Monday, May 24, 2010

गफ : केहि नभएको कुरा

आज जन्मदिन परेको हुँदा केहिदिन अघिदेखि नै सोचेको थिएँ जन्मदिनकै मौकामा यौटा ताजा पोष्ट राख्नेछु ब्लगमा । तर आज अचम्मको चकमन्नमा दिन बिताएँ मैले । अनेक कुराहरु आए र गए मगजभरी तर आएका केहि कुराहरुले पनि यौटा सग्लो स्वरुप लिन सकेनन् जस्लाई ब्लगमा प्रस्तुत गर्न सकुँ । साँझतिर त एक हिसाबले आजको मिती चुपचाप पन्साईदिउँ पनि लागेको थियो तर फेरी सोचें, केहि नभएको कुरा नै पनि त ब्लगमा एकपल्टलाई मिती अँकित गर्ने कुरा हुन्छ त्यसैले सोचें केहि त पक्कै लेख्छु र दिउँसो आमालाई सम्झेर कोरेको दुई टुक्रा तर अझै अधुरो कविता पनि राख्छु र ल्याएँ यो केहि नभएको कुरा ।

अरु वर्षहरु भन्दा भिन्दै हिसाबले सोचें मैले यो वर्षको आजको दिन अर्थात आफ्नो जन्म दिन । दिनभरी आमालाई सम्झिएँ मैले आज र त्यहि मेसोमा कोरेको थिएँ यो दुई टुक्राहरु -

,
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
बाटो लागेँ
ठुलो भएर

,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
बाटो लागें
ठुलो भएर

फेसबुकमा लिपिसकेको थिएँ यि दुई टुक्राहरु र यो तस्विरपनि -

नभन्दै ब्लग सुरु गर्दा भएको स्थानको हाल बसिरहेको स्थानको समयान्तरले गर्दा मितीले पनि एकदिनको फड्को हानिसकेछ

Wednesday, May 19, 2010

कविता : बाँसुरी रोईरहेछ


आजभोलि हरेक साँझ
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।

रचनाकाल:-
असार, २०५४ साल
झापा, गौरादह

Monday, May 17, 2010

कथा : रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'

'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'

प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'

'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'

'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।

'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।

(खसखस डटकम तथा आफ्नै फेसबुक नोटमा प्रकाशित।)
रचना काल -
१२ असार २०५८
गौरादह, झापा

Friday, May 14, 2010

गजल : दिलको दीपक बालीहेर

यसपाली घर पुगेर आउँदा साथमा आएका पहिले लेखेका केहि कुराहरु मध्ये यो गजल पनि यौटा हो । यो लेखिएको मिती ठ्याक्कै सम्झना छैन तर २०५३ सालतिर सुन्दरपुर मोरङबाट निस्कने फूलबारी पत्रिकामा यो छापिएको रहेछ, त्यसैले यो गजल २०५२,५३ सालतिर लेखिएको हुन सक्छ । मैले त्यहि पत्रिकाको टुक्रा भेटेर ल्याएको हुँ यसलाई र जस्ताको तस्तै राखेको छु । अहिले हेर्दा यसमा मात्रामा निक्कै कमबेसी देखेपनि यो ब्लगमा राख्नैको लागी भने सच्याईरहनु उपयुक्त ठानिंन ।

यो गजल देखेपछि मलाई सम्झना आयो कि त्यो बेला म मधुपर्क खुब पढ्थें र मधुपर्ककै कुनै अँकमा लेखिएको यौटा गजल -

ह्रदयको अँगेनोमा फेरी आगो बालीहेर
हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
हेरेर त्यसैको संरचनाको नक्कल गर्दै लेखेको थिएँ । मधुपर्कको त्यो गजल बुँद रानाको थियो कि जस्तो लागेको छ मलाई तर हो नै भन्न सक्दिंन ।

आफ्नो सम्झे तिम्रै हुँ म मित्रता सम्हाली हेर ।
जे सम्झन्छौ त्यहि हुँ म नत्र यो मन चालीहेर ।

मेरा उपर तिमीभित्र अविश्वासका तुष भए,
खेद छैन मलाई लगि रछ्यानमै फालीहेर ।

ईच्छा भए हामीबिचको मित्रतालाई प्रगाढ पार्ने,
भएजति सन्देहका प्वालहरु टालीहेर ।

अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।

दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।

Wednesday, May 12, 2010

गफ : फर्केपछिको कुरा

फर्किनु छँदैथियो आँखिर, फर्किएँ म ।

प्यारी छोरी, परिवारजन, ईष्टमित्र, नातागोता, घर, समाज, देश सबै छोड्छु नै भन्ने थियो ।

छोडें ।

बिस्मात कत्ति लागेन । तर समयसँग निक्कै दुखमन रहयो । माथी उल्लेखितहरु बाहेकका, भाषा र देशको सिमानाले नाता जोडेका केहिहरुसँग भने बिस्मात पनि लाग्यो । तिनीहरु थिए म पछिल्लो पटक काठ्माण्डौ छिरेको दिनदेखि काठ्माण्डौ बसुञ्जेल बन्द हड्ताल ईत्यादि गरेर मेरो समयलाई अस्तब्यस्त बनाउने राजनीतिक प्राणीहरु र तिन्को लहै लहैमा लैबरी गाउँने सोझासिधाहरु ।

त्यसो त आक्रोस पनि उस्तो बचेको छैन । बचाईराखेर आक्रोसले मलाई केहि दिंदैन त्यति त म बुझ्छु । जे हुनु थियो त्यति त भएको हो । अरु के हो र ? काठ्माण्डौ छोड्नेबेला केहि असल मनहरुलाई भेट्ने हार्दिक ईच्छा पुरा भएन । यो अलिकति खल्लो लागेको हो तर समय फेरी अवश्य आउला ती असल मनहरुसँग भेट्ने ।

आशावादी छु ।

काठ्माण्डौ छोड्ने अघिल्लो दिन फेसबुकमा लेखेको थिएँ, 'धेरै शब्दहरु चपाएर भोली लुसुक्क नेपाल/काठ्माण्डौ छोड्दैछु । भेट्न नसकेका थुप्रै असल मनहरुले मलाई माफ दिउन ।'

कस्तो दह्रो विश्वास छ भने मैले माफी पाईसके जस्तै लागेको छ ।

साथमा यसपाली पहिले पहिलेका निक्कै कुराहरु बोकेर ल्याएको छु । अझै धेरै कुराहरु त मगजमा कोचेर पनि ल्याएको छु । ब्लगमा बाँड्नलाई अब धेरै कुराहरु एकैसाथ छन् मसँग - बाँड्दै जानेछु । तीन महिना भयो आफ्नो ब्लगमा झुक्किएर लेखे बाहेक अरुको ब्लगमा पसेर स-रुचि सामाग्रीहरु नपढेको । नपढेपछि प्रतिक्रिया लेख्ने कुरा पनि भएन । अब पढ्छु अनि प्रतिक्रियाहरु लेख्छु पनि । समय फालाफाल छ । मित्रब्लगहरुमा प्रतिक्रिया लेखिनँ भनेर माफी माग्नुपर्छ कि पर्दैन थाहा छैन । मित्र ब्लगहरुमा प्रतिक्रिया नलेख्नु अपराध हो भन्ने घोषणा नहुञ्जेल माफी माग्नु नपर्ला भन्ने सम्झन्छु । भैगो माग्दिन तर मैले मित्र ब्लगको ढोका नखोल्दा पनि मित्र ब्लगरहरुले मेरो ब्लगमा प्रतिक्रिया लेख्नुभएको प्रति मैले हार्दिक आभार प्रकट गर्नैपर्छ ।

गरें ।

ब्लगरहरुको सुचीबाट म हराईहाल्दिंन अहिले नै त्यसैले यो कविता ल्याएको छु । २०५७ सालको भदौ २५ गते कुपण्डोलबाट लेखेको यो कविताको मैले शिर्षक राखेको रहेनछु । शिर्षक आफैं राख्नुहोला र कविताको अन्त्यको 'छ' यतिखेर थियो भैसकेको छ त्यसैले त्यसपछिको कविता आफैं लेखेर पढ्नुहोला ।

पेश गरें -

खुट्टा तन्काएर तनक्क
डङ्ग्रङ्ग पल्टिएको घोडालाई
मरेको ठानेर तिनीहरुले
अत्यन्तै परिश्रम पूर्वक
गहिरो खाडल खनेर
जब तम्तयार भए पुर्नलाई
यसैबीच त्यो आयो
हप्काएर तिनीहरुलाई
त्यहि घोडा चढेर
खाडल नाघेर गयो
विचरा तिनीहरु
हिस्स परे
जिल्ल परे
त्यो गयो
खाडल नाघेर गै गयो
तर तिनीहरुले अझसम्म
खाडल पुर्न सके
खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो नाटक रहेछ
धारावाहिक हो क्यारे
त्यसैले
बाँकी दृश्य हेर्न
पर्खनै पर्ने भएको

Friday, April 16, 2010

गफ निबन्ध : मेरी छोरीको कुरा

निक्कै भयो, आजभोली मायालु छोरीसँग भएर होला मलाई कलम समाउन मनै लाग्दैन । फाट्टफुट्ट केहि लेखिरहने, नलेखे पनि केहि लेख्ने विषय बोकेर हिँडीरहने मलाई यतिबेला त्यो पनि गर्न मन छैन । छोरीसँगको पुनर्मिलनलाई एकएक पल, एकएक क्षण जीवन्त बनाएर बिताउँन रहर छ । र बिताउँदैछु पनि ।

आज कलम समाएँ । छोरी निदाएकि छिन् । हुनसक्छ उनि सपनामा परीहरुको देशमा डुल्दैछिन् । म लेख्न बसेको छु । मलाई छोरीकै कुरा लेख्न मन छ ।

दिउँसो एघार वर्षकि छोरीलाई उनकै अनुरोधमा हिन्दी सिनेमा हेराउंन दार्जिलिङ मोड, सिलिगुडीको सविन किङडम भनिने प्लाजा भित्रको सिनेम्याक्स लिएर गएको थिएँ । सिनेमा घरहरु यतापनि पश्चिमा स्तरकै सुविधायुक्त बनेका रहेछन् । उस्तै महङ्गा पनि ।

सिनेमा छोरीकै रोजाईमा हेरेको हुँदा मैले यहाँ सिनेमाको कमेण्ट लेखिरहनु पर्दैन । यत्ति भने भयो कि मैले छोरीलाई कम्पनी मात्र दिएको थिएँ । सिनेमा हलबाट बाहिरिँदा छोरीकै प्रतिक्रिया पनि सिनेमा राम्रो लागेन भन्ने थियो ।

सिनेमा पछि त्यहिँ रहेको एम्युजमण्ट पार्कभित्र छिरेका मात्र के थियौं धूमधामले हावाहुरी चलेर मुसलधारे पानी पर्न थाल्यो । यो भेगमा यसपाली पानी परेकै रहेनछ । म ठुलै कष्टले सिलिगुडीको उखुम गर्मी खपिरहेको यसरी हात्तीसुँढे वर्षात् हुँदा साह्रै प्रफुल्ल थिएँ ।

अहा! अब बाहिरफेर हिँड्दा धुलो नउड्ने भयो!
अहा! अब यो भत्भती पोल्ने गर्मीमा केहि शितल हुनेभयो!

देखेँ, उता छोरी उत्तिकै दुखी भैरहेकि थिइन् । मौसमले उनको पार्कभित्र खेल्ने सपनामा हात्तीसुँढे पानी खन्याईरहेको थियो ।

स्काई ट्रेन, ब्रेक डान्स, बम्पिङ कार, रक क्लाइम्ब....... अनेकओली खेलहरु थिए जो उनि मसँग खेल्न चाहन्थिन् । तर मौसमले ठुलै शत्रु बनेर भाँजो हालेको थियो ।

म उनको निन्याँउरो अनुहार नियाँलिरहेको थिएँ । त्याहाँ केहि उज्यालो भर्ने हेतुले उनलाई अँगालोमा हालेर भनें -

जो बेला जो ब्यावस्था प्रकृती नियमले प्राप्त भो त्यो छ राम्रो
जो मान्दैन त्यो राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो

केहिदिन अघिमात्र मैले छोरीलाई लेखनाथ पौड्यालको यो काव्यश्लोक स-व्याख्या सुनएको थिएँ । छोरी मुसुक्क हाँसिन् । म उनको मुस्कानसँगै मुहारमा कोरिएको ज्ञानको रेखा देखेर, त्यो रेखा देखाई मेरो कल्पना मात्र थियो भने कल्पनै सहि, सन्तुष्ट बनें ।

पानी थामिएन । थामिने लक्षण पनि देखिएन । पार्क जलमग्न हुँदै गयो ।

म जलमग्न पार्कमा वर्षातका थोप्लाले उठाउंदै फुटाउंदै गरेका पानीफोका हेरेर आनन्दित भैरहेको थिएँ ।
सानोमा यसरी नै बलेँसी झरेर उठेका पानीफोकालाई हामी यो मेरो, त्यो तेरो भन्थ्यौं र कस्को ठुलो बन्ने अनि कस्को धेरैबेर नफुटी टिक्ने खेल खेल्थ्यौ । म पार्कमा छोरीसँग बसेर बाल्यकालको घरको बलेंसीमा हराउँदो थिएँ ।

'बाबा हेर्नुहोस् त कत्ति धेरै पानी जमेको? अब हामी कसरी घर जाने?' फेरी अर्को चिन्ताको लहर देखेँ छोरीको मुहारमा । केटाकेटीहरु चिन्ता रहित हुन्छन् भनेको पनि साँचो होइन रहेछ बरु केटाकेटिहरु पो पाइला पाइलामा चिन्तित बन्दा रहेछन् भलै उनिहरुको चिन्ताको विषय सानो किन नहोस् ।

'खै छोरी पानी कहाँ जम्यो ? मैले त पानी जमेको देखिँन ।' मैले यत्तिकै भनेँ । भनुन्जेल मैले पानी जमेको नभएर बगिरहेको छ भन्ने हिसाबले मात्र सोचेको थिएँ तर भनाईमा त हिसाब अरुपनि देखिन आयो ।

थप ज्ञानको सानो दैलो घरक्क उघ्रिएझैं भयो आफैंलाई । हामी त पानी जम्मा भएकोलाई पो जम्यो भन्दारहेछौं । विज्ञानले तरल जम्यो भने ठोस हुन्छ भने अनुशार पानी जम्यो भने त आइस पो हुनुपर्छ । यसअर्थले हेर्दा आकाशबाट परेको पानी खाल्डाखुल्डीमा जम्यो भन्नु त गलत रहेछ । हामी पोखरीको पानी जमेको भन्छौं जवकि त्यो तरल अवस्थामै हुन्छ । पोखरीको पानी त जम्मा भएको अवस्थामा मात्र हुने रहेछ । यस्ता धेरै गलत कुरालाई हामीले भन्दा भन्दा एकोहोरै लागेर सत्यको नजिक पुर्याएका हुँदारहेछौं र सत्य नै भन्ठान्दा रहेछौं ।

निक्कैबेर यसै विषयमा छोरीसँग कुरा गरेँ । उनको अनुहारमा नयाँ कुरा जानेको जस्तै चमक देखियो । मलाई लाग्यो उनि पक्का यो कुरा आफ्ना साथीलाई सुनाउनेछिन् ।

पानी थामिएपछि बासस्थानतिर फर्कियौं हामी । बाटोमा ठुलै मानिने बालासन नदि अटोरिक्सामा पश्चिम फर्किएर तर्दा ईन्द्र बहादुर राईको सम्झना आयो । धेरैपल्ट बालासन नदि तर्दा ईन्द्र बहादुर राईलाई सम्झेको छु मैले । कतै पढेको छु ईन्द्र बहादुर राईको बाल्यस्मृति बालासन नदिसँग जोडिएको कथा । तर उनको कथा स्पस्ट सम्झन वा भन्न सक्दिंन यतिबेला ।

पुलमाथीबाट उत्तरतिर बालासन नदिको बगर हेरेँ । एक प्रकारको जात्रा छ त्याँहा । ट्रकहरु, ट्र्याक्टरहरु बगरमा ठाउंठावै खडा छन् । भर्खरैको मुसलधारे पानीले निथ्रुक्क भिजेका ज्यानहरु भर्दैछन् तिन्मा बालुवा गिटी । बालुवा गिटी झिकिएर बगर खाल्डो खाल्डो देखिन्छ अनेक ठाउँमा । अनेक ठाउँमा बालुवा गिटी थुपारिएको ढिम्का ढिम्की देखिन्छन् ।

नदि दिँदैछ ।

मान्छेहरु लिँदैछन् ।

नदिबाट लगेर मान्छेहरु ठड्याउने छन् कतैतिर साना, ठुला, धेरै ठुला घरहरु, महलहरु । र त्यो सहर बन्ने छ । यसरी ट्रकका ट्रक नदि दिनदिनै सहर पस्ने गर्छ । साँच्ची सहर भन्नु नदि नै त हो । नदिले नै त सालन्ने बढाउँछ, अग्ल्याउँछ सहरहरु । सहरको भीडभाड, कोलाहल, गाडीको घुईंचो आदिको बहाव पनि त नदिकै जस्तै त हुन्छ । सहर नदि हो भन्न सकिने रहेछ । तर नदिलाई ? अहँ नदिलाई चैं सहर भन्न नसकिने । कत्रो अन्याय!

त्यसैले त बेलाबखत सहरले नदि बढारेर अन्यायको बदला लिएको समाचार पढ्नु पर्छ । जो एकोहोरो दिएको दियै र लिएको लियैको परिणति हुन्छ । नदिले यत्रो दिन्छ यस्लाई पनि केहि दिउँ, यसो छेउछाउ रुखविरुवा रोपुँ, अलि गतिलो तटबन्ध हालिदिउँ भन्ने त हाम्रोतिरका मान्छेले सोचे पो ?

एकैछिनमा सम्झिइएका ईन्द्र बहादुर ओझेल परे मगजबाट । नपरुन् पनि किन जबकि न मैले उनलाई कहिल्यै भेटेको, न उनले लेखे / भनेका सबै कुरा पढेको । किन बस्थे र ईन्द्र बहादुर मेरो मगजमा ? तर ईन्द्र बहादुर राई कहिल्यै हराउने पनि त छैनन् मेरो मगजबाट । उनको बारेमा जति पढे / सुनेको छु त्यति काफि छ उनि मेरो मगजमा बास बस्न, यत्ति हो कि उनि कैले सम्झनामा उदाउँछन् कैले अस्ताउँछन् ।

बालासन नदि तरेर निक्कै अगाडी आईपुगेछौं । बुढि बालासन खोला काटेर ओर्लियौं अटोरिक्साबाट । यहि बुढि बालासन खोला नजिकै दक्षिणपट्टि बस्छिन् मेरी छोरी । उनकि फुपु(मेरी दिदी)को घरमा बसेर बागडोग्रा बजारको हेब्रोन अँग्रेजी स्कुलमा हाल कक्षा ६ मा पढ्दै गरेकी छोरीले घरमा आइपुगेर यौटा पेण्टिङ देखाइन् र भनिन्, 'बाबा यो कस्तो लाग्यो भन्नुहोस् त? मैले तपाईंले पढ्दैगर्नुभएको किताबमा हेरेर बनाएको ।'

म युवराज नयाँघरेको २०६५ सालको मदन पुरस्कार प्राप्त निवन्ध कृति 'एकहातको ताली' पढ्दै थिएँ । त्यसैको आवरण चित्रको नक्कल गरेकी थिइन् छोरीले तर नक्कलमा यौटा ईनार थपेर आफ्नो काल्पनिकीको परिचय पनि राखेकि थिइन् ।

'हौसला र अवसर पाइन् भने मेरी छोरीले रङ्गहरुसँग पनि राम्रै खेल्ने रहिछन्....... 'मनमनै सोचेँ र भनेँ, 'वाह! क्या गजब! स्याबास छोरी!'

मैले उक्त किताबभित्रका कुराहरुमात्र पढेछु र छोरीले त्यसको आवरण कला मात्र पढिछन् ।

छोरीले पेण्टिङ्ग देखाएपछि सकसक जाग्यो म मा कस्ले बनाएको रहेछ एकहातको तालीमा भएको आवरण कला ? हेरेँ, श्यामलाल श्रेष्ठको कुचि रहेछ । छोरीलाई भनें यो कुरा र भनें 'तिमीले आफैं एउटा विषय छानेर त्यसैमाथी विल्कुल आफ्नो भन्न सक्ने पेण्टिङ्ग बनाउनु है छोरी अबदेखि । यो त जति राम्रो भएपनि यसको तारिफ म मात्र गर्न सक्छु । अरुले त यो चोरी गरेको भन्छन् । चोरीको आरोप लाग्नु त राम्रो होइन ।'

'हवस्!' उनले टाउको हल्लाइन् । मेरी बुझकि छोरीमाथी मैले विश्वास राखेको छु कि अबदेखि उनले अरुको कला नक्कल नगरेर मौलिक कलामा कुचि चलाउनेछिन् ।

उनको आँखामा यो पेण्टिङ्ग बनाएर मैले कुनै ठुलो काम गरेनछु भन्ने पछुतो जस्तै केहि झल्किएको देखें मैले र हौसलाको निमित्त केहि नेपाली साहित्यकारहरुको टेकविर मुखियाको कुचिले बनाएको पेण्टिङ्गको पोष्टरहरु निकालेर दिँदै भनें, ' यि योहरु बनाउ । यो जस्को पेण्टिङ्ग भएपनि, तिमीले नक्कल गरेर नै बनाएपनि, तिमीले बनाएकोमा तिम्रै नाम हुन्छ ।'

उनले बडो रुचिले भएका आठदशवटा पोष्टरहरु क्रमश हेरिन् र पारिजातको पोष्टर छुट्याएर राख्दै भनिन्, 'बाबा, सबभन्दा पहिले म यो बनाउँछु ।'

ति पोष्टरहरु मैले २०५६ (मेरी छोरी जन्मेकै) सालमा भ्रिकुटी मण्डपको पुस्तक प्रदर्शनी डुल्दा किनेको थिएँ ।

छोरी पारिजातको पोष्टरलाई गहिरिएर हेर्दैथिइन् । म भने उनले बनाएको एकहातको तालीको आवरणको नक्कल पेण्टिङ्गलाई आफ्नो क्यामरामा खिच्न थालेँ ।

मलाई यो ब्लगको निम्ती यौटा खुराक बन्छ भन्ने थियो मनमा ।

Sunday, March 14, 2010

गफ : ब्लगलेखनको 'लेट', ब्लगरहरुसँगको भेट

कुनताको समय, सुलुत्त चिप्लेर जाने त्यसमाथी एक महिना, यो अवधिलाई कत्ति छिट्टो बित्यो भन्नुपनि भन्नु मात्रै हो । रफ्तार समयको उहि हो तरपनि बुझ पचाएर वा आफु ढिलो भएर समय कत्ति छिट्टो बितेछ गाँठे! भन्नेहरुमा म पनि पर्छु ।

मान्छेले आयूको प्रतिशत भागहरु जति धेरै बिताउँदै जान्छ उति उस्लाई समय छिट्टो चिप्लेजस्तो लाग्छ । बच्चा हुँदा दशैँ तिहार जस्ता चाडबाडहरु कहिल्यै नआईपुगे जस्तो लाग्ने मान्छेलाई जति धेरै दशैँ तिहार ईत्यादि चाडबाड भोग्दै जान्छ उति धेरै भन्दै जान्छ, 'कति छिट्टो आउन सकेको हो यो चाडबाड पनि।'

यसलाई हामी आर्थिक बोझ उठाउनुपर्ने भयको कारणले यस्तो लागेको भन्ठान्छौं तर आयूको प्रतिशत भागहरु धेरै बिताउँदै जाँदा अभ्यस्त भएर यस्तो लागेको भन्दारहेछन् पश्चिमाहरु । कुरा दुईवटै उस्तै हो हुनत तर सोचाईमा सकारात्मकता देखिन्छ उनिहरुको भने हामीहरु आफैंलाई अनावश्यक चिन्ता दिन्छौं ।

कुरा समयकै आयो ।

बहाना छिट्टो बित्यो भन्ने पर्यो ।

चिन्ता ब्लगमा एक महिना लेख्न नसक्नु भयो ।

उसो त पहिल्यै अनुमान थियो मलाई ब्लगमा उपस्थिती उस्तो सहज हुनेछैन भन्ने । त्यसैले अघिल्लो पोष्टमा लेखेको पनि थिएँ भन्न सक्दिनं ब्लगको उपस्थिती कस्तो हुने हो भनेर । आज भन्न सक्छु ई यस्तै भयो ।

फेब्रुवरी १४ मा काठ्माण्डौ झरेको मैले आज मार्च १४ भैसक्दासम्म ब्लगको दैलो ढप्क्याई राखेको थिएँ । आज खोल्ने मौका जुर्यो । जुर्यो के, जुराएँ भनुँ न; यसबिचमा पनि ब्लगको दैलो उघार्न आएको भए हुन्थ्यो कसैले ब्लगिङ्गमा बन्द हड्तालको कार्यक्रम राखेका त थिएनन् । तर घरपरिवार, ईष्टमित्र, नरनाताहरुसँगको भेटघाटमै रमाईलो मानेर हो मैले ब्लगमा लेख्ने कामलाई जय भोली! भन्दैरहेँ ।

फेब्रुवरी १५ मै पूर्वतिर हान्निएको म मार्च आठमा पुन काठ्माण्डौ फर्किएँ । घरतिरको बसाईमा एकप्रकारको रमाईलो भएपनि छट्पटी पनि उत्तिकै भैरह्यो । के गरौं? कता जाउँ? यो समय म त्यसै नष्ट गर्दैछु भन्ने उखरमाउलोलाई शान्त पार्नकै लागी काठ्माण्डौ फर्किएको थिएँ म । खासगरी छोरीको परिक्षा चलिरहेकोले म घरमा हुँदा उनलाई अध्ययनमा बाधा परिरहेको महसुस गरेको थिएँ मैले । काठ्माण्डौ फर्केपछि काठ्माण्डौ भित्रै रहनुहुने केहि ब्लगर साथीहरुलाई भेट्ने निश्चयले सम्पर्क गर्नतिर लागेँ म ।

पहिलोपल्ट क्याफे मंगलमका ब्लगर मित्र जोतारे धाइबाजीलाई फोन सम्पर्क गरेँ र भेटेँ । धाइबाजीसँग पहिलो पल्टको भेट मलाई बिल्कुलै पहिलो पल्टको भेट जस्तो नलागेर लामो समयसम्म घनिष्टता रहेको साथीलाई केहि समयान्तरमा भेटेको जस्तै सहज र आत्मिय लाग्यो । वागबजारको कुनै कुनातिर प्रविष्ट भै मिठो चिया पिउँदै धाइबाजीसँग ब्लगका, अन्य ब्लगर मित्रहरुका लगायत अरु विषयहरु माथिपनि केहिबेर गरिएको मिठो कुराकानी सहितको त्यो आत्मिय भेट मेरो सम्झनामा सँधै मिठो भएर रहनेछ । साथमा अन्नपूर्ण पोष्टकि स्तम्भ लेखिका नारायणी देवकोटाजी सँग भेट्न पाउँदा पनि हर्षित थिएँ म ।

अर्कोदिन अर्को ब्लगर मित्र कुटीकि कैलाश राईजीसँग फोन सम्बाद गर्न सफल भएँ र लागेँ भेट्नलाई थापाथली स्थित मार्टिन चौतारीमा । कैलाशजी मार्टिन चौतारीकि अनुसन्धानकर्ता हुनुहुन्छ भन्ने थाहा पाएको भएपनि मेरो परिचयमा ब्लगर नै धेरै हुनुहुन्थ्यो । मार्टिन चौतारी पुगेर कैलाशजी कहाँ के गर्नुहुन्छ भन्ने कुरामा अलि थप चिनेँ । धाइबाजीसँगकै जस्तो सहज र आत्मिय लाग्यो कैलाशजीसँगको पहिलो भेटघाट पनि । कति स्नेहमयि भने पहिलोपल्ट भेट्दैछौं भन्ने त ठ्याम्मै लागेन । कैलाशजीसँगको छोटो भेटघाटमा मार्टिन चौतारीको कार्यालय भित्रको पुस्तकालय, अध्ययन कक्ष आदि सर्सर्ती हेर्ने अवसर पनि जुर्यो । समसामयिक विषयवस्तुहरुमाथी छलफल गर्ने गराउने, अनुसन्धान गर्ने तथा तत्सम्बन्धि पुस्तकहरु प्रकाशन गर्ने मार्टिन चौतारीका सबै साथीहरु, कैलाशजी समेत, लाई चौतारीका कार्यहरु सफल र प्रभावकारी बनुन् भन्ने मेरो शुभकामना त्यतिबेलै मनमनै चुहाएँ जतिबेला कैलाशजीले विद कम्प्लिमेट मार्टिन चौतारी भन्ने छाप ठोकेर मलाई दुईवटा पुस्तकहरु उपहार थमाउनुभयो ।

दुबै ब्लगरहरु धाइबाजी र कैलाशजीसँग भेट हुँदा अरु दुईजना ब्लगरहरु मेरो विचार र अभिब्यक्तिको साझा चौतारी चलाउनुहुने ब्लग गुरु दिलिप आचार्य र मेरो फोटो ब्लग नामको ब्लग चलाउनुहुने फोटो ब्लगर सुजन शर्मासँग भेट्न जाने सल्लाह गरेको थिएँ । यहाँ भने हामीलाई चिठ्ठा पर्नेवाला थियो । एकजना ब्लगरलाई भेट्न जाँदा दुबैलाई भेटिने । वहाँहरु दम्पति नै ब्लगर हुनुको क्या मिठो फाईदा! अर्कोदिन हामी; धाइबाजी, कैलाशजी, म र मेरो एक झापादेखि साथै आएको मित्र साँझतिर पुग्यौं गहना पोखरी स्थित दिलिपजी र सुजनजीको निवासस्थान । वहाँहरु दुबैजना हाम्रो ब्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो । हामीले खुत्रुक्कै यहि समयमा आउँछौं भन्न नसकेको र अलि बेलैमा पुग्न नसकेको शरम अलिअलि उदाएथ्यो मेरो मनमा वहाँहरुलाई कुरायौं भनेर तर वहाँहरुसँगको पहिलो भेटको सहजताले त्यो शरम कहाँ बिलायो कहाँ ? तेस्रोपल्ट पनि ब्लगको साईनो लिएर ब्लगर मित्रहरु भेट्न जाँदा स्थिती अन्यन्तै सहज र आत्मिय पाएपछि मलाई लाग्यो ब्लगले परोक्ष रुपमा जोडेको नाता त प्रत्यक्ष भेटघाट भै रहने नाता भन्दा पनि धेरै प्रगाढ पो हुने रहेछ । सुजनजी र दिलिपजीको हार्दिकतापूर्ण न्यानो आतिथ्यमा रमाउँदै, वहाँहरुको मायालु छोरीलाई पनि भेटेर अनि केहिबेर विविध कुराकानी गरेर फर्कियौं हामी ।

जम्माजम्मी ३ महिनाको बसाईमा अब बचेको २ महिनामा नेपालभित्र रहनुहुने अरु ब्लगरहरुसँग भेट्ने मेसो जुर्ला कि नजुर्ला ? दिलिपजीले अरु ब्लगरहरुसँग पनि भेट्ने हिसाबले ससानो बनभोज आयोजना गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो साँच्चै त्यसरी यौटा कार्यक्रम बनिदिए कति रमाईलो हुन्थ्यो होला !

काठ्माण्डौको धुँवाधुलो, घचम्घच्ची भीडभाड र कोलाहलबाट म भने चारजना ब्लगरसाथीहरुसँगको आत्मिय भेटको न्यानो बोकेर हिँजो १३ तारिख बिराटनगर फर्किएँ । आज अझै पूर्व पुग्नुथियो तर पूर्वमा भएको बन्दले विराटनगरमा थन्क्याईदियो । र थन्किनै पर्दाको समयलाई उपयोग गर्दै ब्लगको दैलो खोल्ने साईत पनि जुर्यो । जाँदाजाँदै यसपटक नेपाल आएर लेखेको (नेपालमै देखेको) यो गजल छोड्न चाहन्छु तपाईंहरुलाई ।

मान्छेहरु अझै यो बस्तिमा हाँसेकै रा'न् ।
दुखाईमा होस् या होस् मस्तिमा हाँसेकै रा'न् ।

सुनिन्थ्यो मुर्कुट्टाहरु हिंड्छन् राती राती,

पुलिसहरु तर गस्तिमा हाँसेकै रा'न् ।

गिराएर आफ्नै मूल्य कौढीबाट तल,

ढुक्कले अरुको प्रसस्तिमा हाँसेकै रा'न् ।

यहि 'आज' पो सुखद हुन्छ कि मान्छेको,

सम्झेर आफ्नै हिँजो अस्तिमा हाँसेकै रा'न् ।

हाँस्नु छ मान्छेलाई अकारण नै हाँस्नु,

देखियो मान्छे जबर्जस्तिमा हाँसेकै रा'न् ।

Wednesday, February 10, 2010

गफ : घर जाने कुरा

'ए बा! सातसात वर्षसम्म घरै नआई अम्रिकामा बस्नु भै'च, कैले छोर्छोरीको मुख हेरुँ लउन्नथो ?'

द पवनकलि शो कि पवनकलिको प्रशंसक भएको हुनाले यो प्रश्न कल्पना गरें मनमनै र सोचें यतिखेर मलाई सोधिने एकाध प्रश्नहरु यदि पवनकलिले सोध्दीहुन त यसरी नै सोध्थीहोलिन् । हो म तीन महिनालाई नेपाल फर्कने सुरसारमा छु । सन २००३ को जनवरीमा अमेरिका पसेदेखि बेपत्तासँग यतै हराईरहेको मेरो बारेमा धेरथोर जानकारी राख्ने मित्रजनहरु सोध्ने गर्छन, 'यत्रो सात सात वर्षसम्म कहिल्यै घर जाउँ लागेन ? कहिल्यै छोरीलाई भेटुँ लागेन ?' यो प्रश्नको प्रकार हो, यस्तै थुप्रै प्रश्न गरिन्छन् मलाई । जवाफमा म के भनुँ के भनुँ हुन्छु । साँच्चै मसँग जवाफ रहेनछ । यस्तो प्रश्न आउँदा मित्रजनलाई फुत्त जवाफ दिन असमर्थ हुन्छु । त्यसो त केहि न केहि जवाफ दिनै पर्छ त्यसैले कसैलाई, 'किन नलाग्नु लाग्थ्यो नि' भन्छु त कसैलाई, 'लागेन' भनिदिन्छु । जसरी होस् यस्तो प्रकृतिको प्रश्नबाट बँच्ने उपाय तर्फ लाग्छु । सजिलै बँच्छु पनि । यहि प्रश्न अरुले सोध्दा मेरो मनले भन्ठान्दो हो अरे यार यो तेरो निजी मामला हो, जेसुकै जवाफ दिए नि भैहाल्छ नि । तर आफैंले आफैंलाई यहि प्रश्न गर्दा भने झन जवाफहीन भएझैं लाग्दो रहेछ ।

जाने आउने बाटो खुल्ला हुँदाहुँदै पनि सात वर्षसम्म म घर नगएको कुरा अरुलाई सायद आश्चर्यको कुरा भयो होला तर मलाई भने किन गईनँ भन्ने जवाफ नभएपनि उस्तो अनौठो लागेको छैन । एकताका मैले कतै ब्लगमै लेखेको थिएँ कि म जहाँ जोसँग हुन्छु तिनिहरु नै मेरा आफन्त हुन । मलाई मेरो मनले भनेको यो कुरा आत्म ज्ञान हो वा आत्म अज्ञान कुन्नि तर यहि कुराले मलाई कुनैपनि कुराहरु प्रति चाहिने भन्दा अधिक लगाव नराखेर बाँच्ने बल दिएको छ । जे होस म स्वयँले सात वर्षसम्म घर नफिर्नुलाई सामान्य रुपमै लिएको छु ।

भोली हिंड्नु छ घरतिर । घरजाने दिन नजिकिँदै जाँदा खुशीले मन छचल्किँदो हो भन्ने लागेको थियो । मन त्यसै त्यसै फुरुङ्ग पर्दो हो भन्ने लागेको थियो तर यो मनमा त्यस्ता लक्षणहरुपनि नदेखिँदा उल्टै सोध्नु परेको छ 'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु । घर पुगिसकेर कस्तो महसुस गर्ने हो मनले त्यो नपुगि भन्न सकिन्न पक्कै तर केहि पहिले नै मैले यौटा गजलमा लेखेको थिएँ

'वर्षौं पछि फर्किंदा घर काँ'को काँ'को भएछु म,
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।.....' हुने यस्तै पो हो कि न ? यसपटक पनि मनमा केहि कुरा खेलेको त पक्कै हो त्यसो त । हिंड्न बाँकी नै छ तर हप्ता अगाडी नै घर पुगेर मनले यसरी गजल लेख्न भ्याईसकेको थियो -

सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।

आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?

टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।

धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।


आगामी उपस्थिती ब्लगमा कसरी हुन्छ यो भन्न सक्दिंन सायद । नेपाल पुगेर ईन्टरनेट र समय पाए नियमित हुने कोशिस भने पक्कै रहनेछ ।

Monday, February 08, 2010

गजल : नसम्झाउ भो साथी

बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

पहिले नि भनेकै हुँ दुरी आफैं तोक,
आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।

भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,
चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।

के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,
बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।