Saturday, May 23, 2009

जन्मदिनको शुभकामना म आफैंलाई ।

'खै म कहाँ बेपत्ता छु , कता बेखबर छु आफैंलाई थाहा छैन ।'

'यो नचाहिंने कुरा गर्न नि अलि सुहाएन । आफु कता छु भन्ने आफैंलाई थाहा हुँदैन र ?' यस्तै लाग्ला तपाईंलाई मैले त्यसो भन्दा तर मैले ब्लगर मलाई बेपत्ता नै पार्न लागिसकेको छु । गीत , कविता , गजल कथा ईत्यादी लेख्ने मलाई कता हो कताको दुर्गम अनाकण्टार(यो भनेको चैं स्थान विषेशको दुर्गम हैन जाँगर हरा'को अनाकण्टार है)मा लगेर छोडेको छु ।

किन हो ?

थाहा छैन ।

दैनिक कम्प्युटरको अगाडी नै हुन्छु तर म हुँदो रहेछु ; लेख्ने म चैं नहुँदो रहेछु ।

कारण पनि केहि छैन म हराउनुको ; बिना कारण हराईरहेको छु ।

केहि सोच्न नसके जस्तो , लेख्न नआए जस्तो भै रहेछ ।

यतिखेर यो शब्दहरु लेख्न पनि सकस भै रहेछ ।

आज मे महिनाको २३ तारिख मेरो जन्मदिन - जन्म दिनको शुभकामना म आफैंलाई ।

फेसबूकमा , फोनमा , जीमेलमा , याहुमेलमा , हटमेलमा सबैतिर मलाई शुभकामना भन्नुहुने साथीभाई ईष्टमित्र , आफन्त सबैलाई हार्दिक धन्यवाद !
(कतिपय ठाउँमा मैले धन्यवाद भन्न सकिनँ भने पनि यसैले त्यसलाई पुरा गरोस् ।)

ब्लगमा टाँस्न अलि गतिलो कुरा नै केहि फेला परेको छैन - यौटा टुक्रा गीत सम्म लेखेको छैन - अरु थोक लेख्ने त कुरै नगरुँ ।

आफ्नो ब्लगमा केहि नलेखे पनि छरछिमेकमा चिहाउने भने गरिरहेको छु । त्यो क्रममा पनि कमी आएको होला तर बन्द भएको छैन ।

प्रतिक्रिया लेख्ने जाँगर कतै आएको छ , कतै त्यो जाँगर धरी मरेको छ त कतै लेखेर पोष्ट गर्न खोज्दा पोष्ट नै नभएको पनि छ ।

सम्पुर्ण ब्लगर मित्रहरु सँगको सामिप्यतामा दुरी बढ्दै गै रहेको प्रति स्वयँ दुखी छु र पनि 'आ'म सरी' भन्दा नक्कल पारेको जस्तो देखिएला भन्ने लागेको छ ।

आज कमसे कम फेसबूकमा पनि दुई शब्द कोर्ने विचार गरेको छु ।

यहाँ चैं धेरै केहि भन्नै सकिनँ यो भन्दा - सोचाईहरु हुल बाँधिएर लाम/क्रम मिलेर चरिरहेका हरिणको बथानलाई सिँहले झम्टेर छिन्नभिन्न बनाएझैंको अवस्था छ ।

छिट्टै साबिक अनुशार भएर आउने प्रयासमा छु ।

Tuesday, May 05, 2009

कविता : ति आमा , मेरी आमा

झाङ्गल र झुङ्गल
दिनभरी पाखोबारी खोस्रेर
साँझ एक हात झिक्राझाम्टा सहित
दैलोबाट भित्र छिरेकी ति आमा
टुसुक्कै नबसी भाँडो खरानी लगाएर
कहाँ निस्किईन होली कठै !

पानीधारा सुकेको जुगौं भै सक्यो
छोरीहरु पानी भर्न सक्दैनन्
कुच्चिएको हल्लुङ्गे गाग्री बोकेर
हाँफ र झाँफ गर्दै अँध्यारोमै
टाढाको पँधेरो पो पुगिन् कि ?

घरमा अन्नको गेडो पनि त बाँकी थिएन
छोराहरु एकछाक अन्न जोहो गर्न सक्दैनन्
बिट फुस्किएको डालो च्यापेर
अँध्यारैमा सुमुसुमु
ऐँचोपैँचो खोज्न गाउँतिर पो लागिन् कि ?

सन्ततीहरु आज
करेसाको डिलमा उक्लिएर
खै गर्दै
'ए ! आमा !' भन्न लाज मानिरहेछन्
आफु र आफुमै मस्त सन्ततीलाई
ति आमाको रत्ति फिक्री छैन
जतिसुकै बेला आमा घर फिरुन्
या नफिरुन्
चुल्हामा आगो जोर्न कसैलाई खाँचो छैन
अँध्यारो घरमा टुकी बाल्न कसैलाई फुर्सद छैन
सबैले देखेका छन्
भाँडो खरानी लागीसकेको छ
सबै ढुक्क छन्
केहि त पाक्ने छ
पर्वाह छैन
जे पाकोस् / जसरी पाकोस्

बरु आमा प्रति गुनासो गर्न
लामबद्द कुरीरहेछन् सन्ततीहरु
भन्नेछन् देख्नासाथ
यो भएन / उ भएन
यसो हुनुपर्थ्यो / त्यसो हुनुपर्थ्यो

मुहारको चमक हराईसकेकी
आँखाको पानी सुकिसकेकी
ति आमा
सुकेको त्यान्द्रो ओठमा
सँधै जस्तै मुस्कान च्यापेर
फिर्ने हुन् कि होईनन्
कस्ले गर्ने खै सोधखोज ?
कस्ले गर्ने खै चिन्ता ?
कस्ले गर्ने खै पिरोलो ?
ति आमाको , मेरी आमाको
आँखिर म पनि त
लामबद्ध छु त्यहीँ
आमालाई नै गुनासो गर्न ।

अस्ति हाम्रो माता तिर्थ औंशीको दिन लेख्न सुरु गरेको थिएँ खासमा यो कविता । आमाको बारेमा लेख्छु भन्ने सोच थियो तर के लेख्छु भन्ने थाहा थिएन । त्यसबेला सुरु गर्दा अहिलेको अन्तिम अनुच्छेदबाट सुरु भएको थियो तर पुरा नगरी छोडेको थिएँ । हिँजो फेरी अलि थपथाप पारेँ तर पुरा गर्न सकिँन । आजभोली कविता लेख्न निक्कै गाह्रो हुन थालेको छ मलाई । जे त पर्ला आज पुरा गर्छु भनेर जेनतेन पुरा गरेँ ति आमा , मेरी आमा को कविता ।

Wednesday, April 29, 2009

गजल : खै म त कुन कुनामा छु

के के भयो दुनियाँमा खै म त कुन् कुनामा छु ?
जगत् भुली जिन्दगीले लाउने जादू टुनामा छु ।

सुरक्षाका ब्यूहहरु आफैं रचेँ जिन्दगीमा ,
अभिमन्यु भई आफैं फसेँ र म थुनामा छु ।

कस्तो लोभ भकारीकै डम्म भरिनु नै पर्ने ,
कठै ! अझै चुब्रुक्क म टपरी र दुनामा छु ।

फेदैबाट गिँडिएर ढलेपछि सिङ्गो रुख ,
म ठुटोमा पलाउँदै गरेका ति मुनामा छु ।

उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी ,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।

Monday, April 20, 2009

बरालिँदै डेनाली पुग्दाको फाईदा

यसपटक ( हिँजो आईतबार ) साप्ताहिक बिदामा बरालिएर हिँड्ने सुर चल्यो तर एकदिनको बिदामा कति पो बरालिने र ? बरालिँदै हिंड्नलाई धेरै टाढा आँट्दा पनि फेरी फर्केर आउनुपर्यो भोलीपल्टको कामलाई आराम गर्न भ्याउने गरेर त्यसैले लगभग ३०० माईल जतिको दुरीमा रहेको डेनाली नेशनल पार्कतिर बरालिँदै पुग्ने निधो भएर बिहानै उठेर लागियो । त्यसो त डेनाली नेशनल पार्क अर्को महिना ( मे ) देखि मात्र पर्यटकहरुको निम्ती खुल्छ , यतिबेला मान्छेहरु त्यती जाँदैनन् भन्ने थाहा नभएको पनि होइन तर यतिबेलै जाँदाको आनन्द पछि कहाँ पाईएला र ? फेरी भएन बरालाहरुलाई पर्यटक जाने सिजन र बेसिजनसँग के मतलब ? भन्ने ठानियो ।

थुप्रै कुरा होलान् त्याँहा हेर्न जानलाई तर हामीले चैं भने Mt. McKinley को फोटो सोटो खिचौंला भन्ने सम्म सोचेका थियौं । क्या झुर ! त्यो हिमाल भएतिर त डम्मै बादलले ढाकेर फोटो खिच्न नै पाईएन र पनि त्यतातिरका केहि फोटो खिचेर मैले मेरो फोटो ब्लगमा हालेको छु ।

अर्को कुरा , त्यतातिर बरालिँदा पनि मेरो मनमा भने अघिल्लो पटक ब्लगमा राखेको गीतले पिरोलिरहेको थियो । त्यो गीतको स्थाईको अन्तिम हरफमा 'मैले त बाँच्नु भन्दा मर्नु निको भो ' लेखेको केहि हदसम्म आफैंलाई चित्त बुझिरहेको थिएन । मनमा पिरोलो त्यसलाई हटाउने र अर्थोकै लेख्ने भन्ने थियो र त्यसमा मेरो ब्लगमा सुझाब सहित तपाईंहरुले लेख्नुभएको प्रतिक्रियाले पनि पिरोलिन सघाईरहेको थियो । मैले त्यो गीत उता गजल ग्रुप ( आजभोली गजल ग्रुपमा कस्तो अवस्थामा गजल भन्दा गीत लेख्न उपयुक्त हुन्छ भन्ने पनि छलफल गर्दछौं ।) मा पनि राखेको थिएँ र दीपक खड्काजी ( गजल ग्रुपको लागी पथ प्रदर्शक मान्छु म ।) ले यसरी प्रतिक्रिया लेख्नुभएको थियो । -

दीपकजी,

‘मर्नु निको भो’ मलाई पनि तपाईका अन्य पाठकहरुलाई जस्तै जँचेन । अलि दोहर्‍याई तेहर्‍याई पढ्दा मलाई कस्तो अनुभूति हुन्छ भने ‘मर्नु’ शब्दले तपाईले चाहे जस्तै पीडाको उत्कर्ष बोक्न खोजेको त हो, तर ‘निको भो’ ले त्यसलाई अन्य अर्थमा modify वा dilute गरेको छ । ‘मर्नु निको भो’ भनेर त घोर पश्चातापमा वा घोर frustration मा पनि भनिन सक्छ नि त ।

‘मर्नु’ शब्दमा कुनै कुराको उत्कर्ष व्यक्त गरिएको पंक्ति मलाई सम्झना आईरहेको छ पारिजातको । ‘मर्न मन लाग्छ मायालु’ भन्ने एउटा गीत/कविता हो त्यो । एउटा भावुक प्रसंग पनि छ त्यससंग सम्बन्धित । रामेश र मञ्जुलले पारिजात दिदीको डेरामा त्यो गीत impromptu लय हालेर गाईदिदा पारिजात दिदी कति मिनेट हो घोप्टो परेर रोएकी थिईन् रे । त्यो दृश्यको कल्पना र त्यसको poignancy मेरो मनमा यसरी गढेको छ कि त्यो म कहिले बिर्सन्न । त्यो दृश्यले मलाई खै के के अव्यक्त उर्जा र high दिन्छ । पारिजात र प्रेम (unrequited love) कहिले पनि नछुट्टिने तर कहिले संयोग पनि नहुने त्रिशंकु तैराई (floating) को बिम्ब हो मेरा निम्ति । पारिजात दिदीको जीवनको पुरानो चरण (रोमान्टिक) र नयाँ चरण (प्रगतिवादी) को साँधमा पनि पारिजात दिदीलाई रुवाउन सक्ने त्यो गीतले मेरा निम्ति एउटा आध्यात्मिक अर्थ बोकेको छ भन्दा हुन्छ । प्रेमको सार्वभौमिक सत्ताको manifestation र भजन हुन् ती पंक्ति मेरा निम्ति ।

Back to हाम्रो प्रसंग । मलाई लाग्छ त्यो ‘निको भो’ भन्ने शब्द काफियाको निम्ति अपरिहार्य भएपनि त्यसले ईच्छित अर्थलाई deflect गरेको छ । अन्यथा बडो सुन्दर गीत ।

दीपक खडका


हामी प्रतिक्रिया किन सुन्न चाहन्छौं ? सुध्रिन या सुधार्नलाई नै त हो । यि नै कारणहरुले त्यो यौटा हरफ फेर्न बढेको पिरोलो बरालिँदै डेनाली पुगेको बेला अन्त्य भयो । गुन्गुनाउँदै थिएँ त्यही गीत यसरी फेर्दा होला भन्ने लाग्यो र कागजको यौटा टुक्रामा थपक्क टिपिहालेँ -

तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


यसो गर्दा मैले पीडाको जुन उत्कर्ष लेख्न खोजेको थिएँ त्यो पुगेन भन्ने लागेको त छ तर मर्नु निको भो भन्ने शब्दले दिन सक्ने गलत संदेश र गलत उक्साहटबाट भने मुक्त भएँ भन्ठानेको छु र अघिल्लो पटकको पोष्टमा पनि फेरीसकेँ । जे होस् बरालिँदै डेनाली पुग्दाको यो यौटा फाईदा भो ।

Friday, April 17, 2009

गीत : तिम्ले पनि छोडी जाँदा

तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


नसुने'सी बैगुनीले कुरै दोहोर्याई
नदेखे'सी झर्दा आँसु घाउ चहर्याई
छातीमा गड्ने तीर त्यै बोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


रेटिए'सी मनभित्रै डोरी विश्वासको
मेटिए'सी बाटोहरु हेर्न सबै आशको
सपना बग्ने पानी झैं खोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।

Sunday, April 12, 2009

नयाँ वर्षको कुरा

नयाँ वर्ष आयो । यो आउनु थियो - आयो । बित्नु छ - बित्छ । समय हो आफ्नै गतीमा निरन्तर हिँडीरहेको छ । यस्लाई गन्ती गरेर हामी नयाँ र पुरानो भन्दै आईरहेका छौं र भन्दै नै रहने छौं । यसैको उत्सव मनाउँछौं , बाचा बाध्छौं अनि भोलीपल्ट विर्षिदिन्छौं । यि सब स्वभाव हुन् हाम्रा त्यसैले अस्वभाविक केहि हुंदैन । कति कुरा हामी अस्वभाविक भएको देख्छौं तर अस्वभाविक भएका हरेक कुराहरु हाम्रो स्वभावको सरलताले नै गराईरहेको हुन्छ । मैले स्पस्ट भन्न सकिँन होला तर 'सम'ले आकस्मिकतालाई नियमित भनेकै सुत्र जस्तै मैले अस्वभाविकतालाई सरल भनेको हुँ । नियमित आकस्मिकताको गाँठो घटनालाई समाएर उभिन्छ भने सरल अस्वभाविकताको गाँठो घटना गराउने कर्तालाई समाएर उभिन्छ ।

( म यहाँ एकछिन रोकिएँ । घोरिएँ । सोचेँ मैले के लेखेँ भनेर ? )

म नयाँ वर्षको कुरा गर्न गैरहेको हुँ । शुभकामना भन्न आँटेको हुँ तर प्रसँग भन्दा पर कुरा पुर्याएँ भन्ने लाग्यो । माथी लेखेजती कुरा दोहोर्याई तेहेर्याई हेरेँ र मेट्न लागेको थिएँ फेरी लाग्यो कतिपय कुरा सन्दर्भ भन्दा बाहिरै भएपनि प्रासङ्गिक बनिदिन्छन् । अप्रासङ्गिक भन्ने पनि केहि हुँदैन । माथीकै सुत्र प्रयोग गरे सान्दर्भिक अप्रासङ्गिकता भन्न सकिन्छ किनभने हामी सन्दर्भलाई नबुझेरै कतिपय ठाउँमा कतिपय कुराहरुलाई अप्रासङ्गिक ठहर्याउंछौं ।

केहि दिनदेखि म यो पृथ्वीलाई यौटा बडो ठुलो उनको डल्लोको रुपमा हेरीरहेछु । यो घुम्दो छ र निरन्तर यौटा धागो यसबाट बाहिर हुत्तिईरहेछ । उनकै गोला फुस्किएझैँ यो निरन्तर सकिँदैछ तर यति ठुलो छ कि हामी यो सकिईरहेको भेउ पाईरहेका छैनौं र यो पृथ्वीबाट बाहिर हुत्तिईरहेको त्यही धागोको रेखा समय हो । हामी यसलाई गन्न थालेदेखि यति खुस्कियो भनेर लेखा लगाईरहेका छौं । त्यो पनि सानो सानो एकाईको हिसाब राख्ने झमेलाले गर्दा गजमा , अरु कुनै ठुलो परिमाणको एकाईमा भने नि भयो , त्यसै गन्ति अनुशार २०६६ सुरु हुँदैछ । यसपाली नयाँ वर्षको उल्लास पाल्नै सकिंन मनमा र पनि खुसी छु - अर्को यौटा नयाँ दिन त देख्न पाएँ भनेर ।

यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको छ । के हुन्छ हेरौं ? केहि त नयाँ वर्ष नलाग्दै भैदियो । २००० नभने पनि बुझिन्छ म ३३ सालमा जन्मेको । यतिखेर मलाई ३३ वर्ष आयू ब्यतित गरिसक्न लाग्दा पनि अझै भोली के के हुँदै जांदोहोला अरु ३३ वर्ष अगाडी २०९९ साल कस्तो हुँदो हो ? हाम्रो हिसाबले पनि त्यसबेला अर्को यौटा शताब्दीको बिदाई हुन लागेको हुनेछ । त्यसबेला मेरो देश कस्तो हुँदो हो ? मेरो समाजका मान्छेहरु कस्ता हुँदा हुन ? विज्ञानले अरु के के उपलब्धी दिँदो हो ? ग्लोवल वार्मिङको कस्तो असर पर्दो हो पृथ्वीमा ? भन्ने जस्ता कौतुहल जागीरहेछ । कस्तो अचम्म ! त्यसबेला सम्म म मर्छु होला भन्ने त पट्टक्कै नलाग्ने जबकि जीवनको ठेगान छैन म जतिबेला पनि मर्न सक्छु भन्ने सत्य थाहा हुँदा हुँदै पनि मर्छु होला भन्ने सम्म कल्पना नगर्ने , बाँच्नको लागी कति आशक्त नि मान्छे ? यसपाली म जन्मेको सालको त्यही ३३ अँक फरक्कै फर्केर ६६ भएछ त्यसैले यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको । मैले नमाने पनि यो साल महत्वपूर्ण छ मेरो लागी । चिन्ता केवल यो महत्वपूर्ण समयको सुरुवातसँगै मैले महत्व दिएको मेरो जीवनको महत्वपूर्ण अँश पछाडी छुट्यो । मैले महत्व दिएको मेरो जीवनको यस महत्वपूर्ण अँशको सम्बन्धमा भने म लेख्न प्रतिबन्ध लगाईएको छु । लेख्ने घनघोर ईच्छा थियो तर नलेख्नु भन्ने आदेशलाई मैले छुटेको त्यही अँशको सम्मानमा पालना गर्नु छ । त्यसैले गर्दा निक्कै दिनदेखि म लेख्न सकिरहेको थिईनँ । केहि लेख्न खोज्दा पनि त्यही कुरा अभिब्यक्त हुन खोज्छ । त्यो बाहेक अर्थोक केहि सुझ्दैन । यौटा बोझ भएर त्यसले मलाई यस्तरी किचिरहयो कि म त्यसबाट त्यसै उम्कन नै नसक्ने भएँ । उम्कनलाई केहि लेख्नै पर्ने भयो त्यस विषयमा । एकातिर आदेश पालना गर्नु छ अर्कातिर दिमागबाट त्यसलाई हटाएर नयाँ कुरा देख्नु छ । नलेखि हटाउन पनि नसकिने र हटाउन लेख्न पनि नसकिने । त्यसैले यहि मध्य मार्ग बन्ने अवसर र मौका ठानेँ र नयाँ वर्षको गन्थनमा मिसाएँ । सम्पुर्ण रहस्य खोल्न नसक्ने यहि अस्वभाविक देखिने र अप्रासङ्गिक लाग्ने कुराकै निमित्त माथी सरल अस्वभाविकता र सान्दर्भिक अप्रासंगिकताको बखेडा झिकेको हुँ त्यो पनि 'सम'को नियमित आकस्मिकताको सुत्र टेकेर ।

मुख्य कुरा चैं नयाँ वर्ष २०६६ लाग्नुकै हो तर त्यही मुख्य कुराको निमित्त लेख्न कुरा छैन । यसपाली नयाँ वर्षलाई गुनासो गर्ने , नयाँ वर्षसँग आश गर्ने काम गरेर गीत , गजल , कविताहरु चैं नलेख्ने नै अठोट गरेँ । कम से कम यसपाली त नयाँ वर्षले मेरो गुनासो सुन्नु नपरोस । कम से कम यसपाली मैले नयाँ वर्षलाई केहि माग्न नपरोस । नयाँ वर्षलाई पनि वर्षैपिच्छे दिक्क लाग्दो हो म देखि त्यसैले मैले केहि लेखिँन । ढुक्क होस न नयाँ वर्षलाई भनेर तर पनि केहि न केहि चैं नलेखि नहुने रे क्या ! कसैले लेख्नु नै पर्छ भनेको त होइन ब्यारे तर पनि लेख्नै पर्ने ।

फेरी लेख्नलाई चैं केहि छैन । सबैलाई पत्तो छ नयाँ वर्ष लागेको र पनि सबैले दोहोर्याउनु छ यसलाई नयाँ वर्ष लाग्यो भनेर - त्यति नै त हो । नयाँ वर्ष लाग्नु नै केहि हुनु हो भन्ने ठान्नु छ तर नयाँ वर्ष लागेको पनि त हो । हो नि त , रोकेर रोकिने कुरै होईन समय त्यसैले नयाँ वर्ष आयो । बरु यसपाली मेरो शुभकामना छ यो नयाँ वर्षलाई । यो वर्षले बितेका वर्षहरुले झैं अनिष्टहरु झेल्न नपरोस भन्ने कामनाका साथ ।

यो मंगल कामना मित्रहरुलाई त सँधैको छँदैछ र पनि मौकामा नयाँ वर्षको पनि मंगल कामना !

Monday, April 06, 2009

कविता : एक छ आकाशमण्डल

हेरीरहेछु म त्यो अगम्य नील नभमा
टेकेर बबुरो पाईला यो प्यारो जगमा । १
सक्दिँन पुगी विचार्न नाघेर त्यो परिधी
जतिछन चन्द्र सुर्य ति चम्किला तारादि । २
देख्छु केवल चन्द्र एक र अनेक तारा
खुलेको छ चन्द्रमा लिई सुर्यको सहारा । ३

*****************
गम्छु , हवुन् उज्याला यसैगरी मानवका मन
एक आपसमा सहयोग र साथ लिईकन । ४
गरुन् कल्पना सबैले चन्द्र ताराको एकसाथ
जूनेली फूलेको आकाशमा तारा हाँसेको रात । ५
आँखिर आउने नै छ रात दिनपछि क्रम त्यो
स्वप्न उज्यालो दिनको मात्रै पनि हुन्छ भ्रम त्यो । ६

******************
नदेखुँ ताराहरु छुटेर आकाश अलग खोजेका
ति सुर्य अनि चन्द्रमाले झन छुट्टै आकाश रोजेका । ७
छ आकाशमण्डल एउटै अनन्त एक नै केवल
विभक्त ठान्नु त्यो ब्यर्थ छ उठाएर पर्खाल देवल । ८
सोचेर अर्थ्यायो कुनै हातले चन्द्रतारा सँगै लेखी
छ सम्बन्ध यिनको आँखिर एकसाथ अनादि देखि । ९

केहि अघि माइसंसारको फोटो हेरी कविता लेख्ने पोष्टमा लेखेको यो कवितालाई आज ब्लगमा ल्याएको हुँ । यौटा बहाना थियो महाभारत कथा त्यो सकियो अब अगाडी केहि लेख्ने मूड चल्छ कि ?

Sunday, March 29, 2009

सहर खरानी आतङ्कमा र म अझै मस्तमा

अर्थोक त के नै पो हुन्थ्यो र मसँग ब्लगमा लेखेर बाँड्नलाई ; कविता , गीत , गजल ईत्यादि बाहेक तर ति नै पनि क्रम मिलाई , समय मिलाई प्रस्तुत गर्न असमर्थ भै रहेछु । कारण उहि महाभारत कथा नै बनेको छ । भिजेको छु लछेप्रै त्यसैमा । डुबेको छु चुर्लुम्मै त्यसैमा ।

गत मार्च २२ मा एँकरेज ( म बसेको सहर ) भन्दा १०६ माईल टाढा दक्षिण पश्चिम तिर अवस्थित Redoubt Mountain मा ज्वालामुखि विष्फोटन भएको थियो जस्ले पछिल्लो हफ्ताभरी एँकरेज सहरमा समेत खरानी आतङ्क ल्यायो । विष्फोटनले ६०,००० फीट माथीसम्म खरानी उडेको थियो र वरपर फैलेर उक्त स्थानबाट अझ नजिकका ठाउँमा त ठुलै आतङ्क फैलाएको थियो भन्छन यहाँका गाउँलेहरु । यो सहरमा आउने जाने हवाई उडानहरु समेत पटक पटक रद्द भए त्यसैले यो खरानी आतङ्कलाई यस्ता मुला भन्न पनि नमिल्ला । मैले भने त्यसैबेला सहर भन्दा अलि बाहिर गएको हुनाले खरानीले ढाकेर वरपरका स्निग्ध हिउँ पनि धैलैमैलै भएको सम्म देखेँ । मैले त अझ , गाडीहरुको सिसामा बाइरोडकै बाटोमा धुलो उडाउँदै कुदाउँदा जस्तै हुन्छ होला भन्ने आशा गरेको थिएँ तर त्यति साह्रो त भएन । खरानी आतङ्कबाट तर्सिएका मान्छेहरु मुखमा महला लगाएर हिँडेको पनि देखिन्थ्यो । नलगाउन पनि किन त्यो चट्टान जलेर उडेको खरानी चट्टानकै कणहरु त होला । त्यो सिधै फोक्सोमा पस्यो भने त खत्तमै पनि पार्ला नि ? गाडीको फिल्टर त बिगार्दो रहेछ । कतिले फेर्नु पनि पर्यो गाडीको फिल्टर । त्यस्तै उड्दै गरेको जहाजको पनि ईन्जन झ्वाम बनाउने त्यो खरानी आतङ्कबाट बच्न आफुले चैं भने महला किन्नु पर्ला कि मात्रै भनियो । "आयूको छोरालाई वायूले खाँदैन" भन्ने उखान सुन्दै भन्दै आएको गोर्खाली न परियो । भलो कुरामा कहाँ अघि बढिन्छ र ? धन्न खरानी आतङ्क उधुमै थिएन र बचियो । अहिले आएर केहि मत्थर भएको छ यो ज्वालामुखि तर अझै बहुलाउन सक्ने सम्भावना रहेको जोखाना हेरेका छन् यहाँका भू-गर्भशास्त्री भनिने धामीझाँक्रीहरुले । भोली के हुने हो भन्न सकिँदैन त्यसो त तर त्यही ज्वालामुखिकै सिकार त नभईएला नि गाँठे ।

यसो यताउताबाट त्यो ज्वालामुखिको केहि तस्विरहरु पनि भेला गरेको थिएँ देखाउँ भनेर । कताकताबाट ल्याएँ भन्ने चैं याद नै भएन गूगल गरेर निकालेको हुँ ।

यो चैं अहिले भन्दा अघिल्लो पटक सन १९८९ मा विस्फोट हुँदाको चित्र । एटम बमले उठाएको मसरुम क्लाउड ( च्याउ बादल ) जस्तो पो भएको रहेछ नि ?


अनि बाँकी तलका सबै चैं त्यही ठाउँ यस्पाली २००९ मा पड्कँदाका तस्विरहरु ।













र यो चैं हवाईको बिग आईल्याण्डमा भएको सदाबहार , लाभा लाभा बगेर कहिल्यै नथाक्ने ज्वालामुखिको गुगल भिडियोहरुको लिँक -

http://video.google.com/videosearch?q=big+island+volcano+2009&emb=0#

http://video.google.com/videoplay?docid=5138291898525259472

आँखिर यो संसार यस्तै त हो - कैले के कैले के , कहाँ के कहाँ के , म चैं भने मस्तले महाभारत कथा सकाउने सुरमा छु । अर्थोक जे सुकै हुँदै गर्छ । हैन त ?

Thursday, March 26, 2009

महाभारत कथामा पो मस्त आफु त

केहि दिन भयो मैले आफैंलाई ब्यस्त बनाएर राखेँ ; ब्यस्त भन्दा पनि मस्त बनाएर राखेँ भन्दा ठिक होला । दैनिक जीवनमा गर्ने कामकुराहरु त छँदैछन् ति सब नगरे न यहाँ मेरो काका न मामा धरै छैन तर दैनिक जीवनमा गर्ने काम सकेर उब्रेको समय ब्लग मार्फत के के कोरेर सबैलाई सुनाउँदा लाग्थ्यो मसंग प्रयाप्त समय छ । म चाहे अनुशार गर्न सकिरहेको छु - त्यै घमण्डले हो क्यार मलाई महाभारतको कथा दोहोर्याउन मन लाग्यो । स्कूलका किताबहरु देखि नै टुक्राटाक्री पढ्दै र गाउँघरमा बुढापाकाहरुबाट पनि धेरथोर सुन्दै आएको महाभारत कथाको ठेली नै अघिल्तिर खोलेर पढ्न त सम्भव के होला र ? तर त्यही टेलिभिजनका पर्दामा अधकल्च्याउँदै हेरेको कथा (नाटक) यसपाली भने पढ्ने ( हुनत त हेरेको हो र पनि महाभारतलाई कुनै ब्यावसायिक चलचित्र हेरेझैं हेरें भन्नु भन्दा पढेँ नै भन्न मन लागेर ।) छुद्धे जाग्यो र यसबिचमा करिब करिब ६० भाग पुर्याएर सास फेर्न बिसाएको छु । फेरी यो कथा नै कस्तो भने पढेर अघाए जस्तो लाग्दै नलाग्ने । चाहेको कुरा पुर्याईदिने चमत्कारी यु ट्युबलाई भने धन्यवाद दिनैपर्छ मैले मन खोलेर ।

केहिदिन पछि फर्केर ब्लगमा आउँदा त "बाबै ! कहाँ हो कहाँ छोडिएछु म त अलपत्रै!" भनेझैं लागीरहेछ । हिँजो हो क्यार केहि मित्र ब्लगहरुतिर घुस्रीपनि हेरेँ । निक्कै मित्र ब्लगहरुसम्म त पुग्नै सकेको छैन यो बिश्राम पछि तर धेरैदिन पछि आएर हो कि क्या हो , कतिपय ब्लगमा पसेर टाँसो पढेर प्रतिक्रिया लेख्न खोज्दा मरेकाटे सकिँन । निक्कै पछि आउँदा ब्लगले पनि नचिने जस्तो क्या त । अनि अझ कुनै मित्र ब्लग त खोल्दा सरक्कै खुल्ने फेरी निमेषमै थपक्कै लुक्ने र पुरै ब्ल्याङ्क(सेतो) भईदिने भन्या । कस्तो आपत ! (सम्बन्धित ब्लगर मित्रहरुलाई खबर गरेको हुनाले कहाँ कहाँ यस्तो भयो भनेर चैं लेखिँन है ।)

ब्लगबाट हराएर हराउञ्जेलको दिन हिसाब लगाउँदा धेरै टाढा भएको छैन जस्तो लाग्ने तर ब्लगहरुमा पस्दा भने लौ आफु यौटा युगै पछि परेजस्तो हुने रहेछ र पनि अझै केहिदिन भने जोडतोडका साथ महाभारत कथा अघि बढाउने बिचारमै छु । यसैबिचमा अर्थोक केहि गरिँन भन्दा पनि यौटा गजल लेख्ने मेसो पाएँ र लेखेँ महाभारतका महाखलनायक 'शकुनि' शब्दलाई काफिया बनाएर सुरु गर्दै । अहिलेलाई यता ब्लगमा तपाईंहरु घुम्दै फिर्दै आईपुग्नुभयो भने टक्र्याउँनलाई पनि त्यही गजल यहाँ छोड्नु पर्ला जस्तो लाग्यो ।

आज पनि यो समाजमा शकुनिहरु छन् ।
महर्षि व्यास र द्रोण जस्तै मुनिहरु छन् ।

विचार्नु हरेकले परेको छ समिपमा ,
आफ्नै कति हितकारी र बैगुनीहरु छन् ।

विवश समय लेख्छ दैनिक युद्ध कथा ,
यहीँ थिच्ने , थिचिने र उठ्ने जुनीहरु छन् ।

बद्लेर स्वरुप निस्कियो धर्म सडकमा ,
न्यायको नाममा टायरको धुनीहरु छन् ।

कैद गरी जोरजोरै परेवा मन्दिरमा ,
शान्ती 'दीपक' जलाउने नै खुनीहरु छन् ।


भेट्दै गरुँला है त - गजल सम्बन्धमा प्रतिक्रिया लेखिदिनुहुन्छ भन्ने आश चैं छोडिनँ है ।