Sunday, July 30, 2006

अर्को आगलागी ।


कोलोराडो राज्यको दक्षिण भेगमा अवस्थित सानो , सुन्दर र प्रसिद्द पर्यटकिय नगरी डुराङ्गोको मुटुमा पर्ने एलरान्चो नामको सन १८९२ मा निर्मित , ११० बर्ष भन्दा पुरानो चार तल्ले भवनमा हिजो जुलाई २९ को अपरान्ह १ बजे भन्दा केही अगाडी सुरु भएको आगलागी ३.३० बजे तिर मात्र नियन्त्रणमा आउन सकेको थियो । झन्डै ५० अग्नी नियन्त्रकहरु खटिएको बताउने डुराङ्गो आगजनी तथा उद्दार नामक सरकारी सँस्थाका अधिकारी डेभले बिगत ३१ बर्ष यता ब्यावशायिक भवनमा यो ठुलो आगलागी भएको जानकारी दिदै मैले देखे मद्धेमा यो पनि एक डर लाग्दो आगलागी हो भने ।

चार तल्ले उक्त भवनको भुईं तल्लामा पूल हाउस सहितको बार सन्चालित थियो भने तेस्रो तल्ला अपार्टमेन्टको रुपमा प्रयोग गरिएको थियो । डुराङ्गो हेराल्डका अनुशार उक्त अपार्टमेन्टमा झन्डै २४ ब्याक्तिहरु भाडामा बसेका थिए । तेस्रो तल्लाबाट सुरु भएको आगो एकदम चाँडो तेस्रो र चौथो तल्लामा फैलिएको थियो । आगो कसरी सुरु भएको थियो भन्ने बारेमा पुलिश तथा अग्नि नियन्त्रण सङ सम्बद्द ब्यक्तिले अनुसन्धान पश्चातमात्र थाहा हुने बताएका भए पनि डेभले यो आगलागी ज्यादै सँकास्पद भएको बताएका थिए ।

उक्त भवनका मालिक चिप लिले भन्छन "के भै रहेको छ भन्ने थाहा लग्दा म बार भित्र थिएँ । यो ज्यादै नराम्रो भयो । अब अगडी के हुने हो मलाई थाहा छैन । " उनि आफु र आफ्नो घर भन्दा पनि उक्त घरमा बस्नेहरु र छिमेकिहरु प्रति चिन्तित देखिएका थिए ।

अग्नि नियन्त्रकहरुले उक्त जलिरहेको घरको तेस्रो तल्लाबाट ६ जनालाई उद्दार गरेका थिए भने एक जना उक्त घरको तेस्रो तल्लाबाट उक्त घर सङै जोडिएको अर्को घरको छतमा फाल हानेका थिए जस्को खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्यनै थियो । उक्त घरमा बस्ने ४ ब्यक्ति र २ अग्नि नियन्त्रकहरु पनि सामान्य घाईते भएको उक्त आगलागीमा मानबिय क्षति भने भएन ।

Saturday, July 29, 2006

कविता : भत्सर्ना

भत्सर्ना

दीपक जडित

खै कुन मर्यादालाई
पालना गर्‍यो उस्ले
र मात्रै मैले मौन बस्नु?
पर्दा भित्र सत्य
देखि देखि पनि
पर्दा बाहिर जालो
पन्छाउन नसक्ने तिनीहरुलाई
कसरी मात्रै मैले समर्थन गर्नु?
फूलको गुच्छा भित्र आज
बिषालु सर्प लुक्न सक्छ भने
अबोध मुटु भित्र आज
समस्त राष्ट्र दुख्न सक्छ भने
म पनि अब मौन बस्ने छैन
बिषालु सर्प लुकाई हिंड्ने
सपेराका हुलहरुको
सम्पूर्ण राष्ट्र दुखाई हिंड्ने
राक्षसका कुलहरुको
मैले घोर भत्सर्ना गरेको छु ।

Thursday, July 20, 2006

आमा मैले दौरा सुरुवाल नलाउँदा के हुन्छ ?

कविता

दीपक जडित

आमा मैले दौरा सुरुवाल नलाउँदा के हुन्छ?

आमा ,
मलाई आशिर्बाद नदेउ
म त्यहाँ जानु नपरोस्
जहाँ गएर कुर्शी माथी बसे पनि
कुर्शीको भारले थिचिनु पर्छ
जहाँ गएर अधिकार लिएर बसे पनि
अरुकै अधिकारमा दबिनु पर्छ
मलाई हिमालमा जन्माएर तिमीले
तिमीहरु सबै सबै
एकै सन्तान हौ भनेकी थियौ
मलाई मधेशमा हुर्काएर तिमीले
तिमीहरु सबै सबैको
समान हक अधिकार छ भनेकी थियौ
आमा
तर आज म हेपिएको छु?
सबैकी तिमी यौटै आमा भएपनि
फरक फरक दुस्ट बाउहरुको कारण
अधिकारको अँशमा ठगिएको छु
तिम्रो पुष्ट यौवन सँग खेल्ने
मेरा दुष्ट बाउहरुले
कहिल्यै तिम्रो सम्मान गर्न जानेनन
अझै पनि किन आमा
तिनिहरु कै नाउँमा सिउंदो रँगाउछौ तिमी ?
तोडिदेउ नाता अब ति दुष्टहरु सँग
जस्ले तिम्रो जवानी सँग खेलबाड मात्रै गरे
छाडिदेउ अब ति पापिहरुको सेवा गर्न
जस्ले तिम्रो नारीत्वको सम्मान गरेनन
आमा ,
आज म मधेश देखि हिमाल सम्म
तिम्रो पाउमा बाँधिएको दाशताको
साङ्लो फुकाउन जुर्मुराएर उठेको छु
मेची देखि काली सम्म
आफ्नो अधिकार खोसेर लिन
मुठ्ठी कसेर उठेको छु
हिमालको चिसो सिरेटोमा
दोचा र बख्खु लगाएर उठेको मैले
पहाडको न्यानो हावापानीमा
भोटो र कछाड लगाएर उठेको मैले
मधेशको प्रचन्ड गर्मीमा
कुर्ता र धोती लगाएर उठेको मैले
त्यहाँ गएर फेरी
दुष्ट बाउहरुको दबाबमा
दौरा सुरुवाल नै लगाउनु पर्छ भने
मैले जात , जाती र भाषा , सँस्कृतीको
निमित्त आवाज उठाएको के अर्थ हुन्छ ?
त्यसैले मलाई आशिर्बाद नदेउ
आमा म त्यहाँ जानु नपरोस
मलाई त्यहाँ गएर
दुष्ट बाउहरुको गोडा छुन मन्जुर छैन
मलाई त्यहाँ गएर
दौरा सुरुवाल लाउन मन्जुर छैन
तिमीनै भनन आमा
मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ???

Published on nepalikavita.com

Wednesday, July 19, 2006

कथा : आमाको विवाह

आमाको विवाह

तृष्णा राज्यश्री कुवंर

आज मेरी आमाको विवाह रे घरमा पाहुनाहरूको भीडभाड छ । आमाका साथीहरू आएका छन्, सानीमा, ठूलीआमा र हजुरआमाहरू आउनुभएको छ । सबैले आमालाई सिंगार्दैछन्, आमा राम्रा नाना र चाचाहरू लगाई दङ्ग परेर बस्नुभएको छ । आज आमाले मलाई एकपटक पनि बोक्नुभएन, गाला टोकेर माया गर्नुभएन । मलाई देखे पनि नदेखेझैं गरिरहनुभएको छ । आज म आमाको काखमा बस्न पनि पाएकी छैन । उता जान खोज्दा सबैले रोक्छन्, आमाले पनि बोलाउनुहुन्न 'आमा एकपटक हात फैलाउनु न, मलाई अंगालोमा लिनू' आमाको ढोकासम्म पुगंे, तर भन्न सकिन । हिँजोदेखि मलाई आमासँग सुत्न नदिई हजुरआमासँग सुताउन थालेका छन् । अब आमासँग अर्कै मान्छे सुत्ने रे । आमाले विवाह गरेर त्यो मान्छेलाई मेरो ठाउँमा सुताउनुहुन्छ रे ।
मलाई आमाले विवाह गरेको पटक्कै मन परेको छैन, त्यो मान्छेले गर्दा म एक्लै हुनुपरेको छ । त्यो मान्छे र उसका साथीहरू धेरै पटक हाम्रो घरमा आए, आमाका साथीहरूले मलाई आफ्नै छोरीजस्तै गरी राख्नुपर्ने कुरा गरेको मात्रै मैले बुझें । म साथी हुँदाहुँदै आमा कसरी एक्ली हुनुभयो ? हो हाम्रो घर छैन, मेरा बाबा हुनुहुन्न, तर आमा एक्ली कहाँ हुनुहुन्छ र ? म साथी छँदैछु नि । मैले आमालाई 'आमा' घर कसले बनाउँछ ?' भनेर सोध्दा इन्जिनियरले' भन्नुहुन्छ । इन्जिनियरले अरू के-के बनाउँछ आमा ? मैले फेरि सोधें, भनंे- 'पुल, सडक' भन्नुहुन्छ' आमा म ठूली भएपछि धेरै पढेर इन्जिनियर बन्छु, अनि पुल, सडक केही नबनाई घर यस्तै बनाउँछु है अनि हामीजस्तै घर नभएकालाई दिन्छु नि ।' मैले यसो भन्दा आमाले आँखाभरि आँसु लिएर मलाई माया गरेको सम्झन्छु । जहिले पनि आमाको आँखा भरियो कि मलाई तानेर माया गर्न थाल्नुहुन्छ । मलाई हेर्दाहेर्दै आमाका आँखाको आँसु त्यहीँ सुक्छ । आमा रुँदा गालासम्म आएको आँसु पुछिदिन्छु अनि मेरा मसिना औंलाहरूलाई आमाले ओठमा टाँसिराख्नुहुन्छ ।
मलाई आमाको अंगालोमा मात्रै निद्रा लाग्छ । आमाको न्यानो छातीमा टाँसिन नपाएर हिँजो मलाई निदैै्र लागेन । आमा आएर मलाई आफ्नै कोठामा लानुहुन्छ कि ? आफ्नै छातीभित्र लुकाउनुहुन्छ कि जस्तो लागिरह्यो । अब मैले एक्लै सुत्ने बानी पार्नुपर्छ रे । हजुरआमा पनि २-४ दिनमा गाउँ जानुहुन्छ अनि म त झन् एक्लै हुन्छु । त्यो मान्छेले मेरी आमा खोस्यो हुन त ऊ जहिले आउँदा पनि मलाई नाना, चाचा र पापाहरू ल्याइदिन्छ, मलाई माया गरेर बोक्छ तर किन-किन त्यो मान्छे मलाई पटक्कै मन पर्दैन । उसले आमालाई र आमाले उसलाई माया गरेको त म झन् देख्नै सक्दिन । उनीहरू धेरैबेर कुरा गरेर बस्छन्, त्यो मान्छे आएपछि आमाले मलाई माया गर्न बिर्सिएजस्तो लाग्छ । घरीघरी चकचक नगर भनेर गाली मात्रै गर्नुहुन्छ । उनीहरूले कुरा गरेको सुनेको- 'जहाँ बसे पनि डेरैमा बस्नुपर्ने हो, विवाहपछि पनि हामी यही घरमा बस्ने है ।' अब त्यो मान्छे आज यहीँ आउँछ, आमासँगै सुत्छ, उठ्छ, आमासँगै खान्छ, अफिस जान्छ, घुम्न जान्छ । अब आमाले मलाई घुमाउन पनि लानुहुन्न कि ? ऊसँग मात्रै जानुहुन्छ होला । 'आमा आमा आमा मलाई सधै घुमाउन लानुहोस् है ।' म दौडदै बैठक कोठामा गएर आमाको रातो साडी तान्दै भन्छु । हुन्छ नानु तिमी, म र बाबा भोलि नै घुम्न जाने है' आमा मलाई म्वाई खाँदै भन्नुहुन्छ । 'नाईं त्यो नयाँ बाबासँग नजाने । हजुर र म मात्रै जाने है आमा ।' मलाई आमाले त्यो मान्छेलाई बाबा भन्न लगाएको मनै परेन । 'त्यसो भन्नुहुन्न, नयाँ बाबाले नानुलाई माया गर्नुहुन्छ, पापा-नाना ल्याइदिनुहुन्छ, पढाउनु- लेखाउनुहुन्छ, घुमाउनुहुन्छ ।' सानीआमाले फकाएर मलाई बोक्नुभयो ।
'नाईं त्यो नयाँ बाबालाई म मारिदिन्छु ।' म आमाको काखमा लुक्न खोजें । 'मेकअप बिग्रन्छ' ठूलीआमाले च्याप्प पाखुरा समाएर तान्नुभयो 'यसले पाउन त उदार मन भएको विशालजस्तो केटा पाई तर बच्चीले समस्या खडा गर्छे जस्तो छ, केटाले त माया गर्छ नि यसलाई त्यो केटी मोरी आफै अभागिनी छे, कुकुरलाई घिउ नपचेको ।' ठूलीआमाले मलाई त्यो कोठाबाट निकाल्न खोज्नुभयो । 'त्यै त नि, अहिलेदेखि नै परपर हुन खोज्छे । नजिक-नजिक भए पो माया लाग्छ । यसले यस्तै बेहोरा देखाई भने आफै दुःख पाउँछे' संज्ञा मामुले पनि यस्तै भन्नुभयो ।
'सुरुसुरुमा बच्चालाई आफ्नो भाग खोसिएझैं लाग्नु स्वाभाविक हो । लोग्नेमान्छेका बारेमा सधै नकारात्मक कुरा सुनेर पनि उसलाई यस्तो भएको हो, विस्तारै सबै ठीक हुन्छ ।' सिना मामुले भनेको कुरा के हो ? मैले बुझ्न सकिन । उहाँको काखबाट फुत्केर आमाछेउ जान मन लागेको छ । 'यसले रातदिन यस्तै गरी भने विशालसँग यसैका कारणले मनमुटाव हुने होला ।' आमाको कुरा सुनेर हजुरआमा पनि भित्र आउनुभयो । यसलाई होस्टलमा राख्नुपर्छ, हामी राखौं भने हाम्रा आफ्नै बच्चा छन्, फेरि तैंले एक्लै......राखेकी केटी साह्रै चकचके छ । सानीमाले मलाई बदमास भन्नुभयो ।
होस्टल राख्न त अझै सानै छ, भरर्खरै ५ वर्ष पुगी, पाप लाग्छ वा बरु मै पाल्छु, धर्म पनि हुन्छ ।' हजुरआमाले मलाई तान्नुभयो ।'हुन त हुन्थ्यो तर गाउँमा राम्रो स्कुल छैन, त्यो झन् बिग्रन्छे । आमाको आँखामा विवशताको आँसु छल्कियो ।
सबैले मलाई दोषी र अपराधीका रूपमा हेर्दैछन्, यसमा मेरो के दोष ? आफ्नी आमाको माया पाउन खोज्नु मेरो दोष हो ? आमालाई अरूसँग बाँड्न नखोज्नु मेरो गल्ती हो ? आज मलाई आमासँग खुब रिस उठेको छ । सबैले मलाई गाली गर्दा पनि केही नबोली बस्नुभएको छ । मैले आमालाई कति भन्नु त्यो मान्छे मलाई मनपर्दैन मनपर्दैन मनपर्दैन मैले यही कुरा एउटा पानामा लेखेर आमाको व्यागमा हालिदिएँ, आमा हिँड्ने बेलामा भुइँमा चिठीजस्तो बनाएर खसालें, काम गर्ने दिदीले त्यो पाना भेटेर दिँदा रुनुभयो तर विवाह गर्दिन भन्नुभएन । पूजाकोठामा भगवान्ले सुन्ने गरी चिच्याएर भनें, आमाले देख्ने गरी भगवान्को फोटोअगाडि यही कुरा लेखेर राखें । होमवर्क चेक गर्दा मिसले कपीमा लेखेको कुरा आमालाई स्कुलमै बोलाएर देखाउनुभयो, एउटा केटा मान्छेमाथि क्रस चिन्ह बनाएको, सानी केटीको आँखाबाट बगेको आँसुको ड्रइङ पनि आमाले बुझ्नुभएन ।'
दिउँसो त्यो मान्छे बसेर गएको बेडमा सुत्न नमान्दा आमाले एक दिन तन्ना फेर्नुभएको कुरा पनि बिर्सनुभयो । त्यो मान्छे घरमा आएपछि मलाई कौसीमा बादल उडेको हेरेर बस्न मन लाग्छ । कत्ति बोलाउँदा पनि भित्र जानै मन लाग्दैन, आमाले यो कुरा खोइ बुझेको ? जहिले पनि तिमीलाई आमा मात्रै भएर हुँदैन । बाबा पनि चाहिन्छ' भन्नुहुन्छ । चाहिएको छैन मलाई बाबासाबा । आमा मात्रै भए पुग्छ, बाबाले त आमा खोस्छ, त्यस्तो बाबा के काम ? त्यो मान्छेको अंगालोमा आमा रोएको मैले देखेकी छु । किन रोएको होला ? सानो मान्छे पो रुन्छन् । त्यति ठूली आमा पनि रुनुहुन्छ काहीँ ? त्यो मान्छेलाई आमाले निकै रुचाउनुहुन्छ । आमाले मात्रै रुचाएर भयो ? हामीसँगै बस्ने भनेपछि मैले पनि त रुचाउनुपर्‍यो । आमाले त्यो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ । आमाले किस गरेको त्यो मान्छेको फोटो च्यातिदिँदा मेरो गाला चड्किने डर लागेको थियो 'नानु त्यो मान्छे भगवान् हो' आमाले मलाई काखमा लिएर धेरै कुरा सम्झाउन खोज्नुभयो तर मैले केही बुझिन । मलाई त्यो मान्छेले आमालाई छोएको पनि मन पर्दैन । रेस्टुराँमा आमासँग मात्रै जाँदा मःम, आइसक्रिम खान अति मनपर्छ तर त्यो मान्छेसँगै जान थालेदेखि मलाई केही खानै मन लाग्दैन । दुवैजना कुरा मात्रै गरेर बस्छन्, मेरो कुरा सुन्ने आमाले अब अर्कैको कुरा सुन्नुहुन्छ ।
मेरी आमा आज सिंगारिएर राम्री भएर बस्नुभएको छ । मेरा सबै साथीकी आमाभन्दा मेरी आमा कति राम्री हुनुहुन्छ । आमा अझ राम्री देखिँदा पनि मलाई खुसी लागेको छैन । आज आमा मेरा लागि होइन त्यो मान्छेका लागि सिंगारिनुभएको हो । अब सबैले आमालाई मन्दिरमा लिएर जान्छन् । बेलुका भोज छ रे कता हो तर मलाई लानुहुँदैन भन्छन् । आमाको विवाह हेर्नुहुँदैन रे । आमाका साथीहरूको विवाहमा, पिकनिक पार्टीमा जहाँ पनि आमाले मलाई चिटिक्क पारेर लानुहुन्छ तर आज आफ्नै विवाहमा भने घरमै छाडेर जाने रे । उता विवाहमा कति रमाइलो होला यता म भने काम गर्ने दिदीसँग एक्लै बस्नुपर्ने भयो । आमाको मनले मलाई एक्लै छोड्न कसरी मानेको होला ? हिँड्ने बेलामा आमा मलाई अंगालेर रुनुभयो 'मेरी आमा निष्ठुरी ।' मैले हिँजो राति पनि भनेको 'आमा त्यो मान्छेसँग विवाह नगर्नुहोस् बरु मसँगै विवाह गर्नुहोस्, त्यो मान्छेसँग नसुत्नुहोस् बरु मैसँग सुत्नुहोस् ।' म आमाका साथीहरूले खुब सजाएर मगमग पारेको कोठाको भित्ताभरि त्यही कुरा लेख्दैछु । काम गर्ने दिदीको थुप्रै काम छ उनी भान्सातिरै छन् । मैले मौका पाएको बेलामा आमाको ड्रइङ पनि भित्तामा बनाएर आइ लभ यु मम लेखंे । त्यो मान्छेको भूतको जस्तो अनुहार पनि बनाएँ । मेरो कुरा कसैले सुनेन । आमाले पनि सुन्नुभएन । कसैले पनि आफ्नो कुरा नसुनेपछि फिलिममा कालो कोट लगाउने मान्छेले 'जज साब' भन्दै कराउँछ अब म पनि एउटा बूढोबूढो मान्छे भित्तामा बनाउँछु । जब साब त्यो मान्छेलाई पनि फाँसी दिनुहोस् है ।' एकपटक होइन । त्यसलाई तीनपटक फाँसी दिने है 'जज साब'-'जज साब' । मेरो कुरा सुन्नुहोस् है' म भित्ताभरि कोर्दैछु ।

नारी पत्रीकाबाट साभार यो कथा मलाई धेरै मन परेर राखेको हुँ मलाई थाहा छैन यो कथालाई मैले मेरो ब्लगमा राख्न पाउंथे कि पाउंनेथिईन तर मैले नारी पत्रीका बाट साभार हो भनेको छु ।

Tuesday, July 18, 2006

गजल

गजल

दीपक जडित

कति मरुँ मनहरु सँगै आयु थपिमागेको छु ।
साँच्चै बाँच्नु पर्‍यो अब नयाँ योजनामा लागेको छु ।१

आफ्नै मनको डाँडा काँढा खोंचहरुमा हराको'थेँ ,
कोसिस् गरी आजै मनको पहाड पनि नाघेको छु ।२

सँधै भरी रुवाईरहने कुन्नी कस्तो मोह सँग ,
जम्का भेट पो होला कि भनि परपरै भागेको छु ।३

आशाहरु यती छन कि भोली पाउने खुशी अनि ,
उमंग भर्न मनको झोला खाली पारी राखेको छु ।४

भोली नयाँ घाम सँगै सुनौलो यात्रामा अघि बढ्न ,
आतुर छन पाईलाहरु कहाँ पो म थाकेको छु ।५

Sunday, July 16, 2006

गीत

गीत

दीपक जडित

तिम्रो लागी धेरै धेरै खुशीहरु साँचेकी थेँ
दुई दिन मात्रै भए पनि तिम्रै लागी बाँचेकी थेँ ।

तिमी सँग हिड्दा हिंड्दै बाटो मैले हराई गएं
पापीनी नभन मलाई नचाहेरै टाढा भएं
टाढाबाट पनि अझै तिम्रै माया साँचेकी छु
छामीहेर म त तिम्रै मुटु भित्र बाँचेकी छु ।

धेरै आँशु झारी सक्यौ अब अरु नझारीदेउ
यती ठुलो संसारमा आफुलाई एक्लो नपारीदेउ
सबै खुशी जित तिमी जस्लाई मैले हारेकी छु
तिम्रो सबै दु:ख मैले आफुतिर सारेकी छु ।

हुनत मेरो एक अन्जुली माया अझै बजारमा आईसकेको छैन शायद अगस्ट्को दोस्रो साता सम्ममा बिमोचनको लागि तयार भएर त्यसपछी बजारमा आउछ होला । त्यस् पछीको अर्को अल्बम अबोध परेलीहरु हुनेछ जस्को म प्रस्तोता र १ , २ वटा गीतको गीतकार मात्र हुनेछु र त्यो अल्बम मेरो छोरी दीन्जुश्री र सुधा शर्मा ( भान्जी) को हुनेछ । त्यसपछी मैले पुन्: एक अन्जुली माया को दोस्रो भाग निकाल्ने बिचार गरेको छु । अहिले एक अन्जुली मायामा ९ जना गायक र १ जना मात्र गायिका हरु हुनुहुन्छ भने भाग २ निकाल्दा ९ जना गायिकाहरु र १ जना गायक राख्ने बिचार गरेको छु र माथिको यो गीत शायद एक अन्जुली माया भाग २ को लागी हुनेछ ।

उच्च हिमाली भु-भागमा पाईने फूलहरु ।

अमेरिकाको कोलोराडो राज्यमा पर्ने उच्च हिमाली भु-भाग मा पाईने केही जङ्गली फूलहरुको फोटो खिचेको थिएं केही अगाडी । ति नै फोटोहरु म यहाँ शेयर गर्दै छु । Corn Lily नाम गरेको यो फूल फुल्ने बेलानै भएको रहेनछ ।


यो फूलको नाम अहिले याद रहेन फेरी सोधेर लेख्ने छु ।


pasque भनिने यो फूल हाम्रो तराईको पोखरीहरुमा पाईने एक प्रकारको फूल (नाम थाहा भएन) जस्तै लाग्यो ।
Kings crown भनिने फूल ।


Indian paint brushभनिने फूल,यो सबैभन्दा राम्रो लाग्यो मलाई । this post is under construction.

Saturday, July 15, 2006

LAMENTATION

LAMENTATION

Deepak Jadit

Listen , dear!
You are already got
Erased by time
For the world
And so for me
Gradually.
Still I am
Trying to hold you
Up in my chest
Those days often
I do recall
To refersh you
In my memory
Being tight
In your arms
Sitll I warmed up
Getting wet with
salted sweat
I can't forget
Your lovely kiss yet
sometime
I catch you
In to my suitcase
Where you are
Kept harmoniously
Layer by layer
With your photos
With your letters
With your clothes
Now , There is
No more smells
In your clothes
But when
I touch them
I can smell you
In my mind
Where you are
Alive forever
It halts me
And my life
For a moment
But life
must go on
My dear!

Friday, July 14, 2006

कविता : धेरै पहिले , अस्ती भर्खरै र आज ।

धेरै पहिले ,
एक रात
हाम्रो अँध्यारो बस्तीमा
तिनीहरु चोर झैं लुसुक्क आए
र रात अबेर सम्म
हामीलाई जागा बसाएर
भने
हामी तपाँईहरुको
बस्तीमाथी मडारिएको
कालो बादललाई
हटाएर छाड्ने छौं
हाम्रो साथ दिनुहोस्
भोली झुल्किने घाम
तपाँईहरुकै हुनेछ
तिनीहरुको
गुलियो बचनको मोहमा
हामीले तुरुन्तै साथ दियौं
र भोली झुल्किने घाम हेर्न
के सुतेका थियौं
अबेर सम्म भुसुक्कै निदाएछौं
जब बिउंझियौं
रेडियो बाट
मौसम सफा रहेको
जानकारी गराईदै थियो
तर हाम्रो बस्तीमा
बर्षौं देखि रहेको झरि बादल
जस्ताको तस्तै थियो ।
अस्ती भर्खरै फेरी
तिनिहरु तेसैगरी आए
र सपना देख्न बिर्षीसकेको
हाम्रो आँखाहरुमा
नयाँ सपनाको खेती गर्दै
न्यानो घामको कुरा गरे
नयाँ बिहानीको कुरा गरे
बर्षौं देखि भोग्दै आएको
च्यार च्यारे झरि सँग आजित
हामीले फेरी
तिनिहरुको साथ दियौं
र काँध हालेर उचालिउँ
आज जब
भुक्भुके उज्यालो छिचोलेर
मिर्मिरे बिहानी देखा पर्‍यो
तब तिनिहरु स्वयम
मध्यान्हको प्रचण्ड
घामसँग डराएर
हाम्रै बस्तीमाथि
कालो बादलको खेती गर्न थाले ।

नेपाली कविता डट कममा प्रकाशित ।