Wednesday, December 12, 2012

लघुकथा : कर

धूलो खेलिरहेको छ सातवर्षे बालकले माटोका डल्लाहरु तीनठाउँमा चाङ्ग लगाएको रहेछ । संयोगले ऊ त्यसदिन मैले काम गर्ने ठाउँमा खेल्दैरहेछ । जब म आफ्नो काममा पुगें । उसले अन्दाज लगाईहाल्यो कि अब उसले खेलमा निर्माण गरेको संसार म त्यसरी नै भत्काईदिन्छु जसरी ऊ वा उसका उमेरका बच्चाहरु कमिलाले दुलो छेउमा  थुपारेको माटोको ढिस्को बिनाकारण भत्काउने गर्छन् ।

जसै म उसको छेउमा पुगें उसले आफ्नो सानो खेलक्षेत्रलाई साना हातहरु फैलाएर छोप्न खोज्दै भन्यो, 'केहि नगर्नु है याँ; अर्काले कस्तो दुख गरेर बना'को छ ।'

म उसलाई लखेटेर आफ्नो काम गर्न चाहन्थें त्यसैले थोरै झर्किएर भनें, 'के बनाइस्, माटाका डल्ला थुपारेर मैले काम गर्ने ठाउँमा?'

तब उसले एक एकवटा डल्लाहरुको चाङ्गलाई पालैपालो हातले देखाउँदै भन्यो, 'यो काठमाण्डुको धररा, यो ईन्ड्याको ताजमहल अनि यो चैं पेरिसको आफल टावर ।'

आफ्नो खेल तन्मयता र आफुसँग भएको ज्ञानका साथ जुन विश्वासले उसले मलाई त्यो कुरो भन्दै थियो - त्यो देखेर मलाई उसको कुरा पत्याउन कर लाग्यो |

Monday, October 22, 2012

दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।
 
    - सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।


मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।


अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

Friday, October 12, 2012

लघुकथा : एकदिन

'आज के भो र किताब नलि' आइस्?' एकदिन उसको कानको जरी उखेल्दै हेडमास्टरले सोधे ।

'हेडसर, हाम्रो भर्‍याङको तीन्टा खुट्किलो भत्केको छ । म किताब लिन माथि जानै सकिंन ।' उसले आत्मविश्वासका साथ कहानी रचेर सुनायो ।

'घरका अरुलाई किताब झिक्देओ भन्नु पर्दैन त?' हेडमास्टरले कानमुन्तिर ठ्याम्का लगाए ।

'आमा पानी लिन ग'कि थि'न्, घरमा अरु क्वैपनि थे'नन् ।' रातो भएको अनुहारले उसले अर्को छोटो कहानी सुनायो ।

हेडमास्टर र उसको बिच भएको यो चलचित्रमय दृश्यले कक्षाकोठामा मनोरन्जनको वातावरण बनाईरहेथ्यो । अरु विद्यार्थीहरु हेडमास्टरको केरकार लम्बिए आफु सजायबाट बच्ने कुरामा मख्ख हुँदै मनोरन्जन लिँदैथिए । हेडमास्टरलाई पनि पढाउनु समेत नपर्ने गरेर मनोरन्जन प्राप्त भैरहेको हुँदो हो । सम्झिएझैं सोधे, 'अनि अस्ति किताब नल्याउँदा तैंले लिस्नो लडो' भनेको हैन? अस्तिको लिस्नो आज कसरी भर्‍याङ भयो?'

उसले पिर्लिक्क आँखा पल्टाएर हेडमास्टरको आँखामा जुधायो । चोर त यसै छँदैथिएँ पक्रा पर्ने भएँ भन्ने लागेको हुँदो हो उसलाई । हेडमास्टरले फेरि जोडले कन्सिरी उखेले ।

'अनि त्यो लिस्नो लडेपछि हाम्रो बाउले भर्‍याङ बनाए नि त ।' किन्चित डर नमानी उसले फेरि कहानी थप्यो ।

'तँलाई लठुवा! ढाँट्छस्? भर्‍याङको खुट्किला भत्केर किताब ल्याउन नसक्नेले त्यो झोला कसरी झिकेर ल्याइस्?' माझ टाउकोमा एक पड्याङ्ग भेट्यो उसले ।

'झोला त मैले हिँजै धो'को थें अनि सुका'को ठाउँमै विर्षेछु राती उठाउन ।' जवाफमा अर्को कथा अघि नै तयार गरेछ उसले फट्ट सुनायो ।

हरेकदिन जसो उ र सरहरु माझ मञ्चन हुने नाटक यस्तै हुन्थ्यो । किताब ल्याउन विर्षिन्थ्यो या जानी जानी ल्याउँदैनथ्यो तर झोला सँधै बोक्थ्यो उ । झोलामा पुराना टर्चलाइट, ब्याट्री, सलाईका डिब्बा ईत्यादि सामानहरु हुन्थे मानौं उ कुनै खुद्रा पसलको सेल्सम्यान हो र सामान बेच्न हिंडेको छ ।

सरहरुको हातको पिटाई नखाएको दिन सायद उसको जिन्दगीको सबसे लोदर दिन हुन्थ्यो । तर पढाईमा उसको तेज कक्षामा मन आँक्न मिल्ने थिएन । उ प्रथम, दोस्रो, तेसो कहिल्यै भएन तर फेल पनि कहिल्यै भएन । त्यहि स्कूलबाट एसएलसी दिउन्जेलसम्म उसको आदत साबिक नै थियो । गृहकार्य नगर्ने, किताब बोकेर नआउने, सामान्य उपध्रो गरिरहने ।

एसएलसीमा मुश्किलले एकाध विद्यार्थी प्रथम श्रेणीमा उतिर्ण गराउने त्यस स्कूलमा दोश्रो श्रेणीमा एसएलसी पास गरेर उ कता गयो कसैले थाहा पाएन ।

वर्षौंपछि एकदिन -

जिल्लाको एउटा साहित्यिक संस्थाले जिल्लाभरीका साहित्यकारहरुलाई बोलाएर अभिनन्दन गर्ने कार्यक्रम बनायो र त्यहि स्कूलको मञ्चलाई कार्यक्रम स्थल छानियो । उनै हेड मास्टरले जिल्लाभरीका कवि, लेखकहरुलाई सम्मानपत्र दिने र खादा पहिर्याउने जिम्मेवारी पाएका थिए ।

कार्यक्रममा सबभन्दा पहिले यसैवर्ष साहित्यमा देशकै सबभन्दा सम्मानित पुरस्कार पाएर चर्चाको शिखरमा रहेका युवा कथाकारलाई बोलाईयो । उनको बारेमा आयोजकका तर्फबाट कसैले मनग्गे चर्चा गरेपछि हेडमास्टरको बाहुलीबाट सम्मान पत्र र खादा अर्पण गरेर उनलाई केहि बोल्न लगाईयो ।

युवा कथाकारले आफ्नो गला अवरुद्ध पार्दै भने, 'म आज मलाई सानैदेखि कथा रच्न बाध्य बनाई प्रेरणा दिनुहुने गुरुवरको हातबाट यो सम्मानपत्र थाप्न पाउँदा भाग्यमानी बनेको छु ।............' कथाकार आफ्नो स्कूलको वाल्यकालका घट्नाहरु बताउँदै गए; हेडमास्टरको आँखा कहिल्यै किताब नल्याउने त्यो लठुवा विद्यार्थी पसेर भरिंदै आयो ।

Wednesday, October 10, 2012

कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी
र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि
सालन्ने भेला गरेको छु
अलिकति करेसाको रुखबाट
अलिकति छिमेकीको आँगनबाट
अनि अलिकति आफ्नै मकैबारीबाट
आँधीहूरीमा छिरोलिएर भिजेको
मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ
मसमसी निदाएर मीठो सपना देख्न चाहँदा
धूरी चुहिएर कानमा पानी पसेको?
कतिञ्जेल थाप्न सकिन्छ
यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै
रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा
ओल्टाईपल्टाई सुकाएझैं गरेपछि
आफैं चढेर छाएको छु मैले
आँधीको थप्पडले रुँदै गरेको छानो
बाँधेको छु धूरी अलि कसेर
थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -
खर पराल धूरीमा चढाउँनै छाडिए
चोयाबाताहरु काढ्नु परेन
दाँती काट्नु परेन
भाटा खिप्नु परेन ।

कालान्तरमा -
घर छँदैछ तर
छानो छाउँने चिन्ता मेटियो
धूरी हराएर गयो
पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी
सालन्ने तर
क्षति फरक पर्दै गयो
उड्दै जानथाले मनका धूरीहरु
बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको
सिङ्गै देशमा म
सालन्ने आँधीले उधारेको धूरी मार्दै
सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै
पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा
कसैगरे पत्तो पाउँदिंन
कता फर्केको छ मेरो मनको धूरी?
कहाँनेर छ मेरो मनको पुतलीपाखा?

Wednesday, September 19, 2012

गजल : अस्ताउँछन् घामझैं उदाउनेहरु

होसियार आकाशमा छाउनेहरु ।
अस्ताउँछन् घामझैं उदाउनेहरु ।

भरिएपछि अवश्य पोखिन्छ भन्ने,
विर्षन्छन् सँधै प्रेम खन्याउनेहरु ।

मेरै सम्मानले झन् झन् बढेर गए,
यो देशमा ऐंजेरु पलाउनेहरु ।

उ आए ति ल हेर हौदामा बसेर,
हात्तीछाप चप्पल लगाउनेहरु ।

पानीझरीमा कहाँ गै ओतिँदा होलान्,
आफ्नै घरको छानो भत्काउनेहरु ।

नामी नामी कथाकार बनिसकेछन्,
मलाई मेरै कथा सुनाउनेहरु ।

अचानोलाई साथी हो भन्थ्यो खुकुरी,
रुँदैथिए सँधै चोट पाउनेहरु ।

भन्दैथिए हामी त हराउँनै सकेनौं,
धेरैपछि फर्केर आउनेहरु।

धेरैजसोले आजै हार मानिसके,
हिँजो मलाई रीस उठाउनेहरु ।

हाम्रोमा त अपवाद भै'गयो अन्त,
थपिथपि खाँदैनन् अघाउनेहरु ।

Wednesday, July 18, 2012

पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म




सुन्दर जोशीका निक्कै कथाहरु मैले खसखसमा पढिसकेको छु । खसखसमै उनको जादुमय कथाकारिताको टुनामा बाँधिइसकेको पनि छु । फेरिपनि कथाकार सुन्दर जोशीको कथाकृति चाँडै निस्कँदैछ भन्ने जानकारी फेसबुकले दिएको दिन फेसबुकको खुट्टा भए म टुसुक्कै ढोगीदिन्थें भनेजत्तिकै हर्ष भएको थियो । यो जानकारी मैले कथाकृतिको नाम के रहन्छ र कृतिको आवरण कस्तो हुन्छ भन्ने समेत एकसाथ पाएको थिएँ ।

'क्यासल रककी अप्सरा' नाम जुरेको कथाकृतिको आवरण चित्र फेरि मेरा मनपरेका चित्रकार तथा 'अब्स्ट्रयाक्ट बैंकक'(हालै प्रकाशित उपन्यास)का लेखक खगेन्द्र पन्धाक लिम्बूले बनाएका रहेछन् । आवरणकलाको हिसाबले संग्रह स्वस्थ्य देखिएकै छ तरपनि मलाई आवरण चित्रमा भएको रकसँगै अस्पस्ट क्यासलको केहि हिस्सा पनि जोडिएको जस्तो भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । त्यसो त आवरणमा भएको रक रकनै हो कि बोल्डर(Boulder)हो? भन्ने पनि लागेको छ ।

कथाकृति बजारमा आइसक्नु अगाडिनै मैले 'क्यासल रककी अप्सरा'लाई नेपालबाट मगाउने किताबहरुको लिष्टमा चढाइसकेको थिएँ । तर मेरो सौभाग्य एकदिन फेसबुकले कथाकार सुन्दर जोशीको म्यासेज ल्यायो । म्यासेजमा 'क्यासल रककी अप्सरा' मेरो निम्ती आउनु पर्दा कहाँ आउनुपर्ने हो? ठेगाना सोधिएको थियो । (यहाँ फेरि पनि एकपटक सुन्दर दाइलाई हार्दिक धन्यवाद!) यसरी कृतिकारहरुबाटै कृतिहरु सौगात प्राप्त गर्ने थोरैजसो मात्र अवसर पाएको मलाई यो ठुलो खुशीको क्षण थियो । सहर्ष, सधन्यवाद मैले तुरुन्तै आफ्नो ठेगाना लेखिपठाएँ र यता नेपालबाट मगाउने किताबहरुको लिष्टबाट 'क्यासल रककी अप्सरा' झिकें । शट्टामा अर्को एउटा किताब थप्न पाउने खुशी पनि थपियो ।

मेरो दैलोसम्म अप्सरा खुशी लिएर आउन हुलाक सेवालाई धेरैदिन लागेन । सम्भवत तेस्रो वा चौथो दिनमै 'क्यासल रककी अप्सरा' हात परिन् । संग्रहभित्र के के कथाहरु होलान् त? यहि थियो मेरो उत्पात कौतुहल ।  तसर्थ हत्तपत्त कथाक्रम हेरें । संख्यामा ११ वटा तर शिर्षकमा ७ वटा कथाहरु रहेछन् । शिर्षक कथा पढिहाल्ने ईच्छाले तुरुन्तै पेज १५९ मा गएँ र पढ्न थालें ।

दुई भागमा रहेको शिर्षक कथाको पहिलो भाग पढ्दै जाँदा पहिले पनि पढेको हो भन्ने थाहा पाउँदै गएजस्तो हुँदैथियो । लाग्यो पक्का खसखसमै पढेको हुनुपर्छ । शिर्षक कथाका दुबै भागहरु पढिसकेपछि भने यो संग्रह पढ्नलाई बिसाउने पर्ने सोचेको थिएँ मैले । किनभने म अर्कै पढ्दै गरेको किताबको पनि मध्यभागतिर पुगेको थिएँ । पढ्दै गरेको किताब सकेर मात्र पुन 'क्यासल रककी अप्सरा' समाउने विचार थियो मनमा । तर भूमिकाहरु र लेखकका कुरा चैं पढिहालौं न त भने भयो र मञ्जुल र वासु श्रेष्ठको भूमिका खरर सिध्याइहालें ।  वासु श्रेष्ठको भूमिकामा '..यस संग्रहमा समाविष्ट 'क्यासल रककी अप्सरा' बाहेक अन्य कथाहरु खसखस डटकममा प्रकाशन भैसकेका छन्..' भन्ने पढेपछि फेरि मैले 'क्यासल रककी अप्सरा'को पहिलो भाग कहाँ पढें त? भन्ने खुल्दुली उठ्न थाल्यो । कोलोराडोको पृष्ठभूमी बनाएर लेखिएको 'क्यासल रककी अप्सरा' पढ्दा परिचित स्थानहरुको वर्णन आएर कथाले ममा आत्मियताको अनुभुति उमारीरहेको थियो । कथामा वर्णित स्थान र दृश्यहरु मैले कथामै वर्णन गरिएझैं देखेको हुँ कि जस्तो समेत लाग्दैथियो । अमेरिका आएर म आफैं पनि पहिलोचोटी कोलोराडोमै बसेको थिएँ र झण्डै तीनवर्षको कोलोराडो बसाईमा कथामा वर्णित स्थानहरु बारे लगभग ज्ञात थिएँ । अझ मीठो संयोग त कोलोराडोमा मेरो पहिलो बसाई भएको अपार्टमेण्टको नाम समेत 'क्यासल अपार्टमेण्ट' थियो । कथाप्रति एकदम नै आत्मियपना उमार्नु त पक्कै यि नै कारणहरु थिए । कतै यि नै कारणहरुको कारणले गर्दा मलाई यो कथा पहिले कतै पढेको जस्तो लागेको त हैन भन्ने जस्तो पनि लाग्दैथियो । तर केहिपछि वासु श्रेष्ठ दाइसँग फोनमा कुराकानी हुँदा थाहा भयो 'क्यासल रककी अप्सरा'को पहिलो भाग पनि खसखसमा प्रकाशित भैसकेको रहेछ ।

मैले पढ्दै गरेको(आधा पुर्याएको) किताब डा गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' थियो । अघिल्लो पटक 'सुकरातको डायरी' मगाउँदा भूलवश आएको 'सुकरातको पाईला' पनि मैले पढेको थिएन र पढ्दैथिएँ । डा भट्टराईको रोचक शैलीमा, तत्कालिन अवस्थाको देशको सजीव चित्रण भएको उपन्यास भएपनि एकोहोरो निराशापूर्ण कथानकले म दिक्दारिएको थिएँ । त्यसैले सोचें निराशाजनक कथानकले दिक्दारिएको बेला उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा "एब्सोलुट्ली अ गूड ब्रेक विद रिडिङ" हुनेछ । त्यसैले 'सुकरातका पाइला'लाई ब्रेक नै दिने निधो गरें ।

उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा भन्दैमा मैले 'क्यासल रककी अप्सरा'भित्र केवल खुशीयाली मात्र लेखिएको छ । केवल उल्लास मात्र बयान छ । कथाकारले संग्रहमा दुख पीडाका नाम निशानै कोरेका छैनन् भन्न खोजेको होइन फेरि । उनले दुख, पीडा, निराशाहरु पनि लेखेका छन् त्यसो त । 'कार्लोस मेरो दर्पणछाया'मा पाठकलाई रुवाउने वा गहीरो चिन्तामा डुबाउने गरि एउटा जीवनको हार लेखेका छन् । 'टर्मिनल थ्री'मा देशको पीडासँगै विश्व व्याथा उतारेका छन् । 'बाह्र लाखको कविता'मा अमेरिकन सपना फुटेर निस्किएको ह्रदय छेड्ने आवाज कोरेका छन् । शिर्षक कथामै पनि 'याङ्की' र कहिल्यै घाम नहेर्ने कसम खाएकि 'वृद्धा आनी' जस्ता पात्रहरुलाई ल्याएर सामान्य जीवनले सहन गर्न नसक्ने प्रकारका दुखका सगर छोएका छन् । तर यि सबै पीडा, ब्याथा, निराशा, हारहरुका बावजुध पनि कथाकारले सबै कथाहरुलाई ठ्याक्क जीवन जस्तो बनाएका छन् । हो, जोशीका कथाहरु ठ्याक्कै जीवन जस्तै लागे मलाई । जसरी जीवनमा अनेक कष्ट र पीडाहरु झेल्दाझेल्दै पनि हामी हर्दम हाँस्ने प्रयत्न गर्दछौं त्यसैगरी कथाकारले यस संग्रहका हरेक पात्रहरुलाई पहाड जत्रो दुखपनि आफ्नो पैंतीस, छत्तिस ईन्चको छातीभित्र लुकाएर हाँस्न र अरुलाई हँसाउँन सक्ने बनाएका छन् । म आफैं पनि कथा लेखिटोपल्ने भएकोले र आफ्ना प्रायस कथाहरुमा थुप्रै निराशाहरु लेखिसकेको हुनाले मलाई सुन्दर जोशीका कथामा भेटिएका जीवन प्रति आशावादि, हँसमुख र ईनर्जेटिक(उर्जाशील) पात्रहरु भेट्दा ईर्ष्या भएर आयो कि किन मेरा कथामा यस्ता रमाईला पात्रहरु आएनन्?

संग्रहभित्रका सबैजसो कथाहरु खसखस डटकमको वेबपेजमा पढिसकेको भएपनि कथाकार जोशीको मनमोहक शैलीले गर्दा संग्रहका हरेक कथाहरु पढ्दा मलाई पहिलोपल्ट पढिरहेछु जत्तिकै ताजापना, रोमान्चकारी र पठनीय लागे । पुस्तकाकारमा कृति पढ्नु र त्यहिकुरा वेबपेज खोलेर कम्प्युटरको स्क्रिनमा पढ्नुमा कत्रो(आकाश पातालको) अन्तर हुनेरहेछ भन्ने पनि महसुस गरें मैले ।

अन्त्यमा, कथाकार सुन्दर जोशीको कथा संग्रह 'क्यासल रककी अप्सरा' नेपाली कथा साहित्यलाई एउटा महत्वपूर्ण उपलब्धी हो । र यो संग्रह कथा साहित्यका अनुरागीहरुलाई निसंदेह पठनीय र संग्रहणीय कृति पनि हो । म एक पाठकको हैसियतले यस कृति र कृतिकारलाई यस कृतिको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु । र एक भाइको हैसियतले पनि कथाकार दाइ सुन्दर जोशीलाई लेखन यात्रामा निरन्तरता र सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।

Keep Rocking Sundar Dai,
Aloha from Hawaii

Tuesday, July 03, 2012

लघुकथा : ढङ्ग


घरमा दुईजना पाहुना आएका थिए । एउटा आफ्नै सालोकेटो अर्को उसको साथी । सानो आयस्ताले काठ्माण्डौको उकुशमुकुश परिवेशमा धरहरा भन्दा अग्लिएको महँगी झेलेर बसेको बेला पाहुनापासालाई सत्कार हैन कोठामै नहुलि दुत्कार गर्न पाए हाइसञ्चो हुँदो हो म जस्ता धेरैलाई ।

एकाविहानै श्रीमतीले भनिन्, 'भाइहरु अहिले नै जाने भन्दैछन् । लौ न अलिकति कुखुराको मासु किनेर ल्याउनुस् । खाना खुवाएर पठाउँछु ।'

'कुखुराको मासु नभए चैं खाना बन्दैन?' सालोकेटो र उसको साथी बाहिरपट्टि हातमुख धुन लागेका थिए । उनिहरुले सुन्दैनन् भन्नेमा ढुक्क हुनाले म झडङ्गिएँ, 'चिया खुवाएर पठाए भै'गो नि ।'

'गाउँमै आवारागर्दी गरेर हिंड्ने सालोकेटो निक्कै भएथ्यो नझुल्किएको । पहिले पहिले आउँदा अनेक बहाना बनाएर दिदीसँग पैसा धुतेर जान्थ्यो । मलाई सालोकेटो देख्दै एलर्जी हुन्छ । कहाँबाट उस्तै साथी पनि लिएर आएछ? हेर्दै गुण्डाकेटाहरु जस्ता । साथी चैं पनि उहि ड्याङको होला नि?' घृणाभावले म गम्दैथिएँ ।

'तपाईं त कस्तो मान्छे हो? मेरो भाइहरु हुन् ।' अँध्यारो रुन्चे मुख लाइन् श्रीमतीले ।

म बाहिर निस्किएँ । सालोकेटो र उसको साथी त्यहि घरमा डेरागरि बस्ने युवतीसँग गफगर्दै हाँस्दैथिए । 'बदमाशहरु! केटि त देख्नै नहुने ए!' आँखातर्दै म हिँडे । आधा केजी कुखुराको मासु पोलिथिन ब्यागमा हलाउँदै म कोठामा आइपुग्दा सालोकेटो र उसको साथीसँग त्यहि आँगनकि युवती पनि चिया पिउँदैथिइन् ।

'हैन यो केटिको पनि के चाला हो? हामीसँग त कहिल्यै बोल्दिन पनि थिइ?' मनमा कुरा खेलाउँदै म पनि बसें चिया पिउँन । उनिहरुको चल्दाचल्दैको गफको माझमा श्रीमतीले त्यो युवतीको परिचय दिइन्, 'यि बैनि त हाम्रै गाउँले पो रैछन् । हामीले कहिल्यै बोलेनौं । भाइहरुसँगै पढेकि रे ।'

'ए हो र?' मैले यत्ति नै भनें ।

कुरा चलिरहँदा मैले आफु बसेको पलङ्गको सिह्रानमुनिबाट हजार हजारका नोटहरु चिहाईरहेको देखें । सम्झें, 'हिँजैसाँझ श्रीमतीलाई तलब बुझाएको थिएँ । उनले त्यहि पैसा त्यसरी जथाभावी राखिछन् ।'

पैसा तानेर गनें । सातसजार रहेछ । मलाई पुगिगयो । श्रीमतीको धतुरो झार्नपट्टि लागें, 'यो पैसा किन यसरी जथाभावी राखेको? घरमा को आउँछ को आउँदैन? हरायो भने के गर्छौ? अहिले आफ्नै मान्छेको पनि भर गर्ने जमाना छैन । पैसा जस्तो कुरो पनि यसरी कागजको चिर्कटो राखेजस्तो राख्ने हो? तिम्रो ढङ्ग कैले आउँछ?'

श्रीमती चुप रहिन् । उनको अनुहारमा अनौठो भाव देखा पर्दैथियो । मलाई त्यो उनले पैसा जथाभावी छोडेकोमा पश्चताप हो जस्तो लाग्यो । म अझै कराउनेवाला थिएँ । वातावरण असहज भैसकेको थियो । तिनै युवती उठिन् र 'दिदी अहिले म जान्छु है, कलेज जानुपर्छ' भन्दै बाहिर निस्किन् । भाइहरु पनि 'लौ दिदीभेना, खाना खान पछि फेरि आउँला अहिले लाग्छौं' भन्दै निस्किए ।

एकछिन कोठाको वातावरण ठुलो घण्ट बजेर रननन थर्किरहेझैं भयो र क्रमश शान्त हुँदै चकमन्नमा पुग्यो ।

'किन आ'रछन् त तिम्रा भाईहरु?' मैले सोधें ।

फुल्लिएकि श्रीमतीले एकछिन टकटकी लाएर मेरो अनुहार हेरिन् र भनिन्, 'हाम्रो भाइलाई पनि उसको साथीले इज्राएल लाने रे सँगै । केयर गिभरको काम गर्छ रे उ । राम्रो कमाई हुन्छ रे ।  आफु गफ गर्नुओर्नु होइन । खाली अरुलाई नराम्रो भन्न बाहेक आउँछ र तपाईंलाई?' उनि विचमा एकछिन केहि बेर रोकिइन् र पुन: ठुलो सास फेर्दै भनिन्, 'केहि कुरा तपाईंले सोचेजस्तो भएन भनेपनि एकछिन चुपलागेर पछि भन्न सक्नुहुन्न थियो? यो पैसा मलाई भाइको साथीले 'दिदीलाई भेट्न आउँदा खालीहात आएँ, यो पैसाले केहि किन्नुहोला' भनेर दिएको । तपाईंले चैं उनिहरुलाई नै चोर जस्तो ठान्नुभयो । ढङ्ग त मेरो हैन तपाईंको पो कहिले नआउने भयो बुझ्नुभो?'

Friday, June 15, 2012

पुस्तक गफ : अब्स्ट्रयाक्ट बैंककको कुरा


अब्स्ट्रयाक्ट ।

अब्स्ट्रयाक्ट बैंकक ।

मैले भर्खरै अर्थात पछिल्लो पटक पढेको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' ।

कृतिहरु पढेर भूस, कनिका, बिँया निफन्दै आमाले सन्ततीको निमित्त भात पकाएर खान योग्य चामल तयार गरेझैं पुस्तक पढ्न ईच्छुक म जस्तै पाठकहरुलाई योग्य निचोड निकाल्न म नसकुँला । सही समालोचकहरुले तर कुनैपनि कृतिमाथि त्यस्तै चामल निचोड निकालिदिउन भन्ने मेरै पनि अपेक्षा हुन्छ उसो त ।

यहाँ म जे भएता पनि 'अब्स्ट्रयाक्ट बैंककको' कुरा गर्न गैरहेछु । र विल्कुल 'अब्स्ट्रयाक्ट बैंकक'को मात्र कुरा नगरेर खगेन्द्र पन्धाक लिम्बूको पनि कुरा गर्न सक्छु । यस सम्बन्धमा मेरो भन्नु तर के रहनेछ भने यो कुनै आलोचना वा समालोचना होइन । न कृतिको न कृतिकारको ।

यदि तपाईं पनि खगेन्द्र पन्धाक लिम्बूको फेसबुक साथी हुनुहुन्छ भने उनको फेसबुक स्टाटसमा तपाईंले बग्रेल्ती अब्स्ट्रयाक्ट कुराहरु पढेको हुनुपर्छ । स्टाटस मात्र हैन उनको वालमा कविताहरु र कलाकृति(पेन्टिङ्ग)हरु पनि अब्स्ट्रयाक्ट भेटिन्छन् । म उनका कविताहरु पनि पढ्न खुब रुचाउँछु तर कतिपय कविताहरु कतिपय ठाउँहरुमा बुझ्न मुश्किल भएर साँच्चै अब्स्ट्रयाक्ट लाग्छन मलाई । उनका पेन्टिङ्गहरुको त प्रसंशक नै हुँ म । पेन्टिङ्गको हकमा चैं अब्स्ट्रयाक्ट भए अझ रमाउँछु क्यार म ।

छोटा कथाका रुपमा मैले पढेका उनका आख्यानहरुले मलाई अत्यन्तै प्रभावित पारेका छन् । 'ज्योतिकथन' मैले पढेको उनको कथाहरु मध्येमा उत्कृष्ट कथा हो । 'ज्योतिकथन' जतिको उत्कृष्ट र मलाई प्रभाव पारेको कथा त मैले फेसबुकमा पाइने साहित्यमा मात्र हैन पुस्तकहरुमै पनि पढेको छैन भन्न सक्छु म । यहाँ 'ज्योतिकथन'को प्रसंग यसकारणले उठाएको हुँ कि मैले उनको फेसबुक नोटमा 'ज्योतिकथन' नपढेको भए नेपालबाट किताबहरु मगाउँदा मेरो लिष्टमा 'अब्स्ट्रयाक्ट बैंकक' नपर्न पनि सक्थ्यो । अर्थात 'ज्योतिकथनले' नै मलाई खगेन्द्र पन्धाक लिम्बूको दर्शनमा आधारित भनिएको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मगाएर पढ्न प्रेरित गरेको हो ।

अमूर्तबोधी दर्शनका कुराहरु लिएर फेसबुकको वालमा उनले लेख्ने कुराहरु म रुचिका साथ हेर्नेगर्छु । उनका सबैकुराहरु मलाई चित्त बुझ्ने हुन्छन् भन्ने छैन । सहमती र विमतीका कुराहरु आफ्नै ठाउँमा छँदैछन् तर यौटा छुट्टै किसिमको रोचकता भने पक्का हुन्छ उनका कुराहरुमा । मलाई लोभ्याउने अर्को कुरा उनको कलाकृति(पेन्टिङ्ग्स्) हो । कुनै पुस्तकको आवरण ईत्यादिलाई बनाईएको विषयगत पेन्टिङ्ग होस् या स्वतन्त्र रंग पोतिएका पेन्टिङ्ग्स् म सँधै मनपराउँछु उनका पेन्टिङ्ग्स् । अक्सर उनका पेन्टिङ्गमा यौन प्रतिविम्वित भएको पनि पाइन्छ । उनको कला(पेन्टिङ्ग)कर्मको मात्र कुरा उठाउँदा यो यौटा छुट्टै विषय हुनसक्छ उनका कलाकर्मको को अध्ययनको । म त्यता नगएर 'अब्स्ट्रयाक्ट बैंकक'तिर जाउँ । 'अब्स्ट्रयाक्ट बैंकक'मा पनि उनले यौन कर्मीकै संघर्षपूर्ण जीवन कथा रोजेका छन् ।

'अब्स्ट्रयाक्ट बैंकक'को कभरमा भित्रपट्टि उपन्यासका विशेषतागत कुराहरुको जानकारी स्वरुप विभिन्न कुराहरुसँगै 'पाठक स्वयं पनि पात्र एवं प्रयोगात्मक उपन्यास' लेखिएको छ । म अब्स्ट्रयाक्ट बैंककमाथि आफ्नो कुरा त्यहिंबाट गर्न चाहन्छु । त्यसको लागी उपन्यासको अन्तिम पृष्ठ २२८ हेरौं -

अँ, म एउटा पाठक, ठीक एतिबेलासम्म जीवनीमा आधारित नेपाली लेखकको प्रयोगात्मक उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मा अमूर्तबोधी दर्शनसँगै बेनामे पात्रहरुको साक्षात्कारमा मजाले हेलिएको थिएँ । मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागीरह्यो ।

मनैमा कामना गर्यो -

'उनको सपना पूर्ण होस् । उनको जस्तो महान आत्मज्ञान सबैले प्राप्त गर्न सकियोस् ।'

पाठक स्वयं पनि पात्र भनिए अनुशार मैले पुस्तक पढिरहँदा यहि अन्तिम पृष्ठ २२८ मा मात्र आफुलाई अलिकति पात्रको रुपमा लिनसक्ने ठाउँ भेटाएको थिएँ । तर त्यो पनि ठाउँको ठाउँ चित खायो जब 'मनैमा कामना गर्यो -' लेखिएको पढें ।

'....मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागिरह्यो.....' लेखिएपछि त्यस मुन्तिर म(पाठक पात्र)लाई आफैं कामना गर्न नदिएर हस्तक्षेप गर्दै लेखकले उल्लेख गरेका छन् मेरो(पाठक पात्रको) कामना । पाठकलाई पात्र बनाइटोपलेको मात्र प्रतीत हुन्छ यहाँ । नत्रभने 'मनैमा कामना गरें -' लेखिदिएर पाठकले स्वयं कामना गरेको जस्तो अनुभुत हुन दिनुपर्थ्यो पाठकलाई ।

यदि यो 'मनैमा कामना गरें -' हुनुपर्नेमा मुद्रण त्रुटीको कारण 'मनैमा कामना गर्यो -' भएको हो भने, कभरमै पाठक स्वयं पनि पात्र भनेर महत्वसाथ लिइएको ठाउँमै गल्ति भएपछि भाषागत कुरामा पाठक निराश होलान् ।

अँ, भाषाकै कुरागर्दा, लेखकले यस उपन्यासलाई भाषा विद्रोहको रुपमा लिएको पनि बुझेको छु मैले । तर मैले भाषा विद्रोह छ भन्नुपर्ने कुरा पनि खास केहि देखिंन उपन्यासमा ।

हो, धेरै ठाउँमा आफन्तहरु भन्नलाई 'अरआफन्त' भनिएको छ । यो मेरो लागी नौलो हो । कहिँ कसैले लेखेको देखेको थिएन मैले तर 'सरसामान', 'नरनाता' जस्ता शब्दहरु पढिरहेको हुँदा 'अरआफन्त' सहज नै लाग्यो ।

त्यस्तै पृष्ठ ९९ मा एउटा उखान प्रयोग गरिएको छ - 'धान काट्ने मुसो कुटाइ खाने विरालो ।' बैंककका सडकहरुमा अबैधानिक तवरले यौनकर्म गर्ने विदेशी मूलका यौनकर्मीहरुलाई प्रहरीले छापा मारेर समातेको र बैधानिक मानिएका स्थानिय यौनकर्मीहरुले समातिएकाहरु प्रति टिप्पणी गरिएको प्रसंगको सम्बादमा आएको छ उखान । यो उखान थाई जनजीवनमा प्रयोग हुने र त्यता 'कुटाइ खाने विरालो' नै भनिने हो भने ठीक छ । होइन, नेपाली जनजीवनमा चले अनुशार यो उखान लिइएको हो भने नेपालीमा 'धान खाने मुसा चोट पाउने भ्यागुता' भनेर प्रचलित छ । उखानको प्रयोग गर्दा प्रचलनमा रहेकोलाई फेरबदल गर्नुको तुक देख्दिंन म । अथवा भ्यागुतालाई विरालो बनाउँदा उखान प्रचलनको भन्दा के कति कारणले अझ सान्दर्भिक भयो वा सटिक बन्यो त्यो पनि बुझिंन मैले । भाषा विद्रोहको रुपमा यस्तै कुरालाई लिइएको हो भने म त यस्लाई भाषा विद्रोह हैन भाषामा नासमझ भन्छु । तर यहि र यस्तै कुरा त भाषा विद्रोह पक्कै होइन होला ।

उपन्यासको दह्रो पक्ष भनेको जुनसुकै वा जेसुकै होस् पेशागत कर्म प्रतिको सम्मान हो । उपन्यासले यौनकर्मलाई पेशा बनाएर हिंड्नेहरुले पनि समाजमा असल काम गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । नेपाल लगायत एसियामै यौन कर्मलाई जसरी हेरिन्छ त्यो दोषपूर्ण छ र त्यसलाई फरक दृष्टिकोणले हेरिनुपर्छ भन्ने कुराको पैरवी गरेको छ उपन्यासले । यसलाई मैले उपन्यासको राम्रो पक्षको रुपमा लिएँ तर व्यावहारिक हिसाबले हेर्दा यो पैरवी केवल पैरवी मात्र रहने कुरा उपन्यासले नै प्रस्ट्याउँछ । जतिसुकै आत्मज्ञान प्राप्त गरेपनि, जतिसुकै स्वबोध भएपनि यौनकर्मलाई पेशा बनाएर हिँडेपछि विश्वका जुनसुनै समाजका मान्छेहरुले पनि केवल दयाको भिखमात्र दिँदा रहेछन्; जीवनमा अपनाएर बराबरीको हैसियत दिँदैन रहेछन् भन्ने कुरा उपन्यासकि मुख्य बेनामे पात्रले पटक पटक धोखा पाउनुले बताउँछ ।

उपन्यासमा मुख्य मैले पढ्न चाहेको र बुझ्न चाहेको अमूर्तबोधी दर्शनको कुरा थियो । उपन्यासमा अमूर्तबोधी दर्शनसँग सम्बन्धित भनिएर जे जति कुराहरु लेखिएका छन् ती सबै कुराहरु कुराका ठाउँमा ठीक छन् तर उपन्यासकि बेनामे मुख्य पात्र जो अमूर्तबोधमा स्वसत्त्व प्राप्त गरेर दर्शनका बुँदागत कुराहरु मन्तव्य(पृष्ठ २१०)मा राख्छिन् । तिनै पात्र पटक पटक आफ्नै स्वसत्त्व प्राप्त गर्दै, पुन हराउँदै गरेझैं विभिन्न मोडहरुमा धोका, छलछाम र झमेलामा फसिरहन्छिन् । उपन्यासको अन्त्यसम्ममा पनि उनलाई स्वसत्त्वबोधताले ध्येयमा सफल तुल्याउँदैन ।

अमूर्तबोधी दर्शनका कुराहरु जान्न आतुर मलाई यो कुरा नमज्जा लाग्यो ।

यौनकर्म गर्न ईच्छित हुन्नन् उपन्यासकि मुख्य बेनामे पात्र तर उनको सामुन्ने एकातिर विकल्पहरु नै नभए जस्तै त्यहि कर्मलाई पेशाको रुपमा अँगाल्न फर्किनुपर्ने बाध्यताहरु खडा भइरहन्छन् भने अर्कातिर दर्शनका ठुला ठुला कुराहरु उनै पात्रले उपन्यासको शुरुदेखिनै गर्दै जान्छिन् । अमूर्तबोधी दर्शनका कुराहरु गर्नलाई उपन्यासकि मुख्य बेनामे पात्र कि त अयोग्य पात्र हुन् कि त अमूर्तबोधी दर्शन नै उपन्यासमा अव्यावहारिक देखिएको हो । संगतीमा कहिं केहि अपुग जस्तो भैरह्यो मलाई दर्शनको सवालमा यो उपन्यास । उपन्यासमा पात्रगत कथावस्तु र दर्शनका कुराहरुलाई अलग्गै अलग्गै अनुभूत गर्दै पढें मैले भने पनि हुन्छ । दर्शनको हिसाबमा सफल प्रयोगात्मकको शट्टा एकोहोरो उपदेशमुखि जस्तो भएको छ उपन्यास ।

कथानक रसिलो छ उपन्यासको । पठनमा पट्यार लाग्दैन बरु हरेक घट्नाक्रम यस्तरी द्रुतताका साथ अघि बढ्छन् कि पाठकहरुलाई यौटा घट्नाक्रमबाट अर्कोमा पुग्दा अघिल्लो घट्नाक्रमको स्मृति दुरुस्तै राख्न मुश्किल हुन्छ । केहि पटक अघिल्लो घट्नाक्रम ताजा गराउनलाई मैले पनि रिभर्समा गएर पढें केहि ठाउँमा । मुख्य पात्रको तर्फबाट अति धेरै वर्णनात्मक भएको छ कथानक । अझै पनि दोश्रो अध्यायमा भएको कुरा उपन्यासकि मुख्य बेनामे पात्रको जीवनको कुन खण्डमा भएको हो वा अर्कै पात्रको कुरा हो द्विविधा जस्तै नै छ । दोहोर्याएर पढेपछि पनि घट्नाक्रमको तादात्म्य नमिलेपछि लाग्यो कदाचित् म स्वयं पो योग्य पाठक हैन कि?

अन्त्यमा, यदि कसैमा 'अब्स्ट्रयाक्ट बैंकक' पढ्न लायक उपन्यास हो कि होइन त?' भन्ने प्रश्न गुजुल्टिरहेको छ भने मेरो भन्नु यहि हुनेछ कि एकपल्ट पढेर नै हेर्नुहोस् । मैले उपन्यासको बथख्वाँईं गरेजत्तिकै गरेर लेखें होला माथि तर त्यसो होइन । उपन्यासका हरेक पृष्ठमा जीवन उपयोगी कुराहरु भेटिन्छन् 'अब्स्ट्रयाक्ट बैंकक'भित्र । फेरि  व्याक्ति व्याक्तिको ग्रहण क्षमता फरक पनि त हुन्छ यसर्थ आफैं नपढि अब्स्ट्रयाक्ट बैंकक कस्तो भनेर तपाईं कसरी थाहा पाउनु होला?




(ब्लगकै सामाग्री स्वरुप लेखेको यो पुस्तक गफलाई मैले फेसबुक नोटमा पनि सेयर गरेको छु ।)

Sunday, June 10, 2012

पुस्तक गफ : 'लू'बारे आफ्नो कुरा






नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्यहि सोच्दैछु अहिले ।

'लू'बारे आफ्नो कुरा लेख्ने ईच्छा 'लू' पढिसक्नासाथ फेसबुकको स्टाटसमा लेखेको माथिकै कुराबाट शुरु गर्न चाहें । र यो स्मरण गराउन चाहन्छु कि 'लू'बारे आफ्नो कुरा म आफ्नो ब्लगको निमित्त लेख्दैछु । अगाडी जे जति लेख्नेछु त्यो कृति समिक्षा हेतु लेखिएको हुनेछैन । कृति समिक्षा लेख्नलाई म सायद आफुलाई योग्य सम्झन्न र त्यो मेरो रुचि पनि होइन ।

हो, साह्रै व्यग्रतासाथ पढेर सिध्याएँ मैले 'लू' । माथि प्रश्न गरेको छु आफैंलाई कि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला? तर त्यो प्रश्न जवाफ खोज्नलाई नभएर 'लू' पढ्दाको तन्मयतालाई पुष्टी गर्न थियो ।

जे होस्, 'लू' मलाई चाँडै पढ्ने धोको थियो । 'लू' बजारमा आउनासाथ मैले नेपालबाट मगाएर पढ्ने अठोट गरेको थिएँ र नेपालमा किनेर पठाइदिनुहोला है भनेर उर्दी पनि जारी गरेको थिएँ । फेरिपनि नेपालदेखि यौटा मात्र किताब किनेर यहाँ, हवाईसम्म मगाउनु शिपिङ्ग खर्चको हिसाबले उचित थिएन । शिपिङ्ग खर्च किताब खरीद भन्दा निक्कै धेरै महङ्गो पर्नेथियो । त्यसैले 'लू'को साथमा आओस भन्ने हिसाबले अन्य केहि नयाँ पुराना किताबहरुको पनि लिष्ट बनाएँ र आफ्ना अन्य प्रयोजनका सामानहरु, जो केहि हफ्तापछि मगाउँदैथिएँ, का साथमा मगाउने निश्चय गरें ।

जब नेपालमा मेरो निम्ती 'लू' किनिने दिन आयो तबसम्ममा बजारमा 'लू'को दोश्रो संस्करण आइसकेको थियो । फलत: दोश्रो संस्करणमै मुद्रण भएको 'लू' मेरो हातमा आइपुग्यो ।

नेपालमा मेरो निम्ती 'लू' खरीद हुनु र 'लू' मसम्म आइपुग्नुका बिचमा पनि फेरि नेपालमा जातिय राज्यको माग र विरोध ईत्यादिका कारणले भएका हप्तौंका नेपाल बन्द र अमेरिकामा पालन गर्नुपर्ने भन्सारका प्रक्रियागत कुराहरु आदि ईत्यादिका व्यावधानहरु खडा भए । जस्ले 'लू' प्राप्त गर्ने प्रतिक्षा पनि ठुलो व्यग्रता बन्यो मेरो निमित्त । जति व्यग्र प्रतिक्षाका साथमा 'लू' हात पर्यो । पढ्न शुरु गरेपछि पढेर सक्नलाई पनि उत्तिकै व्यग्रता रहिरह्यो । पढ्न बसेपछि नसकुन्जेल नथन्क्याएको किताबको थोरै लिष्टमा 'लू'ले अर्को एक संख्या पनि थप्यो ।

फेसबुक तथा फेसबुक मार्फत ईन्टरनेट सञ्जालमा 'लू'का बारे अनेकौं समिक्षात्मक टिप्पणीहरु पढिसकेको हुनाले तथा 'लू'भित्र मुद्रण लगायत केलाइएका अन्य कमजोरीहरु पनि थाहा पाईसकेको हुनाले लू'को पठनमा केहो खल्लोपना आउला कि? तिनै कारणले मनमा चतुर पाठक हुँ भन्ने आग्रह उपस्थित गराएर पठनमा नमज्जा होला कि? भन्ने पिरोलो थियो म भित्र 'लू' पढ्न शुरु गर्दा ।

तर अचम्म भयो । नयनराज पाण्डेको कलमले त मलाई ठीक त्यसैगरेर मुग्ध पार्यो जसरी जमिलको घरमा बाल्टीमा पानीलिन आएकि नुसरतलाई देखेर छुल्याहा इलैया मुग्ध बनेको थियो । परन्तु अन्तिममा नुसरत र करिम इलैयाले दिएको साइकल चढेर भाग्छन् भन्ने पहिल्यै थाहा पाइसकेको हुँदा त्यो सस्पेन्स मनमा थिएन । तर नुसरतले थाहा पाउँन गरेको प्रयत्नको प्रस्तुतिले उत्तिकै मजा दियो जति त्यो रहस्य पहिल्यै थाहा नपाएको अवस्थामा हुनसक्थ्यो ।

इलैयालाई अन्त्यमा फरिस्ता भनिएको भएपनि पढुञ्जेल मलाई लेखकले कुनैपनि पात्रहरुलाई नियतवश उचाल्न तथा कुनैलाई दवाउन खोजेको प्रतीत भएन । सबै पात्रहरुको उपस्थिती स्वभाविक रह्यो मेरो निम्ती । बरु मलाई 'लू'भित्र पात्रहरुलाई भन्दा पत्थरपुरवा; स्थानलाई महत्व दिइएको झैं लाग्यो । त्यसैकारणले पनि 'लू'ले म भित्र विशेष स्थान बनायो ।

भर्जिनियाबाट खसखस डटकमका सञ्चालक वासु श्रेष्ठ दाइले 'लू' पढेपछि केहि पात्रहरु, जस्को उपस्थिती गौंण छ, लाई अनाहकमा हास्यास्पद नाम दिइएको र त्यसले लेखक मार्फत पात्रहरु हेपिनलाई मात्र ल्याईएको जस्तो देखिएको टिप्पणी लेख्नु भएको थियो । पुरै पत्थरपुरवाभरी प्राय प्रत्येकले हास्य उपनाम पाउने गरेको औपन्यासिक यथार्थका सामु मलाई भने त्यो पनि अस्वभाविक लागेन । (वासुदाइसँगको निकटताका कारण र वहाँको टिप्पणीमै पनि प्रतिटिप्पणी गरेको कारण यहाँ मैले यो कुरा खुलाएर लेख्न उपयुक्त ठानें ।)

उपन्यासको शुरुवातमा १० वर्षे बच्चाको तर्फबाट भएको प्रस्तुती र १० वर्षकै हाराहारी उमेरको इलैयाको चमत्कारी छुल्याँई भने अस्वभाविक लाग्यो मलाई । कतै कतै छोटा वाक्य गठनको सिलसिलामा अचाक्ली भएको जस्तो पनि मससुस हुँदैथियो पढ्दा । तर हाम्रो साहित्य समाजले छोटा वाक्य गठनलाई राम्रो भन्ने गरेको पाइन्छ । म भने व्याक्तिगत तवरमा पठनियतामा सरल हुनलाई सँधैं वाक्य गठन नितान्त छोटा नै हुनुपर्छ भन्ने मान्दिंन ।

उपन्यासको कथानक सकिइसकेपछिको टुटे पण्डितको चिठ्ठी र चिठ्ठीमा पत्थरपुरवा भारतको उत्तर प्रदेश राज्यमा परेको कुरा दुखपूर्ण रह्यो मेरो लागी । 'लू'ले नेपाल राष्ट्रलाई माया गर्ने एक एक व्याक्ति, एक एक गाउँ समाज र हरेक तह र तप्कामा सरकारी तलव, सुविधा, भत्ता, जागिर ईत्यादि खानेहरुको आँखा खोल्न मद्दत गरोस् र नेपालका कुनैपनि गाउँ वस्तीहरु भविश्यमा भारततर्फ सर्नबाट रोक्न सकोस । मेरो धेरै शुभकामना 'लू' र 'लू'का लेखक नयनराज पाण्डेलाई ।