Tuesday, August 30, 2011

गजल : हँसाई हँसाई लोभ्याएर

......नियमित ब्लग लेख्न ईच्छा हुनैपर्ने रहेछ अर्थोक जेसुकै अनुकुल भएर मात्र पनि नहुँदो रहेछ .......

मोति जयन्तिको अवसर छ । उनै यूवाकवि मोतिराम भट्टको सम्झना र सम्मानमा ब्लगमा एउटा गजल चढाएको छु । मोतिले नेपाली माटोमा छरेको नेपाली गजल साँच्चिकै मोतिझैं चम्किएर नेपाली गजलाकाश उज्यालो पारोस् । कामना गर्छु ....!
 
नभन्नु मलाई लुट्यो कसैले नजिकै आई लोभ्याएर ।
लुट्नेले थाहै नदिई लुट्छन् हँसाई हँसाई लोभ्याएर ।

अचेल कतिले आँसुलाई आँखैमा हतियार बनाउँछन्,
रेट्लान चलाखिले होस गर्नु मोति छल्काई लोभ्याएर ।

जित्नकै लागि कुदिरहेछौ तिमी कतिञ्जेल कुद्न सक्छौ,
जित्ने कोहि छ तिमीलाई पनि खेलाई खेलाई लोभ्याएर ।

धर्ती भिजाउने कामना लिई फेरि पुकार्दा वर्षातलाई,
आकाश तिम्रो छेक्न सक्छन् बादल देखाई लोभ्याएर ।

Tuesday, August 02, 2011

कथा : आँपको रुख

'मैले उसलाई भुँडी बोकाउनै नहुने......' हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; 'मैले उसलाई गर्भ बोकाउनै नहुने' अथवा 'मैले उसलाई गर्भवति बनाउनै नहुने' । तर......... मैले त्यसैगरी सम्झिएँ । ................

जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

'हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?' यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ ।  कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले जोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर 'पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?' दिमाग त्यसैमा केन्द्रित रह्यो ।

त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

'कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।' सम्भावना औंल्यायो दिमागले ।

म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

'अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।'  म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् ।  अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, 'दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?'

त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

'के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।' प्रतिक्रियामा बोलेथें म ।

'खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।' केहि उदाश स्वरमा बोली उ ।

म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
'हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?.........'

मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, 'तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ'को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।' विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

'बोका'को त मैले होला नि.....' काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

'तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।' आफ्नो पेट छाम्दै बोलीथि मानवी, 'फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ.....।'

मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

'त्यसोभए कस्तो त?' अलि सास आएझैं सोधें मैले ।

'थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।' उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, 'र पनि भनन त को हो त्यो?'

'अर्जुन' उसले नाममात्र लिई र फेरि चुप भई ।

मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, 'त्यहि नेता अर्जुन?'

उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

'कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।' मैले प्रष्टिकरण चाहेँ किनभने हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

'अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?' बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, 'क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ'को ।  गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।'

अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

'अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?' सोधेको थिएँ मैले ।

'जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।' वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

'तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?' समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

'त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग'कि हुँ । ढिलो भैसकेको रहेछ ।'  पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

'त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।' मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

'नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?' ईन्कार गरिथि मानवीले ।

'त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?' मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

'त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।' उ अझै मानिन ।

निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे 'यसैको हो त तेरो पेटको अवगाल?'

मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, 'हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?...............'

चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, 'यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।'

मानवीका बाबा आमा मतिरै खनिए, 'तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।' उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ ।  आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, 'खै कहाँ टोक्यो?'

बाबा 'ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।' भन्नुहुँदैथियो ।

मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

'के भयो त के?' उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न वरपर टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, 'मानवी............आँपको रुखमा............'

परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो 'कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ'का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।'
त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, 'त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?'  भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

'हैन के भन्छ यो?' आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, 'साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।' ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो ।  त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र 'यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!' भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई 'छि! छि! र थू! थू!' गरिरहेथे ।

अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, 'हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?' र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

'छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?' आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो -

दीपक,

तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन ।  आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्...........साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त............. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

तिमी सुखि रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

                                     सदबिदा
                                     मानवी
                                                                     *******
(नोट: यो कथा खसखस डटकमलाई पठाईसकेको छु । अत केहिदिनमा त्यहाँ, मेरो फेसबुक नोटमा र कथाहरु संग्रहित गरिआएको ब्लग कथा बालीमा समेत रहनेछ ।)





Tuesday, July 26, 2011

गीत : आजै नगर

यो मिलन वर्षौंपछि भएको छ
विछोडिने कुरा तिमी आजै नगर
फेरी अर्को सिंगै यूग मलाई
तड्पाएर राख्ने कुरा राजै नगर ।


यो खुसीमा छल्किएका आँसुहरु नझरी नै
पिरतीमा खापिएका कति कुरा नगरी नै
कुल्चेर रहर यि सबै
फर्किजाने कुरा तिमी ताजै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।


प्रहर धेरै यो रातको कटाउन बाँकी छोडी
आँखाको यो पर्दा लाजको हटाउन बाँकी छोडी
कालो रात ओढेर एक्लै
निदाउने कुरा तिमी सम्साँझै नगर
यो मिलन वर्षौं पछि भएको छ....... ।

निक्कै अगाडी देखि यो गीत फेसबुकको नोटमा ड्राफ्ट बनेर बसेको रहेछ । अचेल कलम नचलेर न फेसबुकको नोट न ब्लग कतैपनि रचनात्मक उपस्थिती नभैरहेको बेला यो गीत भेटेर राहत महसुस मात्र गरिंन कि फेसबुकको नोट र यहाँ ब्लगमा समेत एकैपटक राखिदिएँ । कास् यसरी नै कुनाकानी दिनदिनै केहि न केहि भेटिदों हो त!

Wednesday, July 20, 2011

गजल : मानो चामल बोकेर आए

कोहि मिती र समय तोकेर आए ।
कोहि अचानक तर खोकेर आए ।

जो ठान्थे निषेध छ तिन्लाई प्रवेश,
बिरालोको चालमा श्वास रोकेर आए ।

सानो खुसीमै आँखा तर्दै हिंड्नेहरु,
बिजोग हेर्न चैं जिब्रो टोकेर आए ।

तमाशा चल्छ मानौं केहि दिनसम्म,
कोहि त दैलोमै ताल्चा ठोकेर आए ।

भोकै बाँच्थ्यो त्यो मर्यो भोकले नै जब,
छिमेकी मानो चामल बोकेर आए ।

Tuesday, July 12, 2011

कविता : मेरो आदिम गीत

स्केच गूगलको सापट हो
 
कागज
थियो एकपाना
खाली खाली
जहाँ
जे पनि लेखिन सक्थ्यो
कलम
थियो एक थान
सहि-सलामत
जस्ले
जे पनि लेख्न सक्थ्यो
तर
थिएन लेख्ने कोहि
पर पर सम्म
अत:
अनेक मध्ये
पृथ्वीको एक कुनामा
एउटा कविता
नकोरिएरै रचिएको छ
प्रकृतिकै खुल्ला पन्नामा
एउटा गीत
नलेखिएरै गाइएको छ
प्रकृतिकै अनमोल छटामा

त्यहि गीत
बनेको छ आज
मेरो आदिम गीत ।
         ***
३० जून २०११
साउथ किहे, हवाई

Monday, May 30, 2011

आलोहा !!

आलोहा !!


(हामीले नमस्ते भनेजस्तै भेटको सम्बोधन हवाईयनहरु 'आलोहा' भनेर गर्ने गर्छन् ।)

************

मेसो आज पनि जुरेको होईन ब्लग लेख्ने तर म जबर्जस्ती लेख्दैछु । लाग्यो केहि त लेख्नैपर्छ । के लेख्ने भन्ने कुरा चैं त छँदैछ । लेख्यो भने जे लेखेपनि हुन्छ - यत्ति थाहा छ । लेखेन भने न लेख्ने मेसो जुर्छ न लेख्ने कुरा फुर्छ ।


हवाईको गर्मीमा असीन पसीन भएर जिन्दगीको जाँतो फन्फन्ति घुमाउनु त छँदैछ । त्यो नौलो कुरै भएन । तर जिन्दगीको जाँतोको हातो छोडेर कैलेकाँहि मन ओकल्न कम्प्युटरमा बस्ने फुर्सद पनि त निकाल्न सकिन्छ ।

चाह्यो भने अवश्य सकिन्छ र सजिलै सकिन्छ त्यसैले यो पनि ठुलो कुरै भएन ।

हवाई आएको महिना दिन बढि भैसक्यो तर खै त यस्तो सानो कुरा पनि म त गर्दैन रहेछु । हो, म अलि मनमाफिक ढँगले हिँडिदिन्छु । र भन्ने गर्छु - 'आ! ब्लग पनि पछि लेखौंला, अहिले आफ्नो भरपर्दो ईन्टरनेट पनि छैन । सित्तैमा पाएको अर्काको ईन्टरनेट चलाएर पनि के ब्लग लेख्ने?'

यसो भनिरहँदा मैले छिट्टै आफ्नो ईन्टरनेट सेवा लिन्छु भन्ने अवश्य सोच्ने गर्छु होला । तर म न हुँ, गर्नुपर्ने थुप्रै कुरा गर्दिनं खै किन हो ।

आजभने अर्काको सित्तैको ईन्टरनेटमै किन नहोस् । लेख्ने खुराक नभएको अवस्था रहेकै किन नहोस् । ब्लग खोलेर जबर्जस्ती केहि लेखुँ न कस्तो हुँदो रहेछ भन्ने भयो । आजभोलीको अवस्था रचनात्मक कामकुरा गर्न नसकिरहेको भएपनि मलाई मेरो क्यामेराले साथ दिएको छ र तस्वीरहरु खिचेर कविता लेख्ने, गीत रच्ने ईत्यादिको तिर्सना मेटिरहेछु ।

बस् यत्ति नै त हो आजलाई भन्नु ।

माहालो !!
(भेटमा 'आलोहा' भनेझैं छुट्टिनुपर्दा भने हवाईयनहरु 'माहालो' भन्ने गर्छन्।)




Wednesday, April 13, 2011

विदाई अलास्का !!


सन् २००८ को जुलाईमा हवाईको उष्ण हावापानी छोडेर यो हिममय, चिसो अलास्कातिर हान्निंदा मेरो मनमा अनौठो गरी रमाईलो अनुभुति थियो ।  हवाईको त्यति बिघ्न सुन्दरतालाई छोडेर जानुको पीडा अहँ थिएन म मा । हवाईका ति मनोरम समुद्री किनारहरुलाई पक्कै मिस गर्छु भनेर त्यसबखत ब्लगमा लेखेको त थिएछु तर अलास्का आएर मैले हवाईलाई मिस गरेको क्षण कहिल्यै भएन । बरु अलास्का आउने बखत म भित्र बिछट्टै आनन्ददायि कल्पनाका अग्ला अग्ला यथेष्ट चुलीहरु थिए ।

 .........................

अहो! त्यो हिममय अलास्कामा पुगेर म छातीभरि नेपाल बोकेर कुनै त टाकुरा टेक्छु होला ।

अहो! त्यो हिममय अलास्काको चिसोमा लुगलुग काँप्दै भएपनि अत्याधिक हिमपात हुँदा रमाउँछु होला । भरिसक्के त म रमाउँदै हिउँचिप्ली(ski) नै खेल्छु होला ।

अघाउँजी प्राकृतिक सम्पदाले भरिएको अलास्काको पाखा पखेराहरु घुमेर रमाउँदै म थुप्रै गीत, कविता ईत्यादि लेख्छु होला ।

त्याँहाका बन्यजन्तु, हिमाल, पर्वत, पाखा, पखेरा, रुख, फूल, खोलानाला, पंछी, समुद्र, समुद्री जीव इत्यादिको मनग्गे तस्वीर खिच्छु होला ।

 ........................................................

इत्यादि इत्यादि अनेक अनेक कल्पनाहरु मनभरी गुडुँल्कि पारेर रमाउँदै अलास्का आउँदा मैले केवल यौटा कुरामात्र सोचेको रहेनछु कि पृथ्वीकै सुदुर उत्तरतिर अवस्थित, संयुक्त राज्य अमेरिकाको त के कुरा यो धर्तिकै दुर्गम भेग भन्न मिल्ने यो अलास्कामा आएर म यति धेरै नेपालीहरु पनि भेट्नेछु ।

हवाईबाट हिंड्नेबेलामा मलाई अलास्काको एँकरेज सहरमा एक घर परिवार नेपालीहरु छन् भन्ने जानकारी प्राप्त भएको भएपनि वहाँहरु कहाँ बस्नुहुन्छ भन्ने टुङ्गो थिएन । न त वहाँहरुको ठाउँ ठेगाना पत्ता लगाउन नै मैले सकेको थिएँ । त्यसो त टिभी च्यानलहरुमा देख्ने गरेको, म्यागाजिनहरुमा पढ्ने गरेको त्यो अलौकिक अलास्काको सौंदर्यलाई आफ्नै आँखाले पान गर्ने हतार मनस्थितीमा मैले एँकरेज, अलास्कामा बस्नुहुने नेपालीहरुको निधिखोजी पनि सायदै गरेँहुँला ।



तर संयोग भनुँ या मेरो अहोभाग्य अलास्का आएर मैले जहाँ काम गर्नु थियो त्यहिँ काम गर्नुहुने नेपाली बैनी भेटें । जस्को बारे मैले हवाईमा छँदै सुनेको थिएँ । नेपालमा म्याग्दी जिल्लाबाट आउनु भएकि बैनि ईकु छन्त्याल जो मैले अलास्कामा आएर भेटेको पहिलो नेपाली हुनुहुन्थ्यो । वहाँहरु निक्कै पहिले देखि अलास्कामा बसोबास गर्नुभएको रहेछ । बैनि ईकु छन्त्यालकै माध्ययमबट म एँकरेजमा रहनुहुने अन्य नेपालीहरु सँग पनि परिचित हुन पुगेँ । अरु अरु नेपालीहरु त झन दशकौं पहिले देखि आएर अलास्कामा बस्नुभएको रहेछ । त्यो सब थाहा पाउँदा म चकित त अवश्य नै भएँ कि अलास्कामा मुश्किलले नेपालीहरु भेट्छु भन्ने आफ्नो अनुमानमा पनि म गलत भएँ ।

रहँदैबस्दै जाँदा अलास्कामा रहनुहुने सबै नेपाली परिवारहरुसँग म यति घनिष्ठ भएँ कि यतिखेर मलाई एँकरेज सहरभित्र रहनुहुने जुनसुकै नेपाली परिवारको घरमा पस्दा पनि आफ्नो घरमा पसेजत्तिकै सजिलो र आत्मियताको अनुभुति हुन्छ । म यहाँ कसैको दाजु, कसैको भाइ, कसैको छोरा, कसैको भतिज, कसैको के, कसैको के, सबैको केहि न केहि नातासम्बन्ध बनेर बसेको छु । यो क्षण जत्तिको गर्विलो क्षण देशबाट टाढा रहेको यौटा नेपालीलाई अरु के हुन सक्छ ?


अलास्कामा भेटेको पहिलो ब्याक्ति, बैनि ईकु छन्त्याल, नेपाली साहित्यको एकजना गतिलो पाठक हुनुहुँदोरहेछ । नेपालदेखि नेपाली साहित्यका किताबहरु मगाएर पढ्नुहुने बैनि मेरो लेखाईको पनि यौटा असल पाठक बन्नुभएको थियो वहाँ मेरो ब्लग पढेर मलाई मौखिक प्रतिकृया दिने तथा नेपाली साहित्यका विविध पक्षमा म सँग छलफल गर्ने गर्नुहुन्थ्यो । तर म अलास्कामै छँदाछँदै पनि ब्लग लेखनमा सुस्तता आएयता यस्ता छलफलहरु हुन छाडिसकेकाछन् ।

अलास्कामा नेपालीहरु पनि छन् कि छैनन्, नेपालीहरु भेटिन्छ कि भेटिंदैन भन्ने अन्यौल बोकेर आएको मैले अलास्का आएपछि नेपाली समाज अलास्का भनेर यहाँ रहनुहुने नेपालीहरुको पहिचानको लागि आफैं पनि एउटा संस्थापक सदस्य रहेर नेपाली भाषा तथा संस्कृतिको संरक्षण हेतु साथै एँकरेजमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझ आपसी सहयोग तथा सद्भाव कायम गर्ने हेतु एउटा संस्था समेत खोल्न पाउंनुलाई पनि मैले आफ्नो अहोभाग्य ठानेको छु । जुन संस्था अहिले अलास्का राज्यमा नेपालीहरुको सामाजिक संस्थाको रुपमा दर्ता पनि भैसकेको छ ।

आशा छ नेपाली समाज अलास्काले नेपालीहरुको हीतमा भविश्यमा प्रसस्तै कामहरु गर्दै जानेछ र मुख्य कुरा एँकरेजमा भएजति सबै नेपालीहरु माझ आज जत्तिकै भाईचारा भविश्यमा पनि कायम राख्नेछ ।


आज यो ब्लग लेखुञ्जेलमा समयले फेरी अर्को छेकारो मारिसकेको छ । मलाई यौटा भूमिकाबाट बर्खास्त गरेर अर्को भुमिकाको निमित्त तम्तयार रहन अह्राईसकेको छ । यतिबेलासम्म मैले फेरी एँकरेज अलास्का छोड्नलाई आफ्नो झिटिगुण्टा कसिसकेको छु र भोली यतिबेलासम्म म अलास्काको धर्ति छोडेर हवाईमा ओर्लनको निमित्त आकाशमा उडिरहेको हुनेछु ।

यो अचानक यसकारणले भएको हैन कि म अलास्का आउँदा मैले जीवन पर्यन्त अलास्कामै बस्ने अठोट लिएको थिइनं र भोली हवाई गएर फेरी म त्यहिँ टाँसिनेछु भन्ने पनि हैन तर यसरी यति छिट्टै म हवाई फर्कन्छु भनेर आफैंले पनि सोचेको भने थिइनँ ।

साँच्ची नै आँखिर जिन्दगी यात्रा न हो । हामी आफुले सोचेको एक ठाउँमा भलै पुग्न नसकौंला तर नसोचेको अनेक ठाउँमा पुगिरहेका हुन्छौं त्यसैले पनि म पत्याउँछु कि जिन्दगी सबैभन्दा पहिले मृत्यु पर्यन्तको यात्रा हो अनि त्यसपछि मात्र जिन्दगी अर्थोक केहि हो भने हो ।

उ बेला मैले हवाई छोड्दा हवाईमा मिस गर्न योग्य समुद्री किनार मात्र थियो तर त्यो पनि मैले अलास्का आएपछि फिट्टिक्कै मिस गरिनं । तर अब अलास्का छोडेर फेरी हवाई फर्कंदा मसँग अलास्कालाई मिस गर्ने थुप्रै थुप्रै कुराहरु हुनेछन् त्यो पक्का हो तर हवाई पुगिसकेपछि मैले अलास्काका कुनै कुराहरु मिस गरिनँ भनें भने त्यो आश्चर्य नहुन सक्छ । कम्तिमा मलाई हुनेछैन । अहिलेसम्म त यहाँ चिनजान भएका, संगै खाने बस्ने गरी निकटतामा रहेका सबैसँग कुनै न कुनै माध्ययमले सम्पर्कमा रहन्छु भन्ने छ मनमा तर म आफ्नै ग्यारेण्टि राख्न सक्दिंन कि भोली हवाई पुगेर म अलास्कासँग बिल्कुल सम्पर्कहीन भएर पनि रहन सक्छु । यसको निमित्त अरु धेरै कुरा गर्नै पर्दैन आफ्नै एउटा उसुल काफी छ कि म जहिले पनि जहाँ जोसँग रहन्छु मेरो आफन्तहरु तिनीहरु नै हुन्छन् । जोसँग टाढा हुन्छु तिनीहरुसँग टाढा नै हुन्छु ।

यो मैले चाहेर गर्ने वा हुने कुरा हैन तर सम्भवत मेरो प्रकृति नै त्यसैगरी बनेको छ कि आजसम्म विभिन्न ठाउँमा संगै रहनुहुने अत्यन्तै घनिष्ठहरुसंग पनि म वर्षौं वर्षौं सम्पर्क विहिन भएर रहेको छु । झट्ट हेर्दा म यहाँ निष्ठुरी देखिन सकुँला तर मेरो आफ्नै बुझाईमा यो निष्ठुरी बाँच्नुको नभएर खुसी बाँच्नुको मन्त्र बनेको छ मेरो लागी ।



 यो पढिरहँदा एँकरेजमा रहनुहुने मेरा आफन्तजनहरुलाई नरमाईलो लाग्न सक्छ । यसले हामीसँग सम्पर्कमा नरहन बहाना बनायो भन्ने पनि लाग्नसक्छ तर मैले यो सब कुराहरुलाई जीवनको सामान्य प्रकृयाको रुपमा मात्र लिएको छु । यो हुनसक्छ तर हुन्छ नै भन्ने जरुरी छैन । हिँजो छाडि अस्तिको दिन मात्र बैनि ईकु छन्त्यालको घरमा नेपाली समाजका हामी एँकरेजमा रहने सबै नेपालीहरु भेला भयौं । रमाईलो गर्यौँ र त्यहि रमाईलोको बिचमा मैले थाहा पाएँ कि त्यो रमाईलो मेरो विदाईको निमित्त आयोजित रहेछ । मलाई खदा लगाईदिइयो र मेरो बिदाईको औपचारिक घोषणा पनि गरियो । त्यो क्षण म अनुमान गर्न सक्छु कि म एक्लिएर जाने भन्दा दुखि यहिँ समाजमै रहनुहुने अन्य थुप्रै हुनुहुन्थ्यो । त्यसैले पनि मैले मलाई आफ्नो कुरा(विचार) बोल्न दिईंदा धेरै कुरा नगरेर यो सामान्य कुरा हो । जहाँ भेट हुन्छ भने त्याँहा छुट्नु पनि अवश्य नै हुन्छ । आई टेक ईट इजि र सबैलाई ईजि लिनुहुन आग्रह गर्छु मात्र भनें । र साथमा कुनैदिन भेटघाटकै सिलसिला बोकेर अलास्का फर्किने वचन पनि दिएको छु ।

आँखिर दुख त जिन्दगीमा त्यसै पनि कति कति आइपर्न सक्छ भनेदेखिन् हामी किन बित्थामा सानोतिनो कुराहरु पनि खोजी खोजी दुखी बन्ने? यत्ति हो मेरो सरोकार कि हामी जानी जानी दुखि नबनौं ।



अलास्का आउँदा खेरि जसरी अनेक अनेक कल्पना थिए अलास्कामा यो गर्छु र त्यो गर्छु भन्ने त्यस्तै हवाई फर्किएर जाने यो क्षणमा पनि मसँग थुप्रै रोमान्चक कल्पनाहरु छन् हवाई पुगेर यो गरेर र त्यो गरेर म आफुलाई खुसी राख्छु भन्ने त्यसैले जसरी अलास्का आएर हवाईलाई मिस गरिनं त्यसरी नै हवाई फर्किएर गएपछि अलास्का मिस नगर्न पनि सक्छु । त्यसो हुनसक्ने अवस्थाको लागि म अलास्कामा रहनुहुने सबै आफन्तहरुसँग क्षमा चाहन्छु ।

विदाई एँकरेज !
विदाई अलास्का !!
विदाई सबै आफन्तजनहरु !!!
विदाई सम्पुर्ण आत्मिय मनहरु !!!!

Sunday, April 03, 2011

गफ निबन्ध : मैले कविता लेख्न सकिंन

वासुदाइको फोन आएछ । मैले उठाईन । वास्तवमा मैले फोन बजेको नै थाहा पाईंन ।

आजभोली मेरो यस्तै चल्दैछ । म स्वयँ भताभुङ्ग छु क्यार । मेरो समय लथालिङ्ग छ । कतिबेला के गर्छु आफैं पत्तो पाउँदिन । कतिबेला उठ्छु, कतिबेला सुतेको हुन्छु । कतिबेला खान्छु, कतिबेला पिएर हिंडेको हुन्छु ।

बेमतलबी, बेपर्वाह ।

अनुशाशनहीनताको गतिलो उदाहरण बाँचेको छु म ।

यस्तो तब भयो जब म बेरोजगारीको चपेटामा गतिलोगरी च्यापिएँ । जतिबेला काम थियो, जिन्दगीमा कामैकाम थियो । लाग्थ्यो आफ्नो रहरका कुराहरु, मनले अह्राएका कुराहरु गर्नलाई समय नै छैन । तर होईन रहेछ । समय अभावको चाप जति पर्छ उति मनले अह्राएका काम गर्ने समय निकालिंदोरहेछ । समय फालाफाल भएपछि 'खाली दिमाग शैतानका घर' साँच्चै हुँदोरहेछ ।

हाम्रो आफ्नै पनि एउटा उखान छ, 'कुकुरको काम पनि छैन बस्न पनि पाउँदैन।'

यो उखानमा कुकुर त यौटा दृष्टान्त मात्र हो भनिएको चैं मान्छेलाई नै हो ।

'थुक्क! म, आफ्नै निमित्त कुकुरको दृष्टान्त दिनुपर्ने?' त्यो पनि भुक्न नसकेर । कथंकाल भुकिहालेपनि भुकेको अर्थ नलागेर । हो भुक्न अर्थात बोल्न अर्थात लेख्न नसकेर नै, अझ लेखे बोलेपनि त्यसको अर्थले आफैंसंग महत्व नराखेर कुकुरको दृष्टान्त राख्नुपरेको हो ।

मान्छेवादीहरुलाई त्यसो त झनक्कै रीस उठ्दो हो उदाहरणमा कुकुरलाई पेश गरेर मान्छेलाई खसाईयो भनेर । तर मलाई त हामी मान्छे नै पनि के पो हौं र भन्ने लाग्छ । होइन भने अहिलेसम्म हामी मान्छेले आफैंले आफुलाई बाहेक अरु कस्ले हामीलाई मान्छे, मानिस, मनुश्य भनेको छ र? त्यहि कुकुरले पनि हामीलाई मान्छे कहाँ भन्दो हो र? कुकुरले मान्छेलाई के भन्छ के हामीलाई के थाहा ?

जे होस्, खोतल्दै जाउँ । खास कुरा निस्किहाल्छ कि?

फोन कोट्याउँदा देखें वासुदाइले भ्वाईसमेल समेत छोड्नुभएको रहेछ ।

वहाँहरुले वासिङ्टन डिसी क्षेत्रमा नियमित जस्तै गर्दै आउनु भएको कविता गोष्ठीमा फोन मार्फत कविता वाचन गर्नलाई सम्झाउनु भएको थियो । ईमेलमा, फेसबुकमा निम्तो राख्दा पनि म बेवास्ता गर्दै बसेको भएर दाइले फेरी फोन गरेर सम्झाउन चाहनुभएको हो ।

तर म ? मेरो कुरै छोडौं भो ।

फोन उठाउन त भ्याईंन भ्याईंन । कलब्याक सम्म गरिनं । यस्तोबेलामा म आफ्नै गजलको यौटा मिसरा(हरफ) सम्झन्छु, 'आँखिर निकम्मा मेरै प्यार रहेछ ।'

म फोन नै गर्दिंन । फोन उठाउंदिन पनि र पनि तारन्तार फोनमा मलाई लेख्न झक्झक्याउनुहुन्छ वासुदाइ । म जस्तो बैगुनीलाई दिनसक्ने, म जस्तो निष्ठुरीलाई सम्झनसक्ने कति छ हँ वासुदाइसँग माया ?

फोनमा भ्वाईस म्यासेज सुनेपछि एकमनले तात्तिएको पनि हुँ म, कविता लेखेर तयार रहनलाई । समय भने कम थियो पहिलेको निम्तोलाई बेवास्ता गरेको भएर । तै पनि लेख्नै लागियो भने कविता त जसरी पनि लेखिन्छ । लेख्न थाले पनि । आफ्नै अवस्था र झेलिरहेको समय लेख्ने मूड थियो-

काँचको गीलासमा
केहि पानीका टुक्राहरुसँग
बन्द बोतलको पानी घोलेर
टाङ टुङ ट्याक् ट्वाक् बजाउँदै
स्वाट्ट पारेको रातहरुमा
प्रतिघण्टा पचहत्तर माइलको दरले
बेतोडसँग हाइवेमा दौडंदा पनि
जिन्दगी ठिक-ठिक लेनमा कुदेकै हो
जिन्दगीले ठिक-ठिक एक्जिट लिएकै हो
बिना कुनै दुर्घटना
बिना कुनै पूल ओभर
सकुशल
जिन्दगी घर फिरेकै हो
आज जिम्मेवार बनेको
त्यहि जिन्दगी
बिना कुनै नशा
बिना कुनै लापर्वाही
असल बनेर
बडो सावधानीले गुड्न खोज्दा
पिक-अप लिन नसकेर
आफ्नै घरको ड्राइभ-वेमा
अल्झिरहेको छ
...............
..........
............

कुन्नि के लेख्थें खै अगाडी । पुरा लेखेको भए यस्को शिर्षक सम्भवत 'आज जिन्दगी' हुन्थ्यो होला तर लेख्दा लेख्दै मनले भन्यो, 'धत् जँड्याहा अब हुँदा हुँदा जाँड खाएको कुरा पनि तेरो कविताको मसला हुन थाल्यो?'

असी नब्बेको स्पीडमा एक्कासी ब्रेक लगाएझैं कविता रोकेर सोचें । हुनपनि कविता लेख्न सजिलो छ नि, आजभोली जे लेखे पनि कविता कहलिने परिपाटी जो छ । हुलुक्क भित्रबाट अमिलो मुखमा आएझैं महसुस भयो ।

म रन्थनिएँ । अब के लेख्ने त कविता गाँठे!, कविता लेख्न मात्र सजिलो रहेछ कवितामा के लेख्ने भन्ने निर्क्यौल गर्न त बडा मुश्किल पो रहेछ ।

भै'गो, यसपाली म बरु कविता नै लेख्दिंन । पछि कुनैदिन भित्रबाट हुलुक्क अमिलो ननिस्किएको बेला लेखौंला ।

म थन्किएँ । पढ्दै गरेको अभि सुबेदीको निबन्धमा उत्तरवर्ती कालखण्ड नामको पुस्तक पल्टाएँ । पोहोरसाल नेपालबाट आफैंले बोकेर ल्याएका मध्येको एउटा यो किताब पढेर तुर्न लागेको रहेछु । सुदुर अन्तिमतिरको 'एसिया, इतिहास र हामी' भन्ने शिर्षकमा पुगेको रहेछु ।

पढ्न थालें- 'इतिहासकारहरु समयका कलेवर रचना गर्छन्; भत्काउँछन् अनि फेरि जोड्छन् । ती भन्छन्- इतिहास सकियो । अब यसपछि इतिहास हुँदैन । शीतयुद्ध सकियो । अब मानिसको समयले एउटा अर्कै अवतार फेर्छ, तर......'

स्कूलमा हुँदै देखि मधुपर्क मार्फत सुबेदीका निबन्धहरु पढ्दै आएको मलाई यसपटक अनौठो भयो । निबन्ध जति पढ्दै गएँ उति निबन्धका हरफहरु कविता बनेर घुस्दै गए दिमागमा । यसरी -

इतिहासकारहरु
समयका कलेवर रचना गर्छन्
भत्काउँछन्
अनि फेरी जोड्छन्
ती भन्छन्
इतिहास सकियो
यसपछि अब
इतिहास हुँदैन
...........
.........

हैन, के अचम्म भै रहेछ मलाई ? पढ्न त म निबन्ध नै पढिरहेछु? चिमोट्न चैं चिमोटिन आफुलाई तर सम्झाएँ । म अभि सुबेदीको निबन्ध नै पढिरहेछु । तर भएन सुबेदीको निबन्ध अगाडी झन झन कविता बनेर पस्दै गयो दिमागमा -

.......
होइन
इतिहास सकिएको छैन
इतिहासले
अर्को मोड लिएको मात्रै हो
मानवजातिले
फ्याक गरेर मानिस बुझे
भने-
यी हाम्रा मानव हुन्
ती तिम्रा मानव हुन्
कसैले भने-
भूगोलका पनि धाँजा हुन्छन्
...............
..................

यो त अति भयो । मबाट कविताको भूत उत्रँदै गएको हो कि जस्तो लाग्न थाल्यो ।

के मैले आजसम्म पढेका सबै निबन्धहरुको हरफ भाँचेर, पूर्णबिराम ईत्यादि हटाएर लेख्ने हो भने ती कविता हुन्छन् त?

के मैले आजभोली पढेका, पढ्ने गरेका तथा यदाकदा लेखेका कविताहरु पनि पुर्णबिराम ईत्यादि थपेर प्याराग्राफमा लेख्ने हो भने ती सबै निबन्ध हुन्छन् त?

के आजका कविता र निबन्धको अन्तर पूर्णबिराम ईत्यादि नदिएर सकेसम्म ठाडो पारेर लेख्नु र पूर्णबिराम ईत्यादि दिँदै सकेसम्म तेर्सो पारेर लेख्नु नै हो त?

मैले वासुदाइ सम्झें । वासुदाइको भ्वाईस म्यासेज सम्झेँ । भोलीपल्ट हुन गैरहेको मनासस कोठे कविता गोष्ठि सम्झें । त्याँहा उपस्तिथ भएर तथा फोन मार्फत कविता वाचन गर्नुहुने नदेखे/नभेटेपनि रचना मार्फत जाने/चिनेको अग्रज सबै कवि साहित्यकारहरुलाई सम्झें । अनि तत्काल मैले झेलिरहेको अवस्था सम्झें ।

अनि सम्झें, 'त के म आजभोली लेखिने सबै कविताहरु र सबै निबन्धहरु उस्तै हुन्छन् खालि सल्लाको रुखजस्तै ठाडो पारेर लेख्ने कि धानखेत जस्तै तेर्सो पारेर लेख्ने भन्ने मात्र अन्तर हुन्छ भन्ने निचोडमा पुगेको हुँ त?'

होइन ।

होइन भने के हो त?

आखिरमा चित्त बुझाएँ, खासमा मैले अहिले कविता लेख्न नसकेको मात्र हो । मगजको यो हुन्डरी थामिएपछि म फेरी कविता पक्कै लेख्छु । चाहे कविता र निबन्धको अन्तर सल्लाको रुखझैं ठाडो अझ ठाडो पारेर लेख्नु र धान खेतझैं तेर्सो अझ तेर्सो पारेर लेख्नु नै किन नहोस् ।

अलिकति ढुक्क भएँ र फेसबुकमा बासुदाइलाई म्यासेज लेखें-

बासुदाइ,
माफ गर्नुहोला है म भोलीको गोष्ठीमा कविता वाच्न सक्दिनँ ।


यतिञ्जेल बासुदाइको जवाफ पनि पाइसकेको छु-

केहि छैन, पछि गरौंला नी ।

टेक इट इजीको कति मिठो भाका बासुदाइको ।

Tuesday, March 15, 2011

गजल : सलाम ति आँखालाई

चढाईदिन्छु एउटा सलाम ति आँखालाई ।
मेरो नाम नजोडिंदै बदनाम ति आँखालाई ।

देख्दा सामु बिझाउने समय थियो या म थें,
टाढा छु होला अब त आराम ति आँखालाई ।

भक्त बनाई दुनियाँ नचाउने सपना जस्को,
आँसु चढाउने यो मन के काम ति आँखालाई ।

अइना(ऐना)मा शृंगार हेर्दा आफुलाई नदेख्ने,
प्यारो अवश्य लाग्ला छलछाम ति आँखालाई ।

आफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
कतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।