Friday, May 11, 2012

कविता : चप्पलहरुको देशमा


चप्पलहरुको देशमा
चप्पलहरु केवल सडकलाई देश देख्छन्
घिसारिन्छन् सडकमा
लघारिन्छन् सडकमा
चुट्टिन्छन् सडकमा
गाँसिन्छन् सडकमा
फेरि लतारिन्छन् सडकमा
र सडकमै सेलाउँछन् चप्पल अस्तु ।

सुन ए चप्पलहरु!
यौटा चप्पलको यो सानो आग्रह कविताले बुझेनौ भने
जुत्ता लगाएका ठुला नेताहरुले बुझाउने छैनन् तिमीलाई
कि अवज्ञा, आन्दोलन, हड्ताल होस् वा जुलुस
हरेक पटक सडकमा किन चप्पलहरु मात्र छरिन्छन्?
चप्पलहरुकै हो यो देश
तर किन सडकमा
जुत्ताहरुको ईशारामा चप्पल घिसारिन्छन्?
जुत्ताहरु द्वारा चप्पल मारिन्छन्?

लेख्नै पर्दैन जवाफ
चप्पलको यो सानो आग्रह कवितामा
अब चप्पलहरुले आफैं बुझ्नुपर्छ - चप्पल मर्यादा
अब चप्पलहरुले आफै सिक्नुपर्छ - चप्पल संस्कृति
अब चप्पलहरुले आफैं जान्नुपर्छ - चप्पल सभ्यता
तब चप्पलहरुले
घिसारिनलाई सडकमा
लतारिनलाई सडकमा
खिइँनलाई सडकमा
जुत्ताहरुको आदेश तामेली गर्नु पर्दैन ।

अर्थ नबुझेका नाराहरु कुर्लेर
उपयोगीता नहुने मागहरु तेर्स्याएर
बन्द, हड्ताल, धर्ना र जुलुस हिंड्ने
सडक मात्र हैन चप्पलहरुको देश
जुत्ताहरुको प्रलोभनमा नफसि
जुत्ताहरुको ईशारामा ननाचि
जुत्ताहरुको निशानामा नपरि
चप्पलहरुको गौरव टेकिएर हिँड
चप्पलहरुको सम्मान देखिएर हिँड ।

चप्पलहरुको यो देश
वेवारिस घिसारिनु पर्ने सडक भन्दा कयौं गुणा विशाल छ ।
चप्पलहरुको यो देशमा
चप्पलहरुको स्वाभिमान जुताहरुको भन्दा कयौं गुणा माथि छ ।
***

Tuesday, May 01, 2012

कथा : एकचालीस दिनपछि

'उसले आजपनि केहि लेखेन ।.......'  निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोहोर्याउँछु ।

सँधैंजस्तै आजपनि उ कम्प्युटर अगाडि निर्मिमेष टोलाएर बसेको छ सायद ।

दिमागभरि गन्जागोल हुनसक्छ । जिन्दगी नै गञ्जागोल सिवाय के छ र? यो गञ्जागोल जिन्दगीलाई त्यान्द्रा त्यान्द्रा संगालेर केहि गजब लेख्ने कोसिसमा धेरै रात भैसक्यो रे उ कम्प्युटर अगाडि अबेर अबेर सम्म टोलाएको । तर उसले लेख्न खोजेको के हो? अझै स्वयं अस्पस्ट छु भन्ने उसको स्विकारोक्ती सुनेको छु मैले । त्यसो त स्पस्ट भैसकेका धेरै कुराहरु लेखिसकेको हो उसले । धेरै कुराहरु लेखिरहेको पनि होला र धेरै कुराहरु लेख्न थाँति पनि होला । र पनि उसले केहि गजब लेख्न चाहेको कुरा मसँग ओकलेको एक जमाना भैसक्यो ।

मैले जानेसम्म उ साधारण होइन । साधारण कुराहरु बाहेक उ कहिल्यै सोच्दैन र त्यसैमा असाधारण लेख्न सक्छ । यहि खुबी हो मलाई उसको चासो राख्न मनपर्ने । उसको चियो गर्न मनपर्ने ।

निक्कै पहिले एकदिन दिउँसो मैले उसलाई बबरमहलको बाटोमा भेटेको थिएँ । उ बडेमानको शिरिषको नाङ्गो हाँगाहरुको फोटो खिच्दैथियो ।

मैले सोधें, 'यतिबेला त कसैले पनि यो शिरिषको बोटको फोटो खिच्दैन । फुल्ने सिजन पनि गै सक्यो ।'

उ मुस्कुरायो । त्याहाँ पनि उसले आफ्नो खुबी देखायो मलाई । केवल मुस्कुराउँदा पनि यति अलग्ग र आनन्दपूर्ण ढंगले धेरै कम मान्छेहरु मुस्कुराउँछन् ।

'हाँगामा फूल हुँदा त त्यो फूलेको छँदैछ नि, त्यसै सुन्दर हुन्छ होइन र?' कुनै रहस्यमयि कुरा गोपनियता कायम गर्दै भनेझैं उसले सानो आवाजमा भन्यो ।

'हो त । र फोटो खिच्दा त्यहि सुन्दरतालाई खिच्छन् होइन र फोटोग्राफरहरुले ?' मैले भनें ।

आफ्नो सुन्दर मुस्कुराहट कायम राख्दै भन्यो उसले, 'मलाई कैलेदेखि फोटोग्राफर सम्झियौ तिमीले? मैले त त्यसै खिचेको । फोटोग्राफर होइन म त्यसैले फूल नलागेको शिरिषको हाँगामा फूल लागेको जस्तै निकाल्न सकिन्छ कि सकिंदैन हेर्न खोजेको ।'

मसँग उसलाई भन्न केहि रहेन । फिस्स हाँसेर बाटो लाग्न खोज्दै गर्दा उसले ईशाराले आफुले खिचेको फोटो हेर भन्यो । रुचिसाथ म उसको हातको ठुलो डिजिटल एसएलआर क्यामराको एलसिडी स्क्रिनमा भर्खरै उसले खिचेको शिरिषको नाङ्गो हाँगाको फोटो हेर्न पुगें । हात थर्थर कमाउँदै उसले मलाई भखरै खिचेका तीनवटा तस्वीरहरु देखाउँदै भन्यो, 'हेरत, फूलेको जस्तै देखिएन?'

उसको रक्सी मिश्रित श्वास सिधा मेरो नाकमा ठोकिन आयो । मैले तस्वीर भन्दा पहिले एकपटक पुलुक्क उसलाई हेरें । उ अझै सुन्दर मुस्कुराईरहेकै थियो ।

उसले जूम गरेर नजिक पार्दै खिचेका तीनवटै फोटोहरु साँच्चै फूल भएका शिरिषको हाँगाकै फोटो खिचेको जस्तै देखिन्थ्यो । कता कता त्यो क्यामराले खिचेको नभएर पेण्टिङ्ग बनाएको जस्तै पनि देखिन्थ्यो । अलि ध्यान दिएर हेर्दा क्यामरा हल्लिएर खिचिएको जस्तो पनि देखिन्थ्यो ।

'हो, यो त साँच्चै फूल लागेको बेला खिचेको जस्तै देखियो त । कसरि भयो यस्तो?' मैले जिज्ञासा राखें ।

उसले मलाई ठाडो घाँटि गरेर आकाशतिर त्यहि नाङ्गो शिरिषको हाँगा हेर्न भन्यो । मैले त्यसै गरें ।

'बाक्लो हाँगाहरुबाट मध्यान्ह सूर्यको किरणहरु जो छिरिरहेको छ त्यसैलाई मैले क्यामरा थोरै हल्लाएर फूलजस्तो बनाएको हो ।' स्पस्ट पार्यो उसले ।

भर्खरै मैले उसले मातेको हुनाले फोटो खिच्दा क्यामरा हल्लाएछ भन्ने धारणा बनाएको थिएँ । ठाउँको ठाउँ म गलत साबित भएँ ।

'तर मलाई फोटोग्राफर हो भन्ने गलत धारणा नपाल्नु है?' फेरि उस्तै मिठो मुस्कान पोखेर बाटो लाग्यो उ ।

पुरै दिनभरि उसैलाई सम्झिरहें मैले । कस्तो अनौठो मान्छे, सम्मोहनकारी जस्तो ।

साँझ फेसबुक लग इन हुनेबित्तिकै उसैको प्रोफाइलमा गएँ । केहि लेखेको छैन । फेसबुकमा केहिदिनदेखि नै उसको गतिविधी देखिएको छैन । म निराश भएँ । फेसबुकमा म उसको सुन्दर लेखाईको पनि फ्यान हुँ । जे पनि लेख्छ उसले साह्रै सुन्दर लेख्छ । तर लेख्छ आफ्नै लागिमात्र लेखे जस्तो । मिठा मिठा रचनाहरु लेखेर राख्छ । कसैलाई ट्याग गर्दैन । उसका रचनाहरुमा उति धेरै कमेण्टहरु पनि हुँदैनन् । उ पनि अरुका रचनामा कमेण्ट गर्न हम्मेसी पुग्दैन । मलाई यति धेरै मनपर्ने लेख्ने मान्छेको रचनामा किन प्रतिक्रियाहरु हुँदैनन् भन्ने पिरोलो परेर मैले निक्कै अनुसन्धान पनि गरेको थिएँ एकताका । नतिजामा मेरो दृष्टिकोण यस्तो बनेको थियो कि उ कसैलाई आफ्ना रचना ट्याग गर्दैन त्यसैले उसका रचनामा कमेण्ट हुँदैन पहिलो कुरा । दोश्रोकुरा उ पनि कसैको रचनामा कमेण्ट लेख्दैन । हुनपनि फेसबुकमा लेखिने धेरै प्रतिक्रियाहरु कि त नचाहेर पनि पुरा गरिने रीतिरिवाज जस्तै ट्याग गरेकै कारण गरिएको हुन्छ कि त गाउँघरमा लगाईने अर्मपर्म जस्तै, अरुले आफ्नोमा कमेण्ट गरेको कारण हुन्छ । कि त मनोरञ्जन कै निमित्त लेखेझैं केटिहरुको रचनामा या वालमा लेखिएको हुन्छ ।

सँधै कम्प्युटर खोलेर फेसबुकमा पस्दा सबभन्दा पहिले उसैले केहि लेखेको छ कि भनेर खोज्ने एकप्रकारको आदत बनेको छ मेरो । दिन दिन गरेर महिना बित्यो अहँ उसले केहि लेखेको छैन । उसको वालमा नयाँकुरा केहि नभएपनि म त्यसै उसकै पुराना स्टाटसमा तथा नोटमा भएका कुराहरुमा हरेकपल्ट नजर पुर्याउँन छोड्दिंनथिएँ, मानौ कि यो पनि मेरो दैनिकी मध्ये एक हो ।

एकदिन राती अबेर उ अनलाईन देखियो । देख्नेबित्तिकै झम्टिए जस्तै उसलाई बोलाउँ कि नबोलाउँ म दोधार भएँ । यस अघि पनि कति पटक अनलाईन देखेर बोल्दा उ मरिगए बोलेको थिएन तर उसँग बोल्ने तिब्र ईच्छा भैरहेथ्यो । त्यसो त कैलेकाहिँ बोल्छ पनि । तर बोल्ने के भनेर ?

'अस्तिनैको शिरिषको फोटो राख्नुस् न वालफोटोमा ।' मैले सिधै माग राखें ।

'नमस्कार भाइ', केहिबेर पछि उ औपचारिक तवरले बोल्न थाल्यो, 'त्यो फोटोहरु त मैले डिलिट गरिसकें ।'

म छक्क परें । त्यत्रो मेहनत गरेर खिचेको फोटो कसरि डिलिट गर्यो उसले?

सोधें, 'किन र? राम्रो थियो त, तपाईंलाई मनपरेको थिएन र?'

'होइन, मनपरेको हो । आफुले खिच्न खोजेजस्तै भएको प्रमाण तपाईंले उतिखेरै मनपराएर पाईहालें अनि डिलिट गरेको ।' मैले फेरि भन्ने कुरा हराएँ र वाल्ल परिरहें । कस्तो मान्छे होला । उसले खिचेको फोटो मैले राम्रो भनेर डिलिट गरेको रे ।

'मैले राम्रो भएन भनेको भा'?' सोधें ।

'राख्थें होला । अरुलाई पनि देखाउँथें होला । अथवा फेरि खिच्थें होला ।' उसले तीन किसिमका सम्भावित जवाफ दियो ।

केहिबेर बोलेनौं हामी । फेरि मैले नै सोधें, 'खै अचेल त केहि पनि लेख्नुहुन्न? अनि अचेल त देखिनुपनि हुन्न ?'

'मैले काठ्माण्डु छोडीसकें भाइ, काठ्माण्डुमा साह्रै निसासिएँ म । अनि कैले के लेख्थें र मैले?'  यस्तो जवाफ लेख्यो उसले । एकछिन् त मलाई घमण्ड देखाए जस्तो अथवा मेरो सोधाईले झिँजिए जस्तो महसुस भयो तर उसको स्वभावगत कुराहरुले गर्दा त्यस्तो होइन भन्नेमा ढुक्क भएँ ।

'कथा, कविता, गीत, गजल जे पनि । मलाई साह्रै मनपर्छ तपाईंले लेख्नुभएको । म सँधै तपाईंको वालमा हेर्ने गर्छु केहि लेख्नुभएको छ कि भनेर ।' मैले भनें र सोधें, 'अनि अचेल कहाँ हुनुहुन्छ त?'

'लेख्छु त्यो अर्कै कुरा हो । मैले लेखेको तपाईंलाई मन पर्छ त्यो पनि अर्कै कुरा हो तर मलाई लेखक कै कोटिमा राख्नु चैं भूल हो है तपाईंको ।' उहि दिनकै जस्तै कुरा गर्यो उसले । मलाई फोटोग्राफर नभन्नु भनेझैं मलाई लेखक पनि नसम्झनु भन्नेछ उसले । त्यसैले म केहिबेर बोलिंन । उ त झन कुरा खोतलेर बोल्दैबोल्दैन मलाई थाहा थियो । केहिबेर पछि मैले नै सोधें, 'भनेपछि म जस्तो तपाईंको पाठकले तपाईंलाई के भनेर चिन्ने त?

'अँ, यो डरलाग्दो प्रश्न हो मेरो लागी । डरलाग्दो किनभने म आफ्नै नजरमा दिन का दिन परिचय हराउँदै गैरहेको मान्छे हुँ । त्यसैले जब म आफैं आफुलाई यो हुँ भन्न सक्दिंन भने के खाएर मैले अरुलाई मलाई यो भनेर चिन्नु है भन्न सक्छु?' निक्कैबेर च्याटको कुनामा उसले टाईप गर्दैछ है भनेर देखाएपछि उसको कुरा आयो ।

म उसको कुरामा घोत्लिरहँदा च्याटको कुनामा उसले अझै लेख्दैछ भन्ने देख्दैथिएँ । त्यसैले म उसको बाँकि कुरा पनि सुन्न पर्खेर बसें ।

उसले टाईप गर्दैछ है भनेर च्याटकुनाले जानकारी दिएको अवधिको आधारमा म उसले निक्कै लामै कुरा बताउला भन्नेमा थिएं तर च्याट बक्समा फुत्त छोटो कुरा आयो, 'मलाई सकेसम्म नचिन्ने । म कोहि पनि होइन, केहि पनि होइन ।'

सन्नाटा माझ निक्कैबेर सम्म एउटा गहीरो छाँया आवाज रनन्न भैरह्यो । उ कहाँ, म कहाँ ? फेसबुकको च्याट बक्समा उसले मलाई दिएको जवाफले सायद पृथ्वीलाई नै तुरुन्त एकफन्का मार्यो ।

'यो त हामी, तपाईंको लेखाई मनपराउने माथि अन्याय भएन र?....' पुन प्रश्न सोध्न मैले टाईप गर्दैगर्दा उ अफलाईन भयो । उ गैसकेपछि सोध्नुको के औचित्य? मैले ब्याकस्पेस बटनमा सबै अक्षर मेटिउन्जेल औँला राखिरहें । र थपक्क यौटा चुरोट झिकेर छतमा निस्किएँ । तीनतले घरको सबै भन्दा माथिल्लो तलामा बस्नुको यहि यौटा फाईदा थियो मलाई कि म चुरोट सेवन गर्न चाहँदा जुनसुकै समयमा छतमा उक्लन सक्थें । अझ यो तलामा म एक्लै बस्ने हुँदा आधा रात, अबेर रात अथवा दिनमै कहिल्यै कसैलाई बाधा पुग्ला भन्नेमा चिन्ता थिएन ।

सहर शान्त निदाएको देखिन्थ्यो मानौं कि यो सहरमा कोलाहल कहिल्यै हुँदैन । म चुरोटको सर्कोसँगै छतको उ कुना र यो कुना गर्दैथिएँ । पश्चिमपट्टि नजिकैको स्वयम्भू डाँडा अन्यत्र भन्दा चहकिलो उज्यालोले जगमगाईरहेको थियो । तीनचार महिना अघिसम्म यो घरको छतबाट स्वयम्भू स्तूपा छर्लङ्गै देखिन्थ्यो । कैलेकाहिँ म सम्झन्थें यो सहरमा स्वयम्भू स्तूपामात्र नहुन्थ्यो भने अथवा भएपनि त्यसै गरेर डाँडाको शिरमा नहुन्थ्यो भने म यो सहरमा बस्न सक्दिंन थिएँहुँला । अचेल स्वयम्भूलाई ड्याम्म छेक्ने गरेर बिचमा यौटा अजँगको घर बनेको छ । म छतको कुनै कुनामा गएर पनि स्वयम्भू देख्न सक्दिंन तर स्वयम्भूको उज्यालो कस्तै अजँगको घरले पनि छेक्न सकेको छैन, जो अहिले पनि मसम्म आइरहेकै छ ।

चुरोटको ठुटोलाई छतकै एककुनामा किचिपिचि पारी फर्केर कम्प्युटरमा आइपुग्दा कसैले मेरो फेसबुकको वालमा दुइवटा फोक्सोको चित्र टाँगीदिएको रहेछ । यौटा चुरोट नपिउने ब्यक्तिको सारसौंदो र अर्को चुरोट पिउने ब्याक्तिको कोईलामा पकाएर प्लेटमा राखिएको सेकुवाझैं जलेको । साथमा आफ्नो स्वास्थ्यको निमित चुरोट नपिउनुहोला र यो फोटोलाई सक्दो सेयर गरिदिनुहोला भन्ने अनुरोध पनि थियो ।

फोटोमा केहिबेर घोरिएँ । आफ्नो फोक्सो पनि पोलेको सेकुवाझैं भैसकेको कल्पनाले एकछिन कहालिएँ र त्यसलाई आफ्नो वालबाट हटाएँ । आफु चुरोट सेवन गर्ने ब्याक्ति भएकोले असल कुरा भएर पनि सेयर गर्न चैं नैतिकताले धिक्कार्ला कि? सायद यहि थियो मनको दलील ।

त्यसो त मेरो ध्यानको प्रमुखतामा उहि थियो जो केहि छिन् अघिसम्म च्याटमा मलाई सकेसम्म नचिन्ने भनेर मेरो आशाको विपरित जवाफ दिँदैथियो ।

यतिबेला म आफ्नो गजलहरुको दोश्रो संग्रह प्रकाशनको तयारीमा थिएं । दोश्रो संग्रहको निमित्त भूमिका लेखाउन मनले देखेको एउटा उपयुक्त पात्र थियो उ मेरो आँखामा । उसका पुराना नोटहरुमा संख्यामा कम भएपनि गूणवत्तामा अब्बल गजलहरु र गजलहरुका सम्बन्धमा उसको समालोचकीय धारणा सहितका प्रभावशाली लेखहरु पढेर मैले उसलाई आफ्नो दोश्रो संग्रहमा भूमिका लेखाउन योग्य पात्र ठहर गरेको थिएं । त्यसैले उसलाई म्यासेजमै भएपनि लेखेर आफ्नो ईच्छा राखें । र एकप्रकारले सन्तोषको स्वास लिएँ ।

त्यसपछि अनेकौं दिनसम्म मैले उसको जवाफको बाटो हेरें । हरेकपल्ट कम्प्युटर खोल्दा फेसबुकमा उसको म्यासेज छ कि भन्ने आशा लिन्थें तर महिना बितिसक्दा पनि उ बेपत्ता रह्यो । मेरो गजल संग्रहमा भूमिका नलेख्ने भए लेख्दिन भने पनि भैहल्थ्यो यसरी बेपत्ता नै हुने कारण के होला? म उसको तर्फबाट जवाफ पाउने कुरामै नीराश भैसकेको थिएँ ।

मैले म्यासेज पठाएको ठीक एकचालीस दिनपछि तर मैले उसको म्यासेज पाएँ । म्यासेज के भन्ने यौटा लामो चिठ्ठीनै लेखेको थियो उसले -

प्रिय भाइ,
आज बल्ल मेसो मिलेको छ तपाईंलाई जवाफ लेख्न र म तपाईंको गजल संग्रहमा भूमिका लेख्ने कुरामै केन्द्रित हुन चाहन्छु । मलाई तपाईंले त्यस योग्य सम्झनु मेरो अहो भाग्यको कुरा पक्का हो तर त्यो एकातिरको कुरा भयो अर्कोतिर सायदै तपाईंलाई नमीठो लाग्न सक्छ तर सत्य यो हो कि मलाई कुनै गजलले छुन सकेको छैन भने म त्यसबारेमा के आधारमा र कसरी बोलुँ?

त्यसो त, फेसबुकले नेपाली गजलको विकाशमा योगदान दिइरहेको समय हो यो । गजल लेखनमा थुप्रै नयाँ पुराना गजलकारहरु फेसबुककै सुविधाका कारण समर्पित छन् तर चिन्तनीय कुरा त यो छ कि तुलनात्मक रुपमा ज्यादै थोरैले मात्र गजललाई गहीराईबाट आत्मसात गरेर लेख्ने गरेका छन् । दैनिक आठ दशवटा गजलहरु म आफ्नो प्रोफाईलमा ट्याग भएको पाउँछु । र म्यासेजमा दैनिक चार पाँचवटा अनुरोध मेरो गजलमा केहि कमि कमजोरी छ भने औंल्याईदिनुहोला भनेको पाउँछु तर त्यसरी कमजोरी औंल्याईदिन अनुरोध गरिएको रचनाहरुमा पनि आफुले देखेको कमि बतायो भने यो रचना मेरो फलानो संग्रहबाट लिएको हुँ । मैले धेरै ठाउँमा यो रचना वाचन गरेर सुनाएको छु र फलाना फलाना वरिष्ठहरुबाट वाह! पाएको छु भनेर उल्टो खबर आइपुग्छ ।    

तपाईंको गजलहरु पनि पढेको छु फेसबुकमा । एकाध पटक प्रतिक्रिया पनि लेखेको छु । दोहोर्याएर हेर्नुहोला मैले के लेखेको छु । र दोश्रो संग्रहमा संग्रहीत हुने गजलहरुलाई एकफेर आफैं समीक्षा गर्नुहोला । मेरो सुझाव यहि हुनेछ तपाईंलाई । फेसबुकमा लैबरीको तालमा लेख्दै गजलको संख्या बढाएर संग्रह निकाल्नु पूर्व एकफेर आँखा चिम्लेर आफैंलाई यो सोध्नुस् कि तपाईंले थप्न लाग्नुभएको कृतिले के गजलको साहित्यिक उचाई बढाउला?

मैले भन्नुपर्दा त मैले पढे मध्ये तपाईंको कुनै पनि गजलले मलाई छुन सकेको छैन ।

तब म कसरी अथवा त्यसकारण म तपाईंको संग्रहमा भूमिका लेख्न सक्दिंन । फेरि पनि संग्रह निकाल्ने तपाईंको अठोट हो भने भूमिका लेख्ने हस्तीहरुको लामै लर्को भेट्नुहुन्छ जस्ले ब्याक्तित्वको हिसाबमा मैले भन्दा कयौं गूणा धेरै प्रभाव पार्नेछन् तपाईंको कृतिमा ।

शुभकामना !

हो, यहि एकचालीस दिनपछि म कहिं छाँगाबाट खसे जस्तो भएको छु । कहिँ हिमाली तलाउको एकदम चिसो पानीमा डुबेर निस्के जस्तो भएको छु । कतै बल्ल फुलबाट कोरलिएको चल्लाको आँखा उघ्रिए जस्तो भएको छु । के के भएको छु के के, कि उसलाई ह्रदय पोखेर धन्यवाद भन्न समेत नसक्ने भएको छु ।

Monday, April 23, 2012

गजलका कुरा : तखल्लुसमा दीपक जडित

नेपाली गजल डटकमको बाह्रौं अंकमा सम्पादक नारायण गाउँलेको सम्पादकीय, जो 'मकता' मा केन्द्रित छ, पढिरहँदा मलाई आफुले गजलमा तखल्लुस(चिनो) राख्ने गरेको सम्झना आइरहेथ्यो ।

"....नेपाली गजलमा तखल्लुसको प्रयोगले खासै सघन उपस्थिति कायमा गर्न नसकेको सन्दर्भमा तखल्लुस भएका वा नभएका दुबै समापक शेरलाई 'मकता'का रुपमा लिने गरिएको छ ।...." हो यहि वाक्य पढिरहँदा म सोचिरहेथें, मैले तखल्लुसलाई कतिको जोड दिएको छु आफ्नो गजल लेखनमा? त्यसो त आफ्नो ब्लगहरुमा मैले तखल्लुस प्रयोग गर्ने सम्बन्धमा मिश्रित प्रतिक्रियाहरु पाएको पनि सम्झना छ । कतिले आफ्नो नामलाई तखल्लुसमा गजब प्रयोग गर्ने भनेका छन् त कतिले तखल्लुसको अचाक्ली प्रयोग भयो पनि भनेका छन् । हुनपनि जे जति तखल्लुस मैले प्रयोग गरेको छु मेरा गजलहरुमा त्यो आफ्नो नाम 'दीपक' हुनुकै फाइदा उठाएको हुनसक्छु मैले ।

यि नै कुराहरु सम्झिरहँदा मलाई यहि कुरामा आफ्नो ब्लगमा यौटा पोष्ट लेख्ने विचार उब्जिरहेथ्यो मनमा । र त्यसैलाई विचारमा मात्र सिमित नराखेर ब्लगको लागी यो पोष्ट बनाएको हुँ । यस्लाई फेसबुकको नोटमा पनि सेयर गर्ने हिसाब समेत रहेकोले दुबैतर्फ राखेको छु । मैले आफुले भेटेसम्म कम्प्युटरका कुनाकानीबाट तथा आफ्नो ब्लगबाट तखल्लुस प्रयोग गरिएका शेरहरु मात्र भेला गरेर यस पोष्ट/नोटमा राखेको छु ।

यसलाई शिर्षक दिँदा पहिले 'मकतामा म' लेखेको भएपनि पछि 'तखल्लुसमा दीपक जडित' लेखेको छु त्यो यसकारण कि मैले गजलमा तखल्लुस राख्दा केवल मकता/समापक शेरमा मात्रै राखेको छैन ।


***
भन्लान दीपक बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
(मतला शेरमा ।)
***
मनमा दीपक निभाएछन् आज ।
हरेस सबैले नै खाएछन् आज ।
__
भन्न चाहन्छु म बालेछन् दीपक,
चन्द्रमा पनि त उदाएछन् आज ।
(मतला र मक्ता दुबै शेरमा चिनो राखिएको।)
***
नबलेपछी गरिबलाई दीपक,
अँध्यारै बरु ठिक छ नि का हुन्छन ।
***
निभाएथें दियो सूर्य देखेपछि,
दीपक नहुँदा अन्धकार रहेछ ।
***
नसुना सबैलाई आफ्नो सम्झी कथा,
दीपक तँ विरानो आज पिरतीमा ।
***
तिमीले नै नजलाउँदा अस्तित्वमै कहाँ हुँला,
निभेपनि आफुलाई आफैं दीपक भनेको छु ।
***
त्यसो त पुकारिन्छु दीपक,
खप्नु छँदैछ अँध्यारो मैले ।
***
कोहि उभिन्छन् दीपक बाल्दै अँध्यारो धर्तीमा,
छाडेर धरती आकाश माथि उभिन्छन् कोहि ।
***
प्रहार लगातार देख्दा यहि लाग्छ तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।
***
चल्यो मनमौजी दीपक सदा,
अहँ त्रास भएन जिन्दगीमा ।
***
नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा ।
***
सुनें फिर्छ रे जडित अब त घर ,
त्यहि नै सबैको ठुलो आश भो ।
__
सम्हाल्नु थियो धेरै तैंले ए जडित,
तेरै हररात भट्टीको बास भो ।
(अन्त्यका दुई शेरहरुमा चिनो(तखल्लुस्) राखिएको ।)
***
कि फुक्नेछौ श्वासले कि हातैले छुनेछौ,
आँखीर दीपक हुँ के डर निभ्नु मलाई ।
***

तिनै मध्ये दीपक एक हो, जो-
आफैंलाई विर्षन्छन् झनै धेरै ।
***
दीपक अरुनै होला जो बल्न सक्छ,
म मात्र गजलको तखल्लुस रहेछु ।
***
भाँचियो कसरी करक्क र जोडियो फेरि कसरी,
जडित बबुरो! तँ भै'गो नगर दिलका कुराहरु ।
***
बिउँझिएर रातबिच एक्लो दीपक देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।
***
धर्म हो वा नियति उस्को जल्छ बस् जल्दछ दीपक,
आफ्नो रंग नै नभएपछि श्यामल के धवल के?
***
हराएथ्यो कतै भीडमा खोजेन कसैले,
हेर आयो दीपक भन्ने मनुवा फेरि आयो ।
***
बल्दिंन; तर खोजी दीपककै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।
***
मुखै फोर्यो उसले, 'खै त शेर ए जडित?'
देखाएँ, रद्दी हाल्ने स-सानो बोरा पनि छ ।
***
जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि दीपक हुँदैन ।
***
व्यर्थ छ भन्छौ भने उज्यालोमा दीपक जलाउनु,
जो तेज म भित्र छ ऐले माचिसमै रहन देउ ।
***
मुद्दा मैले उठाएथें विमति मसँग थियो,
दीपक लेखि काटेर यो सिवायमा मिलौं भन्यौ ।
***
होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।
***
'खबर्दार! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाई कुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।
***
तित्रा जुनि भोग्नु पर्छ दीपक तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***
पग्लिएर तप्प चुहिन्छु आँखाबाट,
दीपक हुँ रे त्यसैले रुन सक्दिँन म ।
***
दिनभरि नै शिकारमा हुन्छ जडित,
साँझमा एउटा शेर लिएर आउँछ ।
***
दीपक न हो भनेर आगो लगायौ म मा,
अचम्म तर धुवाँ तिमीले साझा निकाल्यौ ।
***
दियालो चैं के थियो खै बुझ्नै सकिएन,
बलिर'को दीपक म छु तेल त तिमी छौ ।
***
यो बिकाउ दुनियाँमा दीपक नि छ लिलामीमा,
खरिददारी गर्नेहरु आएर लाउ मोल यहाँ ।
***
समयलाई मुठ्ठीभित्र राख्न खोज्ने दीपक आज,
दुनिँयासँग हारेर सँधै तल पर्ने हात भएं ।
***
समय नै उल्टो भए दीपकको भन्नु केही छैन,
तर तल गिर्नेले नै शिखर छुँदो रै'छ हजुर ।
***
हिमालझैं ललाट चुम्यो जब तिम्रो,
दीपकको त सपना साकार भयो ।
***
आँधी हुरी वैरिएर पानीझरी परे पनि,
आशाको दीपक जला'को भएर यस्तो भएं ।
***
पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें,
किन टाल्थ्यौ दीपकको मुटु चुहाउ कति चुहाउंछौ ?
***
दीपकले फाट्नुपर्ने कारण बुझ्दा,
उल्टै उस्को मगज नै चाटेर गए ।
***
कहाँबाट आयो जडित बाठो भन्नुहोला,
नबोलेपछि गुरु हामी चेला के को लागी ?
***
मनुवा प्राणी दीपक पनि ठान्दछ सब बराबरी,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।
***
गोप्य सम्झौता लेखेर आँखिर,
सुवर्ण जडित खाम चढाए ।
***
एक्लो यस्तरी भईछस् ए! दीपक तँ त सडक जस्तै,
त्यहीं टेकीहिंड्ने यहाँ अनेकौं सुहागका हुल छन ।
***
तिम्रा मनको दीपक आँखिर बालिदियौं हाम्ले,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।
***
भन्नलाई ह्रदयमा दीपक बाली,
माहात्माको जस्तै जीवन सादा बाँचें ।
***
चन्द्रै किन छुनुपर्यो हाँस्न सकुँ भुईँमै तर,
चाहंदैन दीपक फेरि भाग्य उसकै खोटो होस् ।
***
दुरी भुगोलको टाढा हुँदा नि गजलले आएर छोई,
आँखिर पियारी दीपकलाई घोप्ट्याई 'पएर'मा रुवायौ ।
***
एक्लिएर दीपक पग्लिँदा तापमा,
शितल तिम्रो प्रेमको सिँयाल आयो ।
***
भन्दैथिए जलाउंछौं शान्तीको दीपक घरघर सर्बत्र,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।
***
जोडेर आफैंले दिएथें दीपकलाई जडित,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।
***
फूल रुँदा दुखिदिने यै दीपकको नजरले,
हेर्दै लाँदा संसार यो आधासरै भोको देखेँ ।
***
छाडेथें अन्तिम चिठ्ठी लेखेर दीपक 'जडित' भई,
हल्ला मचाई भनेछन सबैले जात फालेर गयो ।
***
जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।
***
न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै,
दीपक समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।
***
जलाएर मात्रै कहाँ हुँदो रहेछ र दीपक मनमा,
छरेर उज्यालो त्यो दीपक सुखदायक हुन नसक्दा ।
***
ऐया! कहाँ भन्न सक्छ टोकेर आफैंलाई दीपकले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।
***
उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।
***
दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।
(यहाँ भए मध्येमा सबैभन्दा पुरानो शेर ।)
***
र अन्त्यमा यो पाँचवटै शेरहरुमा चिनो(तखल्लुस्) राखिएको गजल ।

आफैं जल्दैछ जल्न जाने पुतली भएन दीपक
फूल्ने, क्षणमै वैलिने फूल अलि भएन दीपक

फेरियो निश्चय पनि बदलेर नयाँ समयले,
मान्यता केहि अटल; पूर्ण कलि भएन दीपक

तेलै जीवनको सक्ला बरु जलेर नै यसैगरी,
निचोरेर हातैले मुटु बलि भएन दीपक

भएर पार्वती आजकी गुहारेथ्यौ त्रासले तर,
विष्णु जस्तै योगि स्वरुपमा छलि भएन दीपक

हो जलेको छ अझै जलिनै रहेको छ निरन्तर,
अफसोस् जलिरहे पनि झल्झली भएन दीपक । 
**    ***    **



Friday, April 20, 2012

लघुकथा : आमाको मुख

आफ्नो गच्छे अनुशार उसले एकझुत्ता अँगुर, चार दाना स्याउ, केहि केरा र सुन्तला किन्यो र सोच्यो अरु के के लानुपर्ला? आफुले अलि अलि कमाई धमाई गर्न थालेदेखि नै बिहे गरेर अन्यत्रै बस्न थालेको उसले एकबाजी आमाको झुत्रेझाम्रे कपडामा लपेटिएको देह सम्झियो । 'आजै हो दिए जस्तो पनि हुने, दिएको गाउँलेले पनि देख्ने' भनेर यौटा धोती पनि किनेर लगिदिनलाई कपडा पसलतिर लाग्यो ।

तर कपडा पसलको सामने पुग्दा उसको विचार यसरी बदलियो कि, 'कपडा उपडामा खर्च गर्न थाल्यो भने त आफ्नो पैसा सब चट् हुन्छ । आफ्ना पनि स्वास्नी, बच्चाहरु छन् ।' अत संगैको किराना पसलबाट यौटा पेप्सीकोलाको बोतल किनेर फलफुलको थैलामा हालेर बाटो लाग्यो ।

बाटोमा धेरै मान्छेहरु हातहातमा ताजा फलफूल तथा मिठाईहरु बोकेर चम्किलो अनुहार लिएर हिँडीरहेका थिए ।

आमा बस्ने घर पुग्नुभदा अलि वर दोबाटोमा उसले यौटा नाङ्गे भुतुङ्गे फुच्चे केटो झण्डै उ जत्रै धैलीमैली उसकि दिदीसँग टुक्रुक्क बसेर रुँदै गरेको देख्यो । त्यस्तै तीनचार महिना अघिमात्र ति बच्चाहरुकि आमालाई बोक्सीको आरोपमा गाउँलेहरुले यहि दोबाटोमा मट्टितेल छिड्केर आगो लगाई मारेका थिए ।

बडो सकसले उ दोबाटो कटेर गयो । घर पुगुञ्जेल उसका गोडाहरु लुला भएझैं भैरहेथ्यो । घर पुगेर आमालाई  आफुले ल्याएको तुलफुल दिँदा पनि उ आमाको मुखतिर नहेरी पछाडी फर्केर हेर्दैथियो ।

कतै,  'हाम्री आमालाई जलाउने मान्छेहरुमा यौटा यो पनि थियो भन्दै ति केटाकेटीहरु उसलाई पच्छ्याउँदै त आइरहेका छैनन्?' उसलाई यस्तै लागीरह्यो ।

                                                  *************

(बोक्सीको आरोपमा आमाहरु अझै जल्नुपर्ने देशमा मातातिर्थ औँसी आइरहन्छ ईमान्दार भएर । यो लघुकथा जिउँदा मरेका ती सबै आमाहरुलाई समर्पण! ज-जस्ले बोक्सीको आरोपमा मरेतुल्य बेइज्जत हुनुपरेको छ, घोर यातना सहनु परेको छ अथवा जीवन नै त्याग्नु परेको छ ।)

(यो लघुकथा फेसबुकको नोटमा र फेसबुककै ग्रुप लघुकथा कुनोमा पनि सेयर गरेको छु ।)

साथमा-
ब्लगबाट जोडिनुहुने सबैलाई मातातिर्थ औँसीको शुभकामना! 

धरती माता लगायत धरतीमा माताको अस्तित्वमा रहने सबै माताहरुलाई प्रणाम ।

Saturday, April 14, 2012

कविता : अचानक उर्लेको यो याद


नजान्दा हिंड्न हो
अथवा
भर्खर जान्दा हिंड्न
बुर्कुशी मार्छ
कैली गाईको दुधे बाछो
कुनै बुढो मान्छेको
पैंजडे परेकाझैं
आफ्ना भर्खर भर्खर तङ्रिएका
खुट्टाहरु लर्बराउँदै ।


बेवास्ता गर्छ
अफ्नी आमाले
घोक्रो थर्काउँदै गर्ने
फाँ फाँ र फूँ फूँ गाली
पुग्छ
गोठ भन्दा परसम्म
क्षणमै नाघ्छ बड्किंदै
 गोठ छेउको ठुलो गह्रा
त्यहि गह्रा
जस्लाई
आँतर आँतर घुमेर
सियो सियो छिचोलेर
 पार गर्न
उसको बाबु समान
पुँडे गोरुलाईे
एक बिहान पुरा लाग्छ ।


बाछोको यो उपद्रो देखेर
सोच्दो हो पुँडे
कि अब उसलाई
त्यसरी बड्किएर बुर्कुशी मार्ने
छुट कहिल्यै हुने छैन
उ मात्र हेरिरहन्छ
दाम्लोबाट ।


र दाम्लोबाटै
सोच्दी हो कैली
कि उसको छोरा अब
फर्केर आउने छैन फेरि
आफ्नो फाँचोभरि पग्रिएको दुध चुस्न
कैली अतालिन्छे 
कैली छिनाउँलाझैं गर्छे
आफ्नो गलाको दोहोरो दाम्लो
के जान्ने
उ उखेल्न पनि सक्छे
बल गरेर आफु बाँधिएको दुबै किला ।


बेस्मारी बड्किँदा
दुधे बाछोलाई जुका पर्न सक्छ
उस्लाई के थाहा
उ जुका परेर मर्न सक्छ ।


चिन्तित गोठ मालिक
एक गर्जनमा भेला गर्छ
परिवारका एक एक सदस्य
र आज्ञा दिन्छ
बाछो समातेर थलोमा ल्याउन ।


दिदी, दाजु, म र मेरी बैनि लगायतले
दुधे बाछो
छेकिन्छ तीनचारतिरबाट
छेक्नेहरु मध्येको
एकातिरबाट
म उम्किन दिन्छु उसलाई
र तयार हुन्छु गोठ मालिकको गाली सुन्न
उ बड्किएर अझ पर पुग्छ
र मैले गाली सुन्न भ्याईसक्दा
बड्किएरै
फर्कन्छ गोठमा आफ्नी आमासँग ।


आहा! कति मीठो, कति प्यारो
अचानक उर्लेको यो याद ।

Friday, March 23, 2012

कविता : एक थुप्रो लाज

खुब उकालो चढेका छन्
आजभोली कविताहरु ।

हो
यो राम्रो संकेत हो
हाम्रो आकाशमा कविताहरु अग्लिन ।

कविताहरु
हामीले खाने अन्नजस्तै
माटोमा उम्रनु पर्थ्यो
जराहरुले माटो नछोडी
उँभो उँभो उकालिनु पर्थ्यो ।


निकानोर,
तिमीले पनि यस्तै चाहेको थियौ भने
कहिँ न कहिँ कैफियत अवश्य छ
र त्यसैले फरक पारेको छ कवितामा
कि आज कवितामा माटोको महक छैन ।

केहि छ भने
बस् गोबरझैं छ
एक थुप्रो लाज
एकरास घिन
र हामी कलम समाउने हात धोइरहेछौं
बग्न नसक्ने नदिको जलमा ।

सुन निकानोर पारा,
माटो नछोडी उकालिएको भए
यतिखेर हाम्रो सगरमाथा हुनेथियो
विश्वमा सर्वोच्व सुन्दर कविता ।

तर अफसोस्
कवितामा आउन हरेक कुरालाई अनुमति दिएपनि
सादा कागजको पेज सुधार्न नसकेर
झनझन नाङ्गेझार हुँदैछन् कविताहरु ।


बरु
लाजको वावजुद पनि
म यो भन्न सक्छु कि
हामीसँग पनि छैन
पुलमुनिबाट बगेको रगतको हिसाब ।

**********

यस कविताका बारेमा-

धेरै पहिले निकानोर पाराको 'तरुण कविहरु' भन्ने नेपालीमा अनुवादित कविता पढेको थिएँ -

जसरी मन लाग्छ त्यसरी नै लेख
जुन शैली तिमीलाई मनपर्छ त्यसैमा
एउटै मात्र बाटो ठीक हो भन्ने
विश्वास दीगो राख्न अब
नसकिने गरी प्रशस्त रगत पुलमुनिबाट बगिसक्यो ।

कवितामा आउन हरेक कुरालाई अनुमति छ ।

तर खालि एउटै मात्र शर्त के छ भने:
सादा कागजको पेजलाई तिमीले सुधार्नुपर्छ ।

र यो कविताले यस्तरी प्रभाव छोडेको छ कि, कविता जसरी पनि लेख्न सकिन्छ भन्ने मान्दा मान्दै पनि हरेक पटक कविता लेख्दा सादा कागजको पेज सुधार्नु पर्ने शर्तले डर उमार्छ ।

त्यसो त धेरै कविताहरु लेखेको छु मैले र ति सबैले सादा कागजको पेज सुधारेका छन् भन्ने होइन बरु सादा कागजका पेज सुध्रिएनन् भन्ने हो पिरोलो र पछिल्लो समयमा त मैले कविता लेख्नै छोडिसकें भने हुन्छ ।

यो कविता विश्व कविता दिवसको दिन अर्थात मार्च २१ को दिन उनै चिलीका कवि निकानोर पारा र फेसबुकका मेरा समकालिन नेपाली कविहरु र कविताहरुलाई सम्झिएर लेखेको हुँ ।

दुर्भाग्य! त्यसैदिन फेसबुकमा र ब्लगमा राख्न असमर्थ भएँ ।

निकानोर पाराको बारे कविता सहित जानकारी सुत्र ।

Monday, February 13, 2012

गजल : अन्धकार हो कृष्ण


***
सिधा अर्थले अन्धकार हो कृष्ण !
जगतको एकमात्र सार हो कृष्ण !

जो जस्तो बुझ्दछ उसलाई उस्तै,
बुझ्न सकेजति अवतार हो कृष्ण !

चुँडिने गाँसिने जीवात्मामा नित्य,
प्राणको सुविधा सञ्चार हो कृष्ण !

सबै जिन्दगीको रचयिता प्रति,
सदा अभिव्यक्त आभार हो कृष्ण !

कठिनाइ माथि असाध्य बनेका,
जीवनको मोक्षको द्वार हो कृष्ण !
***

Friday, February 10, 2012

कविता : आँसुको उपहारले


स्केच : Tabish Shafi

मन उडेर फुङ्ग छ
खुइलिएर रंग उडेझैं
कि धोयौ रातदिन
चोबलेर आँसुमा
छुप्छुपाउँदै हिक्काहरुसँगै?

म अनुहारमा तिम्रो
नखोजेरै
भेटिरहेछु आफुलाई
भदै बगिरहेको अविरल
के वर्षात के शिशिर
जुनसुकै मौसममा ।

झरीले यहाँ
मनसुन पर्खिएन कहिल्यै
उल्टो सँकेत गर्यो
विश्व तापमान वृद्धिको
र वर्षिरह्यो प्रेम पग्लिएर
तप्प! तप्प!
सपनाको थोपाहरु चुहिँदै ।

कुनैदिन
जोर आँखाका कालो दहभरी
त्रासका कालै सर्पहरु गुँडुल्किँदा
हामीपनि
जोर सर्पहरु भएर
दिउँसैमास टाँगिएका थियौं
सप्तरंगी हुँदै
जोडी इन्द्रधनुष ।

इन्द्रधनुष,
कतिञ्जेल लच्किन सक्छौ
एकजोडी वैंश
घाम पानीको दिन रोजेर
तिमीले जोडेको पूलबाट
को हिँडेको छ
धरतीदेखि स्वर्गसम्म ?

पातलो बादलले
एकसरो सूर्य छलेको दिन
धेरैले गरेथे तिम्रो
अँध्यारो मुहारको चर्चा
तर मैले आँखाभरी
सप्तरंगी फुलेको देखें
त्यसो त त्यसबेला
मेरो आँखाभरी सजिएको थियो
उपहारमा
तिमीले दिएको आँसु ।

अझै पनि छ
आँसुको उपहार मसँग
सायद त्यसैले फरक पार्यो कि
यतिखेर देखिरहेछु
मन उडेर फुङ्ग छ
खुइलिएर रंग उडेझैं
कि धोयौ रातदिन
चोबलेर आँसुमा
छुप्छुपाउँदै हिक्काहरुसँगै?

Sunday, February 05, 2012

गजल : मुस्कान ओठमा छर्नु हो जिन्दगानी



कि त फुल्नु कि त झर्नु हो जिन्दगानी ।
या उमेरको नदि तर्नु हो जिन्दगानी ।

के के छौ सोचेको यो जिन्दगीमा गर्न,
धेरै नसोचेकै गर्नु हो जिन्दगानी ।

छोड्छ एकदिन जिन्दगी अघि बढ्न,
तब अतित सुमर्नु हो जिन्दगानी ।

कैले बुझ्ने हुन् रुने र रुवाउनेले,
मुस्कान ओठमा छर्नु हो जिन्दगानी ।

खुसीमा उम्लेर पोखिनेहरुलाई,
सुर्ताले गाला मुसर्नु हो जिन्दगानी ।

होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।