Thursday, March 21, 2013

कविता : कुन हो असली कविता?








कोही पक्का छ
कहीँ अदृश्यमा
जो -
मलाई कविता सुनाइरहेछ
मलाई कविता पढाइरहेछ
मलाई कविता बुझाइरहेछ
मलाई कविता सिकाइरहेछ ।

म, मानौं कि
बहँदै बहँदै गइरहेछु नीदमा
सागरका मध्ययम् छालहरूसँगै
बतासका सम्पूर्ण सुसेलीहरू सुसेल्दै
नुतन काव्य रचेर
आफ्ना गोलाकार ओठहरूले ।

दाहिने हातले शिरमाथि पारेर
मैले कविताको शिर्षकमा चन्द्रमा उचालेको छु
मेरो वायाँ हात तानिरहेछ
प्रचण्ड झल्झलाइरहेको सूर्यको रथ
नछोडी भएजति रंगका विम्बहरू
नछोडी भएजति रंगका विचारहरू ।

स्वप्न सरी कविताका थुँगाहरू लिएर
पृथ्वीको धुरीबाट उचालिइरहेछु म
हलुका, पंक्षीहरूको मुलायम प्वाँख सरी
माथि माथि अनन्त, अगम्य नभमा
मेरा कविताहरू सहस्रदल कमलझैं
रंगहीन नभ-सागरमा फक्रिरहेछन्
चम्चमाउने ताराहरूका साथ ।

यस्तो माथि
जहाँबाट म देखिरहेछु
पृथ्वी - एउटा रुग्ण गँजेडीको टाउको
जो एकनासले सुल्फा तानिरहेछ
र फोक्सो भरेर उडाइरहेछ बादलको धुवाँ
म देखिरहेछु सेता हिउँका आलयहरू
मानौं चिन्ताले उसको केश फुलेको छ ।

त्यहीँनेरबाट
पवित्र माटोको महकदार सुवास भएका
निस्छल मानिसहरूको प्रेमको बोली भएका
मेरा कविताहरू
फैलँदाछन् उचाईमा
फैलँदाछन् आकाशमा
असङ्ख्य अनन्त ताराहरूमा
विचार बालेर झल्झली ।

कहीँ अदृश्यबाट कसैले
सुनाइरहेको कविता हो यो
पढाइरहेको कविता हो यो
बुझाइरहेको कविता हो यो
सिकाइरहेको कविता हो यो ।

कोही पक्का छ
कहीँ अदृश्यमा
जो भनिरहेछ
कविताहरू इन्धन हुन्
जो जल्छन् र तयार गर्छन्
हीतकारी मानसिक व्यञ्जनहरू ।

तब ताराहरूको लोकबाट
कृष्ण छिद्रमा निलिनु अगाडि
धर्तीमै झर्न बाध्य हुन्छन्
मैले उचालेका कविताहरू
तर के सक्लान् सप्तरंगी विचारहरूले
कुनै व्यञ्जन तयार गर्न
जस्ले शान्त पार्न सकोस्
धरती भरीको क्षुधा
गोबरको गुइँठाले पकाएको भोजनले झैं ।

साँच्ची, सोध्नु थियो
अदृश्यको कसैलाई
लौ न कोही भनिदिनोस्
कुन हो असली कविता?
गोबरको गुइँठा कि शब्दको?

1 comment:

मेरो विचार said...

त्यो अदृष्यको 'म' लाइ यसो भन्न मन लाग्यो:
गुइंठाको इन्धनमा पकाएको व्यन्जन मीठो हुन्छ | कविता हुन्न | कविता त शव्दकै मीठो हुन्छ जसरी यो कविता मीठो र असली छ |
तर कसै कसैले शव्दलाई गुइँठामा लगेर मिसाउँछन् र पो मार्यो |