Friday, December 29, 2006

गजल : तिर्दा तिर्दै बित्यो ।

पैंचो पो हो कि जिन्दगी त तिर्दा तिर्दै बित्यो ।
आफ्नै नजरबाट आफैं गिर्दा गिर्दै बित्यो । १

तेर्सिनु सम्म तेर्सिएछ समस्याको मुढा ,
एउटा जुनी त्यहि मुढा चिर्दा चिर्दै बित्यो । २

माया पनि आज भयो कहिं न'भाको घाणो ,
करै लाग्ने भिर्न , जीवन भिर्दा भिर्दै बित्यो । ३

स्वभिमान नि बेच्नु पर्ने लोकलाज राख्न ,
त्यै ठेसले आफ्नै जीवन पिर्दा पिर्दै बित्यो । ४

कैले देख्नु जिन्दगीमा यौटा मिठो सपना ,
रात आज पनि त कोल्टे फिर्दा फिर्दै बित्यो । ५

केहि गर्न जिन्दगीमा कम्मर निकै कसें ,
आँखिर जीवन मद्दशाला छिर्दा छिर्दै बित्यो । ६

Wednesday, December 27, 2006

गीत : आउ हामी देश उचालौं ।

देश माथी उठ्छ भने तिमी पनि काँध राख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

मुठ्ठीमा उठाईहेर यो देशको माटोलाई
पिंडा ब्याथा सोधीहेर तिमी हिंड्ने बाटोलाई
यही देशले दिएको छ हामीलाई न्यानो काख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

नमाग केहि देशसंग देशलाई केहि देउ बरु
अर्पण गर देशको निंती तिम्रा बौद्धिक शक्तीहरु
देशको निंती स्विकार गर बाधा अनि सारा हाँक
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

Monday, December 25, 2006

छानिएका तीन राष्ट्रिय गानहरू र छानिएका दश रचयिताहरु ।

ब्याकुल माईला (पहिला)

सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

हरिरह तिमिल्सिना (दोस्रा)

नेपाली हौ आमा तिमी, हामी छोराछोरी
रङ्गरुप, जात, धर्म, भाषा थरीथरी
कोही बस्छौँ फेदीतिर, कोही टाकुरामा
श्रमशक्ती फुलिदिन्छ हाम्रा पाखुरामा
वुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौँ लक्षतिर
दु:खसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एक अर्को नेपालीमा गाँसी माया प्रीति
हातमाथि हात दिन्छौँ, मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी ।

रामप्रसाद ज्ञवाली (तेस्रो)

मेची-काली झंकरत पारी, गुञ्जिरहेको जागृत गान
जनजनको मन मर्दछ नुतन, छर्दछ जीवन भर्दछ सान
स्वतन्त्रताले राष्ट्टरियताले, सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली, गौरवशाली देश नेपाल
हिमगिरिदेखि पर्वतवेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान
प्रकृतताले उच्च कलाले शोभित सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल ।

उत्कृष्ठ दसमा परेका गीतकारहरू -

१. प्रदीपकुमार राई ‘व्याकुल माइला’
२. हरिहर तिमिल्सिना
३. रामप्रसाद ज्ञावाली
४. गंगाप्रसाद लुइँटेल
५. सूर्यप्रसाद भुसाल
६. अञ्जुल
७. कृष्णहरि बराल
८. प्रेमविनोद नन्दन
९. सुधन पौडेल
१०. गणेश ज्ञवाली
------------------------------------------------------------
नेपाली कविता डट कममा राखिएको तिनवटा छानिएका राष्ट्रिय गानहरू र छानिएका दशजना रचयिताहरु कपि पेष्ट गरेर राख्न मनलाग्यो र राखेको छु । पहिलो उत्कृष्ट गान नै विवादमा परिसकेको भएपनि र पहिलोको बारेमा मैले पहिले नै लेखिसकेको भएपनि फेरी राखेको छु । मलाई दशवटै गीतका शब्दहरु हेर्ने उत्कट ईच्छा छ तर थाहा छैन कसरी पाउन सक्छु ।

Sunday, December 24, 2006

गजल : हौ फूल तिमी ।

जून हेरेर आकाशको नफूल तिमी ।
आफुले टेकेको धर्ती नभुल तिमी । १

हुन्छन कती लुक्ने ठाउं लुकेर बस ,
बिना खाम चिठ्ठी भएर नखुल तिमी । २

तिम्रो पनि रहर होला आकाश छुने ,
रहर संगै बहकिंदै नडुल तिमी । ३

प्यास बोकेर अधरमा नहिंड अब ,
सधैं रसाउने मायाको हौ मुल तिमी । ४

फक्री हेर भावना संगै चमेली भ ई ,
प्रकृतीमा सौंदर्य छर्ने हौ फूल तिमी । ५

Wednesday, December 20, 2006

कैंयाको विरोध हुनु पर्छ ।

नेपाली पोष्ट डट कममा १९ डिसम्बरको दिन चौतारी स्तम्भ अन्तर्गत रामकुमार एलनले हीरा बेच्न ज्ञानेन्द्र हेटौडा जाने शिर्शकमा यौटा लेख लेख्नु भएको छ ।

यतीखेर मुलुकभर ज्ञानेन्द्रको सम्पतीमाथी सामान्य नागरिक सहर कर लगाउने कुरा अनि कतिपय सम्पतीलाई राष्ट्रियकरणगर्ने कुरा उठीरहेको छ तर कार्यान्वयनमा आउनको लागी ज्ञानेन्द्र संग कूल सम्पती कहाँ कहाँ र कति छ भन्ने कुराकै निधो अहिले सम्म भै सकेको छ जस्तो मलाई लाग्दैन । आँखामै छारो हाल्नको लागी भने यती रोपनी जमिन भूपतीको नाउंमा भनेर दुई चार पत्रीकामा पढ्न पाईयो अनि भियनातिरबाट पारसको नाउंमा आएको पार्सल भन्सार तिरेर कथित दरबारले लगेको समाचार पनि पढ्न पाईयो । ज्ञानेन्द्रले ब्यापारी ( कैंया ) को रुपमै भोगचलन गरिरहेको सम्पती ( उद्दोग धन्दा ) मात्रै पनि औसत नेपालीले गर्न सक्ने कल्पना भन्दा बाहिर छ त्यसमाथी भूपती भएर ओगटेको सम्पती र उसैले स-परिवार हत्या गराएको उसैको दाजुको सम्पतीको त कुरै नगरौं । त्यो सब सम्पती राष्ट्रियकरण गर्छौं भनेर कुर्लनेहरु आजपनि आपसी कलहमै अल्झिरहेछन । तिनीहरुले आजसम्म यो यो ठाउंको यती यती सम्पती राष्ट्रियकरण भयो भन्न सकेका छैनन । खै कुन शुक्रवार कुरेर बसेका हुन तिनीहरु ? ल्याकत भए तथ्य पत्ता लागीसकेको सम्पतीहरु अहिले सम्म राष्ट्रियकरण भैसकेको घोषणा गर्नु पर्ने हो ।
रामकुमार एलनले उक्त समाचारमुलक लेखमा सत्तापलट हुने बेला तिर वीर शमशेरले कलकत्ता लगेर ४ क्विन्टल ४ किलो सुन बिक्री गरेका थिए र ज्ञानेन्द्रले पनि त्यसरीनै हीरा , मोती लगायतका जवाहरतहरु बिक्री गर्ने सोच बनाएको हुन सक्ने उल्लेख गरेका छन त्यसैले ज्ञानेन्द्र सँग हाल भएको सम्पुर्ण चल अचल सम्पती मध्येमा कति सम्पतीमा उन्ले आफ्नो हिसाबले चलखेल गर्न पाउने अनि कति सम्पती राष्ट्रको हुनुपर्ने जस्ता कुराहरुको निर्क्यौल नभई ज्ञानेन्द्रलाई हेटौडा गएर कुनै पनि चल अचल सम्पती बिक्री वितरण गर्न नेपाल सरकारले रोक लगाउनु पर्छ र सम्पुर्ण नेपालीहरुले पनि एकजुट भएर यस्को विरोध गर्नुपर्छ ता कि भोली को दिनमा गद्दी खोसिने बेलामा ज्ञानेन्द्रले नेपालको १० बर्षको बजेट बराबरको हीरा मात्रै देश भित्रै बसेर बेच्यो भनेर पढ्नु नपरोस ।

बनाऔं कानुन यस्तो कि कसैले त्यो नाघ्न नपाओस ।
उखेलौं आज जरै फेरी राजतन्त्र जाग्न नपाओस । १

उठोस् नेपाल एकजुट भई छेकोस् गल्ली अनि गौंडा ,
कुम्ल्याएर राष्ट्रको सम्पती त्यो कैंया भाग्न नपाओस । २

कटाउनै पर्दैन सात भञ्झ्याङ्ग बसोस हामी माझमै ,
काटीदिउं बरु हात सबै कि फेरी माग्न नपाओस । ३

हाम्रो छातीलाई युद्ध अभ्यासको तारो मान्नेहरुले ,
उन्मत्त भएर शक्तीले फेरी गोली दाग्न नपाओस । ४

कात्रो फुकाई मुर्दा ब्युँझाउने नरपिशाचको लाममा ,
लोभमा परेर फेरी कुनै मानिस लाग्न नपाओस । ५

Monday, December 18, 2006

गजल : ल हेर यस्तो भएं ।

हेर्छु म पनि भन्थ्यौ हैन ? ल हेर यस्तो भएं ।
तिम्रो आशिर्वादले आज म हेर यस्तो भएं । १

श्रेय यो सफलताको तिमीलाई दिएको छु ,
जल्छौ ईर्श्याले भने तर नहेर , यस्तो भएं । २

भए साहस मुटुमा यो पल सामना गर्ने ,
तिम्रै सामु उभिएको छु त हेर यस्तो भएं । ३

काँढा रोप्यौ कतै बाटोमा कतै तघारो हाल्यौ ,
तिमीले छेकेकै बाटोमा गएर यस्तो भएं । ४

मान्छेहरु भन्ने गर्थे सहि सिद्द हुन्छ भनि ,
बिश्वास भयो अब भने सहेर यस्तो भएं । ५

काँप्दै थिएं किनारामा नदि तर्नु भन्दा अघि ,
धकेलदियौ भँगालोमा बहेर यस्तो भएं । ६

आँधि हुरी वैरिएर झरीपानी परे पनि ,
आशाको 'दीपक' जला'को भएर यस्तो भएं । ७

Sunday, December 17, 2006

कविता : आजका हामी युवाहरु ।

एक झुण्ड युवाहरु
यता सडकमा
अवागमन अवरुद्द गराएर
उधुम मचाईरहेछौं
सवारी साधन जलाएर
ढुँगा मुढा वर्षाउंदै
तोडफोडको
ताण्डव देखाईरहेछौं
बेमतलब हामीहरुलाई
अगाडी कस्लाई चोट लाग्दैछ
को मर्दैछ
पर्वाह छैन ।
अर्को झुण्ड
उता गल्लीको बिचैबिच
निमोठेर मानवताको घाँटी
मान्छेको रगतले
प्यास मेटीरहेछौं
निर्घृणी हामीहरुलाई
थाहा छैन
भुईंमा ढलेको शरिर
कस्को हो ?
हाम्रो हातको
टाउको कस्को ?
मान्छे भन्दा माथी
उठ्न नसक्ने प्राणीहरु माझ
आज मान्छे भन्दा तल
कुन प्राणी झरेको छ ?
थरी थरी हामी युवाहरु
फेरी अर्को झुण्ड भएर
मन्दिरको हाताभित्र
प्रविष्ट भई
हातमा आधुनिक हतियार बोकी
भगवान लखेटीरहेछौं
खाँचो छैन हामीलाई
भगवान जहाँ जावोस
हेक्का छैन हामीलाई
भोली आफु दुख्दा
त्यही भगवान सम्झनु पर्छ ।
हामीलाई त भत्काउनु छ
चाहे जे होस अगाडी
हामी किन आफ्नो विवेकले
भत्काउनै पर्ने
कुरीती र
कु-सँस्कार भत्काउन
सकिरहेका छैनौं ?
हामीलाई त लखेट्नु छ
चाहे जो होस अगाडी
हामी किन भगवानको भेषमा
स्वयं पूजित
राक्षस लखेट्न
सकिरहेका छैनौं ?
चेतनाले खारिएका
हामी युवाहरु
बौदिकताले निखारिएका
हामी युवाहरु
किन निर्माणको बाटोमा हिंड्न
सकिरहेका छैनौ ?
बिनास र बिध्वँसमा तल्लिन
आजका हामी युवाहरु
सोचौं त एकपटक
हाम्रो आजको विचारमा
तालाबन्दी गराएर
हाम्रै काँधमाथी टेक्दै
उता तिनीहरु
शान्तीको ढोँग रच्दैछन
हामीहरुलाई
बलिको बोका बनाएर ।

Saturday, December 16, 2006

कथा : नयाँ साथीको पुरानो कुरा ।

" अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? " सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो हात मिलाउदै रमेशले सोध्यो । रमेश मैले आजै भेटेको साथी । म भर्खर डी भी परेर अमेरिका आएको । आउनासाथ कामधन्दा नमिलुञ्जेलको लागी रमेशकै कोठामा बस्ने निधो भएको थियो । रमेश पनि झण्डै तिन बर्ष अगाडी डी भी परेरै अमेरिका आएको रहेछ । कस्तो सँजोग मेरो नाम पनि रमेश नै हो ।

" म त पुर्वको हुँ । सुनसरी । " छोटो जवाफ मैले दिन नभ्याउदै उस्ले भन्यो- " म पनि त सुनसरीकै हुँ नि ब्रदर । हाम्रो नाम मात्रै एउटै हैन ठाउँ पनि एउटै रहेछ । सुनसरी कहाँ ? " पुछारमा फेरी उस्ले प्रश्न राख्यो ।
" तरहरा हो । ब्रदरको कहाँ नि ? " जवाफ दिएर मैले पनि सोधें । सोधाईम मैले पनि उस्ले झैं ब्रदर शब्दले सम्बोधन गरें । मैले आजसम्म कसैलाई ब्रदर भनेर सम्बोधन गरेको थिईनं र मलाई पनि कसैले ब्रदर भनेर सम्बोधन गरेको हेक्का छैन । पहिलोचोटी मलाई उस्ले ब्रदर भन्दा त्याहां आत्मियता पाएको थिएं र मलाई पनि ब्रदर भन्न अप्ठ्यारो महसुस भएन ।

" तरहराको यौटा केटी हामी संगै पढ्थी - सञ्जना , चिन्नुहुन्छ उस्लाई ? चिन्नुहुन्न होला । त्यसको उमेर हामी सँगैको हो । तपाईं भन्दा जुनियर । " मेरो प्रश्नको जवाफ नदिएर उस्ले फेरी प्रश्न गर्यो र जवाफको आशा पनि राखेन ।
" यौटा सञ्जना त चिन्छु म । अरु पनि होलान त्यस्ता , तपाईंले कुन सञ्जनाको कुरा गर्नु भएको ? " मैले चिनेकै सञ्जना हुन सक्ने अनुमानमा उस्ले मलाई गरेको आदरकै समान आदरार्थी भावमा सोधें यद्दपी उ उमेरमा म भन्दा त्यस्तै पाँच वर्ष जती सानो लाग्थ्यो ।
" सञ्जना पौडेल हो उस्को नाम । महेन्द्र मोरङ्गमा हामी संगै पढेको । साह्रै राम्री थिई । पढाईमा पनि त्यस्तै तगडा । " उस्ले कुन सञ्जनाको कुरा गर्दैछ भन्ने बुझ्न मलाई गाह्रो भएन । साह्रै राम्री थिई भन्दै गर्दा मैले उस्को मनोभाव पढिसकेको थिएं । उ सञ्जनाको बारेमा निक्कै कुरा गर्न चाहन्थ्यो ।" तपाईँ के थरी नि ब्रदर ? " झट्टै उस्ले मलाई मेरो थर सोध्यो , कतै सञ्जना मेरो नातेदार हो कि भन्ने चिसो उस्को मनमा पसे जस्तो गरेर ।
" म त थापा हुँ । म चिन्छु त्यो सञ्जनालाई । " छोटो जवाफ मैले दिईनसक्दै उस्ले ढुक्क भएको भावमा ए! भन्यो र फेरी सोध्यो "अनि ब्रदरले पढाई चैं कता गर्नुभएको ? "
"स्कुल धरानमा । त्यसपछि धनकुटा तिर । ब्रदरको घर कता हो नि ? " उत्तर दिएर फेरी मैले उस्को घर सोधें पहिले नै सोधेको भएपनि उस्ले जवाफ दिन भने बाँकी नै थियो ।

" मेरो घर त इटहरीबाट अलि तल हो । खनार भन्छ । थाहा होला नि ब्रदरलाई ? " लगभग हामी दुईजना को घर एकै तिर भएकोले मलाई उस्ले बिस्तृत रुपमा भन्ने आवश्यकता ठानेन क्यारे । त्यसो त मैले पनि आफ्नो घर भएको ठाउँ यहिंनेर हो भनेर खुलाएको थिईनं ।
" अँ थाहा छ .... " निक्कै बोलक्कड जस्तो लाग्ने उस्ले मलाई बोल्नै नदिएर फेरी भन्यो । " म पनि तरहरा तिर निक्कै घुमेको छु । सञ्जनाको घर भएको तिर । " लाग्थ्यो उ पुन सञ्जनामै केन्द्रीत भएर कुरा गर्न चाहन्छ ।
" ए ! " , उ सञ्जनाको नातेदारमा पर्दैन भन्ने थाहा भएर पनि मैले उस्लाई सोधें , " सञ्जना तपाईंको नातेदार हो? "
"हैन हैन " , मेरो सोधाईले कतै उस्लाई सञ्जना संग नातानै गाँसीदिन्छ कि झैं गरेर उस्ले हत्तार भन्यो , " संगै पढेर चिनेको मात्र हो । "
" ए! उसोभए सञ्जना तपाईंको निक्कै राम्रो साथी थिई ? कि चक्कर सक्कर थियो ? " अब सोध्ने पालो मेरो नै आएझै भएको थियो । मनपराएको केटीको पछि लाग्ने या प्रेम पत्र लेख्ने ईत्यादी कृयाकलापलाई आजभोली चक्कर भनिन्छ भन्ने ज्ञान मलाई पनि थोरबहुत थियो ।
" खै , थियो भन्ने कि थिएन भन्ने ? " , थोरै लजाउंदै अनि थोरै गम्भिर भएर उस्ले भन्यो , " म चाहिँ निक्कै कप्थें उस्लाई तर उ अलि अर्कै खालकी थिई । " उस्ले पनि कप्थें भनेर बिशुद्द आधुनिक नेपाली शब्द प्रयोग गर्यो तर मलाई बुझ्न कठिनाई भएन मनपराउंथें भन्न खोजेको थियो उस्ले ।

" अर्कै खालकी भन्नाले कस्ती नि ? मैले त एक नम्बरकी छुच्ची थिई भन्ने सुनेको थिएं । " फेरी सोधें मैले । निक्कै रमाईलो हुंदैथियो हाम्रो वार्तालाप ।
" अँ अली छुच्ची छुच्ची नै थिई । मैले लास्टै ट्राई गरें तर सकिनं । लास्ट मनपर्थ्यो मलाई । अली बि टी पनि थिई छनत र पनि पाए देखी अझै पनि उस्लाई नै बिहे गर्थें ब्रदर । " मनपरेको माया नपाउनुको पिंडा ओकल्यो उस्ले । उसंग अत्याधुनिक नेपाली शब्दावलीहरु यथेष्ट रहेछ र त्यसको प्रयोग पनि रोचक ढंगले गर्दो रहेछ - जस्तो कि अत्याधिक वा अत्यन्तै भन्नु पर्दा लास्टै भनेर अनि ठुलाठुला कुरा गर्ने घमण्डी भन्नु पर्दा बि टी भनेर । यो बि टी चाहिँ बिग टक भनेको हो उस्ले भन्ने ज्ञान त मलाई पनि थियो नै तर म उस्लेझैं प्रयोगमा ल्याउन अलि कमजोर नै छु ।

" अनि ब्रदर , ट्राई मार्दा चप्पल सप्पल त खाईएन ? " निक्कै रुचि लिएर म नयाँ साथीको पुरानो कुरा खोतल्न पट्टी लागें त्यसो त उ नै इच्छुक थियो सुनाउनलाई र म पनि उत्सुक थिएं सुन्न ।
" छ्या!!! के भन्नु भएको ब्रदर ? जे भने पनि हामी केटा हो नि यार । काँ केटीको चप्पल खाईन्छ ? " निक्कै केटीको पछि लागे पनि चप्पल कहिल्यै खाईएनको फुर्ती साथ उस्ले भन्यो ।
" ए ! अनि आजभोली पनि सञ्जना संग फोनसोन ,च्याटस्याटमा सम्पर्क हुन्छ त ? " मैले सोधें ," आजभोली कहाँ छे ? के गर्दैछे ? खोजखबर छ ? "

" छैन ब्रदर , पढ्दा पढ्दै यता आईयो डी भी परेर । म यता आकै साल उस्को बिहे भयो रे भन्ने सम्म सुनेको थिएं , त्यती हो । कस्तो केटा संग बिहे गरी होला? अझै माया लाग्छ ब्रदर मलाई त । ब्रदरलाई थाहा छ कहाँ छे अहिले ? अब त बच्चा बच्ची पनि भयो होला । " एक प्रकारको गुनासो सहित सञ्जना प्रतिको चाहना पोख्दै उस्ले मलाई सोध्यो कतै मैले सञ्जनाको खबर दिन सक्छु कि भनेर । "अँ थाहा छ नि ब्रदर । मैले त बिहे गरेको छु सञ्जनालाई । यौटा छोरा पनि भएको छ । सञ्जना पनि दुई तिन महिना पछि आउछिन । म चाहिँयसो बस्ने ओर्नेको चाँजो पाँजो मिलाउन अगाडी नै आएको । " मैले यती मत्रै के भनेको थिएं , मैले कोट्याउन खोज्दा पनि फुर्तीसाथ उस्ले अर्कै कुरा गर्दै टार्न खोजेको चप्पल काण्डको यथार्थको पोल म संग पहिले नै खुलीसकेको छ भन्ने ज्ञात भएझैं उस्को अनुहार सडेर निलो कालो भयो । उ केहि नै बोल्न सकेको थिएन । स्थितीलाई सामान्य बनाउन आखिरमा मैले नै " टेक ईट ईजी ब्रदर । यस्तै हुन्छ सबैको जीवनमा एकपल्ट ।" भन्नु पर्यो ।

Thursday, December 14, 2006

गजल : घाटा सहेको छु ।

घाउ सुक्यो , अझै तर खाटा सहेको छु ।
हार भयो पिरतीमा घाटा सहेको छु । १

आफ्नो कुरा राख्ने मौका नै कहाँ पाएं र ?
बोल्नै नदिई बनायौ लाटा , सहेको छु । २

कति सहें मैले हिसाब कहाँ राखें र ?
धेरै चोटी वचनकै भाटा सहेको छु । ३

झिलीमिली,कोलाहल सबै तिम्रै भयो ,
अँध्यारो माथी मैले सन्नाटा सहेको छु । ४

सुख,खुशी,हाँसो सबै लग्यौ तिमिलेनै ,
दुखी जीवनको सबै पाटा सहेको छु । ५

मलजल,गोड्मेल तिम्ले राम्रै पाएछौ ,
मैले सबै आँतरमा राँटा सहेको छु । ६