Showing posts with label आफ्नो रचना : पुरानो कलम ।. Show all posts
Showing posts with label आफ्नो रचना : पुरानो कलम ।. Show all posts

Saturday, December 09, 2006

कविता : तारा खसेको रातमा ।

सानै छंदा मैले देखेको छु
आकाशबाट तारा खसेको
आमाको न्यानो काखमा बसेर
आकाशमा हिंडीरहेका ताराहरुलाई
साना औंलाहरुले देखाएर
आमालाई धेरै पटक सोधेको छु
आकाशमा तारा किन हिंड्छ भनेर
आकाशका देवता हुन ताराहरु
धर्तीका प्राणीको पापधर्म
लेखा लगाउन हिंड्ने गर्छन
कुनै कुनै ताराहरु
आमाको सरल सत्य जवाफले
चित्त बुझ्दै गरेको बेला
अकस्मात खस्यो अर्को तारा
आकाशबाट ढुन्मुनिएर
आमाले फेरी बुझाउनु भयो
धर्म सकिएर ताराहरु
यसरी पृथ्वीमा खस्ने गर्छन
आज फेरी त्यसरीनै
आकाशबाट तारा झर्दा
भन्न मन लाग्छ आमालाई
ताराहरु देवता हैनन
जो धर्म सकिएर पृथ्वीमा झरुन
त्यो त केवल उल्का हो
तारा झर्नुको भ्रान्ती मात्र
आकाशले कहिल्यै पनि
आफ्ना ताराहरु खर्च गर्दैन
बरु पृथ्वीबाटै धर्म छाडेर
खसाईन्छ ताराहरुलाई
जसरी हाम्रो माटोबाट
धर्म नसकिई खसाईएको छ
भर्खरै एकहुल ताराहरु ।

२८ जेष्ठ २०५८ झापा , गौरादह ।

विरेन्द्रको स-परिवार हत्या भएको समयमा मैले यो कविता लेखेको रहेछु । आज समयले कोल्टो फेरेर राजतन्त्रकै अवशान हुन लागेको बेलामा कतीहरु आफुलाई गणतन्त्रवादी देखाउने कसरतमा जुटेका छन र बिगतमा राजपरिवारको सम्बन्धमा आफुले गरेको कुनैपनि कामहरु भरसक लुकाउने चेष्टामा होलान । त्यस्ता प्रवृतीका मानिसहरु सायद भोलीको समयमा पनि आफ्नो दुनो सोझो नै बनाउन चाहन्छन । अर्कोतिर एक प्रकारले सबैतिर गणतन्त्रवादी देखिने फेसन नै छाएको छ तर मेरो भने कुरा अर्कै छ । म राजतन्त्रको बिरोधी हुँ तथापी मैले विरेन्द्रको बंशबिनास भएको समयमा लेखेको कविताहरु तपाईंहरु सामु राखेको छु र अरु पनि भएका राख्दै जानेछु अब मलाई पनि राजावादी रहेछ या मण्डले हो भन्नुहुन्छ भने मेरो भन्नु केहि छैन तर चाकरीको भाषा मैले प्रयोग गरेको छैन ।