Saturday, January 28, 2012

पर्व : सरस्वती आमाको जय!!

आज सरस्वती पूजा !

सरस्वती आमाको जय!!


सरस्वती पूजाका दिनका यादहरु पनि अरु ऐन मौकाका दिनहरु जस्तै वाल्यकालका नै प्रिय हुँदारहेछन् ।


उमेरका खुड्किलाहरु जतिधेरै उक्लिंदै गइन्छ उतिधेरै यस्ता विषेश मौका पर्वका दिनहरुको रमाईलो र महत्ताबाट विमुख हुँदै गइने रहेछ ।


आफु ब्लगर भएको नाताले अथवा आफ्नो पनि ब्लग भएको नाताले मैले यसपाली सरस्वती पूजाको दिनको टाँसोलाई आफैंले कमसेकम एउटा ब्लग लेखें भन्न सक्ने हिसाबले संस्मरणहरु जोडेर लेख्नेछु भन्ने सोचेको थिएँ तर........ तर अब सरस्वती पूजा जस्तो अक्षर प्रेमीहरुको महत्वको दिन पनि ब्लग लेख्नलाई अवसर हुन छोडेको अवस्थामा पुगिएछ ।


यो सत्य थाहा पाउँदा भित्र दुखेर आएझैं भयो मलाई । तसर्थ यसपाली पनि ब्लगमा सरस्वती पूजाको दिनको मिती सम्म अंकित गर्ने जमर्कोमा पुग्नसकें ।


यसपाली सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा सरस्वती पूजाको चहलपहल  पढ्न लेख्न पाउँदा निक्कै हर्क लाग्यो मलाई । धेरै अक्षर प्रेमीहरुले सरस्वती पूजाको अवसरलाई फेसबुकमा उल्लेख गर्नुभएको छ । साँझ काममा छँदै मैले पनि सेलफोनबाटै सरस्वती पूजाको संदर्भमा यो स्टाटस लेखेको थिएँ फेसबुकमा
सरस्वती माताको जय !
(हामीलाई सानोमा स्कूलबाट सरस्वती सेलाउन जाँदा सरहरुले 'सरस्वती माताकी जय !' भन्न सिकाउनुहुन्थ्यो । त्यसैले हो कि अहिले '..माताको..' भन्दा अप्ठ्यारो लाग्दोरहेछ ।)



यो भन्दा पाँच वर्ष अगाडी मैले कोलोराडोबाट ब्लगर भएर पहिलो पटक सरस्वती पूजाको ब्लग लेखेको रहेछु । सरस्वती पूजाको चकमन्नता मैले कसरी महसुस गरेको थिएँ त्यो बेला यहाँ त्यस ब्लगको केहि अँश साभार गर्दछु -

हिंजो कान्तिपुर लगायत निक्कै अनलाईन नेपाली पत्रीकाहरु हेरें तर कतै पनि सरस्वती पूजाको बारेमा 'स' पनि लेखेको नभेट्दा अझ दुख लाग्यो । सबैमा त पसिंन तर पसेजति ब्लगहरुमा पनि कुनै ब्लगरले सरस्वती पूजाको बारेमा लेख्नु भएको छैन । सायद सरस्वती पूजाको कसैलाई महत्व छैन अब । कि देशको बर्तमान परिस्थितीले सबैलाई बिर्सायो कि? कि धर्मनिरपेक्षताको कुराले भुलायो? जे होस , धेरै अर्थमा मान्छेहरुले बिर्षिदै गए होलान । अनि राजनैतिक गज्याङमजाङले पनि यस्तो कुराहरुलाई ओझेल पार्यो होला । ........


पाँच वर्ष अगाडि सन् २००७ को मेरो उक्त ब्लग यहाँ गएर पढ्न सक्नुहुनेछ । त्यसपछि आफ्नो पनि उहि ताल देखिएको छ । दोश्रो पल्ट सन् २००९ मा अलास्काबाट छोटो ब्लग लेखेको रहेछु सरस्वती पूजाको । त्यहाँ पनि सरस्वती पूजाको चालचुल नभएको गुनासो नै रहेछ ।


आफ्नो पर्व संस्कृतिका यस्ता महत्वपूर्ण दिनहरुको महत्व चुलिँदै जाँदा हामीलाई घाटा हुन्न । सरस्वती पूजाको महिमा बढ्दै जाओस् ।




माता सरस्वतीले अक्षर प्रेमी हामी सबैलाई थप लगन प्रदान गरुन्  हामीलाई त्यहि उनको आशिर्वाद हुनेछ ।


अक्षर चिन्नबाट वञ्चित वालवालिकाहरुले कुनै हिसाबले अक्षर चिन्ने(स्कूल जाने) अवसर पाउन् - यो मेरो कामना छ ।
अन्त्यमा सरस्वती पूजा/श्रीपञ्चमी/वसन्त पञ्चमीको शुभकामना सबैलाई ।

आमा सरस्वतीको जय होस् !! जय होस् !! जय होस् !!

Saturday, January 21, 2012

कविता : समुद्र किनारमा एउटा प्रश्न



समुद्र किनारमा एकरात म कालो छायाँ बनेर खसें
छप्लङ्ग छप्लङ्ग मेरा अनगिन्ति छायाँहरु
बगरमा त्यहिँ शब्द गर्दै ओहोर दोहोर गरिरहे
जहाँ बालुवामा रत्ति प्यास थिएन
अघि नै भिजेको बालुवा कठै!
लगातार बलात्कृत भइरहयो
म कालो छायाँ खसिरहें लगातार
निशब्द उत्तानो पल्टिएको चिसो बालुवा माथि ।

 

परबाट विमानस्थलतिर ओर्लन हिँडेको हवाईजहाजले
उज्यालोको एकमुस्लो धून मेरो सामुन्ने खसायो
तिर्मिर तिर्मिर लहराएको समुद्र
एकैछिनको उज्यालोमा पनि मीठो मुस्कुरायो
अहो! चन्द्रमा हराएको यो कालरात्रीमा पनि
समुद्र कसरी हाँस्न सकेको?
उज्यालोमा नरमाउने कोहि होला के सायद?

 

छालले नभेटेका फुर्फुर शुष्क बालुवाहरुले साउती मारेर सोधे
'ए वैरागी, म पो गतिहीन त
प्यास बोकेर अर्को सुनामीको कामना गर्दैछु
गतिशील तिमी किन मसँगै सुनामीको सपना देख्छौ?
सुनामीले पुरिएर समुद्रको गहिराईमा डुबेपनि
सुनामीसँगै सोहोरिएर पानी भन्दा टाढा मरुस्थलमा पुगेपनि
म आफ्नो गतिहीन वालुवा अस्तित्व ज्युँ का त्युँ राख्न सक्छु
के तिमी सुनामी पछि तिम्रो गतिशील मनुवा अस्तित्व जोगाउन सक्लाउ ?

 

एक धर्सो उज्यालो साथै लिएर विमान अलप भैसकेपछि
जतिबेला लाजले मेरो शिर शुष्क बालुवा सामु झुक्यो
त्यतिबेला समुद्र किनारमा एउटा प्रश्न झर्यो
कति चैं अँध्यारोको मारले मेरो नाम 'दीपक' जुर्यो होला?
त्यसपछिका दिनमा त्यहि प्रश्नले क्रमश उमारीरहेछन
अनेक अनेक अमिवा प्रश्नहरु जीवनभरीको निमित्त ।

***
२१ जनवरी २०१२
किहे, हवाई
 ***

Monday, January 16, 2012

कथा : चरिअमिलो

सँधैं झैं त्यो बिहान पनि एउटा नियमित बिहान थियो । उसैगरी घाम झलमल्ल लागेको । पश्चिमतिरबाट मन्द तर बाफिलो समुद्री हावा चलिरहेको । बाह्रै महिना एकै मौसम रहने हवाईमा हरेक दिन नै बोटवृक्षहरु एकैतमाशले हरियापरिया भएर हाँसिरहेका हुन्छन् । फूलबुट्यानहरु सँधै उसैगरि खिल्खिलाईरहेका हुन्छन् । चराचुरुङ्गीहरु सँधै आफ्नै आफ्नै लयमा मग्नमस्त चिर्बिर गाईरहेका हुन्छन् । अन्यत्र विविध परिवर्तित मौसममा रमाएर आउनेहरुलाई सुरुसुरुमा हवाई मनोरम र उत्तम स्थल लागेपनि रहँदै बस्दै जाँदा यहाँको एकतमासको वातावरण कटु हुँदै जानेरहेछ । कदाचित् म यस्तै महसुस गर्न थालिसकेको थिएँ ।

बाह्रै महिना फुलिरहने रातो शिरिषले, बाह्रै महिना फलिरहने आँपले, बाह्रै महिना उपलब्ध भईरहने भुईँकटहरले, बाह्रै महिना पाईरहिने नरिवलले र बाह्रै महिना रहिरहने हरियालीले मात्र मान्छेको तिर्सना कहाँ मेटिंदो रहेछ र? कताकति दिग्दारीले मेरो मन पनि भुट्भुटिन थालेको थियो ।

एकोहोरो दिनचर्याको दिग्दारीबाट उन्मुक्त भई त्यसदिन विहान शर्मिलासँग टाढा कतै जंगल पर्वततिर गएर ताजा स्फुर्ति प्राप्त गर्ने ध्येय थियो मेरो । आँङ्ग चिर्चिराउने गरि चरक्क घाम लागेको बाहिरफेर भर्खर उठेको आँखाले हेर्न नसकिने गरि धपक्क थियो ।

'कस्तो होला, आज त थोपो छिटो हावा पनि नचलेको ।' पार्किङ्ग लटमा नपुग्दै शर्मिलाले वातावरण प्रति गुनासो पोखिन् ।

'हावाको न थोपो हुन्छ न छिटो, अनि कसरी चल्छ त थोपोछिटो हावा?' मैले मनमनमा मात्र भनें प्रकटमा केहि बोलिनं । म स्वयं वातावरणको एकोहोरोपनाले दिग्दारिएको थिएँ ।

स्फूर्ति विहिन मैले गाडी स्टार्ट गरें । पार्किङ्ग लटबाट निस्कँदा स-सानो सभाकै निमित्त भेला भएझैं पार्किङ्ग लटभरि जम्मा भएका केहि बथान ढुकुरहरु केहि उडेर तितरबितर भए केहि हिँडेरै छेउ लागे ।

हाईवे समातिसकेपछि शर्मिलाले सोधिन्, 'आजको हाम्रो गन्तब्य चैं कहाँ हो?'

मैले पुलुक्क उनलाई हेरें । उनि पर पर सम्म फैलिएको भुईँकटहरको खेतलाई एकतमाश हेर्दै थिइन् ।

'हामी हाना जाँदैछौं । भनिनं र मैले?' संक्षिप्त जवाफ दिएर सोधें ।

एक अफसोस् पूर्ण नजर टेकाईन् उनले म माथि । बोलिनन् केहि तर मैले उनको मुहारको भावाब्यक्ति पढ्न सकें 'कहिले के कुरा भैसक्नु भन्दा अघि नै भन्नुहुन्छ र मलाई?'

'सही हो । म सँगै रहनुबस्नु पर्दा जो कोहि सहयात्रीलाई पनि अप्ठ्यारो छु । म भित्रको यस प्रकृतिको घानमा सबै भन्दा धेरै पर्ने त पक्का तिमी नै हौ । सरी है ।' मनैमनमा आफ्नो आलोचना गरें र माफी पनि मागें । तर प्रकटमा फेरि पनि सरी सम्म भनिंन । म धेरैसँग यसरी नै मनले सरी भनेर माफि मागिरहेको हुन्छु तर सम्बन्धितले बुझ्छन् कि बुझ्दैनन् खै?

उनका दृष्टिहरु अझै पनि भुँईकटहरको खेतमै एकोहोरिएका थिए । 'मैले पाईनापलको यत्रो ठुलो खेति कैले पनि देखेको थिईंन ।' झ्यालबाट उसैगरि परपर हेर्दै उनले भनिन् ।

'हो कि? मैले पनि देखेको थिएन ।' सहमती थपें मैले ।

'त्यसो त हामीले संसार नै कति देखेका छौं र?' एकछिन बिसाएर फेरि भनें मैले ।

'हो नि है?' यता उनको सहमती आयो ।

मावि टापूको पूर्वी खण्डमा पर्ने हाना रोड प्रविष्ट भैसकेका थियौं हामी । अनन्त फैलिएको प्रशान्त महासागरलाई देब्रे पारेर भीमकाय पहाडको पेटैपेट हिँडेको हाना रोडमा ड्राइभ गर्नु मात्रै पनि यात्राको भरपूर आनन्द उठाउनु सिद्ध हुन्थ्यो । एकै थेग्लो बादल समेत नभएको सफा नीलो आकाश, उस्तै गहीरो नीलो समुद्र, हरियालीले भरिपूर्ण पहाड र घना जंगलको संगतमा पुग्दा मलाई संसारमा कतै छल, कपट, ईर्ष्या, ईवि भन्नै कुरानै छैन झैं अपूर्व मंगलको अनुभुति हुँदैथियो । धेरै घुमाउरा घुम्तिहरु र एउटा मात्र गाडी छिर्न सक्ने थुप्रै साँघुरा पूलहरु पार गर्दै हामी सम्भव भएसम्म दृश्यावलोकनको निम्ति उपयुक्त तय गरिएर सडक छेउमा चिन्ह राखिएका हरेक स्थलमा रोकिंदै अघि बढ्दै गयौं ।

नयाँ स्फूर्ति प्राप्त गरिसकेको शरिरले प्रकृतिको मनोरम छटासँग खेल्दै हामी वाईलुवा फल्स पुगेका थियौं । खास केहि थिएन वाईलुवा फल्स । सडक भन्दा केहि भित्र निक्कै अग्लो डाँडाबाट झरेको पातलो झरना र फेदमा सानो तलाउ । नेपालमा भएको भए यसको नाउँ पक्का पात्ले छाँगो हुन्थ्यो होला । यस्तै विचार आयो मनमा त्याहाँ पुग्दा । तर अरु ठाउँहरु भन्दा निक्कै धेरै मानिसहरु थिए त्याहाँ । झरनासँग तस्वीर खिचाईरहेका धेरै हँसिला मान्छेहरुको समुहमा हामी पनि उसैगरि सामेल थियौं । तस्वीर खिचाउने र आँखाले झरनाको सुन्दरता पिउने कर्म सकेर गाडीतर्फ फर्किने क्रममा हामी हिँडिरहेको गोरेटोको पारीपट्टी भएको आकर्षक गलैंचा बिच्छ्याईएझैं पाखोले मेरो ध्यान खिच्यो । आउने जानेलाई बाटो छोडिने हिसाबले गोरेटोमा छेउ लाग्दै उभिएर मैले भनें, 'हेरत उ त्यो पारी, गलैंचा ओच्छ्याएजस्तै कति राम्रो पाखो रहेछ । जाउँ है त्यतातिर । मलाई त्यो झार चिनेजस्तै लाग्यो ।'

त्यो हरियो पाखोले मलाई यस्तरी आकर्षित गरिरहेको थियो कि मानौ त्यो पाखो ठुलो चुम्बक हो र म सानो टुक्रा फलाम । साँच्चै नै पनि प्रकृति मेरो लागी चुम्बक हो र म प्रकृतिको लागी चुम्बकिय धातु ।

'रुख, बुट्टा, झार, ढुँगा सबै तपाईंलाई चिनेजस्तै त लाग्छन् । त्यो झार पनि तपाईंको सानोको साथी हो ल । तर त्यता नजाउँ । कोहि ग'का छैनन् ।' शर्मिला मलाई पारीपट्टी जान मनाहि गर्दै थिइन् ।

'कोहि जाउन कि नजाउन, कोहिसँग के सरोकार? मलाई जाउँ लाग्यो नि । जाउँ न प्लिज ।' अनुरोध गर्दागर्दै म गोरेटोबाट केहि तल झरिसकेको थिएँ । तल त्यहि वाईलुवा फल्सबाट तलाउमा झरेको पानी निकाश हुने सानो खोल्सो तर्नुपर्थ्यो तर खोल्सोभरि यमान यमानका ढुँगाहरु हुनाले फट्किंदै पानी नछोई पारी पुग्न सकिन्थ्यो ।

पारीपट्टी पुग्दाको आनन्द अवर्णनिय थियो । पाखोभरी हरियो बाक्लो गलैंचा बनेर बिच्छिएको झार मैले चिनेको मात्र हैन शर्मिलाले भनेजस्तै मेरो बच्चाको साथीझार नै थियो वास्तवमा ।

'ए! यो त चरिअमिलो हो नि, मेरो पो सानोको साथी रहेछ ।' खोल्सोपारी ससानो डीलमाथि उक्लँदै बोलिन शर्मिला ।

'हो र? खोल्सो तरेर यतापट्टी आएको सार्थक भयो उसोभए ।' शर्मिलाले पनि चरिअमिलोलाई आफ्नो सानोको साथी मान्नु मेरो लागि खुसीको कुरा बन्यो त्यो क्षण ।

'हाम्रोतिर तामाका भाँडाहरु टल्काउन यो झारले मस्काउने गरिन्थ्यो म सानो हुँदा ।' मलाई चरिअमिलोको थप परिचय दिँदै थिइन् शर्मिला । म भने चरि अमिलोसँगको आफ्नो बाल्यकालका प्रियपलहरु स्मरण गर्दैथिएँ । तर स्मरणमा आउने पलहरु सबै कहाँ प्रिय हुन्छन् र? चरिअमिलोसँग पनि मेरो एउटा भयानक दर्दनाक स्मृति गाँसिएको थियो । अनेक पटक अनेक कुराहरुले उघार्न खोजिरहने मेरो यस भयानक दुखको क्षणलाई अनेक पटक मैले सम्झन नचाहेर मानसपटलमा ताल्चा ठोकेको थिएँ तर आज चरिअमिलोले मलाई यस्तरी गलाईछाड्यो कि म चाहेर पनि त्यस दुखपूर्ण पललाई स्मरण नगरि नसक्ने भएँ ।

.....................................।

अहो! त्यो दिन, आज सम्झँदा पनि मेरो मुटु ढक्क जमेझैं हुन्छ एकक्षणलाई ।

त्यसदिन म चारआलीको डाक्टरको भुमिकामा थिएँ । उपचारमा मलाई सहयोग गर्न नर्सको भुमिकामा गंगा थिइन् । जेसुकै खेल्दा पनि म गँगालाई आफ्नो पट्टि नै राख्थेँ ।  मसँग मिल्ने मात्र नभएर मैले जे भन्यो त्यो खुरुक्क मान्ने भएकोले गँगालाई अर्कोपट्टि पारेर म कहिल्यै खेल्न मान्दिनथिएँ । खास गरेर बिहेगरि खेल्नुपर्दा म आफु बेहुला र गँगालाई बेहुली बनाएर मात्र खेल्न राजी हुन्थेँ । अरु बेहुला बेहुली हुनेभए भने म खेलमै सामेल नहुने धम्किदिन्थेँ । कुनैदिन क्यै गरेर मेरो दाल गलेन भने पनि म आफु दुलाहा नबनेको बखत गँगालाई दुलही बन्न दिदैनथिएँ । एकहिसाबले त्यसबखत गँगामाथी म आफ्नो सम्पुर्ण अधिन भएको सम्झन्थेँ ।

गँगा र  म त्यसदिन चारआलीमा थियौं । दुईवटा बाँसझ्याङ्गको बिचमा रहेको केहि खाली ठाउँमा यौटा जुटको बोरा बिरामी सुताउने बेड बनाएर हालेका थियौं । गँगाको र मेरो आ-आफ्नै खोसेलाको पिह्रा थियो डाक्टर र नर्स बस्ने कुर्शीको रुपमा । डाक्टर र नर्सको लगाउने लुगा सेतो हुन्छ भनेर त्यसदिन हामी दुबैले स्कूलको सेतो शर्ट लगाएका थियौं । मसँग हजुर आमाले आँखामा लगाउने गर्नुभएको झोल औषधीको साना साना निक्कै खाली सिसीहरु र त्यसको कागजको बट्टाहरु प्रसस्त थिए । सिसीहरुमा पानी भरेर गँगाले एक लहर मिलाईसकेकि थिइन् भने अर्को लहर कागजका बट्टाहरु मिलाईएको थियो । अरुपनि साना साना टिनका बट्टाहरुमा धुलोमुलो लगायतका औषधीहरु भरेर लहर मिलाएर राखिएको थियो । चारआलीको भनिएको बाँसझ्याङ्गको हाम्रो अस्पताल हेर्दा साँच्चै नै स-सानो औषधी पसल जस्तै लाग्थ्यो ।

अर्कोपट्टी खेल्ने अरु साथीहरु आँखाले नदेखिने तर बोलाउँदा सुनिने दुरीमा परालको ढेडी नजिकै सितापुरी भनिएको ठाउँमा थिए । त्यसदिनको खेलमा सितापुरीको एकजनालाई विषालु सर्पले डस्ने र उपचारको निमित्त चारआली ल्याउने अनि चारआलीमा म आफैं भएको डाक्टर र गँगा नर्सले उपचार गरेर सर्पले डसेको विरामी ठीक पार्ने तय भएको थियो ।

त्यसताका साँच्चै पनि हाम्रो गौरादह क्षेत्रमा कसैलाई सर्पले डस्यो भने उपचारको निमित्त चारआली पुर्याउनु पर्थ्यो । हामीले थुप्रै पटक रातबिरात सर्पले डसेको विरामीलाई उपचारको निम्ती चारआली लगिएको, कति बचेर फर्केको त कति पुर्याउँन नपाई शरिरमा विष फैलेर मरेको देखेसुनेका थियौं । त्यसैको प्रभाव हुनसक्छ हामीले त्यसदिनको खेल पनि त्यसै अनुरुप खेल्ने नीधो गरेका थियौं ।

गँगा र मैले हाम्रो अस्पतालमा आवश्यक कुराहरु जुटाउँदा जुटाउँदै अर्कोपट्टी खेल्ने साथीहरु मध्ये केसुले कराएर सोध्यो, 'ओई दीपक, तिमर्को रेडी भयो? हामी आउने है अब बिमारी ल्या'र ।'

'नाईं नाईँ एकछिन् पर्ख, हाम्रो सबै रेडी भ'को छैन ।' गँगाले कराएरै जवाफ दिईन् ।

'भयो भयो, अब के चाहिन्छ र?' म, घाँटीमा सानो जुटको डोरीको स्टेथेस्कोप हालेर डाक्टरको कुर्शी भनिएको खोसेलाको पिह्रामा बसिसकेको थिएं, गँगाले मात्र सुन्ने गरेर बोलें ।

'अँ होला? याँ मैले सर्पले टोकेको दबाई नै ल्याउन बाँकी छ । ल्या'र तेल्लाई पिन्नु परो, अनिमात्र रेडी हुन्छ ।' गँगाको जवाफ मलाई थियो ।

त्यसबेला खेल्दा चरिअमिलोलाई हामी सर्पको दबाई बनाउंथ्यौं । सर्पले टोकेको ठाउँमा चरिअमिलोको लेप लाएर त्यसमाथि घोटेर कौडा आकारमा ढालिएको अँगार राखेर सर्पको विष निको पार्ने गर्थ्यौं हामी । कालो अँगारलाई चैं हामी झारमौरो भन्थ्यौं ।

चारआलीका डाक्टर र नर्स बनेर खेले पनि उपचार गर्दा भने गाउँ गाउँमा सपेराले सर्पको विष झार्ने जडीऔषधी भन्दै डुलाउँदै बेच्ने झारमौरोको काईदालाई अपनाएका थियौं । हुनपनि हामीले त्यसबेला चारआलीमा सर्पले डसेको विरामी लगेको थाहा पाएका थियौं तर त्याँहा डाक्टरहरुले कस्तो विधीले उपचार गर्छन् भन्ने त हामीलाई थाहा थिएन ।

अर्कोपट्टी खेल्ने साथीहरु कराउन थाले, 'छिट्टो गर, हाम्रो विरामीलाई सर्पले टोकिसक्यो । अब छिट्टो ल्याएन भने बाटैमा मर्छ।'

अर्कोपाटीले अत्याउन थालेपछि मैले आफ्नोपट्टी तयार नहुनुको झोँक गँगामाथि निकालें, 'यो त नर्स भ'कि पनि के गर्छे गर्छे, यत्रो बेरसम्म सर्पको दबाई पनि ल्या'कि छैन र'छे । जा छिट्टो ले'र आइज ।'

मेरो आदेश पालन गर्दै गँगा फाल तोडेर दौडिन् । सर्पको दबाई भनिएको चरिअमिलो लिन हामीले खेल्दै गरेको स्थानबाट केहि पर धान खेतको डीलसम्म जानुपर्थ्यो । त्याँहा निक्कै झाडी र डीलैमा यौटा पाडारीको रुख थियो ।

'पाडारीको रुख भा'ठाउँमा गएर छिट्टो ले है ।' गँगा दौडीसकेकि भएपनि मैले फेरि अह्राएँ ।

यता म डाक्टरको कुर्शीमा पलेँटी मारेर बसिराखेको बखत अर्को पट्टीका साथीहरुले सर्पले डसेको विरामी ल्याईपुर्याए ।
उनिहरुले विष्टको ज्ञानेलाई सर्पले टोकेको विरामी बनाएका थिए । उसको एउटा नली खुट्टामा रातो रगत जस्तै थोरै रंग लगाएर सर्पले टोकेको ठाउँ बनाएका थिए र सर्पले टोकेको ठाउँदेखि माथी पारेर पाँसुलामा र तिघ्रामा गरेर तीन ठाउँमा पटासीले टन्टनी कसेर बाँधेका पनि थिए ।

केसु विरामीको बाउ बनेको थियो । थोत्रे ढाकाको टोपी लगाएर उ घरी घरी खुइय खुइय गर्दै थियो । गाउँले बनेर दुर्गे, भन्डारीकि विना, चन्द्री माईला आदि आएका थिए । उनिहरुले डाक्टरको टेवल भनिएको जुटको बोरामाथि विरामीलाई लम्पसार सुताए र 'छिट्टो दबाई गर्नुपरो डाक्टर सा'ब, नत्र हाम्रो बिमारी मर्छ' भन्न थाले ।

विरामी बनेको ज्ञाने पनि साँच्चै सर्पले नै डसेको हो कि कै भाँती पारेर आलसतालस भएको, ओईलिएर लल्याकलुलुक भएको अभिनय गर्दैथियो ।

म भने सर्पको विष झार्ने दबाई लिन गएकि गँगा नफर्किएकिले रीसले आँखा देख्नै छोडिसकेको थिएँ । तर त्यसबेला खेलमा अर्को पट्टीका साथीहरुलाई रीस देखाउन पनि मिल्ने थिएन मैले । रीस देखाउन मिल्ने आफ्नो पट्टीकि गँगा अझै फर्केकि थिईनन् त्यसैले उपाय रचेर मैले भनें, 'लु बिमारीलाई फड्को भैसकेछ । पैले शीतल पार्ने दबाई गर्नुपर्छ ।'

यौटा भाँडोमा पानी राखेर सानो टालो भिजाएर राखेको थिएँ मैले । त्यहि टालो निचोरेर विरामीको निधारमा राखिदिएँ र विरामीका आफन्तलाई पँखा हम्कन अह्राएँ । विरामीको बाबु बनेको केसु बाँसको खबडाको पँखा बनाएर विरामीलाई हम्कन थाल्यो  । म उपचारको अरु प्रक्रिया तयार गर्न थालेँ ।

'मलाई त साँच्चै सर्पले टोक्यो कि क्या हो?' हातमा एकमुठो चरिअमिलोको लहरो बोकेर गँगा आईपुगीन् ।

'टोक्छ टोक्छ तँलाई सर्पले, याँ बिमारी मर्न आँटीस'को । कति ढिलो गरेकि । खै ले यता त्यो दबाई, आज पिन्नु पर्दैन एत्तिकै लगाउने ।' मैले गँगाको हातबाट चरिअमिलो झम्टेर लिएँ र हातैमा माड्न थालेँ ।

'हो भनेको के । यी याँ हेर त, कस्तो पोल्दैछ ।' उसले खुट्टाको त्यहि भागमा सानो खोस्रिएको जस्तो दाग देखाई जहाँ ज्ञानेलाई सर्पले टोकेको बनाएर रंग लगाइएको थियो ।

चरिअमिलो हातमा माड्दै मैले गँगाको खुट्टामा नियाँलेर हरेँ त्याँहा थोरै रगत पनि निस्किएको जस्तै देखिन्थ्यो ।

'ए, तँलाई सीरुको टुसाले घोचेछ । पर्खी, पैले यो बिमारी जाती परेर तेरो पनि दबाई गर्छु म ।' गँगालाई पर्खन लगाएर मैले ज्ञानेको सर्पले टोकेको नक्कली घाउमा चरिअमिलो राखेँ र अँगारको झारमौरो पनि राखें र भनेँ, 'अब पाँच मिनेटमै सर्पको बिख झर्छ र जाती हुन्छ ।'

यता गँगा साँच्चीकै आलसतालस भईन् र तिर्खा लाग्यो भन्न थालीन् । मैले खेल्ने ठाउँमा पिउन मिल्ने पानी पनि राखेको थिएँ यौटा सिसाको बोतलमा । गँगालाई त्यहि दिएँ । उनले जन्म जन्म देखिको प्यास मेटाउन पिए जस्तै बोतलको पानी घट्घटी पिएर रित्याईन् ।

'साँच्चै टोकेको हो कि क्या हो दीपक? ठुलो मान्छेलाई बोलाउनु पर्छ होला ।' केसुले गँगालाई साँच्चै सर्पले डसेको हुनसक्ने अनुमानमा भन्यो ।

'होइन होइन, एल्लाई तिर्खा लागेर त्यस्तो भ'को । अब म दबाई गर्छु यस्को ।' मैले विश्वस्त पारें ।

ज्ञानेको शरिरबाट सर्पको विष झरिसकेको थियो । मैले उसको खुट्टामा कसेर बाँधिएको पटासी खोलिदिएँ । उ उठ्यो । तर विरामी ल्याउनेले उपचार गराएको पैसा तिर्न नपाई गँगा लम्पसार परेर सुतिन् र पेट पोल्यो भनेर छट्पटाउन थालीन् । केसु ठुला मान्छे बोलाउन जान तम्सिंदैथियो ।

'ए यस्ता मुला सर्पले नै टोकेको भएपनि म सर्पकै डाक्टर त हो आज । जाती पारिहाल्छु नि अब । बोलाउनु पर्दैन ।' मैले रोकेँ । केसु र म भएर गँगालाई जुटको बोरापट्टी सार्यौं र मैले घाँटीमा स्टेथेस्कोप बनाउन झुण्ड्याएको डोरीले गँगाको खुट्टामा बाँधे ।

'मलाई साँच्चै सल्पले तोकेको होला । अब मलेँ भने के गल्ने?' बोरामा लम्पसार परेकि गँगा एकाएक तत्याङ्ग्रिएर बोल्न थालीन् । उनको जिब्रो लट्पटिसकेको रहेछ । तर म भने साँच्चैको डाक्टर नै भए जस्तै केहि हुँदैन, म जाती पार्छु भन्दै चरिअमिलो माडेर उनको खुट्टाको घाउमा राख्न थालेँ ।

गँगाले फेरि पानी मागिन् । हामीसँग त्याँहा अरु पिउन मिल्ने पानी थिएन त्यसैले मैले ज्ञानेलाई अघिकै बोतल दिएर अह्राएँ, 'जा यस्मा पानी लिएर आइज ।'

ज्ञाने बोतल लिएर पानीलिन घरतिर गयो । यता गँगा झन छट्पटाउन थालीन् । उनको अनुहारको रंग नै अर्कै हुँदै जाँदैथियो । म भने आफ्नै हिसाबले उनलाई उपचार गर्न अझै जुटिरहेको थिएँ । गँगा आँखा हेर्नै छाडेर नबुझिने गरि लर्बराएको स्वरले बर्बराउँदै थिईन् ।

पानीलिन गएको ज्ञानेसँग हस्याङ्ग फस्याङ्ग गर्दै उसको ठुल्दाजु पनि आउनुभयो । ज्ञानेले गँगाको बारेमा सबै बताईसकेको रहेछ उसको ठुल्दाजुलाई । गँगालाई देख्ने बित्तिकै आत्तिएर भन्नुभयो, 'कतिबेला टोकेको? किन अघि नै तिमर्ले ठुलामान्छे नबोला'को?'

'मैले बोलाउन खोजेको यै दीपकले म दबाई गर्छु केहि हुँदैन भनो र नबोला'को ।' केसुले यथार्थ बतायो तर मलाई उसले पोल लगाएको जस्तै महसुस भयो । अब खेलको स्वादमा गर्याम् गर्याम् बालुवा मुक्याएझैं भैसकेको थियो मलाई । खेल खेल नरहेर ठुलो दुर्घटनामा रुपान्तरित भैसकेको थियो ।

'तेरिमा साले तँ खुब डाक्टर हुने? पख्लास् तँलाई यस्लाई केहि भयो भने पुलिस् बोला'र तँलाई झ्यालखाना नपठाई त....' ज्ञानेका ठुल्दाजुले मेरो गालामा एक झाप्पु कस्नुभयो र गँगालाई बोकेर दौडिनुभयो ।

केसु, ज्ञाने र अरुहरु पनि पछि पछि दगुरे । म केहिबेर तिरिमिरी झ्याँई तोरीको फूल देखेर रन्थनिईरहें र केहिबेरमा लुसुलुसु उतै लागें ।

वरपर निक्कै हाईहुई, हल्लीखल्ली भयो । राईकि गँगालाई सर्पले टोक्यो रे भन्दै मान्छेहरु गँगाको घरतिर दगुर्न थाले ।

गँगाको घरको आँगनमा झुरुम्म मान्छेहरु भेला भैसकेका थिए । गँगालाई आँगनमा लडाईएको थियो । भेला भएका मान्छेहरुले शरिरभरी सर्पको विष फैलिसकेको र प्राण पखेरु उडिसकेको ठहर गरिसकेका थिए । गँगाकि आमा 'मेरि रानी, मेरि पुतली जस्ति छोरी यो तिमीलाई के भयो? हे दैब.....' ईत्यादि भन्दै छाति पिट्दै, मजेत्रोले अनुहार पुछ्दै रुँदै थिइन् । म आँगनमा निस्कन डराएर करेसोमा भएको सिंवीको झालमा छलिएर अपराधिझैं सबै दृश्य हेरिरहेको थिएँ ।

भेलाभएका मान्छेहरु केसु, ज्ञाने र अरु खेलका साथीहरुलाई के भयो कसरी भयो भनेर सोधिखोजी गर्दैथिए । उनिहरु पालैसँग यस्तो यस्तो भयो भन्दै परि लाउँदै मलाई दोषी देखाउँदैथिए । सिंवीको झालमा लुकेको म भने अब पुलिस आउनेछ र मलाई बाँधेर झ्यालखानमा थुन्न लानेछ भन्ने भयले श्वास दबाएर थाँक्रो हालेको कुनै रुखको लाथ्रोझैं खडा थिएँ । त्यसबखत मेरो आँखा र कान बाहेक शरिरका अरु सबै अँग निश्क्रिय बनेझैं भएको थियो । म अपराध गरेको र अब उम्कने बाटो पनि नरहेको स्थितीमा थिएँ त्याहाँ । आँखाले पनि पुलिस आएको र सिंवीको झालभित्रैबाट समातिएको दृश्य देख्न थालिसकेको थियो ।

अचानक गँगाको बाउको धोद्रे स्वर मेरो कानमा पर्यो, '....त्यो बरा बालखलाई अब के दोष लाईर'नु? केटाकेटिलाई के थाहा हुन्छ के भ'को हो भन्ने? हाम्री छोरीको लेखान्त नै यत्ति नै रहेछ । .....एकछिन् छुट्टिदैनथे उसंगै खेल्दाखेल्दै जानु र'छ एल्लाई.... ।'

गँगाको बाउको स्वर सुनेपछि मेरो शरिरमा रक्तसञ्चार हुनथालेझैं भएथ्यो मलाई । पुलिस लाएर पकडाउने रहेनछन् भन्ने कुराले ढुक्क भएर लामो श्वास फेरेको थिएँ मैले । एकाएक आँखाबाट तरर आँसु चुहिएर आए । भित्रैदेखि भक्कानो फुटेर आयो । म डाँको छाडेर रुनथालेँ भने मेरो उपस्थिती सबैले थाहा पाउनेछन् र मलाई गाली गर्नेछन् भन्ने भयले त्याँहाबाट धाईफल तोडेर घरतिर दगुरें म ।

घरपुगेर अघाउँजी रोएँ । धेरैदिनसम्म रोएँ । यदाकदा गाउँका ठुला मान्छेहरुले गँगाको मृत्युको दोष मलाई लगाउँदा पनि झन् साह्रो रोएँ म । म ठुलो भैसकेपछि सायदै सबैले यो दुर्घटना विर्षिए तर मैले गँगालाई सम्झिँदा अझैपनि रुन आउँछ मलाई । अझैपनि मैले गर्दा नै गँगा मरेकि हो भन्ने लागिरहन्छ ।

......................................।

'साँच्ची त हामी छ नि, सानोमा चारवटा पत्ता भएको चरिअमिलो खोज्थ्यौ, लक्कि हुन्छ भनेर । हेर्नुस् त यो सबैमा तीन तीन पत्ता भएको मात्र हुन्छ । चारपत्ता हुँदैन है?' अघिदेखि निहुरिएर केहि अनुसन्धान नै गरेझैं गरिरहेकि शर्मिलाले तीनपत्ते चरिअमिलोको टुक्रा म तिर बढाउँदै आउँदा म झसँग भएँ ।

                                                      **********

यो कथा खसखस डटकम मा प्रकाशित भएको छ ।

Tuesday, January 10, 2012

गीत : तिम्रो आँखाको गहिरो पीडा


तिम्रो आँखाको गहिरो पीडा
जो म देखिरहेछु त्यो नहुन सक्छ
आँखा न हो आफ्नै मनलाई छल्ने
मनको दुखमा यो नरुन सक्छ


सँधै हाँस्न खोज्ने ती ओठमा तिम्रा
कोहि साथ हुँदा झन मुस्कान मेटिन्छन्
किन मोड आउँछ जिन्दगीमा यस्तो
जहाँ खुसी सबै ओईलेको भेटिन्छन्


म किनार भएर नदी झेलिरहेछु
तिमी धार बनेर झनै काटिरहन्छौ
जति फूल्न खोज्छन् खुसी मेरा सबै
तिमी दुखहरुसँग साटिरहन्छौ

Sunday, January 01, 2012

कामना : सन् २०१२ को



म पश्चिममा छु
टाढाको पश्चिम, जहाँबाट अर्को पश्चिम छैन
पृथ्वीको सुदुर पश्चिम
ओ पूर्वको पृथ्वी
तिमीले मेरा पूर्वका सबै आफन्त र मित्रहरुसँग
नयाँ वर्ष मनाईसक्यौ
जापानमा
नेपालमा
कतारमा
यूरोप, अफ्रिका र अमेरिकामा
तिमीले देखाएको नयाँ वर्षको यो अनन्त उल्लास
कायम रहोस् 
सुदुर पश्चिममा म यतिखेर
नयाँ वर्ष पर्खिरहेछु
लोकहरु आतिशवाजीमा मस्त छन् 
म गोजीमा थोरै च्याउ बोकेर
२०१२ को ढोका 
मस्तिष्कको अर्को कुनाबाट खोल्न आतुर छु
यस्पाली मैले पनि ईश्वर समात्नु छ
आँखिर शिरमाथी त्यसैपनि १२ बज्नै लागेको छ
यसपटक बाह्रमाथीको बाह्रमा
मेरो यहि कामना हुनेछ कि
ईश्वर नसुन्नेहरुले सुनुन्
सुन्नेहरुले सुनाउन् 
नभेट्नेहरुले भेटुन्
भेट्नेहरुले चिनुन्
र सर्वत्र व्याप्त ईश्वर 
मैले पनि देखुँ 
सन् २०१२ आध्यात्म वर्ष बनोस् 
दुख भोग्न तयार छौं हामी सँधै
यसपाली ईशमय शान्ती प्राप्त होस् !

Monday, December 19, 2011

गजल : आँखिरमा निकम्मा यै प्यार रहेछ

म गजल पनि लेख्छु त्यसैले सायद यसो पनि भन्न सक्छु -  

म घाउ गनि गनि गजल लेख्छु । 
त्यो घाउ दुख्दा पनि गजल लेख्छु ।

गजल लेखिने सवालमा धेरै वहसहरु भएका छन्, हुँदैछन् र अझ हुँदैजानेछन् । गजललाई अनुभुत गर्न सक्ने, थोरै धेरै लेख्ने गरेता पनि गजल के हो? कसरी लेखिनु पर्छ? भन्ने सवालमा वहस गर्नु मलाई मेरो रुचिको विषय लाग्दैन । मेरो हकमा गजल जसरी पनि लेखिन सकिन्छ भन्ने मान्यता राख्छु म । हरेक पटक फरक तरिकाले पनि मेरो गजलको सुरु र अन्त्य हुनसक्छ ।

 पहिल्यै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्दा गजल राम्रो बन्दैन भन्ने धेरै पहिले सुनेर जानेको हुँ । तर सबै जानेसुनेको र सिकेबुझेको कुराले सँधै काम गर्दैन र काम गर्नैपर्छ भन्ने पनि छैन होला । काफिया भेला गरेर गजल लेख्दिंन म भन्नेहरुले त्यसो गर्लान् तर त्यसले सँधै राम्रो गजल नै जन्माउँछ भन्ने विश्वास म गर्दिंन र काफिया भेला गरेर गजल लेख्दा पनि त्यसले सँधै नराम्रो गजल नै जन्माउँछ भन्ने पत्याउँदिंन । तर यसको आसय यो पनि हैन कि हरेक पटक नै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्छु म । भनेकै छु हरेक पटक फरक तरिकाले सुरु हुनसक्छ, फरक तरिकाले अन्त्य हुनसक्छ मेरो गजल । र अर्कोतिर सबभन्दा महत्वको कुरा त यो छ कि म आफुलाई गजलकार देख्नै सक्दिंन । केवल लेख्छु मात्र र गजल हुन्छन् कि हुँदैनन् मैले लेखेका भन्नेतिर उत्तिसारो जान्न ।


मैले पछिल्लो पटक पुरा गरेको गजल त्यसरि नै केहि अगाडी काफियाहरु भेला गरेर राखेको रहेछु । राखेको मात्र हैन राखेर विर्षेको पनि रहेछु । सेलफोनको नोटस् खोतल्दै जाँदा भेट्टाएँ; त्यो त तीनसय एकचालिस दिन अगाडि सेभ गरेर राखेको रहेछु । र आज फेसबुकमा सेयर गरिसकेको त्यहि गजल सेलफोनको नोटमा सेभ गरेको फोटोसहित ब्लगमा पस्किन मनभयो -

आँखिर निकम्मा त यै प्यार रहेछ । 
त्यै र त आँखामा असार रहेछ । 

रोएर उस्लाई खसाउन खोज्ने, 
ईरादा त आफ्नै खुँखार रहेछ । 

कहिल्यै मानिंन उ त भन्ने गर्थ्यो, 
तिमी छिर्ने अर्कै सँघार रहेछ । 

चर्काउँदा देवल म हाँसेको थिएँ, 
तर फुट्ने मेरै निधार रहेछ । 

आज छाँयाले हालखबर सोध्यो, 
छाँयामा उस्कै अनुहार रहेछ । 

निभाएथें दियो सूर्य देखेपछि, 
दीपक नहुँदा अन्धकार रहेछ ।
***

Thursday, December 15, 2011

कथा : महायात्राको आधाबाटो


दन्त्यकथाका राजकुमारहरु जस्तै दुई जवान पौराणिक पुरुषहरुले समातेर मलाई माथि माथि लग्दैथिए । जब बादलको मादक सुगन्ध कपुर जस्तै मेरो नाकमा ठोक्कियो मैले तिनिहरुलाई सोधें, 'के म स्वर्गतिर लगिंदैछु?'

मेरो दाहिनेपट्टिको सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ?'

सामान्य आश्चर्यका साथ मैले सोधें, 'अहो! स्वर्गको बारेमा तिमीलाई थाहा छैन? स्वर्ग भनेको त्यहाँ हो जहाँ दुखको पहुँच हुँदैन । जहाँ ईश्वरहरु रहन्छन् । मानिसहरु पनि यदि असल छन् भने मरेपछि त्याँहा लगिन्छन् ।'

'ए त्यसो हो?' उसले पनि स-आश्चर्य नै भन्यो, 'तिम्रो थोरै बयानमा धेरै कुरा लुकेको छ । छलफल गरौंला बिस्तारै तर पहिले यो भन कि स्वर्ग यहि बाटो जान्छ भनेर तिमीलाई कसरी लाग्यो ?'

म निश्चित थिइँन र भनें, 'मलाई बादलको वस्ती कटाएर लगिंदैछ र स्वर्ग माथि नै हुन्छ होइन त?'

मेरो देब्रे पाखुरा समाउने अर्को सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ? हामी त जान्दैनौं । तर याद राख, जब तिमी यौटा लोक छोडेर हिंड्छौ, तिम्रो निम्ती कुनै तल हुँदैन; कुनै माथि पनि हुँदैन । तलमाथि, कोणहरु र दिशाहरु तिमीहरुले आफ्नो सजिलोलाई बनाएको कुरा मात्र हो जुन तिम्रो लोकमा मात्र चल्ने गर्छ । अब तिमी अनन्तमा छौ । जहाँ समय बाहेक अर्थोक केहिको नाप हुँदैन ।'

बेपर्वाह थिएँ म जे सुकै होस् या केहि नहोस् । बादलको वस्ती नाघिसकेर निक्कैबेर हिँडेपछि चिच्याउँदै म उत्साह बोलें, 'अब ताराहरुको गाउँघरमा पुगिनेछ । चन्द्रमालाई छोएर अघि बढिनेछ । अहा! स्वर्ग कस्तो सुन्दर होला? के चित्रगुप्त बुढा भैसके होलान्? ईन्द्रको हाउभाउ अझै हिजडाकै छ कि?...........।'

डराउनु केहि थिएन म देखि तर उनिहरु हच्किएझैं गरे, 'तिमी कस्को कुरा गर्दैछौ? तिनीहरु कसैलाई हामी चिन्दैनौं र हामी तिमीलाई कुनै स्वर्गतिर पनि लग्दैछैनौं । तिमीलाई त हामी आत्माहरुको रिसाईकल सेन्टरतिर लगिरहेछौं । जहाँ ठुला ठुला ज्योर्तिमय पुञ्जहरुको कन्टेनरमा तिम्रो आत्मालाई राखिनेछ र तिम्रो आत्मा उपर अध्ययन पश्चात तिमीलाई उपर्युक्त जीवनमा प्रवेश गराउन फेरि तिम्रै लोकमा फिर्ता लगिनेछ ।'

उनिहरुको यो कुराले भने म बेपर्वाह रहन सकिंन । निश्चितता प्राप्त गर्न सोधें, 'तिमीहरु मसँग दिल्लगी गरिरहेको होलाउ, हैन? किनभने मलाई थाहा छ तिमीहरु चित्रगुप्तको कारिन्दा हौ । मलाई तिमीहरुले चित्रगुप्तको सम्मुख लग्नेछौ र चित्रगुप्त मेरो पाप पूण्यको.......।'

'फेरि को चित्रगुप्त?' ठुलो उँचो स्वरमा साँच्चै रिसाएर एउटाले भन्यो, 'को चित्रगुप्त भनेको? हामी चिन्दैनौं चित्रगुप्त सित्रगुप्त ।'

मैलेपनि उसले जत्तिकै रीस देखाएर आफ्ना आँखा ठुल्ठुला पार्दै र अझ नाकका पोरा फुलाउँदै भनें, 'चित्रगुप्त भनेको यमराजको बैदार हो । मैले त तिमीहरु त्यहि बैदारको पनि चपरासी सपरासी होलाउ भन्ठानेको । तर तिमीहरु चित्रगुप्तलाई पनि चिन्दैनौ भने के को आधारमा मलाई जबर्जस्ती मेरो पाखुरा समातेर लग्दैछौ? ......तेरिमा झ्याँक्ने हो, तिमीहरु त यता माथितिरका अपहरणकारी जस्तो पो छौ । अब मलाई तिमीहरुको आइडीकार्ड देखाउ । हैन भने मलाई यसरी पाखुरा समातेर अपहरणको शैलीमा कहिँ लैजान पाउँदैनौ ।'

बादलको वस्तीहरु काटेर निक्कैबेर हिडीसक्दा पनि म ताराहरुको गाउँघर नजिक नपुग्दा अर्कोतिर क्रोधित हुँदैथिएँ । म सोच्दैथिएँ कि ताराहरुको गाउँ नजिकबाट हिंडीरहँदा पृथ्वीलाई तल सानो सानो डल्लो जस्तो देख्नेछु तर जहाँबाट मलाई हिँडाईदैथियो त्याँहा नजिकमा न ताराहरु थिए न चन्द्रमा न पृथ्वीनै ।

'हामीले तिम्रो पाखुरा समातेका छैनौं । तिमीलाई छोएका पनि छैनौं । पाखुरा साखुरा तिम्रै लोकमा छोडेर केवल आत्माको रुपमा यहाँ आएका छौ तिमी...', अर्को अलि विनित बनेर बोल्यो, 'हेर हामीले स्वर्गफ्वर्ग पनि केहि देखेका छैनौं । चित्रगुप्त, यमराज स्यमराजहरु पनि चिनेका छैनौ । कल्पकल्पान्त भैसक्यो हामीले यहि कार्य गर्दै आएको । आजसम्म हामीलाई कसैले परिचयपत्र पनि मागेको थिएन । हामीलाई परिचयपत्र दिने निकाय नै छैन त्यसैले हामी परिचयपत्र देखाउन समर्थ छैनौं । त्यसउसले तिमीले यो व्यर्थको विवाद र वहस झिक्नु कत्तिपनि उचित छैन ।'

'...तर म तिमीहरुलाई को भन्ठानेर तिमीहरुको पछि लागेर जानु? तिमीहरुलाई मेरो आत्मालाई ज्योर्तिमय पुञ्जको कन्टेनरमा राखेर अध्ययन गर्ने अधिकार दिने को हो? सर्वोच्व बेगरको कुनैकुराहरु हुँदैन कहिँपनि भन्ने कुरा थाहा छैन तिमीहरुलाई? तिमीहरुको सर्वोच्व को हो, के हो? गैह्रकानुनी हिसाबले त्यसै तिमीहरु मेरो आत्मालाई ल्याएर त्यसमाथि शोध गर्न खोजिरहेका छौ कि? या त यमराज ईत्यादिहरुसँग फिरौती रकम असुल्नलाई मलाई बन्धक बनाउन खोजिरहेछौ?'

अहँ मेरो रीस पट्टक्कै शान्त भएन । बरु मेरो त झन् भन्दा झन् रीसको पारो चढ्दै गयो । हुनपनि मेरो देह अहिले नै फेर्नुपर्ने गरि पुरानो भैसकेको थिएन । जवानी मै छँदैथिएँ म । तर आफ्नो प्रेमको समाप्तीको पीडा सहन नसकेर आफैंले त्याग गर्न चाहेको थिएँ आफ्नो देहलाई । बाचुञ्जेल आफुले कसैको पनि कुभलो बन्दै नगरेको हुँदा जुनसुकै कारणले भएपनि शरिर छाडेर गैसकेपछि मलाई स्वर्गमै जाने ईच्छा थियो र स्वर्गमा स्थान पाउँन योग्य उम्मेद्वार भन्ठान्थें म आफुलाई तर ईच्छित महायात्राको विचमै मेरो ईच्छामाथि कुठाराघात हुने ठहर्यो । महायात्रामा जस्को साथ म हिंड्दैथिएँ तिनीहरु स्वर्ग देखेसुनेकै छैन भन्ने किसिमका निस्किए । हेर्दा पौराणिक पुरुषझैं दिव्य देखिने यी दुई को हुन त? र मलाई कहाँ लाँदैछन्? केहि खुट्याउन नसकेपछि म अड्डी कस्न थालेको थिएँ ।

'म स्वर्ग प्राप्त गर्छु भनेर ढुक्क भएर हिंड्दैथिएँ तिमीहरुसँग । तर स्वर्गसँग तिमीहरुको केहि सरोकार छैन भने म तिमीहरुको प्रयोगशाला हो कि प्रशोधनशाला हो त्याँहा जान्न । बन्दै जाँदिन । हेरौं कसरी जबर्जस्ती गर्दारहेछौ?' मेरो घुर्कि थियो ।

'हामीले तिमीलाई जबर्जस्ती गरेकै छैन । जबर्जस्ती ल्याएको पनि होइन तिमीलाई । तिमी स्वयँ हाजिर भएका हौ र अहिले स्वर्ग स्वर्ग भनेर हुँदै नभएको स्वर्गको रट लगाईरहेछौ । आफुले कर्म गर्नुपर्ने ठाउँलाई नै पो स्वर्ग भन्छौ होला तिमीहरु भन्ने लाग्थ्यो हामीलाई त । हामी तिमीलाई तिमीले भनेको जस्तो स्वर्ग पुर्याउन पनि सक्दैनौं ।' उनिहरुमा अब त रीसको नामोनिशान थिएन । दैबीरस युक्त वाणीले सम्झाईरहेथे उनिहरु मलाई । म पनि नरम हुन बाध्य भएँ र नरम स्वरमा सोधें, 'उसोभए मलाई किन ब्यर्थ त्यो कन्टेनरमा राखेर अध्ययन गरिरहने? आँखीर उहि लोकमा फेरि कुनै जीवनमै फिर्ता पठाउने हो भने ब्यर्थ किन म त्यो कन्टेनरमा मेरो समय वर्वाद गरुँ? मलाई यहिँबाट मेरो साविककै जीवनमा फर्काउन मिल्दैन?'

दुबैले मुखामुख गरे र एकैस्वरमा भने, 'अवस्य मिल्छ । अहिले सम्म त तिम्रो देह नष्ट भैसकेको छैन तर ढिलो गर्यो भने तिम्रा प्रियजनहरुले नै तिम्रो देह नष्ट गर्नेछन् । अत छिट्टो गर्न तिमीलाई हामीले यो बाटो पठाउनु पर्ने हुन्छ ।'

उनिहरुले मलाई कालो अँध्यारो सुरुङ्गजस्तो गहिरो न गहिरो बाटो देखाए र खसाउन तयार भए ।

'यो गहिरो त निक्कै तलसम्म छ जस्तो छ । म कहाँ पुग्छु नि यो बाटो?' मेरो डर तिनीहरुले बुझे क्यार भने, 'हेर्दा मात्र हो यो डरलाग्दो देखिने । यो तल हैन तिमीलाई तल जस्तो लागेको मात्र हो । जानलाई यहि बाटो सजिलो र छिट्टो हुन्छ । वान वे हो यो यहाँ पसिसकेपछि फेरि फर्कन मिल्दैन । तयार छौ?'

'छु ।' मेरो मुखबाट शब्द खस्न नभ्याई उनिहरुले मलाई त्यहि कालो अँध्यारो गहिरो ईनारजस्तो बाटोमा खम्र्याङ्ग खुम्रुङ्ग खँदारिदिए । उनिहरु भन्दैथिए 'कस्ता कस्ता मान्छेहरु पनि देख्नुपर्छ...'

त्यहि शब्द 'कस्ता कस्ता मान्छेहरु पनि देख्नु पर्छ...' मेरो कानमा यता पनि पर्यो जब मैले चल्मलाएर हस्पिटलमा पिर्लिक्क आँखा खोलेँ । मलाई हेर्न वरिपरी झुम्मिका अनेकौं मध्ये कुनै अपरिचित मान्छेको आवाज थियो त्यो । व्हिल चेयरमा बसेको उ अझै भन्दैथियो, '...म जन्मिंदै अपाङ्ग जन्मिएको मान्छे त आज रोगसँग लड्न उपचार गराउन आएको छु । यो नौजवान लाठेको बुद्धि हेर? यौटी केटिको निम्ती बिष खाने ।' मैले मुण्टो फर्काएर उसलाई हेर्दा उ अर्कोपट्टी फर्केर गुड्दै भीडमा ओझेल भयो ।

'दीपकको होस आयो ।' कसैले घोषणा गर्यो । अझ धेरै मान्छेहरु मेरो वरिपरी झुम्मिए । कोहि रुँदैथिए मेरो निम्ती; कोहि गाली गर्दैथिए मलाई । म हस्पिटलको बेडबाट उठ्नु भन्दा अगाडिनै सबैको नजरमा गिरिसकेछु भन्ने हेक्का भैसकेको थियो मलाई ।

एकैछिन् आफुलाई सम्झिएँ, 'थुक्क! मैले के गरेको होला?' मनमनै भनें, 'अब सबैको अगाडी लाजकै मर्नु हुने भो । किशोर वयको प्रेम साँच्चै अन्धो हुँदोरहेछ । जीवन नचिनेर होला किशोर वयमा प्रेमलाई जीवन भन्दा महत्वपूर्ण ठानिएको । जीवन नरहे प्रेम के का लागी होला? प्रेम जीवनमा उज्यालोको लागी हो, जीवन प्रेममा बलि चढाउन हुँदै होइन ।' त्यस घट्ना पछि म जीवन बुझेको अनि प्रेम चिनेको दार्शनिकझैं भएको छु कि जस्तै लाग्थ्यो आफुलाई । तर मैले बुझेको कुरा अरुलाई बुझाउन त के सुनाउन समेत अयोग्य घोषित भएको थिएँ सर-संगतमा म । कायर, बुद्धिले हीन, पशु....... यस्तै यस्तै अनेक विशेषणहरु बनेका थिए मेरो परिचयमा ।

'थुक्क! तेरो बुद्धि?.....' पछिसम्म पनि दौंतरी तथा आफन्तहरुले यसैगरी मेरो मनोवललाई उठ्न दिएनन् त्यसैले माहायात्रामा आधाबाटोसम्म हिँडेको यो रोमांचक कथा समेत म भित्र वर्षौंसम्म गुम्सिरहेको थियो । मैले कसैलाई सुनाउने सम्म पनि आँट गर्नैसकेको थिइनं ।

आजको दिनलाई सलाम जस्ले मेरो महायात्रामा आधाबाटो हिँडेको कथालाई ह्रदयको गुम्फनबाट उकासेर प्रकाशमा ल्याएको छ ।

***
(खसखसडटकममा प्रकाशित)

Sunday, December 11, 2011

गीत : तिमीलाई मेरो प्यारमा

भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा
म त नबुझ्न पनि सक्छु बुझाउनु विस्तारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


सँधै देख्ने मायालु संसार तिमीलाई
उज्यालो डुबेझैं धमिलो भयो
आफैंसँग भागेर हिंड्न तिमीलाई
किन आँखाकै बाटो सजिलो भयो
हैन जे जे तिम्रो आफ्नो त्यहि खोज्दैछौ संसारमा
चाहिने तर एउटा साथ मात्रै हो जिन्दगीको आधारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


म दिउँ तिमीलाई या तिमी देउ मलाई
त्यो खुसी अधरमा समेट्न सकिन्न
जति होस् उज्यालो र खुसी जगतमा
मन र आँखा नभै भेट्न सकिन्न
थिए जे जे तिम्रो गुनासो पोखिएका चित्कारमा
सोधिहेर्नु राखेर तिमी देवतालाइ ह्रदयको द्वारमा
भन के के हुनुपर्थ्यो तिमीलाइ मेरो प्यारमा ।

Monday, December 05, 2011

गजल : रात आज पनि पर्छ

तिन्लाई के छ जस्को सदा कौसीमा चाँदनी पर्छ ।
घर नहुने तैयार बस रात आज पनि पर्छ ।

शुभ मुहूर्त पर्नलाई जुर्नुपर्छ घडी लग्न,
विपत्ति यो पर्नु पर्दा कसैलाई नभनि पर्छ ।

बाढी आउँछ पैह्रो जान्छ छानो हूरी संगै उड्छ,
गरीवकै वस्तीमा अझ वर्षेनी आगजनी पर्छ ।

कहाँ छैन के मा छैन आरक्षण राखेको आज,
ढुक्क बस ए गरीव हो त्यहाँ पक्का धनि पर्छ ।

तित्रा जुनि भोग्नु पर्छ 'दीपक' तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***

केहि अघि नै लेखेको यो गजल प्रति म आभारी छु कि यसले आज मेरो ब्लगमा यौटा मिती अंकित गरेको छ । अचेल के लेखिन्छ खै? सधैं केहि न केहि त लेखि नै रहिएको छ भन्ने हुन्छ आफुलाई तर ब्लगको निमित्त भनेर केहि नै तयार हुँदैन रहेछ । ब्लगर भैखाएको यतिका पछि लाग्दैछ ब्लगर हुनुपनि ख्यालख्याल त होइन रहेछ ।