Sunday, February 03, 2013

लघुकथा : विज्ञापन

महानगरबाट निस्कने राष्ट्रिय दैनिक पत्रिकामा एकदिन यस्तो विज्ञापन छापियो -

"......म फलानो ठाउँ बस्ने, फलानो ठाउँ काम गर्ने, यति वर्ष उमेरको, यस्तो नाम भएको पुरुष वैवाहिक जीवनको झमेलामा पर्न नचाहने तर आफ्नै एउटा सन्तानको ईच्छा राख्ने भएकोले मेरो सन्तान प्राप्तिको ईच्छा पुरा गरिदिनको लागी मबाट गर्भधारण गर्न ईच्छुक यति देखि यति वर्ष उमेरभित्रका ईच्छुक महिलाहरुले मलाई फलानो फलानो माध्ययमबाट सम्पर्क गर्नुहोला । मेरो निमित्त नौ महिना गर्भ धारण गर्न ईच्छुक र योग्य महिलाको लागी मैले आफ्नो गच्छे अनुशारले साँढे पाँचलाख रुपैया पारिश्रमिकको व्यावस्था गरेको छु ।

पुनश्च: रकम लिएर सन्तान हस्तान्तरण गरे उपरान्त सन्तानमा कुनै पनि प्रकारको अधिकार रहने छैन भन्ने कुरामा पूर्व सहमती हुनुपर्ने प्रावधान छ ।....."

विज्ञापन मानौं कि वारुदको गोदाममा सल्केको आगो भयो । एकैसाथ देशभरी चर्चा चल्यो । धेरैले जिब्रो काढेर भने, 'मान्छे त ठीस हो कि के हो? यस्तो विज्ञापन पनि नाम ठेगाना तोकेर दिन्छन् कसैले?' कतिले मनमनै समस्या सल्टिने थियो भनेर पनि विचार गरे होलान् ।

कुरा त्यतिमै मात्र सीमित रहेन । देशभरीबाट बिभिन्न महिला सङ्घ सङ्घठनहरुको विरोध र्‍याली निस्कन थाल्यो र विरोधको स्वरुप बद्लिएर देशभर हड्तालको स्थिती बन्यो । उसले नारी अस्मिताको धज्जी उडाएको, मातृत्व किनबेच गर्न चाहेर सम्पूर्ण आमाहरुको खिल्ली उडाएको, समाजको विद्यमान सामाजिक संरचनामा गहीरो खलल पुर्याउन खोजेको जस्ता दर्जनौं आरोपहरु सहित देशभरका अनेक ठाउँमा उसको गिरफ्तारीको लागि उजुरीहरु परे ।

दशकौंदेखि स्थीर हुन नसकिरहेको देशको टालेटुले सरकार स्वयं त्यस विज्ञापनले एकैदिनमा धरापमा पर्न सक्ने परिस्थिती बनाईदियो ।

भोलीपल्ट, प्रत्येक दिन विभिन्न प्रलोभनमा परेर, डराईएर, धम्क्याईएर सयौं नारीहरु बलात्कृत भएर विना बाबुका सयौं बच्चाहरु जन्मने देशको आदर्श प्रशासनले ईमान्दारी साथ आफ्नो ईच्छा अनुशारको विज्ञापन छपाउने व्याक्तिलाई पक्राउ गरेर हिरासतमा लियो ।

भोलीपल्टै, उक्त व्याक्ति पक्राउ परेको खबरलाई महिला अस्मिताको रक्षाको निमित्त आफ्नो विजय ठानेर देशभरीका महिला सङ्घ सङ्घठनहरुले ठाउँ ठाउँमा विजय सभा आयोजना गरे । यता हिरासतमा लिइएको व्याक्तिको मानसिक अवस्था जाँच गराईंदैथियो । उता महिला सङ्घ सङ्घठनहरुको सयौं ठाउँमा भैरहेको विजय सभाहरुमा सयौं बलात्कारीहरु नारीहरुको पक्षमा वकालत गर्दै भाषण गर्दैथिए, हजारौं बलात्कारीहरु समर्थनमा ताली बजाईरहेका थिए ।

***

(केहि समय अघि नै लेखिएको यो कथा फेसबुकको लघुकथा कुनो नामक ग्रुपमा प्रकाशित भैसकेको हो ।)

No comments: