Monday, November 21, 2011

कविता : एकजोर गुलाबी चप्पल

तस्वीर गूगलको सापट


एकदिन फेदैको खुड्किलामा
एकजोर गुलाबी चप्पल फुकालेर
भर्याङ्ग उक्लिएर माथी चढेथ्यौ तिमी
फर्किएर फेरि कहिल्यै
आफ्नो चप्पल लिन आएनौ
आजसम्म
अनगिन्ति पाईलाहरु
भर्याङ्ग चढेर माथी गए
भर्याङ्ग ओर्लेर तल झरे
अनगिन्ति चप्पलहरु
फुकालिए भर्याङ्गको फेदमा
लगाईए भर्याङ्गको फेदबाट
सबैको हर हिसाब
सायदै कसैले राख्यो
नराखेरै तर मसँग
रहेको छ हिसाब
तिमीले फुकालेर छोडेको
एकजोर गुलाबी चप्पलको
आउँदा जाँदा देख्नेहरु
सबैले बेवारिस ठान्छन्
सबैले अनाथ भन्छन्
तिम्रो एकजोर गुलाबी चप्पललाई
तर होइन
तिमीले फुकालेर छाडेपनि
आजसम्म मैले ख्याल राखेको
तिम्रो एकजोर गुलाबी चप्पल
कसरी बेवारिस हुन सक्छ?
कसरी अनाथ हुन सक्छ?

Tuesday, November 08, 2011

गजल : धूलोमा खोज्नु मलाई

मनग्गे छु धूलोमा खोज्नु मलाई ।
काँतर म दुलोमा खोज्नु मलाई ।

जब भाग नै लगाई सक्यौ भने,
सबै भन्दा ठुलोमा खोज्नु मलाई ।

म दुर्लभ साथै महङ्गो पनि छु,
भेट्छौ तर तुलोमा खोज्नु मलाई ।

सम्बन्ध नै भए खोजीको आधार,
हुन्छु म खुकुलोमा खोज्नु मलाई ।

बल्दिंन; तर खोजी दीपकै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।

Wednesday, October 26, 2011

कविता : चाँदनी कहिँ त पक्कै होलीन्

(फोटो गूगलको सापट)

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

आली आली राँको बोकेर
हेर एकहुल देउसे आए
गाउँ देखि पर
निर्जन
एकान्त त्यो मेरो घरमा

बनका माझमा
मेरा आँगनमा
जूनकिरी-जूनकिरी
दीपावली ल्याउँछन्
फेरेर चोली फरिया पातका
झ्याउँकिरी चेली
भैलो गाउँछन्

देउसे टोली नाना ओली
फलाक्छन् फोहोरी गाली बोली
गुहार! गुहार!
डरले भागेँ
उल्टै ज्यानको सिदा मागें
राँको बोक्ने ती देउसे हैनन्
तीनको टाउको मुखै छैनन्
देउसे सँग मादल छैन
कथा छैन गाथा छैन

ती
हुन् देश खाने धमिरा
डस्न आएका ती लामकिरा
चिन्नु तिनको जिब्रो गन्नु
कात्तिक हो यो सर्प नभन्नु
डस्न दिएर आफैं मर्नु
मंशिरमा देखेर गति पर्नु

हार
गुहार छर-छिमेकी
सबलाई देउसेकै टोलीमा देखि
नाङ्गो खुकुरी चम् चम् चम् चम्
मेरो आँगनमा देउसीको रमझम्
गर्दन छाम्दै भाग्दैछु

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

ठुलाठालु ती मान्ने गुन्ने
आफैंलाई समाजको अगुवा चुन्ने
जुनेली रातमा शिकारी झैं
अँग निचोरी स्खलित भै
चाँदनीसँग सुति रुखमुनि
कति मरेर शुक्र-जूनि
फिर्छन् घरमा साखुल्ले बन्छन्
मेरी चाँदनीलाई रण्डी भन्छन्

डुबेर चन्द्रमा नदिको जलमा
लुकेकि छन् कि घोर पातालमा
खोज्ने अनेकौं पाईलाहरु
टेकेर बगरका बाटुला ढुङ्गा
तंछाड मछाड जानु पारी
जुधेरै डुब्यो एक्लो डुङ्गा
सिँग कसैको हान्छन् कोहि
पुच्छर कसैको हल्लिन्छन् कोहि
डर सबैको आँखीर एउटै
सबलाई निल्न तयार गोहि

खोज्दैछु कराई रोई
डराएर मेरि चाँदनी खोई?

चाँदनी
कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?
***
महाकवि प्रति श्रद्धाञ्जली यत्ति लेख्न सकें

Tuesday, October 25, 2011

गजल : नजलि कोहि दीपक हुँदैन

यहाँ आफ्नै वस्तुमा हक हुँदैन
कहानी त्यत्तिकै रोचक हुँदैन


नसोध्नु कसैले ओजन मलाई,
मेरो पल्लामा कहिल्यै ढक हुँदैन


काटिनु अघि नै बुझ्नु पर्ने थियो,
सबै हतियारमा चमक हुँदैन


अर्ति नै दिनुपरे यहि भन्नेछु ,
अटेरीले सिक्ने कुनै सबक हुँदैन


जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि 'दीपक' हुँदैन

Thursday, October 06, 2011

दशैं गफ : दशैं अनुभूति

दशैं अनुभूति
अरु केहि छैन
तर टहटह जुन छ
ठीक्कै
सानो छँदाको दशैंकै जस्तै
परपर सम्म देखिरहेछु
प्यारो प्यारो उज्यालो
महसुस यस्तो गरिरहेछु
कि
दशैंमन आल्हादित हुन
बस् यहि जुनेली काफि हुनेरहेछ
अहँ
अरु केहि चाहिन्न रहेछ
प्यारो
जुनेलीमा नुहाएपछि
यहि पल प्रिय पल बनेपछि
धन्यवाद!
टाढाकि चन्द्रमा तिमीलाई
धन्यवाद
दशैंकि जुनेली तिमीलाई ।
****

कविता आकारमा कोरिएका यी हरफहरु हिँजोराती अर्थात महानवमी २०६८ को रातीको अनुभूतिहरु हुन् ।

हिँजै मैले यो सानो टुक्रालाई फेसबुकको पर्खालमा टाँगिसकेको पनि छु ।

आफ्नो देशभन्दा पर, आफ्नो महादेश भन्दा पनि पर, अझै अरुपनि केहि महादेशहरु नाघेर म २०६८ सालको दशैं अनुभूति प्रसान्त महासागरको मध्यभागमा अवस्थित हवाई नाम गरेको टापूहरुमध्येको पनि एउटा मावि नाम गरेको टापूबाट गरिरहेको छु ।

बिदेशमै भएपनि यस अघिका दशैंहरुको माहौल अगल अनुभूत भएको हुन्थ्यो मलाई । केहि दशैंहरु मैले कोलोराडोमा मनाएको छु । केहि नेभाडामा मनाएको छु भने केहि दशैं अलास्कामा समेत मनाएको छु ।

बिदेशका ती प्राय दशैंहरुमा माहौल तताउने या भनौं रौनक ल्याउने कुरा भनेकै खानपिन र नाचगान हुने हो । सबै दशैंका त्यस्ता अवसरहरुमा म बेस्सरी रमाएर खानपानमा सहभागि भएको छु । बेस्सरी उफ्रि उफ्रि नाचेको पनि छु फेरिपनि हरेक साल दशैंले मन चिमोटिरहन्थ्यो कि घरमा मनाए जस्तो, अझ सानोमा मनाए जस्तो दशैं यो बिदेशमा कहाँ मिल्नु?

खै निधारमा आमा, हजुरआमाले लगाईदिएको अक्षता र जमरा? खै शिरमा आमाको आशिर्वाद? खै लिङ्गे पिङ्ग ? खै त्यो? खै उ? यस्तै यस्तै थुप्रै कुराहरु हराईरहेको हुन्थ्यो हरेक साल दशैं मनमा ।

पछिल्ला केहि दशैंहरु अलास्कामा मनाउँदा भने मैले फेरि अलि भिन्न महसुस गरेको थिएँ । अमेरिकाको म पुगेजति ठाउँहरुमा भएजति नेपाली मनहरु मध्येमा धेरै आत्मिय, धेरै पारिवारिक र धेरै मायालु नेपाली मनहरु राखेको छ अलास्काले । भएजति सबै नेपालीहरु एकै घर एकै परिवार जस्तै भएर सौहार्द बसेका छन् अलास्काका नेपालीहरु । त्याँहा दशैं मनाउँदा मात्र हो मलाई म आफु घरमै दशैं मनाईरहेछु जस्तो महसुस भएको ।

यस वर्षको भने कुरा अर्कै छ मेरो । उता घरमा पनि यस वर्ष दशैंको जमरा राखिएन, टिका चलाईएन । जुठो परेको घरमा दशैंको रौनक छरछिमेक सम्म मात्र आएर त्यसै रह्यो उता । यता त झन दशैंले प्रसान्त महासागर तर्नै सकेन ।

१८८३ वर्गकिलोमिटर क्षेत्रफल भएको र एकलाख चवालिसहजार चारसय चवालिस जनसंख्या(सन २०१० को आँकडा अनुशार) भएको मावि नाम गरेको यस टापूमा दशैं सम्झेर आनन्दित हुने, दशैं सम्झेर निस्ताउने नेपाली मन हामी दुईजना मात्र छौं । दुईवटा मात्र दशैं मनको लागि त्यसैपनि त्यत्रो समुद्र तरेर आउन दशैंलाई के कर लाग्दो हो र ? त्यसो त यहि टापूमा बास भएको अर्को एउटा नेपाली मन पनि छ भन्ने सम्म सुनेको भएपनि आजसम्म भेटघाट छैन ।

त्यसैले त दशैंमा फुर्सदिला हामी दुई दशैं मनहरु जुनेलीमा नुहाउन समुद्र किनारमा पुग्यौं । सुरिलो, अग्लो नरिवलको फेदमा बसेर जुनेली तापिरहँदा मलाई सानोमा दशैंका रातहरुमा लाग्ने चहचह जुनेली याद आयो । चहचह जुनेलीमा रातभरि लिङ्गे पिङ्गमा हामी केहि दौंतरीहरु पिङ्ग खेल्दै, उट्पट्याङ्ग गर्दै बसेको याद आयो ।

'ए लिला हेरत, उ त्यो केराको बोटमा ठुलो चमेरो आएर बस्यो । एउटा घोचो ल्याएर त्यसलाई घोचुँ न?' उपद्रो यस्तै हुन्थे ।

मनले लिलालाई बोलायो । लिला कोलोराडोमा दशैं मनाउँदैछ यसपाली ।

'ए गणेश, कस्तो बोर भयो हौ? भण्डारी दाइको बरण्डामा सुकाउन राखेको अचार ल्याएर खाने?' अर्को उपध्रो यसरी फुर्थ्यो ।

मनले गणेश सम्झियो । गणेश पनि कनेक्टिकटमा दशैंको टिका लाउँदैछ यसपाली ।

....ऐजन.... ऐजन.....चेतन, भिमे, चन्द्रिमाइला, गोपाल, टंके, दीवस, ज्ञाने, ईन्द्रे, कुले, रोहिते, कान्छा....... थुप्रै हुन्थे उपद्रोमा ठीक्कै, रमाईलोमा ठीक्कै सहभागिहरु ।

अब कोहि छैनन् गाउँमा । सबै बिदेशमा, सबै परदेशमा ।

अस्ति भर्खर गाउँमा बैनि(फुपुदिकि छोरि)संग कुरा हुँदा गाउँको 'समुह'को बारेमा सोधेको थिएँ । म आफैं हुँदा स्थापना गरेको 'नवज्योति समुह' पुरुषको र 'नवज्योति महिला समुह' महिलाको थियो । बैनिले भनेकि थिईन्, 'तपाईंहरु पढेलेखेका जति सबै बिदेशतिरै हराउनुभयो र तपाईंहरुको पुरुष समुह त हिसाबकिताब थेग्ने मान्छे नै नभएर बिघटन भयो । हाम्रो महिलाको समुह भने हामी चलाउँदैछौं ।'

त्यो सुन्दा मन साह्रै खिन्न भएको थियो ।

नरिवलको फेदमा हिँजोपनि केहिबेर खिन्न भएँ । कोहि भएनन् होला सायद गाउँमा दशैंको लिङ्गे पिङ हाल्ने केटाहरु । आफ्नो पनि यहाँ दशैंको केहि नै छैन तर जुनेली देखेर एकातिर त्यसै त्यसै रमाएको थिएँ म । चन्द्रमाले जुनेलीमा मेरो पहिले पहिलेको दशैंको सम्झनाका किरणहरु खसाईरहेझैं भएर मन त्यसै त्यसै फुर्कियो । र मनमा लेखें माथिमा कविता आकारका हरफहरु ।

****

(बिजया दशमी र बाँकि बक्यौता बडादशैंको शुभकामना फेरि एकपल्ट सबै दशैं मनहरुलाई!)

Wednesday, September 28, 2011

दसैं गफ र कविता : दसैं आएको छ

आज घटस्थापना । दसैं आइसक्यो कि आउँदैछ त्यो कस्ले कति अवधिलाई दसैं भन्ने भन्नेमा भरपर्ला । जे भएता पनि हामी यतिखेर दसैंको संघारमा छौं । दसैं भित्र छौं भने पनि फरक नपर्ला र हामी एक प्रकार खुसीमा छौं ।

स्वभाविक रुपमा दसैंमा हामी खुसी हुने यौटा पक्ष मार हानिने परम्परा पनि हो । सानोमा यस्मा म पनि खुसी हुन्थें र अलि ठुलो भएर सामेल हुन्थें । परम्परागत यस्ता कुराहरु यो सही हो र यो गलत हो भन्ने लाग्नु एकातिर हुन्थ्यो मेरो लागी । समाजमा अथवा परिवारमा आफुले नचाहँदा नचाहँदै पनि यस्ता थुप्रै कार्यहरुमा सहभागी हुनुपर्ने हुन्छ । गलत लाग्दैमा विरोध भनेर तुरुन्त विरोध गर्ने या वहिस्कार गर्नेतिर लाग्ने हो भने त्यो समाज स्वस्थ्य भएर हुर्कंदैन पक्कै । त्यस्को उदाहरण आजको हाम्रै समाज; अझ पुरा देश नै छ । परम्परागत यस्ता गलत प्रथाहरु त्यागेर नयाँ कुराहरु ग्रहण गर्न कुनै पनि समाजले केहि पुस्ताहरु खर्चिनु पर्ने हुन्छ । मेरो हजुरबाको पालाको परम्परागत कट्टरता मेरो बुबाको पालामा केहि होलो खुकुलो भयो भने मेरो पालोमा र मेरा सन्ततीहरुको पालामा अझ धेरै होलो खुकुलो हुँदै जानेछ । हिँजो दसैंका दिनहरुमा बलि दिइने कार्यहरुमा म आफैं नै सहभागि हुने गरेको भएता पनि आज मलाई त्यसो गर्नु आवश्यक लाग्दैन । यो समयले गराएको वैचारिक परिवर्तन हो ।

दसैंमा मार हान्ने अर्थात पशुबलि दिइने परम्परालाई सहि हो कि गलत भनेर अनेकौं वहसहरु समेत हुने गर्छन् । निर्क्यौलका साथ कुनैपनि परम्पराका कुनैपनि कुरालाई तुरुन्त यो सही हो र यो गलत हो भन्नु बुद्धिमानि होइन र त्यसले तुरुन्त केहि फरक पनि पार्दैन भन्ने लाग्छ मलाई ।

फेरिपनि दसैंको संघारमा आँगन आँगनमा बलिको नाममा हुने पशुबधलाई निरुत्साहित गर्न पेश छ यो कविता -




दसैं आएको छ

लामो दापभित्र
धारिलो खुँडा
छट्पटाईरहेको छ
दाप नभएका
गरीबगुरुवा झैं
नाङ्गा खुकुरीहरु
उत्ताउलिएका छन्
ठुला मान्छेहरु
हँसिला छन्
केटाकेटीहरु
चुल्बुलिएका छन्
खोरमा
भर्खरै दाना खाएको
खसीलाई केहि पत्तो छैन
शान्त, चुपचाप
उ मस्त उघ्राईरहेको छ
हिँजोअस्ति जस्तै
आँगनको एकातिर
ठुलो खड्कुलामा
पानी उम्लिसकेको छ
खुँडा निस्कनेछ दापबाट
पूजिनेछन्
नाङ्गा खुकुरीहरु कर्दसमेत
काटमार चल्नेछ
सँधै शान्ति चाहनेहरुको
सर्वदा शान्त आँगनको एक कुनामा
बग्ने छ आलो रगत
तरपनि घर आफैं
केटाकेटी झैं
उज्यालिएको छ
हो त्यो घरमा
दसैं आएको छ ।


र अन्त्यमा मेरो ब्लगमा पाल्नुहुने सबै मित्रगणहरु लगायत धर्तीभरि छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई दसैंको हार्दिक शुभकामना !

Monday, September 26, 2011

गजल : बन्चरो पर्या छ

पर्या छ चोट उसलाई दह्रो पर्या छ ।
उसको आफ्नै खुट्टामा बञ्चरो पर्या छ ।

खस्न लाग्या पहरोको ठिक मुनि छ उ,
उस्को हातमा तान्नै पर्ने लहरो पर्या छ ।

छोप्दैथियो आफ्नो लाज आफ्नै हातले उ,
धन्न उसको शरिरमा धरो पर्या छ ।

विर्षिएछ माथि चढ्दा साथमा पानी लिन,
पुग्नै नपाई शिखरमा उ खरो पर्या छ ।

सार्यो उस्ले बेर्ना तर हुर्काउला कसरी,
ठिक मुसाकै दुलोमाथि जरो पर्या छ ।

छट्पटिंदो छ अझ त्यो मर्यो भन्थे सबै,
किन मर्थ्यो त्यो त खालि अधमरो पर्या छ ।

 

त्यसो त ब्लगमा अर्को यौटा मिती अंकित गर्न उपयुक्त यहि लाग्यो । केहि गफहरु लेख्ने विचार नभएको होइन तर आकारमा ठुला/लामा कुराहरु लेख्ने धैर्यता पनि अब सिलासंगेलो गर्नुपर्ला जस्तो भएको छ ।

त्यसैले अहिलेलाई यहि गजल भयो आगे देखा जाएगा !!

Tuesday, September 20, 2011

गीत : म रुन सकिंन कैले

सबै आँसुहरु मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
यौटै चन्द्रमा एकै समयमा
दुई कुनाबाट उहि धरतीको
हेर्दै टोलाउनु नियति यो हो कि
या त अभिसाप हो यो पिरतीको
दुख्ने मुटु पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
जुन मायाले घरै छोडाएर
ल्यायो अपरिचित संसार माझ
त्यहि मायाले घर सम्झाएर
डाकिरहेको छ पल पल आज
पोल्ने मनै पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।
*******

यो गीत केहि महिना अगाडिनै लेख्न सुरु गरेको या लेखिसकेको हुनुपर्छ मैले तर लेखेर कहाँ थन्क्याएको थिएँ थाहा भएन । यसको स्थाई मात्र मैले फोनको नोटमा राखेको रहेछु ।

त्यो देखेपछि एकै समयमा धर्तीको दुई कुनाबाट यौटै चन्द्रमा हेर्दै छुट्टिनुको गुनासो गर्दै गरेको कुरा यौटा अन्तरामा लेखेको थिएं र मायाले नै परदेश हिंडाएको र मायाले नै घर बोलाएको कुरा अर्को अन्तरामा लेखेको थिएँ भन्ने स्पस्ट सम्झना भयो ।

अनेक खोजेँ; सेलफोनकै नोटहरुको कुनाकानी, कम्प्युटरको कुनाकानी देखि लेख्दै कोठाको कुनाकानीमा छोड्दै गर्ने कागजका टुक्राटाक्री समेतमा खोजें तर अहँ भेटिएन । एकपल्ट पुरा लेखिसकेको कुरालाई फेरि लेख्नु पर्दा साह्रै गाह्रो लाग्छ मलाई त्यसैले लेख्नको सट्टा खोज्नमै लागें म दोहोर्याई तेहेर्याई माथि उल्लेखित कुनाहरुमै तर अन्तत फेला पर्यो किचनको कुनामा कच्याककुचुक परेर केहि अँश च्यातिएर रहेको अवस्थामा ।

१०० डलरको नोट फेला पार्दा पनि म सायद त्यति खुसी हुन्न होला । जति यो आफैंले २/४ हरफ कोरेको कागजको टुक्रा फेला पार्दा भएँ । टुक्रामा स्थाईका दुबै हरफका अघिल्ला एक डेढ शब्दहरुमात्र बाँकिथिए भने अन्तराका प्रत्येक हरफका पछिल्तिरका एकदुई अक्षर थिएनन् । तर मैले खोजेको कुरा प्रयाप्त थियो त्याँहा । मैले त्यसलाई टिपेर त्यसको फोटो पनि खिचेको थिएँ ब्लगमा राख्छु भनेर तर त्यसमा लेखिएका मेरा आफ्नै अक्षर त्यसले किचनको फोहोर सफा गरेको दाग ईत्यादिले गर्दा ब्लगमा राख्न मन भएन ।

जे होस् - यौटा गीतले हराउँदै भेटिएर मलाई ब्लगमा जोडिने यो मौका दिएको छ ।

धन्यवाद त्यो कागजको टुक्रालाई !

Tuesday, August 30, 2011

गजल : हँसाई हँसाई लोभ्याएर

......नियमित ब्लग लेख्न ईच्छा हुनैपर्ने रहेछ अर्थोक जेसुकै अनुकुल भएर मात्र पनि नहुँदो रहेछ .......

मोति जयन्तिको अवसर छ । उनै यूवाकवि मोतिराम भट्टको सम्झना र सम्मानमा ब्लगमा एउटा गजल चढाएको छु । मोतिले नेपाली माटोमा छरेको नेपाली गजल साँच्चिकै मोतिझैं चम्किएर नेपाली गजलाकाश उज्यालो पारोस् । कामना गर्छु ....!
 
नभन्नु मलाई लुट्यो कसैले नजिकै आई लोभ्याएर ।
लुट्नेले थाहै नदिई लुट्छन् हँसाई हँसाई लोभ्याएर ।

अचेल कतिले आँसुलाई आँखैमा हतियार बनाउँछन्,
रेट्लान चलाखिले होस गर्नु मोति छल्काई लोभ्याएर ।

जित्नकै लागि कुदिरहेछौ तिमी कतिञ्जेल कुद्न सक्छौ,
जित्ने कोहि छ तिमीलाई पनि खेलाई खेलाई लोभ्याएर ।

धर्ती भिजाउने कामना लिई फेरि पुकार्दा वर्षातलाई,
आकाश तिम्रो छेक्न सक्छन् बादल देखाई लोभ्याएर ।