Friday, February 09, 2007

गजल : ईन्द्रेणी फुटेर ।

ईन्द्रेणी फुटेर एक सानो टुक्रा खस्यो कि हाम्रो तराईमा ।
किन देख्छु भाग बण्डाको खेती बन्धु बान्धवको कराईमा । १

लडेरै लिनु पर्छ अधिकार हेपिएको छ हाम्रो तराई ,
तारतम्य तर मिलाउनै पर्छ भनाई अनि गराईमा । २

कस्ले बुझ्छ तराईको मर्म अनि कस्ले घाउ लगाउंदैछ ,
छुट्याउन सक्नु पर्छ हामीले आजै आफन्त र पराईमा । ३

तराई उज्यालो नै पार्ने हो भने आगो हैन विचार छरौं ,
को मर्छ कस्को घर जल्छ बुझौं आफ्नै गाउंमा आगो छराईमा । ४

मधेश आन्दोलनको बेलामा लेख्दालेख्दै छोडिएको यो सानो गजल । भलै हालको लागी मधेश शान्त देखिएको छ तर केहि यस्ता तत्वहरु हाम्रो तराईमा अझै छन जो तराईलाई नेपालबाट अलग पारेर आफु त्यहाँको भाई ( हिन्दी फिल्मी शैलीको ) बनेर अनि सरकार ( अमिताभ बच्चनले अभिनय गरेको सरकार फिल्ममा जस्तो ) बनेर बस्ने सपना देख्दैछन । हाम्रो तराई भित्रका त्यस्ता तत्वहरुलाई तराईबासीले नै चिनेर नेपालको अखण्डतालाई जोगाउंदै र शान्तीको बाटो अवलम्बन गर्दै तिनिहरुको प्रतिरोध गर्नुपर्छ ।

Thursday, February 08, 2007

गजल : कसम किन खुवाउंछौ ?

झूटो माया लाउनु रै'छ कसम किन खुवाउंछौ ?
त्यै कसमले घोचि घोचि मलाई किन रुवाउंछौ ? १

नाटक पनि कति गर्न सकेको होला तिमिले त ,
आगो झोसी मेरो छातीमा किन हँ तिमी धुवाउंछौ ? २

म भिजेको बाँस जस्तै तिम्रो अघिल्तिर नुहिरहें ,
भुईं छुन मात्रै बाँकी रह्यो अझै कति नुहाउंछौ ? ३

पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें ,
किन टाल्थ्यौ 'दीपु'को मुटु चुहाउ कति चुहाउंछौ ? ४

भन्थ्यौ अरे म त तिम्रो खुट्टामा राख्नै सुहाउंदिन ,
जाने हो त ? गए हुन्छ जाउ जहाँ तिमी सुहाउंछौ ? ५

माया पनि तिमीलाई छिनको छिनमा फेर्नु परे ,
मेरो पुरानो यो मायामा जिन्दगी किन कुहाउंछौ ? ६

गीत : झार्दछ आँशु आकाशले ।

झार्दछ आँशु आकाशले शीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले
सायद मलाई नै थाहा थिएन म गीतमा नै रोएको थिएं
मैले गीतैले अरुको पनि दुखेको मुटु छोएको थिएं ।


यो गीत हैन घाउ हो मेरो मुटुमा दुख्छ काँढा गाढेर
रुन चाहन्छु रुन देउ मलाई भक्कानो फुटाई डाँको छाडेर
हार स्विकारी हात उठाएं जीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।


प्रितीको बाटोमा आगो सल्कियो सागरमा हिडें नाउ चढेर
तुफान वैरियो सागरमा पनि डुब्न लाग्यो नाउ छाल बढेर
भुमरीमा फस्दा प्रेमको डुँगा प्रित भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।

Wednesday, February 07, 2007

poem : One day in to the photo album




One day ,
With bloomed roses on hand
Having a swear being touched to water
She had a look at me
From the picture
And said , " I'm not dead yet;
The each and every roses
planted by me
into your heart
When blooms and
Will be aromatic your life
With it's aroma
Just you feel
At the very time
I'll be at your heartbeat."
Unbelievably I saw her
Just saw her for hours
Fearlessly she saw me back
Till long without blinking
Meanawhile
With a bit agonies
I got hurt inner in to me
I kept my face down
Into her vail
And tried to find
The roses planted by her
Into my heart
I saw there
lots of ugly roses
They all were
About to wither
Being smellless
How sad !!
I felt
The beauty is in seignt
Instead of in rose
And the smell in fragnance
Loosing to which
I found
A secret that-
'The beauty of the roses
Is only an illution.'
And then
I turned over the page
Of my photo album .

This poem is a translation of my poem ALBUM KO PANABHITRA EKDIN , translated by myself , someday while not being busy . The original form is in Nepali language and already posted in this blog .

Tuesday, February 06, 2007

गजल : रातैभरी त्यो जुन रोयो ।

म रोएं म संगै लौ रातैभरी त्यो जून रोयो ।
देखेर जूनको आँशु खै त अर्को कुन रोयो ? १

माया लाउंदा बैगुनीलाई आँखा चिम्लिएछौ ,
दोष तिमीलाई दिंदै हेर आज गुन रोयो । २

समय शताब्दी फेरियो फेरिएन जिन्दगी ,
आफ्नो जिन्दगी देखेर आज आफ्नै खून रोयो । ३

बिज्ञान प्रबिधीले उता सारा संसार छोप्दा ,
देखेर बच्चाको गलगाँण ढिके नुन रोयो । ४

किन आ'हो चाड पर्ब जात्रामात्रा घरी घरी ,
बुझ्दा बजार भाउ , गोजीमा चानचुन रोयो । ५

तीज अरे गृहलक्ष्मी खुशीमा फूलेकी छिन ,
उन्को बुच्चो कान देखेर बन्धक सुन रोयो । ६

गाईने दाई आउनै छाडे सारङ्गी रेटेर ,
दुखी छ कि सारङ्गी ? गाइनेदाईको धून रोयो । ७

होली खेल्ने बगैंचामा रगत पोखिए पछि ,
नाङ्गेझार रुखहरु संगै फेरी फागुन रोयो । ८

लेखे लेख्नेले किताबमा नीति कानुन सबै ,
तिनैले धज्जी उडाए बबुरो कानुन रोयो । ९

(यो गजललाई ॠचा तिवारीले आफ्नो ब्लग http://sapanakosansar.blogspot.com मा राख्नु भएको छ ।)

Monday, February 05, 2007

गीत : भोक हो माया ।

भोक हो माया
महारोग हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शोक हो माया ।

सांघु हालेर मायाको कति त जंघार तरी जान्छन
चढ्न नसकी मायाको शिखर कोही फेदीमै झरी रन्छन
एउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुने
पाप हो माया
सन्ताप हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
श्राप हो माया ।

खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छन
अरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छन
थोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउने
भूल हो माया
झरेको फूल हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शूल हो माया ।

Sunday, February 04, 2007

कविता : जवानी ।

हिँउ झरेर केशमा बसेछ
अहो ! केश त फुलेझैं लाग्यो मलाई
अझै पनि ऐनामा नियाँल्छु आफुलाई
खै त , बैंश झरेको थाहै पाईनं मैले
रहरहरु मात्र किन झर्छ यहाँ
पहेंलिएर रुखको पात झरे झैं
कतै जिन्दगीको रुप ऋतु त हैन ?
ऋतुहरु भोग्छ जीवनले
थाहा छ , तर जीवन
ऋतु बनेर दोहोरिन्न कहिले
आज साँझ पार्कमा
दुईचार युवतीहरु मस्किंदा
लागेथ्यो मेरो बैँश अझै जिउँदै छ
रात जब घरभित्र मलाई
आफ्नै कान्छि छोरीले
उसको प्रेमीसंग परिचय गराई
तब लाग्यो
मेरो केशमा हिउँ सांच्चै बसेछ
मात्र यो हिउँदको हैन
पत्र पत्र बनेर कयौं हिउँदको
जस्लाई केशबाट झार्न सकिन्न
ब्यर्थै अब जवानी किन कल्पिउं म
जस्लाई पोटिलो पार्न सकिन्न ।

Saturday, February 03, 2007

गजल : हातमा तिम्रो तरवार देखें ।

युद्ध विचारले लड्छु भन्थ्यौ हातमा तिम्रो तरवार देखें ।
झुप्रोको बास छ मेरो भन्थ्यौ तर मैले त दरबार देखें । १

सादा जिवन उच्व विचार पैदल जमिनमा हिंड्छु भन्ने ,
गान्धीवादी हुँ भन्नेहरुको आज पजेरोमा सवार देखें । २

खल्तीमा हनुमान चालिसा बोकी आवाल ब्रम्हाचारी हुँ भन्ने ,
महापुरुषको पनि आज गैह्र कानुनी घरबार देखें । ३

प्रेम नै एकमात्र धर्म हो भन्दै दुनियाँभरी माया बाँड्ने ,
कलीयुगमा त बुद्धको पनि मैले रुखो ब्यावहार देखें । ४

सेतो पर्दाले छोपेर मजाले कालो ब्यापार गरिरहेथे ,
पोल खुल्दा सुईंकुच्चा ठोक्ने तिन्को मैले पछिल्लो द्वार देखें । ५

आँखा छोप्न पनि नसकिने खोल्दा छ बाध्यता लौ हेर्नै पर्ने ,
आज सम्म नदेखेको मैले साँच्चै बिचित्रको संसार देखें । ६

नेपाली पोष्ट डट कममा प्रकाशित ।

Thursday, February 01, 2007

कविता : फूलको आवाज ।

ए ! गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुझेनौ अझै
सयपत्री पनि त्यही माटोमा
टुसाएको हो
एकै फूलबारीमा
उही पानीले सिंचित भएर ।
उही गृष्मको
उस्तै ताप अनि
उही हिउँदको
उस्तै शीत सहँदै
संगै हुर्किएर
संगै फुल्दा
तिमी गुलाबी भयौ र
दुनियाँले तिमीलाई
गुलाबको संज्ञा दियो
किन मान्दैनौ आज तिमी
रंगको भेदले
अपहेलना गरेर
तिम्रो नाम राखेको हैन
यदी हुँदो हो त
पहेंलै फुल्ने सयपत्रीलाई
सयपत्रीको सट्टा
पहेंली भनिनु पर्थ्यो
एउटै फूलबारीमा
बराबर सौंदर्य छर्दै
सयपत्री संगै फूलीराख तिमी
अस्तित्व रक्षाको ढोँगमा
संगै हुर्किएको
सयपत्रीलाई
ब्यर्थै किन
काँढे अस्त्र प्रहार गर्छौ?
सुन ए! गुलाब
बनमाराले त आज
तिमीलाई मात्र हैन
सयपत्री लगायत
सबै फूलहरुलाई
पिरोलेको छ
फूलको आवाज सुन्यौ तिमीले
त्याँहा सयपत्री भन्दैछ
' ए ! गुलाब
काँढाले त घोच्यौ घोच्यौ
सहन्छु ; मलाई टाढा नपार
सुन्दर हाम्रो यो फूलबारीलाई
छुट्याएर बिचमा पर्खाल नबार । '


उमेश जी को माई संसारमा कमेण्ट लेख्ने क्रममा मेरो कमेण्टलाई गलत अर्थले बुझेर क्यानाडाबाट कमेण्ट लेख्नुहुने Rosy को लागी मैले यो कविता लेखेको हुँ र आशा गरेको छु हामी सारा नेपालीहरुको मनभित्रबाट साम्प्रदायिक द्वेष मेटिएर जानेछ र भोलीको नेपालमा हामी सबै संगै फुल्न पाउने छौं ।