Wednesday, January 23, 2013

सकस : ठुलो किताबको सानो चर्चा

सकस बजारमा निस्किएर चर्चा हुनासाथ पढ्ने धोको पलाएको थियो । त्यो धोको तर किताबको चर्चा देखे सुनेर मात्र भने पलाएको थिएन । 'अन्तर्मनको यात्रा'मा हरेक पाठकहरुले जस्तै मैले पनि जगदिश घिमिरेलाई अन्तरसम्मै पढेको भएर पलाएको धोको थियो । हुनपनि अन्तर्मनको यात्रा जत्तिको जीवन ज्ञान भएको आख्यान मैले पढेको थिएन त्यस अघि र त्यसपछि पनि पढेको छैन ।

बजारमा सकस निस्किने बित्तिकै जस्तो एकदिन फेसबुकमा साथी सीमु श्रेष्ठसँग सकसकै कुरा भएथ्यो । र मैले सकस पढ्न मन लागेको कुरा गरेको थिएँ । त्यहि दिन सीमुले किनेर पठाइदिने कुरा तय भयो । पठाउनलाई मेरा अन्य सामानहरु कार्गोमा आउँदैथियो र सजिलो भयो । किताब किनेर पठाइदिने मान्छे फेला परेपछि मलाई पनि के थियो? मैले अरु पनि केहि नयाँ पुराना किताबहरुको नाम दिएँ, किन्ने नै भएपछि यि पनि किनिदिनुस् न भनेर । यसरी सकस आउँदा सकसले साथमा अरु ११ थान लिएर पुरा दर्जनको हुल बाँधेर आयो मसम्म ।

सबैभन्दा पहिले सकस नै पढ्नेथिएँ त्यसैले एकदर्जन किताबहरु पाउनासाथ सकसलाई निकालेर हातमै एकपल्ट फरर्र पल्टाएँ । नयाँ किताब हररर ज्ञानमय वासनाका साथमा फरर्र पल्टाउँदा किताबबाट २ पातो फुत्रुक्क भुईंमा खस्यो । उठाएर हेरें । किताबको अघिल्तिरको समर्पण लेखिएको लेखकका पिताजीको तस्वीर भएको पेज रहेछ । र किताबको नाम लेखिएको अर्को यौटा पेज रहेछ । दुबै पेजहरु सायद बाइण्डिङ्गमा नपरेका रहेछन् ।

हाम्रोमा निस्किने किताबहरुमा यो खालको समस्या चर्को छ । कतिपय किताबहरुमा यसैगरि किताबको बिच बिचका पेजहरु छुट्टिएर बसेका हुन्छन् । कतिपयमा कुनै कुनै पेजहरु नै हुन्नन् । कटिङ्ग नमिलेर पढ्दै जाँदा पेजहरु छुट्याउनलाई चक्कु खोज्नुपर्ने त लगभग सबै किताबमा हुन्छ । मैले यौटा पातलो चक्कु नै राखेको छु कलमहरु राख्ने टोकरीमा । र कतिपय किताबहरु चैं पढ्न थाल्दा सारसौंदै हुन्छन् तर पढिसक्दा बिच बिचका पत्ताहरु छुट्टिएर पुराणका किताब जस्तो हुन्छन् ।

मलाई झट्ट सम्झना भयो, गोविन्द गिरी प्रेरणाले फेसबुकको ग्रुप उपन्यास कुनोमा "क्या बोर भो । सकस पढ्दै थिएँ पेज नं २३५ देखि २४२ सम्म पानै गायब । त्यसको ठाममा त २२७ देखि २३४ पेज दोहोरिएको रहेछ ।............" भनेर लेख्नुभएको थियो । मलाई अगाडिको दुई पाता फुत्रुक्क खस्दा मसँग भएको सकसमा पनि यस्तो समस्याहरु थप होलान् कि भन्ने पिरलो थियो तर घाटा पर्ने गरेर केहि रहेनछ । बरु मसँग भएको सकसमा पेज १३० पछि १३१ न आएर १२३ आयो । पेज १२३ देखि १३० सम्म चार पातो दोहोरिएर फेरि १३१ सकुशल आयो र अरु कुनै कैफियत रहेनछ ।

जब पढ्न थालें । सकसले एकाग्रताको डोरीमा बाँधेर राख्यो । पढ्न सुरु गरेको अवस्था र उपलब्ध फुर्सदले गर्दा मैले तीनवटा विश्राम लिएर चार पटकमा पढिसकें । पढ्दापढ्दै हाई आउने, अल्छि लाग्ने र पढ्नै छोडेर किताब बन्द गर्ने स्थिती आएन । सकसको सबलता एउटा त्यो पनि हो भन्ने लाग्छ मलाई । नत्र कतिपय धेरै महत्वपूर्ण, उपयोगि र राम्रा कुरा(किताब)हरु पनि लेखन शैलीले दिग्दार लगाउँछन् ।

फुटकर (कथाहरु) बाहेक 'अन्तर्मनको यात्रा'मा मात्र पुस्तकमा पढेको भएपनि जगदिश घिमिरे Trusted Author नै थिए । मनोयोगले सकस पढ्नुमा त्यसको मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ मलाई । सकसभित्र शाह वंशको इतिहासको कुरा आएजतिमा म ज्यादातर रत्तिएँ । इतिहासका किताबहरुमा समेत नलेखिएका थुप्रै कुराहरु आएका छन् शाह वंशका । र किताबले शिर्षकको धर्म थाम्दै शाह वंशको राजमा जनताले के कसरी सकस पाए भन्ने पनि राम्ररी देखाइएको छ । 'अनि जीबाले भने' यो अलि एकोहोरो भएको भएपनि र कतिपय कुराहरु इतिहासको रिपोर्टिङ्ग जस्तै भएपनि साह्रै रुचिकर छन् कथानकमा आएका तथ्यगत इतिहासहरु । पछिल्ला माओवादी युद्धकालका पनि कतिपय घट्नाहरु रिपोर्टिङ्ग जस्तै शैलीमा छन् । घरी यसले र घरी उसले घट्ना वयान गरेको भएर कथानक लामो दुरी चल्ने गाडी जस्तो द्रुत गतिमा बगेको छ । परन्तु हरेक कालखण्डमा सर्वसाधारणले भोग्नुपरेको 'सकस' भने सकसले आँखा सामुन्ने देखिएको घट्ना जस्तै स्पस्ट उतारेको छ ।

पात्रहरुमा भने लेखक हावी भएको पाएँ । जीबा पात्र जस्ले पृथ्वीनारायण शाहको पालादेखिका इतिहासका कुराहरु निकालेका छन् । तिनै जीबामा समेत लेखक आफैं देखिँदा म पाठकलाई त्यस्तो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । अर्को मुख्य पात्र शरदमा पनि लेखक हावि भएका छन् मन्थली, रामेछापतिरको कुरा आउँदा । सबभन्दा ठुलो विस्मात त यत्रो कालखण्डको सिंगै देशको कथा व्याथा समेटिएको किताबले मन्थली, रामेछाप र जनकपुरकै घुमी घुमी फन्को लगाउनुमा पनि लाग्यो मलाई । सिन्धुली गढीको लडाईंको वृतान्त र रामेछाप, मन्थलीका कतिपय कुराहरु, जो अन्तर्मनको यात्रामा पढिसकिएको थियो, सकसमा नलेखिएको भए नि हुने भने जत्तिकै लाग्यो ।

अन्तर्मनको यात्रामा लेखकको रामेछाप, मन्थली प्रतिको प्रेम र जनकपुरसँगको लगाव पढिसकेको भएर होला । पटक पटक मन्थली र जनकपुर नदोहोरिएर कथाका मुख्य पात्रहरु अन्त पुगेका भए वा अन्तैका भएका भएपनि हुन्थ्यो जस्तो लागिरह्यो । जीबा रामेछापका थिए । स्वामी राजाले खेदाएका प्रजाहरु मध्ये मुख्य कर्मलाल रामेछाप नै गयो । शरद र कुमारी काठ्माण्डौबाट टक्टकिएर रामेछाप गए । रामेछापबाट खेदिएपछि जनकपुर गए । यसरी कथानकले फन्को मार्ने स्थानहरु उहि उहि हुन पुगेको छ । हुनत एकै लेखकलाई निरन्तर पढिरहँदा तिनै तिनै कुराहरु एकाध कृतिमा दोहोरिएको पाउनुलाई सामान्य कुरा नै लिइन्छ होला । तर नेपालकै केहि चलेका लेखकहरुले तिनै तिनै कुराहरुलाई हरेक किताबमा ल्याएर अघाउंजी पारिसकेका भएर हो कि अन्तर्मनको यात्रामा भएका महत्वपूर्ण कुराहरु सकसमा नदोहोर्याएको भए हुन्थ्यो जस्तो मलाई लागेको ।

राजनैतिक दृष्टिकोणबाट हेर्ने हो भने अझै पनि, सकसले कथानकमा उठाएदेखि विसाएसम्मको कालखण्ड भरि, सकसको स्थितीबाट मुक्त रहेर आनन्द महसुस गर्ने परिस्थिती बनिसकेको छैन तथापि जनजीवनमा आइपर्ने हरेक सकसहरुलाई सामना गर्न र यौटा सुनिश्चित उज्यालो भविश्यमा दृष्टिपात गर्नको लागी परेला उघार्न वाध्य छौं मुलुकभरीका हामी एक एक व्याक्तिहरु । यस्तोमा सकसको कथानकले मुख्य पात्र शरदलाई कथानकको अन्त्यमा  तन्त्र फन्त्रको अधिनमा नगराएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । किताबको अन्त्यमा शरदलाई जीबाले भनेको कुरा छ, 'धैर्य गर्, जतिसुकै कालो र घना भएपनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारिन्छ । उज्यालो आउँछ आउँछ । ऐले म शान्तिलाई रक्तमुछेल देखिरहेको छु । तर सकस जति भए पनि भविश्य शान्तिकै हो ।' किताब पढुन्जेल पाठकको मगजमा पर्ने सकसलाई राहत दिने यो कुरा आउँदा शरद तन्त्र फन्त्र जस्तो आम मान्छेको जीवनमा अनुपयोगि र अनुशरण गर्न दुश्कर लाग्ने कुराको अधिन भैसकेको हुन्छ । त्यसैले शान्ति अनिश्चित भएको अवस्था जान्दाजान्दै पनि यो उज्यालो कुरा यसरी आउनुले पाठकलाई एकप्रकार अनिश्चिततामै छाडेको भान् हुन्छ । जस्ले गर्दा किताब पढिसक्ने पाठकलाई जीबाको उपरोक्त कुराले जति उर्जा दिनुपर्ने हो त्यति दिन सकेको छैन ।


यो ऐतिहासिक आख्यान 'सकस'को बथख्वाँइ गर्नै चाहनु हो भने पनि म त्यसको निमित्त योग्य पात्र कदापि होइन त्यसैले सकस पढ्दा महसुस गरेका कुराहरु थपक्क लेखें । यत्ति अधिकार म तुच्छ पाठकमा होला भन्ने सम्झेको छु । र सकसलाई नराम्रो छ भन्ने देखाउन लेखिएको भन्ने भ्रम नरहला भन्नेमा ढुक्क छु ।

सकसको राम्रा पक्षको वर्णन गर्नलाइ पनि म सायद योग्य नहुँला । र गर्नुपर्दा पनि मैले के वर्णन गर्न सकुँला? फेसबुकको उपन्यास कुनोमा 'सकस'माथि आएका हरएक समीक्षाहरु पढिरहेको छु र राम्रा कुरा लेख्नुपर्दा मैले तिनै कुराहरु नदोहोर्याई सुख छैन । अत: सकसकै पछाडीको खोलमा लेखिएको आख्यानकार नयनराज पाण्डेको टिप्पणी दोहोर्याउन चाहन्छु - ".......यसमा कहाली लाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ ।..........."

साहित्य लेखनमा हुनुपर्ने निर्भयता र निश्पक्षता भने सकसको माध्ययमले जगदिश घिमिरेबाट नेपाली साहित्यले अवश्य सिक्नेछ र सिक्नु पर्छ भन्ने ठान्छु म । अन्त्यमा, सबैभन्दा मुख्य कुरा त यो नेपाली साहित्यमा ऐतिहासिक मूल्य राख्ने आख्यान पढेर र संग्रह गरेर राख्न समेत पाएकोमा गौरव गर्छु म । र मेरो ब्लगमा यो पोष्ट पढ्नुहुने सबैलाई सकस पढ्ने मात्र हैन संग्रह गरेर राख्न समेत लायक उच्वकोटिको आख्यान हो भन्ने जानकारी पनि गराउन चाहन्छु ।

Saturday, January 12, 2013

भक्तिगीत : ह्रदयमै भेट्छु मेरो राम कृष्ण

मै जोगी भएर नछोडे नि तृष्णा
ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।
मेरो राम कृष्ण मेरो राम कृष्ण
ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।।
                        
                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।


असल त यहिँ छ सबैको मुखमा
म खराब खोज्दैछु कति छ दु:खमा ।
उचालेर पाऊ म जहाँ जहाँ जान्छु
साथैमा मेरो राम र कृष्ण लान्छु ।।

                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।


सब कर्म मानिसको सुकर्म नहोलान्
जानेरै पापकर्म रोज्ने पनि होलान् ।
सबैको हो राम कृष्ण मनले अँगाले
सबैले ह्रदयभित्र मैलो पखाले ।।

                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

रामलाई मुक्तिको तृष्णा नबनाउँ
पापको शिर लुकाउन कृष्ण नभनुँ ।
राम कृष्ण खालि एक बाटो हो मनको
सुमार्ग चिनेर हिंड्न जीवनको ।।

                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

ह्रदयले बोलाउ राम मनमा बोल्छ
मन्दिरमा मुर्तीले कहाँ मुख खोल्छ ।
मुर्ती मानिसकै विम्ब हो मनको
चिनौं राम कृष्ण मनकै आँगनको ।

                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

रामले बनाउँछ मानिसलाई दाता
आउँछन् राम र कृष्ण फैलाउन हात ।
चिनेर खोल मन सेवामा नभाग
ए दाता! तिमी मुर्तिसँग नमाग ।।

                         मै जोगी भएर नछोडे नि तृष्णा
                         ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

मै जोगी भएर नछोडे नि तृष्णा
ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।
मेरो राम कृष्ण मेरो राम कृष्ण
ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।।

Wednesday, January 02, 2013

कविता : लाजको मर्नु

वर्षादी लगाएको मानिस
छाता ओढेर जुन सडकमा लमक् लमक् हिंडीरहेछ
त्यहि सडकमा निथ्रुक्क भिजेर
पिठ्युँमा पिउसो च्यापेकि आमा पनि हिंडीरहेकि छिन् ।

ओतमा हुनेहरुलाई
वर्षादी महोदयको पिरलो छ -
'ठुलो मान्छे, यो पानीझरीमा
यहि बस्तीकै चिन्ताले रुझेको हुनुपर्छ । '

बीस रुपैयाको घुम समेत नहुने आमा
यो देशभरी नै सस्तो भएकि छन्
मात्र यो बस्तीमा कसैले किन सोधखोज गरोस्?

यदि उनले,
यसै गरेर कुनै बखत पानीझरीमा जोगाएर
थुप्रै छातावालहरु,
थुप्रै वर्षादी महोदयहरु,
यहि सडकमा हुर्काएकि छु भनिन् भने
त्यो लाजको मर्नु मलाई पनि त हुन्छ ।

********

सबैलाई नयाँ वर्ष सन् २०१३ को हार्दिक मंगलमय शुभकामना !

Wednesday, December 12, 2012

लघुकथा : कर

धूलो खेलिरहेको छ सातवर्षे बालकले माटोका डल्लाहरु तीनठाउँमा चाङ्ग लगाएको रहेछ । संयोगले ऊ त्यसदिन मैले काम गर्ने ठाउँमा खेल्दैरहेछ । जब म आफ्नो काममा पुगें । उसले अन्दाज लगाईहाल्यो कि अब उसले खेलमा निर्माण गरेको संसार म त्यसरी नै भत्काईदिन्छु जसरी ऊ वा उसका उमेरका बच्चाहरु कमिलाले दुलो छेउमा  थुपारेको माटोको ढिस्को बिनाकारण भत्काउने गर्छन् ।

जसै म उसको छेउमा पुगें उसले आफ्नो सानो खेलक्षेत्रलाई साना हातहरु फैलाएर छोप्न खोज्दै भन्यो, 'केहि नगर्नु है याँ; अर्काले कस्तो दुख गरेर बना'को छ ।'

म उसलाई लखेटेर आफ्नो काम गर्न चाहन्थें त्यसैले थोरै झर्किएर भनें, 'के बनाइस्, माटाका डल्ला थुपारेर मैले काम गर्ने ठाउँमा?'

तब उसले एक एकवटा डल्लाहरुको चाङ्गलाई पालैपालो हातले देखाउँदै भन्यो, 'यो काठमाण्डुको धररा, यो ईन्ड्याको ताजमहल अनि यो चैं पेरिसको आफल टावर ।'

आफ्नो खेल तन्मयता र आफुसँग भएको ज्ञानका साथ जुन विश्वासले उसले मलाई त्यो कुरो भन्दै थियो - त्यो देखेर मलाई उसको कुरा पत्याउन कर लाग्यो |

Monday, October 22, 2012

दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।
 
    - सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।


मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।


अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

Friday, October 12, 2012

लघुकथा : एकदिन

'आज के भो र किताब नलि' आइस्?' एकदिन उसको कानको जरी उखेल्दै हेडमास्टरले सोधे ।

'हेडसर, हाम्रो भर्‍याङको तीन्टा खुट्किलो भत्केको छ । म किताब लिन माथि जानै सकिंन ।' उसले आत्मविश्वासका साथ कहानी रचेर सुनायो ।

'घरका अरुलाई किताब झिक्देओ भन्नु पर्दैन त?' हेडमास्टरले कानमुन्तिर ठ्याम्का लगाए ।

'आमा पानी लिन ग'कि थि'न्, घरमा अरु क्वैपनि थे'नन् ।' रातो भएको अनुहारले उसले अर्को छोटो कहानी सुनायो ।

हेडमास्टर र उसको बिच भएको यो चलचित्रमय दृश्यले कक्षाकोठामा मनोरन्जनको वातावरण बनाईरहेथ्यो । अरु विद्यार्थीहरु हेडमास्टरको केरकार लम्बिए आफु सजायबाट बच्ने कुरामा मख्ख हुँदै मनोरन्जन लिँदैथिए । हेडमास्टरलाई पनि पढाउनु समेत नपर्ने गरेर मनोरन्जन प्राप्त भैरहेको हुँदो हो । सम्झिएझैं सोधे, 'अनि अस्ति किताब नल्याउँदा तैंले लिस्नो लडो' भनेको हैन? अस्तिको लिस्नो आज कसरी भर्‍याङ भयो?'

उसले पिर्लिक्क आँखा पल्टाएर हेडमास्टरको आँखामा जुधायो । चोर त यसै छँदैथिएँ पक्रा पर्ने भएँ भन्ने लागेको हुँदो हो उसलाई । हेडमास्टरले फेरि जोडले कन्सिरी उखेले ।

'अनि त्यो लिस्नो लडेपछि हाम्रो बाउले भर्‍याङ बनाए नि त ।' किन्चित डर नमानी उसले फेरि कहानी थप्यो ।

'तँलाई लठुवा! ढाँट्छस्? भर्‍याङको खुट्किला भत्केर किताब ल्याउन नसक्नेले त्यो झोला कसरी झिकेर ल्याइस्?' माझ टाउकोमा एक पड्याङ्ग भेट्यो उसले ।

'झोला त मैले हिँजै धो'को थें अनि सुका'को ठाउँमै विर्षेछु राती उठाउन ।' जवाफमा अर्को कथा अघि नै तयार गरेछ उसले फट्ट सुनायो ।

हरेकदिन जसो उ र सरहरु माझ मञ्चन हुने नाटक यस्तै हुन्थ्यो । किताब ल्याउन विर्षिन्थ्यो या जानी जानी ल्याउँदैनथ्यो तर झोला सँधै बोक्थ्यो उ । झोलामा पुराना टर्चलाइट, ब्याट्री, सलाईका डिब्बा ईत्यादि सामानहरु हुन्थे मानौं उ कुनै खुद्रा पसलको सेल्सम्यान हो र सामान बेच्न हिंडेको छ ।

सरहरुको हातको पिटाई नखाएको दिन सायद उसको जिन्दगीको सबसे लोदर दिन हुन्थ्यो । तर पढाईमा उसको तेज कक्षामा मन आँक्न मिल्ने थिएन । उ प्रथम, दोस्रो, तेसो कहिल्यै भएन तर फेल पनि कहिल्यै भएन । त्यहि स्कूलबाट एसएलसी दिउन्जेलसम्म उसको आदत साबिक नै थियो । गृहकार्य नगर्ने, किताब बोकेर नआउने, सामान्य उपध्रो गरिरहने ।

एसएलसीमा मुश्किलले एकाध विद्यार्थी प्रथम श्रेणीमा उतिर्ण गराउने त्यस स्कूलमा दोश्रो श्रेणीमा एसएलसी पास गरेर उ कता गयो कसैले थाहा पाएन ।

वर्षौंपछि एकदिन -

जिल्लाको एउटा साहित्यिक संस्थाले जिल्लाभरीका साहित्यकारहरुलाई बोलाएर अभिनन्दन गर्ने कार्यक्रम बनायो र त्यहि स्कूलको मञ्चलाई कार्यक्रम स्थल छानियो । उनै हेड मास्टरले जिल्लाभरीका कवि, लेखकहरुलाई सम्मानपत्र दिने र खादा पहिर्याउने जिम्मेवारी पाएका थिए ।

कार्यक्रममा सबभन्दा पहिले यसैवर्ष साहित्यमा देशकै सबभन्दा सम्मानित पुरस्कार पाएर चर्चाको शिखरमा रहेका युवा कथाकारलाई बोलाईयो । उनको बारेमा आयोजकका तर्फबाट कसैले मनग्गे चर्चा गरेपछि हेडमास्टरको बाहुलीबाट सम्मान पत्र र खादा अर्पण गरेर उनलाई केहि बोल्न लगाईयो ।

युवा कथाकारले आफ्नो गला अवरुद्ध पार्दै भने, 'म आज मलाई सानैदेखि कथा रच्न बाध्य बनाई प्रेरणा दिनुहुने गुरुवरको हातबाट यो सम्मानपत्र थाप्न पाउँदा भाग्यमानी बनेको छु ।............' कथाकार आफ्नो स्कूलको वाल्यकालका घट्नाहरु बताउँदै गए; हेडमास्टरको आँखा कहिल्यै किताब नल्याउने त्यो लठुवा विद्यार्थी पसेर भरिंदै आयो ।

Wednesday, October 10, 2012

कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी
र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि
सालन्ने भेला गरेको छु
अलिकति करेसाको रुखबाट
अलिकति छिमेकीको आँगनबाट
अनि अलिकति आफ्नै मकैबारीबाट
आँधीहूरीमा छिरोलिएर भिजेको
मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ
मसमसी निदाएर मीठो सपना देख्न चाहँदा
धूरी चुहिएर कानमा पानी पसेको?
कतिञ्जेल थाप्न सकिन्छ
यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै
रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा
ओल्टाईपल्टाई सुकाएझैं गरेपछि
आफैं चढेर छाएको छु मैले
आँधीको थप्पडले रुँदै गरेको छानो
बाँधेको छु धूरी अलि कसेर
थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -
खर पराल धूरीमा चढाउँनै छाडिए
चोयाबाताहरु काढ्नु परेन
दाँती काट्नु परेन
भाटा खिप्नु परेन ।

कालान्तरमा -
घर छँदैछ तर
छानो छाउँने चिन्ता मेटियो
धूरी हराएर गयो
पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी
सालन्ने तर
क्षति फरक पर्दै गयो
उड्दै जानथाले मनका धूरीहरु
बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको
सिङ्गै देशमा म
सालन्ने आँधीले उधारेको धूरी मार्दै
सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै
पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा
कसैगरे पत्तो पाउँदिंन
कता फर्केको छ मेरो मनको धूरी?
कहाँनेर छ मेरो मनको पुतलीपाखा?

Wednesday, September 19, 2012

गजल : अस्ताउँछन् घामझैं उदाउनेहरु

होसियार आकाशमा छाउनेहरु ।
अस्ताउँछन् घामझैं उदाउनेहरु ।

भरिएपछि अवश्य पोखिन्छ भन्ने,
विर्षन्छन् सँधै प्रेम खन्याउनेहरु ।

मेरै सम्मानले झन् झन् बढेर गए,
यो देशमा ऐंजेरु पलाउनेहरु ।

उ आए ति ल हेर हौदामा बसेर,
हात्तीछाप चप्पल लगाउनेहरु ।

पानीझरीमा कहाँ गै ओतिँदा होलान्,
आफ्नै घरको छानो भत्काउनेहरु ।

नामी नामी कथाकार बनिसकेछन्,
मलाई मेरै कथा सुनाउनेहरु ।

अचानोलाई साथी हो भन्थ्यो खुकुरी,
रुँदैथिए सँधै चोट पाउनेहरु ।

भन्दैथिए हामी त हराउँनै सकेनौं,
धेरैपछि फर्केर आउनेहरु।

धेरैजसोले आजै हार मानिसके,
हिँजो मलाई रीस उठाउनेहरु ।

हाम्रोमा त अपवाद भै'गयो अन्त,
थपिथपि खाँदैनन् अघाउनेहरु ।

Wednesday, July 18, 2012

पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म




सुन्दर जोशीका निक्कै कथाहरु मैले खसखसमा पढिसकेको छु । खसखसमै उनको जादुमय कथाकारिताको टुनामा बाँधिइसकेको पनि छु । फेरिपनि कथाकार सुन्दर जोशीको कथाकृति चाँडै निस्कँदैछ भन्ने जानकारी फेसबुकले दिएको दिन फेसबुकको खुट्टा भए म टुसुक्कै ढोगीदिन्थें भनेजत्तिकै हर्ष भएको थियो । यो जानकारी मैले कथाकृतिको नाम के रहन्छ र कृतिको आवरण कस्तो हुन्छ भन्ने समेत एकसाथ पाएको थिएँ ।

'क्यासल रककी अप्सरा' नाम जुरेको कथाकृतिको आवरण चित्र फेरि मेरा मनपरेका चित्रकार तथा 'अब्स्ट्रयाक्ट बैंकक'(हालै प्रकाशित उपन्यास)का लेखक खगेन्द्र पन्धाक लिम्बूले बनाएका रहेछन् । आवरणकलाको हिसाबले संग्रह स्वस्थ्य देखिएकै छ तरपनि मलाई आवरण चित्रमा भएको रकसँगै अस्पस्ट क्यासलको केहि हिस्सा पनि जोडिएको जस्तो भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । त्यसो त आवरणमा भएको रक रकनै हो कि बोल्डर(Boulder)हो? भन्ने पनि लागेको छ ।

कथाकृति बजारमा आइसक्नु अगाडिनै मैले 'क्यासल रककी अप्सरा'लाई नेपालबाट मगाउने किताबहरुको लिष्टमा चढाइसकेको थिएँ । तर मेरो सौभाग्य एकदिन फेसबुकले कथाकार सुन्दर जोशीको म्यासेज ल्यायो । म्यासेजमा 'क्यासल रककी अप्सरा' मेरो निम्ती आउनु पर्दा कहाँ आउनुपर्ने हो? ठेगाना सोधिएको थियो । (यहाँ फेरि पनि एकपटक सुन्दर दाइलाई हार्दिक धन्यवाद!) यसरी कृतिकारहरुबाटै कृतिहरु सौगात प्राप्त गर्ने थोरैजसो मात्र अवसर पाएको मलाई यो ठुलो खुशीको क्षण थियो । सहर्ष, सधन्यवाद मैले तुरुन्तै आफ्नो ठेगाना लेखिपठाएँ र यता नेपालबाट मगाउने किताबहरुको लिष्टबाट 'क्यासल रककी अप्सरा' झिकें । शट्टामा अर्को एउटा किताब थप्न पाउने खुशी पनि थपियो ।

मेरो दैलोसम्म अप्सरा खुशी लिएर आउन हुलाक सेवालाई धेरैदिन लागेन । सम्भवत तेस्रो वा चौथो दिनमै 'क्यासल रककी अप्सरा' हात परिन् । संग्रहभित्र के के कथाहरु होलान् त? यहि थियो मेरो उत्पात कौतुहल ।  तसर्थ हत्तपत्त कथाक्रम हेरें । संख्यामा ११ वटा तर शिर्षकमा ७ वटा कथाहरु रहेछन् । शिर्षक कथा पढिहाल्ने ईच्छाले तुरुन्तै पेज १५९ मा गएँ र पढ्न थालें ।

दुई भागमा रहेको शिर्षक कथाको पहिलो भाग पढ्दै जाँदा पहिले पनि पढेको हो भन्ने थाहा पाउँदै गएजस्तो हुँदैथियो । लाग्यो पक्का खसखसमै पढेको हुनुपर्छ । शिर्षक कथाका दुबै भागहरु पढिसकेपछि भने यो संग्रह पढ्नलाई बिसाउने पर्ने सोचेको थिएँ मैले । किनभने म अर्कै पढ्दै गरेको किताबको पनि मध्यभागतिर पुगेको थिएँ । पढ्दै गरेको किताब सकेर मात्र पुन 'क्यासल रककी अप्सरा' समाउने विचार थियो मनमा । तर भूमिकाहरु र लेखकका कुरा चैं पढिहालौं न त भने भयो र मञ्जुल र वासु श्रेष्ठको भूमिका खरर सिध्याइहालें ।  वासु श्रेष्ठको भूमिकामा '..यस संग्रहमा समाविष्ट 'क्यासल रककी अप्सरा' बाहेक अन्य कथाहरु खसखस डटकममा प्रकाशन भैसकेका छन्..' भन्ने पढेपछि फेरि मैले 'क्यासल रककी अप्सरा'को पहिलो भाग कहाँ पढें त? भन्ने खुल्दुली उठ्न थाल्यो । कोलोराडोको पृष्ठभूमी बनाएर लेखिएको 'क्यासल रककी अप्सरा' पढ्दा परिचित स्थानहरुको वर्णन आएर कथाले ममा आत्मियताको अनुभुति उमारीरहेको थियो । कथामा वर्णित स्थान र दृश्यहरु मैले कथामै वर्णन गरिएझैं देखेको हुँ कि जस्तो समेत लाग्दैथियो । अमेरिका आएर म आफैं पनि पहिलोचोटी कोलोराडोमै बसेको थिएँ र झण्डै तीनवर्षको कोलोराडो बसाईमा कथामा वर्णित स्थानहरु बारे लगभग ज्ञात थिएँ । अझ मीठो संयोग त कोलोराडोमा मेरो पहिलो बसाई भएको अपार्टमेण्टको नाम समेत 'क्यासल अपार्टमेण्ट' थियो । कथाप्रति एकदम नै आत्मियपना उमार्नु त पक्कै यि नै कारणहरु थिए । कतै यि नै कारणहरुको कारणले गर्दा मलाई यो कथा पहिले कतै पढेको जस्तो लागेको त हैन भन्ने जस्तो पनि लाग्दैथियो । तर केहिपछि वासु श्रेष्ठ दाइसँग फोनमा कुराकानी हुँदा थाहा भयो 'क्यासल रककी अप्सरा'को पहिलो भाग पनि खसखसमा प्रकाशित भैसकेको रहेछ ।

मैले पढ्दै गरेको(आधा पुर्याएको) किताब डा गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' थियो । अघिल्लो पटक 'सुकरातको डायरी' मगाउँदा भूलवश आएको 'सुकरातको पाईला' पनि मैले पढेको थिएन र पढ्दैथिएँ । डा भट्टराईको रोचक शैलीमा, तत्कालिन अवस्थाको देशको सजीव चित्रण भएको उपन्यास भएपनि एकोहोरो निराशापूर्ण कथानकले म दिक्दारिएको थिएँ । त्यसैले सोचें निराशाजनक कथानकले दिक्दारिएको बेला उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा "एब्सोलुट्ली अ गूड ब्रेक विद रिडिङ" हुनेछ । त्यसैले 'सुकरातका पाइला'लाई ब्रेक नै दिने निधो गरें ।

उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा भन्दैमा मैले 'क्यासल रककी अप्सरा'भित्र केवल खुशीयाली मात्र लेखिएको छ । केवल उल्लास मात्र बयान छ । कथाकारले संग्रहमा दुख पीडाका नाम निशानै कोरेका छैनन् भन्न खोजेको होइन फेरि । उनले दुख, पीडा, निराशाहरु पनि लेखेका छन् त्यसो त । 'कार्लोस मेरो दर्पणछाया'मा पाठकलाई रुवाउने वा गहीरो चिन्तामा डुबाउने गरि एउटा जीवनको हार लेखेका छन् । 'टर्मिनल थ्री'मा देशको पीडासँगै विश्व व्याथा उतारेका छन् । 'बाह्र लाखको कविता'मा अमेरिकन सपना फुटेर निस्किएको ह्रदय छेड्ने आवाज कोरेका छन् । शिर्षक कथामै पनि 'याङ्की' र कहिल्यै घाम नहेर्ने कसम खाएकि 'वृद्धा आनी' जस्ता पात्रहरुलाई ल्याएर सामान्य जीवनले सहन गर्न नसक्ने प्रकारका दुखका सगर छोएका छन् । तर यि सबै पीडा, ब्याथा, निराशा, हारहरुका बावजुध पनि कथाकारले सबै कथाहरुलाई ठ्याक्क जीवन जस्तो बनाएका छन् । हो, जोशीका कथाहरु ठ्याक्कै जीवन जस्तै लागे मलाई । जसरी जीवनमा अनेक कष्ट र पीडाहरु झेल्दाझेल्दै पनि हामी हर्दम हाँस्ने प्रयत्न गर्दछौं त्यसैगरी कथाकारले यस संग्रहका हरेक पात्रहरुलाई पहाड जत्रो दुखपनि आफ्नो पैंतीस, छत्तिस ईन्चको छातीभित्र लुकाएर हाँस्न र अरुलाई हँसाउँन सक्ने बनाएका छन् । म आफैं पनि कथा लेखिटोपल्ने भएकोले र आफ्ना प्रायस कथाहरुमा थुप्रै निराशाहरु लेखिसकेको हुनाले मलाई सुन्दर जोशीका कथामा भेटिएका जीवन प्रति आशावादि, हँसमुख र ईनर्जेटिक(उर्जाशील) पात्रहरु भेट्दा ईर्ष्या भएर आयो कि किन मेरा कथामा यस्ता रमाईला पात्रहरु आएनन्?

संग्रहभित्रका सबैजसो कथाहरु खसखस डटकमको वेबपेजमा पढिसकेको भएपनि कथाकार जोशीको मनमोहक शैलीले गर्दा संग्रहका हरेक कथाहरु पढ्दा मलाई पहिलोपल्ट पढिरहेछु जत्तिकै ताजापना, रोमान्चकारी र पठनीय लागे । पुस्तकाकारमा कृति पढ्नु र त्यहिकुरा वेबपेज खोलेर कम्प्युटरको स्क्रिनमा पढ्नुमा कत्रो(आकाश पातालको) अन्तर हुनेरहेछ भन्ने पनि महसुस गरें मैले ।

अन्त्यमा, कथाकार सुन्दर जोशीको कथा संग्रह 'क्यासल रककी अप्सरा' नेपाली कथा साहित्यलाई एउटा महत्वपूर्ण उपलब्धी हो । र यो संग्रह कथा साहित्यका अनुरागीहरुलाई निसंदेह पठनीय र संग्रहणीय कृति पनि हो । म एक पाठकको हैसियतले यस कृति र कृतिकारलाई यस कृतिको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु । र एक भाइको हैसियतले पनि कथाकार दाइ सुन्दर जोशीलाई लेखन यात्रामा निरन्तरता र सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।

Keep Rocking Sundar Dai,
Aloha from Hawaii