Tuesday, August 01, 2006

कथा : भगवान हराएपछि ।

कथा : भगवान हराएपछि ।

- दीपक जडित

के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । .........ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि महाभारतमा पनि मान्छेको जीवनमा यौटै मात्र भएपनि यस्तो साथी होस् जो साथीको निम्ती ज्यान दिन तयार हुन्छ भने त्यो जतीसुकै अधर्मी , पापी भएपनि त्यसको जीवन सार्थक हुन्छ भनिएको छ । महाभारत त पढ्नु भएको छ तपाईले ? यो प्रश्न पनि यसकारण कि आजभोलिका पुस्ता धेरै थोरैले मात्र महाभारत पढेका हुन्छन । हुनत आजको समयमा महाभारतको त्यो बडेमानको ठेली पढ्नै पर्छ भन्ने पनि छैन , हेर्न पनि सकिन्छ महाभारत । जे होस् महाभारत बुझ्नु पर्ने कथा हो ।

हेर्नुस् मेरो ईरादा तपाईंलाई उपदेश दिने हैन । कसैलाई उपदेश दिन लायक म कहाँ छु र ? मैले त तपाईंलाई एउटा कथा सुनाउन मात्र खोजेको हुँ । मेरो कथा - मेरो मतलब म सँग भएको कथा तपाईंलाई दिक्क लाग्दो पनि हुन सक्ला , त्यसो त म कर पनि गर्दिंन नि तपाईंको खुशी हो पढ्नुहोस् या नपढ्नुहोस् । मेरो कथा मेरो हैन । मेरो आफ्नै नभएर मेरो छेउको कथा हो यो । म सँग थोरै समयमा धेरै घनिष्ठ सम्बन्ध स्थापना भएको मेरो साथीको कथा हो यो ।

पख्नुहोस् है , पहिले मलाई मेरो कथाको पात्रको नाम जुराउन दिनुहोस् । साथी हो सिधा उसैको नाम रा खेर उसैको कथा लेख्दा रिसाउन सक्छ । म साथी गुमाउन चाहन्न । के राख्ने हो त उस्को नाम ? तपाईं दिनुहोस् न एउटा प्रचलित नाम ? सक्नु हुन्छ ??........ केहिछैन , तपाईंसँग मेरो पात्रको लागि नाम छैन भने म आफ्नै नाम दिन्छु नि त उस्लाई । बहु प्रचलित छ मेरो नाम पनि - दीपक । हो दीपक नाम नै उपयुक्त हुन्छ उस्को लागी किनभने रातको अँध्यारोमा पनि बत्ती झैँ बल्न चाहन्छ उ ।

एउटा पात्र (मेरो साथी) लाई त नाम दिएँ मैले आफ्नै अझै एउटा नाम चाहिएकोछ अर्को पात्रलाई । अर्को पात्र को हो ? मलाई थाहा छैन , मैले देखेको पनि छैन , भेट्ने त सबालनै आएन , कुरा पनि गरेको छैन । दीपकको मुखबाट भने उस्को बारेमा धेरै सुनेको छु मैले । यहाँ सम्मकि सुन्दा सुन्दा मेरो मानसपटमा उस्को सजीब प्राय: तस्वीर बसिसकेको छ । मेरो कथाको त्यो महिला पात्र जस्लाई दीपकले आँफैलाई भन्दा धेरै माया................ ए!!!!!! माया , माया पनि त एक प्रचलित नाम हो नि , यही नामनै मेरो कथाकी महिला पात्रलाई सुहाउछ पनि ।

झट्ट हेर्दा चन्चल प्रकृतीको झैं देखिने दीपक एक गम्भिर , भाबुक मुटु भएको , कल्पनाशिल ब्याक्ती हो फेरी पनि यथार्थ संसारमा चल्नको लागि जस्तोसुकै सत्य स्विकार्न सक्ने र जुनसुकै झुठको पनि प्रतीकार गर्न पछी नहट्ने ब्यक्तित्व छ उ भित्र । मान्छेहरुले हम्मेसी उस्लाई बुझ्न सक्दैनन - मलाई पनि शुरु-शुरुमा उ सँग अभ्यस्त हुन ठुलै सकस भएको थियो , कस्तो जर्कट मान्छेको फेला परेछु भन्ने लागेको थियो तर जब चिन्दै गएँ मेरा सारा अड्कलहरु बेकार हुँदै गए । ज्यादै कम बोल्ने दीपक एउटा असल र सही साथीमा परिणत हुँदै गयो । उस्को ब्यावहार र बिचारबाट म प्रभावित हुँदै गएँ ।

आज उ दुखी छ , म देखिरहेछु तर म उस्लाई सहयोग गर्न सकिरहेको छैन । यो बिषय नै यस्तै पर्‍यो कि म चाहेर पनि सहयोग गर्न सक्दिन । ईन्टरनेटबाट भिन्न भिन्न भूगोलका भिन्न भिन्न र धेरै साथीहरु बनाउने रुचि भएको दीपकले एकदिन म सँग भन्यो- " हैन यार , साथी धेरै बनाउनु पनि ठीक हैन रहेछ । जब साथी भएर साथीको भूमिका नै निर्बाह गर्न सकिन्न भने साथी भएको के काम? " त्यसबेला मलाई लागेको थियो उस्ले ईन्टरनेटबाट बनाइने साथीमा साथित्व र साथित्वप्रति स्थाइत्व हुन सक्दैन भन्ने बुझेछ क्यार तर कहाँ र उस्ले त त्यसदिन देखि उ सँग भएका ईन्टरनेटका साथीहरु मद्धेबाट साथित्व प्रति स्थाइत्वको सम्भावना भएकाहरु मात्र छनौट गरेर राख्ने र बाँकी सबैलाई हटाउने बिचार पो गरेको रहेछ ।

प्राय: सँधै सँगै हुने भए पनि मैले उस्का ब्याक्तिगत कुराहरुमा चासो राखेको थिईनं तर त्यसदिन उसैले मलाई उस्का ईन्टरनेटका असल साथीहरु देखायो । उ सँग झण्डै २०० को हाराहारीमा भएका साथीहरु बाट आज चुनिएका असल साथीहरु केवल ३ जना मात्र थिए । जस मध्धे २ जना केटा साथी र १ जना केटी साथी । उ सँग पहिले केटी साथीहरुको सँख्या अधिक भएको मलाई राम्ररी थाहा थियो त्यसैले सोधें , " तिमीसँग भएका तेत्रा केटीसाथीहरुबाट एउटा मात्रै असल पायौ ? " उस्ले तुरुन्तै जवाफ दियो , " हो नि , पहिलो कुरा त केटी साथी बनाउन नै गार्हो हुन्छ अझ त्यसमाथि पनि असल पाउन त झन मुस्किल । " उस्को जवाफको आशय केटीहरु खराब हुन्छन भन्ने थियो । मैले प्रतिबाद गरें , " त्यसो भए के , तिमी केटीहरु सबै खराब हुन्छन भन्ठान्छौ हैन ? " " हो । " उस्ले सहजै स्विकारेर भन्यो , " धेरै केटीहरु हुन्छन , तिमी जती असल सम्बन्ध राख्न खोज तिमीलाई तिनिहरुले गलत नजरले हेरेका हुन्छन । त्यस्ता केटीहरु जहिले पनि तिमीभित्रको कमजोर पक्षको खोजिमा हुन्छन ता कि तिमीलाई बद्नाम गर्न सकुन , बेईजती गर्न सकुन तर मैले सबै केटीलाई त्यस्ता हुन्छन भनेको छैन । त्यसो भन्दो हुँ त अझै पनि म सँग एउटा केटी साथी हुने नै थिएन नि ।"

मलाई तर्क गर्न आवस्यक लागेन । जस्को जस्तो भोगाई छ उस्ले तेस्तै बुझेको हुनुपर्छ भनेर म चुप लागें । उ भन्दै गयो , " तर यो केटी मेरो लागी धेरै महत्वपूर्ण छे ।" स्पस्टै थियो कि उ त्यो केटीको बारेमा अझै धेरै बताउन चाहन्छ । मलाई पनि के थियो र ? म सुन्नलाई तयार थिएँ । उ थप्दै गयो , " म उस्लाई मेरो मनको सबै कुरा भन्न चाहन्छु तर सकेको छैन यार । कसरी भन्ने होला ? " उ बोल्दै गर्दा मैले उस्को अनुहार नियालें । मलाई मामला गम्भिर लाग्यो । उस्को अनुहारमा पिंडाका भावहरु सल्बलाएको महशुस गरें मैले र पनि यो त सजिलै हो नि भन्ने भाबमा उस्लाई भनें ," के भो त ? फोन गरेर अहिले नै भनिदेउ न ।" निक्कै बेर उ चुपचाप बस्यो । समस्या त त्यहाँ पो रहेछ , उ सँग त मायाको फोन नम्बर नै रहेनछ । म छक्क परें । फोन नम्बर सम्म नभएको साथी कसरी उस्को अ सल साथीमा पर्‍यो होला ? त्यसबेला मलाई साच्चै खस् खस् लाग्यो, मैले "फोन नम्बर किन नमागेको त ? कि छैन उ सँग फोन ?" भन्दा थाहा पाएँ मागेको त रहेछ फोन नम्बर तर उस्ले आफुलाई भन्दा धेरै माया गर्ने उस्की मायाले उस्लाई फोन नम्बर सम्म दिएकी रहिनछ । यो मामलामा उस्लाई निरास नपार्ने हेतुले मैले उस्लाई आफ्नो अनुभब सहितको सुझाब पेश गर्दै भनें , " त्यसो भए अनलाईनमा कुरा गर्दा नै भन न त । अनलाईनमा भन्न त फोनमा या भेट्दा भन्दा सजिलो पनि हुन्छ । " उ फेरी मौन बस्यो । उस्को मौनता बुझ्दै जाँदा थाहा पाएं कि आज भोली माया सँग अन लाईनमा पनि भेट हुन छाडेछ । म असमन्जसमा परें । के सुझाब दिनु , सुझाब दिने ठाँउनै भेटिनं । मैले कस्ती छे नि तिम्री माया ? खै फोटो देखाउ त हेरुं ? भन्दा उस्ले फोटो पनि छैन मागेको थिएं तर दिइन भन्यो ।

उस्लाई लिएर मेरो लागी यो भन्दा ठुलो हैरानी अरु के हुन सक्थ्यो ; मैले कल्पनानै गर्न नसक्ने गरी उ मायाको प्रेममा पग्लिएको थियो । उस्लाई उस्को यो तरल अवस्थाबाट पुन: जमाएर ठोस् स्वरुपमा लानु पर्ने आवस्यकता देखें तर म सँग कुनै उपायनै पनि त थिएन । "किन यसरी, को हो ? के हो ? बुझ्दै नबुझी तिमी एकोहोरो अनि यती गहिरो प्रेम गर्छु भन्छौ ? " यसरी नै मैले सोद्दा- " खै किन किन मलाई नै थाहा छैन म किन यस्तो हुँदैछु । उ सँग अनलाईनमा कुरा गर्दा गर्दै म भित्र यस्तो अनौठो भावना स्वत उब्जियो कि म उस्लाई साँच्चै माया गर्न थालेछु ।" यस्तै थियो उस्को जवाफ ।


त्यो समयमा एक क्षणको लागी म अवाक भएँ । के भन्नु के नभन्नु , फेरि पनि मैले उस्लाई ढाडस दिदै भनें, " यसरी अन्जानको लागि तिमि किन आफ्नो उर्जाशक्ति नै सेलाउने गरेर दुखि बनिरहन्छौ ? आज , अहिले नै ईमैल लेख र पोखिदेउ तिमि भित्रका सारा उकुशमुकुशहरु कमसेकम तिमि हलुका त हुन्छौ । हैन यदि सक्दैनौ भने खै मलाई भन तिम्री मायाको ईमैल ठेगाना म भनिदिन्छु सबै कुरा स्पस्ट शब्दमा ।" यहाँनेर मैले दीपकलाई अति आग्रह मात्र हैन अति जोड नै गरेको थिएँ तर उ अझै पनि शिथिलनै थियो । उस्ले एक छोटो सुस्केराका साथ भन्यो , " हैन , ठिकै छ , छाडिदेउ यो बिषयलाई । मैले वास्तवमा भगवानको हातमा पहिले नै मेरो सन्देश पठाएको थिएँ तर भगवान नै सायद बाटो भुलेर हराए । अब मेरो नियतिमा नै छैन भने जोड गरेर मात्र त केहि हुन्न नि? " दीपकको प्रतिप्रश्नको पनि म सङ्ग कुनै जवाफ थिएन । यो कस्तो प्रेम हो ? म सोच्न थालें । किन मान्छेहरु यसरी अन्जान प्रेमको पासोमा घाईते भएर अल्झिन्छन ? दीपकको सन्देश बोकेर जाने भगवान हराउनुको तात्पर्य मैले बुझिनं । म अवाक उस्को भगवान हराएपछीको अनुहार हेर्न थालें जहाँ पल प्रतीपल उदाशी र बेचैनी को भावरेखा थपिंदो थियो ।

No comments: