यौटा साँझले घाम डुबाउंछ
अन्धकारलाई निम्तो दिई
कालरात्री डाक्छ
ए ! विचलित मनहरु
हरेस नखाउ
घाम त भोली झुल्कने छ
भलै तुँवालोले सुर्य छलोस
उज्यालो छेक्न सक्ने छैन
त्यो उज्यालो तिम्रो हुनेछ
मेरो अनि उसको हुनेछ
विश्वास गर ए ! मनहरु
भोलीको उज्यालो हाम्रो हुनेछ ।
Sunday, April 06, 2008
Saturday, April 05, 2008
आफ्नै कथाको बारेमा
भर्खरै मैले अप्रिलफुल शिर्षकमा यौटा कथा लेखेर सिध्याएं । लेख्न सुरु गर्दा म संग यो कथा नै थिएन । अप्रिल एक तारिखको दिन बिहान ११ बजे तिर मैले आफ्नो ब्लगमा शिर्षक राखेर कथा हो भन्ने जानकारी गराएर खाली छाडें । एक हिसाबले लाटकोसेरोले अप्रिलफुल मनाए झैं थियो त्यो । मेरो ब्लग त्यती धेरैले पढ्दैनन , केहि नियमित मेरो ब्लगका पाठकहरुले भने मेरो कविता , गीतहरु मनपराएर मलाई अझै लेख्ने प्रेरणा दिन्छन । उक्त खाली पोष्टमा भने यौटा कमेण्ट थियो कथा लेख्न बाँकी हो ? भनेर । उक्त कमेण्ट लेख्ने अज्ञात ब्याक्तीले मेरो यो कथा पढ्न फेरी मेरो ब्लगमा प्रवेश गरेको छैन होला सायद । त्यसो त साह्रै अल्छी गर्दै मैले उक्त कथा चार तारिखमा सकें र नेपाली पोष्टमा प्रेषण गरें । ५ तारिखमा नेपाली पोष्टमा प्रकाशित पनि भएको छ तर त्यहाँ कथाको शिर्षक नै गल्ती भएकोमा आफैं दुखी छु । मेरो कथा स्तरिय नहोला तर कथा भने पक्कै हो भन्ने कुरामा म ढुक्क छु ।
उक्त कथा लेखुञ्जेल सम्म मलाई केराबारी , जोरथाङ्ग , कर्मटारतिर बरालिएको सम्झना आईरहयो । त्यतातिरको बोलीचालीलाई मैले कथामा आकर्षण बनाउन खोजेको छु र त्यहाँको सजिलै पोईला जाने चलन प्रति कथामा ब्यंग गर्न पनि खोजेको छु । म सफल भएं कि भईनं त्यो त तपाईंले भन्न सक्नुहुन्छ ।
आज ५ तारिख । हिंजै राती सुत्ने बेलामा यौटा अज्ञात कल आयो । फोन उठाएं , फोन गर्ने काली थिईन । के छ कसो छ भनेर सञ्चो बिसञ्चो सोधासोध गरेपछि उनले मेरो कथामा अश्लिलता भएको कमेण्ट गरिन । कथाले सुरुवातमा त्यस्तो छनक दिने भएपनि अपाच्य अश्लिल छैन भनेर तर्क गरें मैले । उनले अगाडी केहि भनिनन् । कथा राम्रै छ - उनको निचोड यस्तो थियो ।
हाम्रो समाजमा हामी व्यावहारमा यो भन्दा अझ अश्लिलतालाई पचाईरहेका हुन्छौं । साहित्यमा किन त्यही कुरालाई अपच भएजस्तो लाग्ने होला ? खुल्दुली भईरहयो , राती अबेर सम्म सोचें । कथामा एकदुई कुराहरु थपघट गरौं कि जस्तो पनि लाग्यो तर फेरी यसो सोचें हैन मैले जुन परिवेश कथामा लेख्न खोजेको छु अलिकति थपघट गरें भने मेरो कथाको मजा नै हराउंछ नि । त्यसैले केहि गरिनं ।

Tuesday, April 01, 2008
कथा : अप्रिलफुल
" आपुई ! यो दाजु त कस्तो छाडा हौ । वरिपरी कोही छ कि छैन भन्ने छ्यानविचार नै नगरी मुतेको हेरन । " गान्धी आश्रमनेरको ओरालो झर्दै गर्दा रेवतीले यति लामो जिब्रो काढ्दै भनि । प्लास्टिकको रातो बाटा र धुने लुगाको पोको बोकेर उ राङ्बाङ खोलामा लुगाधुन झर्दै थिई ।
" हैन यो बैनि के भा'को ? हेर्नु नहुने ठाँउतिर तिमिलाई को'ले हेर्नु भनेको थ्यो त ? " अलि मुन्तिर ढुँगाको कापमा छलिएर पिसाब गर्दैगरेको देवकुमार झस्किंदै बोल्यो । छलिँदा छलिँदै पनि उस्लाई रेवतीले देखेकि थिई तर रेवतीले देखुन्जेलसम्म उसले पिसाब गरेर सकिसकेको थियो । भन्नलाई गान्धी आश्रम भनेपनि अहिले त्यहाँनेर आश्रमको अवषेश पनि बाँकी थिएन । झण्डै सय डेढसय मिटर जति माथी डिलमा पहिले कुनै समयमा गान्धीको नाममा आश्रम थियो रे त्याँहा । अहिले भने त्यहाँनेरबाट गोरेटो हुंदै ओरालो झरेर राङ्बाङखोलामा गाउँलेहरु लुगाधुन र नुहाउन आउने गर्छन । कसो कसो कुईनेटो परेर निलो गहिरो रह परेको छ त्याहाँनेर । पहिले पहिले त्यहि रहमा एकदुईजना पौडी खेल्दा डुबेर मरेका पनि थिए रे । केटाकेटीहरु त्यता गएभने गाउँलेहरु त्यता जानुहुंदैन भनेर खै गर्छन । अलि पाका उमेरकाहरु पनि मान्छे डुबेर मरेको ठाउँ भनेर हम्मेसी त्यतातिर जाँदैनन त्यसैले गान्धी आश्रमको रह तन्नेरी तरुनीहरु नुहाउन लुगाधुन जाने ठाउँ भएको छ । तरुनी तन्नेरीहरु मात्रै जाने ठाउँमा छेड्खानी र हँसीमजाक त त्यसै हुने नै भयो । त्यै भएर रेवतीले देवकुमारलाई जिस्काएकि थिई नत्रभने यस्ता दृश्यहरु देख्दा रेवती चाल नपाएझैं हुन्थी होला । उसो त बिसेबाईसेकी रेवती अलि चञ्चले परेकी , मौका पर्दा रत्यौली नै खेल्ने स्वभावकी थिई ।
चैत्रको बेला गर्मी धपधपी नै बल्नेगरी थियो । रेवतीले लुगाको पोको पानी नजिकको यौटा ढुँगामा फ्याँकी र राङ्बाङको चिसो पानीमा नाङ्गो खुट्टा चोबलेर ढुँगामाथी बस्दै भनि " ए देउकुमार दाजु खै लेउ लेउ तिम्रो मिठो खैनी खाउँ ? "
"ला हो बैनि , मेरोमा त खैनि टाक्टुक् तु'रो नि हौ । कम्ती थिएछ , ऐले भक्करै तुराएं नि । आबो किन्नु पनि कैले जानु हो था'छैन ।" देवकुमारले सुगन्धित गोल्डेन खैनीको खाली बट्टा ढुँगामा ट्याक् ट्याक् पार्दै भन्यो र बग्दो पानीतिर हुर्याईदियो ।
" छि हौ , तिम्रो मिठो खैनी खाउँ भनेको त................ " रेवती बोल्दा बोल्दै बिचैमा अड्कीएर आफ्नो बन्दर और ढोलक छाप माडुवा खैनी निकालेर माड्न थाली । रेवतीले खैनी माड्न लागेको देखेर मलाई पनि माड है बैनी भन्दै देवकुमार आफ्नो लुगा धुन थाल्यो । मौका पायो कि ईत्रीनु पर्ने रेवतीले यो मौका किन चुकाउँथी , भनि " तिमीलाई कसरी माड्नु हौ दाजु मैले ? तिमीले पो माड्नु पर्ने मलाई । "
" कति सारो छिल्लिनु जानेको हौ बैनी तिमीले ? मेरोलागी पनि खैनी माड पो भनेको । " देवकुमारले ईत्रीने मूड नभए झैं गर्यो । रेवती खित्खिताएर हाँस्न थाली । धोएको लुगा बग्दो पानीमा पखाल्दै देवकुमारले रेवतीलाई पुलुक्क हेर्यो । रेवती देवकुमारलाई नै हेर्दै हाँस्दैथिई । छेड्खानीको खेलमा देवकुमारले सायद आफुलाई हारेको महसुस गर्यो त्यसैले पखालेको लुगा निचोर्दै भन्यो , " मन त परिराखेको छ माड्नुलाई मलाई पनि , तर जोईतोई बेला माड्नु नमिल्ने । " अघि बढेर उ लुगा सुकाउन बगरतिर गयो । बगरका ठुला ठुला ढुँगाहरु आगो बालेर तताएझैं गरी तातिएका थिए । उसले यौटा च्याप्टो ढुँगामा लुगा सुकाएर अर्को सानो ढुँगाले एकछेउमा थिच्यो हावाले नउडाओस भनेर ।
" ओ दाजु लाउ है खैनी खाउ । " पछिल्तिरबाट रेवती कराई ।
दुबैजना ओठमा खैनी च्यापेर लुगा धुनथाले ।
" तिम्रो धुनु कति छ हौ दाजु मलाई यो ढुँगामा त अप्ठेरो भयो ।" रेवतीले देवकुमारले लुगा धुँदै गरेको ढुँगामा आफ्नो लुगा धुने ईच्छा देखाई । " ए ! हो र बैनी आउन त यसैमा धुनु । मैले त तुराएं आबो । " देवकुमारले सजिलो ढुँगा रेवतीलाई छाडीदिंदै भन्यो ।
".....रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो
ऐयाया आक्काका सान्नानी........" पारीपट्टी लिखेभिरमा कर्मटारको घिषिङ बाजे जोरथाङ्ग बजारमा दुध बेचेर लेघ्रो तान्दै गीत गाउंदै फर्कंदै थियो । हरेक दिन बिहान अध्याँरैमा दुध बोकेर कर्मटार देखि जोरथाङ्ग सम्म आईपुग्ने घिषिङ बाजे फर्कंदा भने संधै यसरी नै दुई तिन बजे टन्न रक्सीले मातेर फर्कन्छ । रक्सीले मातेपनि नमाते पनि गीत गाउन चाँही उसले छाडेको हुंदैन ।
" उ आयो घिषिङ बाजे । कुनदिन यो बाजे तेई भिरबाट खंदारिएर मोर्छ होला । खानु पनि कम्ती रक्सी खाँदैन अन्त हो । " रेवतीले घिषिङ बुढाको रक्सी खाने आदतको आलोचना गरी ।
" खानु देउ न हौ अन्त , बिचरा बाजे रक्सी खाएरै तेत्रो सम्पती तुरायो । अबो बुढेशकालमा के पो गर्नु छ र उसलाई । ईच्छैले मरोस न रक्सी खाएरै । " देवकुमारले पनि आफ्नो मत जाहेर गर्यो । निक्कैबेर उनिहरु रक्सीकै विषयमा केन्द्रित भएर गफिए । टोलभरी सबै लोग्नेमान्छेले रक्सी पिउने गरेको कुरा आफुलाई चित्त नबुझेको भन्दै रेवतीले भनी , " गाउँको सप्पै लोक्नेमान्छेले रक्सी पिउंछ । मलाइ त राम्रै लाग्दैन ।"
" सप्पै लोक्नेमन्छेले चैं पिउन्दैन ल , तिमीले नपिउनेहरु चैं देखेन कि के हो ? " देवकुमारले प्रतिवाद गर्यो ।
" हो हुनु त " रेवतीले स्विकार्दै भनी , " नखानेहरु पनि नभा'को हैन । तिमीले नै खाँदैन । साँची तिमी कसरी रक्सी नखाने भयो हो दाजु ? "
" खै आबो कसरी भयो भन्ने हो अन्त , खानु मन लाग्दैन । " सरल जवाफ दियो देवकुमारले । एकछिन दुबैजना मौन रहे । उनिहरु बिचको मौनतालाई एकनास संग सुसाउंदै बगेको खोलाले चिरिरहेको थियो । पारी सिक्किम पट्टीको जंगलमा कसैले सुकेको रुखमा बञ्चरोले काट्दै गरेको आवाज पनि ट्वाक - ट्वाक ट्वाक -ट्वाक गरेर प्रतिध्वनित हुंदै दोहोरिंदै सुनिदैथ्यो । एकाएक रेवतीले नै मौनतालाई तोड्दै सोधी , " अन्त तिमिले बिहे कैले गर्छौ नि दाजु ? "
देवकुमारले जवाफ दिएन । एक त उ संग यो प्रश्नको जवाफ थिएन अर्को उसले कम्तीमा रेवतीले यो प्रश्न सोध्ली भनेर सोचेकै थिएन ।
" तिमीलाई अझै अनुको माया लाग्छ दाजु ? " रेवतीले सोध्न छोडिन ।
" लाग्दैन मलाई तेस्को माया किन लाग्नु हो अन्त । तेस्तो छाडेर जाने बैगुनीको पनि को'ले माया गर्छ ? " नबोली धर पाएन उसले , " देवकुमार पो त हो म देवदाश हैन नि तेस्ताहर'को माया गर्न । " वास्तवमै देवकुमार जिन्दगीलाई सरल जिउंन मनपराउने मान्छे थियो । जिन्दगीमा जे भयो त्यो भयो , जे भएन त्यो भएन । भएको कुरालाई र नभएको कुरालाई किन भयो र किन भएन भन्दै जिन्दगी बक्र बनाउन चाहदैनथ्यो उ ।
" तेसो भए बिहे चैं किन नगर्ने त हौ अन्त ? " रेवती फेरी फर्किएर उहि प्रश्नमा पुगी । " कैले गर्छौ त बिहे ? "
" गर्नु पाए ऐले गर्थें नि , तेसै बिहे हुन्छ ? बच्चाले भाँडाकुटी खेलेको जस्तो हो कि के हो नि बिहे ? को'लाई गर्नु बिहे ? तिमीले गर्छौ बिहे म संग ? " एक झट्का आक्रोस पोख्यो उसले । रेवती गंभिर भएर लुगा धुँदै गरेको हातपनि चलाउन छाडेर एकटकले देवकुमारको मुखमा हेर्न थाली ।
" आबो लाटाले त पापा हेर्छ रे ट्वाल्ल परेर , तिमीले चैं के हेरेको नि लाटीले जस्तो ट्वाल्ल मेरो मुखमा ? " अली संयमित भएर देवकुमारले भन्यो । कता कता उस्लाई आफुले रेवतीलाई बिझाएंकि जस्तो महसुस भयो ।
" हेरेको नि अन्त , तिमी जस्तो सिधा मान्छे पाए त गर्थें नि बिहे भनेर । " रेवतीले आफ्नो ईच्छा ब्यक्त गरी ।
एकछिन देवकुमार असमञ्जसमा पर्यो र भन्यो , " गर्ने हो भने आजु नै भागौ न त ? "
" साँच्ची हो दाजु ? म त तयार तर कहाँ जाने ? " रेवतीले भागेर जाने उपयुक्त स्थान खोज्दै भनी ।
" जाउँ न हो अन्त नेपाल । जानुलाई ठाउँको कमी छ र ? " देवकुमारले उपाय सुझायो ।
" नाईं नाईं नेपाल त नजाउँ हो दाजु , नेपालमा त माओवादीले मान्छे खेदाउदैछ । हामीलाई मार्छ मात्तै । " बाधा देखाई रेवतीले ।
" कति त मान्छेहरु आउनु जानु गर्दै नै छ नि , को'ले भनेर मार्छ ? नेपालमा नि पछ्छिममा पो छ त हौ माओवादी । " देवकुमारले बाधा नभएको जिकीर गर्यो ।
" अँ होला , ऐले पुर्बमा नि भुटाङ्गेहरु सप्पै माओवादीमा लागेको छ रे । " रेवतीले अझै आशंका ब्यक्त गरी ।
देवकुमारले एकैछिन गम खाएर बिकल्प देखायो , " तेसोभए कदमतोला हिंड न हौ अन्त । मेरो फुपु छ त्याँ । "
रेवतीले स्विकार गरी । उनिहरुको सल्लाह अनुशार आज दिउंसै रेवतीले पोको पन्तुरो कसेर पारी जोरथाङ्गमा सिमाको आमाकोमा गएर बस्ने , साँझ देवकुमार पनि त्यहीं आएर बस्ने र भोली बिहान सबेरै एसएनटी बस चढेर सिलिगुडी झर्ने निधो भयो । देवकुमार जस्तो खासाको लोग्ने पाउने भएर रेवती फुरुङ्ग भई । देवकुमारले पहिले रेवतीकै मिल्ने साथी अनुलाई मनपराएको थियो तर अनु देवकुमारलाई धोका दिएर नाम्चीतिरको अर्कै केटासंग भागेकी थिई । सिमलकै भुवाझैं हलुंगो भएको थियो रेवतीको शरिर । हतार हतार लुगा धुन , नुहाउन सकेर उ घर आई र पोईला जाने तयारीमा जुटी । उसको गाउँघरको चलन नै भागी बिहे गर्ने भएकोले उसले भेटेजती सबैलाई कसैलाई नभन्नु है भन्दै आफु देवकुमार संग भाग्न ठिक परेको रहस्य खोल्दै गई ।
जोरथाङ्ग बजारमा सिमाको आमा भट्टी चलाएर बसेकी थिईन । लोग्ने बितेपछि एक्ली उसले भट्टी चलाएरै दुई छोराछोरी पाल्थीन । रेवती उज्यालैमा त्याँहा पुगी र सिमाको आमालाई सबै कुरा सुनाएर दंगदास भएर बसी । यता गाउँमा भने रात पर्न नपाउंदै रेवती पोईला हिंडेको हल्ला फैलियो ।
" बुढीभा'को एक्लो बोजुलाई छाडेर त्यो रेवती कसरी बुढामा गा'को हौ ? " गाउँलेहरुलाई रेवतीको बुढीआमाको चिन्ता भयो ।
" फेरी जानु पनि देउकुमार संग पो गा'को रे । कहिं जानु पर्दैन थ्यो नि , हामी यैं बिहे मानिदिन्थ्यौं नि । " गाउँलेहरु एकप्रकारले स्विकार्दै थिए उनिहरुको जोडीलाई ।
" जानु चाहीँ काँ गो'को रैछ उनिरु ? " कोही सोध्दैथिए ।
" खै नेपाल गोयो होला नि ? देउकुमारको आफ्नो मान्छे छ नेपालमा । " कोही अन्दाजमा जवाफ दिंदैथिए । रात अबेर सम्म उनिहरुकै बारेमा चर्चा चल्यो ।
भोलीपल्ट बिहान आठबजेतिर काँधमा हातेचियाको बोरा बोकेर देवकुमार घरबाट निस्कियो । कमानतिरबाट सस्तोमा हातेचिया किनेर संधै जोरथाङ्ग हाटमा लगेर बेच्थ्यो उ । झुरुम्म परेको बस्तीमा देवकुमारको घर अगाडी सुनार काँईलाको घर थियो । सबैभन्दा पहिले देवकुमारलाई सुनार काँईलाले देख्यो र अचम्म मान्दै ठुल्ठुलो स्वरमा करायो , " हैन ए देउकुमार , तिमिले त रेवतीलाई हिंजै राती भगायो भनेर हल्ला थियो त ? खोई तिमी त हाट पो जाँदैछौ त ? "
सुनार काँईलाको ठुल्ठुलो स्वरले अरु अरु मान्छेहरु पनि जम्मा भए । सबैले देवकुमारमाई सोध्न थाले के हो भनेर ।
" हैन हो अन्त हिंजो एक तारिख भनेर कोसैलाई था छैन कि के हो ? मोईले त अप्रिलफुल पो बनाको त ।" देवकुमार मुसुमुसु हाँस्दै हाटतिर लाग्यो ।
नेपालीपोष्टमा प्रकाशित यो कथा त्याँहा केहि त्रुटिसहित छापिएकोमा आफैं खिन्न छु किनभने त्यो आफ्नै गल्ती थियो ।

Monday, March 31, 2008
गीत : आधी आधी
भाग लायौ किन तिमिले माया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
भित्रभित्रै दुख्दा मुटु घाउ चर्किएर
परपरै किन गयौ तिमी तर्किएर
भेटियो कि प्रेम दाँयावाँया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
च्यातिदिएं केहि सपना तिम्रो साथ दिन
आफ्नाहरु छाडीदिएं तिम्लाई हात दिन
रेटियो कि पाएं आफ्नै काया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
भित्रभित्रै दुख्दा मुटु घाउ चर्किएर
परपरै किन गयौ तिमी तर्किएर
भेटियो कि प्रेम दाँयावाँया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
च्यातिदिएं केहि सपना तिम्रो साथ दिन
आफ्नाहरु छाडीदिएं तिम्लाई हात दिन
रेटियो कि पाएं आफ्नै काया आधी आधी
मेटियो कि देखें आफ्नै छाँया आधी आधी ।
Friday, March 28, 2008
कविता : रंगभित्रको रंगमा म
एक तमास त्यही गल्लीबिच
खाली पैताला र नांगो आङ्ग लिई
रंगिएर भोलीको स्वपनिल रंगहरुमा
लखर लखर हिंडीरहेथें म
यस्तो उजाड
यति फिक्का
यति निरस
यस्तो बेस्वाद
कहाँ थियो र मेरो भोलीको रंग
गल्लीमा थुप्रिएको फोहोर थिएन
व्यवस्थित सहर
फराकिलो सडक
प्रयाप्त हरियाली
मेरो भोली नांगो आङ्गहरुको
र खाली पैतालाहरुको स्वर्ग थियो
संगै कोही ठाँटीएर सफा पहिरनमा
रंगदेखि भाग्दैथिए
कोही तिन्को पहिरनमा रंग छ्याप्दैथिए
कोही भाग्ने
कोही लखेट्ने
हुलहरु माझ
म आफ्नै रंगहरुमा
भोली भेट्न हिंड्दैथिएं
छ्याप्नेहरुको रंगले भिजेको
मलाई देखेर एकहुल मान्छेहरु हाँसे
निलो रातो हरियो पंहेलो
मेरो अनुहारमा
रंगभित्रको भोलीको रंग
तिनले देखेनन सायद
तिनिहरु एकतमास हाँसीरहे
त्यो होलीको दिन थियो ।
खाली पैताला र नांगो आङ्ग लिई
रंगिएर भोलीको स्वपनिल रंगहरुमा
लखर लखर हिंडीरहेथें म
यस्तो उजाड
यति फिक्का
यति निरस
यस्तो बेस्वाद
कहाँ थियो र मेरो भोलीको रंग
गल्लीमा थुप्रिएको फोहोर थिएन
व्यवस्थित सहर
फराकिलो सडक
प्रयाप्त हरियाली
मेरो भोली नांगो आङ्गहरुको
र खाली पैतालाहरुको स्वर्ग थियो
संगै कोही ठाँटीएर सफा पहिरनमा
रंगदेखि भाग्दैथिए
कोही तिन्को पहिरनमा रंग छ्याप्दैथिए
कोही भाग्ने
कोही लखेट्ने
हुलहरु माझ
म आफ्नै रंगहरुमा
भोली भेट्न हिंड्दैथिएं
छ्याप्नेहरुको रंगले भिजेको
मलाई देखेर एकहुल मान्छेहरु हाँसे
निलो रातो हरियो पंहेलो
मेरो अनुहारमा
रंगभित्रको भोलीको रंग
तिनले देखेनन सायद
तिनिहरु एकतमास हाँसीरहे
त्यो होलीको दिन थियो ।
Saturday, March 22, 2008
संविधान सभा निर्वाचन : मेरो क्षेत्र र मेरो मत
संविधान सभा निर्वाचनले देश बाहिर रहने सम्पुर्ण नेपालीहरुको ध्यान तानिरहेको बेला म मात्रै अछुतो कसरी रहन सक्छु र ? संविधान सभा निर्वाचन सम्बन्धि समाचारहरु हेर्ने माध्ययम अरु सबैलाई झैं मलाई पनि उमेश जी को माई संसार डट कम नै हो । हरेक पटक कम्प्युटर खोलेर सबै भन्दा पहिले माई संसार मै पसिन्छ ; कुनै धार्मिक अनुष्ठान गर्दा श्री गणेशाय नम भने झैं । माई संसारमा विचरण गरिसके पछि मात्रै नेपालको नम्बर एक भनिएको कान्तिपुरमा पसिन्छ । नेपालको राजनीतिक मुद्धाहरुमा हामी नेपाल बहिर रहनेहरुले यसो र उसो भनेर टिका टिप्पणी गर्दा विदेशमा बसेर ठुला कुरा गर्ने भन्नेहरुको पनि लामै लर्को छ भनेर उमेश जी कै माई संसारमा कमेण्ट लेख्दा थाहा लाग्छ त्यसैले आजभोली त्यहाँ कमेण्ट लेख्दा मैले आफ्नो नाम लेख्न छाडेको छु त्यो कसै संग डराएर हैन बरु अनावश्यक विवादमा नमुछिनको लागी ।
देशभरकै निर्वाचन क्षेत्रहरुमा कहाँबाट कस्ता ब्याक्तीहरु चुनाव लड्दैछन भन्ने जिज्ञासा भए पनि म यहाँ संविधान सभा निर्वाचनमा मेरो क्षेत्रको बारेमा लेख्न गै रहेको छु । पहिलेको निर्वाचनहरुमा झापाको क्षेत्र नं ६ रहेको मेरो क्षेत्र यसपाली पनि क्षेत्र नं ६ नै रहेको छ । पहिले ६ वटा मात्रै निर्वाचन क्षेत्र रहेको झापालाई यसपाली ५ र ६ का केहि भाग मिलाएर ७ वटा निर्वाचन क्षेत्र बनाईएको छ । विगतका संसदिय चुनावमा एमालेबाट खड्ग ओलीले जित्ने गरेको ६ नं क्षेत्रमा यसपाली एमालेका ओली रहेनछन । ओली क्षेत्र नं ७ तिर लागेको मलाई ज्यादै खुशी लगेको छ । हुनत यसपालीको निर्वाचनमा म भाग लिन सक्दिन तर पनि मैले मतदान गर्न पाउने भए ओलीलाई मत दिने थिईंन । नेपालमा रहेका ठुला भनिने नेताहरुमा मलाई मन नपर्ने नेता ओली एक जना हुन । ओली मलाई कति कारणले मन पर्दैन भन्ने तिर चाँही अहिले नजाउँ किनभने ओलीको राजनीतिक छबि बारे टिप्पणी गरिरहनु नपर्ला ।
यसपाली झापा क्षेत्र नं ६ मा एमालेले दीपक कार्कीलाई उठाएको रहेछ । दीपक कार्कीको लोकप्रियतामा शंका गर्ने ठाउँ छैन । उनले जित्ने संभावना प्रवल छ । उनि गौरादह गाविसका दुबै कार्यकालका अध्यक्ष पनि हुन । नेपाली काँग्रेसले आदीवासी समुदायका सुर्यनारायण सिँ राजवंशीलाई उठाएको रहेछ । सुर्यनारायण सिँ राजवंशी कस्ता ब्याक्तित्वका नेता हुन त्यो मलाई थाहा छैन । तराई मधेश लोकतान्त्रिक पार्टीले बिजय अग्रवाललाई उठाएको रहेछ भने माओवादीले पनि आदिवासी समुदायकै महिला सुलोचना राजवँशीलाई उठाएको रहेछ । क्षेत्र नं ६ को राजनीतिक बजारमा दीपक कार्की र बिजय अग्रवाल बिच घमासान प्रतिस्पर्धा हुने चर्चा छ । अग्रवाल पनि कार्की झैं महाभरा गाविसका दुबै कार्यकालका अध्यक्ष हुन ।
यसपाली चर्चामा रहेका उल्लेखित चार उम्मेदवारहरु मध्ये मेरो नजरमा लोकप्रिय एमालेका दीपक कार्की हुन तथापी यसपाली मैले मतदान गर्न पाउने भए म नेकपा माओवादिकि सुलोचना राजवंशीलाई मत खसाल्ने थिएं त्यो किनभने एमालेमा जस्तै असल नेताहरु गएपनि केन्द्रमा रहने ओली जस्ता नेताहरुको कारण एमाले हिजो जस्तो थियो आज त्यस्तै छ र भोली पनि उस्तै नै रहने छ । देश गणतन्त्रमा जानु पर्छ र गणतन्त्र राप्रपा र काँग्रेसले खोजे झैं हुन गयो भने त्यो बि पी को सपना झैं तुहिएर जाने छ । मैले माओवादी प्रति त्यत्रो धेरै विश्वास भएर माओवादी उम्मेदवारलाई मत खसाल्ने भनेको हैन । म देशको शासन व्यावस्थामा परिवर्तन होस भन्ने चाहन्छु जुन परिवर्तनले समाज परिवर्तन होस , देश परिवर्तन होस र परिवर्तनको मिठो स्वाद सम्पुर्ण नेपालीहरुको लिन पाउन ।

Friday, March 21, 2008
होलीको शुभकामना ।
फागुन हेर सखी संगी खेल्छन मिली होली
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला
' आज होली हो नि ? ' एकाबिहानै लोकनाथ दाईले भन्नु भो ।
' ए हो र ! खेल्ने हो त होली ? ' मैले सोधें ।
' कहाँ खेल्नु , नखेल्ने ।' दाईले जवाफ दिनुभयो । दाईले ल खेल्ने हो भन्नु भए पनि कसरी खेल्नु र ? न होली खेल्ने रंग छ न समय नै । हवाईको माउई टापुमा नेपाली भनेकै जम्मा हामी ३ जना थियौ अहिले अर्को एकजना दाईको श्रीमती र छोरा आएर ५ जना भएका छौं सबै आ आफ्नै काममा मस्त । होलीका समाचारहरु हेरेर अनि दाईले बिहानै होली हो नि भनेर होला पहिले पहिले होली खेलका दिनहरु याद आयो । हामी होलीलाई फागु खेल्ने भन्थ्यौं । सानोमा हामी किम्बु भन्ने एकप्रकारको रुखको पाकेको फल निचरेर होली खेल्ने रंग बनाउंथ्यौं । ठुलो भएपछि होलीमा भाँङ्गको लड्डु खाएर मात्थ्यौं । नेपालमा छँदा होली रमाईलै हुन्थ्यो । अब त ति रमाईला पलहरु केवल सम्झनामै मात्रै सिमित भएछन । हुनपनि ६ वर्ष भै सकेछ होली नखेलेको । होलीको बेला फेरी कुनै साल नेपालमा भईएछ भने खेल्नु पर्ला ।
अहिले होली खेल्न नपाए पनि तपाईंलाई होलीको शुभकामना है । (माथीका दुबै तस्विरहरु वेभदुनिया डट कमबाट लिएको हुँ ।)
पिचकारीमा बसन्तको रंग घोली घोली
नाच्दै गाउंदै वर्षाउंदै प्रेम रंग लोला
उमंग भर्यो फागुनले सबै मनको झोला
' आज होली हो नि ? ' एकाबिहानै लोकनाथ दाईले भन्नु भो ।' ए हो र ! खेल्ने हो त होली ? ' मैले सोधें ।
' कहाँ खेल्नु , नखेल्ने ।' दाईले जवाफ दिनुभयो । दाईले ल खेल्ने हो भन्नु भए पनि कसरी खेल्नु र ? न होली खेल्ने रंग छ न समय नै । हवाईको माउई टापुमा नेपाली भनेकै जम्मा हामी ३ जना थियौ अहिले अर्को एकजना दाईको श्रीमती र छोरा आएर ५ जना भएका छौं सबै आ आफ्नै काममा मस्त । होलीका समाचारहरु हेरेर अनि दाईले बिहानै होली हो नि भनेर होला पहिले पहिले होली खेलका दिनहरु याद आयो । हामी होलीलाई फागु खेल्ने भन्थ्यौं । सानोमा हामी किम्बु भन्ने एकप्रकारको रुखको पाकेको फल निचरेर होली खेल्ने रंग बनाउंथ्यौं । ठुलो भएपछि होलीमा भाँङ्गको लड्डु खाएर मात्थ्यौं । नेपालमा छँदा होली रमाईलै हुन्थ्यो । अब त ति रमाईला पलहरु केवल सम्झनामै मात्रै सिमित भएछन । हुनपनि ६ वर्ष भै सकेछ होली नखेलेको । होलीको बेला फेरी कुनै साल नेपालमा भईएछ भने खेल्नु पर्ला ।
अहिले होली खेल्न नपाए पनि तपाईंलाई होलीको शुभकामना है । (माथीका दुबै तस्विरहरु वेभदुनिया डट कमबाट लिएको हुँ ।)
Saturday, March 01, 2008
गजल : जल्नु कति
आफ्नै मनको तापमा जल्नु कति
यो जलनको रापमा बल्नु कति
झोसिरहयौ आगो त्यो संधै संधै
सल्किएर जिन्दगी यो चल्नु कति
छेउ लागी रोईरहें घाउ छोई
ओखति झन घाउमा दल्नु कति
शिर तिनको संधै नै उंचो देख्छु
आफु भने भुँईमा नै ढल्नु कति
झरिराछु मक्किएर हेर म त
अझै धेरै यो भन्दा नि गल्नु कति
श्राप यो हाँसेर वरदान ठानि
आफुलाई यहाँ भन्दा छल्नु कति ।
यो जलनको रापमा बल्नु कति
झोसिरहयौ आगो त्यो संधै संधै
सल्किएर जिन्दगी यो चल्नु कति
छेउ लागी रोईरहें घाउ छोई
ओखति झन घाउमा दल्नु कति
शिर तिनको संधै नै उंचो देख्छु
आफु भने भुँईमा नै ढल्नु कति
झरिराछु मक्किएर हेर म त
अझै धेरै यो भन्दा नि गल्नु कति
श्राप यो हाँसेर वरदान ठानि
आफुलाई यहाँ भन्दा छल्नु कति ।
Wednesday, February 13, 2008
गीत : आँखामा नेपाल
हृदयमा छ चन्द्र सुर्य नेपाल आँखामा
नेपालकै गीत गाउँछु लैबरी भाखामा ।
झुल्छु म त धान खेतमा फूल्छु सुनाखरीमा
डुल्छु म त फाँटैभरी बनमाराको घारीमा
भञ्ज्याङ अनि देउरालीमा सुस्केरा म फेर्छु
टाकुरामा पुगी मेरै प्यारो नेपाल हेर्छु ।
सारंगीमा मनका सबै पिर रेटीदिन्छु
मादलु र डम्फू बजाई थकाई मेटीदिन्छु
मुरलीमा नेपालको नयाँ धून बजाउंछु
जानेजति कला झिकी नेपाल सजाउंछु ।
मेचि काली एउटै घर हुन्न कोही पराई
भिजाउंछु नदी भई हिमाल पहाड तराई
अक्षर तिन लेख्नुपरे मेरै नेपाल लेख्छु म
सपनीमा देख्नु परे मेरै नेपाल देख्छु म ।

Subscribe to:
Posts (Atom)