Sunday, April 03, 2011

गफ निबन्ध : मैले कविता लेख्न सकिंन

वासुदाइको फोन आएछ । मैले उठाईन । वास्तवमा मैले फोन बजेको नै थाहा पाईंन ।

आजभोली मेरो यस्तै चल्दैछ । म स्वयँ भताभुङ्ग छु क्यार । मेरो समय लथालिङ्ग छ । कतिबेला के गर्छु आफैं पत्तो पाउँदिन । कतिबेला उठ्छु, कतिबेला सुतेको हुन्छु । कतिबेला खान्छु, कतिबेला पिएर हिंडेको हुन्छु ।

बेमतलबी, बेपर्वाह ।

अनुशाशनहीनताको गतिलो उदाहरण बाँचेको छु म ।

यस्तो तब भयो जब म बेरोजगारीको चपेटामा गतिलोगरी च्यापिएँ । जतिबेला काम थियो, जिन्दगीमा कामैकाम थियो । लाग्थ्यो आफ्नो रहरका कुराहरु, मनले अह्राएका कुराहरु गर्नलाई समय नै छैन । तर होईन रहेछ । समय अभावको चाप जति पर्छ उति मनले अह्राएका काम गर्ने समय निकालिंदोरहेछ । समय फालाफाल भएपछि 'खाली दिमाग शैतानका घर' साँच्चै हुँदोरहेछ ।

हाम्रो आफ्नै पनि एउटा उखान छ, 'कुकुरको काम पनि छैन बस्न पनि पाउँदैन।'

यो उखानमा कुकुर त यौटा दृष्टान्त मात्र हो भनिएको चैं मान्छेलाई नै हो ।

'थुक्क! म, आफ्नै निमित्त कुकुरको दृष्टान्त दिनुपर्ने?' त्यो पनि भुक्न नसकेर । कथंकाल भुकिहालेपनि भुकेको अर्थ नलागेर । हो भुक्न अर्थात बोल्न अर्थात लेख्न नसकेर नै, अझ लेखे बोलेपनि त्यसको अर्थले आफैंसंग महत्व नराखेर कुकुरको दृष्टान्त राख्नुपरेको हो ।

मान्छेवादीहरुलाई त्यसो त झनक्कै रीस उठ्दो हो उदाहरणमा कुकुरलाई पेश गरेर मान्छेलाई खसाईयो भनेर । तर मलाई त हामी मान्छे नै पनि के पो हौं र भन्ने लाग्छ । होइन भने अहिलेसम्म हामी मान्छेले आफैंले आफुलाई बाहेक अरु कस्ले हामीलाई मान्छे, मानिस, मनुश्य भनेको छ र? त्यहि कुकुरले पनि हामीलाई मान्छे कहाँ भन्दो हो र? कुकुरले मान्छेलाई के भन्छ के हामीलाई के थाहा ?

जे होस्, खोतल्दै जाउँ । खास कुरा निस्किहाल्छ कि?

फोन कोट्याउँदा देखें वासुदाइले भ्वाईसमेल समेत छोड्नुभएको रहेछ ।

वहाँहरुले वासिङ्टन डिसी क्षेत्रमा नियमित जस्तै गर्दै आउनु भएको कविता गोष्ठीमा फोन मार्फत कविता वाचन गर्नलाई सम्झाउनु भएको थियो । ईमेलमा, फेसबुकमा निम्तो राख्दा पनि म बेवास्ता गर्दै बसेको भएर दाइले फेरी फोन गरेर सम्झाउन चाहनुभएको हो ।

तर म ? मेरो कुरै छोडौं भो ।

फोन उठाउन त भ्याईंन भ्याईंन । कलब्याक सम्म गरिनं । यस्तोबेलामा म आफ्नै गजलको यौटा मिसरा(हरफ) सम्झन्छु, 'आँखिर निकम्मा मेरै प्यार रहेछ ।'

म फोन नै गर्दिंन । फोन उठाउंदिन पनि र पनि तारन्तार फोनमा मलाई लेख्न झक्झक्याउनुहुन्छ वासुदाइ । म जस्तो बैगुनीलाई दिनसक्ने, म जस्तो निष्ठुरीलाई सम्झनसक्ने कति छ हँ वासुदाइसँग माया ?

फोनमा भ्वाईस म्यासेज सुनेपछि एकमनले तात्तिएको पनि हुँ म, कविता लेखेर तयार रहनलाई । समय भने कम थियो पहिलेको निम्तोलाई बेवास्ता गरेको भएर । तै पनि लेख्नै लागियो भने कविता त जसरी पनि लेखिन्छ । लेख्न थाले पनि । आफ्नै अवस्था र झेलिरहेको समय लेख्ने मूड थियो-

काँचको गीलासमा
केहि पानीका टुक्राहरुसँग
बन्द बोतलको पानी घोलेर
टाङ टुङ ट्याक् ट्वाक् बजाउँदै
स्वाट्ट पारेको रातहरुमा
प्रतिघण्टा पचहत्तर माइलको दरले
बेतोडसँग हाइवेमा दौडंदा पनि
जिन्दगी ठिक-ठिक लेनमा कुदेकै हो
जिन्दगीले ठिक-ठिक एक्जिट लिएकै हो
बिना कुनै दुर्घटना
बिना कुनै पूल ओभर
सकुशल
जिन्दगी घर फिरेकै हो
आज जिम्मेवार बनेको
त्यहि जिन्दगी
बिना कुनै नशा
बिना कुनै लापर्वाही
असल बनेर
बडो सावधानीले गुड्न खोज्दा
पिक-अप लिन नसकेर
आफ्नै घरको ड्राइभ-वेमा
अल्झिरहेको छ
...............
..........
............

कुन्नि के लेख्थें खै अगाडी । पुरा लेखेको भए यस्को शिर्षक सम्भवत 'आज जिन्दगी' हुन्थ्यो होला तर लेख्दा लेख्दै मनले भन्यो, 'धत् जँड्याहा अब हुँदा हुँदा जाँड खाएको कुरा पनि तेरो कविताको मसला हुन थाल्यो?'

असी नब्बेको स्पीडमा एक्कासी ब्रेक लगाएझैं कविता रोकेर सोचें । हुनपनि कविता लेख्न सजिलो छ नि, आजभोली जे लेखे पनि कविता कहलिने परिपाटी जो छ । हुलुक्क भित्रबाट अमिलो मुखमा आएझैं महसुस भयो ।

म रन्थनिएँ । अब के लेख्ने त कविता गाँठे!, कविता लेख्न मात्र सजिलो रहेछ कवितामा के लेख्ने भन्ने निर्क्यौल गर्न त बडा मुश्किल पो रहेछ ।

भै'गो, यसपाली म बरु कविता नै लेख्दिंन । पछि कुनैदिन भित्रबाट हुलुक्क अमिलो ननिस्किएको बेला लेखौंला ।

म थन्किएँ । पढ्दै गरेको अभि सुबेदीको निबन्धमा उत्तरवर्ती कालखण्ड नामको पुस्तक पल्टाएँ । पोहोरसाल नेपालबाट आफैंले बोकेर ल्याएका मध्येको एउटा यो किताब पढेर तुर्न लागेको रहेछु । सुदुर अन्तिमतिरको 'एसिया, इतिहास र हामी' भन्ने शिर्षकमा पुगेको रहेछु ।

पढ्न थालें- 'इतिहासकारहरु समयका कलेवर रचना गर्छन्; भत्काउँछन् अनि फेरि जोड्छन् । ती भन्छन्- इतिहास सकियो । अब यसपछि इतिहास हुँदैन । शीतयुद्ध सकियो । अब मानिसको समयले एउटा अर्कै अवतार फेर्छ, तर......'

स्कूलमा हुँदै देखि मधुपर्क मार्फत सुबेदीका निबन्धहरु पढ्दै आएको मलाई यसपटक अनौठो भयो । निबन्ध जति पढ्दै गएँ उति निबन्धका हरफहरु कविता बनेर घुस्दै गए दिमागमा । यसरी -

इतिहासकारहरु
समयका कलेवर रचना गर्छन्
भत्काउँछन्
अनि फेरी जोड्छन्
ती भन्छन्
इतिहास सकियो
यसपछि अब
इतिहास हुँदैन
...........
.........

हैन, के अचम्म भै रहेछ मलाई ? पढ्न त म निबन्ध नै पढिरहेछु? चिमोट्न चैं चिमोटिन आफुलाई तर सम्झाएँ । म अभि सुबेदीको निबन्ध नै पढिरहेछु । तर भएन सुबेदीको निबन्ध अगाडी झन झन कविता बनेर पस्दै गयो दिमागमा -

.......
होइन
इतिहास सकिएको छैन
इतिहासले
अर्को मोड लिएको मात्रै हो
मानवजातिले
फ्याक गरेर मानिस बुझे
भने-
यी हाम्रा मानव हुन्
ती तिम्रा मानव हुन्
कसैले भने-
भूगोलका पनि धाँजा हुन्छन्
...............
..................

यो त अति भयो । मबाट कविताको भूत उत्रँदै गएको हो कि जस्तो लाग्न थाल्यो ।

के मैले आजसम्म पढेका सबै निबन्धहरुको हरफ भाँचेर, पूर्णबिराम ईत्यादि हटाएर लेख्ने हो भने ती कविता हुन्छन् त?

के मैले आजभोली पढेका, पढ्ने गरेका तथा यदाकदा लेखेका कविताहरु पनि पुर्णबिराम ईत्यादि थपेर प्याराग्राफमा लेख्ने हो भने ती सबै निबन्ध हुन्छन् त?

के आजका कविता र निबन्धको अन्तर पूर्णबिराम ईत्यादि नदिएर सकेसम्म ठाडो पारेर लेख्नु र पूर्णबिराम ईत्यादि दिँदै सकेसम्म तेर्सो पारेर लेख्नु नै हो त?

मैले वासुदाइ सम्झें । वासुदाइको भ्वाईस म्यासेज सम्झेँ । भोलीपल्ट हुन गैरहेको मनासस कोठे कविता गोष्ठि सम्झें । त्याँहा उपस्तिथ भएर तथा फोन मार्फत कविता वाचन गर्नुहुने नदेखे/नभेटेपनि रचना मार्फत जाने/चिनेको अग्रज सबै कवि साहित्यकारहरुलाई सम्झें । अनि तत्काल मैले झेलिरहेको अवस्था सम्झें ।

अनि सम्झें, 'त के म आजभोली लेखिने सबै कविताहरु र सबै निबन्धहरु उस्तै हुन्छन् खालि सल्लाको रुखजस्तै ठाडो पारेर लेख्ने कि धानखेत जस्तै तेर्सो पारेर लेख्ने भन्ने मात्र अन्तर हुन्छ भन्ने निचोडमा पुगेको हुँ त?'

होइन ।

होइन भने के हो त?

आखिरमा चित्त बुझाएँ, खासमा मैले अहिले कविता लेख्न नसकेको मात्र हो । मगजको यो हुन्डरी थामिएपछि म फेरी कविता पक्कै लेख्छु । चाहे कविता र निबन्धको अन्तर सल्लाको रुखझैं ठाडो अझ ठाडो पारेर लेख्नु र धान खेतझैं तेर्सो अझ तेर्सो पारेर लेख्नु नै किन नहोस् ।

अलिकति ढुक्क भएँ र फेसबुकमा बासुदाइलाई म्यासेज लेखें-

बासुदाइ,
माफ गर्नुहोला है म भोलीको गोष्ठीमा कविता वाच्न सक्दिनँ ।


यतिञ्जेल बासुदाइको जवाफ पनि पाइसकेको छु-

केहि छैन, पछि गरौंला नी ।

टेक इट इजीको कति मिठो भाका बासुदाइको ।

Tuesday, March 15, 2011

गजल : सलाम ति आँखालाई

चढाईदिन्छु एउटा सलाम ति आँखालाई ।
मेरो नाम नजोडिंदै बदनाम ति आँखालाई ।

देख्दा सामु बिझाउने समय थियो या म थें,
टाढा छु होला अब त आराम ति आँखालाई ।

भक्त बनाई दुनियाँ नचाउने सपना जस्को,
आँसु चढाउने यो मन के काम ति आँखालाई ।

अइना(ऐना)मा शृंगार हेर्दा आफुलाई नदेख्ने,
प्यारो अवश्य लाग्ला छलछाम ति आँखालाई ।

आफैंलाई तारा ठानेर टल्किरहेछ एक्लै,
कतिन्जेल देखाईरहन्छौ जुनघाम ति आँखालाई ।

Wednesday, March 02, 2011

मुक्तक र म

जाई फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
बैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो । 
 
******


नमस्कार !

धेरै पछि जाँगर चल्यो ब्लगमा केहि लेख्ने ।

तर के लेख्ने?

आफैं आफ्नै नजरमा धेरै सम्म बेपत्ता भएर आफुलाई भेट्दा पनि आफैंलाई उदेक लाग्दोरहेछ । अरु त अरु ब्लगमा के लेख्ने होला है? भन्ने नै चिन्ता परेपछि पो अत्यास लाग्यो । नियमित लेख्दै आईरहेको भए केहि न केहि खुराक अवश्य बन्ने थियो । तर अन्तराल पछि के लाई खुराक बनाउने? केहि न केहि त अवश्य बनाउनु पर्छ । घोत्लिएँ र खोज्नथालें अन्तराल पछि ब्लगमा राख्न उपयुक्त सर्जाम । र फेला पर्यो 'रेला' शिर्षक राखेर मुक्तक भन्दै धेरै अघि लेखेको लघुत्तम कविता । यसलाई मुक्तक भन्न मिल्थ्यो मिल्दैनथ्यो त्यो त मुक्तकका मर्मज्ञ पाठकहरुलाई थाहा हुन्छ । 'रेला'ले सम्झायो कि पहिले पहिले मलाई पनि मुक्तके भूत निक्कै चढेको थियो र खुबै लेखिहिंड्थें । त्यसबेला लेखेका सबै टुक्राहरु मुक्तक थिएनन् होला किनकि नयाँ वर्ष वा अन्य त्यस्तै अवसरमा पोष्टकार्डका पछिल्तिर त्यस्ता टुक्राहरु लेख्दै साथीहरुलाई दिइन्थ्यो । मैले त्यस्ता टुक्राहरु संकलन गरेर राखेको पनि थिएँ तर आज त्यो संकलित पुस्तिका छैन र नहुनुको बिस्मात पनि ति सबै मुक्तक थिएनन् भनेर लिएको छैन । यस्ता मुक्तके टुक्राहरुलाई सायरी लेख्ने भन्थ्यौ हामी त्यो बेला र स्वरुपमा पनि अलि फरक हुन्थे । त्यो बेला कुनै केटिसाथीलाई चिढ्याउन लेखेको यो टुक्रा त म कहिल्यै बिर्षन्न -

चिठ्ठी त तिमीले लेखिछौ प्रिय
तर अक्षर हेर्दा रुन मन लाग्यो
गालामा म्वाईपनि खाईदियौ प्रिय
तर दाँतेगुहु सम्झेर धुन मन लाग्यो ।





पछि आएर मुक्तक लेख्नै छाडिएछ । कैलेकाँहि अरु ब्लगर साथीहरुको ब्लगमा मुक्तक देख्दा स्मरण हुन्थ्यो म पनि पहिले लेख्थें भन्ने र एकाध लेख्न रहर पनि लागेर आउंथ्यो । हो त्यस्तै रहर मेटाउन लेखेका थप केहि मुक्तकहरु पनि कम्प्युटरको कुनोमा फेलापारेपछि भने अन्तराल पछिको ब्लग लेख्न ढुक्क भएँ । अन्तराल पछिको लेखाईमा आफुलाई आनन्द यसकारण हुने भो कि मेरो ब्लग पढ्नुहुने पाठक मित्रहरुले अहिलेसम्म मेरो ब्लगमा मुक्तकको स्वाद लिनुभएकै छैन र यो ब्लगमा नयाँ हुने भयो । आउनुस् थप केहि 'मुक्तक'हरु पढेर स्वाद लिनुहोला र मुक्तक भए भएनन् पनि भन्दिनुहोला ।

 गोली
सुन्थें चारैसुर तुनाले कसिएकि चोली हुन् तिनी
पहाड मैदान सब नाघ्दै बगिजाने खोली हुन् तिनी
एकदिन सुटुक्क आएर पसिन् मेरो आँखाबाट र
छाति भ्वाङ पारेर निस्किंदा बुझें गोली हुन् तिनी ।
 
*****
 
आहारा
अप्ठ्यारोमा हुँदा म उनको सहारा बनें
अलि सजिलो के भयो म विचरा बनें
र ऐले उनकै सामु आफ्नो अस्तित्व खोज्दैछु
जहिले देखि म उनको दैनिक आहारा बनें ।
 
*****
 
जवानी
के जान्नु मायामा पनि अर्थोकै मिसा'को भए
बाहिर मुस्कुराउने मायालु भित्र रिसा'को भए
पत्तो पाउँदो हुँ कठै म सोझो मान्छेले पनि
सुकुमार जवानी उनको पारदर्शी सिसाको भए ।
 
*****

देश
देश अचेल हाक्पारे भाखामा हराएको छ
पिरती फुल्ने ति बनपाखामा हराएको छ
कहाँ खोज्ने हो कठै! अब मेरो देशलाई
यो सपना देख्ने प्रत्येक आँखामा हराएको छ ।
 
*****
 
(कठै! देशको कुरापनि कोरिएको रहेछ मुक्तकमा)

Wednesday, January 12, 2011

गजल : के होस भन्ने चाहन्छौ

बुझ्न सकिंन तिमी के होस भन्ने चाहन्छौ ।
कि नबुझ्दै जिन्दगी बितोस भन्ने चाहन्छौ ।

खसालेर काँच जस्तै यो मन हातबाट,
मैले कुन चैं मन राखोस भन्ने चाहन्छौ ।

घटाई आफ्नै उचाई झुकाउने क्या कला,
कति घटि मलाई झुकोस भन्ने चाहन्छौ ।

किनारामा मन छोडी मान्छौ बाढिको डर,
कि भेलमा त्यो मनै बगोस भन्ने चाहन्छौ ।

प्रहार लगातार देख्दा लाग्छ यहि तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।

ब्लग लेखनको आफ्नो गतिसँग आफैं आजित भएको कुरापनि कति लेख्ने हो ब्लगमा । आजित माथि आजित भएपछि खास केहि नबोल्नु नै ठिक होला । तसर्थ यसपटक थपक्क यो गजल आफ्नो ब्लगको धुकधुकी चलेकै छ भन्ना खातिर ।

Monday, January 03, 2011

कविता : गाइने किरा र म


गाइने किराहरु
कदाचित्
खडेरीको संकेत गर्दैनन्
तर
मनपराउंछन्
बादल नलागेको आकाश
झरी नपरेको दिन
त्यसैले प्रेम मलाई
गाइने किराहरुसंग

यौटा सिँगो मान्छे
छरिएर सयौं गाइने किरामा
उड्न चाहन्छु
सानो आकाशमा वरपर
उसैले जस्तै
खेतमा जमेको पानी छुँदै
कि
रमाउन सकुँ
असारे वर्षातको संगीतमा
साउने हिलोको सुगन्धमा
भदौरे घामको चर्को रागमा

समाउन सकुँ आफैंलाई
पाटाबारीको
हुप्प उकुशमुकुशमा
रंगीन गाइने किरालाईझैं
बुझुन्जेल
आफ्नै जिन्दगीको चक्र

यो कविता पनि निरन्तरताको नाम भयो ब्लगलाई । एकदिन त्यसै गाइने किरा उड्यो मनमा र उडायो मलाई गाउँको खेतबारी सम्म । र गाइने किरालाई सम्बोधन गरेर केहि लेख्ने निश्चय भएर लेखें यो कविता ।

Wednesday, December 15, 2010

गजल : खर परालको महिमा

केहि अघि लेखेको यो गजललाई उसबेलै हो सायद यौटा सेर फेसबुकमा बाँढेर अलपत्रै छाडेको रहेछु । आज फर्किएर हेर्दा माया लागेर यता ब्लगमा चारो हाल्दै नयाँ लेख्न नसक्नुको झारो टारेको छु ।


गाउछ किन जिन्दगीले भात दालको महिमा
अझ त्यसकै अभावले ल्याउने कालको महिमा

जवान वृद्ध या बालखै होस् उमेरको मजा ,
चीना खोली गाउनु किन महिना सालको महिमा

सबले देख्छन सुकिलो मैलो, पानीमा चोबलिँदा,
किन हो गाउनै पर्ने आफ्नो आहालको महिमा

यहिँ यो चम्किलो दिन यहिँ नै ग्रहण पनि,
किन छोड्थे भाग्यवादी , गर्छन् कपालको महिमा

नाममै आगो बोकेको छस् जलाउनु केहि भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा

Sunday, December 05, 2010

कविता : प्रश्न

लेख्न लगभग विर्षीसकेको अवस्था हरेक दिन नयाँ नयाँ धून बजाउने गरेको सारंगीको तार छिनेपछि गाँस्न या फेर्न अल्छि मानेर कोठाको एकापट्टी भित्तामा झुण्ड्याएझैं पाउँछु आफुलाई आजभोली यो आजभोली एकदिन भए नि हो भन्नु दुईदिन भए नि लौ भन्नु आजभोली नै लम्बिएर सग्लो निष्कृय यूग बन्ने भएपछि छट्पटी बढेको तर भोली फर्किएर हेर्दा देखिने ईतिहास सुधार्नलाई उर्जा कहाँबाट आयात गर्ने हो आत्तोपत्तो छैन यहि अवस्था, यहि अकर्मण्यतालाई देखेर हाल्सालै यौटा कविता लेखेको थिएँ 'प्रश्न' शिर्षकमा उर्जाको कमीले हो या अभ्यासको कमीले लेखिसकेका हरेक कुराहरु आजभोली आफैंलाई चित्त बुझ्दैन हरेक कुराहरुको अलि बड्ता बोध भएर पो यसो भएको हो कि भनेजस्तो पनि लाग्छ जे होस् ब्लगमा खाली ठाउँ भर्न यो पल्ट यहि कविताको सहारा भो


मात चढेको जुनेली रात
जब डिसेम्बरको हिउँमा कक्रिन्छ
म चर्चको ठुलो क्रस मास्तिर हाँस्ने
चन्द्रमालाई हेर्दै
सोच्ने गर्छु कि
मैले सल्काईरहेको सिग्रेटभित्रको तमाखु
कहाँ उत्पादन गरियो होला ???
यो प्रश्न हो
आज जिन्दगीको
यहि त प्रश्न हो
आज अवस्थाको
अझ यहि नै त प्रश्न हो
आज अकर्मण्यताको
कि म खडा गरिरहेछु
तील तुल्य प्रश्नहरु
र चढिरहेछु पहाड प्रश्नहरुको
जहाँ न आरोहणमा छ जवाफ
न अवरोहणमा
जब भोली विहान
यहि चर्चको छानामाथी
एकहुल काला रोविन चराहरु
चिसो हिउँदले जमेको कण्ठबाट
बदलिएको आवाज निकाली कराउन थाल्छन्
जानीजानी म भन्नेछु
कि कागहरुले आजभोली
आफ्नो बोली विर्षीसकेछन्
र सल्काउनेछु अर्को खिल्ली सिग्रेट
बिना जवाफ अर्को प्रश्नसंगै ।

Sunday, November 28, 2010

गजल : मन उघारेर प्यारी

आज अठोट लिएको थिएँ ब्लगमा केहि त लेख्छु लेख्छु भनेर । कम्प्युटरमा बसेको २ घण्टा बित्दा पनि लेख्ने कुरा केहि नभेटेपछि लाग्यो । ब्लगमा मलाई ब्युँझन अझै समय लाग्ने रहेछ । खै किन हो, लेख्ने कुरा सोच्यो भने मनमश्तिष्क भरी डम्म कुहिरोले ढाकेझैं हुनथालेको छ त्यसैले त हेर्नुस् न मेरो ब्लग घाम नलागेर ओसिएको विस्कुन भएको । लेखेर हैन लेखिसकेको कुरा राखेर भएपनि ब्लगमा लेखें भन्ने यौटा मिती अँकित गरेर ब्लग जगतबाट हराईगा'को चैं छैन है भन्नलाई यो गजल राख्दैछु -

पत्र-पत्र ति मोतिदानाझैं शीत झारेर प्यारी
सक्दिनं टिप्न गुलाफको यौवन मारेर प्यारी

नसम्झ रित्तै छु उभिएको तिम्रो सामुन्ने आज,
हेर फूलै हाँसेको होला मन उघारेर प्यारी

यो फूल बरु वैलाईजाला टाँसेपनि छातिमा,
वैलन्न प्रिती टाँस मुटुमा गाढा पारेर प्यारी

प्रेम मिलनको दिनमा हामी हाँसीरँ'दा ईत्रेर,
नरोओस् गुलाफ हाम्रो सामुन्ने बैंश हारेर प्यारी

गुलाफ हाँस्ने बगैंचामाझ बस्छु पर्खिएर,
आउनु तिमी नलिई फूल त्यो मन खारेर प्यारी

यो गजल गत भ्यालेण्टाईन डेको बेला खसखस डटकमको निमित्त लेखेको थिएं ।

Thursday, September 23, 2010

गीत : जीवन र मन


यसरी पनि निमोठिंदो रै' यो मन चियाको पालुवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

मन कहिँ न्यानै रहन्छ सम्बन्धहरु चिसिए पनि
जीवन नदि यो बगिरहन्छ हरक्षण सागरमा मिसिए पनि
उडि हिंड्दछ बरालिएर यो मन सिमलको भूवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

उज्यालो थोरै पोतेर मनमा ओठ खोलेर हाँस्दछ जीवन
घेरिएर पनि अँध्यारोहरु माझ एकै आशामा नाच्दछ मन
सल्किएर आफैं आगो जीवनमा यो मन उडेको धुँवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

*********


ब्लगमा नियमित हुने अनेक प्रयास गर्दापनि सकिराखिएको छैन । अनावश्यक ब्यस्तताले गर्दा मनमा उर्लेका भावनाहरुलाई तह लगाउन पनि सकिएको छैन । यसपटक पनि ब्लगलाई माया मारेकै चैं छैन भन्ने जनाउन लामो समयपछि लेखेको यो गीत लिएर आएको हुं । आसा छ समय अनुकुल पर्ने छ र अगाडीका दिनमा अलि लगनले ब्लग लेखिनेछ ।