Monday, December 19, 2011

गजल : आँखिरमा निकम्मा यै प्यार रहेछ

म गजल पनि लेख्छु त्यसैले सायद यसो पनि भन्न सक्छु -  

म घाउ गनि गनि गजल लेख्छु । 
त्यो घाउ दुख्दा पनि गजल लेख्छु ।

गजल लेखिने सवालमा धेरै वहसहरु भएका छन्, हुँदैछन् र अझ हुँदैजानेछन् । गजललाई अनुभुत गर्न सक्ने, थोरै धेरै लेख्ने गरेता पनि गजल के हो? कसरी लेखिनु पर्छ? भन्ने सवालमा वहस गर्नु मलाई मेरो रुचिको विषय लाग्दैन । मेरो हकमा गजल जसरी पनि लेखिन सकिन्छ भन्ने मान्यता राख्छु म । हरेक पटक फरक तरिकाले पनि मेरो गजलको सुरु र अन्त्य हुनसक्छ ।

 पहिल्यै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्दा गजल राम्रो बन्दैन भन्ने धेरै पहिले सुनेर जानेको हुँ । तर सबै जानेसुनेको र सिकेबुझेको कुराले सँधै काम गर्दैन र काम गर्नैपर्छ भन्ने पनि छैन होला । काफिया भेला गरेर गजल लेख्दिंन म भन्नेहरुले त्यसो गर्लान् तर त्यसले सँधै राम्रो गजल नै जन्माउँछ भन्ने विश्वास म गर्दिंन र काफिया भेला गरेर गजल लेख्दा पनि त्यसले सँधै नराम्रो गजल नै जन्माउँछ भन्ने पत्याउँदिंन । तर यसको आसय यो पनि हैन कि हरेक पटक नै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्छु म । भनेकै छु हरेक पटक फरक तरिकाले सुरु हुनसक्छ, फरक तरिकाले अन्त्य हुनसक्छ मेरो गजल । र अर्कोतिर सबभन्दा महत्वको कुरा त यो छ कि म आफुलाई गजलकार देख्नै सक्दिंन । केवल लेख्छु मात्र र गजल हुन्छन् कि हुँदैनन् मैले लेखेका भन्नेतिर उत्तिसारो जान्न ।


मैले पछिल्लो पटक पुरा गरेको गजल त्यसरि नै केहि अगाडी काफियाहरु भेला गरेर राखेको रहेछु । राखेको मात्र हैन राखेर विर्षेको पनि रहेछु । सेलफोनको नोटस् खोतल्दै जाँदा भेट्टाएँ; त्यो त तीनसय एकचालिस दिन अगाडि सेभ गरेर राखेको रहेछु । र आज फेसबुकमा सेयर गरिसकेको त्यहि गजल सेलफोनको नोटमा सेभ गरेको फोटोसहित ब्लगमा पस्किन मनभयो -

आँखिर निकम्मा त यै प्यार रहेछ । 
त्यै र त आँखामा असार रहेछ । 

रोएर उस्लाई खसाउन खोज्ने, 
ईरादा त आफ्नै खुँखार रहेछ । 

कहिल्यै मानिंन उ त भन्ने गर्थ्यो, 
तिमी छिर्ने अर्कै सँघार रहेछ । 

चर्काउँदा देवल म हाँसेको थिएँ, 
तर फुट्ने मेरै निधार रहेछ । 

आज छाँयाले हालखबर सोध्यो, 
छाँयामा उस्कै अनुहार रहेछ । 

निभाएथें दियो सूर्य देखेपछि, 
दीपक नहुँदा अन्धकार रहेछ ।
***

Thursday, December 15, 2011

कथा : महायात्राको आधाबाटो


दन्त्यकथाका राजकुमारहरु जस्तै दुई जवान पौराणिक पुरुषहरुले समातेर मलाई माथि माथि लग्दैथिए । जब बादलको मादक सुगन्ध कपुर जस्तै मेरो नाकमा ठोक्कियो मैले तिनिहरुलाई सोधें, 'के म स्वर्गतिर लगिंदैछु?'

मेरो दाहिनेपट्टिको सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ?'

सामान्य आश्चर्यका साथ मैले सोधें, 'अहो! स्वर्गको बारेमा तिमीलाई थाहा छैन? स्वर्ग भनेको त्यहाँ हो जहाँ दुखको पहुँच हुँदैन । जहाँ ईश्वरहरु रहन्छन् । मानिसहरु पनि यदि असल छन् भने मरेपछि त्याँहा लगिन्छन् ।'

'ए त्यसो हो?' उसले पनि स-आश्चर्य नै भन्यो, 'तिम्रो थोरै बयानमा धेरै कुरा लुकेको छ । छलफल गरौंला बिस्तारै तर पहिले यो भन कि स्वर्ग यहि बाटो जान्छ भनेर तिमीलाई कसरी लाग्यो ?'

म निश्चित थिइँन र भनें, 'मलाई बादलको वस्ती कटाएर लगिंदैछ र स्वर्ग माथि नै हुन्छ होइन त?'

मेरो देब्रे पाखुरा समाउने अर्को सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ? हामी त जान्दैनौं । तर याद राख, जब तिमी यौटा लोक छोडेर हिंड्छौ, तिम्रो निम्ती कुनै तल हुँदैन; कुनै माथि पनि हुँदैन । तलमाथि, कोणहरु र दिशाहरु तिमीहरुले आफ्नो सजिलोलाई बनाएको कुरा मात्र हो जुन तिम्रो लोकमा मात्र चल्ने गर्छ । अब तिमी अनन्तमा छौ । जहाँ समय बाहेक अर्थोक केहिको नाप हुँदैन ।'

बेपर्वाह थिएँ म जे सुकै होस् या केहि नहोस् । बादलको वस्ती नाघिसकेर निक्कैबेर हिँडेपछि चिच्याउँदै म उत्साह बोलें, 'अब ताराहरुको गाउँघरमा पुगिनेछ । चन्द्रमालाई छोएर अघि बढिनेछ । अहा! स्वर्ग कस्तो सुन्दर होला? के चित्रगुप्त बुढा भैसके होलान्? ईन्द्रको हाउभाउ अझै हिजडाकै छ कि?...........।'

डराउनु केहि थिएन म देखि तर उनिहरु हच्किएझैं गरे, 'तिमी कस्को कुरा गर्दैछौ? तिनीहरु कसैलाई हामी चिन्दैनौं र हामी तिमीलाई कुनै स्वर्गतिर पनि लग्दैछैनौं । तिमीलाई त हामी आत्माहरुको रिसाईकल सेन्टरतिर लगिरहेछौं । जहाँ ठुला ठुला ज्योर्तिमय पुञ्जहरुको कन्टेनरमा तिम्रो आत्मालाई राखिनेछ र तिम्रो आत्मा उपर अध्ययन पश्चात तिमीलाई उपर्युक्त जीवनमा प्रवेश गराउन फेरि तिम्रै लोकमा फिर्ता लगिनेछ ।'

उनिहरुको यो कुराले भने म बेपर्वाह रहन सकिंन । निश्चितता प्राप्त गर्न सोधें, 'तिमीहरु मसँग दिल्लगी गरिरहेको होलाउ, हैन? किनभने मलाई थाहा छ तिमीहरु चित्रगुप्तको कारिन्दा हौ । मलाई तिमीहरुले चित्रगुप्तको सम्मुख लग्नेछौ र चित्रगुप्त मेरो पाप पूण्यको.......।'

'फेरि को चित्रगुप्त?' ठुलो उँचो स्वरमा साँच्चै रिसाएर एउटाले भन्यो, 'को चित्रगुप्त भनेको? हामी चिन्दैनौं चित्रगुप्त सित्रगुप्त ।'

मैलेपनि उसले जत्तिकै रीस देखाएर आफ्ना आँखा ठुल्ठुला पार्दै र अझ नाकका पोरा फुलाउँदै भनें, 'चित्रगुप्त भनेको यमराजको बैदार हो । मैले त तिमीहरु त्यहि बैदारको पनि चपरासी सपरासी होलाउ भन्ठानेको । तर तिमीहरु चित्रगुप्तलाई पनि चिन्दैनौ भने के को आधारमा मलाई जबर्जस्ती मेरो पाखुरा समातेर लग्दैछौ? ......तेरिमा झ्याँक्ने हो, तिमीहरु त यता माथितिरका अपहरणकारी जस्तो पो छौ । अब मलाई तिमीहरुको आइडीकार्ड देखाउ । हैन भने मलाई यसरी पाखुरा समातेर अपहरणको शैलीमा कहिँ लैजान पाउँदैनौ ।'

बादलको वस्तीहरु काटेर निक्कैबेर हिडीसक्दा पनि म ताराहरुको गाउँघर नजिक नपुग्दा अर्कोतिर क्रोधित हुँदैथिएँ । म सोच्दैथिएँ कि ताराहरुको गाउँ नजिकबाट हिंडीरहँदा पृथ्वीलाई तल सानो सानो डल्लो जस्तो देख्नेछु तर जहाँबाट मलाई हिँडाईदैथियो त्याँहा नजिकमा न ताराहरु थिए न चन्द्रमा न पृथ्वीनै ।

'हामीले तिम्रो पाखुरा समातेका छैनौं । तिमीलाई छोएका पनि छैनौं । पाखुरा साखुरा तिम्रै लोकमा छोडेर केवल आत्माको रुपमा यहाँ आएका छौ तिमी...', अर्को अलि विनित बनेर बोल्यो, 'हेर हामीले स्वर्गफ्वर्ग पनि केहि देखेका छैनौं । चित्रगुप्त, यमराज स्यमराजहरु पनि चिनेका छैनौ । कल्पकल्पान्त भैसक्यो हामीले यहि कार्य गर्दै आएको । आजसम्म हामीलाई कसैले परिचयपत्र पनि मागेको थिएन । हामीलाई परिचयपत्र दिने निकाय नै छैन त्यसैले हामी परिचयपत्र देखाउन समर्थ छैनौं । त्यसउसले तिमीले यो व्यर्थको विवाद र वहस झिक्नु कत्तिपनि उचित छैन ।'

'...तर म तिमीहरुलाई को भन्ठानेर तिमीहरुको पछि लागेर जानु? तिमीहरुलाई मेरो आत्मालाई ज्योर्तिमय पुञ्जको कन्टेनरमा राखेर अध्ययन गर्ने अधिकार दिने को हो? सर्वोच्व बेगरको कुनैकुराहरु हुँदैन कहिँपनि भन्ने कुरा थाहा छैन तिमीहरुलाई? तिमीहरुको सर्वोच्व को हो, के हो? गैह्रकानुनी हिसाबले त्यसै तिमीहरु मेरो आत्मालाई ल्याएर त्यसमाथि शोध गर्न खोजिरहेका छौ कि? या त यमराज ईत्यादिहरुसँग फिरौती रकम असुल्नलाई मलाई बन्धक बनाउन खोजिरहेछौ?'

अहँ मेरो रीस पट्टक्कै शान्त भएन । बरु मेरो त झन् भन्दा झन् रीसको पारो चढ्दै गयो । हुनपनि मेरो देह अहिले नै फेर्नुपर्ने गरि पुरानो भैसकेको थिएन । जवानी मै छँदैथिएँ म । तर आफ्नो प्रेमको समाप्तीको पीडा सहन नसकेर आफैंले त्याग गर्न चाहेको थिएँ आफ्नो देहलाई । बाचुञ्जेल आफुले कसैको पनि कुभलो बन्दै नगरेको हुँदा जुनसुकै कारणले भएपनि शरिर छाडेर गैसकेपछि मलाई स्वर्गमै जाने ईच्छा थियो र स्वर्गमा स्थान पाउँन योग्य उम्मेद्वार भन्ठान्थें म आफुलाई तर ईच्छित महायात्राको विचमै मेरो ईच्छामाथि कुठाराघात हुने ठहर्यो । महायात्रामा जस्को साथ म हिंड्दैथिएँ तिनीहरु स्वर्ग देखेसुनेकै छैन भन्ने किसिमका निस्किए । हेर्दा पौराणिक पुरुषझैं दिव्य देखिने यी दुई को हुन त? र मलाई कहाँ लाँदैछन्? केहि खुट्याउन नसकेपछि म अड्डी कस्न थालेको थिएँ ।

'म स्वर्ग प्राप्त गर्छु भनेर ढुक्क भएर हिंड्दैथिएँ तिमीहरुसँग । तर स्वर्गसँग तिमीहरुको केहि सरोकार छैन भने म तिमीहरुको प्रयोगशाला हो कि प्रशोधनशाला हो त्याँहा जान्न । बन्दै जाँदिन । हेरौं कसरी जबर्जस्ती गर्दारहेछौ?' मेरो घुर्कि थियो ।

'हामीले तिमीलाई जबर्जस्ती गरेकै छैन । जबर्जस्ती ल्याएको पनि होइन तिमीलाई । तिमी स्वयँ हाजिर भएका हौ र अहिले स्वर्ग स्वर्ग भनेर हुँदै नभएको स्वर्गको रट लगाईरहेछौ । आफुले कर्म गर्नुपर्ने ठाउँलाई नै पो स्वर्ग भन्छौ होला तिमीहरु भन्ने लाग्थ्यो हामीलाई त । हामी तिमीलाई तिमीले भनेको जस्तो स्वर्ग पुर्याउन पनि सक्दैनौं ।' उनिहरुमा अब त रीसको नामोनिशान थिएन । दैबीरस युक्त वाणीले सम्झाईरहेथे उनिहरु मलाई । म पनि नरम हुन बाध्य भएँ र नरम स्वरमा सोधें, 'उसोभए मलाई किन ब्यर्थ त्यो कन्टेनरमा राखेर अध्ययन गरिरहने? आँखीर उहि लोकमा फेरि कुनै जीवनमै फिर्ता पठाउने हो भने ब्यर्थ किन म त्यो कन्टेनरमा मेरो समय वर्वाद गरुँ? मलाई यहिँबाट मेरो साविककै जीवनमा फर्काउन मिल्दैन?'

दुबैले मुखामुख गरे र एकैस्वरमा भने, 'अवस्य मिल्छ । अहिले सम्म त तिम्रो देह नष्ट भैसकेको छैन तर ढिलो गर्यो भने तिम्रा प्रियजनहरुले नै तिम्रो देह नष्ट गर्नेछन् । अत छिट्टो गर्न तिमीलाई हामीले यो बाटो पठाउनु पर्ने हुन्छ ।'

उनिहरुले मलाई कालो अँध्यारो सुरुङ्गजस्तो गहिरो न गहिरो बाटो देखाए र खसाउन तयार भए ।

'यो गहिरो त निक्कै तलसम्म छ जस्तो छ । म कहाँ पुग्छु नि यो बाटो?' मेरो डर तिनीहरुले बुझे क्यार भने, 'हेर्दा मात्र हो यो डरलाग्दो देखिने । यो तल हैन तिमीलाई तल जस्तो लागेको मात्र हो । जानलाई यहि बाटो सजिलो र छिट्टो हुन्छ । वान वे हो यो यहाँ पसिसकेपछि फेरि फर्कन मिल्दैन । तयार छौ?'

'छु ।' मेरो मुखबाट शब्द खस्न नभ्याई उनिहरुले मलाई त्यहि कालो अँध्यारो गहिरो ईनारजस्तो बाटोमा खम्र्याङ्ग खुम्रुङ्ग खँदारिदिए । उनिहरु भन्दैथिए 'कस्ता कस्ता मान्छेहरु पनि देख्नुपर्छ...'

त्यहि शब्द 'कस्ता कस्ता मान्छेहरु पनि देख्नु पर्छ...' मेरो कानमा यता पनि पर्यो जब मैले चल्मलाएर हस्पिटलमा पिर्लिक्क आँखा खोलेँ । मलाई हेर्न वरिपरी झुम्मिका अनेकौं मध्ये कुनै अपरिचित मान्छेको आवाज थियो त्यो । व्हिल चेयरमा बसेको उ अझै भन्दैथियो, '...म जन्मिंदै अपाङ्ग जन्मिएको मान्छे त आज रोगसँग लड्न उपचार गराउन आएको छु । यो नौजवान लाठेको बुद्धि हेर? यौटी केटिको निम्ती बिष खाने ।' मैले मुण्टो फर्काएर उसलाई हेर्दा उ अर्कोपट्टी फर्केर गुड्दै भीडमा ओझेल भयो ।

'दीपकको होस आयो ।' कसैले घोषणा गर्यो । अझ धेरै मान्छेहरु मेरो वरिपरी झुम्मिए । कोहि रुँदैथिए मेरो निम्ती; कोहि गाली गर्दैथिए मलाई । म हस्पिटलको बेडबाट उठ्नु भन्दा अगाडिनै सबैको नजरमा गिरिसकेछु भन्ने हेक्का भैसकेको थियो मलाई ।

एकैछिन् आफुलाई सम्झिएँ, 'थुक्क! मैले के गरेको होला?' मनमनै भनें, 'अब सबैको अगाडी लाजकै मर्नु हुने भो । किशोर वयको प्रेम साँच्चै अन्धो हुँदोरहेछ । जीवन नचिनेर होला किशोर वयमा प्रेमलाई जीवन भन्दा महत्वपूर्ण ठानिएको । जीवन नरहे प्रेम के का लागी होला? प्रेम जीवनमा उज्यालोको लागी हो, जीवन प्रेममा बलि चढाउन हुँदै होइन ।' त्यस घट्ना पछि म जीवन बुझेको अनि प्रेम चिनेको दार्शनिकझैं भएको छु कि जस्तै लाग्थ्यो आफुलाई । तर मैले बुझेको कुरा अरुलाई बुझाउन त के सुनाउन समेत अयोग्य घोषित भएको थिएँ सर-संगतमा म । कायर, बुद्धिले हीन, पशु....... यस्तै यस्तै अनेक विशेषणहरु बनेका थिए मेरो परिचयमा ।

'थुक्क! तेरो बुद्धि?.....' पछिसम्म पनि दौंतरी तथा आफन्तहरुले यसैगरी मेरो मनोवललाई उठ्न दिएनन् त्यसैले माहायात्रामा आधाबाटोसम्म हिँडेको यो रोमांचक कथा समेत म भित्र वर्षौंसम्म गुम्सिरहेको थियो । मैले कसैलाई सुनाउने सम्म पनि आँट गर्नैसकेको थिइनं ।

आजको दिनलाई सलाम जस्ले मेरो महायात्रामा आधाबाटो हिँडेको कथालाई ह्रदयको गुम्फनबाट उकासेर प्रकाशमा ल्याएको छ ।

***
(खसखसडटकममा प्रकाशित)

Sunday, December 11, 2011

गीत : तिमीलाई मेरो प्यारमा

भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा
म त नबुझ्न पनि सक्छु बुझाउनु विस्तारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


सँधै देख्ने मायालु संसार तिमीलाई
उज्यालो डुबेझैं धमिलो भयो
आफैंसँग भागेर हिंड्न तिमीलाई
किन आँखाकै बाटो सजिलो भयो
हैन जे जे तिम्रो आफ्नो त्यहि खोज्दैछौ संसारमा
चाहिने तर एउटा साथ मात्रै हो जिन्दगीको आधारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


म दिउँ तिमीलाई या तिमी देउ मलाई
त्यो खुसी अधरमा समेट्न सकिन्न
जति होस् उज्यालो र खुसी जगतमा
मन र आँखा नभै भेट्न सकिन्न
थिए जे जे तिम्रो गुनासो पोखिएका चित्कारमा
सोधिहेर्नु राखेर तिमी देवतालाइ ह्रदयको द्वारमा
भन के के हुनुपर्थ्यो तिमीलाइ मेरो प्यारमा ।

Monday, December 05, 2011

गजल : रात आज पनि पर्छ

तिन्लाई के छ जस्को सदा कौसीमा चाँदनी पर्छ ।
घर नहुने तैयार बस रात आज पनि पर्छ ।

शुभ मुहूर्त पर्नलाई जुर्नुपर्छ घडी लग्न,
विपत्ति यो पर्नु पर्दा कसैलाई नभनि पर्छ ।

बाढी आउँछ पैह्रो जान्छ छानो हूरी संगै उड्छ,
गरीवकै वस्तीमा अझ वर्षेनी आगजनी पर्छ ।

कहाँ छैन के मा छैन आरक्षण राखेको आज,
ढुक्क बस ए गरीव हो त्यहाँ पक्का धनि पर्छ ।

तित्रा जुनि भोग्नु पर्छ 'दीपक' तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***

केहि अघि नै लेखेको यो गजल प्रति म आभारी छु कि यसले आज मेरो ब्लगमा यौटा मिती अंकित गरेको छ । अचेल के लेखिन्छ खै? सधैं केहि न केहि त लेखि नै रहिएको छ भन्ने हुन्छ आफुलाई तर ब्लगको निमित्त भनेर केहि नै तयार हुँदैन रहेछ । ब्लगर भैखाएको यतिका पछि लाग्दैछ ब्लगर हुनुपनि ख्यालख्याल त होइन रहेछ ।

Monday, November 21, 2011

कविता : एकजोर गुलाबी चप्पल

तस्वीर गूगलको सापट


एकदिन फेदैको खुड्किलामा
एकजोर गुलाबी चप्पल फुकालेर
भर्याङ्ग उक्लिएर माथी चढेथ्यौ तिमी
फर्किएर फेरि कहिल्यै
आफ्नो चप्पल लिन आएनौ
आजसम्म
अनगिन्ति पाईलाहरु
भर्याङ्ग चढेर माथी गए
भर्याङ्ग ओर्लेर तल झरे
अनगिन्ति चप्पलहरु
फुकालिए भर्याङ्गको फेदमा
लगाईए भर्याङ्गको फेदबाट
सबैको हर हिसाब
सायदै कसैले राख्यो
नराखेरै तर मसँग
रहेको छ हिसाब
तिमीले फुकालेर छोडेको
एकजोर गुलाबी चप्पलको
आउँदा जाँदा देख्नेहरु
सबैले बेवारिस ठान्छन्
सबैले अनाथ भन्छन्
तिम्रो एकजोर गुलाबी चप्पललाई
तर होइन
तिमीले फुकालेर छाडेपनि
आजसम्म मैले ख्याल राखेको
तिम्रो एकजोर गुलाबी चप्पल
कसरी बेवारिस हुन सक्छ?
कसरी अनाथ हुन सक्छ?

Tuesday, November 08, 2011

गजल : धूलोमा खोज्नु मलाई

मनग्गे छु धूलोमा खोज्नु मलाई ।
काँतर म दुलोमा खोज्नु मलाई ।

जब भाग नै लगाई सक्यौ भने,
सबै भन्दा ठुलोमा खोज्नु मलाई ।

म दुर्लभ साथै महङ्गो पनि छु,
भेट्छौ तर तुलोमा खोज्नु मलाई ।

सम्बन्ध नै भए खोजीको आधार,
हुन्छु म खुकुलोमा खोज्नु मलाई ।

बल्दिंन; तर खोजी दीपकै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।

Wednesday, October 26, 2011

कविता : चाँदनी कहिँ त पक्कै होलीन्

(फोटो गूगलको सापट)

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

आली आली राँको बोकेर
हेर एकहुल देउसे आए
गाउँ देखि पर
निर्जन
एकान्त त्यो मेरो घरमा

बनका माझमा
मेरा आँगनमा
जूनकिरी-जूनकिरी
दीपावली ल्याउँछन्
फेरेर चोली फरिया पातका
झ्याउँकिरी चेली
भैलो गाउँछन्

देउसे टोली नाना ओली
फलाक्छन् फोहोरी गाली बोली
गुहार! गुहार!
डरले भागेँ
उल्टै ज्यानको सिदा मागें
राँको बोक्ने ती देउसे हैनन्
तीनको टाउको मुखै छैनन्
देउसे सँग मादल छैन
कथा छैन गाथा छैन

ती
हुन् देश खाने धमिरा
डस्न आएका ती लामकिरा
चिन्नु तिनको जिब्रो गन्नु
कात्तिक हो यो सर्प नभन्नु
डस्न दिएर आफैं मर्नु
मंशिरमा देखेर गति पर्नु

हार
गुहार छर-छिमेकी
सबलाई देउसेकै टोलीमा देखि
नाङ्गो खुकुरी चम् चम् चम् चम्
मेरो आँगनमा देउसीको रमझम्
गर्दन छाम्दै भाग्दैछु

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

ठुलाठालु ती मान्ने गुन्ने
आफैंलाई समाजको अगुवा चुन्ने
जुनेली रातमा शिकारी झैं
अँग निचोरी स्खलित भै
चाँदनीसँग सुति रुखमुनि
कति मरेर शुक्र-जूनि
फिर्छन् घरमा साखुल्ले बन्छन्
मेरी चाँदनीलाई रण्डी भन्छन्

डुबेर चन्द्रमा नदिको जलमा
लुकेकि छन् कि घोर पातालमा
खोज्ने अनेकौं पाईलाहरु
टेकेर बगरका बाटुला ढुङ्गा
तंछाड मछाड जानु पारी
जुधेरै डुब्यो एक्लो डुङ्गा
सिँग कसैको हान्छन् कोहि
पुच्छर कसैको हल्लिन्छन् कोहि
डर सबैको आँखीर एउटै
सबलाई निल्न तयार गोहि

खोज्दैछु कराई रोई
डराएर मेरि चाँदनी खोई?

चाँदनी
कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?
***
महाकवि प्रति श्रद्धाञ्जली यत्ति लेख्न सकें

Tuesday, October 25, 2011

गजल : नजलि कोहि दीपक हुँदैन

यहाँ आफ्नै वस्तुमा हक हुँदैन
कहानी त्यत्तिकै रोचक हुँदैन


नसोध्नु कसैले ओजन मलाई,
मेरो पल्लामा कहिल्यै ढक हुँदैन


काटिनु अघि नै बुझ्नु पर्ने थियो,
सबै हतियारमा चमक हुँदैन


अर्ति नै दिनुपरे यहि भन्नेछु ,
अटेरीले सिक्ने कुनै सबक हुँदैन


जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि 'दीपक' हुँदैन

Thursday, October 06, 2011

दशैं गफ : दशैं अनुभूति

दशैं अनुभूति
अरु केहि छैन
तर टहटह जुन छ
ठीक्कै
सानो छँदाको दशैंकै जस्तै
परपर सम्म देखिरहेछु
प्यारो प्यारो उज्यालो
महसुस यस्तो गरिरहेछु
कि
दशैंमन आल्हादित हुन
बस् यहि जुनेली काफि हुनेरहेछ
अहँ
अरु केहि चाहिन्न रहेछ
प्यारो
जुनेलीमा नुहाएपछि
यहि पल प्रिय पल बनेपछि
धन्यवाद!
टाढाकि चन्द्रमा तिमीलाई
धन्यवाद
दशैंकि जुनेली तिमीलाई ।
****

कविता आकारमा कोरिएका यी हरफहरु हिँजोराती अर्थात महानवमी २०६८ को रातीको अनुभूतिहरु हुन् ।

हिँजै मैले यो सानो टुक्रालाई फेसबुकको पर्खालमा टाँगिसकेको पनि छु ।

आफ्नो देशभन्दा पर, आफ्नो महादेश भन्दा पनि पर, अझै अरुपनि केहि महादेशहरु नाघेर म २०६८ सालको दशैं अनुभूति प्रसान्त महासागरको मध्यभागमा अवस्थित हवाई नाम गरेको टापूहरुमध्येको पनि एउटा मावि नाम गरेको टापूबाट गरिरहेको छु ।

बिदेशमै भएपनि यस अघिका दशैंहरुको माहौल अगल अनुभूत भएको हुन्थ्यो मलाई । केहि दशैंहरु मैले कोलोराडोमा मनाएको छु । केहि नेभाडामा मनाएको छु भने केहि दशैं अलास्कामा समेत मनाएको छु ।

बिदेशका ती प्राय दशैंहरुमा माहौल तताउने या भनौं रौनक ल्याउने कुरा भनेकै खानपिन र नाचगान हुने हो । सबै दशैंका त्यस्ता अवसरहरुमा म बेस्सरी रमाएर खानपानमा सहभागि भएको छु । बेस्सरी उफ्रि उफ्रि नाचेको पनि छु फेरिपनि हरेक साल दशैंले मन चिमोटिरहन्थ्यो कि घरमा मनाए जस्तो, अझ सानोमा मनाए जस्तो दशैं यो बिदेशमा कहाँ मिल्नु?

खै निधारमा आमा, हजुरआमाले लगाईदिएको अक्षता र जमरा? खै शिरमा आमाको आशिर्वाद? खै लिङ्गे पिङ्ग ? खै त्यो? खै उ? यस्तै यस्तै थुप्रै कुराहरु हराईरहेको हुन्थ्यो हरेक साल दशैं मनमा ।

पछिल्ला केहि दशैंहरु अलास्कामा मनाउँदा भने मैले फेरि अलि भिन्न महसुस गरेको थिएँ । अमेरिकाको म पुगेजति ठाउँहरुमा भएजति नेपाली मनहरु मध्येमा धेरै आत्मिय, धेरै पारिवारिक र धेरै मायालु नेपाली मनहरु राखेको छ अलास्काले । भएजति सबै नेपालीहरु एकै घर एकै परिवार जस्तै भएर सौहार्द बसेका छन् अलास्काका नेपालीहरु । त्याँहा दशैं मनाउँदा मात्र हो मलाई म आफु घरमै दशैं मनाईरहेछु जस्तो महसुस भएको ।

यस वर्षको भने कुरा अर्कै छ मेरो । उता घरमा पनि यस वर्ष दशैंको जमरा राखिएन, टिका चलाईएन । जुठो परेको घरमा दशैंको रौनक छरछिमेक सम्म मात्र आएर त्यसै रह्यो उता । यता त झन दशैंले प्रसान्त महासागर तर्नै सकेन ।

१८८३ वर्गकिलोमिटर क्षेत्रफल भएको र एकलाख चवालिसहजार चारसय चवालिस जनसंख्या(सन २०१० को आँकडा अनुशार) भएको मावि नाम गरेको यस टापूमा दशैं सम्झेर आनन्दित हुने, दशैं सम्झेर निस्ताउने नेपाली मन हामी दुईजना मात्र छौं । दुईवटा मात्र दशैं मनको लागि त्यसैपनि त्यत्रो समुद्र तरेर आउन दशैंलाई के कर लाग्दो हो र ? त्यसो त यहि टापूमा बास भएको अर्को एउटा नेपाली मन पनि छ भन्ने सम्म सुनेको भएपनि आजसम्म भेटघाट छैन ।

त्यसैले त दशैंमा फुर्सदिला हामी दुई दशैं मनहरु जुनेलीमा नुहाउन समुद्र किनारमा पुग्यौं । सुरिलो, अग्लो नरिवलको फेदमा बसेर जुनेली तापिरहँदा मलाई सानोमा दशैंका रातहरुमा लाग्ने चहचह जुनेली याद आयो । चहचह जुनेलीमा रातभरि लिङ्गे पिङ्गमा हामी केहि दौंतरीहरु पिङ्ग खेल्दै, उट्पट्याङ्ग गर्दै बसेको याद आयो ।

'ए लिला हेरत, उ त्यो केराको बोटमा ठुलो चमेरो आएर बस्यो । एउटा घोचो ल्याएर त्यसलाई घोचुँ न?' उपद्रो यस्तै हुन्थे ।

मनले लिलालाई बोलायो । लिला कोलोराडोमा दशैं मनाउँदैछ यसपाली ।

'ए गणेश, कस्तो बोर भयो हौ? भण्डारी दाइको बरण्डामा सुकाउन राखेको अचार ल्याएर खाने?' अर्को उपध्रो यसरी फुर्थ्यो ।

मनले गणेश सम्झियो । गणेश पनि कनेक्टिकटमा दशैंको टिका लाउँदैछ यसपाली ।

....ऐजन.... ऐजन.....चेतन, भिमे, चन्द्रिमाइला, गोपाल, टंके, दीवस, ज्ञाने, ईन्द्रे, कुले, रोहिते, कान्छा....... थुप्रै हुन्थे उपद्रोमा ठीक्कै, रमाईलोमा ठीक्कै सहभागिहरु ।

अब कोहि छैनन् गाउँमा । सबै बिदेशमा, सबै परदेशमा ।

अस्ति भर्खर गाउँमा बैनि(फुपुदिकि छोरि)संग कुरा हुँदा गाउँको 'समुह'को बारेमा सोधेको थिएँ । म आफैं हुँदा स्थापना गरेको 'नवज्योति समुह' पुरुषको र 'नवज्योति महिला समुह' महिलाको थियो । बैनिले भनेकि थिईन्, 'तपाईंहरु पढेलेखेका जति सबै बिदेशतिरै हराउनुभयो र तपाईंहरुको पुरुष समुह त हिसाबकिताब थेग्ने मान्छे नै नभएर बिघटन भयो । हाम्रो महिलाको समुह भने हामी चलाउँदैछौं ।'

त्यो सुन्दा मन साह्रै खिन्न भएको थियो ।

नरिवलको फेदमा हिँजोपनि केहिबेर खिन्न भएँ । कोहि भएनन् होला सायद गाउँमा दशैंको लिङ्गे पिङ हाल्ने केटाहरु । आफ्नो पनि यहाँ दशैंको केहि नै छैन तर जुनेली देखेर एकातिर त्यसै त्यसै रमाएको थिएँ म । चन्द्रमाले जुनेलीमा मेरो पहिले पहिलेको दशैंको सम्झनाका किरणहरु खसाईरहेझैं भएर मन त्यसै त्यसै फुर्कियो । र मनमा लेखें माथिमा कविता आकारका हरफहरु ।

****

(बिजया दशमी र बाँकि बक्यौता बडादशैंको शुभकामना फेरि एकपल्ट सबै दशैं मनहरुलाई!)