Wednesday, September 30, 2009

गजल : मैले आफ्नो घाँटी राखेँ

म भित्रै छ सुख पनि अठोट मनमा खाँटी राखेँ ।
दुखे पनि सञ्चै नै छु भन्दै आफुलाई ढाँटी राखेँ ।

सहनु त छँदैछ यो दुखाई चर्कंदो छातीभित्र,
बानी पारेर राख्न बरु मुटुमा किलाकाँटी राखेँ ।

अप्राप्य ति ईच्छाहरु अनेक अनेक आजसम्म,
सहजै पुर्ति गर्छु भनेर मनमनै आँटी राखेँ ।

सम्बन्ध धारि(ई)यो झन्झनै खुकुरीको स्वरुपमा ,
थामिन् उनले बिँड हातमा मैले आफ्नो घाँटी राखेँ ।

'खबर्दार ! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाइकुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।


निक्कै अघि यस गजलको चौथो शेर फेसबूकमा राखेको थिएँ । त्यतिबेला यो गजल पुरा थिएन तर त्यसको लगत्तै पुरा गरेर त्यसै छोडेको थिएँ । अस्ति भर्खरै फेला पारेर गजल ग्रुपमा राखें तर ब्लगमा भने त्योबेला अर्को गजल नै भएकोले राख्न मन भएन अत आज राखेको हुँ ।

Tuesday, September 22, 2009

दशैंको कुरा

'दशैं पनि आइहाल्यो है ?' फोनमा कुरा गर्दा एउटा भाइले भन्यो ।

'अँ त दशैं गै हाल्यो ।' मैले भनें ।

'गै हाल्यो ? के भन्नुहुन्छ ? आएकै छैन ।' उ जिल खायो ।

'ल, अहिले आइहाल्यो भन्दैथियौ । अहिले आएकै छैन भन्न थाल्यौ । तिमी ठिक त छौ ?' म उसलाई जिस्क्याउन लागेँ ।

'होइन दशैं आउन लागेको छ नि त । त्यसैले भनेको...' उ स्पस्ट पार्न खोज्दैथियो ।

'त्यसो भए आउन लागेको छ अथवा आउन लाग्यो भनन त । आइहाल्यो भन्छौ ।' मैले खेदें उसलाई ।

'अनि आउन लागेकोलाई आइहाल्यो त भनिन्छ नि । मैले गल्ति गरें र ? बरु तपाईं पो आइनसकेकोलाई गै हाल्यो भन्नुहुँदैछ । तपाईं गलत हुनुहुन्छ बरु । '

'तिमीले गल्ति गर्यौ त कहाँ भनेको छु र मैले ? गलत मै छु होला तर...' सम्झाउन खोज्दैथिएँ म उसलाई ।

'अनि के त ? आउनै नपाएको दशैं कसरी गै हाल्यो ?' दिक्क लागेछ क्यार उसलाई उ झम्टियो म माथी ।

'दशैंको कस्तो हिसाब छ हँ तिम्रो ? दशैं त सकिन लागिसक्यो नि । केटाकेटीले झैं टिका लगाउने दिनलाई मात्र दशैं त भन्दैनौ होला तिमी ।' म उसैगरी पछि लागेँ उसको ।

'मैले त टिकाकै दिनलाई भनेको । त्यै दिन त यसो रमाईलो गरिन्छ । छुट्टि हुन्छ । अरु दिनको त के कुरा ?' ईमान्दारी देखायो उसले ।

'त्यसो भए टिका भनन त ।' मैले नै बेईमान बन्ने निधो गरें, रमाईलो जो गर्नुथियो उसँग, 'दशैंको बिचमा घरि दशैं आइहाल्यो भन्छौ, घरि आउन लागेको छ भन्छौ । मलाई अलमल्ल पार्यौ नि त ।'

'ल ल, टिका नि त टिका । टिका आइहाल्यो , भयो अब ? तपाईंकै कुरा माथी ।' उ दिग्दारियो ।

'मैले मेरो कुरा माथी तिम्रो कुरा तल भन्न खोजेको पनि हैन ।' म हाँस्न थालिसकेको थिएँ , 'मैले त खाली दशैं गैहाल्यो मात्र भनेको । तिमि नै त हो घरी आइहाल्यो भन्ने , घरी आएकै छैन भन्ने ।'

'ल दाइ ल , जे सुकै होस् । तपाईंलाई दशैंको शुभकामना ! पछि कुरा गरुँला ।' उ पन्छिन चाह्यो ।

'आइहाल्यो दशैंको कि गैहाल्यो दशैंको शुभकामना हो ?' मैले अल्झाउन चाहेँ ।

'भयो बाबा भयो । कान समातें मैले । आइहाल्योको भन्नुस् कि गैहाल्योको भन्नुस् । दशैंको हो शुभकामना । मैले फोन राखेँ ।' भाइले भन्यो ।

फेरी हासेँ म, 'तिमीलाई पनि शुभकामना दशैंको ।' मैले चाहेर किन अल्झिन्थ्यो उ, मैले भनिसक्न नभ्याउंदै उसले फोन राख्यो । म आफ्नै तालमा मुस्कुराउँदै उ झिँजिएको कल्पना गर्न थालेँ । उसले भन्यो होला, 'पागल भएछ यो दाइ त । के दिनमा फोन गरेछु ।' मलाई भने रमाईलो लागिरहयो । निक्कैबेर मुस्कुराईरहेँ म ।

त्यसो त म उसँग जिस्किरहेको मात्र थिएँ तरपनि सोचें - 'दशैंको माझबाट दशैं गैहाल्यो भन्दा चैं गल्ति हुने रे दशैं आइहाल्यो भन्दा चैं नहुने रे ! किन होला ?' दशैंलाई अस्तिनै घटस्थापनाका दिनदेखि पछि टिका जाने पूर्णिमासम्म मान्ने हो भने यतिबेला भन्दा दशैं आएको छ भन्नुपर्ने । आइहाल्यो भनेर आउन लागेको अवस्थालाई भन्ने गरिन्छ र त्यही अवस्था जानलागेको पनि त हुन्छ तर गैहाल्यो चैं भन्न नमिल्ने रे । दशमीका दिनमा टिका टाँसीसकेपछि चैं दशैं गैहाल्यो भन्न थालिन्छ मानौं टिका टाँस्न मात्रै आएको थियो दशैं । दशैंको माझबाट दशैं आइहाल्यो, त्यो पनि आउन लागेको अवस्थालाई मानेर, भनिन्छ - कति अप्ठ्यारो ? तर कति सजिलै बुझ्दा रहेछौं हामी ।

खासमा यतिबेला दशैं आएको छ नै भन्नुपर्ने (जस्तो लाग्यो मलाई) अथवा आइहाल्यो भनिनु आउन लागेको अवस्थालाई नभएर आएर नसकिइसकेको अवस्थालाई जनाउन भनिनु पर्ने । अझ 'दशैं पनि आईगयो है' समेत भनिन्छ त्यो पनि आउन लागेको अवस्थालाई नै बुझाउने गरेर । आइगयो चैं अझ आएर गै सकेको अवस्थालाई भनिनुपर्ने । केहिबेर म आफैं रन्थनिएँ । यि सामान्य कुराहरु हामी सजिलै बुझ्छौं । भनिएको कुरा सहि छ कि गलत छ तिर हामी ध्यान दिंदैनौं । लाग्यो - 'यहि नै रहेछ हाम्रो जिउने कला । एक अर्कालाई बुझ्ने र स्विकार्ने कला जहाँ धेरै असंगतीहरुलाई बेवास्ता गरेरै हामी जीवनको सौंदर्य अंगालीरहेका हुँदारहेछौं ।'

जे होस् - यो माथापच्ची बिसाउँदै तपाईंहरु सबैलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना !

Wednesday, September 09, 2009

गजल : रोकिएन समय

तिमी नहुँदा पनि त खै रोकिएन समय ।
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय ।

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न ,
सजिलै भा'छ आज काट्न जेनतेन समय ।

अप्ठ्यारो थियो यद्दपि खुल्ला थिए बाटोहरु ,
हिंड्न निर्धक्क भएर उस्तै रहेन समय ।

अविच्छिन्न कुँदेपनि अनेक रुप आकारमा ,
सोचेजति कलात्मक बन्दै बनेन समय ।

अघि सारेँ भण्डार गर्न हिम्मतिलो हात मेरै ,
न गोजीमा , न मुठ्ठीमा कहिँ अँटेन समय ।

सुलुसुलु चिप्लिएर त्यति टाढा पुगेपछि ,
उल्टो तिमीले नै भन्यौ बग्दै बगेन समय ।

केहि अघि (जुन महिनाको २८ तारिख रहेछ।) यसका दुई वटा शेर (पहिलो र दोश्रो) पछारिसकेको थिएँ यसै ब्लगमा र अर्को शेर (तेस्रो) पनि त्यसैको आसपास मितीमा तयार गरेको थिएँ । त्यसपछि अड्किएको आज बल्ल थप तीन शेर ताछतुछ पारेर उभ्याउन भ्याएँ र लिएर आएको हुँ ।

Saturday, September 05, 2009

कविता : सातो उडेका वैंशहरु

रात ओढेर अँध्यारो
कसरी निदाउने हुन् खै
यि सुकुमार वैंशहरु ?
हेर त निष्ठुरी समय
उल्टो फर्किरहेछ
फिँजाएर क्रुर हत्केलाहरु ।

के ठेगान्
कहाँ कतिबेला
निमोठ्ने हो यस्ले
किशोर रहरहरुको घाँटी
चुक भरेर रात जस्तै
ह्रदयको मानोभरी
फैलिइरहेको छ कालो समय
सम्साँझै जुठेल्नामा प्रेम घोप्ट्याएर ।

धेरै भयो दर्फर्याएको
झिकेर सुकिला वैँशहरुको सातो
यहि पापी समयले
हत्केलाको ढुँगे सिलौटोमा
हत्केलाकै ढुँगे लोहोरोले
अब त
जति मन्साए पनि दोबाटोमा
सिँदुर छर्किएर दोखलाई
फर्किएर आउने गरेको छ
रात पर्नासाथ
उल्टो फर्किएको समयसँगै
त्यै र त हेरन
बिथोलिएर निद्रा आधारातमा
कहालिएर रुँदैछन्
सातो उडेका वैंशहरु ।

गाह्रो छ गाह्रो अब
जुठेल्नामा घोप्ट्याइएको प्रेम उघाएर
ह्रदयको मानो भर्दै
बदल्न कालो समयलाई
कठिन छ कठिन अब
जतनले स्याहारेर
आफ्नै हातले मलजल गर्दै
करेसोमा प्रिती फुलाउन ।

ए ! सातो उडेका वैंशहरु हो
आजैदेखि राखिछोड
ह्रदयको धुपौरोमा
भर्भराउँदो कोइला
दुस्वप्नसँग तर्सिएर
रातबिरात ब्युँझनासाथ
प्रेमको भूतकेश डढाउनुपर्छ
यो कालो समय विरुद्ध
तितेपाती र नौनीसंगै
प्रेमको सालधूप हाल्नुपर्छ
प्रेमकै सोक्पाधूप बाल्नुपर्छ
हो तिमीले नै एकदिन
उल्टो फर्किएको
यो कालो समयलाई
सही बाटो हिंडाउनु पर्छ ।

{निक्कैपछि आज जङ चल्यो माइसंसारमा फोटो कविता लेख्न र यहि शनिबारको फोटो हेर्नुस् कविता लेख्नुस् स्तम्भमा लेखेँ यो कविता । माइसंसारमै तात्तातो पोष्ट भएकोले फोटो घिसारेर यता ल्याउने काम चैं गर्न मन लागेन ।}

Thursday, August 27, 2009

कविता : नौ टुक्राहरु

मैले नछोएको भए
किन पोल्थ्यो र मलाई ?
आत्था !!
तर थाहा पाएँ
पोलाई कम् से कम्
छोएर आगो । १
**
उहि अनुभुती
कत्ति मिठो शैशबको
अज्ञानी हुँदा
तर
नमिठो आज
ज्ञानी भएर । २
**
छ के ज्ञान
भकारीमा
तिम्रो मथिङ्गलको ?
आफैंलाई
के प्रश्न गर्ने ?
शँका लाग्छ । ३
**
धरोधर्म !
जून ओर्लिएन
तिमी आउँदा
मुस्कुराएँ तर म
देखेँ
जून त्यहिँ थियो
तिमी जाँदा । ४
**
काँधमै छ
हतियार
पर्दैन अब
यौटा खुट्टा टेक्न
पखेँटा निकाल्न
भाले जुधाईमा । ५
**
उ त्यही त हो
पख्लास् !
चोर औंला देखाएर
कस्ले कस्लाई भन्ने ?
कृतघ्न मान्छे । ६
**
तिम्रै कुरा फेरी
चल्छ भुमरीझैं
नगरुँ भन्छु
आँखिर
म पनि त मान्छे । ७
**
चिन्न सक्यौ भने
काट्टिकुट्टी
रुप यहि
तर भोलीदेखि
देख्नेछौ
अनुहार अर्कै । ८
**
मान्दै नमानेपछि
चार कोण चारै दिशा
हिँडीरहेछु म
एकनाश
मै तिर क्रमश क्रमश । ९
***
आज बल्ल लेखेको , यो खै के लेखेँ कुन्नि ? अन्तर्गत बिधा कविता नै होला भन्ठानेर कविता भनेको छु ।

Monday, August 10, 2009

१४ थान हाईकुहरुको थोक प्रस्तुती

भन्नलाई त म ब्लगमा फर्किसकेको हुँ तर लेख्न पनि पर्यो नि त ब्लगमा भन्ने सवाल उठ्दा भने म अझै उस्तै हालतमा रहेछु । बितेको साताभरी सोचेँ ब्लगमा कसरी अगाडी बढ्ने भनेर ; कुनै मेसो नपरेको रुखको जरा बञ्चरोले ठुङ्दा चिर्न नसकेको सास्ती भोगेकै जस्तै लाग्यो बितेको साताभरी गम खाँदा ।

के गर्ने ब्लगको यो हौसला यत्तिकै चट्टक्कै छोड्ने कुरा पनि त भएन ; अनि त कोट्याउँन थालेँ कम्प्युटरका कुनाकानी कोचरेर घुसारेका अझ भनौं त रचनाकाल ताका आफ्नै आँखामा निम्छरा ठहरिका रचनाको ढेडीतिर मानौं कि म एक हिउँद र एक बर्खा खाईसकेको परालको ढेडीबाट पराल थुत्दैछु - कतै कुहिएर भ्यात्त भएको पराल निस्किँदैछ त कतै थिचिएर चाम्रो न चाम्रो भएको पराल हातमै आउन मानिरहेको छैन् ।

जे होस् यसपटक ढेडीबाट थुतथात पारेर चौध थान हाईकु भेला पारेर ल्याएको छु - भन्नै पनि १४ थान हाईकुहरुको थोक प्रस्तुती भनेर। हाईकु मैले निक्कै पहिले नेपालमा हुँदै पनि लेख्ने गरेको थिएँ यद्दपि म हाईकु लेख्न जान्दिंन तर यि भने उस्ता पुराना पनि होईनन् न त नयाँ नै हुन् । कस्ता रा'न् चैं तपाईंहरु नै ठम्याउनुस् ।
-------------
हातै बैगुनी
गुलाफ जस्तो मुटु
वैलेर झर्यो । १
---------------
बन्द बोतल
भित्र मलाई थुन्ने
उ विष कन्या । २
...
बन्द बोतल
म भित्र थुनिएको
विष कुमार । २

----------------
ढुँगाका द्यौता
खै पट्टक्कै बोलेनन्
साक्षात् भए नि । ३
--------------------
निशब्द तिम्रा
गुलाबी ओठहरु
कागजी फूल । ४
------------------
टाल्नै सकिँन
छिद्र थियो मुटुमा
मनको बाघ । ५
------------------
पराया मान्छे
निसँकोच कुल्चिन्छ
शिरको टोपी । ६
------------------
नाङ्गै देखिन्थ्यो
पत्पती धुँवा उठ्यो
बन डढेछ । ७
------------------
कालो बादल
भय चट्याङकै छ
बिना अगुल्टो । ८
-----------------
खुशी छल्केको
एक हूल मनमा
चन्द्र र सूर्य । ९
-------------------
त्यो अँगालोमा
चन्द्र सूर्य देखियो
अनन्त हर्ष । १०
----------------------
फेरी बल्झियो
म टाढा भए पनि
आमाको माया । ११
---------------------
आशा आँखामा
कसैले उघार्दैछ
नीलो आकाश । १२
--------------------
अझै उचाल
आकाश छुनै लाग्यो
राष्ट्रिय झण्डा । १३
----------------------
चुकेको चुरा
धुम्मिएछ आकाश
पानी पर्छ रे ! १४
------------------------
यसपटकलाई त जसोतसो ढेडीबाट हाईकु थुतेर काम चलाएँ तर तत्कालै चिन्ता यो छ कि अगाडी के गर्ने होला ? हैन यो दिमाग किन मात्रै खाली शिशी भएको हँ ? पुराना कागज पनि भैदिए तिन्मा केरेको केहि न केहि फेला पर्थ्यो होला नि ?

Saturday, August 01, 2009

म सञ्चै छु - सबैलाई राम ! राम !

सबैभन्दा पहिले सबैलाई राम ! राम !

म सञ्चै छु - सोध्नुहुने सबैलाई हार्दिक धन्यवाद !

यावत कुराहरु प्रति चिन्तित आफु त छँदैछु तर चिन्तित त्यसरी छैन जसरी अघिल्लो पटक लेखेको थिएँ । भनिहालुँ म गुप्तबास बसेको कारण प्रति चिन्तित हुनुभएको मित्रहरु प्रति पो चिन्तित छु बरु । मित्रहरु ( केहि ) चिन्तित नहुनु पनि किन एकमहिना भन्दा अगाडी पछिल्लो टाँसोमा एकातिर डिसेम्बर २१ , २०१२ मा हुनसक्ने भनिएको महाप्रलयको बारेमा 'हाईपरडुम्पशन' भन्दै लेखेर अनि अर्कोतिर जाग्रम बस्दैछु भनेर ' तिमी नहुँदा पनि त खै रोकिएन समय….. ' भन्दै लेखेर ब्लगमा पस्नै छोडेछु । छोड्न पनि यस्तरी चटक्कै छोडेछु कि म ब्लगर पनि हुँ के भने जस्तो सम्म लाग्न थालिसकेछ । अझ अकबर र वीरबलको कथामा कताको जिली कताको गाँठी भनेझैं नै भयो मैले पनि कथा , कविता , गीत , गजल ईत्यादि लेख्छु भन्ने कुरा त ।

मलाई पक्का थाहा भै सक्यो यहाँसम्म पढिसक्दा तपाईंलाई झर्को लागीसक्यो अघिल्लो पटक मैले सुत्न झर्को लाग्छ भनेझैं नलाग्नु पनि किन हौ मैले पछिल्ला प्राय टाँसोहरु सबै ढिलो लेख्दै यस्तो र उस्तो भन्दै लेखेको हुन्छु । त्यसैले यो पल्ट जति भनें भनें म ब्लगमा लेख्न ढिलो भएको बारेमा केहि भन्दिंन , शट्टामा बरु धेरै लामो अन्तराल पछि लेखेको यौटा सानो टुक्रा , यस्लाई गजल भनुँ कि गीत के भनुँ भन्नेमा चैं आफैं दोधार छु है , स्वरुप गजलकै जस्तै भएको भएपनि लामो ( २६ अक्षर ) भएकोले भाँचेर राखेको हुँ , अब यो लौरो न हतियार पो भयो कि त ?

किन पिउनु पर्थ्यो र यो प्याला मैले
त्यो नशालु नजरले मताएपछि ।
भन्नेहरु सबैले मातेकै हो भने
त्यै नजरको नशाले धताएपछि ।

केहि बुझें होला केहि त बुझ्नै बाँकी
भन्न केहि सकेँ केहि बाँकी नै रहयो ,
चुपचाप नै तर बुझे जस्तै धेरै
बोल्दै नबोली आँखैले बताएपछि ।

खोज्दै हिँडिरहें सबै भिँडहरुमा
मिर्मिरे दुई आँखा देखिन्छ कि कतै ,
विर्षन चाहेर कहाँ सकेँ सजिलै
सम्झनामा त्यै आँखाले सताएपछि ।

चाहे झैं भन तिमी जेसुकै मलाई
नाम अरुले पनि मनखुशी दिउन् ,
गर्दिनं उजुर बाजुर , उम्लिएर
विष्फोट हुँदा भित्रै तताएपछि ।

साथै आशा गर्छु अब लामो अन्तराल नबनाई ब्लगमा हाजिर हुन साथै तपाईंहरुको ब्लगमा पनि प्रतिक्रिया लेख्न आउन भ्याउने छु ।

Sunday, June 28, 2009

'Hyperdoomption ! ' / त्यसै त कुन कानमा सुन

त्यसै पनि मलाई सुत्न भनेपछि झर्को लाग्छ । सुत्न मात्र कहाँ हो र ? मलाई त खान पनि झर्को लाग्छ । कैलेकाँहि सोच्छु यो खान र सुत्न नपर्ने भए कति आनन्द हुन्थ्यो होला ? खै किन सोच्छु यस्तो वाहियात कुरा ? तर सोच्छु कैलेकाहिँ ।

अझै पनि खान लाग्दा आमाको त्यहि प्रश्नवाचक चिन्ह भएको अनुहार सम्झना हुन्छ , 'के चैं बित्दो छ हँ भाइ तेरो ? कहिले त अलि सुबिस्ताले खाने गर ।'

'छैन केहि बित्दो पनि । सुबिस्ताले खाने भनेको चैं कसरी हो ? जसरी पनि खानु हो हैन र ? ' आमाकै शब्दमा म जहिले पनि सासले गाँस टिपेर उठ्ने गर्थें । अझै त्यसै गर्छु सायद तर खान्छु खान चैं । खानै छोड्ने गरेर देउता हुन त अलि सक्दिनँ । जे होस् म सुत्न झर्को लाग्ने कुरा गर्दैथिएँ । साँच्चै सुत्न झर्को लाग्छ मलाई त्यसमाथी पनि 'त्यसै त कुन कानमा सुन' भएको छ आजभोली । ठेक्का पाएको छु जाग्रम बस्ने । जस्तो कि म माघ महिनाको अन्त्यतिर सात आठ वर्ष अगाडीको समयमा गाउँमा छु आजभोली र हरेक रात श्री स्वस्थानी ब्रत कथाको समापनको खुशीमा जाग्रम बस्ने गर्छु । ब्रतालुहरु फल प्राप्त गर्न जाग्रम बस्नै पर्ने ति दिनहरुमा फलको आशा बिना नै हामी नाचेर गाएर , केहि नपाए रातभरी स्वस्थानी कथा वाचेर बस्दाको रमाईलो दाँजेर हेर्छु तर म त एक्लै धुम्धुम्ती कम्प्युटरको अगाडी ब्लगर साथी कृष्ण थापाको ब्लगर कविताले ठ्याक्क बयान गरेको मान्छे जस्तै भएको हुँदो रहेछु ।

घरीघरी यस्तो लाग्छ मैले तिन वर्ष जति अगाडी देखि टेण्डर हालेको रहेछु जाग्रम बस्नलाई र भाग्यले यतिबेला टेण्डर परेको छ मलाई जाग्रम बस्नलाई । यो एउटा पाटो हो जाग्रमको ।

यादहोला एकदिन मैले भनेको थिएँ - 'सुत्दा मलाई हात धेरै भएर कहाँ राखुँ कहाँ राखुँ हुन्छ त्यसैले आज राती त मैले हात गोजीमा राखेर ढुक्कसँग सुतेँ ।' त्यसदिन तिमीलाई मैले चुट्किला सुनाएको थिईनँ पक्कै न त साँच्चै त्यसरात मैले गोजीमा हात राखेर सुतेकै थिएँ । यो त यौटा बहाना मात्र थियो तिमीलाई हँसाउने र तिमी हाँस्दा तिम्रो गालामा उठेको पेन्सिलको चुच्चो जस्तो थुम्को हेर्ने ।

हाँस्दा गालामा खाल्डो पर्ने र गालाको खाल्डो मनपराउने कति भाग्यमानीहरु होलान यो दुनियाँमा तर हाँस्दा गालामा थुम्को उठ्ने भाग्यमानी तिमी एउटै होलाउ र गालाको खाल्डो हैन डिल मनपराउने अर्को भाग्यमानी चैं म हुँ । कति भाग्यमानी थियौं त हामी । साँच्चै दुर्लभ ।

...तिमी नहुँदा पनि त खै रोकिएन समय
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न
सजिलै भा'छ आज काट्न जेनतेन समय....

हो त, यसैगरी त्यही दुर्लभ भाग्यमानी म लोप भएको छु अचेल । तेस्रो जन्मको परिकल्पना तिमीलाई फुर्ती लगाए जस्तो सजिलो पनि छैन र मरिसकेको हुँदा दोश्रो जन्ममा फर्कन नै पनि भनेजस्तो सजिलो त कहाँ होला र ? लेखेछु भने 'तेस्रो जन्म' तिम्रो हातमा दिनेछु पढ्नलाई जहाँ तिम्रो बाक्लो उपस्थिती रहनेछ । जाग्रमको यो पाटो यत्ति नै - यो पनि केवल तिम्रो लागी । कुनैदिन तिमी यो बाटो भएर हिँड्दा सम्झना रहोस भन्नाका खातिर । आँखिर भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो ।

**************************

बाघको मुख खाए पनि रातै नखाए पनि रातै भनेजस्तो हामी ब्लगरहरु यसै ब्यस्त उसै ब्यस्त । केहि गर्नु परे नि ब्यस्त केहि नगर्नु परे नि ब्यस्त । कम्प्युटरको सामुन्ने पर्नुमात्र पर्छ हामी ब्यस्त । हामी भित्रको म त्यस्तै हुँ । सँधै केहि न केहि गर्नु हुन्छ चाहे गरुँ या नगरुँ ।

पछिल्लो समयमा म धर्ती छोडेर माथी आकाश आकाशतिर भौंतारिन थालेको छु । हो यहि नै जाग्रम बस्नुको अर्को पाटो हो । रुचि मलाई खगोलमा पहिले देखि नै हो त्यसो त तर रुचि छ भन्दैमा खगोल सम्बन्धी ठुलै बिटो जानकारी भने होइन मसँग तर पनि यु ट्युबको साथमा धर्ती छोडेर रात रातभरी म तारालोकमा विचरण गर्ने गरेको छु । भन्नलाई यसलाई अर्को पाटो भने पनि पहिलो पाटोसँगै केहि हद सम्म सरोकार राखेको छ यसले त्यता नजाउँ अहिले ।

ब्लगमा हामीहरु माझ अहिलेसम्म हल्ला नचलेको तर सम्भवत हामीले सुनेको विषय २०१२ डिसेम्बर २१ को बारेमा निक्कै कौतुहलता लिएर खोजी गरेँ मैले । ब्लगमा यसको परिचर्चाले बिस्तारै प्रवेश पाउला म भने कुरा कोट्याईरहन चाहन्छु यहाँ । यसबारेमा गहिरिएर भन्न पनि चाहन्न म अहिले । कौतुहलताका साथ मैले प्रत्यक्ष भेट्ने साथीहरुसँग कुरा गर्दा उनिहरुले मलाई पृथ्वीको विनाश हुन्छ भनेर डराएको भने । कतिले वाहियात कुराको पछि लाग्ने भने । मलाई भने कौतुहलता अझै रहेकै छ । के हामी पृथ्वीको विनाश देख्ने अभागीहरु हौं त ? के हामी नै ति भाग्यमानी मान्छे हुन पाउँछौं त पृथ्वीको अन्त्य भएको आँखैले देख्ने ?

मैले यहाँ विस्तारमा भन्नै पर्दैन सायद - Mayan क्यालेण्डर , प्लानेट X , North and South pole Shift , Solar Strom , i chang ईत्यादि ईत्यादिका कुराले बजार तातेको छ । विश्वास गर्ने नगर्ने अधिकार हामीमा छ तर चासो राख्नु पर्ने कुरा हो यो ।

यो हुँदैन भन्नेमा जति छु म , हुन सक्ला भन्नेमा पनि त्यति नै छु । एक हिसाबले म मा निक्कै रोमांचकता छाएको छ कि म सम्भवत पृथ्वीमा मानव सभ्यताको अन्तिम अध्यायमा उभिएको छु । यसरी सोच्दा मैले स्कूलमा पढेको विजय मल्लको अन्तिम भोज कथा सम्झेँ । म पात्र भएर कथाकार भोज छोडेर भोकै दगुरेको भविश्यको कुनै दिनमा आफ्नैं आँखाले देखेको जस्तो पनि महसुस गरेँ र सम्झेँ कता दगुरेका थिए होलान् कथाकार विजय मल्ल ? कस्को मायाले ? के को आशाले ? जव पृथ्वी नै नष्ट हुँदैछ भने ?

हो त्यस्तै कल्पनामा हराउँदा मैले Hyperdoomption को कल्पना गरेको थिएँ । जस्लाई शुरुमा Hypodoomtion भनेर फेसबूकमा लेखेको थिएँ केहिदिन अघि मेरो फोटो ब्लगकि ब्लगर सुजनजीको Status मा । वहाँले Never take life seriously. Nobody gets out alive anyway लेख्नुभएको थियो । जतिबेला मैले वहाँको Status मा यो लेखिएको देखेँ त्यतिबेला म अन्तिम भोजका कथाकार भोज नखाई मेरो प्यारो धर्ती भन्दै भाग्दै गरेको देख्दै थिएँ । मेरो आँखा अगाडी मैले नौ कक्षामा पढ्दा देखेको विजय मल्ल मात्र एक्लै भाग्दै थिएनन् त्यस बखत । म बसेको सहरमा अनेक रँगका , अनेक आकार प्रकारका , अनेक जातका , अनेक थरीका मान्छेहरु भाग्दै थिए । म स्वयँ पनि भाग्दै थिएँ त्यसो त तर हामी भाग्नेहरु सबैलाई थाहा थियो । हामी कोहि बच्ने छैनौं भनेर । त्यो कोलाहलमय वातावरण पृथ्वीभरी थियो । सबैले त्यो महाप्रलयको पिँडा भोग्दैथियौं सामुहिक रुपमा । हो त्यही महाप्रलयको पिँडालाई मैले Hyperdoomption नाम दिएको हुँ । मसंग बाहेक यो शब्दले अहिलेसम्म अन्यत्र कतै उपस्थिती जनाउँदैन । अँग्रेजी शब्दकोषमा अहिलेसम्म समावेश नभएको यो शब्द मैले Doom लाई आधार बनाएर कल्पना गरेको हुँ । Doomsday भनेर पनि जानिने महाप्रलयको त्यसदिनको पिँडा जनाउन मैले कल्पना गरेको यो शब्दले अँग्रेजी भाषामा कुनै स्थान नपाउला त्यो अर्कै कुरा हो तर मेरो दिमागमा उपस्थिती राखिसकेको यो शब्द मलाई चै अस्तित्वमा भएझैं लाग्दैछ र सम्भवत हामी अभागी भनेपनि भाग्यमानी भनेपनि Hyperdoomption भोग्नेछौं जस्तै लाग्दैछ । मेरो हिसाबले यो शब्द अँग्रेजी शब्दकोषमा समावेश भए यसरी हुन्थ्यो होला - Hyperdoomption = A worldwide massive pain that every creature must have to face as the end of the planet earth . A megha pain of doomsday .

सुजनजीले फेसबूकको Status मा किन त्यो लेख्नुभएको थियो मलाई थाहा भएन तर मेरो मनोदशालाई छोएको थियो वहाँको त्यस Status ले । लगभग एकवर्ष नै हुन लागेछ मैले यस्तै एउटा कथा जस्मा UFO र Outer Space को Alien being को कल्पनामा प्लट तयार पारेको थिएँ तर यथेष्ट जानकारी बटुल्न पर्ने देखेर लेख्दा लेख्दै रोकेको थिएँ र अझै फर्केर हेरेको रहेनछु । भोली कुनैदिन त्यो कथा लेख्न बसेछु भने भनौं न आँट आएछ भने कथाको शिर्षक पनि Hyperdoomption नै राख्ने विचार गरेको छु ।

त्यसैले त भनेको म सुत्न झर्को लाग्ने मान्छेलाई अहिले झन कानमा सुन भएको । यु ट्युबमा हेरि भ्याई नसक्ने गरेर भिडियोहरु अनि गूगलमा खोजी भ्याई नसक्ने गरेर साईटहरु छन् यसबारेमा । यहाँ देशको चिन्ता छ तिमी माया माया भन्छौ भनेजस्तै यहाँ पृथ्वीको चिन्ता छ हामी फलानो पार्टी र चिलानो दल , फलानो राज्य र ढिस्कानो प्रदेश भन्दै बसेका छौं । नासालाई पक्कै मलाई भन्दा धेरै थाहा छ । प्लानेट X को कुरा , सोलार स्ट्रोमको कुरा तर अमेरिका कानमा तेल हालेर अझै त्यही कानमा तेल हाल्नै मध्य पुर्वमा हतियार ओसारीरहेछ । पृथ्वीको आयू गन्नेहरुको काउण्ट डाउनमा हेर्ने हो भने अब १२७१ दिन २१ घण्टा १२ मिनेट (सेकेण्ड त के भनिरहनु) बाँकी छ अब हामीसँग समय । हामी Hyperdoomption लाई टार्न सक्दैनौं रे ल मानौं तर त्यतिञ्जेल हाम्रो छेउको अर्को प्राणीलाई प्रेम गर्न त सक्छौं नि । यि महाशक्ती राष्ट्रहरुले भन्लान् त कुनैदिन यस्तो कुरा ?

Saturday, June 20, 2009

लघुकथा : कामना

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।'

'ठोकुम्ला न । अलिकति बारी पनि जोड्न पर्ला भनेर सम्जे'थेँ मैले त ।' ठुलै भाग्यशाली चिठ्ठा हातपरेको रवाफ थियो सन्तमानको ।

त्यतिञ्जेल सुखमानको करेसामै उक्लिसकेका थिए उनिहरु । छिमेकी बिजुवा बाले थपे , 'यत्रो बिधी पैसो पा'असि जे जे गरे नि भो नि अब । बाह्र वर्षमा त खोलो पनि फिर्छ भनेको ठ्याक्कै पुग्यो सन्तमान भाइ तिमीलाई ।'

'सन्तमानलाई के को गाड्धन मिलेछ त ?' बुझ्ने मन भयो सुखमानलाई तर सोध्न सकेन उसले । उनिहरु दाजुभाइको पानी बाराबार भएको अझै बोलचाल छैन ।

हातको स्याउला अझै हातमै लिएर मुर्ति जस्तै ठिङ्ग उभिएको सुखमानलाई देखेर सन्तमानले उभिएरै भन्यो , ' ए दाजै , सरकारले ३ लाख रुप्पे दिया छ हाम्लाई क्षेतिपुर्ति......... '

सन्तमानले बताईसक्न नभ्याउँदै बुहारीले भनिन् , 'के सुनाउंउछौ नि बुढा ईन्लाई ? उ बेला हाम्रो छोरा मर्दा खुशी हुनेलाई । उन्का छोरा पनि तेई लडाईँमा गा'छन् । हाम्रो छोरा मर्दा चैं खुशी हुने असतीहरु ।'

उनिहरु फटाफट उसको करेसो कटेर उकालिए । सुखमानलाई भन्को छुटेझैं भयो । हातको स्याउला फ्यात्त फालेर उ बस्तुको किलो समाएर घाँसहाल्न तेर्स्याएको ढाटमा बस्यो । उसको भाइ सन्तमानका तिनभाई छोराहरु । ति मध्ये माईलो लडाईंमा परेर मरेको बेला उसले सम्झाएथ्यो , 'ए नरोउ अब । रोएर मरेको मान्छे फर्कँदैन । तिमरका त अरु दुईभाइ ज्युँदै छन् । मेरो यौटै भ'को नि लडाईंमै गा'छ । मरेको त मरिगो बाँचेकाको मुख हेरेर मन बुझाओ ।'

त्यसैबेला चर्केकि थिन् उसकि बुहारी , '......तिम्रा छोरा नि मरेको दिन था'पाउँछौ ?... '

'अझै टेक लिरा'रान् त्यति कुरामा । मैले खुशी भ'र त भनेको थिँन् ।', खुईय! काढ्यो उसले ।

'...यो पैसोले घरमा टिन् ठोक्नु पर्छ... ' बुहारीकै कुरा उसको कानमा फेरी आएर पस्यो । उसले आफ्नो छानो सम्झ्यो । बर्खामास झरीमा सुत्दा ओच्छ्यानमा चुहेको पानी थाप्न भाँडा राखेको सम्झ्यो ।

'थुक्क ! कस्तो जुनी हो दैब मेरो यस्तो । एउटा भ'को छोरो पनि ख्वै कता के खोरमा हो कि शिबिरमा हो राख्या छन् रे । कैले सम्मन् राख्दा हुन् ? छोडीदिए पनि त यो बुढेशकालमा घरमा मलाई काम सघाउँदो हो ? बस्तुको थलोमा यत्रो खाल्डो परेको छ म बुढो एक्लै पुर्न सक्दिँन । छोरो भएर मात्र पनि के गर्ने ? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।'

'हैन के भन्छौ ए काजीका बाउ ? तिमीलाई छोरोभन्दा पैसो ठुलो हुने भो अब ?' श्रीमतीको तिखो आवाजले झसङ्ग भयो सुखमान । उसले पुलुक्क हेर्यो काजीकि आमा नजिकै दाउरा झिक्दै थिईन् ।

'हत्तेरिका ! मैले सारै पो बोलेछु कि क्या हो ? थुक्क ! त मलाई , कस्तो कामना गरेको हुँला मैले यस्तो ? गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।' यसपटक भने उसले होसियार भएर मनमनै भन्यो ।