Friday, April 16, 2010

गफ निबन्ध : मेरी छोरीको कुरा

निक्कै भयो, आजभोली मायालु छोरीसँग भएर होला मलाई कलम समाउन मनै लाग्दैन । फाट्टफुट्ट केहि लेखिरहने, नलेखे पनि केहि लेख्ने विषय बोकेर हिँडीरहने मलाई यतिबेला त्यो पनि गर्न मन छैन । छोरीसँगको पुनर्मिलनलाई एकएक पल, एकएक क्षण जीवन्त बनाएर बिताउँन रहर छ । र बिताउँदैछु पनि ।

आज कलम समाएँ । छोरी निदाएकि छिन् । हुनसक्छ उनि सपनामा परीहरुको देशमा डुल्दैछिन् । म लेख्न बसेको छु । मलाई छोरीकै कुरा लेख्न मन छ ।

दिउँसो एघार वर्षकि छोरीलाई उनकै अनुरोधमा हिन्दी सिनेमा हेराउंन दार्जिलिङ मोड, सिलिगुडीको सविन किङडम भनिने प्लाजा भित्रको सिनेम्याक्स लिएर गएको थिएँ । सिनेमा घरहरु यतापनि पश्चिमा स्तरकै सुविधायुक्त बनेका रहेछन् । उस्तै महङ्गा पनि ।

सिनेमा छोरीकै रोजाईमा हेरेको हुँदा मैले यहाँ सिनेमाको कमेण्ट लेखिरहनु पर्दैन । यत्ति भने भयो कि मैले छोरीलाई कम्पनी मात्र दिएको थिएँ । सिनेमा हलबाट बाहिरिँदा छोरीकै प्रतिक्रिया पनि सिनेमा राम्रो लागेन भन्ने थियो ।

सिनेमा पछि त्यहिँ रहेको एम्युजमण्ट पार्कभित्र छिरेका मात्र के थियौं धूमधामले हावाहुरी चलेर मुसलधारे पानी पर्न थाल्यो । यो भेगमा यसपाली पानी परेकै रहेनछ । म ठुलै कष्टले सिलिगुडीको उखुम गर्मी खपिरहेको यसरी हात्तीसुँढे वर्षात् हुँदा साह्रै प्रफुल्ल थिएँ ।

अहा! अब बाहिरफेर हिँड्दा धुलो नउड्ने भयो!
अहा! अब यो भत्भती पोल्ने गर्मीमा केहि शितल हुनेभयो!

देखेँ, उता छोरी उत्तिकै दुखी भैरहेकि थिइन् । मौसमले उनको पार्कभित्र खेल्ने सपनामा हात्तीसुँढे पानी खन्याईरहेको थियो ।

स्काई ट्रेन, ब्रेक डान्स, बम्पिङ कार, रक क्लाइम्ब....... अनेकओली खेलहरु थिए जो उनि मसँग खेल्न चाहन्थिन् । तर मौसमले ठुलै शत्रु बनेर भाँजो हालेको थियो ।

म उनको निन्याँउरो अनुहार नियाँलिरहेको थिएँ । त्याहाँ केहि उज्यालो भर्ने हेतुले उनलाई अँगालोमा हालेर भनें -

जो बेला जो ब्यावस्था प्रकृती नियमले प्राप्त भो त्यो छ राम्रो
जो मान्दैन त्यो राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो

केहिदिन अघिमात्र मैले छोरीलाई लेखनाथ पौड्यालको यो काव्यश्लोक स-व्याख्या सुनएको थिएँ । छोरी मुसुक्क हाँसिन् । म उनको मुस्कानसँगै मुहारमा कोरिएको ज्ञानको रेखा देखेर, त्यो रेखा देखाई मेरो कल्पना मात्र थियो भने कल्पनै सहि, सन्तुष्ट बनें ।

पानी थामिएन । थामिने लक्षण पनि देखिएन । पार्क जलमग्न हुँदै गयो ।

म जलमग्न पार्कमा वर्षातका थोप्लाले उठाउंदै फुटाउंदै गरेका पानीफोका हेरेर आनन्दित भैरहेको थिएँ ।
सानोमा यसरी नै बलेँसी झरेर उठेका पानीफोकालाई हामी यो मेरो, त्यो तेरो भन्थ्यौं र कस्को ठुलो बन्ने अनि कस्को धेरैबेर नफुटी टिक्ने खेल खेल्थ्यौ । म पार्कमा छोरीसँग बसेर बाल्यकालको घरको बलेंसीमा हराउँदो थिएँ ।

'बाबा हेर्नुहोस् त कत्ति धेरै पानी जमेको? अब हामी कसरी घर जाने?' फेरी अर्को चिन्ताको लहर देखेँ छोरीको मुहारमा । केटाकेटीहरु चिन्ता रहित हुन्छन् भनेको पनि साँचो होइन रहेछ बरु केटाकेटिहरु पो पाइला पाइलामा चिन्तित बन्दा रहेछन् भलै उनिहरुको चिन्ताको विषय सानो किन नहोस् ।

'खै छोरी पानी कहाँ जम्यो ? मैले त पानी जमेको देखिँन ।' मैले यत्तिकै भनेँ । भनुन्जेल मैले पानी जमेको नभएर बगिरहेको छ भन्ने हिसाबले मात्र सोचेको थिएँ तर भनाईमा त हिसाब अरुपनि देखिन आयो ।

थप ज्ञानको सानो दैलो घरक्क उघ्रिएझैं भयो आफैंलाई । हामी त पानी जम्मा भएकोलाई पो जम्यो भन्दारहेछौं । विज्ञानले तरल जम्यो भने ठोस हुन्छ भने अनुशार पानी जम्यो भने त आइस पो हुनुपर्छ । यसअर्थले हेर्दा आकाशबाट परेको पानी खाल्डाखुल्डीमा जम्यो भन्नु त गलत रहेछ । हामी पोखरीको पानी जमेको भन्छौं जवकि त्यो तरल अवस्थामै हुन्छ । पोखरीको पानी त जम्मा भएको अवस्थामा मात्र हुने रहेछ । यस्ता धेरै गलत कुरालाई हामीले भन्दा भन्दा एकोहोरै लागेर सत्यको नजिक पुर्याएका हुँदारहेछौं र सत्य नै भन्ठान्दा रहेछौं ।

निक्कैबेर यसै विषयमा छोरीसँग कुरा गरेँ । उनको अनुहारमा नयाँ कुरा जानेको जस्तै चमक देखियो । मलाई लाग्यो उनि पक्का यो कुरा आफ्ना साथीलाई सुनाउनेछिन् ।

पानी थामिएपछि बासस्थानतिर फर्कियौं हामी । बाटोमा ठुलै मानिने बालासन नदि अटोरिक्सामा पश्चिम फर्किएर तर्दा ईन्द्र बहादुर राईको सम्झना आयो । धेरैपल्ट बालासन नदि तर्दा ईन्द्र बहादुर राईलाई सम्झेको छु मैले । कतै पढेको छु ईन्द्र बहादुर राईको बाल्यस्मृति बालासन नदिसँग जोडिएको कथा । तर उनको कथा स्पस्ट सम्झन वा भन्न सक्दिंन यतिबेला ।

पुलमाथीबाट उत्तरतिर बालासन नदिको बगर हेरेँ । एक प्रकारको जात्रा छ त्याँहा । ट्रकहरु, ट्र्याक्टरहरु बगरमा ठाउंठावै खडा छन् । भर्खरैको मुसलधारे पानीले निथ्रुक्क भिजेका ज्यानहरु भर्दैछन् तिन्मा बालुवा गिटी । बालुवा गिटी झिकिएर बगर खाल्डो खाल्डो देखिन्छ अनेक ठाउँमा । अनेक ठाउँमा बालुवा गिटी थुपारिएको ढिम्का ढिम्की देखिन्छन् ।

नदि दिँदैछ ।

मान्छेहरु लिँदैछन् ।

नदिबाट लगेर मान्छेहरु ठड्याउने छन् कतैतिर साना, ठुला, धेरै ठुला घरहरु, महलहरु । र त्यो सहर बन्ने छ । यसरी ट्रकका ट्रक नदि दिनदिनै सहर पस्ने गर्छ । साँच्ची सहर भन्नु नदि नै त हो । नदिले नै त सालन्ने बढाउँछ, अग्ल्याउँछ सहरहरु । सहरको भीडभाड, कोलाहल, गाडीको घुईंचो आदिको बहाव पनि त नदिकै जस्तै त हुन्छ । सहर नदि हो भन्न सकिने रहेछ । तर नदिलाई ? अहँ नदिलाई चैं सहर भन्न नसकिने । कत्रो अन्याय!

त्यसैले त बेलाबखत सहरले नदि बढारेर अन्यायको बदला लिएको समाचार पढ्नु पर्छ । जो एकोहोरो दिएको दियै र लिएको लियैको परिणति हुन्छ । नदिले यत्रो दिन्छ यस्लाई पनि केहि दिउँ, यसो छेउछाउ रुखविरुवा रोपुँ, अलि गतिलो तटबन्ध हालिदिउँ भन्ने त हाम्रोतिरका मान्छेले सोचे पो ?

एकैछिनमा सम्झिइएका ईन्द्र बहादुर ओझेल परे मगजबाट । नपरुन् पनि किन जबकि न मैले उनलाई कहिल्यै भेटेको, न उनले लेखे / भनेका सबै कुरा पढेको । किन बस्थे र ईन्द्र बहादुर मेरो मगजमा ? तर ईन्द्र बहादुर राई कहिल्यै हराउने पनि त छैनन् मेरो मगजबाट । उनको बारेमा जति पढे / सुनेको छु त्यति काफि छ उनि मेरो मगजमा बास बस्न, यत्ति हो कि उनि कैले सम्झनामा उदाउँछन् कैले अस्ताउँछन् ।

बालासन नदि तरेर निक्कै अगाडी आईपुगेछौं । बुढि बालासन खोला काटेर ओर्लियौं अटोरिक्साबाट । यहि बुढि बालासन खोला नजिकै दक्षिणपट्टि बस्छिन् मेरी छोरी । उनकि फुपु(मेरी दिदी)को घरमा बसेर बागडोग्रा बजारको हेब्रोन अँग्रेजी स्कुलमा हाल कक्षा ६ मा पढ्दै गरेकी छोरीले घरमा आइपुगेर यौटा पेण्टिङ देखाइन् र भनिन्, 'बाबा यो कस्तो लाग्यो भन्नुहोस् त? मैले तपाईंले पढ्दैगर्नुभएको किताबमा हेरेर बनाएको ।'

म युवराज नयाँघरेको २०६५ सालको मदन पुरस्कार प्राप्त निवन्ध कृति 'एकहातको ताली' पढ्दै थिएँ । त्यसैको आवरण चित्रको नक्कल गरेकी थिइन् छोरीले तर नक्कलमा यौटा ईनार थपेर आफ्नो काल्पनिकीको परिचय पनि राखेकि थिइन् ।

'हौसला र अवसर पाइन् भने मेरी छोरीले रङ्गहरुसँग पनि राम्रै खेल्ने रहिछन्....... 'मनमनै सोचेँ र भनेँ, 'वाह! क्या गजब! स्याबास छोरी!'

मैले उक्त किताबभित्रका कुराहरुमात्र पढेछु र छोरीले त्यसको आवरण कला मात्र पढिछन् ।

छोरीले पेण्टिङ्ग देखाएपछि सकसक जाग्यो म मा कस्ले बनाएको रहेछ एकहातको तालीमा भएको आवरण कला ? हेरेँ, श्यामलाल श्रेष्ठको कुचि रहेछ । छोरीलाई भनें यो कुरा र भनें 'तिमीले आफैं एउटा विषय छानेर त्यसैमाथी विल्कुल आफ्नो भन्न सक्ने पेण्टिङ्ग बनाउनु है छोरी अबदेखि । यो त जति राम्रो भएपनि यसको तारिफ म मात्र गर्न सक्छु । अरुले त यो चोरी गरेको भन्छन् । चोरीको आरोप लाग्नु त राम्रो होइन ।'

'हवस्!' उनले टाउको हल्लाइन् । मेरी बुझकि छोरीमाथी मैले विश्वास राखेको छु कि अबदेखि उनले अरुको कला नक्कल नगरेर मौलिक कलामा कुचि चलाउनेछिन् ।

उनको आँखामा यो पेण्टिङ्ग बनाएर मैले कुनै ठुलो काम गरेनछु भन्ने पछुतो जस्तै केहि झल्किएको देखें मैले र हौसलाको निमित्त केहि नेपाली साहित्यकारहरुको टेकविर मुखियाको कुचिले बनाएको पेण्टिङ्गको पोष्टरहरु निकालेर दिँदै भनें, ' यि योहरु बनाउ । यो जस्को पेण्टिङ्ग भएपनि, तिमीले नक्कल गरेर नै बनाएपनि, तिमीले बनाएकोमा तिम्रै नाम हुन्छ ।'

उनले बडो रुचिले भएका आठदशवटा पोष्टरहरु क्रमश हेरिन् र पारिजातको पोष्टर छुट्याएर राख्दै भनिन्, 'बाबा, सबभन्दा पहिले म यो बनाउँछु ।'

ति पोष्टरहरु मैले २०५६ (मेरी छोरी जन्मेकै) सालमा भ्रिकुटी मण्डपको पुस्तक प्रदर्शनी डुल्दा किनेको थिएँ ।

छोरी पारिजातको पोष्टरलाई गहिरिएर हेर्दैथिइन् । म भने उनले बनाएको एकहातको तालीको आवरणको नक्कल पेण्टिङ्गलाई आफ्नो क्यामरामा खिच्न थालेँ ।

मलाई यो ब्लगको निम्ती यौटा खुराक बन्छ भन्ने थियो मनमा ।

Sunday, March 14, 2010

गफ : ब्लगलेखनको 'लेट', ब्लगरहरुसँगको भेट

कुनताको समय, सुलुत्त चिप्लेर जाने त्यसमाथी एक महिना, यो अवधिलाई कत्ति छिट्टो बित्यो भन्नुपनि भन्नु मात्रै हो । रफ्तार समयको उहि हो तरपनि बुझ पचाएर वा आफु ढिलो भएर समय कत्ति छिट्टो बितेछ गाँठे! भन्नेहरुमा म पनि पर्छु ।

मान्छेले आयूको प्रतिशत भागहरु जति धेरै बिताउँदै जान्छ उति उस्लाई समय छिट्टो चिप्लेजस्तो लाग्छ । बच्चा हुँदा दशैँ तिहार जस्ता चाडबाडहरु कहिल्यै नआईपुगे जस्तो लाग्ने मान्छेलाई जति धेरै दशैँ तिहार ईत्यादि चाडबाड भोग्दै जान्छ उति धेरै भन्दै जान्छ, 'कति छिट्टो आउन सकेको हो यो चाडबाड पनि।'

यसलाई हामी आर्थिक बोझ उठाउनुपर्ने भयको कारणले यस्तो लागेको भन्ठान्छौं तर आयूको प्रतिशत भागहरु धेरै बिताउँदै जाँदा अभ्यस्त भएर यस्तो लागेको भन्दारहेछन् पश्चिमाहरु । कुरा दुईवटै उस्तै हो हुनत तर सोचाईमा सकारात्मकता देखिन्छ उनिहरुको भने हामीहरु आफैंलाई अनावश्यक चिन्ता दिन्छौं ।

कुरा समयकै आयो ।

बहाना छिट्टो बित्यो भन्ने पर्यो ।

चिन्ता ब्लगमा एक महिना लेख्न नसक्नु भयो ।

उसो त पहिल्यै अनुमान थियो मलाई ब्लगमा उपस्थिती उस्तो सहज हुनेछैन भन्ने । त्यसैले अघिल्लो पोष्टमा लेखेको पनि थिएँ भन्न सक्दिनं ब्लगको उपस्थिती कस्तो हुने हो भनेर । आज भन्न सक्छु ई यस्तै भयो ।

फेब्रुवरी १४ मा काठ्माण्डौ झरेको मैले आज मार्च १४ भैसक्दासम्म ब्लगको दैलो ढप्क्याई राखेको थिएँ । आज खोल्ने मौका जुर्यो । जुर्यो के, जुराएँ भनुँ न; यसबिचमा पनि ब्लगको दैलो उघार्न आएको भए हुन्थ्यो कसैले ब्लगिङ्गमा बन्द हड्तालको कार्यक्रम राखेका त थिएनन् । तर घरपरिवार, ईष्टमित्र, नरनाताहरुसँगको भेटघाटमै रमाईलो मानेर हो मैले ब्लगमा लेख्ने कामलाई जय भोली! भन्दैरहेँ ।

फेब्रुवरी १५ मै पूर्वतिर हान्निएको म मार्च आठमा पुन काठ्माण्डौ फर्किएँ । घरतिरको बसाईमा एकप्रकारको रमाईलो भएपनि छट्पटी पनि उत्तिकै भैरह्यो । के गरौं? कता जाउँ? यो समय म त्यसै नष्ट गर्दैछु भन्ने उखरमाउलोलाई शान्त पार्नकै लागी काठ्माण्डौ फर्किएको थिएँ म । खासगरी छोरीको परिक्षा चलिरहेकोले म घरमा हुँदा उनलाई अध्ययनमा बाधा परिरहेको महसुस गरेको थिएँ मैले । काठ्माण्डौ फर्केपछि काठ्माण्डौ भित्रै रहनुहुने केहि ब्लगर साथीहरुलाई भेट्ने निश्चयले सम्पर्क गर्नतिर लागेँ म ।

पहिलोपल्ट क्याफे मंगलमका ब्लगर मित्र जोतारे धाइबाजीलाई फोन सम्पर्क गरेँ र भेटेँ । धाइबाजीसँग पहिलो पल्टको भेट मलाई बिल्कुलै पहिलो पल्टको भेट जस्तो नलागेर लामो समयसम्म घनिष्टता रहेको साथीलाई केहि समयान्तरमा भेटेको जस्तै सहज र आत्मिय लाग्यो । वागबजारको कुनै कुनातिर प्रविष्ट भै मिठो चिया पिउँदै धाइबाजीसँग ब्लगका, अन्य ब्लगर मित्रहरुका लगायत अरु विषयहरु माथिपनि केहिबेर गरिएको मिठो कुराकानी सहितको त्यो आत्मिय भेट मेरो सम्झनामा सँधै मिठो भएर रहनेछ । साथमा अन्नपूर्ण पोष्टकि स्तम्भ लेखिका नारायणी देवकोटाजी सँग भेट्न पाउँदा पनि हर्षित थिएँ म ।

अर्कोदिन अर्को ब्लगर मित्र कुटीकि कैलाश राईजीसँग फोन सम्बाद गर्न सफल भएँ र लागेँ भेट्नलाई थापाथली स्थित मार्टिन चौतारीमा । कैलाशजी मार्टिन चौतारीकि अनुसन्धानकर्ता हुनुहुन्छ भन्ने थाहा पाएको भएपनि मेरो परिचयमा ब्लगर नै धेरै हुनुहुन्थ्यो । मार्टिन चौतारी पुगेर कैलाशजी कहाँ के गर्नुहुन्छ भन्ने कुरामा अलि थप चिनेँ । धाइबाजीसँगकै जस्तो सहज र आत्मिय लाग्यो कैलाशजीसँगको पहिलो भेटघाट पनि । कति स्नेहमयि भने पहिलोपल्ट भेट्दैछौं भन्ने त ठ्याम्मै लागेन । कैलाशजीसँगको छोटो भेटघाटमा मार्टिन चौतारीको कार्यालय भित्रको पुस्तकालय, अध्ययन कक्ष आदि सर्सर्ती हेर्ने अवसर पनि जुर्यो । समसामयिक विषयवस्तुहरुमाथी छलफल गर्ने गराउने, अनुसन्धान गर्ने तथा तत्सम्बन्धि पुस्तकहरु प्रकाशन गर्ने मार्टिन चौतारीका सबै साथीहरु, कैलाशजी समेत, लाई चौतारीका कार्यहरु सफल र प्रभावकारी बनुन् भन्ने मेरो शुभकामना त्यतिबेलै मनमनै चुहाएँ जतिबेला कैलाशजीले विद कम्प्लिमेट मार्टिन चौतारी भन्ने छाप ठोकेर मलाई दुईवटा पुस्तकहरु उपहार थमाउनुभयो ।

दुबै ब्लगरहरु धाइबाजी र कैलाशजीसँग भेट हुँदा अरु दुईजना ब्लगरहरु मेरो विचार र अभिब्यक्तिको साझा चौतारी चलाउनुहुने ब्लग गुरु दिलिप आचार्य र मेरो फोटो ब्लग नामको ब्लग चलाउनुहुने फोटो ब्लगर सुजन शर्मासँग भेट्न जाने सल्लाह गरेको थिएँ । यहाँ भने हामीलाई चिठ्ठा पर्नेवाला थियो । एकजना ब्लगरलाई भेट्न जाँदा दुबैलाई भेटिने । वहाँहरु दम्पति नै ब्लगर हुनुको क्या मिठो फाईदा! अर्कोदिन हामी; धाइबाजी, कैलाशजी, म र मेरो एक झापादेखि साथै आएको मित्र साँझतिर पुग्यौं गहना पोखरी स्थित दिलिपजी र सुजनजीको निवासस्थान । वहाँहरु दुबैजना हाम्रो ब्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो । हामीले खुत्रुक्कै यहि समयमा आउँछौं भन्न नसकेको र अलि बेलैमा पुग्न नसकेको शरम अलिअलि उदाएथ्यो मेरो मनमा वहाँहरुलाई कुरायौं भनेर तर वहाँहरुसँगको पहिलो भेटको सहजताले त्यो शरम कहाँ बिलायो कहाँ ? तेस्रोपल्ट पनि ब्लगको साईनो लिएर ब्लगर मित्रहरु भेट्न जाँदा स्थिती अन्यन्तै सहज र आत्मिय पाएपछि मलाई लाग्यो ब्लगले परोक्ष रुपमा जोडेको नाता त प्रत्यक्ष भेटघाट भै रहने नाता भन्दा पनि धेरै प्रगाढ पो हुने रहेछ । सुजनजी र दिलिपजीको हार्दिकतापूर्ण न्यानो आतिथ्यमा रमाउँदै, वहाँहरुको मायालु छोरीलाई पनि भेटेर अनि केहिबेर विविध कुराकानी गरेर फर्कियौं हामी ।

जम्माजम्मी ३ महिनाको बसाईमा अब बचेको २ महिनामा नेपालभित्र रहनुहुने अरु ब्लगरहरुसँग भेट्ने मेसो जुर्ला कि नजुर्ला ? दिलिपजीले अरु ब्लगरहरुसँग पनि भेट्ने हिसाबले ससानो बनभोज आयोजना गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो साँच्चै त्यसरी यौटा कार्यक्रम बनिदिए कति रमाईलो हुन्थ्यो होला !

काठ्माण्डौको धुँवाधुलो, घचम्घच्ची भीडभाड र कोलाहलबाट म भने चारजना ब्लगरसाथीहरुसँगको आत्मिय भेटको न्यानो बोकेर हिँजो १३ तारिख बिराटनगर फर्किएँ । आज अझै पूर्व पुग्नुथियो तर पूर्वमा भएको बन्दले विराटनगरमा थन्क्याईदियो । र थन्किनै पर्दाको समयलाई उपयोग गर्दै ब्लगको दैलो खोल्ने साईत पनि जुर्यो । जाँदाजाँदै यसपटक नेपाल आएर लेखेको (नेपालमै देखेको) यो गजल छोड्न चाहन्छु तपाईंहरुलाई ।

मान्छेहरु अझै यो बस्तिमा हाँसेकै रा'न् ।
दुखाईमा होस् या होस् मस्तिमा हाँसेकै रा'न् ।

सुनिन्थ्यो मुर्कुट्टाहरु हिंड्छन् राती राती,

पुलिसहरु तर गस्तिमा हाँसेकै रा'न् ।

गिराएर आफ्नै मूल्य कौढीबाट तल,

ढुक्कले अरुको प्रसस्तिमा हाँसेकै रा'न् ।

यहि 'आज' पो सुखद हुन्छ कि मान्छेको,

सम्झेर आफ्नै हिँजो अस्तिमा हाँसेकै रा'न् ।

हाँस्नु छ मान्छेलाई अकारण नै हाँस्नु,

देखियो मान्छे जबर्जस्तिमा हाँसेकै रा'न् ।

Wednesday, February 10, 2010

गफ : घर जाने कुरा

'ए बा! सातसात वर्षसम्म घरै नआई अम्रिकामा बस्नु भै'च, कैले छोर्छोरीको मुख हेरुँ लउन्नथो ?'

द पवनकलि शो कि पवनकलिको प्रशंसक भएको हुनाले यो प्रश्न कल्पना गरें मनमनै र सोचें यतिखेर मलाई सोधिने एकाध प्रश्नहरु यदि पवनकलिले सोध्दीहुन त यसरी नै सोध्थीहोलिन् । हो म तीन महिनालाई नेपाल फर्कने सुरसारमा छु । सन २००३ को जनवरीमा अमेरिका पसेदेखि बेपत्तासँग यतै हराईरहेको मेरो बारेमा धेरथोर जानकारी राख्ने मित्रजनहरु सोध्ने गर्छन, 'यत्रो सात सात वर्षसम्म कहिल्यै घर जाउँ लागेन ? कहिल्यै छोरीलाई भेटुँ लागेन ?' यो प्रश्नको प्रकार हो, यस्तै थुप्रै प्रश्न गरिन्छन् मलाई । जवाफमा म के भनुँ के भनुँ हुन्छु । साँच्चै मसँग जवाफ रहेनछ । यस्तो प्रश्न आउँदा मित्रजनलाई फुत्त जवाफ दिन असमर्थ हुन्छु । त्यसो त केहि न केहि जवाफ दिनै पर्छ त्यसैले कसैलाई, 'किन नलाग्नु लाग्थ्यो नि' भन्छु त कसैलाई, 'लागेन' भनिदिन्छु । जसरी होस् यस्तो प्रकृतिको प्रश्नबाट बँच्ने उपाय तर्फ लाग्छु । सजिलै बँच्छु पनि । यहि प्रश्न अरुले सोध्दा मेरो मनले भन्ठान्दो हो अरे यार यो तेरो निजी मामला हो, जेसुकै जवाफ दिए नि भैहाल्छ नि । तर आफैंले आफैंलाई यहि प्रश्न गर्दा भने झन जवाफहीन भएझैं लाग्दो रहेछ ।

जाने आउने बाटो खुल्ला हुँदाहुँदै पनि सात वर्षसम्म म घर नगएको कुरा अरुलाई सायद आश्चर्यको कुरा भयो होला तर मलाई भने किन गईनँ भन्ने जवाफ नभएपनि उस्तो अनौठो लागेको छैन । एकताका मैले कतै ब्लगमै लेखेको थिएँ कि म जहाँ जोसँग हुन्छु तिनिहरु नै मेरा आफन्त हुन । मलाई मेरो मनले भनेको यो कुरा आत्म ज्ञान हो वा आत्म अज्ञान कुन्नि तर यहि कुराले मलाई कुनैपनि कुराहरु प्रति चाहिने भन्दा अधिक लगाव नराखेर बाँच्ने बल दिएको छ । जे होस म स्वयँले सात वर्षसम्म घर नफिर्नुलाई सामान्य रुपमै लिएको छु ।

भोली हिंड्नु छ घरतिर । घरजाने दिन नजिकिँदै जाँदा खुशीले मन छचल्किँदो हो भन्ने लागेको थियो । मन त्यसै त्यसै फुरुङ्ग पर्दो हो भन्ने लागेको थियो तर यो मनमा त्यस्ता लक्षणहरुपनि नदेखिँदा उल्टै सोध्नु परेको छ 'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु । घर पुगिसकेर कस्तो महसुस गर्ने हो मनले त्यो नपुगि भन्न सकिन्न पक्कै तर केहि पहिले नै मैले यौटा गजलमा लेखेको थिएँ

'वर्षौं पछि फर्किंदा घर काँ'को काँ'को भएछु म,
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।.....' हुने यस्तै पो हो कि न ? यसपटक पनि मनमा केहि कुरा खेलेको त पक्कै हो त्यसो त । हिंड्न बाँकी नै छ तर हप्ता अगाडी नै घर पुगेर मनले यसरी गजल लेख्न भ्याईसकेको थियो -

सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।

आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?

टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।

धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।


आगामी उपस्थिती ब्लगमा कसरी हुन्छ यो भन्न सक्दिंन सायद । नेपाल पुगेर ईन्टरनेट र समय पाए नियमित हुने कोशिस भने पक्कै रहनेछ ।

Monday, February 08, 2010

गजल : नसम्झाउ भो साथी

बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

पहिले नि भनेकै हुँ दुरी आफैं तोक,
आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।

भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,
चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।

के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,
बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।

Monday, February 01, 2010

कविता : अर्को यौटा पागल

सँधै जस्तै नभएर
यौटा मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
उ तर्सिएको छ
अघिल्लो पटक
जब भेट्न पुगेको थियो उ
शान्त, स्निग्ध र सुन्दर
बुद्धका अर्धमुदित नयनहरु
साँझ पश्चिम क्षितिजमा
सूर्य विश्राम लिईरहँदा
देखेथ्यो उसले
छट्पटी बुद्धको आँखामा
धेरैपछि खुल्न लाग्दा
प्रेममय मुस्कान
बुद्धको बन्द ओठमा
ठुलो बेचैनी बिसाएथ्यो उसले
स्वयंभूनाथ डाँडामा
र फर्किएथ्यो
ठुलो हौसला उठाएर
स्वयंभूनाथ डाँडाबाट
फेरि तर्सिएको त्यहि मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
बरु तर्सिएरै उ पस्यो
सहरको गञ्जागोलभित्र
बर्बराउँदै -
हेर सपनाहरु हेर
फेरि बिग्रन थालेका छन् आजभोली
एकएकले देख्दैछन्
फेरि पनि नाङ्गीएको सपना
हरेकले देख्दैछन्
फेरि पनि लुटिएको सपना
प्रत्येकले देख्दैछन्
फेरि पनि काटिएको सपना
फेरि पनि ढाँटिएको सपना
र देख्दै जानेछन्
च्यातिएको सपना
चिमोटिएको सपना
उखेलिएको सपना
बिथोलिएको सपना
बिग्रिन थालेपछि सपनाहरु
देखि नै रहनेछन्
निचोरिएको सपना
चिथोरीएको सपना
मिचिएको सपना
किचिएको सपना
उ उफ्रिरहयो
उ कराईरहयो
भीडले एकतमास
उसलाई हेरिरहयो
सपनाहरुसँग आजित भीडले
भन्ठान्यो-
आज सहरमा अर्को यौटा पागल देखियो ।

Sunday, January 31, 2010

लघुकथा : निरुत्तर

यसपटकलाई मैले आफ्नै कथाहरु मात्र राख्ने गरेको अर्को ब्लगबाट यो लघुकथा यता घिसारेको छु । यसो नगर्दा पनि नहुने हैन तर यस ब्लगलाई मैले आफ्नो मूल ब्लग मान्ने भएकोले र प्राय अन्य ब्लगका सामाग्रीहरु सबै यस ब्लगमा समेत राख्ने भएकोले यसो गरेको हुँ । यो लघुकथा मैले साहित्यानुराग द्वैमासिकका सम्पादक सूर्यराज गिरीको अनुरोधमा नेदरल्याण्डबाट प्रकाशित हुने सोहि पत्रिकाको निमित्त लेखेको थिएं । यसकथामा मेरो कथाहरुको ब्लगमै पुगेर वसन्तजीले र ओजोनजीले प्रतिक्रिया लेख्नुभएको थियो त्यसलाई पनि मैले कथा सँगै यता तानेर ब्लगको पुछारमा राखेको छु ।

****************

लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म ।

म पुग्दा मेरा मित्र रीसले चुरचुर भएर लगभग काम्न लागेको अवस्थामा थिए । उनको आँखा हेर्दा लाग्थ्यो आँखैमा उनले आगोको खेती गरेका छन् । उनको सामुन्ने उनकि श्रीमती र कामगर्ने बाह्र/चौध वर्षे केटो सातोपुत्लो उडेझैं थर्कमान अवस्थामा थिए । स्थिती नियाँलेर मैले मित्रलाई शान्त बनाउने प्रयास गर्दै के भएको हो जान्न चाहें ।

मित्रले बिस्तार लगाए अनुशार त्यो बाह्र/चौध वर्षे केटोलाई बजारबाट केहि विदेशी रक्सी किन्ने जिम्मा लगाईएको रहेछ जो बन्दको कारणले उसले पुरा गर्न सकेन । त्यस्तै उनकी श्रीमतीलाई खसीको मासु बनाउन सुझाईएको रहेछ त्यो पनि बन्दकै कारण उनले पुरा गर्न सकिनछन् र त्यति कारणले मेरा मित्र दुर्वाशा बनेका रहेछन् । मैले 'त्यो सब कुराहरु नभए पनि यतिका वर्षपछिको भेटमा हामी त्यसै रमाईलो मान्न सकिहाल्छौं नि । आँखिर मित्रतामा हार्दिकता भन्दा ठुलो अर्थोक के हुन्छ र?' भनेर सम्झाएपछि मेरा मित्र राम्रै सेलाए र हामीले जे भएको खानपान गर्यौं र त्यो साँझलाई निक्कै आत्मिय बनायौं ।

निक्कै सौहार्दपूर्ण बातचित, खानपान सकेर म विदा हुँदैथिएं, मेरा मित्रले फेरि एकपल्ट मलाई खसीको मासु खुवाउन र विदेशी रक्सी पियाउन नसकेको प्रति खुनखुन गर्दै एक एक मेलो कामगर्ने केटोलाई र श्रीमतीलाई हपारे र म तिर मुखरित हुँदै 'यो देशमा कहिल्यै शान्ती नआउने भयो बुझ्नुभयो ?' भन्दै मलाई विदा गरे ।

फर्कंदा बाटोभरी मेरो मनमा कुरा उठिरहयो, 'के शान्ती कुनै मिति हो र यो यसबेला आउनुपर्छ भन्नलाई ? र शान्ती कुनै स्थान पनि त होईन जो यात्रामा हिंड्दा फलानो ठाउँपछि आउँछ भन्न सकियोस् । जाबो खसीको मासु र रक्सी नजुट्दैमा आफ्नै घरको शान्ती त्यस्तरी खल्बल्याउने मेरा मित्रले कस्तो शान्तीको प्रतिक्षा गरेका होलान् ?' मेरो मगजमा यो प्रश्न निरुत्तर रहिरहयो ।

***************

Basanta Said

देशको राजनीतिको प्रसंगलाई मिसाएर नेपाली पुरुष मानसिकतालाई कठोर ब्यंग्य गर्नुभएको रहेछ। ठिक गर्नुभयो! हाम्रो समाजको दुर्गतिको मूल कारण यहि मानसिकता हो।



***************

ओजोन said...

तपाईका कथाहरुमा जीवन भोगाई र समाजिक संरचनाका विविध भेदको विचित्र संमिश्रण छ । एकै कथा भित्र विविध विषयको संदेश र परिवर्तनवादी विषय बस्तुले पक्कै पनि गतिशिल सन्देश बोकेका छन् ।
तपाईका कथामा पात्रले यर्थाथ बकेको छ । बास्तवमै प्रश्न निरुत्तर छ । समस्या गम्भिर छ ।


Wednesday, January 27, 2010

गजल : कतै अड्ने डाली छैन

क्रम फेरी उहि पहिले नै लेखिएका तर ब्लगमा नराखिएका मध्येको अर्को यौटा गजलको परेको छ । समयान्तर र अवस्थाको समेत अन्तरले यसको मतला शेर मेटाएको छु । मेटाएको के भनुँ हाललाई लुकाएको हुँ ।


......................................
......................................
लाग्छ हुँ त्यो बगैंचा म उजाडिंदै गैरहेको,
फेरी हरियाली भर्ने जस्को कुनै माली छैन ।

भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।

बाध्य छु म हत्केलामै मुटुलिई खोजीगर्न,
भेट्दा तर स्वागतार्थ आरतीको थाली छैन ।

भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।

Monday, January 25, 2010

कविता : प्रेमीहरुलाई

यतिखेर कुनै निश्चित समय लिएर कुनै निश्चित कुरा लेख्न सक्ने एकाग्रता नभएको अवस्थामा छु म । एक त यात्रावधीमा त्यसमाथी सजिला अप्ठ्यारा अनेक कुराहरुसँग जुधिरहँदा मनमा आएका अनेक तर्कनाहरुले कुनै आकार लिन सकिरहेका छैनन् । अक्सर हुन्छ यस्तो हुनत जस्तो कि लाग्छ म भित्र निक्कै गतिलै विषयमा मन्मथ भैरहेछ र निक्कै ठुलै नौनी मथेर निकाल्ने छ यो मनले तर पानी मथ्छ क्यार घरीघरी यो मनले नौनी निस्क्ने बेलामा त फुस्सा पो हुन्छ । यस्तै मथाई पछिको यो फुस्सा नौनी, अत्यन्तै ब्यस्तताका वावजुध टिनियान टापूबाट ब्लगमा पोष्टिङको एक अंक थप्नै सहि यो कविता -


नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर
छट्पटाउनु नपरोस
ति मनहरु
मनकै बन्धनभित्र कैद भएर
फुस्काउनु नपरोस
ति मनहरु
मनकै घेराभित्र टाढा भएर
अन्यथा
मन बाँध्ने र फुकाउने
यो खेलमा
भोलीसम्म
रहनेछैन तिम्रै पनि मन
ए प्रेमीहरु हो
धेरै धेरै किन देखिरहेछु
हारजीत आज
फगत मन बाँध्ने र फुकाउने
यो खेलमा
नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर ।

Thursday, January 14, 2010

कविता : यो बँचाई


भन्न सक्दिंन
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म
यो बँचाई भन्ठानेथें
मेरै लागी मात्र बाँचेको छु मैले
यतिखेर
ध्वारध्वारी च्यातिएर
भ्रमको पर्दा
नाङ्गिएपछि तिम्रैसामु
छोप्न खोजेँ हत्केलाहरुले
आफ्नो लागी कहिल्यै नबाँच्नुको लाज
कठै !
यतिञ्जेल आफुले
आफैंलाई खुवाएको ढाढस
उल्टै छाद्नुपर्दा मुखबाट
थाहा पाएको छु
कति नमिठो रहेछु म
बौरिएझैं मुर्छाबाट
बल्ल बल्ल
आफ्नो लागी बाँच्न खोज्दै गर्दा
थाहा पाएको छु
आफ्नै प्रिय रहेनछु म
त्यसैले त अझै
दह्रो छु दह्रो म
तिम्रो खोजखबरहरुमा
नपरेर पनि आफु
सम्झिरहेछु तिमीलाई
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म ।