Showing posts with label आफ्नो कुरा ।. Show all posts
Showing posts with label आफ्नो कुरा ।. Show all posts

Tuesday, April 24, 2007

फुर्सद र म ।

फुर्सद छ आजभोली , अझै १५/२० दिनको लागी । फुर्सद पाए यो गर्छु र त्यो गर्छु भन्थें । लेख्दालेख्दै अधुरा रहेका केहि कुराहरु पुरा गर्ने दाउमा पनि थिएं फुर्सद पाउंदा तर फुर्सद पाएपछि म फुर्सद मै ब्यस्त भएं । यत्रो फुर्सदमा अलिकति फुर्सद निकालेर फेरी लेख्ने क्रम शुरुगर्न सकेको छैन । आफ्नै संतुष्टीको लागी MANJUSMRITI लेख्दैथिएं , खण्डकाब्यको रुपदिने सोचाई छ तर लेखेको छैन । अरु पनि केहि त्यस्तै कुराहरु छन जो पुन लेख्न थाल्नु पर्ने हो तर लेख्न थालेको छैन ।

केहि दिन अगाडी घुम्ने क्रममा कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न गएको थिएं त्याँहा खिचेको फोटोहरु आज राख्न खोजेको फोटो नै अपलोड भएन । मेरो ईन्टरनेट पनि ढिलो हुंदै गैरहेछ । Verizon को Wireless Internet चलाउंछु म । त्यस्लाई प्रतिमहिना $ 59.99 तिर्छु । पहिले मसंग T Mobile को Cell Phone हुंदा Internet लाई प्रतिमहिना $ 79.99 तिर्ने गर्थें तर अहिले Cell Phone पनि Verizon कै लिएको छु त्यसैले Internet लाई कम परेको छ । कैलेकाहिं Internet ढिलो भैदिंदा दिक्क लाग्छ । मेरो कम्प्युटर पनि ईन्टरनेट ढिलो हुनुको कारण हुनसक्छ । कम्प्युटरमा पोख्त नहुदाँ अनेकौं स साना समस्याले पनि सताउने गर्छ । अहिले मैले चलाईरहेको कम्प्युटर Sony को Vaio (LapTop) हो । यो भन्दा अगाडी म hp को LapTop चलाउंथें । $1500 मा यो ल्यापटप किनेको १५ महिना पनि भएको छैन । फेर्ने बेला हुन लागे जस्तो छ । यसैलाई बनाउन सके त हुन्थ्यो तर आफुले नजाने पछि बनाउने खर्च र नयाँ किन्ने खर्च उस्तै उस्तै हुन आउने रहेछ तर यो ल्यापटपलाई मैले अत्याधिक प्रयोग गरेको छु । हेर्दै पुरानो देखिन लागेको छ अब फेर्नु पर्दा पनि गुनासो हुंदैन । पैसा परे अनुशारको उपभोग गरेको छु ।

अस्तीको दिनहोला http://bloggers.com.np/ मा मैले मेरो यो ब्लग पनि समावेश गरें र त्यसदिन देखि त्याँहा भएका अन्य ब्लगहरु हेर्दा हेर्दै पनि समय बित्ने गरेको छ । त्यहाँ जम्मा २४२ वटा , पछिल्लो पटक मेरो ब्लग समावेश भएपछि , नेपाली ब्लगहरु छन । धेरैजसो नेपाली ब्लगहरु राजनीतिक बिषयमा नै लेखिएका छन त्यसो त ब्लगरको खुशी हो ब्लगमा केलाई बिषय बनाउने भन्ने । कतिपय साहित्यप्रधान ब्लगहरु पनि छन त्यस्तै मध्येमा यौटा मेरो पनि हो तर मैले आफ्नै मात्र रचनाहरु राख्ने गर्छु । आफ्नो ठाउँको परिचय सहित मैले हाम्रो गौरादह ब्लग पनि शुरु गरेको छु तर विविध कारणहरुले गर्दा त्यसलाई अघि बढाउन सकेको छैन । धेरैपछि अनामिकाको ब्लग से ना समथिङ्ग पनि पढ्न पाईने भएको छ । मलाई नेपाली ब्लगहरु मध्येमा सबै भन्दा मन पर्ने ब्लग हो त्यो जुन कुरा मैले पहिले पनि उल्लेख गरिसकेको छु । पछिल्लो पटक अनामिकाको ब्लगमा भएको जिन्दावाद ! जिन्दावाद !! भन्ने पोष्टमा मैले कमेण्ट लेखें । नेपालमा लोकतन्त्र दिवस मनाईएको छ । पोष्ट त्यही बिषयमा नै थियो । राजा हुँदाहुँदै लोकतन्त्र दिवस कसरी मनाउने ? यदी राजा हुँदा हुँदै लोकतन्त्र दिवस मनाउने हो भने गणतन्त्र दिवस नै मनाए भै हाल्यो नि । पोहोरसाल यतिखेर म भित्र खुबै जोस थियो । नयाँ नेपालको सपना थियो । रगत उमालेर मैले निक्कै कथा , गीत , गजल र कविता लेखें । तर यो एकबर्ष भित्रका राजनीतिक घटनाक्रमले म भित्रका हौसलाहरु निक्कै सेलाईसकेको छ । देशले नयाँ दिशामा गति लेला भन्ने आश मरिसकेको छ । अर्को आन्दोलनको आवश्यकता दिनदिनै हुंदैछ । माई संसारमा भर्खरै हेरेर थाहा पाएको , नेताहरुलाई खबर्दारी गर्न उपस्थित भएको नागरिक भेलाले पनि यो कुरा पुष्टी गरेको छ ।

फुर्सदले गर्दा आजभोलीको मेरो दिनचर्या पनि बदलिएको छ । कुनै कुरा पनि नियमित हुन छाडेको छ आजभोली । खाने , सुत्ने , उठ्ने आदी कुराहरु टुंगोमा हुन छाडेको छ । निश्चित समयमा निश्चित काम गर्नु पर्ने नभए पछि यसो भएको हुन सक्छ । यौटा नयाँ क्रम पनि थपिएको छ आजभोली मेरो दिन चर्यामा । हरेक दिन दिउँसो अढाई तिन बजेतिर Guam बाट फोन आउंछ । फोन गर्ने मेरै काली हुन्छे । मैले दिएको नाम काली , त्यसबेला उसको बिहान हुन्छ र उसले ब्युँझने बित्तिकै बेडबाटै कल गरेकि हुन्छे । फोन उठाएर मैले हरेक पटक एकै तरिकाले ' हजुर काली ' भन्न नभ्याउंदै " देव मैले तपाईंलाई आज पनि सपनामा देखिंन , मलाई मिस गर्नु भएन ? " भन्छे । देव मलाई मेरो फुपुको छोरा जो दार्जीलिङमा हुनुहुन्छ ले दिनुभएको नाम हो । प्रेममा यस्तो हुन्छ भन्ने थाहा थियो तर हाम्रो ( काली र मेरो ) प्रेममै यस्तो होला जस्तो लाग्दैनथियो । म कालीसंग बिहे गर्ने कुरामा ढुक्क भएको छु त्यसैले पनि म धेरै कुरै सोच्दिंन अनि अर्को कुरा सुतेर देख्ने सपना र बिपना ( भोग्नुपर्ने जीवन ) को भेद मैले निक्कै बुझिसकेको छु जस्तो पनि लाग्छ । अझ उमेरले पनि मलाई अब अल्लारे हुन दिंदैन । जे होस कालीले मलाई त्यसो भन्दा उसले मलाई अनन्त प्रेम गर्छे भन्ने कुरामा पनि म निश्चिन्त हुन्छु ।

फुर्सद छ । त्यसैले म साँच्चिकै फुर्सदमै ब्यस्त छु । कोलोराडोको आकाशमा काला सेता बादलहरु पनि हेर्न भ्याउंछु म । बादलमा बिभिन्न बस्तुहरुको आकार खोज्दा मलाई सानोको याद आउंछ । सानोमा बर्षातकै बेलातिर कुनै कुनै दिन खुला चौरमा गुन्द्रीमाथी फिंजाईएको बिष्कुन रुङ्नु पर्थ्यो । त्यसरी बिष्कुन रुङ्दा म आफु पनि बिष्कुनझैं झारमाथी लमतन्न परेर आकाशमा कुदीरहेका बादलहरु हेरिरहन्थें । बादलमा बिभिन्न बस्तुहरुको आकार खोजिरहन्थें ।

यस्तै छ फुर्सद र मेरो सम्बन्ध । म संग फुर्सदै फुर्सद छ र म त्यही फुर्सदमा ब्यस्त छु ।

Tuesday, March 20, 2007

अल्छि लागेपछि..........

आजभोली जाँगर त्यसै मरेको छ । न नयाँ कुरा केहि लेख्न सकेको छु न त लेख्दै गरेका कुराहरुलाई निरन्तरता दिन सकेकै छु । ब्लगमा राख्नुपर्ने कुराहरु धेरै छन तर जाँगर नै नचलेपछि के लाग्छ र ? त्यसो त प्रत्येकदिन कम्तीमा छ घण्टा (धेरैजसो राती) कम्प्युटरमा बस्ने म आजभोली मुश्किलले २ घण्टा बस्छु होला । मैले आफुले लेखिरहेको दुईवटा ब्लगहरु , यौटा यहि र अर्को हाम्रो गौरादह र अर्को यौटा मैले ईडिट गर्ने गरेको गरेर जम्मा ३ वटा ब्लगहरु देख्दा माया लागेर आउंछ - भक्तराज आचार्यले गाए जस्तै - हजार सपनाहरुको माया लागेर आउंछ बाँच्ने रहर जस्तै मनमा भएर आउंछ ..................

म लेख्नलाई त्यती अल्छि गर्ने मान्छे त हैन तर खै किन हो आजभोली त्यस्तै भै रहेछ । त्यस्तै भन्नाले त्यस्तै क्या । खासकुरा कम्प्युटरले मलाई नियमित टाउको दुख्ने ब्याथा दिएको छ । आजभोली खल्तीमै Aspirin नबोकी धरै छैन त्यसैले पनि कम्प्युटरमा कम बस्न थालेको छु र कम लेख्ने गरेको पनि हुँ यो क्रमको अन्त्य सायद आँखामा चस्मा नचढाई नरोकिएला ।

जहाँ सम्म जाँगरको कुरा छ अब भने नभएको जाँगरको सिला खोजेर भएपनि लेख्ने क्रमलाई निरन्तरता दिने बिचार गरेको छु । हेरौं लेख्छु होला ।

Sunday, March 04, 2007

गन्थन मन्थन ।

एक्कासी दुख्न शुरु भएको दाँतले मलाई एकरात रातभरी निदाउन दिएन । यतिजोडले दाँत दुख्ला भनेर सोचेकै थिईनं मैले । भोलिपल्टको काम सकाएर दाँतको डक्टरकोमा गएं । अघिल्लो रात सुत्न नसकेकोले गर्दा म तुरुन्तै त्यो दाँत उखेलेर फाल्न चाहन्थें तर डेण्टिस्टले मलाई एक हफ्ताको लागी पेन किलर दिएर एक हफ्तापछि दाँत उखेल्ने अपोईण्टमण्ट दियो । अहिले त दाँत उखेलेको पनि २ दिन भै सक्यो । देब्रेपट्टीको तल्लो सबैभन्दा पछाडीको बंगारामा किरा लागेछ । अरुमा सर्ला भन्ने पिर भयो । म आफ्नो दाँत बलियो छ भनेर ढुक्क थिएं तर अहिले यौटा गुमाएर एकतिस वटा मात्र दाँत बाँकी रहेको छ । दाँतको कारणले केहि दिन यता मैले नयाँ केहि कुरा लेखेको छैन । ईन्टरनेटमा बस्दा मैले प्रत्येक दिन poetry.com मा हाईकु भने लेख्न छाडेको छैन । माई संसार डटकममा news हेरिरहेको छु तर कमेण्ट लेखेको छैन । नेपाली पोष्ट मार्फत थाहा पाएं उमेश जी लाई मण्डलेहरुले राजाको बिरोधमा लेखे कार्यवाही गर्ने धम्की दिएका रहेछन । लोकतन्त्र र गणतन्त्र भन्दै कुर्लिने नेताहरुले नेपाललाई नयाँ नेपाल बनाउन नसकुञ्जेल सम्म यो क्रम रोकिने छैन । नेपाल नयाँ भएको प्रत्याभुती हरेक आँगनमा हुनु पर्छ र मात्र यौटा नागरिकले निर्धक्क भएर बोल्न अनि लेख्न पाउंछ । लेख्नको लागी त अहिले पनि लेखिरहेकै छन तर भयरहित वातावरण बनिसकेको छैन भन्ने कुरको पुष्टी गरेको छ माई संसारका ब्लगर ( उमेश श्रेष्ठ ) लाई दिएको धम्कीले ।

सार्है दुखलाग्दो कुरा हो यो नेपाल हामीले सोचेको दिशामा र गतीमा हिंडेको छैन । नेपालका नेताहरुको निश्चयनै हामी सामान्य मान्छे भन्दा विचारशील छन तर उनिहरुको विचारलाई प्रतिगमनको माकुरे जालोले जेलेको छ । किन उनिहरु आफ्नो विचारलाई ढाक्ने माकुरे जालो पन्साउन सक्दैनन ? अहिले फेरी एमालेले राजा बचाउने कुरा गर्न थालेको समाचार माई संसारमा पढें । एमाले कहिल्यै सुध्रिदैनं ? राजा सहितको भोलीको नेपालमा प्रधान मंत्री बन्ने सपनामा एमाले महासचिब नेपाल विबेकले शुन्य बन्दैछन त ? बरु उनले आफु र आफ्नो पार्टीलाई कम्युनिष्ट नै नभने हुन्थ्यो होला । आफुले अंगालेको सिद्दान्त अंगाल्न नसक्नेहरु कम्युनिष्ट हुन भनेर कसै कसैले भनेको मैले नेपालमा हुंदै सुनेको थिएं । के साँच्चै हो त ? मलाई कम्युनिष्टहरुको चिन्ता लगेको हैन तर अढाईसय बर्षदेखि नेपालमा भगवान भएर राज गर्नेहरुलाई हटाउलान भनेर सबैले भरोषा गर्नेहरुले गर्दा नयाँ नेपालको सपना अझैसम्म अधुरो भएकोमा चिन्ता लागेको हो ।

यसबिचमा यो संसार डटकम नामको अर्को नयाँ ब्लग उदाएको पाएं । त्यसो त मैले पनि अर्को हाम्रो गौरादह ब्लग शुरु गरेको छु । यो संसार ब्लगले राजनीतिसंग गोरु बेचेको साईनो पनि लगाउने छैन भनेर घोषणा गरेको छ । अचम्म लाग्यो , राजनीति त यौटा सचेत नागरिकले अनिवार्य छलफल गर्नु पर्ने बिषय हो । मान्छेको जीवनमा जसरी अन्य पक्षहरुको महत्व हुन्छ त्यसरी नै राजनीतिको पनि हुन्छ । राजनीतिक छलफललाई ब्लगमा राख्दैमा त्यो ब्लग राजनीतिक ब्लग हुन्छ र ? मेरो ब्लगमा मैले साहित्यलाई प्रमुखता दिएको छु । आफुले रचना गरेको कुराहरु राख्छु म तर पनि राजनीतिक बिषयमा आफुलाई खट्केको कुराहरु पनि लेख्ने गर्छु म । जे होस यो संसार डटकमले राजनीतिक कुराहरु राख्दिनं भन्नु खासै अनौठो पनि होईन र मैले बिरोध गरेको पनि होईन ।

दाँतबाट शुरु गरेको कुरा यसरी अगाडी बड्यो कि यो बिचमा म केहि भन्न नपाएर निक्कै गुम्सिएको थिएं । त्यस्तै मध्धे अर्को कुरा मैले निकाल्न लागेको अर्को गीती अल्बम अबोध परेलीहरु अहिले म्युजिक नेपालमा पुगेको छ तर त्यहाँ बाट निकाल्न पाउने हो या हैन त्यो भने थाहा भै सकेको छैन । यो हफ्ताभित्रमा थाहा हुन्छ म्युजिक नेपालले निकाल्छ कि निकाल्दैन भनेर । अबोध परेलीहरुको बारेमा अलिपछि म बिस्तारमा लेख्ने छु । अर्को कुरा मैले अब आउने अगष्टमा नेपाल जाने बिचार गरेको छु । अहिले सम्म त नेपाल जानलाई केहि तयारी गरेको छैन । त्यसो त अझै चार पाँच महिना नै बाँकी पनि छ । म सन २००३ को जनवरीमा अमेरिका आएको थिएं । चार बर्ष पुरा भै सक्यो यो पाली भने चार पाँच महिना बस्ने गरेर जाने बिचार गरेको छु ।

Wednesday, February 14, 2007

प्रेम दिवशको शुभ कामना मेरी प्यारी कालीलाई । Happy Valentine Day to my sweetheart KALI


काली ,
तिमीले ईमेलमा पठाएको भ्यालेण्टाईन डे को ग्रिटिङ्ग कार्ड पाएर खुशी लाग्यो । मैले पनि ह्यापी भ्यालेण्टाईन भनेर यौटा ग्रिटिङ्ग कार्ड पठाएको छु मेरी कालीलाई । साँच्ची यो भ्यालेण्टाईन डे लाई नेपालीमा प्रेम दिवश नै त भन्ने होला नि हैन काली ? मैले यो ब्लग पोष्टको शिर्षकमै प्रेम दिवश लेखेको छु - ठिकै त होला नि । यो पोष्ट मैले केवल तिम्रो लागी लेखेको है काली । यसलाई प्रेमपत्र पनि नठान । प्रेमपत्र पनि हैन यो केवल मेरो मनमा फूलेका भावनाहरु हुन । यो पोष्ट लेख्ने विचार मनमा आएपछि मैले तिम्रो तस्विर पनि राख्ने विचार गरेको थिएं । फोनमा कुरा हुँदा मैले तिमीलाई सोधें पनि , तिमीले स्विकृती दिईनौ । प्रेम गरिन्छ भने खुल्लमखुल्ला गर्ने नि किन डराउने भनेर मैले बहस पनि झिकें । प्रेम गरिन्छ भनेर वेभ पेजहरुमा तस्विर सार्बजनिक गर्नु त बिज्ञापन गरेजस्तो हुन्न र ? आँखिर प्रेम बिज्ञापन पनि त हैन नि भन्दै तिमीपनि बहसमा सहभागी भयौ । मलाई मेरी कालीको तस्विर आफ्नो वेभ पेजमा राखेर देखाउन मन थियो तर तिम्रो कुरा सहि लाग्यो र मैले हारिदिएं । अँ साँच्ची , कतै कालीलाई आफु काली छु भनेर त तस्विर राख्न मन नलागेको हो कि ? हो भने पनि आफुलाइ काली छु , नराम्री छु भनेर नहेप ल काली ? तिमी काली छौ भन्ने थाहा छ नि मलाई । दीपक लिम्बुको यौटा गीत सुनेकि छौ ? ...मैले त्यही भएर मनपराको... भन्ने । मैले पनि मेरी कालीलाई काली भएरै मनपराएको नि ल ?

काली काली काली कति काली भन्न सकेको होला ? यो पढिरहंदा यस्तै सोच्छौ होला तिमी तर म तिमीलाई काली भन्न छाड्दिनं ल ? मलाई काली भन्न नै राम्रो लाग्छ । माया गरेर भनेको हुँ भन्ने त तिमीलाई थाहै छ नि हैन ? फोनमा कुरा हुंदा मेरो कालीले म काली छु , नराम्री छु , मलाई केहि आउंदैन , जात मिल्दैन भनेर चिन्ता गरिरहन्छौ । मेरो कालीले त्यस्तो फजुलको चिन्ता नगरे हुन्थ्यो । काली त भनेको मात्रै पो मैले मेरो काली राम्री छे नि । केहि गर्न नै नआउने पनि कहाँ हो र मेरो कालीलाई माया गर्न आउंछ नि । जात चाहिँ प्रकृतीले दिए अनुशार काली नारी हो र म पुरुष हुँ । त्यहाँ भन्दा अरु नसोच ल काली ? कुल गोत्र ईत्यादी त मान्छेले नै रचेको ढोंग हो । हामी हुर्के बढेको समाजले ठुलो र सानो , छुत र अछुत , पानी चल र अचल भनेर मान्छेलाई छुट्याएको छ । हाम्रै परिवारले पनि त्यही नीति नै अबलम्बन गर्दै आएको छ तर हामीले त हाम्रो समाजभित्रका संस्कार भनिने त्यस्ता कु संस्कारहरुलाई हटाउने पहल गर्नु पर्यो नि ? जातीय बिभेद अब युग असुहाउंदो कुरा हो भनेर परिवारमा पनि बिश्वास दिलाउन सक्नु पर्यो नि । त्यसैपनि प्रेम भनेको जाती , बर्ग , धर्म भन्दा माथी हुन्छ । अझ पश्चिमा मुलुकमा त कतै कतै प्रेमलाई कानुनी रुपमै लिँग भन्दा पनि माथी राख्ने गरिएको छ । यहाँ त्यसको खण्डन गर्न तिर नजाउं तर त्यो अप्राकृतिक भने निश्चय नै हो । हाम्रो प्रेम सम्बन्ध प्रति तिमी संधै सकारात्मक बन ल काली ? कति पनि संदेह नराख है मनभित्र । विश्वासले नै प्रेम सफल हुन्छ । प्रेम मात्रै हुनलाई त एकै नजरमा , एकै चिनारीमा पनि हुन सक्छ तर सफल हुन त्यसमा निरन्तरता हुन आवस्यक हुन्छ र विश्वास नभै निरन्तरता हुन सक्दैन । मेरो बारेमा कालीलाई भलिभाँती थाहा छ । भन्न भ्याए सम्मका कुराहरु कुनै पनि लुकाएको छैन । भन्न बाँकी कुराहरु पनि लुकाउने धृष्टता गर्दिनं । कालीको बारेमा मलाई धेरै जानीरहनु आवश्यक नै लागेन । जती जानें त्यो प्रयाप्त छ । म जस्तो यौटा असफल बैवाहिक जीवन भोगिसकेको मान्छेलाई निस्वार्थ प्रेम गरेर जीवन भरी साथ दिन्छु भन्ने हिम्मत भएकि काली मैले अरु कहाँ पाउंछु र ? त्यसमाथी पनि मेरो यौटि छोरी छे भनेर जान्दा जान्दै मेरी छोरीको आमा बनिदिन तयार हुने काली पाउनु मेरो लागी सौभाग्यको कुरा हो । बिहे गर्छु नै भन्दा म संग बिहे गर्न राजी हुनेहरु पनि भेटिएलान तर त्यसरी राजी हुनेहरुमा अमेरिकाको ऐस आराम र डलरको लालच नहोला भन्न कहाँ सकिन्छ र ? अमेरिकामा सामान्य जीवन बाँच्नेहरुको जीवन शैली कस्तो हुन्छ र डलरको सपना यथार्थमा कस्तो हुन्छ भनेर बुझीसकेकि कालीले मलाई गरेको मायामा मैले छलछाम देखेको छैन । त्यही नै मेरो लागी खुशीको कुरा हो ।

काली भौगोलिक दुरीले हामी निक्कै टाढा छौं । अहिले मैले यो पोष्ट लेखिरहंदा फेब्रुवरी तेह्र तारिख रातीको बाह्र बज्नै लागेको छ । बाह्र बजे पछि यहाँ फेब्रुवरी १४ लाग्छ । यतीबेला तिमी भएको ठाउंमा फेब्रुवरी १४ को दिउंसोको झण्डै ५ बज्यो होला ( ठ्याक्कै त भन्न सक्दिनं ) । हामीबिचको समयको अन्तर १७ घण्टाको छ । यतीबेला तिमी ड्युटीमा छौ र फोनमा कुरा गर्न सकिन्न अहिले । समयको तालमेल नै त्यस्तै छ । अब लगभग १० मिनेट पछि म यो पोष्टलाई publish गर्छु । तिमी ड्युटी सकाएर आउंदा मेरो बिहान भै सकेको हुन्छ । आशा छ तिमीले आएर यो ब्लग पढ्ने छौ र मलाई फोन गर्ने छौ । ( अहिले १२ बजिसक्यो र भ्यालेण्टाईन डे शुरु भै सक्यो ) तिमीले त हिजै मलाई Happy Valentine भनिसक्यौ , मैले त भन्नै बाँकी छ । तिमीले गरेनौ भने पनि म बिहान तिमीलाई फोन गर्छु ल काली ? Happy Valentine भन्नलाई । अहिले यो ब्लगमा पनि I wish you a very Happy Valentine Day ल काली ? Miss me है kali , I'm really missing you in this moment .

Tuesday, January 23, 2007

बसन्त पञ्चमी , बयर र सरस्वती पूजा ।



" या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवै सदा वन्दिता
सा मां पा तु सरस्वती भगवती नि:शेषजाड्यापहा ।। "


आज बसन्त पञ्चमी या नि कि श्रीपञ्चमी अर्थात सरस्वती पूजा । सरस्वती पूजा नमनाएको पनि ५ बर्ष लागिसक्यो । नेपालमा छँदा स्कूलमा अनि गाउँमा सरस्वती पूजा मनाएको झलझली आँखैमा छ । गाउँमा हामी भब्यताका साथ सरस्वती पूजा मनाउने गर्थ्यौं । केटाहरु र केटीहरुको २०/२५ जनाको हुल भएर हामी पनि सरस्वती पूजाको लागी चन्दा उठाउन घर घर अनि पसल पसल जान्थ्यौं तर हाम्रो चन्दा माग्ने प्रकृयामा दादागिरी हुंदैनथ्यो त्यसैले हामी आशा अनुशार नै चन्दा रकम संकलन गर्थ्यौं अनि त्यसलाई पूजाको निंती र बिभिन्न कार्यक्रमको निंती खर्च गर्थ्यौं ।

पूजा गर्नको लागी सरस्वतीको मुर्ती म आफैं बनाउने गर्थें । झण्डै दुई साता अगाडी देखि परालको लुँडो बाटेर त्यसमाथी खोलाबाट ल्याईएको लिसाईलो माटोले लिपेर सुकाउदै पोल्दै म सरस्वतीको सुन्दर मुर्ती तयार पार्थें । सरस्वतीलाई लगाईदिने कपडा साडी चोलो बनाउने जिम्मा गाउंका बैनीहरुको हुन्थ्यो ।

गाउँको बिचभागमा पर्ने खुल्ला खेतमा ( मैदान त कहाँ बाँकी थियो र? ) अस्थाई मन्दिर बनाएर पूजा स्थल बनाइन्थ्यो । दिनभर केटाकेटीहरुलाई दौड , हिसाब दौड , चम्चा दौड , हाजिरी जवाफ अनि गाउँमा आमा दिदीहरुको लागी कुर्शी दौड र सबैको लागी घ्याम्पो ( घैला ) फोर्ने जस्ता प्रतियोगिताहरु गराईन्थ्यो । साँझमा पनि अलि ठुला समुहका बिध्यार्थीहरुको हाजिरिजवाफ प्रतियोगिता , गायन प्रतियोगिता , नृत्य प्रतियोगिता गराउंथ्यौ । यस्ता सबै कार्यक्रमहरुमा हामीलाइ गाउँका ठुलाबडाले पनि साथ दिनुहुन्थ्यो । पूजाको प्रसाद अनि अन्य खानेकुराहरु बनाउन समेत हामीलाई गाउँका ठुलाबडाले सहयोग गर्नुहुन्थ्यो । ठुलाबडाहरु मध्ये नै एकजनालाई हामी सभापती बनाउंथ्यौ र सबै प्रतियोगितामा हुने विजयीहरुलाई सभापतीकै हातबाट पुरस्कार प्रदान गर्थ्यौं । कुनै कुनै पुरस्कारहरु पैसाको कमीले गर्दा राम्ररी पोको पारेको थैलोमा बुनिया (खानेकुरा) पनि हुन्थ्यो । त्यो पुरस्कार प्रदान गर्दा राम्रो हँस्यौली पनि हुन्थ्यो अनि अर्को साल हामी अलि धेरै चन्दा दिन्छौं भनेर ठुलाबडाले वचन पनि दिनु हुन्थ्यो ।

सबै प्रतियोगिता सकिएपछि पनि हामी रातभर नाचगान गरेर अथवा अन्ताक्षरी खेलेर रमाईलो गर्दै रात काट्थ्यौं र बिहान खोलामा पुर्याएर सरस्वतीको मुर्ती सेलाएपछि भने सरस्वती पूजा बिधीवत समाप्त हुन्थ्यो ।

आजभोली गाउँमा सरस्वती पूजा मनाउन छाडिएछ । गाउँमा यस्ता कार्यहरुमा उत्साहित भएर लाग्ने हामी युवाहरु सबै बाहिर बाहिर छौं । गाउँमा त मनाईदैन मनाईदैन स्कूलहरुमा पनि सरस्वती पूजा मनाउने वातावरण नभएको सुन्दा दुख लाग्छ । मैले भने यो ब्लगमा ई नै कुराहरु लेखेर एक्लै सरस्वती पूजा मनाएको ठानेको छु ।

नेपालमा हिंजै थियो सरस्वती पूजा । म समयले नेपाल भन्दा एकदिन(१२ घण्टा) पछाडी छु । हिंजो कान्तिपुर लगायत निक्कै अनलाईन नेपाली पत्रीकाहरु हेरें तर कतै पनि सरस्वती पूजाको बारेमा 'स' पनि लेखेको नभेट्दा अझ दुख लाग्यो । सबैमा त पसिंन तर पसेजति ब्लगहरुमा पनि कुनै ब्लगरले सरस्वती पूजाको बारेमा लेख्नु भएको छैन । सायद सरस्वती पूजाको कसैलाई महत्व छैन अब । कि देशको बर्तमान परिस्थितीले सबैलाई बिर्सायो कि? कि धर्मनिरपेक्षताको कुराले भुलायो? जे होस , धेरै अर्थमा मान्छेहरुले बिर्षिदै गए होलान । अनि राजनैतिक गज्याङमजाङले पनि यस्तो कुराहरुलाई ओझेल पार्यो होला ।

मैले यो दिनलाई सबै भन्दा पहिले सरस्वती पूजा भनेरै चिनेको थिएं । सानो हुँदा स्कूलमा सरस्वती पूजा हुने दिन साह्रै रमाईलो लाग्थ्यो । त्यसपछि श्री पञ्चमी भनेर जानें । गाउँघर तिर केटाकेटीको नाक कान छेडिदिने अनि बहर गोरुलाई पहिलो पल्ट दाउने ( जोत्न सिकाउने ) चलन हुन्थ्यो । यो दिनलाइ मैले बसन्त पञ्चमी भनेर सबै भन्दा पछि बुझें तर आजभोली यो दिनलाई बसन्त पञ्चमी भन्ननै अलि राम्रो लाग्छ ।

मैले माथी शिर्षकमा बयरको पनि जिकिर गरेको छु । यो समयमा गाउँभरी , घरघरै लटरम्म बयर फलेका हुन्छन । कतै पाक्न लागेका त कतै कट्मेरो अवस्थाका बयरहरु चोरी चोरी खाँदै हिंडेको दिन पनि अझै ताजा छ । कैलेकाहिँ त बयर धेरै खाएर ज्वरो पनि आउंथ्यो । सिजनमा सर्बत्र पाइने बयर मेरो विचारमा केटाकेटीहरुको निंती भगवानले श्रीजना गरेको फल हो । खानको लागी त ठुलामान्छेहरुले पनि रुचिका साथ खान्छन बयर तर महत्व भने कम दिन्छन । बयरको अचार बनाएर खाने चलन पनि छ । कतै गुँणमा डुबाएर गुलियो पारेर त कतै अमिलो बनाएर बयरको अचार बनाईन्छ ।


मैले स्कूलमा हुंदा पनि सानैमा बयरको बिषयमा दुईवटा पाठहरु पढेको सम्झना छ । एउटा भुण्टे र बयर भन्ने कथा जस्तो पाठ थियो जस्मा भुण्टेले भाँडाभित्रको बयर मुठ्याएर हात अड्काएको कुरा स चित्र थियो । उक्त चित्रको भुण्टे तँ होस भनेर दाजुले मलाई जिस्क्याउनु भएको पनि मलाई याद छ । अर्को पाठको भने शिर्षक याद छैन त्यसमा माईत हिंडेकि दुई दिदी बहिनी मध्ये बहिनीले बाटोमा भेटेको बयरको बोटलाइ वरपरीका झारपातहरु उखेलेर गोडेर हिंडेको र माइतबाट फर्कंदा बयरले फल दिएको अनि दिदीले केहि नगरी माइत गएर फर्कंदा बयरको बोटले घोचेको कुरा लेखिएको थियो । त्यो पाठ पढेर मैले डाढे भन्ने शब्द चिनेको सम्झना छ । उक्त कथामा दिदी पात्रलाई डाढे चरित्रमा देखाईएको थियो । ति दुई ठाउँबाहेक अन्य कतै पनि किताबहरुमा मैले बयरको बारेमा चर्चा गरेको देखेको छैन बरु शँभुजित बाँस्कोटाको कुनै यौटा फिल्मी गीतमा भने ए माया खाउं भने खाउं त नि काँचो बयर भनेको सुनेको छु । बयरको गुदी(बिंया)ले निमोनिया जाती पार्छ भन्ने पनि सुनेको छु मैले तर सत्य हो कि हैन त्यो त थाहा छैन ।

मैले भने गाउँमा सरस्वती पूजा गर्ने चलन थालेदेखि सरस्वती पूजाको दिन सरस्वतीलाई नचढाई बयर खाँदिनथें ।

Saturday, January 20, 2007

गीत र म ।

" मेरो सबै भन्दा नजिक के छ ? " यो प्रश्न यदि म आफैंले आफैंलाई गरेर आफैले जवाफ दिनु पर्यो भने म मेरो सबै भन्दा नजिक गीत छ भन्छु । गीत बिना म अधुरो त हुन्छु कि हुन्न त्यो त थाहा छैन तर गीत बिना म बस्न सक्दिनं यो साँचो हो । पाँच बर्षको हुंदा देखि म स्कूल जान थालेको मलाई राम्रो थाहा छ म स्कूल जानु भन्दा अगाडि देखि नै गीत गाउंथें । स्कूल जानुभन्दा अगाडी गाएको गीत मलाई अझै पनि याद छ ।

कस्की छोरि हौ तिमी चौतारीमा बसेकि
झण्डै मैले सिंदुर धसें कि.........?
संभवत मैले गीत भनेर गाउन जानेको र गाएको पहिलो गीत यहि नै हो ।

आजभोली पनि म गीत बिना बस्न सक्दिनं । सुनेर , गुन्गुनाएर (गाएर) अथवा लेखेर (नयाँ) म संधै गीत संगै हुन्छु अनि गीत म संगै ।

मैले सबैभन्दा धेरै पटक सुनेको गीती अल्बम रामकृष्ण ढकालको आशा हो त्यसपछि दीप श्रेष्ठको दृष्टी अनि त्यसपछि 1974 AD । सुन्नलाई म सबै प्रकारका गीतहरु सुन्छु राम्रो छ भने मनपराउंछु पनि तर गजलहरु सुन्न मलाई विशेष मन पर्छ । गजल गायकमा जगजित सिँह मलाई औधि मन पर्ने गायक हुन । नेपाली गायकहरुमा मलाई भक्तराज आचार्य सबैभन्दा मनपर्ने गायक हुन । भक्तराज केहि बर्ष यतादेखि गीत गाउन नसक्ने अवस्थामा छन । भक्तराज गीत गाउन नसक्ने भए भन्ने थाहा पाउंदा म रोएको थिएं । त्यो बेला म नेपालमै थिएं । भक्तराजको मैले धेरैपटक सुनेको गीत ' मलाई मेटन देउ मैले कोरेका रेखाहरु ' भन्ने हो । पुराना जमानाका गायकहरु फत्तेमान , बच्चु कैलाश , रुबि जोशी , योगेश बैद्य आदि मलाई मन पर्ने गायकहरु हुन भने स्व नारायण गोपाल , स्व अरुण थापा लगायतका अन्य गायकहरु पनि मलाई मन पर्छन सबैको नाम अहिले याद आउंदैन ।

पाँच छ कक्षातिर पढ्दा मलाई गीत लेख्न रहर लाग्थ्यो । त्यसबेला नयाँ गीत लेख्नको लागी रच्ने (कथ्ने) कोसिस गर्दा मेरो मनमा खाली त्यसबेला भएकै गीतहरु मात्र आउंथ्यो र मैले लेख्नको लागी त गीत बाँकी रहेनछ सबै अरुले लेखेर सकेछन जस्तो लाग्थ्यो । त्यसबेला म बाँसुरी बजाउन पनि रहर गर्थें , घरमा हलो जोत्न बसेको टने नामको सतारकेटाले मलाई हाम्रै खेतको मलबाँसको टुप्पोको बाँसुरी बनाईदिएको थियो । घरमा मलाई सतारको बाँसुरी बजाउनु हुदैन भन्थे तर म उसको बाँसुरी पनि बजाउने गर्थें किनकि उसको बाँसुरी मेरो भन्दा निक्कै राम्ररी बज्थ्यो । पछि म आफैंले पनि बिभिन्न साईजका निक्कै बाँसुरीहरु बनाएको थिएं । मैले जतिबेला पनि बाँसुरी बजाउने गरेकोले मलाई सबैले जादुवाल (चटके) भन्थे । बाँसुरीले मलाई कति सम्म प्रभाव पारेछ भने मैले पहिलो गीत पनि बाँसुरीलाई नै समेटेर लेखेको छु ।

बाँसुरीको धून संगै माया तिमी आईदेउन
बसन्तको सुर संगै पिरतीको गीत गाईदेउन ।
नौ दश बर्षको हुंदा लेखेको यो गीतमा मैले कुन मायालाई डाकेको थिएं त्यो भने मलाई थाहा भएन । यो गीतको अरु अंश म संग छैन पनि र मैले पछि लेखेको पनि छैन । त्यसपछि मैले लेखेका गीतहरु कति त हराए पनि होलान तर ४७ साल देखि लेखेका गीतहरु म संग प्राय छन । लेख्दै जाँदा मैले एक अञ्जुली माया भन्ने र मन हराए पछि भन्ने दुई गीति संग्रहहरु ( अप्रकाशित ) बनाएको छु । एक अञ्जुली मायामा मैले एकसय एघार वटा गीतहरु संग्रहित गरेको छु र त्यसभित्रकै दश वटा गीतहरुको एक अञ्जुली माया भन्ने गीति अल्बम पनि बनाएको छु । मन हराएपछि भन्ने संग्रहमा भने ८६ वटा गीतहरु संग्रहित छन । एक अञ्जुली मायालाई मैले नेपालमा हुंदै संग्रह बनाई सकेको थिएं भने मन हराए पछि भने अमेरिका आएपछि दुई बर्ष अगाडी तिर संग्रह बनाएको हुं । त्यसपछि लेखेका गीतहरु कति छ म संख्या गनेर भन्न त सक्दिनं तर अर्को यौटा संग्रह बनाउन पुग्ने भएका छन होला जस्तो लाग्छ ।

एक अञ्जुली माया गीतिअल्बम नेपालमा केहि समय अगाडीनै बिमोचन गरिसकेको भएपनि बजारमा ल्याउने जिम्मा लिएको धउलागिरि क्यासेट सेण्टरले अझै सम्म बजारमा लगिदिएको छैन । भर्खरै सुनेको छु अब छिट्टै बजारमा जांदैछ अरे । म आफु यता अमेरिकामा भएकोले पनि होला सायद नेपालमा मेडियाहरुमा राम्रो प्रचार प्रसार हुन पाएको छैन । उक्त गीतिअल्बमका संगीतकार टिका भण्डारी पनि अहिले अमेरिकामै हुनुभएकोले बिज्ञापनमा अझै कमी भएको छ । त्यसो त बजारमा तुरुन्तै लगेर २ महिना सम्म सबै मेडियाहरुमा बिज्ञापन पनि बजाउने समेत जिम्मा लिएको धउलागिरीले अलि हेलचेक्र्याँई नै गरेको हो भन्ने मलाई लागेको छ । नेपालमा काम गर्ने जिम्मेवारी लिएर पैसा लिईसकेपछि किन यस्तो गरिन्छ ? कतै यस्तो बिषयहरुमा गतिलो कानुनको अभावले हो कि ?

कैलेकाहिं त लाग्छ नेपालमा गएर म्युजिक कम्पनि पो खोल्नु पर्छ कि ? आँखिर काम लिएर नगरेपनि पैसा त कमाई हुने रहेछ ।