बनाउन पाए पुग्छ मलाई । " दिल बहादुरले आफ्नो छोरालाई यस्तो रुपमा देख्छु भनेर कल्पना सम्म गरेको थिएन । उसले सानो सम्झेको छोरो कतिखेर कतिखेर ठुलो भएछ थाहै थिएन उस्लाई ।

" ए ! भाग भाग , आयो आयो । " , " ठोक ठोक त्यसलाई ठोक । " एक्कासी भिंडमा खैलाबैला र भागाभाग मचियो । दिल बहादुरले हेर्दाहेर्दै उस्को छोराको छाती भ्वाङ्ग पर्यो र रगतको भल बग्न थाल्यो । भुईंमा ढल्दै गरेको छोरालाई समाउन अघि बढ्दै गर्दा दिल बहादुरको आँखाभरी अँध्यारो छायो ।
होस खुल्दा दिल बहादुरलाई निधारमा तारा भएको रातो रुमाल बाँधेका केहि अपरिचित अनुहारहरुले पानी छर्कंदै थिए । भुईंभरी छताछुल्ल पोखिएर लगभग कट्कटीएको उस्को छोराको रगत माथी उ थियो । वरपर झण्डै दुई दर्जन रँगी बिरँगी चप्पलहरु छरपस्ट थिए । उस्को छोराको मुर्दा शरिरलाई ठुलो तारा भएको रातो झण्डा ओढाईएको थियो । छेवैमा तारावाल रातो रुमालधारी यौटा अपरिचित मोवाईलमा कसै संग दोहोरो सम्बाद बोल्दै थियो । अर्को पट्टीको आवाज अस्पस्ट भएपनि उस्ले भन्दैथियो -

" कामरेड नविनले शहादत प्राप्त गर्नुभयो ।"

"..................................."

"कामरेड नविनका पिता "

"............................"

" हजुर । कामरेड दिल बहादुर । "

"......................................."

" खुल्यो खुल्यो । होस खुल्यो । "

"................................................"

"हवस कामरेड । हामी सहादत प्राप्त कामरेड नविनको पार्थिव शरिरलाई झण्डा ओढाएर नगर परिक्रमा गराउनेछौं । "

".........................................................."

" लाल सलाम कामरेड !!"

हाम्रो देश डट कममा प्रकाशित ।

Monday, January 01, 2007

नयाँ वर्ष २००७ को शुभकामना ।

मेरो ब्याक्तीगत ब्लग ' मेरो साहित्य संसार र विविध ' मार्फत म दीपक जडितको तर्फबाट यहाँहरु सबैलाई नयाँ वर्ष सन २००७ को मंगलमय शुभ-कामना ।


साथमा नयाँ वर्षको उपहार स्वरुप एउटा गजल --------
------------------
------------------
आजको दिन त कम्तीमा नयाँ वर्षको कुरा गर ।
मनका सारा पिंडा दुख भुलेर हर्षको कुरा गर । १

भोली त टेक्नु छ सफलताको शिखर तिमीले पनि ,
त्यसैले भन्छु , भोली गर्नुपर्ने संघर्षको कुरा गर । २

मोजमस्ती र मनोरन्जन मात्रै जिन्दगी हैन बुझ ,
गंभिर भएर जीवन के हो ? विमर्षको कुरा गर । ३

कति पायौ अनि कति गुमायौ जिन्दगीमा आजसम्म ,
दुख सुख हार जीत सबैमा उत्कर्षको कुरा गर । ४

नयाँ दिन देखि नयाँ कुराको शुरुवात गर्नलाई ,
आलटाल हैन ठोष रुपमा निश्कर्षको कुरा गर । ५